Thursday, March 5, 2020

कविता : नयाँ प्रभातको खोजीमा

 - मातृका पोखरेल


मैले कलिला आँखाहरूको
सपनालाई निमोठेर
महलका भ¥याङहरूमा सजाउने
सिंगमर्मर बनाउन सकिनँ,
तिमीले भनेझैँ म तिमीभन्दा फरक हुँ
जसरी तिमीले आफ्नो छातीमा
विभाजनको एउटा तस्विर झुन्ड्यायौ,
अब तिमीले शङ्काका डोबहरू पुरिदिए हुन्छ
मैले पनि बाध्यताले चह¥याएका आँखाहरूमा
आस्थाको नयाँ प्रभात टाँगेको छु ।

तिमीलाई खुसी पार्न मैले
आहालको फोहोर हिलोलाई
निर्मल जल भन्दै निसङ्कोच पिउन सकिनँ,
तिमीसँगको सहयात्राका लागि,
पसिनाका पोखरीहरूमा डुबुल्की मार्न सकिनँ,
मैले निर्धक्क उड्न चाहने
परेवाका प्वाँखहरू चुँडेर
जुत्ताको भित्री भुवा बनाएर लाउन सकिनँ,
हो ! तिमीले शङ्का गरेको ठिकै हो
गर्मीले निसास्सिएका वस्तीहरूमा
मैले पनि नयाँ बतासलाई आमन्त्रण गरेको छु ।

मैले तिमीलाई उहिल्यै भनेको थिएँ
तिम्रा मर्न लागेका घोडाहरू
त्यसबेलाका भोका वस्तीहरूमाझैँ
अब टाप मारेर शासन गर्न असमर्थ हुनेछन्,
तिम्रो भद्दयुगको निरन्तरता कायम गर्न
प्रजननका लागि पनि पूर्णतः असमर्थ हुने छन्
मैले तिम्रा घोडाहरूको दीर्घायु कामना गरेर
कलिला घामहरू छोप्ने बाक्लो हुस्सूलाई
यो चिसो वस्तीमा आमन्त्रण गर्न सकिनँ
मैले नयाँ युगको विरुद्धमा
कदापि किर्ते बयान दिन सकिनँ
परिणाममा तिमी बरु खोज्छौ भने
म तयार छु
अभावका ठुलाठुला शिखरहरू आरोहण गर्न
तर म इतिहासलाई साक्षी राखेर फेरी भन्छु
मैले कलिला नानीहरूको सपना देख्ने आँखाहरूलाई
खेलौना बनाएर खेल्न कहिल्यै सकिनँ ।


दायित्व द्वैमासिक, वर्ष २२ पूर्णाङ्क ६२, २०६५ असोज–कार्तिक



No comments:

Post a Comment