Monday, September 25, 2023

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा - गोपाल अश्‍क

 समीक्षा 

मातृका पोखरेल (२०२३) द्वारा रचित ‘घाम झुल्किनुअघि’ शीर्षकको कथाले पन्ध्र वर्षअघि अर्थात् वि.सं. २०६५ असोज महिनामा कौशिकी (मासिक) को पचासिओँ पूर्णाङ्‍कमा प्रकाशित भई नेपाली पाठकहरूको ध्यान आफूतिर आकर्षित गरेको देखिन्छ । प्रत्येक इमान्दार रचनाकारझैँ पोखरेलले पनि आफूले देखे भोगेको, अनुभव तथा अनुभूत गरेको विषयलाई जीवन्ततापूर्वक अभिव्यक्‍त गरेका छन् । नेपालले पटक-पटक विभिन्‍न राजनैतिक आन्दोलनहरूको स्वाद चाखेको छ । आम नेपाली यस कुरामा बडो गर्व गर्ने गर्दछन् कि नेपालले कुनै स्वाधिनता दिवस मनाउँदैन । किनभने नेपाल कहिल्यै कुनै विदेसीको गुलाम भएन । आम नेपालीले यसरी गर्व गरिरहेको बेला मुख पनि बिगार्ने गरेको देख्‍न सकिन्छ । किनभने आम नेपालीले कहिल्यै पनि वास्तविक प्रजातन्त्रको स्वाद चाख्‍न पाएनन् । हो, प्रजातन्त्रको नाउँमा, गणतन्त्रको नाउँमा अरू नै खालको स्वाद चाखेका छन्, जो निश्‍चित रूपमा मिठो छैन, स्वादिष्ट छैन । धेरै अमिलो छ ।

‘एक दशकअघि कटारी-ओखलढुङ्‍गा सडक खण्डको निर्माणकार्य शाही सेनाले जिम्‍मा लिएपछि माइलीजस्ता धेरै ग्रामीण युवतीहरू सेनाका वैद्य या अवैद्य पत्‍नी बन्‍न पुगे’ (पृ.सं.१५) । प्रस्तुत कथामा प्रयुक्त भएको यो वाक्य खाली वाक्य होइन, तत्कालीन नेपाली समाजको एउटा यथार्थ चित्र पनि हो । सैनिकहरू कुनै काम विशेषले समाजसँग नजिकिँदा यो र यस्ता घटनाहरू घटेका कथाहरू प्रशस्त लेखिएका पाइन्छन् । कुनै बेला सेनाहरूले प्रेमीको रूपमा प्रकट भई ग्रामीण सीधासाधा युवतीहरूलाई आफ्नो प्रेम-जालमा फँसाएर आफ्नो कामवासना शान्त गरेका र पछि उनीहरूलाई मर्नको लागि एक्लै छाडेर बेपत्ता भएका कथाहरू सुनिएका छन् भने कुनै बेला घासदाउरा गर्न गएकी ग्रामीण युवतीलाई आफ्नो वासनाको सिकार बनाएका कथाहरू सुनिएका छन् । यस कथाकी मुख्य पात्र ‘माइली’ पनि शाही सेनाको एक जवानको लोभ प्रलोभनको सिकार भएकी छन् । शाही सेनाद्वारा त्यसरी सिकार भएको कारणले गर्दा उनी सेनाको नामै सुन्‍न चाहँदिन । कतै कुनै बेला सेनालाई देखिई हालिन् भने मुख बिगार्छिन् । बाध्यताबस सैनिक जवानले भनेको कुरो मान्छिन्, तर मनमनै घृणा गर्छिन् । सेना देख्‍नासाथ यसरी घृणा गर्नुको कारणलाई कथाकारले यसरी प्रकट गरेका छन्,‘शाही सेना भन्‍नेबित्तिकै उसको (माइली) मनमा घृणाको एउटा विशाल पोखरी निर्माण भएको छ । शाही सैनिककै रूपमा उसको जीवनमा एउटा मान्छेले प्रवेश गर्‍यो र उसको व्यक्‍तिगत संसारलाई हिरोशिमा र नागाशाकीमा अमेरिकाले खसालेको एउटा बमले झैँ पलभरमै खण्डहर बनाइदियो । उसको मात्र होइन, उसका कैयौँ केटी साथीहरूको जीवनलाई पनि उनीहरूले खेलौनामा परिणत गरिदिए’ (पृ.सं.१६) ।

कथाकार मातृका पोखरेल प्रत्येक इमानदार रचनाकारझैँ आफ्‍ना कथामा यथार्थको धरातलमा उभेर मानवताको गीत गाएका छन् । भोक, गरिबी, शोषण, तथाकथित ठुलाबडाहरूको अत्याचार, समाजमा विभिन्‍न कारणले उत्पन्‍न भएका असन्तुष्टिहरूलाई जीवन्ततापूर्वक रेखाङ्‍कन गरेका छन् । यति मात्र होइन, ‘कथाकार मातृका पोखरेलले आफूभित्रको राजनैतिक आस्थालाई आख्यानीकरण गर्नका लागि आवश्‍यक कलात्मक अनुशासन निर्वाह गरेका छन् (श्रेष्ठ, २०७५, पृ.सं.२८८) । ’हातिको देखाउने दाँत एक, खाने दाँत अर्को’ भन्ने उखान यिनमा लागु हुँदैन । मान्छेको रूप रङ्‍गसमेत चिन्‍न नसक्‍ने वर्तमान समयमा कथाकार पोखरेल बाहिर र भित्र जे छन्, जस्ता छन्, दुरुस्त त्यस्तै आफ्‍नो कथामा प्रस्तुत भएका छन् । उनी प्रगतिवादी कथाकार हुन् र आफ्नो राजनैतिक आस्थाप्रति निष्ठावान छन् ।

प्रस्तुत कथा माओवादी जनयुद्धताकाको हो । यस कथामा त्यो बेला नेपाली समाजले भोगेको तितो सत्यलाई विषयवस्तु बनाइएको छ । माओवादी लडाकुहरू देशभरि फैलिएर आफ्नो मुहिममा लागि परेका थिए भने तत्कालीन सत्ता शाही सेनालाई ब्यारेकबाहिर निकालेर माओवादीहरूलाई तह लगाउनमा लागेका थिए । यत्ति मात्र होइन, माओवादीहरूको टाउकोको मूल्यसमेत तोकिएको थियो । तर यथार्थ यत्ति मात्र थिएन, अरू पनि थियो । हुन त अझै हामी हाम्रो मुलुकबाट गरिबी र भोकलाई पर धकेल्‍न सकेका छैनौँ । तर यो पहिलाको निरन्तरता मात्र हो । भोक र गरिबी पहिला पनि थियो । नेपाली समाज भोक र गरिबीबाट के कत्ति ग्रसित थियो, त्यसको साक्ष्यको रूपमा प्रस्तुत वाक्यांशलाई राख्‍न सकिन्छ, ‘ऊ त छँदै थिई, खाने पेट अर्को पनि बढ्यो । दुई जनाका लागि छाक जुटाउन चानचुने कुरा थिएन’ (पृ.सं. १५) । कस्तो कहालिलाग्दो अवस्था ? कस्तो चरम गरिबी ? जाबो दुई जनाको पेट पनि भर्न सक्ने सिर्जित भएको स्थिति ? आगो लागेको बेला, समाजमा चीत्कार हाहाकार मचेको बेला, कोही इमानदार र सजग स्रष्टा कसरी चुप लाग्‍न सक्छ ? कथाकार पोखरेल चुप लागेनन् र आफ्नी कथानायिकाको मुखबाट आवाज  गून्जित गरे, ‘‘अब एकैछिनपछि महाभारतमा घामको किरण पर्नेछ र त्यसपछि यो अनाथको कामिरहेको शरीरमा न्यानो हुनेछ’ (पृ.सं.१७) ।  

   रचनाकार जीवित रहनुको प्रमाण पनि उनको इमानदार रचनाधर्मिता नै हो । कथाकार पोखरेलले आफ्ना अन्य महत्त्वपूर्ण रचनाझैँ ‘घाम झुल्किनुअघि’ शीर्षक कथाको माध्यमबाट पनि माओवादी विद्रोह ताका शाही सेनाद्वारा गरिएको क्रूरताको प्रकटीकरण गरेका छन् । यस कथाको बुनोट जति सरल र सहज देखिन्छ, यसमा निहित घटना, प्रसङ्‍ग, स्थिति तथा कार्य-व्यापार आदि त्यत्ति नै हृदयविदारक देखिन्छ । यस कथामा प्रकटीकरण भएका घटना, प्रसङ्‍ग, संवाद तथा संकेतादिको निहितार्थ बिस्तारै बिस्तारै खुल्दै जान्छ । राजन‍ैतिक आस्था हुनु एउटा कुरा हो भने रचनामा आफ्ना आस्थालाई कलात्मक ढङ्‍गले प्रस्तुत गर्नु अर्को कुरा हो। कथाकार पोखरेलले आफ्नो यस कथालाई बडो सरलता एवम् गम्भीरतापूर्वक प्रस्तुत गरेका छन् । साँच्चि भन्‍ने हो भने यिनको सरलता कथा भन्‍ने ढङ्‍गमा रहेको छ र संश्लिष्टता कथावस्तुमा निहित रहेको छ । यसो गर्न सक्‍नेमा यिनको कलात्मकता प्रस्तुत गर्ने श्रम मात्र नभएर जीवनमा आर्जन गरेको ज्ञान पनि रहेको देखिन्छ । गहन अनुभव र अनुभूतिको अभावमा रचनाकार आफ्ना रचनामा त्यो प्रभावकारिता उत्पन्‍न गर्नबाट वञ्चित हुन जान्छन् जसको अपेक्षा पाठकले गरेको हुन्छ । कथाकार पोखरेलले आफ्ना पाठकलाई ढाँटेका छैनन्, यही यस कथाको मुख्य विशेषता हो ।

समकालीन नेपाली कथालेखनमा कथाकार मातृका पोखरेललाई एक फरक धारमा प्रवाहित भइरहेको पाइन्छ । जहाँ केही अन्य कथाकारहरूले आफ्ना कथालाई बोझिल रचनाविधानको संरचनामा कथिराखेका देखिन्छन्, त्यहाँ यिनले आफ्नो ‘घाम झुल्किनुअघि’ शीर्षक कथालाई एकदम सहज रचनाविधानको संरचनामा उनेका छन् । यस कथाको सन्दर्भको बारेमा कुरा गर्ने हो भने २०५२ सालदेखि थालिएको माओवादी जनयुद्ध र त्यस जनयुद्धमा शाही सेनाबाट प्रकट गरिएको क्रूरता रहेको छ ।

माओवादी जनयुद्धताका नेपाली समाजले विभिन्‍न प्रकारले पीडा सहेको यथार्थलाई बिर्सन सकिँदैन । यस जनयुद्धमा सत्रह हजार नेपालीहरूले ज्यान गुमाउनु परेको तितो यथार्थ रहेको छ । जनयुद्धमा सामेल नेकपा (माओवादी) र तत्कालीन नेपाल सरकारले एक अर्कालाई आफ्नो सिकार बनाएकै हुन् । दुवैको आक्रमणमा परेर नेपाली जनताले प्राण त्याग‍ैकै हो । माओवादी जनयुद्धलाई हेर्ने दृष्टि भिन्‍न भिन्‍न पाइन्छ । तर माओवादी जनयुद्धबाट प्राप्त उपलब्धिको आधारमा भन्ने हो भने २०५२ देखि २०६२ सम्म दश वर्षे जनयुद्ध समाजरूपान्तरणको सघन प्रक्रिया तथा वर्गसङ्‍घर्षको उच्चतम अभिव्‍यक्‍ति थियो’ (पौडेल,२०७९, पृ.सं.५१) ।

‘घाम झुल्किनुअघि’ सात व्यञ्जन स्वरहरूको संयोजन मात्र होइन, सात सुरको प्रस्फुटन पनि हो । घाम झुल्किनुअघि गहन अँध्यारो छाउँछ, यो निर्विवाद सत्य हो । कथाकार पोखरेलले बडो कलात्मक ढङ्‍गबाट गहन अँध्यारोपछि उज्यालो हुन्छ भन्‍ने आशावादी सोच प्रकट गरेका छन् । स्थितिको भयावहतामा कथानायिका, उनको छोरा, हतकडी लगाएर शाही सैनिकहरूको बिचमा कामिरहेको एउटा मान्छे देखिएका छन्। कथामा भयावहताको स्थिति के कस्तो रहेको छ, त्यसको छनक कथामा गराइएको सानो संवादले प्रस्तुत गर्दछः

‘म त माओवादी हुँदैहोइन हजुर !

’तेरो भाइ भएपछि तँ पनि माओवादी नै होस्।’

‘भाइसँग मेरो एक वर्षदेखि भेटै भएको छैन।’

‘तैँले खोजिस् भने भेट्न सक्छस्।’

‘छाड्दिनुस् हजुर, म माओवादी होइन।’

‘एक वर्षअघि तेरो घरमा आएर ऊ बास बसेको प्रमाण छ हामीसँग।’

‘ऊ आएर बसेको त हो हजुर।’

‘आतङ्‍कारीलाई सहयोग गर्ने पनि आतङ्‍कारी नै हुन्छ।’ (पृ.सं.१७)

नेपालमा भएको माओवादी जनयुद्धताका घटेको यो एउटा दृश्य मात्र हो, यस्ता दृश्यहरू कत्ति हुन होलान् कत्ति ! त्यसताका सत्ता एकदम क्रूर बनिसकेको थियो, क्रूरताको सीमासमेत नाघ्‍न बेर लगाउँदैन थियो । माथि प्रयुक्त गरिएको संवादले त्यही क्रूरतातिर संकेत गर्दछ । शाही सेनाको क्रूरताको सीमा यस वाक्यमा प्रस्फुटित भएको छ, एउटा सैनिकले त्यो एक्लो मान्छेमाथि एक लात्ती हान्यो र ऊ अर्कोतिर पुगेर लड्न मात्र के लागेको थियो, अर्कोतिरबाट अर्को सैनिकले फेरि अर्को लात्ती बर्सायो’ (पृ.सं.१८) । यो पनि वाक्य मात्र होइन, त्यसताका नेपाली समाजमा शाही सेनाको स्थापित भएको छविको रेखाङ्‍कन हो । त्यस ताकाको नेपाली समाजले सत्ता र सत्ताले परिचालन गरेको शाही सेनालाई के कस्‍तो रूपमा लिएका थिए भन्‍ने कुरोको अभिव्यक्‍ति हो ।

       भनिन्‍छ, रात जति कालो किन नहोस्, बिहान अवश्य हुन्छ र बिहान हुनासाथ धर्तीमा छाएको गहनभन्दा गहन अँध्यारो हराएर जान्छ, चारैतिर उज्यालो फैलिन्छ र त्यसपछि प्रकृति र मानवलाई नयाँ जीवनको गीत गाउनबाट कसैले रोक्‍न सक्दैन। ‘महाभारत डाँडामा घामको झुल्को आइपुग्न अझै केही समय बाँकी नै थियो’ कथाको अन्तिम वाक्य हो । यस वाक्यले कथाकार स्वयं र नेपाली समाजलाई आशावादी बनाउनमा सफल भएका छन् । कथाकार पोखरेलले देखेको आशाको किरण आज नेपाली समाजले पनि देखेको छ । नेपाली राजनीतिरूपी महाभारतको डाँडामा घाम झुल्किसकेको छ र त्यसको घमाइलो वातावरणमा नेपाली समाजले सांस फेर्न पाएको छ । कथाकारले समाजवादलाई यथार्थको धरातलमा उभ्याएर माओवादी जनयुद्धको वास्तविक प्रक्रियालाई प्रस्तुत गर्दै ‘सर्वहारा’को कसीमा कसेर ‘घाम झुल्किनुअघि’ लेखेका छन्,जो एउटा राम्रो उदाहरण बन्‍न पुगेको छ।

       कथाकार मातृका पोखरेलको कथाकारिताबारे गरिएको मूल्याङ्‍कन एकदम सटिक लाग्छ, ‘‘ मातृका पोखरेल युगीन चेतना भएका संवेदनशील कथास्रष्टा हुन् । त्यसैले एकातिर उनले देशकै समस्याका रूपमा रहेका नारीहिंसा, बढ्दो भ्रष्टाचार, वैदेशिक रोजगारप्रतिको आकर्षण, चेलीबेटीको बेचबिखन, सहरी संस्कृतिभित्रका विकृति, दुर्व्यसनी युवाहरूको स्थिति आदिलाई आफ्ना कथाहरूको विषयवस्तु बनाएका छन् भने अर्कातिर दशवर्षे द्वन्द्वकालमा देशमा सर्वत्र भएका हत्‍या-हिंसा, दुराचार आदिलाई राजनैतिक दृष्टिले दुराग्रहरहित भएर प्रस्तुत गरेका छन् । प्रतिबद्ध प्रगतिवादी भएको नाताले उनले प्रयोगप्रति कति पनि रुचि देखाएका छैनन् (श्रेष्ठ, २०७५, पृ.सं.२८८) ।

       कथाशिल्पी मातृका पोखरेलले आफ्‍नो युगको वास्तविकतालाई द्वन्द्वात्मक रूपमा देखेका छन् । वास्तविकतालाई लुप्‍त गर्ने सरकारी ‘कूट संरचना’ लाई राम्ररी चिनेका छन् र त्यसको पर्दाफास गर्नका लागि ‘घाम झुल्किनुअघि’ र यस्ता अनेकौँ कथा लेखेका छन् । जनताको प्रत्येक आवाजलाई समाप्त पार्नका लागि सरकार र प्रशासकले जुन तरिका अपनाउँछन्, त्यसमा ‘कुनै एक नतीजामा पुग्न कठिन हुन्छ । तर जनता र समाज सजग हुँदा त्यो कठिनाइको पहाड उक्‍लिन सकिन्छ । जनता र समाजलाई त्यो कठिनाइको पहाड चढ्‍नका निम्ति सजग पार्ने र प्रोत्साहित गर्ने काम रचनाकारहरूले गर्नु पर्दछ । यस सत्कार्यमा कथाकार पोखरेल निरन्तर लागि परेका देखिन्छन् । गरिबी, भोक, भ्रष्टाचार, अत्याचार र दमनबिरुद्ध आवाज उठाइराख्‍ने कथाशिल्पी हुन्- मातृका पोखरेल र यिनको ‘घाम झुल्किनुअघि’ कथा यसको राम्रो उदाहरण हो ।

000 

.....................................

मुख्य सन्दर्भ ग्रन्थ सूची

१.     पोखरेल, मातृका (२०६५‌), घाम झुल्किनुअघि (कथासङ्‍ग्रह), ललितपुरः साझा प्रकाशन

२.     पौडेल, प्रा.डा. गोपीन्द्र (२०७९), कथा परिशीलन, काठमाडौँः भुँडीपुराण प्रकाशन ।

३.     श्रेष्ठ,प्रा.डा. दयाराम (२०७५), प्रज्ञा आधुनिक नेपाली कथाकोश, काठमाडौँः नेपाल प्रज्ञा-प्रतिष्ठान।

 

v   


 

No comments:

Post a Comment