Thursday, June 20, 2024

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक गोष्ठीको आयोजना

नेपाली साहित्यमा मात्रै नभई विश्व साहित्यिकवृत्तमा समेत सबैभन्दा धेरै पढिने विधामा आख्यान नै पर्दछ । आख्यानका मूलतः चार भेद– उपन्यास, लघुउपन्यास, कथा र लघुकथामा पनि उपन्यासको बजार अझ सघन देखिन्छ । उपन्यासकारहरुले आफ्नो लेखनमा नवीनपन दिन अनेक प्रयोगहरु अपनाउँदै आएका पनि पाइन्छन् । यसबाट उपन्यासकारलाई आम उपन्यासकारबाट छुट्याएर बेग्लै प्रयोगधर्मीको रुपमा चिनाएर उसका छुट्टैखालका पाठकको संख्या बढिरहेको हुन्छ । नेपाली साहित्यमा पनि उपन्यास लेखनमा धेरै प्रयोगहरु हुँदै आएका पाइन्छन् र यस्तै प्रयोगमध्येमै पर्दछ आञ्चलिकता । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा यसै सन्दर्भमा मकवानपुरको चित्लाङमा नेपाली लेखक संघसँगको सहकार्यमा ‘नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक दुई दिने गोष्ठीको आयोजना गरियो । वि.सं. २०७५ असार १६ र १७ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, गद्य आख्यान विभाग प्रमुख मातृका पोखरेलको प्रमुख आतिथ्य र स्थानीय समाजसेवी केशवराज पौडेलको सभापतित्वमा भएको गोष्ठीमा पहिलो दिन यसै विषयज्ञाता डा. धनप्रसाद सुवेदी (श्रमिक)ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले आञ्चलिकताको अर्थ, सन्दर्भ र आञ्चलिकतालाई प्राथमिकता दिएर लेखिएका उपन्यासहरुको सूचीसमेत् प्रस्तुत गर्नुभएको थियो । 

डा. सुवेदीको कार्यपत्रको सार यस्तो छः


१. कुनै क्षेत्र विशेषमा केन्द्रित रहेर त्यस क्षेत्रका प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि मौलिकता एवं विशेषताहरुको उजागर गर्ने प्रवृत्ति वा मान्यतालाई आञ्चलिकता भनिन्छ । बोली, संकृति, पात्र, रहनसहन जस्ता कुराहरु स्थानीय विशेषमा केन्द्रित हुनु आञ्चलिकताको प्रयोग हो । यो सन्दर्भ खास गरेर साहित्य र कलाका क्षेत्रमा अलग्गै प्रवृत्ति र सिद्धान्तको रुपमा विकसित भएको छ । संसारका हरेक भाषाको साहित्यमा आञ्चलिकताको प्रयोग पाइन्छ । सबै विधामा धेरथोर प्रयोगमा आउने भए पनि उपन्यासमा भने आञ्चलिकता सघनरुपमा आएको पाइन्छ ।

२. विश्वमा आञ्चलिकताको सैद्धान्तिक मान्यता स्थापना हुनुभन्दा अगाडि नै बेलायतबाट ओलिभर गोल्डस्मिथले ‘द डिजर्टेड भिलेज (सन् १७७०)’ नामक उपन्यासमार्फत् आञ्चलिकता भित्र्याइसकेका थिए । पहिलो आञ्चलिक उपन्यास चाहिँ बेलायती उपन्यासकार मारिया इजवर्थको ‘कासल र्याकरेन्ट (सन् १८००)’ लाई मानिएको छ । आञ्चलिक साहित्यको लेखनलाई सन् १९३० तिर अमेरिकी लेखकहरुले चलाएको ‘लोकल कलर मुभमेन्ट’ को सैद्धान्तिक अवधारणाका रुपमा लिइन्छ ।

३. आञ्चलिकतामा विशेषगरी कथाञ्चलको समाज, लोक परम्परा,, जाति, धर्म, संस्कृति, जस्ता कुरालाई प्राथमिकतामा राखेर लेखिएको हुन्छ । नेपाली उपन्यासको संख्या दुई हजारको हाराहारी पुगे पनि आञ्चलिकतामा लेखिएका कमै छन् ।

४. नेपाली उपन्यासमा आञ्चलिकताको प्रयोग गिरीषवल्लभ जोशीको ‘वीरचरित्र’ (वि.सं. १९६०)बाटै भएको हो । रुद्रराज पाण्डेको रुपमतीमा समाजको यथार्थ चित्रण पाइन्छ । शङ्कर कोइरालाको खैरेनीघाट (२०१८) नेपाली उपन्यासको आञ्चलिक लेखनको अव्वल उपन्यास हो ।

५.उज्यालो हुनुअघि, हेलम्बु मेरो गाउँ, घामका पाइलाहरु, अविरल बग्दछ इन्द्रावती, उलार, ब्रम्हपुत्रको छेउछाउ, जस्ता डेढ दर्जन उपन्यासमा आञ्चलिकताको पूर्ण प्रयोग र ओझेल पर्दा, मेरो कथा, मने लगायतका एक दर्जक कृतिमा आंशिक प्रयोग गरिएको पाइन्छ ।

६. नेपाली आञ्चलिक उपन्यासका प्रवृत्तिहरुमा– पिछडिएको ग्रामीण समाज, भौगोलिक विकटता, नदी तथा जलासयको चित्रण, जातीय विविधता, सांस्कृतिक सहिष्णुता तथा विभेद, गरिबी, शोषण–उत्पिडन, ऐतिहासिकता, लगायतका सन्दर्भहरुलाई उपन्यासकारले मूल रुपमा उठाएको पाइन्छ ।

कार्यपत्र माथिको टिप्पणी 

डा. धनप्रसाद सुवेदीको कार्यपत्रमाथि साहित्यकार गोपाल अश्कले टिप्पणी गर्नुभएको थियो । उहाँले उठाएका केही कुरा यस्ता छन्– उपन्यासकारले म आञ्चलिकतामा केन्द्रित भएर लेख्छु भनेर लेखेको नभई घटनाक्रमको बुनोट गर्दा त्यस्तो हुन गएको पनि हुनसक्छ । हिजोको गाउँ आज शहरमा परिणत भइसकेको अवस्थामा लेखिइसकेको कृतिको के कस्तो मूल्याङ्कन होला ? राजनीतिक परिवेशले गर्दा आञ्चलिकता हराउँदै गएको छ । अहिलेको संघीयताले हिजोको आञ्चलिकतामा प्रभाव पारेको छ । यो सन्दर्भ पनि कार्यपत्रमा आउनु पथ्र्यो । आञ्चलिकता हुनलाई गाउँ, पात्र, जस्ता कुराहरु गौण भई संस्कार र संस्कृति मात्रैले पनि पर्याप्त हुनसक्छ । उपन्यासमा मात्रै नभई कथामा पनि आञ्चलिकताको प्रयोग प्रसस्त भएको पाइन्छ । केही पूर्ण आञ्चलिकता केन्द्रित कृतिहरु सूचीमा छुटेका छन्, तिनलाई समावेश गर्नुपर्छ । कार्यपत्रमा शोधविधिको पालना गरिएको छैन, त्यसलाई प्रकाशनमा ल्याउँदा परिमार्जन गरिनु आवश्यक छ । 

गोष्ठीका प्रमुख अतिथि मातृका पोखरेलले आञ्चलिकता सम्बन्धीको कार्यक्रम धेरै पहिलेदेखि नै गर्न चाहेकोमा कार्यकालको अन्त्यतिर भए पनि उपलव्धिपूर्ण कार्यक्रम भएको भन्दै खुशी व्यक्त गर्नु भयो । लेखनमा आफ्नोपनसहितको छुट्टै र विशेष देखाउने पक्ष भनेकै आञ्चलिकताले गर्दा हो, त्यसैले यो कार्यपत्रसहितको छलफलले स्पष्ट बाटो देखाउने हुँदा कार्यपत्रमा उठेका कुरा पनि समावेश गरेर प्रकाशन गरिनेछ भन्नु भयो ।  

कार्यक्रमको दोश्रो सत्र

दोश्रो सत्रमा सिर्जना वाचनको क्रम चलेको थियो आ–आफ्ना सिर्जना वाचन गर्नेहरुमा– गीता कार्की, तुलसीहरि कोइराला, बाबा बस्नेत, सन्ध्या पहाडी, सरु सुवेदी, अर्जुन थापा, डा. धनप्रसाद सुवेदी (श्रमिक), डा. विन्दु शर्मा, बुद्धरत्न मानन्धर, लक्ष्मण रेग्मी, रामकृष्ण बस्नेत लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो । वाचित सिर्जनाका बारेमा समालोचक डा. विन्दु शर्माले भाव र सन्दर्भपरक टिप्पणी गर्नुभएको थियो ।

काठमाडौँ प्रवेश गर्ने पुरानो नाका भएकाले धेरै ऐतिहासिक महत्वको थलो चित्लाङमा भएका सम्पदाहरुको स्रष्टाहरुबाट दुई दिन नै अवलोकन गर्नेक्रम चलेको थियो । चारुमतिले बनाएको चारु विहार, भैरव मन्दिर, महाकविले यात्री कविता सिर्जना गरेको थलोस्थित् गुर्जुधारो, नेपालमै पहिलो पटक स्थापना भएको बाख्राको दूधबाट चिज उत्पादन गर्ने फ्याक्ट्री, ऐतिहासिक पाटीहरु, होमस्टेहरुको अवलोकन भ्रमणबाट यो कार्यक्रममा स्रष्टाहरुलाई महत्वपूर्ण उपलव्धि मिलेको निचोड निकालिएको थियो ।  

प्रतिवेदक : तुलसीहरि कोइराला

--------------------------------------------

गोपाल अश्कको फेसबुक बाट
मातृका पोखरेलको फेसबुक बाट
मातृका पोखरेलको फेसबुक बाट
मातृका पोखरेलको फेसबुक बाट
गीता कार्कीको फेसबुक बाट



                                सौर्य दैनिक, वर्ष-७, अंक-१३६ बिहिवार, २१ असार २०७५ 














































































































































































































































No comments:

Post a Comment