Thursday, February 22, 2024

भाषा भनेको इतिहास, संस्कृति, सभ्यता र जीवनशैली पनि हो - मातृका पोखरेल ( अन्तर्वार्ता)



प्रकाशित :

हाँक साप्ताहिक, २०८० साल फागुन ९ गते बुधवार 

अन्तर्वार्ताकार -  रामबहादुर बुढा

==================================

अन्तर्वार्ता

हाँक टुडे
फाल्गुन १०, २०८०

भाषा भनेको इतिहास, संस्कृति, सभ्यता र जीवनशैली पनि हो

– मातृका पोखरेल
पूर्व केन्द्रीय अध्यक्ष, प्रगतिशील लेखक सङ्घ ,नेपाल



मातृका पोखरेल साहित्यकार , प्राज्ञ , पत्रकार ,लेखक र राजनीतिकर्मीको रूपमा समेत परिचित हुनुहुन्छ । उहाँ अहिले भाषा आयोगको सदस्य हुनुहुन्छ । पोखरेलको जन्म मिति ९ असार २०२३ हो । ताप्ली गाउँपालिका –४, थामखर्क, उदयपुरमा पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलको कोखमा भएको थियो । उहाँले नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट एम .ए. सम्मको अध्ययन पूरा गर्नु भएको छ ।

पोखरेलले धेरै सामाजिक संघ संस्थाको नेतृत्व गरिरहनु भएकोछ । पारिजात स्मृति केन्द्रको अध्यक्ष , जनसांस्कृतिक महासङ्घ, नेपालको केन्द्रीय अध्यक्ष , देवकोटा लुसून प्रज्ञा प्रतिष्ठानको उपाध्यक्ष, रमेश विकल साहित्य प्रतिष्ठानको कार्यसमिति सदस्य,निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यसमिति सदस्य, प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय सल्लाहकार र विगतमा केन्द्रीय अध्यक्ष समेत, नेपाल साहित्यिक पत्रकार सङ्घको सल्लाहकार , नेपाल प्रज्ञा प्रतिष्ठान, पद्य÷काव्य विभागको सदस्य, साझा प्रकाशनको सल्लाहकार, ज्योति साहित्यिक त्रैमासिक पत्रिकाको सल्लाहकार रहनु भएकोछ ।

“समकालीन साहित्य“, त्रैमासिक ( नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रकाशन) को प्रधान सम्पादक , “कथालय“ कथाप्रधान साहित्यिक त्रैमासिकको प्रधान सम्पादक, “प्रलेस“ ( प्रगतिशील लेखक सङ्घ, नेपालको मुखपत्र )को प्रधान सम्पादक ,“विकल स्मारिका“ (रमेश विकल साहित्य प्रतिष्ठानको मुखपत्र )को प्रधान सम्पादक ,“रुपाटार स्मारिका – २०६९“ को प्रधान सम्पादक“आलेखन“ ( नेपाल साहित्यिक पत्रकार सङ्घको मुखपत्र ) को प्रधान सम्पादक , “ज्योति“ साहित्यिक त्रैमासिकको कार्यकारी सम्पादक ,“वेदना“ साहित्यिक त्रैमासिकको सम्पादक “स्मृतिमा रूद्र खरेल“ (स्मृति ग्रन्थ– २०७१ ) को सम्पादक ,“विजय शव्दविम्ब“ को सम्पादक ,पद्म खड्का स्मृति ग्रन्थ – २०७४ को सम्पादक , घनश्याम ढकाल स्मृति ग्रन्थ – २०७५ को सम्पादक,
त्रिआयामका तारा ः आनन्ददेव भट्ट ( अभिनन्दन ग्रन्थ ) – २०७८ को सम्पादक , स्मृति बिम्बमा श्यामप्रसाद ( स्मृति ग्रन्थ – २०७८ )को सम्पादन सल्लाहकार ,स्मृतिमा स्वनाम – २०७८ को सम्पादक , “नेपाली डायस्पोराका कविता“ (नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घद्वारा बि.सं –२०७२ मा प्रकाशित )को सम्पादक ,अक्टोवर क्रान्ति स्मारिका – २०७७ को सम्पादक , स्वनामका सङ्कलित रचनाको सम्पादक, “नागार्जुन“ त्रैमासिक (गणतन्त्र विशेषांक) को अतिथि सम्पादक, “जनमत“ साहित्यिक मासिक, उदयपुर साहित्य विशेषांकको अतिथि सम्पादक रही लेखन र सम्पादनको लामो अनुभव संकलन गर्नु भएकोछ ।

सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह), २०५७, यात्राको एउटा दृश्य (कवितासङ्ग्रह), – २०६०,सन्त्रस्तआँखाहरु ः ( कथासङ्ग्रह), – २०६१ अनुहारहरु ः ( कवितासङ्ग्रह), – २०६४,घाम झुल्किनुअघि ः ( कथासङ्ग्रह), २०६७ , मित्रताको आकाश ः ( कवितासङ्ग्रह), २०७६) उनका प्रकाशित रचना हुन् ।

पोखरेल विभिन्न संस्थाबाट सम्मानित र पुरस्कृत हुनु भएकोछ । धौलागिरी साहित्य प्रतिष्ठानद्वारा “अनुहारहरु“ (कवितासङ्ग्रह) का लागि सम्मान ,’काजी रोशन पाण्डुलिपि पुरस्कार – २०६४’ ’सिम्पल आर्ट्स सम्मान – २०६९’, ’स्रष्टा चैत्र –३० सम्मान – २०७४’,साहित्य सङ्गम, चितवनबाट “मित्रताको आकाश“ (कविता सङ्ग्रह) का लागि सम्मान , ’गणेशबहादुर हस्तकुमारी (लक्ष्मीदेवी) पन्त पुरस्कार–२०७६’, नेपाल वाङमय परिषदद्वारा सम्मान,’नेपाली वाङमय साधना सम्मान’ –२०७७प्रगतिशील लेखक सङ्घ, नेपालद्वारा,’प्रलेस प्रतिभा पुरस्कार – २०७८’,नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा ’लोकतान्त्रिक स्रष्टा सम्मान – २०७८’,वनिता साहित्यिक त्रैमासिकद्वारा ’वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार’ – २०७८, नेपाल विध्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजद्वारा
’अमरज्योति साहित्य सम्मान–२०७९’, फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा“ फेडोल उत्कृष्ट सिर्जना सम्मान – २०७६“ द्वारा सम्मानित हुनु भएकोछ । हाँक साप्ताहिकका प्रतिनिधिद्वारा साहित्यकार एवम् प्राज्ञ मातृका पोखरेलसँग साहित्य, भाषा लगायत विविध विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएकोछ ।

० नेपालको संविधानले भाषा आयोगको व्यवस्था गरेको छ । भाषा आयोगलाई सरकारको भाषा नीति तय गर्न ५ वर्ष भित्रमा प्रतिवेदन दिनु पर्नेछ भनेर संविधानमा नै उल्लेख छ । भाषा आयोगले प्रतिवेदनमा के सुझाव दियो ?
–२०७२ मा संविधान बनेपछि १ वर्ष भित्रमा भाषा आयोग गठन भएको थियो । भाषा आयोगले सात प्रदेशमा कुन कुन भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिन्छ भनेर अध्ययन गरेको थियो । सरकारी कामकाजको भाषा छनोट गर्नका लागि भाषिक जनसंख्या, लेख्य इतिहास लगायत ११ वटा आधारहरु तय गरिएको थियो ।

कोशी प्रदेशमा लिम्बु र मैथिली भाषा, मधेश प्रदेशमा भोजपुरी, मैथिली र बज्जिका, बागमति प्रदेशमा नेपाल (नेवारी) र तामाङ भाषा, गण्डकी प्रदेशमा मगर र गुरुङ , लुम्बिनी प्रदेशमा भोजपुरी, थारु र अवधि, कर्णाली प्रदेशमा खस र मगर भाषा, सुदुरपश्चिम प्रदेशमा थारु र डोट्याली भाषालाई सरकारी कामकाजमा ल्याउनका लागि भाषा आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । बागमती प्रदेशले त्यस सम्बन्धी कानुन बनाएर कामलाई अगाडि बढाउन सुरु गरेको छ । बागमतीमा मातृभाषामा कार्यालयको बोर्ड राख्ने कार्य गर्न समेत थालिएको पाइएको छ । अरु प्रदेशहरुले पनि काम अगाडि बढ्दैछन् । त्यसरी जम्मा १२ वटा मातृ भाषालाई सरकारी कामकाजमा ल्याउन सिफारिस गरिएको छ । संविधानको धारा २८७ ले भाषा आयोगलाई नेपालमा बोलिने मातृभाषाको अध्ययन, अनुसन्धान , संरक्षणसहित सरकारलाई सल्लाह सुझाव र सिफारिस गर्ने अधिकार दिएको छ ।

० सरकारी कामकाज मात्र नभएर विद्यालय शिक्षा वा विश्वविद्यालय शिक्षामा मातृभाषा शिक्षा लागु गर्नेबारे पनि तपाईहरुले अध्ययन गर्नु भएको होला वा त्यसबारे सरकारलाई सिफारिस गर्नु भएको होला ?
–भाषाको संरक्षण र विकासका लागि मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्दछ र अर्को पाटो भनेको मातृभाषामा शिक्षा प्रदान गर्नु पर्दछ । भाषालाई पुस्तान्तरण नगरी भाषा जीवित हुँदैन । भाषालाई पुस्तान्तरण गर्नका लागि गतिलो माध्यम भनेको मातृभाषामा शिक्षा दिनु नै हो । मातृभाषाका शिक्षाका लागि हामीले अहिले अभियान नै संचालन गरेका छौं । अहिले विभिन्न स्थानीय तहसँग सम्झौता र सहकार्य गर्दै मातृभाषा शिक्षाका बारेमा सकेसम्म कार्यक्रम संचालन गरिरहेका छौं ।


० तपाई साहित्यिक क्षेत्रमा पनि योगदान पुरÞ्याउँदै आउनु भएको व्यक्तित्व हुनुहुन्छ । पछिल्लो अवधिमा नेपाली साहित्यमा नयाँ साहित्यिक धाराको पनि प्रवेश भएको छ कि ?
–धारा भनेर केलाई भन्ने ? दुई तीनदशकदेखि प्रगतिवादी साहित्यकारहरुले नेपालमा उत्तर आधुनिकतावाद र सवाल्टर्न अध्ययन लगायत साहित्यमा आयातित बिचारहरुका बारे छलफल गर्दै आएकाछन् । यी साहित्यहरुको सकारात्मक नकारात्मक प्रभावका बारेमा चर्चा गर्दै आएका छौं । पश्चिमा साम्राज्यवादले प्रगतिवादी साहित्यलाई कमजोर बनाउन ल्याएका साहित्यिक धाराको रुपमा उत्तरआधुनिकतावादी विचार हो । सवाल्टर्न अध्ययन भनेको सीमान्तकृत समुदायको पक्षपोषण गर्ने भनेर प्रचारित गरिएको विचार हो । यसले सीमान्तकृत वर्गको दुःख, पीडाका बारेमा बोल्न खोजेको जस्तो देखिए पनि परिवर्तनको लागि बाटो देखाउँदैन । आजको समकालीन दुनियाँमा बेग्लै चर्चा गर्नुपर्ने नयाँ धाराको अस्तित्व यहाँ अरू देखा परे जस्तो लाग्दैन ।


०नेपालको अहिलेको प्रगतिशील ÷ नै प्रगतिवादी साहित्यको अवस्था के छ ?
– प्रगतिवादी साहित्यिक धारा भनेको मार्क्सवाद केन्द्रित साहित्यिक धारा हो । यो धारा अहिले पनि सशक्त धाराको रूपमा क्रियाशील छैन । हामी आफैले सिर्जना गरेका कति साहित्य आलोचनात्मक यथार्थवाद भन्दा माथि होलान् ? छलफल नै गर्नुपर्दछ । जहाँसम्म प्रगतिशील साहित्यको कुरा छ । कुनै धुर्वको साहित्यकारलाई सोध्नु भयो भने ऊ पनि मेरो साहित्य प्रगतिशील साहित्य नै हो भन्छ । प्रगतिशील साहित्य नेपालका कुना काप्चासम्म पनि पुगेको छ । व्यापक छ । तर समग्रमा भन्दा त्यो देख्दा ह्रष्टपुष्ट जस्तो छ । त्यो सुनिएर मोटाएको जस्तो छ । जति पनि प्रगतिशील वा प्रगतिशील साहित्य छन् । तिनको वैचारिक पक्ष झन् कमजोर हुँदै गएको देखिन्छ । प्रगतिवादी अर्थात् समाजवादी यथार्थवादको ओज बोक्ने सिर्जनाहरु त निकै थोरै छन् ।


० प्रगतिशील र प्रगतिवादी साहित्यको क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई सल्लाह दिंदा के ससल्लाह दिनुहुन्छ ?
–पहिलो कुरा त प्रगतिशील र प्रगतिवादी साहित्यमा कति फरक छ भन्ने कुरा छुट्टाउन सक्नुपर्दछ । नयाँ पुस्ताका साहित्यकारहरुले यो भिन्नतालाई छुट्टाउन जान्नु पर्दछ । समाजका विकृति, विसंगति, होची, अर्गेल्याईलाई उजागर गर्न सक्नु पनि प्रगतिशील साहित्य नै हो । समाजको यथार्थता उजागर गर्ने क्रममा त्यहाँ जनताको अध्यात्मिक चिन्तन जोडिन पनि सक्छ । प्रगतिशील साहित्यले समाजमा सुधारका कुरापनि गर्न सक्छ । तर प्रगतिवादले मार्क्सवादी दर्शन अनुसार समाजलाई आमूल परिवर्तनको दिशामा लैजाने मार्गको पनि चित्रण गर्दछ ।
यहाँ थप जोड दिएर के भन्नु पर्दछ भने मैले कुन दृष्टिकोण वा कुन दर्शनलाई पछ्याएर साहित्य सिर्जना गर्दैछु भन्ने कुरामा स्पष्ट हुनै पर्दछ ।
दोस्रो कुरा, विचार राख्दा वित्तिकै साहित्य हुन्छ भन्ने ठान्नु हुन्न । विचार र नारामात्र थोपरेर त्यो साहित्य हुन्न । साहित्य सिर्जना गर्दा कला पक्षले प्राथमिकता पाउनै पर्दछ ।
तेस्रो कुरा, प्रगतिशील प्रगतिवादी साहित्य लेख्दैछौं भने श्रमजीवी वर्ग, किसान, मजदुर सित जोडिनु पर्दछ । मजदुरवर्गसित सम्बन्ध नराखी मैले मजदुरको साहित्य लेख्छु भने त्यो त केवल बनावटी हुन्छ । त्यसले गर्दा प्रगतिवादी, प्रगतिशील साहित्य लेख्नेहरुले सम्बन्धित वर्गसित उठवस, सहकार्य गर्नु पर्दछ तव न सही प्रगतिशील ÷ प्रगतिवादी साहित्य सिर्जना हुन्छ ।
चौथो कुरा, कला कलाका लागि मात्र हो भन्ने बुर्जुवा चिन्तनबाट पनि टाढा हुनुपर्छ । कला त मानिसका लागि हो वा समाजका लागि हो । साहित्य वा कला काल्पनिक उडान भर्ने मनोरञ्जनको चीज मात्र हैन । साहित्यले मानिएको दुःख सुखसँग जोडिनु पर्दछ ।


० आफूले सिर्जना गरेको साहित्यमा यो नै मेरो सबभनदा राम्रो सिर्जना हो भन्ने कुनै त्यस्तो छ ?
–मेरो चारवटा कवितासंग्रह प्रकाशित भए । मैले पहिले छिटो छिटो कविता सिर्जना गर्दथे । अहिले त्यसो गर्दिन । अहिलेको अवस्थाबाट पछि फर्के हेर्दा मैले के ठान्छु भन्ने आज जस्तो भए मैले ती कतिपय कविता छाप्ने थिइन ।
मेरो आफ्नै रचनालाई मैले आफै राम्रो र नराम्रो भन्दिन । त्यो काम मेरा साथीभाई, समीक्षक र पाठकहरुले गरे राम्रो हुन्छ ।


० तपाईले प्रज्ञा प्रतिष्ठानमा पनि काम गर्नु भयो, यहाँको अनुभव के हो ?
–२०७१ देखि २०७५ सम्म ४ वर्ष म प्रज्ञा प्रतिष्ठानमा गद्य ÷आख्यान विभागको प्रमुख भएर काम गरेँ । मैले त्यहाँ गर्ने काम भन्नाले भन्नाले कथा, , उपन्यास, लघु कथा लघु उपन्यासको क्षेत्रमा मैले काम गर्नुपर्थ्यो । त्यहाँको सीमित स्रोत र साधनबाट मैले आफूले सक्दो काम गरें । त्यो विभागबाट गोष्ठी, अनुन्धान र प्रकाशनका केही काम भए ।


० तपाई विद्युत प्राधिकारको जागिरे हुँदा पनि साहित्यिक कार्यमा लाग्नु भयो नि है ?
– हो, विद्युत प्राधिकरणमा हामीले नै साहित्यिक पत्रिका ’’ज्योति’ प्रकाशन सुरू गरेका थियौं । पछि त्यो पत्रिका अमर ज्योतीको रूपमा प्रकाशन भइरहेको छ । सुरुमा म कार्यकारी सम्पादक थिएँ । कुलप्रसाद पराजुली प्रधान सम्पादक हनुहुन्थ्यो । असाध्य दुःखका साथ हामीले कामको थालनी गरेका थियौं । अहिले सजिलो छ । प्राधिकरणले प्रकाशनको लागि बजेट छुट्याउँछ । कृष्णदेव रिमाल, विष्णुप्रसाद आचार्य, आविष्कार कला लगायतका साथीहरुले त्यो पत्रिकालाई निरन्तरता दिइ रहन भएको छ । हामीले सुरु गरेको पत्रिकालाई साथीहरुले निरन्तरता दिएको देख्दा खुशी लाग्छ ।


० तपाई प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्ष समेत रहेर काम गर्नु भयो । केही उल्लेखनीय अनुभव ?
– धेरै छन् त्यसबेलामा उठाउनु पर्ने उल्लेखनीय प्रसङ्गहरू । स्थापनाको कालदेखि नै प्रगतिशील लेखक सङ्घले कहिले निश्कृय कहिले सकृय भए पनि निरन्तरता दिने काम गरेको छ । यो नेपालका सबै प्रगतिशील लेखकहरूको साझा संस्था हो । कुन चाहिँ लाई उल्लेखनीय भन्ने बारेमा म भित्रै द्विविधा भयो ।


० वामपन्थी दलहरुको दोहोरो चरित्रले देशलाई बर्बाद पारÞ्यो भन्ने आम आलोचना छ । कार्यकर्तालाई एमसीसीको विरोध गर्न लगाउने, कार्यकर्ताहरुले प्रहरीको डण्डा खाएर बानेश्वरमा टाउको फुटाउने उता नेताहरूले साम्राज्यवादसित सम्झौता गरेर एमसीसी पास गर्ने ……………. ?
–म आबद्ध संगठन जनसांस्कृतिक महासङ्घले एमसीसी सम्झौता राष्ट्रघाती हो भनेर वक्तव्य निकाल्ने र सडक आन्दोलन समेत गरÞ्यौं । अहिले पनि मेरो धारणा त्यही हो ।


० संविधान र पार्टी दस्तावेजमा समाजवाद उन्मुख नीति लेख्ने तर निजीकरण र बहुराष्ट्रिय पुँजीको मेरा गर्ने दोधारे नीतिको तपाईले सामाजिक संजालमै विरोध गर्नु भयो ?
–समाजवाद भनियो मात्र समाजवाद उन्मुख कार्यक्रम ल्याउने काम भएन । यो जनता झुक्याउने गफ मात्र भयो । भर्खरै क्रान्तिकारी नेता चे ग्वोभेराको छोरी नेपाल आएकी थिइन् उनले भनिन, “जल, जमिन, जंगल निजी राखेर समाजवाद हुँदैन ।” यदि जनतालाई खान, लाउन पुग्ने जोहो गर्नुलाई समाजवाद भन्न खोज्नु भएको हो भने त त्यो मात्र समाजवाद हैन । त्यसलाई बरु “समृद्धि” क“सम्पन्नता” जस्ता मात्र नाम राखि दिए भइहाल्थ्यो नि !
समाजवादको बारेमा हामी प्रष्ट छैनौं । कसैले बैज्ञानिक समाजवाद भन्नू भएकोछ । कसैले प्रजातान्त्रिक समाजवाद भन्नू भएकोछ । कसैले लोकतान्त्रिक समाजवाद भन्नू भएकोछ । यसैलाई अनेक व्याख्या गरेकोछ । तर ठोसमा उपलब्धि केही छैन ।

० अबको वामपन्थी आन्दोलन कसरी अगाडि बढ्नुपर्दछ ?
– मूल कुरा विचारधारात्मक बाटो नै सर्वप्रथम हल गर्नु पर्दछ । हामी पुग्ने कहाँ हो? जाने ,हिड्ने कसरी हो ? यो कुरामा नेपाली वामपन्थी आन्दोलन रनभुल्ल छ । हिजो जनवादी क्रान्ति भनियो । त्यो पनि अलि अमूर्त नै रहेछ । यदि त्यो ठोस भएको भए कम्युनिष्ट पार्टीकै नेता कार्यकर्ताहरू कोही स्वास्थ्य संस्था खोलेर पैसा कमाउने । कोही स्कुल खोलेर पैसा कमाउने त हुँदैनथ्यो होला । अब झन् २००६ सालमा पुष्पलालले गरेको ब्याख्याले पुग्दैन । किन भने समय अगाडि बढिसक्यो ।
हिजो माओको पालाको जस्तोनयाँ जनवादी क्रान्तिको कुरा गरेर हुँदैन । समय धेरै अगाडि गइसक्यो । यसको मतलव पुँजीवाद–साम्राज्यवादसित आत्मससमर्पण गर्नुपर्दछ भन्ने हैन । माओको बेलामा माओले भनेकै कुरा विज्ञान थियो ।अहिले साम्राज्यवादले अमेरिकामैं बसेर कसलाई कहाँ मार्ने भन्ने प्रविधिको विकास गरिसक्यो । अहिले ए .आई प्रविधिको विकास भइसक्यो । यो अबस्थामा कसरी अगाडि बढ्ने बारे गहन छलफल हुन जरूरी छ ।


० अन्त्यमा हाँक साप्ताहिक मार्फत भन्नु केही छ कि ?
–तपाईहरुले इतिहासको विरासतलाई बोकेर हिड्दै हुन्हुन्छ । इतिहासको विरासतलाई निरन्तरता दिंदै हुनुहुन्छ । कठिन परिस्थितिमा पनि लागिरहनु भएकोछ । यो अरू केही नभएर परिवर्तन प्रतिको निष्ठा हो । तपाईहरू इमान्दार ढंगले लागि रहनु भएको छ । इमानदार ढङ्गले लागेर मात्र नहुँदो रहेछ । समय कहाँ पुग्यो त्यसलाई पक्रिन पनि सक्नु पर्दो रहेछ । तपाईं हामी सबै बसौं र छलफल गरौं । एउटा साझा धारणा निर्माण गरौं ।

000

www.hanktoday.com बाट साभार 

वार्ताकार  : रामबहादुर बुढा

No comments:

Post a Comment