Thursday, March 5, 2020

कविता : ऋषिकुटीतिर फर्केर हेर्दा

 - मातृका पोखरेल


कसले गरिरहेछ
ऋषिकुटीमा एकराते मेला लागाउने योजना
मलाई अब सबै थाहा छ
भोको वस्तीको बीचमा उभिएर
त्रासद समयको विरुद्धका खेद प्रस्तावहरूमा
म यतिबेला
हतारहतार सहिछाप गरिरहेको छु ।

विजयका उत्सवहरू
मन खुलेर मनाउन नपाउँदै
यात्रामा निस्केको समय
भरखरैमात्र
कतै माकुराको जालमा परेर
घाइते बनेको सूचना आएको छ
मा पनि यतिबेला
समय सँगसँगै घाइते भएको छु
घाइते युगलाई बोकेर
फेरि पनि हेरेको छु ऋषिकुटीलाई
नयाँनयाँ कोसेली बोकेर जानेहरूको
कसले गरिरहेछ भित्रबाट स्वागत ?
र निरन्तर भैरहेको छ तपस्वीहरूको शान्तिभङ्ग
मलाई अब सबै थाहा छ
क–कसले आयात गरिरहेका छन्
आस्थाको काँडेतारले बारेको ऋषिकुटीमा
उच्चस्तरीय मदिराका ड्युटीफ्रीका बोतलहरू
मलाई अब सबै थाहा छ
क्रोधले फुट्न लागेको टाउको बोकेर
फेरि हेर्छु आफ्नो नाङ्गो वस्तीलाई
ऋषिकुटीमा दर्शन गर्न जानेहरू
उठ्न अल्छी मानिरहेका छन्
चोखा मनहरूले
उत्साही भएर
चङ्गाझैँ उड्न नजानेको यो समय
यतिबेला म कुनै जटिल उपदेश दिन सक्दिन
सहरको कुनै भूत बङ्गलाबाट
गाउँहरूलाई आतङ्कित पार्ने गरेर
कसले बजाइरहेको छ
कर्कस साइरनहरू ?
मलाई अब सबै थाहा छ
तिनीहरूले कहाँकहाँबाट स्विच दबाइरहेका छन् ?
घिनौला औँलाहरू चलाएर
वासिङ्गटन, लन्डन वा दिल्ली
मलाई अब सबै थाहा छ
कर्कस साइरनहरू बजाएर
समयलाई त्रासद बनाउनेहरूका विरुद्धको
खेद प्रस्तावहरूमा
म यतिबेला
हतारहतार सहिछाप गरिरहेको छु ।

यो घाइते समय
इमानदार आँखाहरूसँग पनि
विश्वास हराउन सक्ने समय
कहिलेकाहीँ आफ्नै आस्थासँग पनि
भ्रम उत्पन्न हुनसक्ने समय
तर पनि हेरिरहेकै छु ऋषिकुटीलाई
फेरि त्यहाँ कसले कोट्याइरहेको छ
अत्याधुनिक सिन्काले आफ्ना दाँतहरू ?
र, थुकिरहेको छ वस्तीतिर फर्किएर
मासुका त्यान्द्राहरू
मलाई अब सबै थाहा छ
भोको बस्तीको बीचमा उभिएर
त्रासद समयका विरुद्धको
खेद प्रस्तावहरूमा
म यतिबेला
हतारहतार सहिछाप गरिरहेको छु ।
                      ०००
मधुपर्क मासिक, वर्ष– ४२, अङ्क ३, पूर्णाङ्क ४८२ , २०६६ साउन

No comments:

Post a Comment