Thursday, March 5, 2020

कविता : लेख्नै बाँकी छ

 - मातृका पोखरेल

सूर्य बोकेर हिँड्नेहरू
सूर्यलाई पुर्न खाडल खन्दै छन्
म उनीहरूलाई
अँध्यारो गुफातिर लुक्न
खोजिरहेको देख्दै छु
उनीहरूको बारेमा लेख्न पुगेकै छैन
लेख्न अझै धेरै बाँकी छ ।

झुपडी झुपडीहरूमा
निरर्थक सपनाको दुन्दुभी फुकेर
कालो सिसा लागाएको पजेरोमा
बेतोडसँग दौडिरहेका छन् साथीहरू
उनीहरू पनि लेख्नै पर्ने विषय हुन्
लेख्न अझै बाँकी छ ।

आजकै समाचारपत्रमा
भरखरैमात्र पढेको थिएँ
आफ्नै बाबुले श्रीमती र छोरी बेचेको घटना
हामी बाँचेको युगको एउटा चित्र
त्यो पनि कवितामा आउने बाँकी छ
हामीले सोच्न पनि नसकेका
कुरूप सम्भावनाका सिँढीहरू
लगातार चढिरहेका छन् शासकहरू
उनीहरूले आफ्नी आमालाई बेचेको खबर
कुनै दिन विदेशी समाचारपत्रहरूले छाप्ने छन्
त्यो युगको त्रासद कविता
काँपिरहेका हातहरूले लेख्न अझै बाँकी छ ।
त्यो कविता लेख्नुपर्ने
अभागी कविहरूको सूचीमा
म पनि पर्न सक्छु
तपाईँ पनि पर्न सक्नुहुन्छ
अझ लेख्न धेरै बाँकी छ ।

म अँध्यारोमा बाँचेको मान्छे
उनीहरूले उत्तरतिर
मलाई एउटा नयाँ सूर्य देखाए
म पनि उनीहरूसँगै हिँड्न खोजेँ
उनीहरूले मलाई बिस्तारैबिस्तारै उत्तरतिर देखाउँदै
दक्षिणतिर दौडाउन खोजे
विचार स्खलनको एउटा त्रासद् अध्याय
यो पनि लेख्नै  बाँकी छ ।

धेरैधेरै कुराहरू लेखिन बाँकी छन्
म नियमित लेख्ने छु
मेरा कविताहरूमा
म बाँचेको युग
अझै धेरै लेख्नै  बाँकी छ
साथसाथै हिंडिरहेका साथीहरू
यात्रा रोक्न खोज्दै छन्
लेख्न अझै धेरै बाँकी छ ।
०००
अभिनव, वर्ष १३, अङ्क २३, वैशाख २०७१  


No comments:

Post a Comment