Wednesday, February 22, 2023

पारिजातका कविता ' विषयक विचारगोष्ठी सम्पन्न

पारिजात स्मृति केन्द्र (काठमाडौं) र नेपाल वाङ्मय परिषद्ले धनगढी (कैलाली) को कैलाली जनपुस्तकालयमा यही फागुन ७ गते “वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचारगोष्ठी आयोजना गरेको छ ।

नेपाल वाङ्मय परिषद, धनगढीका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी हुनुहुन्थ्यो ।

समारोहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका कोणबाट पारिजातका कविता शीर्षकमा विचारपत्र प्रस्तुत गर्नुभएको थियो । सो विचारपत्रमाथि समालोचक डा. इन्द्रबहादुर भण्डारीले टिप्पणी गर्नुभएको थियो । विचारपत्र प्रस्तुत गर्ने क्रममा समालोचक अधिकारीले पारिजातको कविता लेखनका विविध आयामको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले पारिजातका पछिल्ला कवितामा वर्ग पक्षधरता सघन रुपमा पाइने विचार व्यक्त गर्नुभएको थियो । विचारपत्रमाथि टिप्पणी गर्ने क्रममा समालोचक डा. इन्द्रबहादुर भण्डारीले यस विचारपत्रका उपलब्धि एवम् सीमाका विषयमा चर्चा गर्नुभएको थियो ।

समारोहमा भाषा आयोगका सदस्य मातृका पोखरेल, पारिजात स्मृृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिना, प्रसिद्ध लेखक एवम् परिषदका सल्लाहकार श्रेष्ठ प्रिया पत्थर, सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठानका उपकुलपछि डा. टिएन जोशीलेआफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमा प्रसिद्ध कलाकार राजकुमार जोशी, संस्कृतिकर्मी धर्मराज जोशी, जयदेव जोशी दार्चुले, कैलाली जनपुस्तकालयका कोषाध्यक्ष शेरसिंह खडका, कैलाली जनपुस्तकालयका ग्रन्थपाल रघुनाथ जोशी लगायतका ५ दर्जन जति महानुभावको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले पारिजातले नेपाली साहित्यमा दिएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

उहाँले पारिजात नेपाली साहित्यमा सर्वाधिक पढिने र अनुसन्धान गरिने स्रष्टा भएको विचार गर्नुभएको थियो । समारोहमा खेम बतास, लक्ष्मीप्रसाद पौडेल, सिर्जन श्री, सागर कुश्मी, नरेन्द्र गिरी, फाल्गुना दाहाल, सुनिल बुढा, रमेश पन्त मितबन्धु, हेमबाबु लेखक, सागर कुश्मी, कोपिला शर्मा, हर्क बोहरा, अञ्जना श्रेष्ठ, बाबुराम आचार्य, श्रेष्ठ प्रिया पत्थर लगायतले रचना वाचन गर्नुभएको थियो ।

संस्थाका सदस्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य जनक रसिक र संस्थाका सदस्य लक्ष्मीप्रसाद पौडेलले उद्घोषण गर्नुभएको सो समारोहमा संस्थाका उपाध्यक्ष बाबुराम आचार्यले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

000

======================================

विचारपत्र

पारिजात स्मृति केन्द्र र नेपाल वाङ्मय परिषद्को सहकार्यमा वि.सं. २०७९ फागुन ७ गते आइतवारका दिन आयोजना गरिएको विचार गोष्ठीमा प्रस्तुत विचारपत्र

वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता
तेजविलास अधिकारी

लेखसार
प्रस्तुत लेखमा साहित्यकार पारिजातद्वारा लिखित कविताहरूभित्र पक्षधरताको खोजी गरिएको छ । मानव चेतनाको विकासको यात्रामा मानिसले पुरानो विचार र व्यवहारलाई नयाँमा बदल्दै मान्छेको समग्र परिचयलाई सङ्घर्षको परिचायक बनाएको छ । मानवजातिको यात्रा नै इतिहास हो । यो इतिहास सङ्घर्षपूर्ण यात्रामा आधारित रहेको छ । मान्छे आफ्नो कर्मलाई जीवनको परिचय बनाउँछ । उसले गर्ने बौद्धिक कर्म साहित्यिक कृतिमा यथार्थको अङ्कनका साथमा देखा पर्दछ । यही आधारलाई औंल्याउँदै र समस्याग्रस्त समाजभित्रका दृश्यहरूलाई सृजनाका माध्यमबाट कसरी शोषण र दमनमा परेका जनताको जीवन फेर्ने साधन बनाउन सकिन्छ भन्ने चेतनाको माध्यम पारिजातका कविता बनेका छन् । कविताहरूमा वर्णित यिनै विषय सन्दर्भ औंल्याइ विश्लेषण गर्न उद्देश्यमूलक सामग्री सङ्कलन गरी निगमनात्मक विधिको प्रयोग गर्दै माक्र्सवादी कोणबाट तथ्यहरूको विश्लेषण गरिएको छ ।  यही र यिनै विषयमा केन्द्रित विचार यहाँ प्रस्तुत भएको छ । समाजमा भएका क्रियाकलापहरूले नै वर्गद्वन्द्व जन्मने र वर्गद्वन्द्वको सही विश्लेषणले मात्र निम्नवर्ग र दमित मुक्तिको लागि यात्रा तय हुन सक्ने निष्कर्ष पारिजातका कविताहरूमा प्रकट भएको छ ।

शब्दकुञ्जी
वर्गद्वन्द्व, प्रतिविम्बन, नारीमुक्ति, श्रमसौन्दर्य, वर्गस्रोत ।

विषय परिचय
पारिजात (जीवनकाल वि.सं. १९९०–२०५०) नेपाली साहित्याकाशको परिचित नाम हो । कविता विधामार्फत् लेखनारम्भ गरेकी पारिजातले कथा, कविता, उपन्यास विधाको अतिरिक्त वैचारिक लेखनमा समेत आफ्नो क्षमतालाई प्रस्तुत गरेकी छिन् । झण्डै चार दशक लामो साहित्य साधनामा पारिजातलाई कविता र उपन्यास विधाले बढी चिनाएको छ । पारिजातका कविता कृतिहरू ‘आकाङ्क्षा’ (२०१४), ‘पारिजातका कविता’ (२०४४) र ‘बैशालु वर्तमान’ (२०५०) रहेका छन् । पारिजातका सङ्कलित रचनाहरू ग्रन्थ ५ मा हाल पारिजातका प्रकाशित सबै कविता सङ्ग्रहहरू एकै ठाउँमा उपलब्ध रहेका छन् । पारिजातलाई राल्फापूर्व र राल्फापश्चात्को लेखकीय यात्रासँगै साहित्यको अधिकांश विधामा मूल्याङ्कन गर्दा सही साहित्यिक योगदानको निष्कर्ष निकाल्न सकिन्छ । पारिजातले आफूलाई स्वःस्फूर्त रूपमा प्रस्तुत गरिएको अघिल्लो समयका रचनामा खुल्ला, सरल र स्वतन्त्र अभिव्यक्ति प्रकाशित भएका छन् । राल्फापश्चात्की पारिजात आफूलाई बढी वैचारिक, जिम्मेवारीबोधले थिचिएकी साथै जनउत्तरदायी लेखकको रूपमा परिचित रहेकी छिन् । पारिजात सामाजिक विषयवस्तुलाई आधार बनाएर त्यसैभित्र सरल, सहज, सपाट जनताको मर्म प्रस्तुत गर्ने लेखक हुन् । उनको लेखनीमा दलित र दमितको योगदानलाई अग्राधिकारको रूपमा राख्नु पर्ने माग दाबी प्रस्तुत छ । श्रम गर्नेको सत्ता स्थापना हुनु पर्ने विचारसँग पारिजात सहमत र प्रतिवद्ध छिन् । 

नेपाली साहित्यमा धेरै चर्चा पाएकी पारिजातले नित्य नयाँ विषयवस्तुको खोजी गरिरहिन् । उनले नेपाली साहित्यमा वैचारिक यात्रालाई फरक र जिम्मेवारपूर्ण ढङ्गले उत्कर्षतिर मोडिदिएकी छिन् । एउटा कविका रूपमा पारिजातको जुन उचाइ छ आख्यान विधामा समेत सो सरह चुली बनाउन सफल भएकी छिन् । पारिजातले नेपाली साहित्यको धारा विशेषमा पु¥याएको विशेष योगदानलाई पनि सोही ढङ्गले हेर्दा मात्र पारिजातको साहित्यिक योगदान पर्गेल्न र साहित्यिक कृतिको मूल्यवत्ता निर्धारण गर्न सहज हुन्छ । पाठ्य पुस्तकमा राखेर वा नराखेरै पनि पारिजातका कृतिहरूको अध्ययन जति भएको छ त्यति विश्लेषण र मूल्याङ्कन भएको छैन । पारिजातले झण्डै चार दशक नै साधना गरेको विधा हो कविता । कविता विधामा २०१३ सालदेखि २०२६।२०२७ सालसम्म गरेको साधना अर्थात् झण्डै डेढ दशकको साधनाले उनलाई यति बलियो तुल्याएको छ कि २०३० को दशकमा प्रवेश गर्दा नगर्दै उनका कविताले अर्कै गोलाद्र्धको सफल यात्रा गरिसकेका छन् अर्थात् शिल्पसँगको त्यो नाताले विचार प्रस्तुति गर्न सहज तुल्याइदिएको छ ।

पारिजातका कविताहरूको विश्लेषणका सन्दर्भमा धेरै विद्वान् समालोचकहरूले थुप्रै टिप्पणी, समीक्षा, समालोचना, शोधपत्र, शोधप्रबन्ध तयार गरिसकेका छन् । पारिजातका कवितालाई मात्रै गहिरिएर धारागत चिन्तनका कोणबाट पनि धेरै बहस छलफल भई नै रहेको छ । पारिजातका कविताहरूमा वर्गपक्षधरताका आधारबाट व्याख्या विवेचना भए तापनि त्यसैमा घोत्लिएर मसिनो अध्ययन गर्ने चेष्टा हुन सकेको छैन । पारिजातका कविताहरूले दलित र दमितको मात्र वकालत गरेका छैनन्, निम्न आय भएका मजदुरको विषय, श्रमको सौन्दर्य, लैङ्गिक शोषणको मार समेत सपाट उपस्थापित भएको छ । राज्यको मूल प्रवाहमा आउन रोकिएका लाखौं नरनारीका पीडा वर्गबोधको कोणबाट हेर्दै वर्गद्वन्द्वका कारण र वर्ग स्वार्थको सौन्दर्य हेर्ने प्रयोजनका लागि यस लेखमा पारिजातका कविताहरूमा वर्गपक्षधरता खोजी गरिएको छ ।

समस्या र उद्देश्य
कवि पारिजातको मूल प्रवृत्ति प्रगतिवादी चिन्तनको काव्यिक यात्रा हो । जीवन र जगत्मा पसिनाको मूल्य स्थापना हुनुपर्ने कोणबाट हेर्दै त्यसभित्रका केस्रा–केस्रा केलाउन खोज्नु र त्यसैमा आफ्नो कवि कौशल स्थापित गर्नु उनको लेखकीय विशेषता हो । प्रस्तुत अनुसन्धानको समस्यामा मूलतः दुइटा पक्ष केन्द्रित रहेका छन् ।

(क) पारिजातका कविताभित्र वर्ग पक्षधरताको अभिव्यक्ति के कस्तो रूपमा आएको छ ?

(ख) पारिजातका कविताहरूले स्थापित गरेको श्रम सौन्दर्य कसरी पुष्टि गर्न सकिन्छ ?

अध्ययन विधि
वर्गपक्षधरताको कोणबाट पारिजातका कविता शीर्षकमा आधारित प्रस्तुत अनुसन्धानका लागि पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । पारिजातद्वारा लिखित आकांक्षा, पारिजातका कविताहरू र बैशालु वर्तमान कविता सङ्ग्रहलाई मिसाएर एकीकृत सङ्गालोका रूपमा प्रकाशित ‘पारिजात सङ्कलित रचनाहरू भाग–५’लाई आधार सामग्रीका रूपमा लिएर प्राप्त सामग्रीलाई माक्र्सवादी मान्यताका आधारमा कविताहरूभित्र रहेको वर्गपक्षधरता खोज्ने कार्य भएको छ । पारिजातका कवितामाथि भए–गरेका प्रतिनिधिमूलक विश्लेषणलाई आधार मान्दै निगनात्मक विधिको प्रयोग गर्दै विषय खोजीका निम्ति आवश्यकताअनुसार पूर्वअध्येताहरूका लेखको सहारा लिई उचित ढङ्गले मौलिक दृष्टिकोण पनि प्रस्तुत गरिएको छ । यस सामग्रीको विश्लेषणका निम्ति मूलतः स्वदेश र विदेशमा रही माक्र्सवादी कोणबाट अध्ययन गर्दै आएका सौन्दर्य चिन्तकको माक्र्सवादी विचार र विश्लेषणलाई मूल आधार बनाइएको छ । विश्लेषण र मूल्याङ्कनको पाटोमा तथ्यमा आधारित मौलिक निष्कर्षको भरपुर प्रयास गरिएको छ ।

सैद्धान्तिक पर्याधार
साहित्य सृजनामा माक्र्सवादी विचारलाई प्रस्तुत गरी लेखिने धारालाई नेपाली सन्दर्भमा प्रगतिवादी साहित्यिक धाराका रूपमा चिन्ने गरिन्छ । 
‘कला साहित्यको स्वान्त सुखायसम्बन्धी भाववादी दृष्टिकोणका विरोधमा यथार्थवादी कला मान्यताको विकास भएको हो । चेतनासम्बन्धी सम्पूर्ण भाववादी विचारको खण्डन गर्दै दृश्य र अस्तित्ववान् सत्तालाई मात्र अन्तिम सत्य मान्ने र मानव समाज तथा मानव जीवनकै कल्याणलाई उच्चतम् लक्ष्य बनाउने माक्र्सवादी (द्वन्द्वात्मक भौतिकवादी) दर्शनका रूपमा यसको नवीनतम विकासपछि कला साहित्य प्रयोजनमूलक वा उपयोगितावादी धारणाले पर्याप्य सक्रियता प्राप्त गरेको हो ।’ (पाण्डेय ः २०५६, पृ. २८) 
साहित्यको विधागत स्वरूप निर्धारण गर्ने क्रममा मात्र होइन साहित्य लेखनको आन्तरिक पक्ष के हो भन्ने दृष्टिकोण प्रस्तुत गर्न माथिको भनाइ पर्याप्त छ । नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारहरूले प्रगतिवादी साहित्यको रूप र विषयवस्तुका बारेमा आफ्नो स्पष्ट धारणा प्रस्तुत गरेका छन् । ‘प्रगतिवादी साहित्यले एउटा वर्गको पक्ष लिने र अर्को वर्गका विरुद्ध विद्रोह गर्ने मात्र होइन, त्यसले नवीन समाज सिर्जनाका निम्ति सहयोगसमेत पु¥याउने गर्दछ । यसर्थ युग–निर्माता असङ्ख्य उत्पीडित श्रमजीवीहरूको सङ्घर्ष र तिनीहरूको स्वर्णिम भविष्यलाई आँकलन गर्ने साहित्य नै प्रगतिवादी साहित्य हो ।’ (भण्डारी ः २०५५, पृ. २५) एकातिर माक्र्सवादी साहित्य भनेको प्रगतिवादी लेखन हो भने प्रगतिवादी लेखनले कलामा वस्तु यथार्थको पक्षलाई सन्तुलित राखेको हुन्छ । श्रमिक वर्गका श्रमको सौन्दर्यको पक्ष रचनामा कति परेको छ भन्ने विषय नै वर्गीय पक्षधरताको आधार हो ।
‘सामाजिक न्यायको अभावमा व्यक्तिमा दोषतत्व रहनु र सामाजिक न्यायप्रतिको पक्षधरताको अभावका कारण प्रगतिवादको उदयपूर्वका रचनाहरू पूर्ण मानवतावादी हुन सकेका थिएनन् । तिनले आम जनताप्रतिको दायित्व पूरा गर्न सकेनन्; जसका कारण तत्कालीन रचनाहरू आफ्नो समयका सत्तारुढ वर्गको इच्छा र आवश्यकताका पूरक मात्र हुन सके ।’ (शर्मा ः २०७४, पृ. ३८) व्यक्ति र समाजका बीचमा अन्तर्विरोध सिर्जना गर्नु र तिनका बीचमा परस्पर एकता र मित्रता कायम गर्न नसक्नु नै विगतका सबै सामाजिक धाराहरूको अन्तको कारण भएकाले वर्गीय पक्षधरताको प्रश्न र समाजमा जन्मिने नवीन प्रवृत्तिको निर्धारण साहित्यका वस्तु यथार्थको अङ्कनबाट हुने गर्दछ । स्रष्टाले समाजभित्रको दमन, उत्पीडन र त्यसका विरुद्धमा भइरहेको प्रतिरोधलाई उद्घाटन गर्दै शब्द र कर्मले निरन्तर क्रान्ति र विद्रोहप्रति आकर्षित गरि नै रहनु पर्दछ । त्यही कर्मको फलस्वरूप गतिशील समाजलाई न्याय र समानताको मार्गमा प्रगतिशील सोचले व्यवस्थित गर्न सक्दछ । 

‘प्रगतिवादीहरू विचारले परिपक्व हुने क्षण भनेको माक्र्सवादी जीवनदर्शनको बोध र त्यसको आत्मसातीकरण नै हो । पढेर मात्र माक्र्सवाद बुझिने होइन त्यसलाई व्यवहारमा ढालेर मात्र सच्चा माक्र्सवादी हुन सकिन्छ । पढाइका आधारमा मान्छेको जीवन, पीडा, सङ्घर्ष र मुक्तिको कथा बोध हुँदैन यसका लागि निरीक्षण, अवलोकन र परीक्षणको आवश्यकता पर्दछ । यी कुराबाट लेखनका लागि कच्चा सामग्री प्राप्त हुन्छ ।’ (भट्टराई ः २०६४, पृ. ७१)

कविका रूपमा पारिजात र उनको काव्ययात्रा सङ्क्षिप्त झलक

पारिजातले आफ्नो साहित्यिक यात्राको प्रारम्भ कविता विधाबाट गरेको पाइन्छ । वि.सं. २०१३ मा ‘धरती’ पत्रिकामा उनका दुईवटा कविता प्रकाशित भएको थियो । उनको प्रथम पुस्तकाकार कृति ‘आकाङ्क्षा’ कवितासङ्ग्रह २०१४ सालमा प्रकाशित भएको थियो । यसरी ‘धरती’ पत्रिकामा प्रकाशित कविता विधाका माध्यमबाट आफ्नो साहित्ययात्रा प्रारम्भ गर्ने पारिजातले बाल्यकालमै थुप्रै कविता लेखनको अभ्यास गरेको जानकारी उनका आत्मसंस्मरणहरूबाट पाइन्छ । उनको प्रथम कविता सङ्ग्रह ‘आकाङ्क्षा’ (२०१४) बाहेक ‘पारिजातका कविता’ (२०४४), ‘बैंसालु वर्तमान’ (२०५०) गरी तीनवटा कविता सङ्ग्रहहरू प्रकाशित भएका छन् । ‘आकाङ्क्षा’ (२०१४) देखि लिएर ‘बैंसालु वर्तमान’ (२०५०) सम्मको उनको कवितायात्रालाई निम्नलिखित तीन चरणमा विभाजन गरी विश्लेषण गरिएको छ;

(क) स्वच्छन्दतावादी चरण
२०१३ सालमा ‘धरती’ पत्रिकामा दुईवटा कविता प्रकाशित भएपछि २०१४ सालमा उनको प्रथम पुस्तकाकार कृति ‘आकाङ्क्षा’ कविता सङ्ग्रहमा सङ्कलित कविताहरू पारिजातका प्रारम्भिक कालका रचनाहरू हुन् । यस सङ्गृहभित्र १५ वटा कविताहरू सङ्कलन गरिएका छन् । ती हुन्– ‘स्मृतिपत्र त्यो विरही राग’, ‘तिमो सपना’, ‘आधार’, ‘गीत’, ‘म तेरो द्वारसम्म आउन सकिनँ’, ‘मैले यो पानी बहाएको होइन’, ‘मूल अव्यक्त’, ‘तर अशेष आर्तनाद’, ‘मेरो स्वरमा कम्पन भरिदेव्यर्थ प्रयास’, ‘सिन्दूरको आकाङ्क्षा’, ‘प्रश्न–प्रत्युत्तर’, ‘निर्मम’, ‘आत्माप्रति र महाभिनिष्क्रमण’ । यी कविताहरू पारिजातका प्रारम्भिक चरणका भएकाले यिनमा जीवन–जगत्प्रति कुनै गम्भीर दृष्टिकोणको प्रतिपादन हुन सकेको छैन । “सिकारु प्रकृतिका संयुक्त प्रभावलाई यस कविता सङ्ग्रहमा प्रस्तुत गरेकी छन् ।” (ज्ञवाली, २०५१, पृ. ६) युवा पारिजातले आफ्नो भावुक हृदयमा स्फुरित प्रेम र प्रणयसम्बन्धी भावनाहरू तथा विरह र पीडाका छटपटीहरूलाई अभिव्यक्त गरेकी छन् । “मान्छेका अन्तस्तथलमा निहित वियोग वेदनाका पीडित कथालाई कवितामा अभिव्यक्त गर्ने र कविताका संरचनाभित्र वस्तु, भाव र प्रस्तुतिका सबै पाटाहरूलाई सही ढङ्गले प्रस्तुत गर्ने कलालाई सम्भव भएसम्म यस सङ्ग्रहका कविताहरूले प्रस्तुत गरेका छन् ।” (सुवेदी, २०५३, पृ. ६) यसरी वैचारिक दृष्टिले त्यति सशक्त नभए पनि प्रस्तुत ‘आकाङ्क्षा’ कविता सङ्ग्रहभित्रका कविताहरूले पारिजातलाई कविका रूपमा स्थापित गर्ने काम गरेका छन् ।

(ख) अस्तित्ववादी–विसङ्गतिवादी चरण
‘आकाङ्क्षा’ (२०१४) कविता सङ्ग्रहपछि पारिजातका कविताहरू विभिन्न पत्र–पत्रिकामार्फत् प्रकाशित भएको पाइन्छ । २०१६ सालदेखि २०२६ सालसम्मका विभिन्न समयमा रचना गरिएका ती कविताहरू शारदा, रूपरेखा, शक्ति, हिमाली, कलाकार, कविता, रत्नश्री, मुकुट, फूलपाती, नयाँ कविता, सगुन, आरती, मधुपर्क, प्रतीक्षा, सिम्रिक, हिमाली आवाजजस्ता विभिन्न पत्रपत्रिकाहरूमा क्रमशः प्रकाशित हुँदै भएको पाइन्छ । यी विभिन्न पत्रिकाहरूमा प्रकाशित कविताहरूको सङ्कलनको रूपमा २०४४ सालमा अर्को कविता सङ्ग्रह पारिजातका कविताहरू प्रकाशित भएको पाइन्छ । डा. ईश्वर बरालको सम्पादनमा प्रकाशित यस सङ्ग्रहमा  जम्मा ३७ वटा कविताहरू रहेका छन् । प्रारम्भका केही कविताहरू पारिजातको विसङ्गतिवादी–अस्तित्ववादी चेतना एवम् राल्फाकालीन विद्रोही स्वरलाई मुखरित गरेको पाइन्छ । जीवनको सबैभन्दा उर्बर समयमा रोगले आक्रान्त भई विकलाङ्ग र कुँजो बन्न बाध्य पारिजात जीवनलाई निरर्थक पाउँछिन र त्यसको प्रकटीकरण आफ्नो सिर्जनाहरूमार्फत् गर्दछिन् । 

“यस सङ्ग्रहभित्रका कविताहरूमा नेपाली समाज र नेपाली मानसिकताभन्दा पनि विश्वको कुण्ठित र वितृष्णाग्रस्त जीवन, विश्वमा बढ्दै गएको आणविक भट्टीहरूका आतङ्कले आसन्न क्षणमा ल्याएका विभीषिकाहरू, उद्घाटन गरेका यस परिस्थितिका जीवन भोगाइका विसङ्गतिहरू, मानसिक दुर्बलता र पलायनहरू, मृत्यु र नश्वरताबोधकहरू, मानवीय संवेग र त्यसका प्रतिक्रियाहरू, जीवनको निस्सारता र आत्महत्याका आवेगहरू प्रस्तुत छन् । (सुवेदी, २०५३, पृ. ११) 

यसरी अस्तित्ववादी–विसङ्गतिवादी एवम् राल्फाली चेतनालाई ग्रहण गर्दै पारिजातका पछिल्ला केही कविताहरूमा विद्रोहात्मक स्वरहरू पनि मुखरित भएका छन् ।

(ग) प्रगतिवादी चरण
पारिजातको कवितालेखन स्वच्छन्दतावादी–भाववाद धाराबाट आरम्भ भई अस्तित्ववादी–विसङ्गतिवादी धरातल टेक्दै तेस्रो कविता सङ्ग्रह ‘बैंसालु वर्तमान’ (२०५०) सम्म आइपुग्दा समाजवादी यथार्थवादलाई वरण गरेको छ । २०३० पश्चात् अनापचारिक रूपमै माक्र्सवादी साहित्य लेखनमा लागेकी पारिजातको २०३६ सालदेखि २०४९ सालसम्मका विभिन्न समयमा रचना गरिएका २६ वटा कविताहरूको सङ्कलनको रूपमा ‘बैंसालु वर्तमान’ कविता सङ्ग्रह आएको छ । नेपाली समाजका अन्याय, शोषण र उत्पीडन र त्यसको अन्त्यको कामना गर्दै मुक्तिको स्वर फलाक्नु यस सङ्ग्रहका कविताको कथ्य बनेको छ । २०५० सालको सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार प्राप्त यस कृति नेपाली साहित्यको इतिहासमा अस्तित्ववादी–विसङ्गतिवादी परम्पराबाट परिचित पारिजातको परिवर्तित मूल्य र पहिचानलाई प्रतिनिधित्व गर्ने सङ्ग्रह बनेको छ । (सुवेदी, २०५३, पृ. १५) नेपाली समाजमा व्याप्त असमानताको बोध गरेकी पारिजातका यस चरणका कविताहरूमा श्रमजीवी सर्वहारा वर्गप्रति असीम स्नेह र हार्दिक सद्भाव पोखिएका छन् । “मान्छे–मान्छेबिच वैषम्यको पर्खाल ठड्याएर समाजलाई कुरूप बनाउने तत्त्वहरू विरुद्ध हाँक दृष्टिगोचर हुने यी कविताहरूमा नवनिर्माणका निम्ति वैचारिक ऊर्जा प्रदान गर्ने गुणहरू सन्निहित छन् । (चाम्लिङ, २०५४, भूमिका) सामाजिक कुसंस्कार, व्याप्त वर्गीय विषयता एवम् शोषण–दमनजस्ता विसङ्गत पक्षहरूको निराकरण गर्न सम्पूर्ण शोषित, पीडित मान्छेहरू एकजुट भएर मुक्तिको स्वर उलाल्नुपर्छ भन्ने मूल भाव यस चरणको कविता सङ्ग्रह ‘बैंसालु वर्तमान’मा पाइन्छ । यी सम्पूर्ण विशेषताहरूले पछिल्लो चरणकी पारिजातलाई प्रगतिवादी कविका रूपमा परिचित गराएका छन् । पारिजातले काव्ययात्राको यी चरणहरू पार गर्नका लागि ब्यहोर्नु परेका समस्या र सामना गरेका चुनौती जीवनीपरक र वस्तुपरक ढङ्गले अध्ययन गर्न जरुरी देखिन्छ । यसरी जीवनको चार दशकको अवधि कविता साधनामा खर्चिएकी पारिजात रोमान्टिक प्रवृत्तिका भावकु कविताबाट आफ्नो सिर्जनायात्रा आरम्भ गर्दै अस्तित्ववादी विसङ्गतिवादी एवम् नव–अराजकवादी चरण पार गर्दै अन्तमा प्रगतिवादी यथार्थवादी चरणमा पुगेको कुरा प्रष्ट हुन्छ । निष्कर्षमा भन्दा ‘बैंसालु वर्तमान’ (२०५०) नै पारिजातको कवित्वको केन्द्रीय उपलब्धि बन्न पुगेको छ ।

वर्गपक्षधरताको कसीमा पारिजातका कविताको अध्ययन

कवितामा श्रमजीवीहरूको आवाज बुलन्द पार्दै यात्रामा विजय निश्चित रहेको आशावादी विचार सम्प्रेषण गर्ने प्रक्रियाको अर्को नाम नै यथार्थ हो । सो यथार्थले मूलतः वर्गको पक्ष लिएको हुन्छ । त्यसबाट समयको गतिशील प्रवाहमा पुरानोको विस्थापन र नयाँको उपस्थापना अनिवार्य प्रक्रिया मानिन्छ । ‘सर्वहारावर्ग जनहित र क्रान्तिको उज्ज्वल भविष्यको प्रतिनिधित्व गर्दै क्रान्तिकारी आशावादी विश्वदृष्टिकोण, कम्युनिष्ट नैतिकताको समुन्नत सिद्धान्त र तिनमा आधारित उच्च आदर्शले अनुप्राणित भई अपूर्व वीरता र आत्मोत्सर्गको नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढ्ने यात्रा नै पक्षधरताको सवाल हो ।’ (किरण ः २०६३, पृ. ११५) मूलतः वर्गहित, मुक्ति र मूल्यदर्शनलाई आत्मसात गर्दै प्रगाढ देशभक्तिको सिद्धान्त, भावना र सर्वहारा अन्तर्राष्ट्रियतावादप्रतिको उत्कट प्रेम प्रस्तुत हुने अन्तर्वस्तु नै वर्गपक्षधरताको महत्त्वपूर्ण कडी हो । जहाँ श्रमिक जनता र क्रान्तिकारी मित्रहरूप्रति अगाध स्नेह र ऐक्यको भावनासमेत लेखकले प्रकट गरेको हुन्छ । पक्षधरताका विषयमा माक्र्सवादी समालोचनाका साधकहरूको अभिमतबाट एउटा विषयलाई ठोस ढङ्गले निष्कर्षका रूपमा प्रस्तुत गर्न सकिन्छ । नेपाली साहित्यमा श्रमको मूल्य कायम गर्न महत्त्व दिनु र श्रम सौन्दर्यको पक्षमा सही ढङ्गले वकालत गर्नु आजको मूल आवश्यकता हो । प्रगतिवादी साहित्यकारले श्रमद्वारा सिर्जित यथार्थको प्रारूपीकरण गर्नु आजको आवश्यकता हो । यहाँ पारिजातका कविताहरूको अध्ययनका क्रममा त्यसको विषयवस्तु चयनको आधार तर विश्लेषणका क्रममा कविताहरूको साक्ष्य आधार लिएर कविताहरूको विश्लेषण गरिएको छ । जसका कारण कविताको विश्लेषण गर्न तयार गरिएको मापदण्डका आधारमा ‘बैशालु वर्तमान’ कविता सङ्ग्रह मात्र यस अर्थमा विश्लेषित हुने निश्चित प्रायः रहेको छ । मूलतः ‘बैशालु वर्तमान’ कविता सङ्ग्रहमा रहेका २६ ओटा कविताहरू मात्र विश्लेषणको आधारभित्र परेका छन् । यसलाई विचारपत्रको सिमा मान्न सकिन्छ ।

प्रगतिवादी कवितामा उत्पीडन र उत्पीडक वर्गप्रति तीब्र घृणा, श्रम र श्रमिक जनताप्रति उत्कट प्रेम, उन्मुत्तिको प्रखर कामना, क्रान्तिको दृढ पक्षपोषण, उदात्त मूल्यबोध जस्ता प्रवृत्तिमूलक स्वरहरू सन्निहित हुन्छन् । (चैतन्य, २०६४, पृ. १८०) प्रगतिवादी कविता केलाउनका लागि माथि भनिएझैँ वर्ग सङ्घर्षको कोण र त्यसको परिणामको गुणात्मक पक्षलाई आधार बनाउन सकिन्छ । प्रगतिवादी कविताले निम्न वर्गको पक्षमा आवाज उठाउँछ । कविताले मानिसको भावनालाई परिवर्तन गरी समस्याको ठोस विश्लेषण गर्न र समाजमा नयाँ सांस्कृतिक मूल्यको स्थापना गर्ने पाटोमा सहयोग पु¥याउँछ । त्यसैले वर्गीय समाजमा वर्गीय अभिव्यक्ति हुनु स्वभाविक मानिन्छ । यसैबाट सौन्दर्यानुभूतिको सृष्टि भई काव्यमूल्य निर्धारण हुन पुग्छ । प्रगतिवादी रचनाले स्थापना गर्ने ऐतिहासिक मूल्य र सौन्दर्यपरक दृष्टि नै मूल्याङ्कनको आधार समेत बन्न जान्छ ।

पारिजातका कविताहरूको विश्लेषण निम्नलिखित पक्षहरूका आधारमा गर्न सकिन्छ ।

क) विषयवस्तुका आधारमा पारिजातका कविताको अध्ययन
ख) यथार्थ अङ्कन र अग्रगामी यथार्थका आधारमा पारिजातका कविताको अध्ययन
ग) यथास्थितिविरुद्ध चेतना निर्माणका आधारमा पारिजातका कविताको अध्ययन
घ) समाजवाद र साम्यवादको पक्षपोषणका आधारमा पारिजातका कविताको अध्ययन
ङ) वैज्ञानिक भौतिकवादी जीवनदृष्टिका आधारमा पारिजातका कविताको अध्ययन
च) देशभक्तिपूर्ण अभिव्यक्तिका आधारमा पारिजातका कविताको अध्ययन
छ) शोषण र असमानताको विरोध एवम् समतामूलक समुन्नत समाज व्यवस्थाको परिकल्पनाको आधारमा पारिजातका कविताको अध्ययन ।
ज) आमूल परिवर्तनको चेतना र रूपान्तरणको सन्देशका आधारमा पारिजातका कविताको अध्ययन ।

क) विषयवस्तुका आधारमा पारिजातका कविताको अध्ययन

विं.सं. २०१२ सालदेखि कविता रचना गर्न थालेकी पारिजातमा २०३१ सालसम्म आउँदा आवेग कम र संवेग बढी प्रकट भएकी पाइन्छ । यस हिसाबले हेर्दा ‘आकाङ्क्षा’ कविता सङ्ग्रहमा युवा आकाङ्क्षा र मनको अभिव्यक्ति भएको छ भने त्यस पूर्वको कवितामा पारिजातका कविताहरूमा कुण्ठित मनका आलाप नै ज्यादा छन् । त्यसमा उनको पीडा, व्यथा, छटपटी, धोका आदि मनको भाव अत्यन्त उन्मुक्त ढङ्गले प्रकट भएका छन् । वि.सं. २०३१ सालपछिका राल्फाकालीन वैचारिक र प्रबुद्ध मित्रहरूको सङ्गतले उनलाई अलि फरक बाटोतर्फ लैजाने चेष्टा ग¥यो । “२०२५ सालपछि पारिजातको चिन्तनमा विचलन आयो । उनको जीवन र सृजनाशैली समाजसँग सम्बद्ध हुन्छ र त्यस सम्बद्धताका क्षणमा सृजित उनका रचनाहरू विसङ्गतिवादी र समाजवादी दृष्टिकोणका मध्यबिन्दुमा आधारित छन् ।” (सुवेदी ः २०५३, पृ. २) माथि प्रस्तुत विचारबाट पनि थाहा हुन्छ कि पारिजात अब शून्यवादी सोचबाट विसङ्गतिवादी सोचतर्फ अग्रसर भएकी छिन् । विसङ्गत समाजभित्र नव निर्माणका झिल्का देख्न थालिसकेकी पारिजातमा आएको फरक खालको सोचले २०३० को दशक टेक्दा कवितामा नवीन विचार र कलासहितको क्रान्तिकारी परिवर्तन देखा प¥यो । समालोचक सुकुम शर्माका अनुसार पारिजातको समग्र साहित्य यात्रालाई कविता यात्राले पनि निर्णायक भूमिका निर्वाह गरेको छ । ‘उनको कविता लेखनलाई हेर्दा वि.सं. २०३० साल पूर्व र उत्तर निम्नानुसार छुट्याउन सकिन्छ । क) प्रथम चरण (वि.सं. २०१३ – २०३० सम्म), (ख) द्वितीय चरण (वि.सं. २०३१ – २०५० सम्म) (शर्मा ः २०६२, पृ. ४७) । यही आधारमा हेर्दा पारिजातका २०३० पूर्वका कविता ‘आकाङ्क्षा’ र ‘पारिजातका कविता’मा सङ्कलित रहेका छन् भने २०३१ देखि २०४८ सम्मका कविता ‘बैशालु वर्तमान’ कविता सङ्ग्रहमा सङ्कलित रहेका छन् । पहिलो चरणको कविता लेखनमा पारिजात मूलतः निस्सारता र विसङ्गतिबोधका कोणबाट जीवनको व्याख्या गर्दै आफ्नो मिलन र वियोगको घातप्रतिघातमा पोखिएकी छिन् । यसपछिका उनका कविता उत्ताल छाल बनेर गुरु गम्भीर विषयवस्तु र प्राञ्जल भाषामा अभिव्यक्त भएका छन् ।

पागल हुन्छ कि
यो होशको संसारमा !
मभित्र कोही मरिरहेछ
मेरो आफ्नोपन कतैबाट भागिरहेछ । (पृ. २९, पागल हुन्छ कि)

मनभित्रका विचारलाई घातप्रतिघातले लगाएको डढेलो यसरी प्रस्तुत गर्ने पारिजात पछिल्लो समयमा आइपुग्दा निकै उध्र्वगामी सामाजिक उत्तरदायित्वमा प्रस्तुत हुन पुग्छिन् । दुई ओटा कविता कृतिमा अन्तरमनको कुण्ठा, भावना अनि उत्ताल छाल प्रस्तुत गर्ने पारिजात ‘बैंशालु वर्तमान’ सङ्ग्रहका कवितासम्म आइपुग्दा फरक ढङ्गले प्रस्तुत हुन पुग्छिन्’

विस्तारै बोल्नुस् महोदय विस्तारै
कस्तो डरलाग्दो कुरा माग्नु भएको ?
हुन त यी दुई थोक बेच्ने साहुहरू पनि
यहाँ हुँदै नभएका त होइनन्
तर यो देश बिक्रीको माल होइन
बेचिइँदैन सिक्किम जस्तो त (पृ. १२९, आधुनिक भण्डार)

राष्ट्र र राष्ट्रियताजस्तो महत्त्वपूर्ण विषयमा पारिजातको दृढोक्ति कतिसम्म कसिलो छ भन्ने कुराका यस्ता उदाहरण यस चरणका कविताहरूका विशेषता बनेबाट थाहा हुन्छ । आफ्नो जीवनलाई देशको रक्षार्थ प्रस्तुत गर्ने उनको यो कविता मात्र होइन नारी र पुरुष बीचको अन्तरसम्बन्ध राम्ररी केलाएको ‘मानुषी’ जस्ता कविता पनि यही कालमा लेखिएको हो । पारिजात मानव अस्तित्वका सम्बन्धमा आफ्नो धारणा स्पष्टसँग राख्न सिपालु देखिन्छिन् । उनका कविताले नारीको पीडा ओकल्ने मात्र होइन नारी र पुरुषको प्रगति सुमधुर सहकार्यमा रहेको तथ्य सार्वजनिक गरेकी छिन् । नारी र नर एउटै नभएर फरक छन् । यही फरक हुनुमा नै ती दुवैको अस्तित्व सुरक्षित छ । अन्यथा एउटाको अस्तित्व उहिल्यै समाप्त भइसक्ने थियो । नारी र नर एकअर्काका पूरक हुन्, दुवैका गुणहरू एक ठाउँमा राख्दा मात्र जीवनले पूर्णता प्राप्त गर्दछ । (त्रिपाठी, २०६२, पृ. १२३) माथि वर्णन गर्ने क्रममा केही साक्ष्यहरूलाई समेत आधार बनाएर हेर्दा पारिजातले प्रस्तुत गर्ने विषय मानिसको सार्वभौम विषयवस्तु मात्र नभएर त्यसभित्रको मसिनो सन्दर्भमा समेत आधारित रहेको छ ।

पारिजातको कविता सङ्ग्रह ‘बैंशालु वर्तमान’मा विषय छनोट समाजको विविध पक्षलाई समेट्ने ढङ्गले भएको छ । कविताको अन्तर्वस्तुमा यथार्थको अङ्कन कसरी भएको छ भन्दा पनि के–के विषय मुखरित भएर आएको छ ? प्रमुख मानिन्छ । विचारहरू कसरी ग्रहण गर्ने त भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ । कविताभित्र समाजमा रहेको वर्गीय संरचनाको पक्ष एक आपसमा टकराएको सङ्केत स्पष्ट देखिन्छ । ‘खास समयमा शक्तिशाली बनेका कवि कुनै समयमा कमजोर पनि देखा पर्छन् । प्रगतिवादी कविको कविता लेख्ने खास आधार उसको विचारधारात्मक प्रबलता र त्यस विचारधारालाई कलात्मक रूपान्तरण गर्ने अवस्था नै हो ।’ (भट्टराई, २०६४, पृ. ७१) माक्र्सवादी सौन्दर्य चेतनामा खास विषय भनेकै श्रमको सौन्दर्य हो । श्रमले सृजना गरेको मूल्यमाथिको ग्यारेन्टी नै श्रम विभाजनको सही मानक आधार हुन्छन् । पारिजातका कविताभित्र वर्गीय पक्षधरताको विविध आयाम प्रस्तुत भएको छ । हाम्रो जस्तो देशमा वर्गीय समस्याभित्र पनि जातीय, लैङ्गिक र क्षेत्रीय विषयजस्ता विविध संरचक घटकले असजिलो बनाई सही ठाउँमा समाजलाई पुग्न बाध्य पु¥याएको छ । त्यसो त हाम्रो समाजका सापेक्षतामा सङ्गठन निर्माण हुने र भत्कने पनि त हुन्छ । त्यस्ता संरचनाहरूले वर्गीय हित विपरीत काम गरे समाज अधोगतितर्फ जान्छ भने सङ्घर्षपूर्ण समाजको निर्माण भए त्यसले प्रगतिशील यात्रामा समाजलाई सघाउ पु¥याउँछ । यस हिसाबले हेर्दा समाजको अधोगतिलाई रोकेर चेतना निर्माण गर्दै अगाडि बढ्न पारिजातका कविता सहयोगी रहेका छन् ।

वैचारिक प्रतिबद्धता र वर्गीय पक्षधरताका सम्बन्धमा धेरै बहस भएको छ । प्रगतिवादी कविताको पहिचान र प्रवृत्ति विश्लेषण गर्दा महत्त्वपूर्ण अभिलक्षण रचनामा रहेको वैचारिक प्रतिबद्धता र वर्गीय पक्षधरता हो । “प्रगतिवादले कला साहित्यलाई विचारधाराका रूपमा लिएकाले कविता कृतिमा पनि विचारको स्पष्टता र प्रतिबद्धता आवश्यक छ । विचारप्रतिको उदासीनता र कलावादप्रतिको मोह गैर प्रगतिवादीहरूका रचनाको विशेषता हो ।” (पौडेल, २०७५, पृ. ८८) आजका कवितामा भने कि त पुँजीवादी विचारधाराको कि त समाजवादी विचारधाराको अभिव्यक्ति हुन्छ । समाजवादी वा साम्यवादी समाजमा मात्र मानिसको सर्वतोमुखी विकास सम्भव भएकाले वर्गविहीन समाजको स्थापनाका निम्ति प्रगतिवादी कविहरूले कलम चलाउँछन् । समाजलाई वर्गमा विभाजित गर्ने काम उत्पादन पद्धतिले गर्दछ । उत्पादनका साधनमाथि पुँजीपति वर्गको निजी स्वामित्व कायम रहने वर्ग विभाजित समाजमा श्रमजीवी वर्गमाथि शोषण, दमन र अन्याय, अत्याचार भई सामाजिक असमानता, विभेद र कलह उत्पन्न भएको हुन्छ । यसको समाप्तिका निम्ति वर्गसङ्घर्ष आवश्यक हुन्छ । त्यसैले वैचारिक प्रतिबद्धता र वर्गीय पक्षधरता कुनै पनि विश्लेष्य कवितामा छ कि छैन भन्ने आधारमा नै प्रगतिवादी कविताको पहिचान हुने भएकाले प्रवृत्ति विश्लेषणको यो एउटा मुख्य आधार हो ।
साक्ष्य – १
फूलबारी नसप्रे
निम्छरा विरुवाहरू पहेलिए
आकाश र माटो हेर्नुभन्दा
सेप हाल्ने माझको बूढो रूखलाई ढालिदिनु राम्रो
मन
एकातिर ढलेर एकातिर उठ्ने वस्तु हो
सके हुँडलिन दिनू, जुझ्न दिनू (पृ. १०१, संगतिहरूको आँखीझ्यालबाट)

साक्ष्य – २
जीवनका कस्ता–कस्ता रंग हुन्छन्
तिमीलाई के थाहा बाबु
महलहरू पसिनाले बन्छन्
बाटाहरू पसिनाले बन्छन्
पाठशालाहरू पसिनाले बन्छन्
यी सारा रंगीन तुमलेट, टिफिन बक्स, झोला
खेलौनाका यी तिरीमिरी बुट्टाहरू पसिनाले बन्छन्
यही पसिनामा तिम्रा ज्यामी आमाबाबुको पसिनाको हिसाब पनि छ
(पृ. १०८, तिमी मान्छेका जात हौ)

साक्ष्य – ३
आफूलाई कुखुराको गुलाफी फूल सम्झेर
सुरक्षित घुमफिर गर्ने
सत्ता र शक्ति सम्पन्नहरूको
सक्छौ भने कठालो समातेर सोध
सबै दुर्घटना–दुर्घटना हुन सक्दैनन्
कर्तव्य गरेर मार्दैछन् कसैले हामीलाई (पृ. १०९, म सडक बोल्दैछु)

पारिजातका कविताहरूमा यस्ता उदाहरणको कमी छैन । त्यसैले त कविता श्रमको पक्षमा बोल्छन् अनि श्रम शोषणको विपक्षमा आगो ओकल्दछन् । यहाँ प्रस्तुत तीन ओटै साक्ष्यहरूमा कविले श्रम गर्नेप्रति सहानुभूति मात्र राखेको होइन जबर्जस्त अधिकार स्थापित भएर पनि श्रमिक आफ्नो अधिकार लिन सकिरहेका छैनन् भनिएको छ । अर्कोतर्फ प्रत्येक माटोको अंशमा श्रमिक पसिना चुहाउँछ तथापि त्यसलाई ऐश आरामको निम्ति राज्यको उपल्लो तहका मान्छेले आफ्नो मात्र प्रयोगमा ल्याउँछन् । यस्ता विषयहरू सह्य हुँदैनन् र होइनन् । यस्ता विषयमा आवाज उठाउदै निम्न वर्गका पक्षमा प्रत्येक कवितामा वकालत गरिएको पाइन्छ ।

ख) यथार्थ अङ्कन र अग्रगामी यथार्थका आधारमा पारिजातका कविताको अध्ययन

प्रगतिवादी कविता पहिचान गर्ने अर्को आधार भनेको यथार्थको अङ्कन र अग्रगामी यथार्थको दिग्दर्शन हो । यथार्थको अर्थ जस्ताको तस्तै, सही, साँचो, सत्य, वास्तविक वा खसोखास भन्ने हो । यसबाट जीवन जगत्को वस्तुपक्ष जस्तो छ त्यस्तै रूपमा प्रस्तुत गर्नु वा वस्तु जगत्को अस्तित्वलाई सर्वेसर्वा मान्नु यथार्थवादी हुनु हो । (पौडेल; २०७५, पृ. ९०) पारिजातका कवितामा सामाजिक जीवनको यथार्थ अङ्कन गरिएको छ । श्रमिक जीवनको सजीव चित्रण र पसिनाको कथा उनको कविताको आधारस्रोत हो ।

साक्ष्य – १
मेरो कामीको रङ्ग र फलामको रङ्ग
एउटै छ हजुर !
च्याँसे, पुन्टेको छालाको रङ्ग र चारोको धुलोको रङ्ग एउटै छ,
म पनि त हजुर फोहोर, मयल ध्वाँसो जस्तो छु
कामी रुने होइन कहिल्यै
उसका पसिनाको रङ्ग
मेरो आँसुको रङ्ग
एउटै छ हजुर (पृ. १२९, एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता)

साक्ष्य – २
हामी एकअर्का बिना बाँच्न सक्ने प्राणी होइनौं
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पु¥याऊ
त्यहाँ, जहाँ तिमीलाई मैले
सभ्यताको आदिकालमा पु¥याइसकेकी थिएँ । (पृ. १०६, मानुषी)

साक्ष्य – ३
नेपाल भर्खरै म¥यो नि !
ट्रकले कुल्चिएर मरेको
रोडा बोक्ने बालकको मृत्युमा
उदास छाप्रोमा पर्खिरहेको
उसको एक मात्र अन्धो बाबुको
आँखाको निश्चल पुतलीमा
नेपाल भर्खरै म¥यो । (पृ. ११४, आँखाको निश्चल पुतलीमा)

मानव सभ्यताको लामो इतिहासमा नारीले पुरुषद्वारा ठगिएको महसुस गरेका छन् । ‘मानुषी’ कविताले जति नै शोषणमा परेको भए पनि आफू पुगेको ठाउँसम्म पु¥याउन सहकार्य गर्नुको अर्को बाटो छैन; जिम्मेवारी भुलेको पुरुषलाई जिम्मेवार बनाउनु पर्छ भनेको छ । आजको यथार्थ यो हो । त्यसैगरी ‘एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता’ कवितामा सौन्दर्य चेतको यथार्थ नमुना पेश गरिएको छ । फलामको कालो रङ्ग र ध्वाँसोको मैलो रङ्गमा यहाँ सुन्दरता र सत्यता छ । फलामे रङ्गको कालो वर्णको कामी कमिनीका लागि सुन्दर छ त्यो यथार्थ हो । सुन्दर र यथार्थ पक्ष यहाँ गहन ढङ्गले प्रस्तुत भएको छ । सौन्दर्यलाई श्रमसँग जब जोडिन्छ त्यसको सौन्दर्यानुभूति त्यत्तिकै प्राकृतिक बन्छ । निम्न आय भएका श्रमिकको यथार्थ जीवन ‘आँखाको निश्चल पुतलीमा’ सपाट प्रस्तुत भएको छ । जनतालाई आफ्नो धन भन्नु सन्तान अकालमा मर्दा त्योभन्दा देश मर्ने कुरा के नै हुन्छ र ! श्रम गरेर बाँच्ने र बूढो बाबुलाई बचाउने काममा लागेको सन्तानको मृत्युले निम्नवर्गको वृद्ध राज्य नै मासिएको अब देश नै नरहेको यथार्थ अनुभूति यस कवितामा उतारिएको छ । समाजमा हर क्षण यस्ता घटना स्वदेश वा विदेशमा निम्नवर्गमाथि घटि नै रहेका छन् ।

ग) यथास्थितिविरुद्ध चेतना निर्माणका आधारमा पारिजातका कविताको अध्ययन
कवितामा अग्रगामी चेत र सौन्दर्य मूल्यको स्थापना भएको छ वा छैन भन्ने आधारमा नै कविता प्रगतिवादी हो वा होइन भन्ने कुराको निक्र्योल हुने भएकाले यथास्थितिको विरोध एवं क्रान्ति र परिवर्तन चेतनाको अभिव्यक्ति पनि प्रष्ट रूपमा आएको हुनु पर्दछ । यथास्थिति भनेको समाज जनु अवस्थामा छ, त्यस्तै रहिरहनु अथवा त्यसबाट परिवर्तन नहुनु हो । दीनहीन वर्गप्रतिको सहानुभूति र मानवतावादी दृष्टि स्वच्छन्दतावादी कवितामा पनि पाइन्छ । तथापि प्रगतिवादले भने रहस्यपूर्ण आदर्शवाद, अलौकिक सत्यको स्वीकृति र वस्तुप्रतिको तिरस्कार जस्ता पक्षलाई स्वीकार गर्दैन । प्रगतिवादले साहित्यकलाको उपयोगितालाई वर्गसापेक्षतामा हेदै जीवन जगत्का द्वन्द्वशील यथार्थहरूलाई समाज वैज्ञानिक कोणबाट व्याख्या गर्दछ । प्रगतिवादी कवि वर्गीय दृष्टिकोण मात्र राख्दैन, वर्गीय भेदभावको अन्त्यका लागि समाजमा सङ्घर्षलाई अगाडि बढाउन क्रान्तिकारी भूमिका समेत निर्वाह गर्दछ । (माक्र्स, एङ्गेल्स, १९८९ ः ३०) यस कोणबाट हेर्दा पारिजातका कविताहरूमा यथास्थितिविरुद्ध अग्रगामी चेतनाको अभिव्यक्ति स्वतः प्रकट भएको पाइन्छ ।

साक्ष्य – १
खान नपाउनेहरूको
दुई पाइलो जग्गा माग्नेहरूको
अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन
आज मलाई फेरि एउटा कविता लेख्न मन लागेको छ
मृत्यु विसङ्गति होइन,
मृत्यु जीवनको अन्त होइन भनेर
मृत्यु त सहिद भएर रातो झण्डाभित्र सुरक्षित
भीडहरूबीच हिँड्दोरहेछ
मृत्युको अर्को नाउँ बलिदान रहेछ,
मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरूको मानसमा सम्झना भएर
अन्यायमा परेर मरेका मृत्युहरू
डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन्
प्रतिशोध भएर जताततै फुँकार गरी हिँड्दा रहेछन्
कहाँ मर्दा रहेछन् र मृत्युहरू
मृत्यु त सङ्गठन भएर
अँगालोहरूतिर बाँधिदा रहेछन्
नारा भएर भित्ताहरूतिर लिपिँदा रहेछन्
पर्चा भएर हातभरि छरिँदा रहेछन् । (पृ. १३८, मृत्यु)

साक्ष्य – २
झिस्मिसेका ताजा जाँगरहरूलाई
छातीभरि कवचजस्तै लपेटी
खेत, आली, सडक र गारोहरूतिर
सल्बलाउने
पोटिला नसाहरूले जेलिएका
खैरा हातहरूको हतियार भिरी
पसिनाको दहमा एकातिरबाट हाम फाल्छ,
एउटा निमुखा बूढा (पृ. १४२)

त्यसैले ए युवा मनहरू हो !
हुरी र आँधीको बेगहरूसँग तिखारिएर आऊ
यस ज्यानमारा भावीको
परम्परामा हत्या गरिदेऊ,
संस्कारमा हत्या गरिदेऊ
धर्ममा भए त्यहीं हत्या गरिदेऊ
महान वाणीहरूमा पनि हत्या गरिदेऊ
किनकि
हामीलाई राम्रैसँग थाहा छ
यस्ता निमुखा बूढाहरूको भविष्य कहाँ हुन्छ भनेर, (पृ. १४३; एउटा निमुखा बूढाको भविष्य)
साक्ष्य – ३
त्यसैले जीवन निश्चित रूपले यस्तै हुन्छ
जीवन पराजयबाट सुरु भएर विजयमा अन्त हुन्छ
कुनै सत्य काँडा नबिझ्न सक्छ पाइतालामा
कुनै समय सुस्केरामा छाम्न पर्दैन जीवनलाई
झुल्कँदा र अस्ताउँदा घाम यसरी रातै हुन्छ
जीवन आफै एकदिन विजय भएर जन्मन सक्छ
सुकुमारी पाइतालाहरूको भरमा उभिएर म
अनुभूतिको अन्तिम चिनारी लेख्नेछु
जीवन विजयबाट सुरु भएर विजयमा अन्त हुन्छ । (पृ. १४९, जीवनको पूर्व–पश्चिम)

माथिको साक्ष्यहरूको आधारमा पारिजातका कविताहरूले यथास्थितिविरुद्ध अग्रगामी चेतनाको अभिव्यक्ति दिएका छन् । आजको स्थिति डरलाग्दो छ । सपनाको हत्या भएको छ । आशाका किरणलाई बादलले ढाकेको छ । त्यसो भनेर हामी चुपचाप बस्ने होइन यो कुरूप यथास्थितिलाई तोड्दै अब अगाडि बढ्नुको विकल्प छैन । थाकेको शरीरमा पुनः ऊर्जा भर्नु छ । समयक्रममा पाएका अपमानहरूमा आफैले प्रतिरोधी चेतना निर्माण गर्नु छ । यथास्थिति समाजको विकास र उन्नतिका निम्ति बाधक हुने हुनाले प्रगतिवादी कवि कुरूप पक्षका चित्रण मात्र गर्दैनन्; क्रान्ति र विद्रोहको भ्रुण त्यही देख्न पुग्नु अग्रगामी चेतनाको अभिव्यक्ति हो । कवि पारिजातले साक्ष्य कविताहरू र ‘बैशालु वर्तमान’ कविता सङ्ग्रहभित्रका अन्य कवितामा पनि अग्रगामी चेतनाको झिल्का प्रस्तुत गर्न सफल छिन् ।

घ) समाजवाद र साम्यवादको पक्षपोषणका आधारमा पारिजातका कविताको अध्ययन

समयको गतिशील प्रवाहमा पुरानोको विस्थापन र नयाँको उपस्थापना अनिवार्य प्रक्रिया नै हो । समाजलाई गतिशील बनाई राख्नका निम्ति ऐतिहासिक दृष्टिले उत्पादनमा साधन र उत्पादित वस्तुमाथि सामन्तको स्वामित्व रहेको दास युगभन्दा पछाडि र पुँजीवादी युगभन्दा अगाडिको युगलाई सामन्ती युगकै अवशेषका रूपमा मानिएको छ । सामन्त वर्गको हित र स्वार्थ पूरा गर्न बनेका विचार, सिद्धान्त, ऐन, कानुन, धर्मकर्म, चालचलन, रीतिरिवाज आदिको अन्त्यको निम्ति आन्दोलित हुने विषय नै समाजवादी मार्ग तयको प्रयास हो जसले विभिन्न तरिकाले अर्को देशलाई आफ्नो अधीनमा राखी शोषण गर्ने र मूलतः सैनिक साम्राज्यवाद, आर्थिक साम्राज्यवाद र सांस्कृतिक साम्राज्यवादका माध्यमबाट मजदुर, किसान वा श्रमिक वर्गको चरम शोषण गर्ने नव–नव तरिका अपनाइरहेका सन्दर्भमा त्यसका विरुद्ध चेतनासहित आत्मनिर्भरताको लडाई लड्न साहित्यले कति सघाएको छ ? त्यसै आधारमा कविता वा साहित्यमा रहेको समाजवाद र साम्यवादको पक्षपोषणको सूचकाङ्क रचनाभित्र खोज्न सकिन्छ । परनिर्भर अर्थतन्त्रले सांस्कृतिक हस्तक्षेपलाई बढावा दिन्छ । त्यसैले प्रगतिवादी कविताको पहिचान र त्यसको प्रवृत्ति केलाउने सम्बन्धमा सामन्तवाद, साम्राज्यवाद र पुँजीवादका सबैखाले विकृति, विसङ्गति र उत्पीडनको विरोध नै समाजवाद र साम्यवादको पक्षपोषण हो । मूलतः प्रगतिवादी कविको कविता लेख्ने आधार भनेको उसको विचारधारात्मक प्रबलता र त्यस विचारधारालाई कलात्मक रूपान्तरण गर्ने अवस्था नै हो । (भट्टराई, २०६४, पृ. ७१) समाजवाद र साम्यवादको पक्षपोषणका निम्ति कविको विचारधारात्मक प्रबलता र रूपान्तरणकारी दक्षता नै महत्त्वपूर्ण मानिन्छ । यस दिशामा अगाडि बढ्ने क्रममा पारिजातका कविताहरू सशक्त वैचारिक हतियार र वर्ग पक्षधरताको स्थापना गर्न माध्यम बनेका छन् ।

साक्ष्य – १
यो भविष्य
एउटा बिन्तीपत्र लेखेर
अलिकति घुस खुवाएर, सोर्स–फोर्स लगाएर
अथवा एक झरी वर्षा जस्तो एक झर नारा लगाएर हुने होइन
दुई चार जना मान्छे मारेर पनि हुने होइन
त्यसैले एक जागरुक युवा पाखुराहरू हो ।
इतिहासको यसै मोडमा आएर
आफ्ना वर्तमानहरूलाई धरौटी राख
यस व्यवस्थालाई टक्टक्याउन थाल
यस व्यवस्थालाई हिसाब माग
यो त पसिनामा नुहाउनेहरूको
मुक्ति आन्दोलन हो
यो त एउटा वर्गको नै भविष्यको ग्यारेन्टी हो
यो त एउटा भीषण युद्ध हो । (पृ. १४४, एउटा निमुखा बूढाको भविष्य)
 
साक्ष्य – २
मान्छे मरुभूमि होइन
रगत पात्लिदैन भन्छ
रगत उम्लन थालेपछि पोख्न पर्छ भन्छ
नदी नै हो मान्छेको सहने शक्ति, पचाउन त सबै पचाउँछ
तर यस नदीमा पनि खतरा रेखा हुन्छ भन्छ
बाढ, आउनुपर्छ भन्छ बाढ
रगतको हिसाब किताब त हुन्छ, हुन्छ
किनकि मान्छे मरुभूमि होइन । (पृ. १४१; मान्छे मरुभूमि होइन)

साक्ष्य – ३
आँखा जुधाउन सकिन्छ
साझा गर्न सकिन्छ
जसले आफूलाई हराएको छ
उसलाई जित्न सकिन्छ
ल छुट्यो रे अतीत
वर्तमानमा गल्ती नदोहो¥याउन सकिन्छ
पराजय नस्वीकार्न सकिन्छ
सानैदेखि दागा धरेको खोला
तर्न सकिन्छ वर्तमानमा । (पृ. १२२; बैंशालु वर्तमान)

समाजवाद प्राप्तिका निम्ति त आशाको सञ्चार चाहिन्छ । एउटा अदम्य साहस चाहिन्छ अनि चाहिन्छ अलिकति आत्मविश्वासको भण्डार । आजसम्म जित्न नसकिएका लडाई जित्न सकिन्छ । आफै हार मानेर थकित भए त कसरी ऊर्जा आउँछ र ! प्रगतिवादी कविहरू सामन्तवाद, साम्राज्यवाद र पुँजीवादसँग लड्न न्याय र समानताको नाराले मात्र पुग्दैन भन्छन् । त्यसका लागि त एउटा आन्तरिक शक्ति निर्माण गर्ने समाजवादी चरित्रसहितको सङ्गठन भए पुग्छ । सांस्कृतिक र आर्थिक परनिर्भरता घटाएर लाखौं युवालाई उत्पादनमा केन्द्रित गर्न सकोस् । माथिका साक्ष्यहरूका आधारमा पनि हामी कवि पारिजातका कविताले वर्गपक्षधरताको खुलेर महिमागान मात्र गरेको छैन, मान्छे जाति नै त्यस्तो जाति हो जो विचारले सुसज्जित हुन्छ, व्यवहारले सक्रिय हुन्छ, हिजोभन्दा आज झन् उत्साह थप्दै अरुलाई समेत जगाएर अगाडि बढ्छ ।

ङ) वैज्ञानिक भौतिकवादी जीवनदृष्टिका आधारमा पारिजातका कविताको अध्ययन

द्वन्द्वात्मक भौतिकवादी जीवन दृष्टि अँगाल्नु भनेको वस्तु जगत्लाई गतिशील, परिवर्तनशील र स्वसत्ता सम्पन्न द्वन्द्वात्मक चरित्रको स्वीकार गर्नु हो । पापपुण्यका भय र लोभ देखाएर जनतालाई शोषण गर्ने अवस्थामा अध्यात्मवादीहरू लागिरहेका छन् । प्रगतिवादी कविहरू माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी वैज्ञानिक दर्शन र दृष्टिबाट अनुप्राणित भएका हुनाले परम्परागत तर गलत धार्मिक, नैतिक मूल्यप्रति विद्रोह गर्दछन् । उनीहरू सामन्ती पुँजीवादी संरचनामा आधारित ईश्वरीय अस्तित्वलाई चुनौती दिँदै मानिसका शक्ति र सामथ्र्यमा विश्वास गरी वस्तुगत भौतिकवादी जीवन दृष्टिलाई आत्मसात् गर्दछन् । रचनाभित्र वैज्ञानिक भौतिकवादी जीवन दृष्टि छ वा छैन भन्ने कुराले पाठकमा कस्तो विचार सञ्चरण हुन्छ भन्ने विषय आकर्षित हुन्छ । यस हिसाबले पारिजातका कविताहरू कस्ता देखिन्छन् भन्ने प्रमाण पेश गर्न केही साक्ष्यहरू हेरौं;

साक्ष्य – १
कहाँ मर्दारहेछन् र
भोका किसान र जिउँदै डढ्ने सुकुमवासीका मृत्युहरू
उनीहरूको मृत्यु त
सङ्घर्ष गर्न तम्तयार आएको
विशाल–विशाल जुलुसमा हिँड्ने सङ्घर्षकारीहरूको
पाखुरी–पाखुरीमा
मुठी–मुठीमा
कसम भएर
अठोट भएर
प्रतीज्ञा भएर
ज्यूँदैज्यूँदै जाग्दा रहेछन्, बल्झिदाँ रहेछन्
मृत्यु र सङ्गीन भएर
वर्गशुत्रको छातीतिर तेर्सिदा रहेछन्
बन्दुक भएर पड्किदा रहेछन् । (पृ. १३९, मृत्यु)

साक्ष्य –२
यो थाप्लोमा नाम्लोको डाम
अझ आलै छ
हुन्छ नै सबैको
एउटा एउटा रामकहानी
दोहो¥याउँदै कस्ता के पाइन्छ ?
अस्ति, हिजो र हिजोआज
अतीत भइसक्यो
छाम्नु सियोको टुप्पो बराबर छैन अतीत
सच्याउन  नसकेर के हुन्छ र अतीत
बैशालु वर्तमान आफ्नो हो
इतिहास भनेर सम्झिदिनु अतीतलाई
सार्थक हुन्छ हत्केलाको वर्तमान
हिँड्दा–हिँड्दै बजार बाटो
कुइनेटो, झ्याङ झाडी हुँदो
भेटिन्छन् मन नपरेकाहरू वर्तमानमा
आँखा जुधाउन सकिन्छ
सामना गर्न सकिन्छ
जसले आफूलाई हराएको छ
उसलाई जित्न सकिन्छ । (पृ. १२१; बैशालु वर्तमान)

साक्ष्य – ३
तिमी जति गर्न सक्छौ
त्यति म पनि सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
तिम्रा सबैमा अनुभूतिहरू
मेरा पनि अनुभूति (पृ. १०५; मानुषी)

पारिजातका पछिल्ला चरणका प्रत्येक कवितामा वैज्ञानिक भौतिकवादी जीवन दृष्टि प्रस्तुत भएको देखिन्छ । नारीले आदिकालदेखि नै नरलाई सहयात्रा–सहअस्तित्वका निम्ति आग्रह गर्दै आएकी छ । नारी पुकारा गरेर बाँच्न चाहन्न । नारी सहअस्तित्वको लडाई लड्न चाहन्छे । तथापि ऊ प्रार्थना वा पूजापाठ गरेर त्यो प्राप्त गर्न सकिन्छ भन्नेमा 
छैन । एकातिर समाज अन्धभक्तिमा रमाइरहेको छ, पुरुष नारीलाई सहयोगीको रूपमा बुझिरहेको परिवेश छ भने अर्कोतर्फ नारी र पुरुष एकअर्काका परिपूरक रहेको र यो नै वैज्ञानिक भौतिकवादी दृष्टि रहेको पुष्टि उनका कविताका साक्ष्यले गरेको छ । जति धेरै दुःख सम्झेर ईश्वर पुकारा गरे पनि केही प्राप्त नहुने तर आफ्नो शक्ति चिनेर दुःखमा पनि सुख खोज्ने र असहज अवस्थालाई पनि सहज वातावरणतर्फ मोड्न पटक–पटक प्रयास गर्नुपर्ने जीवनवादी दृष्टि पारिजातका कवितामा उपस्थित रहेको छ । ‘मानुषी’, ‘मृत्यु’, ‘बैंशालु वर्तमान’ जुन कुनै कविताबाट हामी उदाहरण पेश गर्दै त्यसको सहज र सपाट वर्णन विश्लेषण गर्न सक्दछौं ।

च) देशभक्तिपूर्ण अभिव्यक्तिका आधारमा पारिजातका कविताको अध्ययन
राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका दृष्टिले नेपालले प्रत्यक्ष रूपमा पराधीनता स्वीकार गर्नु परेन । तथापि हाम्रो अर्थनीति र उत्पादन सम्बन्धहरूले हामीलाई व्यवहारमा एक थोक र सिद्धान्तमा अर्को थोक बनाइ दिएको छ । शासन सत्तामा बस्ने व्यक्ति विशेष वा दल विशेषले गरेका कमी–कमजोरी सिङ्गो नेपाली जनताको होइन । शासकीय स्वार्थ वा कमजोरीप्रति पटक–पटक आवाज उठाउँदै जनतालाई सचेत बनाउने काममा प्रगतिवादी कविहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । नेपाली कविता यात्राकी अपराजिता प्रतिभा पारिजातले आफ्ना कवितामा देश भक्तिपूर्ण भावनाको अभिव्यक्ति अत्यन्तै घनिभूत रूपमा गरेकी छिन् । नेपाली सीपमाथि भएको हस्तक्षेप होस् वा नेपालमाथिको आर्थिक र सांस्कृतिक हस्तक्षेप त्यो कुनै नेपालीलाई स्वीकार नभएको र त्यसको डटेर प्रतिकार गर्ने उद्घोष उनका कवितामार्फत् भएको छ ।
साक्ष्य – १
बरु म तपाईलाई केही राजनैतिक मठाधीशहरूको भण्डाफोर बेचूँ ?
पचास प्रतिशत डिस्काउन्टमा
लिनुहुन्छ केही ?
हो यो उर्वरा धरतीलाई नग्याइएको रात
अनि यो हो कुमारी नदीहरूलाई हातपात गरेको क्षण
यो हो जनआस्थाको अपहरण
यो धोका हो, यो विश्वासघात । (पृ. १२९; आधुनिक भण्डार)

साक्ष्य – २
नगर गुलाफको हत्या कसैले पनि
हत्केलामा तिनलाई किचिमिचि पारेर
ती त सम्मिश्रण हुन् रगत र सुवासका
ती त सम्मिश्रण हुन् रगत र अभिलाषाका । (पृ. १५१; रातो गुलाफ)

साक्ष्य – ३
जिउँदो मान्छेको मुटु जिउँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्दैन
एउटाले अर्कोलाई मार्नै पर्छ
यसो गर्नलाई
तथापि होश गर्नू त्यो मुटु मृतकको मुटु हुनेछ । (पृ. ९९, आन्दोलन)
कवितामा श्रम र श्रम सौन्दर्यको माध्यमबाट स्थापित हुने पक्ष मात्रै अङ्कित भएर पुग्दैन । कविताभित्र जनतालाई देशको महत्त्व र देशलाई उन्नतिको शिखरमा पु¥याउने वाचामा दृढ र सचेत तुल्याउनु पर्दछ । जागृतजनले नै दमनविरुद्ध परिवर्तनको स्वर ध्वनित गर्न सक्छन् । आम नागरिक आफ्नो गणको बाजी राखेर आफ्नो भूमिको स्वाधीनताप्रति सचेत हुन्छन् । कसैको दमन, उत्पीडन नसहने स्वभाव साम्राज्यवाद र उपनिवेशवाद स्वीकार 
गदैनन् । ‘बैशालु वर्तमान’भित्रका एक दर्जन कवितामा यस्तो देशभक्तिको नमुना बुझाउने स्पष्ट उदाहरणहरू रहेका छन्, जसले पारिजातको देशप्रतिको अगाध आस्था र प्रेमभाव मात्र नभएर देशवासीको राष्ट्रप्रतिको सम्मान दुवैको सम्मान गरेको छ ।

छ) शोषण र असमानताको विरोध एवम् समतामूलक समुन्नत समाज व्यवस्थाको परिकल्पनाको आधारमा पारिजातका कविताको अध्ययन ।
प्रगतिवादी कविहरू समाजभित्रका सामाजिक, सांस्कृतिक शोषण र असमानताको विरोध सँगसँगै उठाएर थप अन्य पक्ष जस्तै त्यसभित्रको मसिनो विषय जाति, क्षेत्र, अल्पसङ्ख्यक आदिको भाषा, वेशभूषा र अधिकारप्रति पनि त्यतिकै सचेत हुन्छन् । पुरुषको तुलनामा नारीको अधिकार स्थापना गर्न र त्यसलाई समानताको स्तरमा उठाउन परेको अप्ठ्यारोलाई समेत प्रगतिवादी कविले सही ढङ्गले काम गर्न जरुरी छ । ‘बैंशालु वर्तमान’ कविता खण्ड वा सङ्ग्रहभित्र जम्मा २६ ओटा कविताहरू रहेकोमा यस सङ्ग्रहका धेरै कवितामा सबैखाले शोषण र असमानताको विरोध एवं समतामूलक समुन्नत समाजको परिकल्पना गरिएको छ । ‘मानुषी’, ‘एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता’, ‘जुठी दमिनीको अभिव्यक्ति’, ‘आमा’, ‘प्रेमकथा’, ‘बलात्कृतको बयान’ जस्ता कविताले नारी र पुरुषका बीच समाजले गरेको असमान व्यवहार र त्यो असमानता हटाउन गर्नुपर्ने अठोट अत्यन्त सुन्दर ढङ्गले उठाइएको छ । एकातिर ‘नारी’लाई गर्ने व्यवहारमा क्रान्ति नै ल्याउन जरुरी देख्ने पारिजात अर्कोतर्फ मूलतः मजदुर वर्गको पीडा र पेटको प्रश्नमा झनै केन्द्रित रहेकी छिन् । निम्त वर्गका मानिस कसरी बाँच्छन् यस्तो स्थितिमा ? उनले गम्भीर प्रश्न उठाइदिएकी छिन्; एउटा निमुखा बूढाका भविष्य, तिमी मान्छेका जात हो जस्ता कविता निराशामा डुब्न पाएको छैन । निराशाबाट माथि उठेर राज्यमा समान हैसियत खोज्नु पर्ने विषयमा केन्द्रित रहेको छ ।

साक्ष्य – १
एउटा खतरनाक नदीको
बगरै बगर
मेरो बलौटे यात्रा जारी छ
अविश्वास र संशयको
पछ्यौरी ओढेर
एक धून खोजेर हिँडिरहेकी छु
कतै प्रियजनका लासहरू
किनारा लागे कि भनी
आहुति हुनेका लासहरू
किनारा लागे कि भनी
सनाखत हुन्छ कि भनी
आँशुका अक्षर पढिदिने
कोही सहृदयी छन् यता ?
(पृ. ११३; किन हो मन आज पीडा खोजिरहेछ)

साक्ष्य – २
मेरी साथी ऊ भन्थी
कि उसले एउटा ठूलो जात र ठूलो हैसियतको तन्नेरीसँग प्रेम गरेकी थिई,
प्रेमको प्रतिदान स्वरूप ठालुहरूले उसलाई कपाल खौरेर गाउँ घुमाइ दिएका थिए,
उसको काँतर प्रेमी आमाको काखभित्र लुक्न गएको थियो
ऊ प्रेमको आवाज बोकेर गाउँ डुली,
बदलामा उसको सर्वस्व खोसियो,
गाउँका जाली फटाहाहरूले उसका शरीरलाई सिङ्गै लुटे र उसलाई यो वेश्या हो भनिदिए,
मेरी साथी आज ऊ बौलाही भएकी छे,
उसका जाली परेका आँखाहरूमा तिमी स्वास्नी मान्छेहरूका विवश कथा पढ्न सक्छौ ।
(पृ. ११७; प्रेमकथा)

साक्ष्य – ३
म अनभिज्ञ छु
कोसँग तिमीले हात मिलायौ
कोसँग मलाई बार्गेन गरायौ
र कसलाई तिमील्े आफ्नै चिनारी बेच्यौ
एउटा घाँटीबाट विवश म
सुस्केरा र सुसेली छोडिरहेछु
बुझ,
कत्रो अन्तर्विरोधमा म बाँचेको छु । (पृ. १३२, मनको आकाश र घाइते कल्पना)
पारिजातका कविता सामन्तवादी ढाँचामा बाँचिरहेको समाजमा स्वास्नी मानिसहरूले भोग्नु परेको पीडा, यातना र लैङ्गिक हिंसाको मात्र विषय उठान गर्दैनन्, उनी त जातीय आधारमा भएका अमानवीय व्यवहारको समेत खुलेर विरोध गर्दछिन् । हाम्रो पुरुष शासित समाज नारीमाथि कति धेरै पीडा थोपरेर पनि हाँसेको छ । पारिजातका कविताहरूमा स्पष्ट नारी पीडाका वर्णन विवरण पाउन सकिन्छ । कविले सामाजिक रुपान्तरणको अभियानमा नारी त जाग्नु छ नै पुरुष हूँ भन्ने र नारीमाथि दुव्र्यवहार गर्ने स्वाँठहरूलाई समेत सबक सिकाउनु छ भन्ने उद्घोष गरेकी छिन् । 

ज) आमूल परिवर्तनको चेतना र रूपान्तरणको सन्देशका आधारमा पारिजातका कविताको अध्ययन ।
साहित्यको प्राचीन विधा कविता विचारधाराको सङ्गठन मात्र पनि होइन । कलाको चित्रजाल त हुँदै होइन । कविता विम्बमय भाषाको त्यस्तो मानवीय अभिव्यक्ति हो  जसको प्रत्येक अक्षर सुस्पष्ट हुनुपर्छ, शब्द सन्तुलित र अर्थपूर्ण हुनै पर्छ । कविता आमूल परिवर्तनको चेतना र रूपान्तरणको सन्देश प्रवाह गर्ने माध्यम बन्नुपर्दछ । प्रगतिवादी कविहरूले आफ्ना रचनामा समाजको तथ्य प्रस्तुत गरेर मात्र पुग्दैन । आलोचना गरेर मात्र आफ्नो भूमिका पूरा भयो भन्ने ठान्नु हुँदैन । सामान्य सुधारको लक्ष्य निर्धारण गरेर मात्र पुग्दैन । यसमा यथास्थितिका विरुद्धको आलोचनाका साथसाथै आमूल परिवर्तन गर्ने स्पष्ट लक्ष्य भेदनकारी विचार हुनै पर्दछ । प्रगतिवादी कविहरू अहिलेसम्मको सामाजिक उत्पादनका साधन र स्रोतमाथि निश्चित मालिक वा पुँजीपतिहरूले एकाधिपत्य गरेको र त्यो नै वर्गविभेदको कारण भएकाले त्यस्तो उत्पादन सम्बन्धलाई उल्टाउदै समान वितरणको सिद्धान्तमा आधारित राज्य व्यवस्थाको पक्षमा उभिन्छन् । नेपाली कविता यात्राको अद्वितीय प्रतिमा पारिजातका कवितामा पनि यही स्वर स्पष्ट रूपमा अभिव्यक्त भएको छ । उनले बहुराष्ट्रिय कम्पनीले गरेको शोषणको तीव्र विरोध गरेकी छिन्;

साक्ष्य – १
रगत ?
त्यो पनि महोदय गालाको लाली जस्तै
बेच्नै नहुने माल हो
तर बेस्कन निर्यात हुन्छ, बस निर्यात हुन्छ
तर आजभोलि स्वदेशमा यसको भीषण माग बढिरहेको छ
स्वदेशलाई यो नभइ नहुने भइरहेको छ
त्यसैले यहाँको एकथरी वर्ग
रगतको निर्यातमाथि रोक लगाउन सचेत छन् । (पृ. १२८, आधुनिक भण्डार)

साक्ष्य – २
गल्ती ग¥यो, जसले सङ्गीनमा उनिएको
सुकुम्बासी बाबुको रक्ताम्य लाश हेरेपछि
नाबालक छोराका आँखाहरू ढुङ्गा हुन्छन् भन्ने ठान्यो
गल्ती ग¥यो, जसले खरानीको डल्ला भएको
छोराको लाश देखेपछि
सुकुम्बासी बाबुको छात्ती बाँझो बगर बन्छ भन्ने ठान्यो ।
नाबालक आँखाहरू ढुङ्गा हुन सक्दैनन् 
बूढाको छाती बाँझो बगर हुन सक्दैन
आलो चिहानमाथि फुल्नै परेको छ
सक्रियताका फूलहरू
मान्छे मरुभूमि होइन (पृ. १४१; मान्छे मरुभूमि होइन)

साक्ष्य – ३
शायद वर्तमानले जन्माएको यथार्थ हो यो
तरै पनि आँखाहरूले पल्लो किनाराको
जलधार हेर्न कहिल्यै छोड्दैनन्
सत्यताको पछ्यौरीमा पक्कै केही खस्ने विश्वासमा
श्रमदान गर्नेको उदास ओठमा मुस्कान फुल्ने विश्वासमा । (पृ. ११६, समय : तिमी कति पानीमा छौ ?)

साक्ष्य – ४
चट्याङ पड्केको बेस एक–दुई चोट
सुतेको ज्वालामुखी  राम्रो होइन
बिउँझन दिनू, विस्फोट हुन दिनू
सके युद्धलाई अँगालो हाल्नु, हतियारलाई म्वाई खाइदिनू
मन
एकातिर क्रान्ति गरेर एकातिर शान्त हुने वस्तु हो
मन
एकातिर भत्केर एकातिर निर्माण हुने वस्तु हो । (पृ. १०२, सङ्गतिहरूको आँखीझ्यालबाट)

‘बैंशालु वर्तमान’ भित्रका धेरै कविताहरूले आमूल परिवर्तनको चेतना र रूपान्तरणको सन्देश प्रवाह गरेका छन् । रूपान्तरणको अर्थ सामन्ती एवं पुँजीवादी समाज व्यवस्थाको समग्र विकृति र विषमताहरूको अन्त्य गरी मान्छेबाट मान्छेमाथि गरिने सबै प्रकार–प्रकारका शोषणबाट मानव समुदायलाई मुक्त गर्नु र जाति, वर्ग, वर्ण, धर्म आदिका रूपमा विभक्त सामाजिक परम्पराको अन्त्य  गरी समतामूलक समाजको स्थापना गर्नु हो । (गौतम, २०४९, पृ. ९७) प्रगतिवादीहरू जीवन जगत्का गतिशील यथार्थलाई स्वीकार गर्दै वर्तमानबाटै अतीतको मूल्याङ्कन र भविष्यको सुन्दर कल्पनासमेत गर्ने गर्दछन् । भविष्यको कल्पना वा दिग्दर्शन वा सन्देश कवितामा भएन भने त्यसले परिवर्तनकामी चेत निर्माण गर्न सक्दैन । पारिजातका माथि साक्ष्यका रूपमा प्रस्तुत कविता मात्र होइनन् अधिकांश कविताहरूले आमूल परिवर्तनप्रतिको चेतना र रूपान्तरणको सन्देश प्रवाह गरेका छन् ।

निष्कर्ष
कवि पारिजातले नेपाली समाजका सापेक्षतामा मात्र नभएर सिङ्गो मानव जातिको मुक्तिको विषयलाई आफ्ना कविताहरूमा अङ्कन गरेकी छिन् । नेपाली राजनीतिक परिस्थिति र समाजको शोषणको चक्रब्यूह राम्ररी बुझेकी कवि पारिजात निर्मम ढङ्गले पुरुष सत्ताको आलोचकसमेत बनेकी छिन् । उनका कविताहरूले मूलतः राज्यको कानुन हातमा लिएर लुट्ने र आफूलाई शासक हूँ भन्नेहरूप्रति औंला उठाएकी छिन् । नियम, कानुनरूपी औजार प्रयोग गर्ने अनि आफूले मनलाग्दी गर्न नपाउँदा जनताको ढाड सेक्ने शासकलाई आँखामा आँखा जुधाएर जवाफ दिन सके मात्र परिवर्तनको अर्थ र औचित्य स्थापित हुन सक्छ । श्रममा जति घोटिए पनि निम्न आय भएका मजदुर वर्गका मानिस र घरेलु हिंसादेखि सामाजिक विभेद र राष्ट्रिय व्यवहारले किनारातर्फ धकिलिएका लाखौं महिलाको मुक्ति यात्रा विद्रोहबाट सम्भव छ भन्ने उद्घोष पारिजातका कविताहरूले गरेका छन् । पारिजातले नेपालका सन्दर्भमा मात्र सीमित नभएर उखरमाउलो पितृसत्ता जहाँ–जहाँ छ त्यहाँ अनि श्रमको शोषणले थिलथिलिएर बाँचेकाहरूको आवाजलाई त्राण दिने गरी प्रगतिवादी सोच र मूलतः माक्र्सवादी कोणबाट कवितामा रूप पक्ष र अन्तवस्तु पक्षसमेत विन्यास गरेको पाइन्छ । जीवनलाई वैज्ञानिक दृष्टिकोणले सुसज्जित पार्दै मानव शोषणका यावत् पक्ष र कारक तत्वको अन्तका निम्ति लैङ्गिक शोषण र वर्गीय शोषण समूल नष्ट गर्नुपर्ने निष्कर्ष पारिजातका कविताहरूको अध्ययनबाट निकाल्न सकिन्छ ।
सन्दर्भ–सामग्री
अधिकारी, तेजविलास . (२०७९) . पारिजातका कवितामा वर्ग पक्षधरता, प्रज्ञा ख्य।ि ज्ञद्दघ, ल्य। ज्ञ ९द्दण्ठड(द्दण्ठढ०, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान, ९एबनभ ल्य। टट ( डण्० ९म्इक्ष् स् जततउकस्ररधधध।लभउवय।िष्लायरष्लमभह।उजउर उचबवलबरष्लमभहरुादअष्मि. क्ष्धब्च्ज्ञक्ष्mmभच्च्जयज्म्टव्थाकयव्हहवनभ्चग्क्ष्ठप्पक्ष्लद्धज्ग्ख्वकइक्घऋखकखथानउल्ष्हजखप्ठद्ध०
उपाध्याय, गोपीरमण  (२०७६) . प्रगतिवादी समालोचना . काठमाडौँ ः टुकुमाया उपाध्याय ।
किरण . (२०६२) . सङ्घर्षको दर्शन  (दो. सं.) . काठमाडौँ ः जनदिशा प्रकाशन
गौतम, देवीप्रसाद . (२०४९) . प्रगतिवाद ः परम्परा र मान्यता . काठमाडौँ ः मुना गौतम ।
चापागाई. निनु . (२०७६) . माक्र्सवादी साहित्य चिन्तन सम्पा. (दो.सं.) . काठमाडौं ः साझा प्रकाशन ।
चाम्लिङ, पवन . (२०५४) . भूमिका लेख, पारिजातका सङ्कलित ग्रन्थहरू (ग्रन्थ पाँच) . सिक्किम ः निर्माण प्रकाशन ।
चैतन्य . (२०६४) . माक्र्सवादी कला दृष्टि र समीक्षा (दो.सं.) . काठमाडौं ः ऐतावती प्रकाशन प्रा.लि. ।
चैतन्य . (२०६४) . क्रान्ति र सौन्दर्य . काठमाडौं ः प्रगतिशील साहित्य अध्ययन केन्द्र ।
ज्ञवाली, ईश्वरचन्द्र . (२०६६) . वर्गसङ्घर्षको सन्दर्भ ः संस्कृति र सौन्दर्य . काठाडौँ ः प्रगतिशील अध्ययन केन्द्र ।
ज्ञवाली, रामप्रसाद . (२०५१) . पारिजातको सिर्जनकारिताको अध्ययन, सङ्क्षिप्त विश्लेषण तथा मूल्याङ्कन, जम्को (अङ्क–२, २०५१), पृ. ६ ।
ढकाल, घनश्याम र अन्य . (२०६७) . माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य . काठमाडौं ः अखिल नेपाल लेखक संघ ।
त्रिपाठी, सुधा . (२०६२) . “नारीवादी चेतनाको संवाहका रूपमा मानुषी कविता” कविता पूर्णाङ्क ८६, भाद्र–चैत्र . काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पृ. १२० – १३६
न्यौपाने, विजयप्रसाद . (२०६१) . महत्त्वहीन उपन्यासको कृतिपरक अध्ययन अप्रकाशित स्नातकोत्तर शोधपत्र . काठमाडौँ ः नेपाली केन्द्रीय विभाग ।
पाण्डे, भवानीप्रसाद . (२०६४) . पारिजातका उपन्यासमा समाजवादी यथार्थवाद . काठमाडौँ ः अल्टिमेट मार्केटिङ प्रा.लि. ।
पाण्डेय, ताराकान्त . (२०५६) . प्रगतिवाद र कविता . काठमाडौं ः शिला योगी ।
पाण्डेय, ताराकान्त . (२०६५) . अर्थभ्रान्तिको उत्तरचेतनाका विरुद्ध . काठमाडौं ः वाङ्मय प्रकाशन तथा अनुसन्धान केन्द्र ।
पाण्डेय, ताराकान्त . (२०६८) . समय, सिर्जना र संवाद . काठमाडौं ः अर्थ प्रकाशन ।
पारिजात . (२०५४) . एउटा चित्रमय सुरुवात . पारिजातको सङ्कलित रचनाहरू, ग्रन्थ–४ . सिक्किम ः निर्माण प्रकाशन ।
पारिजात . (२०५४) . पारिजातका सङ्कलित रचनाहरू . दक्षिण सिक्किम ः निर्माण प्रकाशन (ग्रन्थ–५)
प्रसाई, नरेन्द्रराज . (२०५७) . पारिजातको जीवन कथा . काठमाडौं ः एकता प्रकाशन ।
पौडेल, गोपीन्द्र (२०५९) . सौन्दर्यबोध र समीक्षा विविध . काठमाडौं ः उर्मिला पौडेल ।
पौडेल, गोपीन्द्र र धनप्रसाद सुवेदी . (२०७७) . प्रज्ञा समकालीन नेपाली समालोचना (सम्पा.) . काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
पौडेल, हेमनाथ . (२०७५) . प्रगतिवाद र कवितासम्बन्धी मान्यता . काठमाडौं ः पौरवी प्रकाशन ।
भण्डारी, जगदीशचन्द्र . (२०५५) . प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण . काठमाडौं ः मुन्नी 
भण्डारी ।
भण्डारी, जगदीशचन्द्र र ताराकान्त पाण्डेय . (२०६८) . प्रतिनिधि नेपाली समालोचना  (सम्पा.) . काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
भट्टराई, रमेश . (२०६४) . “कविता र यसको रचना प्रक्रिया” वेदना वर्ष ३४, अङ्क १, पूर्णाङ्क ७३ (पृ. ६७ – ८१)
भट्टराई, रमेश . (२०७१) . सुन्दर कविता विशिष्ट अनुभूति, भूमिका मफलर युद्ध . काठमाडौं ः पाठ्य सामग्री 
पसल ।
माक्र्स–एङ्गेल्स . (सन् १९८९) . साहित्य र कला . मस्को ः प्रगति प्रकाशन
रेग्मी, चूडामणि . (२०५०) . पारिजात ः परिचय र मूल्याङ्कन . झापा ः जुही प्रकाशन ।
शर्मा, अनिल . (२०७४) . समकालीन साहित्य र संस्कृति . काठमाडौं ः अखिल नेपाल जनसांस्कृतिक महासङ्घ ।
शर्मा, सुकुम . (२०६२) . पारिजातका कविताको अध्ययन . काठमाडौं ः सनलाइट पब्लिकेशन ।
सुवेदी, राजेन्द्र . (२०५३) . सृजन विधाका परिधिमा पारिजात . वाणायसी ः भूमिका प्रकाशन ।

000




































































































































































No comments:

Post a Comment