Thursday, March 5, 2020

कथा : घाम झुल्किनुअघि

मातृका पोखरेल


मिर्मिरे उज्यालो भुइँमा खस्न अझै केही समय बाँकी नै थियो । रातको अन्तिम प्रहरको हुस्सूले अँधेरो अझै बाक्लो देखिन्थ्यो । महाभारतको डाँडामा आधा रातदेखि चल्न थालेको सिरेटो बतास निरन्तर र एकनाशले चलिरहेको छ । मुटु नै बन्द होलाजस्तो चिसो छ । अब दुई–तीन घण्टापछि कटारीबाट हिंडेका बसहरु चिया खान यसै ठाउँमा आइपुग्छन् । राउतखर्क र पाल्सिङतिरबाट दूध लिएर आउने मान्छेहरु पनि आइपुगेका छैनन् । आजको जाडोले उनीहरुलाई काम गर्न कठीन भएको हुनसक्छ ।
सिरेटो एकनाससँग जोडले चलिरहेको छ । तल गैह्राबाट एउटा आवाज आयो । यो आवाज दूध लिएर आउनेहरुको होइन ।
उसले अझै ठम्याएर सुनी– ‘अहँ, यो आवाज चिनेका मान्छेको पनि होइन ।’
को आउँदैछ यतिबेला ? घुर्मीबाट आउने गाडीहरु आउने बेलै भएको छैन । कटारीबाट आउने गाडीहरु आइपुग्न पनि अझै धेरै समय बाँकी छ । गाडी पर्खिने मान्छेहरु पनि यति चाँडै आउनुको कुनै अर्थ छैन ।
आवाजलाई उसले अझै ध्यान दिएर सुनी । नितान्त नौलो आवाज थियो । मनको कतै कुनामा डर पसेको बोध भयो उसलाई । आकाशतिर फर्केर हेरी । उज्यालो हुनै लागेजस्तो लाग्यो ।
ऊ अर्थात् माइली । उसको नाम नै यही हो । अर्थात्, माइली मगर । बाबु–आमाकी माइली छोरी थिई ऊ । तर पछि नाम नै माइली भयो । परारै गाईघाट गएर नागरिकता प्रमाण–पत्र बनाउँदा पनि उसको नाम त्यही रह्यो । माइलीलाई पनि त्यो नामबाहेक आफ्नो अर्को नाम भएको थाहै छैन । ऊ यहाँ होटल चलाएर बस्न थालेको पनि
छ–सात वर्ष भइसक्यो । होटल चलाउनुअघि माइली मयङखु गाउँकी एक सिधासाधा केटी थिई ।
एक दशकअघि कटारी–ओखलढुंगा सडक खण्डको निर्माण कार्य शाही सेनाले जिम्मा लिएपछि माइलीजस्ता धेरै ग्रामीण युवतीहरु सेनाका वैध या अबैध पत्नी बन्न पुगे ।
अरु कैयौं युवतीजस्तै माइली पनि त्यही अभागी युवती थिई ।
उसलाई पनि लोग्नेले बच्चा जन्मनुभन्दा अघि नै छाडेर अन्यत्र सरुवा भएर गएको थियो । कटारीदेखि ओखलढुंगासम्म सडकको आसपास माइलीजस्ता प्रशस्तै युवतीहरु छन् र बाबु नचिनिएका बच्चाहरुसमेत
छन् । माइलीको लोग्ने पनि डढेल्धुरातिरको हो रे ! तर उसलाई डढेल्धुरा कति टाढा छ, थाहै छैन । पसलमा आउने धेरै मान्छेहरुको मुखबाट उसले सुन्दै आएकी हो– डढेल्धुरा यहाँदेखि धेरै टाढा पर्छ ।
बच्चा जन्मेपछि माइलीलाई घर र समाजमा बस्न सजिलो भएन । ऊ त छँदै थिई, खाने पेट अर्को पनि बढ्यो । दुई जनाका लागि छाक जुटाउनु चानचुने कुरा थिएन । दया–माया गर्ने मान्छेहरुले दिएको सल्लाह पच्छ्याउँदै ऊ बेतिनीमा चिया पसल गर्न आइपुगी ।
                                       
अँध्यारोलाई छिचोल्दै आवाज नजीक–नजीक आउन थाल्यो । आवाजहरु फरक–फरक थिए । माइलीले मनमनै विचार गरी– मानिसहरु पनि धेरै छन्जस्तो छ ।
अगेनामा आगो कमै हुँदैगयो । उसले दाउराहरु थपी र अगेनाको नजिकै सरेर जाडो मार्न खोजी ।
‘दूध पनि धेरै बाँकी छैनजस्तो छ !’ एक्लै बर्बराई र पछिल्तिर फर्केर खाटमाथि राखेको कराहीतिर हेरी ।
‘एक मानुजति मात्रै छ’ –माइलीले आवाजहरुको संख्यासंग कराहीको दूधको मात्रालाई दाँजी ।
‘चियालाई पुग्दैनजस्तो छ’ –फेरि मनमनै विचार गरी ।
आवाजहरुको चर्को स्वर बढ्दै गयो ।
‘विवाहको जन्ती त होइन होला ?’ उसले फेरि तर्कना गरी ।
माइलीले सानो छोरालाई उठाई । अलि–अलि डर पनि महशूस भयो उसलाई । छोरो ओच्छ्यानबाट उठेर आँखा मिच्दै अगेनाको छेउमा आएर टुक्रक्क बस्यो ।
‘सुन् त, केको आवाज हो ?’ उसले सानो स्वरमा छोरालाई सोधी ।
‘कति धेरै मान्छे बोलेका छन् !’ छोराको कुराले उसको अनुमानमा झनै बल पुग्यो ।
माइलीले अगेनामा दाउराहरु थपी ता कि उज्यालो पर–परसम्म पुगोस् ।
‘भाले त अघि नै बासेको थियो । कति बज्यो होला खै ? उज्यालो पनि हुँदैन ।’ सात वर्षको छोरालाई सोधेझैं गरी माइलीले एकान्तपन मेट्न खोजी ।
शाही सैनिकहरुको एउटा ठूलो जत्था गैह्राबाट टर्चको लाइट देखाउँदै माइलीको पसलनेरै आइपुग्यो । धेरैवटा टर्चको प्रकाश उसको अनुहारमा परेपछि ऊ बेस्सरी झस्की ।
‘कस्ता बदमासहरु ! अरुको अनुहारमा यसरी टर्च बाल्नुहुन्छ ?’ उनीहरुले नसुन्ने गरी माइलीले एउटा आक्रोश पोखी ।
शाही सेना भन्नेबित्तिकै उसको मनमा घृणाको एउटा विशाल पोखरी निर्माण भएको छ । शाही सैनिककै रुपमा उसको जीवनमा एउटा मान्छेले प्रवेश ग¥यो र उसको व्यक्तिगत संसारलाई हिरोशिमा र नागाशाकीमा अमेरिकाले खसालेको एटम बमलेझैं पलभरमै खण्डहर बनाइदियो । उसको मात्र होइन, उसका कैयौं केटी साथीहरुको जीवनलाई पनि उनीहरुले खेलौंनामा परिणत गरिदिए । सैनिकहरुको हूल देख्नेबित्तिकै उसको भित्री मन एकपटक फेरि काँप्यो ।
‘यो पसलमा चिया पाइन्छ ?’ एउटा कुनै सैनिकले सोधेको थियो ।
‘चिया मात्र होइन, धेरै कुरा पाइन्छजस्तो छ !’ माइलीसँग जिस्कने आसयले अर्को सैनिकले पछिल्तिरबाट सानो स्वरमा बोलेको सुनियो ।
‘पाइँदैन !’ यी दुष्टहरुको जमातलाई ख्वाउनुभन्दा छैन भनेरै टारिदिन्छु । उसले मनमनै सोचेर यस्तो उत्तर दिई ।
‘यहाँ दूध छ त ! किन चिया छैन भनिस् ?’ अर्को एउटा चटपटे सैनिक कुल्र्यो ।
‘यति धेरै मानिसलाई त्यति दूधले कसरी पुग्छ ?’ ओठमा झुण्डिरहेझैं उसले जवाफ फर्काई ।
‘त्यही दूधमा पानी थपेर बनाए भइहाल्छ नि !’ अगाडि उभिएको सैनिकले आदेशको शैलीमा बोल्यो ।
‘हामीलाई तेईस कप चिया चाहियो ।’ कमाण्डरजस्तो लाग्ने अर्को सैनिक फेरि बोल्यो ।
सैनिकहरुले माइलीको अगेनालाई मौरीले गोलोलाई घेरेझैं घेरिरहेका थिए । ओठ कमाउने चिसो सिरेटो अझै चलिरहेको थियो ।
चिया पाक्दा नपाक्दै सबै मानिसहरुलाई देखिने गरेर उज्यालो भुइँमा खसिसकेको थियो । माइलीले पछिसम्मै आँखा फालेर हेरी– ‘हत्कडी लगाइएको एउटा मान्छे सैनिकहरुको बीचमा जाडोले कामिरहेको थियो ।’ जुत्ता–चप्पल नलगाएको खाली खुट्टा, सेतो नैनसुतको मैलो कमिज र छोटो कछाड लगाएको त्यो मान्छे माइलीलाई आपूmले बेलाबेलामा देखिरहेको अनुहारझैं लाग्यो । उसले मनमनै चिन्न खोजी ‘यतै बड्डाँडा, पाल्सिङ्गतिरकै मान्छे हुनुपर्छ ।’
त्यो नीरिह मानिस र सैनिकहरुको बीचको एउटा छोटो सम्वाद पनि सुनी उसले ।
‘म त माओवादी हुँदै होइन हजूर !’
‘तेरो भाइ भएपछि तँ पनि माओवादी नै होस् ।’
‘भाइसँग मेरो एक वर्षदेखि भेटै भएको छैन ।’
‘तैले खोजिस् भने भेट्न सक्छस् !’
‘छाड्दिनूस् हजूर म माओवादी होइन ।’
‘एक वर्षअघि तेरो घरमा आएर ऊ बास बसेको प्रमाण छ हामीसँग ।’
‘ऊ आएर बसेको त हो हजूर !’
‘आतंककारीलाई सहयोग गर्ने पनि आतंककारी नै हुन्छ ।’ चियाका लागि माइलीले सबैलाई एकाएक गन्दै गर्दा यस्तै सम्वाद सुनेकी थिई ।
‘तपाईंहरु चौवीसजना हुनुहुन्छ, चियाचाहिँ किन तेईस कप ?’ माइलीले मानिसहरु गनिसकेपछि भनी ।
‘तैंले आतङ्ककारीलाई पनि गनिस् ?’ छुच्चोजस्तो लाग्ने अर्को सैनिक फेरि कड्कियो ।
माइलीले त्यो मान्छेलाई फेरि हेरी– ‘त्यो मान्छे स्यालको जमातमा एउटा टिठलाग्दो पाठोले जीवनको भीख मागिरहेको झैं देखिन्छ ।’
माइलीले देखिरहेझैं लाग्ने त्यो मान्छेलाई अझै चिन्न खोजी– ‘फेरि पनि धेरै पटक देखिरहेको अनुहार, चिनिरहेको अनुहारझैं लाग्यो ।’
                                       
‘अब एकैछिनपछि महाभारतमा घामको किरण पर्ने छ र त्यसपछि यो अनाथको कामिरहेको शरीरमा न्यानो हुनेछ ।’ माइलीले मनमनै आकाशतिर हेरेर प्रार्थना गरी ।
उता सैनिकहरुद्वारा चिया खाइसकेपछि त्यो एक्लो र निरिह मान्छेमाथि अमानवीय र त्रासद यातनाको क्रम शुरु भयो ।
‘पुलिस र सेनाको जातै कस्तो हँ ?’ माइलीले सैनिकसँगको विगत र आफ्नो जीवनलाई एकपटक कोट्याएर सोची ।
माइली हेर्दै थिई– एउटा सैनिकले त्यो एक्लो मान्छेमाथि एक लात्ती हान्यो र ऊ अर्कोतिर पुगेर लड्नमात्र के लागेको थियो; अर्कोतिरबाट अर्को सैनिकले फेरि अर्को लात्ती वर्षायो । मान्छेलाई फुटबल बनाएर खेलिएको यो दृश्यलाई माइलीले हेर्न नचाहँदै पनि हेरी ।
माइलीले हाट भर्न जाँदा कटारीको चौरमा कहिलेकाहीं यसैगरी मान्छेहरुले फुटबल खेलेको देखेकी थिई । माइलीले उसको बन्द मुखबाट रगत बाहिर बगिरहेको देखी ।
माइलीको सानो छोरो त्यो दृश्यलाई हेर्दै भित्र भाग्यो । सँगसँगै माइली पनि भित्र गई ।
‘आमू ! त्यो मान्छेलाई सेनाले किन पिटेको ?’ छोराले कानमा सुटुक्क सोध्यो ।
‘चुप लाग् !’ माइलीले छोरासँग त्रासद स्थितिको संकेत गरी र मजेत्रोले आँसु पुछी ।
यातनाका प्रत्येक लात्ती र लठ्ठीहरु त्यो नीरिह र एक्लो मान्छेको शरीरमा बज्रँदा ऊ माइलीको अनुहारतिर एक पटक हेर्ने कोशिस गथ्र्यो । त्यसबेला माइली झन् मर्माहत हुन्थ्यी ।
बाहिर आँगन फेरि एकछिन मौन भयो । माइली फेरि बाहिर आई । उसको छोरो पनि फेरि उसलाई पच्छ्याउँदै बाहिरियो ।
बर्दिवालहरुको बीचमा त्यो निरिह मान्छे टुक्रुक्क बसिरहेको थियो । चिसो सिरेटो भरखरै रोकिएको छ । घाम नझुल्किएकोले महाभारतको चिसो भुईंमा उसको बसाइ जडवत मूर्तिजस्तै देखिन्थ्यो । सैनिकहरु वरपर जाँदै एकापसमा कानेखुसी गरिरहेका थिए ।
माइलीले सानैमा देखेको एउटा घटना सम्झी– ‘एक दिन विरालोले घरको मझेरीमा एउटा मुसो मारेछ । मुसोलाई हिंड्न र चल्न नसक्ने बनाएपछि विरालोले खानुभन्दा पहिले छोड्दै... हिंड्दै केही टाढा जाँदै, आउँदै गथ्र्यो ।’ यो घटना उसलाई त्यस्तै लाग्यो ।
“तँ यहाँबाट भाग् ! तँलाई हामी छाडिदिन्छौं ।” एकजना सैनिकले सबैको मुखमा हेरेर हाँस्दै भन्यो ।
“हँ !” ऊ झस्क्यो ।
“हो ! हो ! भाग् !” सैनिकहरु खित्खिताउँदै हाँसे ।
“होइन होला ।”रगतको फालसाले रंगिएको दाँत र ओठ देखाउँदै उसले अलिकति मुख खोलेर हाँसेको अभिनय ग¥यो ।
“मान्छेको जात त बलियो हुँदोरहेछ, त्यति गर्दा पनि मरेको छैन । बाँच्न पाइन्छ कि भनेर अझै हाँस्दैछ !” अर्को सैनिक साथीको काननेर गएर फुस्फुसायो ।
“भागिहाल्, तँलाई हामी छोडिदिन्छौं ।” कमाण्डरजस्तो देखिने अर्को सैनिकले फेरि गम्भीरजस्तो भएर भन्यो ।
“साँच्चै ?” उसले कमाण्डरको मुखतिर हे¥यो ।
“हो, भाग् !” कमाण्डरले फेरि विश्वास दिलाउन खोज्यो ।
उसले एक हात जमीनमा टेक्यो र उठ्न खोज्यो । तर सकेन । फेरि दुई हात भुइँमा टेक्यो र नजिकैको भित्तामा समातेर बल्ल–तल्ल उठ्यो । एकपटक फेरि वरिपरि फर्केर हे¥यो ।
उसलाई भागेर बाँच्छु भन्ने कुरामा शंकाको ठूलो पर्खाल अघिल्तिर उभियो । फेरि वरिपरि हे¥यो र स्थिति बुझ्ने प्रयत्न ग¥यो । मौन भएर उभिएकी माइलीलाई हे¥यो । माइलीको अनुहारबाट पनि उसले केही बुझेन ।
“ढिलो नगर् ! चाँडो भागिहाल् !” फेरि कमाण्डर कड्कियो । उसले हातले भित्तालाई छोड्यो र अलिकति हिंड्न खोज्यो । जीउ थर्थर काँपेजस्तो लाग्यो । तर पनि ऊ लड्नबाट सम्हालियो र विस्तारै पूर्वतर्फको बाटो अघि बढ्यो । माइली पनि छक्क परेर हेरिरही ।
नजिकैको दोबाटोनेर पुगेर फेरि उसले अविश्वासका साथ पछिल्तिर फर्केर हे¥यो ।
उसले हेरेकोमा सैनिकहरु गलल्ल हाँसे ।
फेरि दुई पाइला अघि बढ्यो र पछिल्तिर फर्केर हे¥यो । सैनिकहरु फेरि खित्का छोडेर हाँसे ।
मोटर बाटो छोडेर ऊ महाभारतको डाँडाबाट उत्तरतिरको बाटो मोडियो ।
“ड्याङ्ग ! ड्याङ्ग !! ड्याङ्ग !!!” महाभारत पर्वत नै भत्किने गरेर आएको तीनवटा आवाजले माइलीको छोरो कहालिंदै रोयो ।
“मारे अपराधीहरुले !” माइलीले पूर्वतिर फर्कंदै भनी ।
तुषारोले खाएका पाखाका विरुवाहरुको झाडीलाई लाछ्दै उसको शरीर खोल्सातिर झ¥यो । बाटामाथि धुवाँका पातला धर्साहरु अलि अलि देखिँदै देखिँदै बिलाए ।
महाभारत डाँडामा घामको झुल्को आइपुग्न अझै केही समय बाँकी नै थियो ।



कौशिकी मासिक, वर्ष ८ अङ्क ६, पूर्णाङ्क ८५, २०६५ असोज

No comments:

Post a Comment