Saturday, February 29, 2020

कविता : यात्राको एउटा दृश्य

- मातृका पोखरेल

हिजै मात्र
हामीलाई बाटो देखाएर
सिंहदरबार पसेपछि
एउटा यात्रामा थाकेर
भर्खरै मात्र उनीहरू
टुकुचाको पानी पिउँदै–पिउँदै
दरबारमार्गको बाटो
उत्तरतिर लागेपछि
उनीहरूकै कारणले
इतिहासमा फेरि एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

बितेका केही वर्ष
गद्दारीको बाली
राम्रैसित फल्यो
बाली भित्र्याउनेहरू
दरबारतिर खेताला भित्र्याइरहेछन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर
उनीहरू भोज लगाइरहेछन्
कमलपित्तको रोगीझैं पहेंलिएर
हिजोका मेरा सहयात्रीहरू
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन्
बितेको वर्ष,
गद्दारीको बाली राम्रैसित फल्यो
उनीहरूले भर्खरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भर्र्याङ् चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

मलाई अचेलभरी
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
आफ्नो टाउको
पैसामा साट्न पसल थापिरहेका
हिजोका नातेदारहरू
भेटिन्छन् बाटामा
मर्न लागेकासँग
अलिकति बोल्न
अलिकति हाँस्न
कति गाह्रो छ,
मलार्इ अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन,
हाम्रो मीठो सपनालाई
बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरू
दरबारमार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।


० 
संस्कृति, अंक ५, २०६० असोज

No comments:

Post a Comment