Saturday, February 29, 2020

कविता : दुश्मनहरू सुरक्षित रहेको बेला

- मातृका पोखरेल

मलाई थाहा छ -
तिमी जुलुससँग डराउँछौ
नारा र हडतालसँग पनि डराउँछौ
अचेलभरि माओवादीहरूसँग झन् धेरै डराउँछौ
तर जब प्रवीण गुरूङको हत्यारा
तिमी राम्रोसँग चिन्छौ
र डराइ–डराइकन
गोप्य र तथ्य सूचना दिन्छौ
अनि यो देशको सरकार
सूचना दिने मान्छे सोध्छ
र तिमीलाई खोज्छ
जब तिमी हत्यारा चिनेबापत
अपराधी ठहरिन्छौ
भन माइला । नढाँटी भन
त्यतिबेला तिमीलाई
माओवादी र सरकारमध्ये
माओवादीनै आफ्नो जस्तो लाग्छ ।

एउटै घरबाट उही समस्यामा
भाइ साइँलो माओवादी भएर जंगल पस्छ
तिमी मकै र सातु बोकेर शहर पस्छौ
र खान्छौ पुलिसको जागिर
तिमी साहिंलालाई गोली ताक्छौ
साइँलो तिमीलाई निशाना दाग्छ ।
अचेलभरी रोल्पा र रूकुमतिर
तिमीहरू जस्तैलाई पठाइन्छ
माइला! नढाँटी भनेको
तिमी आफ्नै भाइहरूलाई हानिरहेका छौ
तिमी आफ्नै आफ्नैलाई मारिरहेछौ ।

तिम्रा दुवै आमाका
शोक मनाउने आँखाहरू
मैले उस्तै रंगका देखें
तिमीहरूको सम्झनामा
आँशुका ढिक्काहरू
चाउरी परेका गालाका
उस्तै गराहरू हुँदै खस्दा रहेछन्
तिम्रा घरका दलानहरू उस्तै रहेछन्
उस्तै चुहिने छानाहरू छन्
बाबुका गालाहरू
उस्तै ख्याउटे र चाउरी परेछन्
कहाँ पाउनु अट्टालीका माथि बसेर
तिमीहरूको मृत्युमा शोक मनाउन
तिमीहरूको मृत्युको खबर पुगेकै दिन
मकैको बीउसँगै बारीमा आँशु रोप्दा रहेछन्
खेतमा आँशुमै हिलो मुछ्दा रहेछन्
बहिनीहरूले उसैगरी
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउनुपर्छ
साइँला! तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेछन्
साइँला! सुरक्षित बाँचिरहेछन् ।


o
सहयात्री, वर्ष २, अंक २, पूर्णाङ्क ३, २०५७ असोज

No comments:

Post a Comment