Saturday, February 29, 2020

कविता : फरक आँखाका यात्रीहरू

- मातृका पोखरेल

उनीहरूले मर्स्याङ्दीको छाल हेरे
वरिपरिको हरियाली हेरे
आपसमा सल्लाह गरे
यिनै चिजको कविता कोरौं
तर मैले भनें,
मर्स्याङ्दीको छालमा
शोभाकान्तको रगत भेटें
वरिपरिको हरियालीमा
आस्थाको बगैंचा भेटें ।

उनीहरूले मर्स्याङ्दीको छातीमा उभिएको
पहराको कुरा गरे
मैले त्यो पहरामा
शोभाकान्तको विश्वास खोजें
उनीहरूले मर्स्याङ्दीको प्रवाहमा दौडेको
निर्मल पानीको कुरा गरे
मैले त्यो पानीमा
शोभाकान्तको निर्मल मन खोजें
हामी फरक आँखाका यात्रीहरू
मर्स्याङ्दीको किनारतिर
उनीहरू त्यस्तै त्यस्तै कुरा देख्छन्
म बेग्लै बेग्ले कुराहरू भेट्छु
उनीहरू पहेंला आँखाले हेरिरहेछन्
म नीला आँखाले देखिरहेछु
हामी मर्स्याङ्दी किनारका यात्रीहरू ।

उनीहरूले मर्स्याङ्दीको भित्ताबाट
ठोकिँदै तल झरेका
सेता झर्नाका कुराहरू गरे
मैले त्यो झर्नामा
शोभाकान्तका ढुकढुकीहरू भेटें
उनीहरूले हरिया खेतहरूको कुरा गरे
मैले खेतका आलीतिर
शोभाकान्तका पाइतालाका डोबहरू खोजें
र प्रत्येक झुप्राहरूमा खोजें
उसको दुब्लो शरीरको अस्तित्व ।
साथीहरू । अन्यथा नठान्दा हुन्छ
म यो मौसममा/यो ठाउँमा
हरियालीका कविता लेख्न सक्दिनँ
सेता झर्नाका कविता लेख्न सक्दिनँ
हामी मर्स्याङ्दी किनारका यात्रीहरू
हामी फरक आँखाका यात्रीहरू ।


o
विद्युत्तरङ्ग, वर्ष ५, अंक ५, २०५८ भदौ

No comments:

Post a Comment