Wednesday, March 20, 2024

कविता : जसबहादुर सुनुवार

 - मातृका पोखरेल


जसबहादुर सुनुवार
कुनै शासक होइनन्
कुनै नेता पनि होइनन्
कुनै महान मान्छे पनि होइनन्
साउदी अरबमा काम गर्दागर्दै मरेको
एउटा साधारण नेपाली
कवितामा लेख्नै पर्ने नाम पनि होइन
लेख्नै नहुने नाम पनि होइन
घरिघरि सपनामा उनी आइरहन्छन्
हिजो राती फेरि आए मेरो सपनामा ।

उनी मेरो सपनामा आउनु कुनै नयाँ घटना होइन
तर यसपटक
सपना देखेर ब्युँझिए पछि
म धेरै बेर घोरिएँ
मरेको मान्छेले देशको चिन्ता गऱ्यो
बुढापाकाहरू भन्थे
मरेको मान्छेले चिन्ता गऱ्यो भने
अब कुनै ठुलै अनिष्ट हुन्छ ।

सपनामा उनी नआएको धेरै भैसकेको थियो
साउदी अरबबाट उनको लास आएपछि
आइरहे उनी मेरो सपनामा
विपनामाझैं
हामी गाइबाख्रा चराइरहेका हुन्थ्यौ
कहिले बनडाँडामा
कहिले काँसटारमा
कहिले साउनेपाखामा
कहिले खाल्लेपानीमा
तर उनलाई सपनामा नदेखेको
साँच्चिकै धेरै भैसकेको थियो ।

आज सपनामा उनले
गाउँको हालचाल सोधे
मैले उनलाई भनेछु -
अचेल हाम्रो गाउँमा
भाले कराएर बिहानको संकेत गर्दैन
अचेल भाले साँझमा कराउँछ
र अँध्यारोको संकेत गर्छ
गाउँमा हुचिलहरु बढेका छ्न्
मनपर्दी छानामा आएर कराउँछन् ।

तिम्रो घरमुनिको पहिरो झन् ठुलो हुँदैछ
वर्षैपिच्छे बग्छ
कस्तो अचम्म वर्षामा त बग्योबग्यो
हिउँदमा पनि बग्छ
किन हो तिम्रो हाम्रो गाउँ
कि खडेरी लाग्छ
कि पहिरो बग्छ
धारापानीको धारो पनि सुक्यो अरे
के पिउछन गाउँका मान्छेहरू
अचेल गाउँमा आँसु धेरै बग्छ
शायद आँसु पिएर पानीको प्यास मेट्न खोज्दा हुन् ।

तिम्रो भानिज थियो नि ,
उही अन्तरे
जनमुक्ति सेनाको सिपाही
अब नयाँ युग ल्याउने भन्थ्यो
तिमी हामीसंग खुब बहस गर्थ्यो
अयोग्य भएर गाउँ फर्किएको छ
अचेल घरमा एक्लै टोलाइरहन्छ रे
कसैसंग बोल्दैन रे
घरी अनौठोसंग हाँस्छ रे
घरी अनौठोसंग रुन्छ रे
गाउँमा उसलाई देवि लागेको भन्दारैछ्न ।

अचेल गाउँमा गल्लावालहरु खुब घुम्छन
तिम्रा कलिला छोराछोरीहरुलाई खुबै घुरेर हेर्छन्
र मुख मिठ्याउछन्
अचेल गाउँमा
बम्बै , साउदी र कुबेतले आवस्यकता नदेखेका
मान्छेहरू मात्र छन् ।
मैले सपनामा भनेछु -
पृय जसबहादुर ,
हाम्रो गाउँ अब गाउँजस्तो छैन ।

आज सपनामा उनले
देशको हालचाल सोधे
मैले उनलाई भनेछु -
पृय जसबहादुर !
एअरपोर्टको प्रवेशद्वार अगाडि
तिमीलाई परार बिदाइ गर्दा किनेको माला दोकानमा
उसैगरी हावामा हल्लिरहेका थिए
फूलहरू
फूल ओइलिने डरले
मालामा पानी छम्किरहेका छन्
फूलमालाका व्यापारीहरू
हाम्रै पालामा जस्तो
राजधानीमा ढसमस्स बसेर
बेसरम सिंहदरबार
नियमित उसैगरी पठाइरहन्छ गाउँमा
ढाँटकाे पुलिंदा
दुखको कुरो
गाउँका मानिसहरु पत्याइरहेकै छन् ।

पृय जसबहादुर !
आज सपनामा फेरि भनेछु तिमिलाई
तिमीले पेटमा लागेको डढेलो निभाउन
पानी निख्रिएको मरुभूमितिर कुद्नै हुँदैनथ्यो
हिमालबाट झरेका गण्डकीहरु
एक्लै पिउँदाछन् यहाँका मान्छेहरू
उनीहरुसङ्ग खोस्नु पर्थ्यो
र अलिकति तिमीले पनि पिउनु पर्थ्यो ।

जसबहादुर फगत एक्लो मान्छे होइनन्
उनी हाम्रो सिङ्गो समाज हुन्
उनी विष्फोट हुन लागेको एउटा आवाज हुन्
जसबहादुर सिङ्‌गै नेपाल हुन् ।

प्रिय जसबहादुर -
बुढापाकाहरू भन्ने गर्थे
मरेको मान्छेले चिन्ता गऱ्यो भने
अब ठुलै अनिष्ट हुन्छ
म यतिबेला
तिमी र तिमी जस्तै मान्छेले ल्याउने
एउटा विष्फोट कुरिरहेको छु
एउटा ठुलै अनिष्ट पर्खिरहेको छु ।

ooo

[जस बहादुर सुनुवार मेरा बालसखा थिए । रोजगारीको सिलसिलामा गएका बखत साउदी अरबमा उनको निधन भएको थियो । केही दिनअघि राति उनी मेरो सपनामा देखा परे । त्यही सन्दर्भमा जन्मिएको हो यो कविता ]

-----------------------------------






















No comments:

Post a Comment