काठमाडौं १५ कार्तिक २०८३ /
देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानको निमन्त्रणामा चीनका विभिन्न सांस्कृतिक, शैक्षिक तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वसहित १६ सदस्यीय चिनियाँ टोली नेपाल भ्रमणमा आएको छ। भ्रमणका क्रममा टोलीले काठमाडौंस्थित देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानको कार्यालय अवलोकन गर्नुका साथै भक्तपुर नगरपालिकासँग भेटघाट तथा भक्तपुरका ऐतिहासिक, सांस्कृतिक र शैक्षिक क्षेत्रको अवलोकन गरेको छ।
टोलीले अनामनगरस्थित देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानको कार्यालयमा पुगेर कार्यालयको अवलोकन गरेको थियो । प्रतिष्ठानले चिनियाँ पाहुनाहरूलाई स्वागत गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौड्याल, उपाध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष सुवास श्रेष्ठ, महासचिव सीता शर्मा, कोषाध्यक्ष कृष्ण प्रसाईं तथा सदस्य सिर्जना शर्माको उपस्थिति रहेको थियो।
भ्रमण टोलीमा विशेष अतिथिका रूपमा लु सुन कल्चर फाउन्डेसनका अध्यक्ष झोउ लिङ्फेई चीनका उपप्रमुख कूटनीतिक प्रतिनिधि (Deputy Chief of Mission) झोउ पान सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी, चाइना कल्चरल सेन्टरका निर्देशक लिउ झानपिङ, लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
लु सुन कल्चर फाउन्डेसनका तर्फबाट लु सुनका पनाति झोउ जिङसुआन तथा फाउन्डेसनकी महासचिव छिउ जियानजिङ पनि भ्रमण टोलीमा सहभागी हुनुहुन्थ्यो। साथै चाइनिज एकेडेमी अफ सोसल साइन्सेस, शाओसिङ विश्वविद्यालयलगायत संस्थाका प्रतिनिधि प्राध्यापक लिङ्हु वेनसेङ र प्रोफेसर गु दायोङसहित १६ सदस्यीय चिनियाँ टोली नेपाल आएको हो।
प्रतिष्ठानको कार्यालय अवलोकन तथा स्वागत कार्यक्रमपछि चिनियाँ टोली भक्तपुर पुगेको थियो। भक्तपुर नगरपालिकामा नगरप्रमुख सुनिल प्रजापतिको उपस्थितिमा परिचयात्मक कार्यक्रम तथा भेटघाट सम्पन्न भएको थियो। उक्त अवसरमा नगरपालिकाका प्रतिनिधि तथा चिनियाँ पाहुनाबीच आपसी परिचय, अनुभव आदानप्रदान र सांस्कृतिक तथा शैक्षिक सम्बन्धका विषयमा छलफल भएको थियो।
त्यसपछि टोलीले ख्वप अस्पताल तथा ख्वप इन्जिनियरिङ कलेजको अवलोकन गरेको थियो। साथै भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको भ्रमण गरी भक्तपुरको मौलिक कला, संस्कृति, सम्पदा र जीवनशैलीबारे जानकारी लिएको थियो।
देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानको निमन्त्रणामा भएको यस भ्रमणले नेपाल र चीनबीचको साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। विशेषगरी नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा र चिनियाँ साहित्यकार लु सुनको साहित्यिक तथा वैचारिक सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउन यस्ता भेटघाट र भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
सोही दिन चिनियाँ पाहुनाहरूको स्वागत र सम्मानमा देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानले रात्री भोजको आयोजना गरेको थियो ।
०००
























































No comments:
Post a Comment