Tuesday, March 24, 2026

मलाई पनि निद्रा आएन कथासङ्ग्रहका कथामा समाजचित्रण - बद्रीप्रसाद ढकाल

कविता र कथा दुवै क्षेत्रमा समानान्तर रूपमा सिर्जनारत मातृका पोखरेल (२०२३) नेपालको वाम–सांस्कृतिक आन्दोलनमा पनि निरन्तर सक्रिय व्यक्तित्व हुन् । २०५० को दशकको सुरुवातदेखि विभिन्न सांस्कृतिक सङ्गठनका नेतृत्वदायी जिम्मेवारीहरूमा रहेर काम गर्दै आएका पोखरेलका यसअघि चार कवितासङ्ग्रह सेतो दरबारको छेउबाट, यात्राको एउटा दृश्य, अनुहारहरू र मित्रताको आकाश र दुई कथासङ्ग्रह सन्त्रस्त आँखाहरू र घाम झुल्किनुअघि प्रकाशित छन् । उनले थुप्रै साहित्यिक पत्रिका र स्मृति ग्रन्थहरू पनि सम्पादन गरेका छन् । मलाई पनि निद्रा लागेन पोखरेलको तेस्रो कथासङ्ग्रह हो । नेपाली साहित्य विभिन्न विधामा रचना गर्ने मातृका पोखरेल समसामयिक धाराका साहित्यकार हुन् । उनले कविता तथा सङ्ग्रहका कथा विधामा साहित्य रचना गरेका छन् । मलाई पनि निद्रा लागेन कथासङ्ग्रहका कथामा समाजलाई जागृत गर्नका लागि समाजमा ठुला र इज्जतदार भनिएको पात्रको आºनै मुखबोलीबाट कृत्यको उजागर गरिएको छ ।

बद्रीप्रसाद ढकाल

कथाकार मातृका पोखरेलको मलाई निद्रा आएन कथासङ्ग्रहमा विभिन्न विषयवस्तुका उज्यालोको प्रतीक्षा, महानगरभित्र, थवाङ हेर्ने रहर, मुक्तिनगर, बाध्यता, बाढीको आवाज, अँधेरी रातको एउटा कथा, मलाई पनि निद्रा लागेन, इतिहासको चिहानमाथि उभिएर, चियाको खैरो जालो, सानीमा फेरि फर्किनु भएन !, तर, यो सपना होइन, रसिद, शर्मा अङ्कलको सेकुवा कर्नर र होलटाइमर शीर्षकका कथाहरू समाविष्ट छन् । यस सङ्ग्रहका अधिकांश कथामा वर्गीय चिन्तन, क्रान्तिचेत, स्वतन्त्रता र राष्ट्रिय भावको वैचारिक पक्ष प्रबल भएर देखापरेको पाइन्छ । निम्नवर्गीय पात्रको सामाजि अवस्थालाई कथामा प्रस्तुत गरिएको पाइन्छ ः मलाई त केही थिएन हजुर, ऊ काठमान्डूमै छ भनेर देख्नेहरूले भनेकै थिए । उसको चिन्ताले तिलककी आमाको हाड र छाला मात्र बाँकी छ । ऊ गएको यतिका वर्ष भइसक्यो । हजुरले खोजी गरेर पठाइदिए ठूलो गुन सम्झने थियौ । यति भनिसक्दा साइला दमाईंको एक थोपा आँंसु भुँईमा खसिसकेको थियो । (पृ.१०)

भूमिहीन सुकुम्वासीहरूको सङ्ख्या निकै ठूलो थियो र उनीहरूको जीवन निकै कष्टकर थियो । स्थानीय जमिनदारहरूको मात्र नभएर काठमाडौमा बस्ने राणा, शाह र उनीहरूका नातेदारहरूले कब्जा गरेर राखेका जमिनहरू पनि प्रशस्तै थिए । पहाडी इलाकामा भन्दा जमिनदारी प्रथाको भयावह रूप देखेको थिएँ मैले त्यहाँ । भूमिहीन सुकुम्वासीहरूले नारकीय जीवन बिताइरहेका थिए । जमिनदारहरू उनीहरूलाई मान्छेको कोटीभित्र राखेर व्यवहार गर्दैनथे । सामन्त, जमिनदारहरूको आँखामा उनीहरू पशुलोकभित्रकै प्राणीहरू थिए । (पृ.२७)

म बागमतीको पुलमाथि पुग्दा प्रहरी र सुकुम्वासीहरूको बीचमा भीडन्त भइरहेको थियो । प्रहरी ज्यादतिले सीमा नाघिरहेको थियो । परैबाट देखे कमरेड सरलाको सानो छोरो बच्चाहरूको एउटा समूह बनाएर डोजरमा ढुङ्गा हान्दै थियो । पुलिसहरू के बच्चा के बुढापाका, कोही नभनी लाठी बर्साइरहेका थिए र तिनीहरूले क्रूरतापूर्वक घर–टहराका मानहरू बागमती नदीमा फ्याँकिरहेका थिए ।

देख्दादेख्दै एक निमेषमा मानिसहरूको ठूलो सङ्ख्या बेघरबार भयो । मसँग अन्तरसम्बन्ध भएका सबै कामरेड बेघरबार भएका थिए । (पृ.६७)

नेपाली समकालीन कथासाहित्यमा सामाजिक यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गर्ने कथाकार हुन रूपमा मातृका पोखरेल । उनका कथाले पाठकलाई समाजका समस्या बुझ्न, अन्यायप्रति सजग हुन र सकारात्मक परिवर्तनतर्फ अग्रसर हुन प्रेरित गर्छन् । त्यसैले उनी नेपाली साहित्यमा महŒवपूर्ण स्थान ओगट्ने कथाकार हुन् । उनले समाजका दबिएका, शोषित र पीडित वर्गको जीवनभोगाइलाई आफ्ना कथामा जीवन्त ढङ्गले प्रस्तुत गरेका छन् । उनको लेखन केवल मनोरञ्जनका लागि नभई समाजप्रति उत्तरदायित्वबोधले प्रेरित देखिन्छ । पोखरेलका कथामा मुख्यतः निम्न तथा मध्यमवर्गीय जीवन, गरिबी, बेरोजगारी, वर्गीय असमानता, राजनीतिक अन्याय र सामाजिक विसङ्गतिहरूको चित्रण पाइन्छ । उनले गाउँ र सहर दुवै परिवेशलाई आफ्ना कथामा उतारेका छन् । विशेष गरी श्रमिक वर्गको सङ्घर्ष, उत्पीडन र परिवर्तनको चाहनालाई उनले गहिरो संवेदनाका साथ प्रस्तुत गरेका छन् । यसबाट उनको लेखनमा सामाजिक यथार्थवादको स्पष्ट प्रभाव देखिन्छ ।

भाषाशैलीका दृष्टिले उनका कथाहरू सरल, स्पष्ट र प्रभावकारी छन् । अनावश्यक अलङ्कारभन्दा बढी जीवनको यथार्थ चित्रणमा उनी केन्द्रित देखिन्छन् । पात्रहरू स्वाभाविक र जीवनसँग नजिक छन्, जसले पाठकलाई कथासँग भावनात्मक रूपमा जोड्न सहयोग पु¥याउँछ । उनका कथामा विद्रोहको स्वर पनि सुन्न सकिन्छ, जसले समाज परिवर्तनको सन्देश दिन्छ । उनका कथाहरूमा सामाजिक यथार्थवाद प्रमुख प्रवृत्तिका रूपमा देखिन्छ । उनले अनावश्यक कल्पनाभन्दा यथार्थ जीवनका घटनालाई प्राथमिकता दिएका छन्। भाषा सरल, स्पष्ट र सहज छ, जसले पाठकलाई सजिलै कथाभित्र प्रवेश गराउँछ । साथै उनका कथामा मानवीय संवेदना, विद्रोहको स्वर र परिवर्तनको आकाङ्क्षा पनि स्पष्ट देखिन्छ । यसरी मातृका पोखरेलका कथाहरू नेपाली समाजको दर्पणका रूपमा देखिन्छन् । उनले साहित्यलाई समाज रूपान्तरणको माध्यमका रूपमा प्रयोग गरेका छन्। त्यसैले उनी नेपाली कथासाहित्यका प्रतिबद्ध, प्रगतिशील र प्रभावशाली कथाकारका रूपमा परिचित छन् । नेपाली समकालीन कथासाहित्यमा प्रगतिशील चेतनाका सशक्त प्रतिनिधि कथाकारका रूपमा मातृका पोखरेल परिचित छन् । उनले साहित्यलाई केवल सौन्दर्यको माध्यम नभई समाज परिवर्तनको उपकरणका रूपमा प्रयोग गरेका छन् । उनका कथामा वर्गीय चेतना, सामाजिक न्याय, समानता र मानवीय मुक्तिको आकाङ्क्षा स्पष्ट रूपमा व्यक्त भएको पाइन्छ ।

मातृका पोखरेलका मलाई पनि निद्रा लागेन कथासङ्ग्रहका कथाहरू मुख्यतः श्रमिक, किसान, निम्न तथा मध्यम वर्गीय जनताको जीवनसँग जोडिएका छन् । उनले गरिबी, शोषण, बेरोजगारी, विस्थापन, राजनीतिक अन्याय र सामाजिक विभेदजस्ता विषयलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेका छन् । उनका पात्रहरू प्रायः सङ्घर्षशील, चेतनाशील र परिवर्तनप्रति आकाङ्क्षी हुन्छन् । यसले उनको लेखनमा प्रगतिशील विचारधाराको प्रभाव देखाउँछ । उनको भाषा सरल, स्पष्ट र प्रभावकारी छ ।  प्रगतिशील कथाकार मातृका पोखरेलका प्रवृत्तिहरूलाई अध्ययन गर्दा मातृका पोखरेल नेपाली समकालीन कथासाहित्यका प्रगतिशील धाराका सशक्त प्रतिनिधि हुन् । उनका कथामा समाज परिवर्तनको चेतना, वर्गीय दृष्टिकोण र यथार्थवादी प्रस्तुति स्पष्ट देखिन्छ । उनका प्रमुख प्रवृत्तिहरूमा सामाजिक यथार्थवादका झल्को पाइन्छ त्यसैले उनका कथाहरू समाजका वास्तविक घटनाहरू, पीडा र सङ्घर्षमा आधारित छन् । कल्पनाभन्दा बढी यथार्थ जीवनको चित्रणमा उनले जोड दिएका छन् ।

वर्गीय चेतना र वर्गसङ्घर्षका रूपमा निम्न तथा श्रमिक वर्गको जीवन, शोषण र उत्पीडनलाई केन्द्रमा राखी उनले वर्गीय असमानताको विरोध गरेका छन् । उनका कथामा उत्पीडित वर्गप्रति सहानुभूति र शोषक वर्गप्रति आलोचनात्मक दृष्टि पाइन्छ भने प्रगतिशील तथा परिवर्तनमुखी सोचका कारण उनका कथामा नयाँ समाज निर्माणको आकांक्षा, समानता र न्यायको माग तथा सामाजिक रूपान्तरणको सन्देश पाइन्छ । मानवीय संवेदनाका दृष्टिले पात्रहरूको पीडा, आशा, निराशा र सङ्घर्षलाई गहिरो भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यसले कथालाई जीवन्त र प्रभावकारी बनाएको छ ।

उनले यस सङ्ग्रहका प्रायशः कथामा सहज, बोधगम्य र प्रभावकारी भाषा प्रयोग गरेका छन्, जसले आम पाठकसम्म सन्देश पु¥याउन सहयोग गर्छ । गाउँले परिवेश, किसान–श्रमिकको जीवन र सीमान्तकृत समुदायका समस्यालाई उनले कथाको विषय बनाएका छन् । उनका कथामा प्रयुक्त भाव र अर्थमा सुन्दर संयोजन रहेको छ । उनका कथामा संवेदना, हार्दिकता एवम् कलात्मकताको प्रयोग गरिएको छ । मूलतः नेपाली समाज र नेपाली मात्र नभई समस्त मानव सभ्यताको उत्पीडन विरुद्ध विद्रोहको स्वर यस सङ्ग्रहका कथामा पाइन्छन् । कथाकार पोखरेलको सृजनात्मक व्यक्तित्व अन्याय र अत्याचारका विरुद्ध हरदम सजगतापूर्ण ढङ्गले उपस्थित छ । राष्ट्रवादी विचारको अभिव्यक्ति, वर्गीय चिन्तन, आशावादी जीवनदृष्टि, विद्रोही भाव, यथार्थको चित्रण,  प्रगतिवादी चेतना, मानवतावादी विचारको अभिव्यक्ति, साझा संवेदना, मानवीय अनुभूति, जीवनवादी दृष्टिकोण, विचारमा स्पष्टता, परिष्कार आदि उनका आख्यानात्मक विशेषताहरू हुन् भन्ने निष्कर्ष उनका कथासङ्ग्रहको अध्ययनबाट पुष्टि भएको छ । यसरी नेपाली साहित्यको समसामयीक धाराका सक्रिय व्यक्तित्व कवि तथा कथाकार मातृका पोखरेलका कथामा प्रगतिशील विचारधारा, सामाजिक प्रतिबद्धता र परिवर्तनको चाहना तथा सामाजिक सकारात्मक रूपान्तरण प्रमुख विचारका रूपमा अभिव्यक्त भएको पाइन्छ । त्यसैले उनी नेपाली साहित्यका महŒवपूर्ण प्रगतिशील कथाकारका रूपमा स्थापित छन् भने प्रस्तुत कथासङ्ग्रह मलाई पनि निद्रा लागेन कथासङ्ग्रहका कथाका विषय राजनैतिक विषयवस्तुले निम्नवर्गका समान अधिकार प्राप्तिका लागि लक्षित र उजागर गर्न सफल रहेका देखिन्छन् ।

000

चन्द्रागिरि, काठमाडौं
Email:bbiibash@gmail.com

No comments:

Post a Comment