Thursday, March 5, 2020

कविता : जङ्गबहादुर

 - मातृका पोखरेल


यतिबेला कसैले नपढे हुन्छ
जङ्गबहादुर मरेको झुठो इतिहास ।

जङ्गबहादुर प्रत्येक अखबारहरूमार्फत
टेलिभिजनहरूमार्फत
हाम्रा लागि प्रत्येक दिन
आदेशहरू जारी गरिरहेका छन् ।
प्रत्येक दिन हामी सबै
जङ्गबहादुरको आदेश
छातीमा टाँगेर हिँडिरहेका छौँ ।

आफ्नो प्रिय घोडा चढेर
प्रत्येक दिन जङ्गबहादुर
उही शान सौगातका साथ
उसैगरी आफ्नो सवारी चलाउँछन्
राजधानीका सडकहरूमा ।

जङ्गबहादुर सँगसँगै
उनको पुरानो घोडा पनि जीवित छ
बालबच्चा बुढापाका सबैले देख्नेगरी
हिन्हिनाउँदै कराउँछ पहिल्यै जसरी ।
जङ्गबहादुर सवार घोडा
हाम्रा पू्र्खाहरू कोपरेका दाँतहरू बोकेर
शान सौगातका साथ हिँडिरहेकै छ हाम्रो बस्तीमा ।

जङ्गबहादुरको घोडा
जब हिन्हिनाउँछ बस्तीको छाती कोतरेर
त्यसबेला देखिन्छन् उसका तरुण दाँतहरू
उसका दाँतहरू देखेर
बुढापाकाहरू आतङ्कित हुन्छन्
दुध चुस्दै गरेका अबोध बच्चाहरू एक्कासी चिच्याउँछन्
युवतीहरू कोकोहोलो मच्चाउँदै रुन्छन् ।
र पूरै बस्ती भयग्रस्त बन्छ ।

एउटा जङ्गबहादुर मरेको कथा
खुबै घोकेको थिएँ इतिहासमा मैले
परीक्षामा पास गर्न पनि घोकेको थिएँ
अहिले आफैँलाई गलत लागिरहेको छ
जङ्गबहादुर मरेको इतिहास
आफैले घोकेको एउटा झुठो इतिहास ।

हामी सबै जङ्गबहादुरहरूबाट घेरिएका छौँ
जताततै सडकमा ,
सरकारी कार्यालयहरूमा
नीति निर्माणका तहहरूमा
पार्टीको पोलिटब्युरो र स्थायी समितिहरूमा
कहाँ छैनन् जङ्गबहादुरहरू ?
जङ्गबहादुर मरेको झुठो इतिहास
अझै घोकी रहेका छन् बच्चाहरू
विद्यालय र कलेजका विद्यार्थीहरू
पढाइरहेका छन् शिक्षक र प्राध्यापकहरू ।

स्वयं जङ्गबहादुर
विद्यालय पुगेर
विश्वविद्यालय पुगेर
हाम्रा गुरुहरूलाई
अझै दबाब दिइरहेका छन्
र पढाउन भनिरहेका छन्
आफू मरेको झुठो इतिहास ।

दाँत पनि नझरेको तरुण जङ्गबहादुरलाई बोकेर
जङ्गबहादुरको तरुण घोडा
मेरो प्रिय पर्व गणतन्त्र दिवसलाई
टुडिखेलबाट ठुलोठुलो स्वरमा लल्कारिरहन्छ
म यतिबेला सबैभन्दा खतर्नाक सपना देखिरहेको छु ।

एउटा दुर्ग फेरि बनाउनु छ
र त्यहाँ उभिएर फेरि गर्नु छ
जङ्गबहादुरको मृत्यु घोषणा ।

यतिबेला कसैले नपढे हुन्छ
जङ्गबहादुर मरेको झुठो इतिहास ।

No comments:

Post a Comment