Thursday, March 5, 2020

कविता : पहिरो

 - मातृका पोखरेल


पहाडको स्वाभिमानमाथि शत्रुताको छुरी उज्याउने
पहाडको छातीलाई विपतको आराले रेट्ने
फेरि उत्तरआधुनिकताको टोपी भिरेर
किन गरिरहेछन् मान्छेहरू पहिरोको पूजा
म आगोका लप्का उठिरहेको डढेलोझैँ
क्रोधले चुरचुर भएको छु ।

अब किन पूजा गर्नु मान्छेले पहिरो,
जोगिमारा भोगेकै हो काठमाडौँले
कृष्णभीरको घाउले धरधरी रूवाएकै हो
दुव्रmषिम भत्किएर तराई पनि पुरिएकै हो
अब किन पूजा गर्नु मान्छेहरूले पहिरो
आतङ्कको उही पुरानो विपनाले
मलाई बारबार घेरिरहन्छ
पहाडको शिरमा ठिङ्ग उभिइरहेको
उही पुरानो पहिरो,
र सम्साझैँ निदाइरहेको
फेदीको उही पुरानो बस्ती
यति बेला, पहिरो पहाडको थुम नापिरहेको छ
म, नयाँ युगको चिन्ता बोकेर
चौबाटोमा नयाँ जुलुस पर्खिरहेको छु ।

नयाँ युगको फूल बोकेर
म महाभारत
नयाँ भोलिको आमन्त्रण गरिरहेको छु
त्यस्तो एउटा नयाँ भोलि
त्यति बेला पहिरोले
हामी पहाडहरूको छाती रेटेर
वस्तीका वस्ती खण्डहर बनाउँदैन
हामीलाई पुरानो युगतिर धकेल्दैन
त्यस बेला मसँगसँगै
बच्चाहरूले घृणा गर्दै पढ्ने छन्
उसको क्रुर इतिहास ।


शारदा मासिक, वर्ष १ अङ्क ४, २०६४ वैशाख

No comments:

Post a Comment