Monday, November 27, 2023

यतिखेर विश्व र हाम्रो भविष्य पनि संकटमा छ: खगेन्द्र सङ्ग्रौला

 


यतिखेर सिद्धान्त संकटमा छआस्थाहरु संकटमा छन्उज्यालो संकटमा छहाम्रो भविष्य पनि संकटमा छ ।’

यो चेतावनी प्रसिद्ध प्रगतिवादी साहित्यकार खगेन्द्र सङ्गौलाको हो । आज नयाँ ठिमीमा आयोजित बैकुण्ठहरि पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

सङग्रौलाका अनुसार, ‘हामी अहिले संकटमा छौंविश्व नै संकटमा छ । आजको विश्व दक्षिणपन्थी नश्लवादमा छ । त्यसको प्रतिनिधित्व अमेरिकामा ट्रम्परुसमा पुटिनब्राजिलमा बोलसेनारो भन्ने कोही थियो र भारतमा मोदी छन् र हाम्रोमा ओली । अब त पुष्पकमलहरु नै पनि गेरु बस्त्र लगाएर ५१ हजार दान गर्दै कता कता हिँडिरहेका छन् । त्यसैले समग्र विश्व नै चिन्तनमा दक्षिणपन्थी भएको छ ।’


त्यसअवसरमा सङ्ग्रौलाले आफूलाई मुर्खको संज्ञा दिँदै भने, ‘परम्पराले स्थापित गरेका नियमहरुलाई बुढो गोरु मियोको वरिपरि घुमिरहेजस्तो गरिकन आँखा चिम्लेजस्तो गरी जसले मानेन, तिनले परम्परा, धर्म, ईश्व र बादशाहामाथि प्रश्न गरे । सनातनी समाजमा तिनीहरु एक्लो देखिए । म पनि त्यही किसिमको एक्लो, किनारमा उभिएको मुर्ख हो ।’

आफू बाहेक सबैलाई शिरदेखि पाउँसम्मै गलत देख्ने नेपालका कम्युनिष्ट पार्टीहरु धार्मिक पन्थ जस्तै देखिएको बताउँदै सङ्ग्रौलाले राजनीतिमा सहमति–असहमति हुन्छ, ठीक–बेठीक हुन्छ, उकाली–ओराली तलमाथि सबै हुन्छ तर तपाईंको सबैभन्दा जघन्य शत्रु पनि त्यो मान्छे भएकोले केही न केही गुण नभएको नहुने पनि बताए ।’

आफूलाई नेपालको वर्तमान समाजको सम्भवतः सबैभन्दा विवादास्पद मान्छे बताउँदै उनले समाज स्वार्थमा, सत्यममा, दर्शनमा, धारणामा विभाजित रहेको र विभाजित समाजमा सबैको प्यारो कोही पनि हुन नसक्ने’ उल्लेख गरे ।

त्यस अवसरमा पुरस्कृत व्यक्तित्व सङ्गौलाको व्यक्तित्वमाथि प्रगतिवादी साहित्यकार मातृका पोखरेलले आफ्ना विचार राखेका थिए । ‘सङ्ग्रौला आफ्नो विद्यालय रहेको र आफू त्यसको विद्यार्थी’ भन्दै पोखरेलले ‘सबैको आआफ्नो समूह रहेको र समूहमा जाँदा बहादुर हुन गाह्रो नभएको तर सङ्ग्रौला त्यो अर्थमा फरक रहेको र एक्लै बहादुर रहेको’ बताए ।


‘सङ्ग्रौलाले सत्य कुरा गर्नको लागि समूह खोजिनरहने तथा न्यायिक कुरा गर्नको लागि उनलाई कुनै समुहको दरकार नपर्ने’ पोखरेलको कथन थियो । ‘कतिपय अवस्थामा आफू आबद्ध रहेको पार्टीले बोलिदिओस् भन्ने चाहेको तर पार्टीले नबोलेको तथा सङ्ग्रौलाले बोलिदिने गरेको अर्थमा समूहमा आबद्ध मानिसहरुको पनि उहाँ नेता हुनुहुन्छ’ भन्दै पोखरेलले सङ्ग्रौला एक व्यक्तिले एउटा समूह वा संस्थाकै भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको बताए ।  ‘सङ्ग्रौलाले नेपालको प्रगतिवादी साहित्यलाई अत्यन्तै उर्बर र मलिलो बनाएको उल्लेख गर्दै उनले त्यसको तुलना अरु साहित्यकारहरुसँग हुनै नसक्ने’ बताए । ‘अखबारी लेखनतिर लागेपछि सङ्ग्रौलाको सिर्जनामा कमी आएको भनी मानिसहरुले भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले ‘त्यसपछि पनि सङ्ग्रौलाबाट धेरै उन्नत खालका सामग्रीहरु सिर्जना भएको’ बताए । त्यस अवसरमा पोखरेलले ‘आफूहरुलाई खगेन्द्र सङ्ग्रौलाले गणतन्त्रको कविता आन्दोलन चलाउन उत्प्रेरित गरेको’ कुरा पनि स्मरण गरेका थिए ।


उक्त कार्यक्रममा सङ्ग्रौलालाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल भाषाका वरिष्ठ प्रगतिवादी कवि डा. योगेन्द्र प्रधानले दोसल्ला ओढाइ सम्मान गर्नुका साथै सम्मानपत्र एवं पुरस्कार रकम हस्तान्तरण गर्नुभएको थियो ।

000

www.dayitwabodh.com बाट साभार 
























----------------------------------------------------------------------------------------

संकटमा आवेगी स्वभावका हठीहरु र परम्पराका दृष्टिमा उपद्रयाहाहरु मात्र वागी भइरहन सक्छन्



- खगेन्द्र सङ्ग्रौला




मेरो ठट्टा गर्ने बानी छ । यता आउन घरबाट निस्कने तयारी गर्दै थिएँ, एक छिमेकी आउनुभयो ।

‘कताको तयारी हो?,’ उहाँले सोध्नुभयो ।

 मैले भनें, ‘पेन्सन थाप्न ।’

‘तिमी लामो समयसम्म शिक्षक भयौ । शिक्षक आन्दोलनको नेता पनि भयौ । राजाका पञ्च–मण्डलेको लखेटाइ र अपमान अचाक्ली भएर बीचैमा जागिर छोड्यौ ! तिम्रो पेन्सन कहाँबाट आउँछ ?’ मित्रले जिज्ञासा प्रकट गरे ।

मैले भनें, ‘पेन्सन सरकारले आफ्नो सेवकलाई मात्र दिँदैन । नागरिकले नागरिकलाई पनि पेन्सन दिन्छन् । पेन्सन दिनु र पाउनका कारण फरक हुन्छन् । दिने र पाउनुको सम्बन्धको प्रकृति फरक हुन्छ ।’

०००

मातृका पोखरेलजीले थुप्रो शब्द लेख्ने लेखकका रुपमा मेरो परिचय दिनुभो । हो, नेपाली भाषामा शब्द संख्याको हिसाबले मदनमणि माड्सापपछि सबैभन्दा धेरै शब्द लेख्ने लेखक मै हुँ शायद । मदनमणि माड्सापले आफूले लेखेका शब्दहरु गनेरै म एक नम्बर हुँ भन्नुभएको भए दोस्रो नम्बरमा म पर्छु शायद । तर शब्दसंख्या धेरै भएर र धेरै लामो समय बाँचेर स्वतः ठूलो उपलब्धि हुने होइन । तपाईंका शब्द के, कसरी र कुन प्रयोजनका लागि लेखिन्छन् ? र तपाईँको दीर्घायु कुन ध्येयप्रति समर्पित हुन्छ ? गाँठी कुरा त्यसमा छ ।

इतिहासको सामान्य अवस्थामा जो पनि वागी वा विद्रोही हुन सक्छ  । तर संकटको अवस्थामा जोकोही वागी वा विद्रोही भइरहन सक्दैन । संकटमा आवेगी स्वभावका हठीहरु र परम्पराका दृष्टिमा उपद्रयाहाहरु मात्र वागी वा विद्रोही भइरहन सक्छन् ।

मातृकाजीले मलाई उमेरको कारणले बिर्सिइन लागेको मेरो अतीतको स्मरण गराउनुभयो । आजदेखि म ७८ वर्ष लागें । म धेरै वर्ष बाँचे र मैले धेरै बाङ्गाटिङ्गा बाटाको यात्रा गरेँ । मातृकाजीले यो दीर्घ यात्रामा मलाई एक्लो मान्छे भन्नुभयो । म एक्लो हुँ पनि र एक्लो हुइनँ पनि । भीडमा हिँड्दा भीडमै विलय भएर म हिँडिनँ । भीडमा हिँडे र म आफू आफैं भएर हिँडे । इतिहासको सामान्य अवस्थामा जो पनि वागी वा विद्रोही हुन सक्छ  । तर संकटको अवस्थामा जोकोही वागी वा विद्रोही भइरहन सक्दैन । संकटमा आवेगी स्वभावका हठीहरु र परम्पराका दृष्टिमा उपद्रयाहाहरुमात्र वागी वा विद्रोही भइरहन सक्छन् । यस्ता मानिसहरुले परम्परा र धर्मका रुढिहरुमाथि औँला ठड्याउँछन्, ईश्वर र बादशाहसँग आँखा जुधाउँछन् । समाजको गति र प्रगतिको बाटाका यी सचेत हलकाराहरु हुन् ।

 प्रसङ्ग फेरि उही एक्लोको । घर्षणमय जीवनमा कोही पनि एक्लै वागी बन्न र जीवनको कठिन यात्रामा टिक्न सक्दैन । आफ्नो सेरोफेरोका परिचित र अपरिचित, वंशको र विचारको नाताका सहयात्री र शुभेच्छुक आदि वागी मानवको शक्ति, साहस र अडानका टेकाहरु हुन् । जीवनमा आफनो वरिपरि यी टेका छन् र नै त वागी दृढ भई शिर ठाडो पारेर उभिन सक्छ ।

०००

छोटो समयका एकाध नाटकीय अभिनयमा बाहेक म कम्युनिष्ट पार्टीको क्रियाशील सदस्य कहिल्यै भइनँ । वाम आन्दोलनको भने म सधैँ नजिक रहेँ । आन्दोलनको प्रवाह बगिरह्यो, किनारैकिनार म हिँडिरहेँ । कम्निस्ट पार्टीको नजिकमा पुग्दा नपुग्दै मलाई कम्निस्ट पार्टीको चरित्रको रमरम चेत भयो । कम्निस्ट पार्टीमा मलाई कसोकसो धार्मिक सम्प्रदायको आभाष भयो । कट्टरपन्थी धार्मिक सम्प्रदायझैँ आफूलाई सर्वाङ्ग शुद्ध र अर्कोलाई सर्वाङ्ग खोटो ठान्ने । शुद्धता र श्रेष्ठताको अहंकारले मैमत्त । यस्तो पार्टीको कठोर अनुशासन सिर्जनशीलताको बाधक पो होला कि भनी मलाई आशंका भइरह्यो । त्यसरी पार्टीको छेवैछेउ म एक्लै हिँडेँ ।

कम्निस्ट पार्टीमा मलाई कसोकसो धार्मिक सम्प्रदायको आभाष भयो । कट्टरपन्थी धार्मिक सम्प्रदायझैँ आफूलाई सर्वाङ्ग शुद्ध र अर्कोलाई सर्वाङ्ग खोटो ठान्ने । शुद्धता र श्रेष्ठताको अहंकारले मैमत्त ।

०००

भनिन्छ, म उपद्रै विवादास्पद मानिस हुँ । जो सत्यको पैरवी गर्छ, विभाजित समाजमा ऊ विवादास्पद भइनै हाल्छ । विभाजित समाजमा सत्य एकल हुँदैन । कसको सत्य ? कस्तो सत्य ? जीवनका हर सन्दर्भमा कुरो उठिहाल्छ । विभाजित र द्वन्द्वरत समाजमा मुखबाट वचन भुइँमा खस्नुअघि नै त्यो कसैलाई प्रिय लागिसक्छ, कसैलाई अप्रिय लाग्छ । जसलाई प्रिय लाग्छ, उसले तपाईँको हाई हाई गर्छ । जसलाई अप्रिय लाग्छ, उसले तपाईँको बदख्वाइँ गर्ने गर्छ । जो निन्दित हुन तयार हुँदैन, सत्यको पैरवी गर्ने मार्चामा ऊ धेरै समय टिक्दैन । स्वार्थ विभाजित समाजमा जो सबैका प्यारो हुन खोज्छ, उसको हातल कथाका गधाको मालिकको जस्तो हुन्छ । न यसका नजरमा गतिलो न उसका नजरका गतिलो ।

०००

यहाँ त्यागका कुरा पनि भए । वैकुण्ठहरि श्रष्ठले आफ्नो जीवन बलिदान नै गर्नुभयो । जसले आफ्नो एकबारको जुनी नै बलिदान गर्यो, उसको त्यागको मुखेन्जी हाम्रो त्याग के त्याग ? हामी त ज्युँदै छौँ नि ! मृत्यपछि वैकुण्ठहरि शहीदमा दरिनुभयो । शहीद को हो ? जसले आफ्नो र आफ्ना प्रियजनको भागमा केही नराखी जीवन बलिदान गर्छ, उस शहीद हो । शहीद उन्नत मानवीय संस्कृतिको बीज हो । आफ्नो सानो त्यागलाई शहीदको विराट् त्यागसँग दाँजेर हेर्नु जीवनमा विनम्र हुन खोज्नु हो । अर्थात् म भनेको मै हुँ भन्ने व्यर्थको अहंकारको साइज घटाउन खोज्नु हो ।

०००

मेरा निर्णय र कर्महरुको परिणाम जे जे भयो, त्यसप्रति म जिम्मेवार छु । मलाई कसैसँग आफ्ना कर्मको ज्याला माग्नु छैन । हो, यस अर्थमा कसैसँग मेरा गुनासा छैनन् ।

वागी चिन्तक वा सर्जकको कर्म आफ्नो हकमा निष्काम कर्म र समाजको हकमा सकाम कर्म हो । आफ्नो उमेरवयका कतिपय लेखकहरुका थाङ्ने गनगन सुन्दा म प्रायः दिक्क हुन्छु । कहिले त मलाई झोँक पनि चल्छ । मैले देशलाई यो दिएँ, त्यो दिएँ, देशले मलाई खै के दियो ? यस्ता गनगनेहरु जताततै भेटिन्छन् । देशसँग वा कसैँसँग पनि मेरा कुनै निजी स्वार्थजन्य गुनासा छैनन् । ईश्वर, बादशाह वा पोलिटव्यूरोको आदेशमा म लेखक र अभियन्ता भएको होइन । लेखन वा आन्दोलनमा मैले जे गरेँ, आफ्नै विवेकको आदेशमा गरेँ । मैले जे गरिनँ, आफ्नै विवेकको आदेशमा गरिनँ । निजी जीवनमा मैले जुन बेला जे निर्णय गरेँ, ती मेरा नितान्त निजी निर्णय हुन् । मेरा निर्णय र कर्महरुको परिणाम जे जे भयो, त्यसप्रति म जिम्मेवार छु । मलाई कसैसँग आफ्ना कर्मको ज्याला माग्नु छैन । हो, यस अर्थमा कसैसँग मेरा गुनासा छैनन् । जीवनमा बरु आफैँसँग मेरा थुप्रै गुनासा छन् ।

०००

साधारण घरानाका, थोरै शिक्षा पाएका भुइँमान्छेको नाम हो शहीद बैकुण्ठहरि । राजनीतिक यात्रामा उहाँले नेपाली कांग्रेस हुँदै लाल वामपन्थमा प्रवेश गर्नुभयो । अनि यो र त्यो पार्टीमा घुम्दै आखिरमा उहाँ विद्रोही माओवादीमा पुग्नुभयो । उहाँलाई सत्ताले पक्राउ गर्यो । आत्मसमर्पण कि आफ्नो निष्ठामा अडान ? जीवनरक्षाको लागि याचना कि शहादतको रोजाइ ? रोज्नलाई वैकुण्ठहरिसँग दुईमध्ये एक विकल्प थियो । बैकुण्ठहरिले सत्यनिष्ठा र सहादत रोज्नुभयो । बैकुण्ठहरिको स्वास्थ्य यसै पनि खराब थियो, नर्कतुल्य जेलको दुर्व्यवहारको शिकार भई उहाँको स्वास्थ्य झनै बिग्रियो । क्रूर सत्ताले उहाँलाई समान्य उपचारको सुविधा पनि दिएन । र, मृत्युपछि आफन्त र कमरेडहरुलाई दाहसंकारमा सामेल हुन दिइएन ।

०००

बाल जागरणका लागि योङ कम्निस्ट लिग खोलियो । कथामा राजनीति घोलियो र बालबालिकाहरुलाई कथा सुनाइयो । यो वैकुण्ठहरिको लाल राजनीति गर्ने कूटनीतिक कौशल थियो । यसरी बालबालिकालाई असमान र अन्यायी समाज चिनाइयो ।

क्रान्तिकारी जागरणको दियोमा तेल थप्ने बैकुण्ठहरिका माध्यम दुईवटा थिए— शिक्षा र राजनीति । शाही निरङ्कुश शासन खुला राजनीतिको घोर शत्रु थियो । त्यसैले गुरु श्यामप्रसादको सिको गर्दै वैकुण्ठहरिले छद्म राजनीति गर्नुभयो । विद्यालय र पुस्तकालयको स्थापना र खेलकूदको आयोजना आदि त आवरण थिए । आवरणभित्र गुदी कुरो थियो लाल जागरण । बाल जागरणका लागि योङ कम्निस्ट लिग खोलियो । कथामा राजनीति घोलियो र बालबालिकाहरुलाई कथा सुनाइयो । यो वैकुण्ठहरिको लाल राजनीति गर्ने कूटनीतिक कौशल थियो । यसरी बालबालिकालाई असमान र अन्यायी समाज चिनाइयो । वर्गभेद र जातभेद देखाइयो । वणभेद र लिङ्गभेदको पोल खोलियो । रोग, गरिबी र अनेक पारिवारिक समस्याले वैकुण्ठहरिको क्रान्तिको बाटो छेक्न सकेनन् ।

०००

जो आफैँप्रति निर्मम हुन सक्दैन, ऊ टिकाउ वागी हुन सक्दैन । संघर्षको यात्रामा जीवन संकटमा पर्दा वागीका आँखासामु प्रियजनका अनुहारहरु प्रकट हुन्छन् । तिनले केके याचना गर्छन् । त्यो घडीमामा आमा वा बाका, पत्नी वा पतिका सहारा माग्ने मलीन अनुहार, असहाय लालाबालाहरुका आँसु भरिएका निश्छल आँखा, र ती आँखामा नाचिरहेको तिनको अनिश्चित भविष्यको धमिलो चित्र— यी त्यस्ता कुरा हुन् जसले वागीको दृढतामा धरमर र मनोबलमा हलचल ल्याउन सक्छन् । यो धरमर र हलचलबाट निष्ठालाई जोगाउन हदै निर्मम हुनुपर्छ । आफैँप्रतिको त्यो निर्ममताले गर्दा नै वैकुण्ठभित्रबाट शहीदको जन्म भयो । र नै आज हामी शिर झुकाएर उहाँलाई सम्झिरहेका छौँ ।

दुःखको कुरा, यो समारोहमा वैकुण्ठहरिका सपनाको भविष्य गयल परेको छ । यहाँ हामी खालि अधवैंशे र पाका मानिस छौँ । किशोर–किशोरी र युवाहरु यहाँ छैनन् सरह छ । वैकुण्ठहरिको सारा जीवन किशोर–किशोरीमा क्रान्ति चेत जगाउनमै बित्यो । सधैँजसो उहाँको ध्यान किशोर–किशोरीहरुको मानसिक र शारीरिक विकासमा केन्द्रित हुन्थ्यो । र उहाँको जोड तिनको नैतिक र व्यावहारिक शिक्षामा एकाग्र हुन्थ्यो । खै यो समारोहमा वैकुण्ठहरिका ती क्रान्तियोद्धाहरु ? खै यो सभामा ती लाल क्रान्तिका भविष्यहरु ? अर्को यस्तो समारोहसम्म बाँचिरहेँ भने किशोर–किशोरी र युवाहरुका अनुहारमा क्रान्तिको भविष्य हेर्न म फेरि पनि यहाँ आउने छु ।

आदरणीय शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ र योगेन्द्र प्रधानपछि उहाँहरुको छेवैमा उभिएर यो सम्मान र पुरस्कार ग्रहण गर्न पाउँदा मलाई खुशी लागेको छ । वैकुण्ठ स्मृति प्रतिष्ठानप्रति हार्दिक आभार !

(बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको सम्मान समारोहमा सङ्ग्रौलाले दिनुभएको मन्तव्यको सम्पादित र संक्षेपीकृत पाठ)

No comments:

Post a Comment