Friday, February 4, 2022

भुत्ते बन्दै सांस्कृतिक रुपान्तरण - देवेन्द्र थुम्केली

 



काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन सफल भए पनि त्यस अनुरुपको संस्कृति निर्माण हुन नसक्दा बारम्बार प्रतिगमनले टाउको उठाउँदै आएको छ । राजनीति आन्दोलनको लक्ष्यलाई नेतृत्वले नजरअन्दाज गर्दै स्वार्थको राजनीतिमा चुलुम्र्म डुबेपछि त्यसले निर्माण गर्ने संस्कृति पनि स्वार्थ केन्द्रित बन्न जानेरहेछ । नेपालमा २००७ सालमा प्रजातन्त्र आयो । आन्दोलनको मर्म र जनताको चाहनालाई नेतृत्वले सही तरिकाले सम्बोधन गर्न नसक्दा २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरे । त्यसयता समाज रुपान्तरणका लागि विभिन्न रुपमा संघर्ष गरिए । विभिन्न राजनीतिक दल देखापरे । मूलतः कांग्रेस र कम्युनिस्टका नाममा खुलेका दलले निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरे । २०४६ सालमा पुनः प्रजातन्त्रवहाली भयो । तर, राजनीतिक नेतृत्वको स्वार्थले देश र जनताका पक्षमा काम हुन सकेन भने आन्दोलनको मर्म र उद्देश्य अनुरुपको संस्कृति निर्माणसमेत हुन सकेन । सतहमा राजनीतिक परिवर्तन देखिए पनि त्यसले जनताको आकांक्षा र मनोभावनालाई उचित ढंगले सम्बोधन गर्न सकेन । स्वार्थी समूहको घेराबन्दीमा राजनीतिक नेतृत्व फस्दै गए ।

नेपालमा राजनीतिक आन्दोलन भए पनि सांस्कृतिक रुपान्तरणको प्रयत्नै नभएको राजनीतिक विश्लेषक सिके लालले बताए । उनले विचारको शक्ति पूरै बन्द नभएको जनाउँदै यसका लागि लामो समय लाग्ने धारणा व्यक्त गरे ।
वास्तवमा नेपालमा राजनीति स्थायी बन्न नसक्नुका पछाडि राजनीतिक नेतृत्व इमान्दार नहुनु प्रमुख कारण रहन गयो । समालोचक तेजविलास अधिकारीले राजनीतिक नेतृत्वले इमान्दारिताका साथ काम गरेमा विभेदरहित र समतामूलक संस्कृति निर्माण हुने तर्क गरे । उनले सांस्कृतिक रुपान्तरणका लागि आर्थिक सम्बन्धले पनि विशिष्ट महत्व राख्ने जिकिर गर्दै स्वावलम्बी अर्थतन्त्रको विकासले समेत यसमा प्रभाव पार्ने जनाए । अधिकारीले राजनीतिक नेतृत्व दलाल पुँजीवादको भाँसमा फसिँदै गएकाले सांस्कृतिक रुपान्तरण भुत्ते बन्दै गएको बताए ।

नेकपा एमालेनिकट जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले समाजमा रहेको अन्धविश्वासमा आधारित पछौटे संस्कृतिको ठाउँमा नयाँ वैज्ञानिक अग्रगामी संस्कृतिको विकास गर्न, नेपालमा समाजवाद र साम्यवाद ल्याउनको लागि सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको बताए ।

उनले नेपालमा यो कुनै पनि राजनीतिक दलको प्राथमिकतामा नपरेको जनाउँदै यसका लागि संस्कृतिकर्मीहरू दलअनुसार विभाजित नभइ एकीकृत भइ रूपान्तरणको महान अभियान लिएर अघि बढ्न जरूरी रहेको विचार व्यक्त गरे । राईले राजनीतिक दलले नेपालमा संस्कृतिलाई भोट माग्ने आधार मात्रै ठानेको सुनाउँदै भने, ‘संस्कृतिलाई दलहरूले नाचगान टोली जसले भोट जम्मा गर्न मद्दत गर्छ भन्ने रुपमा मात्रै बुझेका छन् ।’

नेपाली कांग्रेसनिकट सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले नेपालमा सांस्कृतिक रुपान्तरण अहिलेको परिदृश्यमा भुत्ते बन्दै गएको बताए । उनले भने, ‘मुलुकमा दास मनोवृत्ति रहेसम्म सांस्कृतिक रुपान्तरण हुन गाह्रो छ ।’ उनले राजनीतिक दलको संस्कृति हेर्ने दृष्टिकोण नै अमूर्त रहेको जिकिर गरे । थापाले भने, ‘सांस्कृतिक रुपान्तरणका लागि पहिचान र सम्मान हुनुपर्छ । साथै संगठित रुपमा राजनीतिक दल, राज्य तथा समाजका अवयवहरु परिचालित हुनसके भने लोकतान्त्रिक पद्धतिअनुरुपको संस्कृतिको निर्माण हुन सक्छ ।’

समाजमा रहेको अन्धविश्वासमा आधारित पछौटे संस्कृतिको ठाउँमा नयाँ वैज्ञानिक अग्रगामी संस्कृतिको विकास गर्न, नेपालमा समाजवाद र साम्यवाद ल्याउनको लागि सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको छ । –नेकपा एमालेनिकट जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष खगेन्द्र राई

मानिसले यथास्थितिबाट अघि बढ्न सांस्कृतिक रुपान्तरणको पक्षमा ध्यान नदिइकन सम्भव नै नहुँदैन । नेपालजस्तो देश, जहाँ हामीले समाजवादको कुरो संविधानमै उल्लेख गरेका छौँ । समाजवाद प्राप्त गर्ने हो भने सांस्कृतिक रुपान्तरण पहिलो सर्त हो । समाजवादका लागि सर्वप्रथम त समाजवादी मान्छेको जरुरी हुन्छ । सांस्कृतिक रुपान्तरणमा ध्यान नदिइ समाजवादी मान्छेको निर्माण हुन सक्दैन ।– नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेल

मुलुकमा दास मनोवृत्ति रहेसम्म सांस्कृतिक रुपान्तरण हुन गाह्रो छ । सांस्कृतिक रुपान्तरणका लागि पहिचान र सम्मान हुनुपर्छ । साथै संगठित रुपमा राजनीतिक दल, राज्य तथा समाजका अवयवहरु परिचालित हुनसके भने लोकतान्त्रिक पद्धतिअनुरुपको संस्कृतिको निर्माण हुन सक्छ ।– नेपाली कांग्रेसनिकट सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा

अबको सांस्कृतिक रुपान्तरणको अभियान समाजका हरेक पक्षबाट नियम र कानुनको रुपमा मात्र नभइ जागरणकै रुपमा अगाडि ल्याउनुपर्दछ । –नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष कृपाराम धमाला

उनले समाज बदल्न समाजका सबै पक्षलाई सन्तुलित ढंगले परिचालित गर्दै खराब पक्षलाई अन्त्य गर्दै नयाँ र वैज्ञानिक पक्षलाई स्थापित गर्दै जानुपर्ने बताए । उनले थपे, ‘यसका लागि नीतिगत सम्बोधन पनि हुनुपर्छ । नेपालमा त्यो पनि हुन सकेको छैन र राज्य र पार्टीले सांस्कृतिक रुपान्तरणका लागि बौद्धिक तथा अन्य लगानी गरेको पाइँदैन ।’

नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले मानिसले यथास्थितिबाट अघि बढ्न सांस्कृतिक रुपान्तरणको पक्षमा ध्यान नदिइकन सम्भव नै नहुने बताए । उनले भने, ‘नेपालजस्तो देश, जहाँ हामीले समाजवादको कुरो संविधानमै उल्लेख गरेका छौँ । समाजवाद प्राप्त गर्ने हो भने सांस्कृतिक रुपान्तरण पहिलो सर्त हो । समाजवादका लागि सर्वप्रथम त समाजवादी मान्छेको जरुरी हुन्छ । सांस्कृतिक रुपान्तरणमा ध्यान नदिइ समाजवादी मान्छेको निर्माण हुन सक्दैन । त्यसैले पनि सांस्कृतिक रुपान्तरणको आवश्यकता नेपाली समाजमा अझै बढी छ ।’

समाजमा रहेका मूल्यमान्यतामा आउने परिवर्तन नै सांस्कृतिक रुपान्तरण भएको सुनाउँदै उनले संस्कृति मानिसले मात्र निर्माण गर्नसक्ने भएकाले यो वैज्ञानिक र मानवोचित हुनुपर्नेमा जोड दिए । पोखरेलले नेपालमा सांस्कृतिक रुपान्तरणको राजनीतिक दलबाट प्रतिबद्धता आउने तर व्यवहारमा लागु नहुनुको कारण नेता आफैमा सांस्कृतिक चेत र रुपान्तरण नहुनु प्रमुख कारण भएको बताए ।

उनले भने, ‘हाम्रो समाजमा अहिले क्रियाशील रहेका मूल्य मान्यतामाथिको परिवर्तन अहिलेको टड्कारो आवश्यकता हो । त्यसैले पनि सांस्कृतिक रुपान्तरणको विषयलाई प्राथमिकतामा पार्नुपर्छ ।’ पोखरेलले नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता लागु भए पनि सो अनुकूलको संस्कृति निर्माण नगर्दा प्राप्त उपलब्धि जोगाउन कठिन हुँदै गएको धारणा व्यक्त गरे ।
नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष कृपाराम धमालाले नेपालमा सबैखाले संरचनामा अवसरवाद र दलाल पुँजीवाद हावी हुँदा भनाइ र गराइमा भिन्नता आएको बताए । उनले भने, ‘अबको सांस्कृतिक रुपान्तरणको अभियान समाजका हरेक पक्षबाट नियम र कानुनको रुपमा मात्र नभइ जागरणकै रुपमा अगाडि ल्याउनुपर्दछ । त्यसमार्फत सकारात्मक रुपले स्वयं आफू र अरुलाई प्रतिबद्ध गराउने वातावरणको थालनी गर्दै राजनीतिक दल, नेतृत्व र राज्यले रुपान्तरणको दिशामा आफूलाई खरो रुपमा उतार्नुपर्छ ।’

उनले आफ्नो संगठनले समाजमा रहेका विकृत संंस्कृतिको आधारलाई भत्काउन व्यापक बहस तथा छलफल गरी सांस्कृतिक रुपान्तरणका पक्षमा माहोल सिर्जना गर्ने बताए । धमालाले समाजमा विद्यमान अध्यात्मवादी चिन्तन र परम्परागत कुरीतिलाई क्रमिकरुपमा अन्त्य गरी भौतिकवादी चिन्तनमा आधारित स्वच्छ एवं सभ्य समाजको निर्माणमा सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए ।

तेजविलास अधिकारी – समालोचक
मान्छेको भौतिक गतिविधि र मानसिक क्रियाद्वारा समुन्नत हुँदै जाने यात्रा नै मूलतः संस्कृति हो । सांस्कृतिक रुपान्तरण भनेको सही मार्गमा समाजलाई हिँडाउने यात्रा पनि हो । हामीले आलोचनाकै बीचमा पनि चिनियाँ संस्कृति, जापानी संस्कृतिजस्ता आत्मनिर्भर र श्रमसँग जोडिएर बाँचेका विचारसहितको संस्कृतिको अनुशरण गर्न जरुरी छ । भीडवादी–प्रभुत्ववादी संस्कृतिलाई बढवा नदिइ मौलिक संस्कृतिभित्र विज्ञान उच्च निकायमा बसेकाले स्वयंमा आदर्शको नमुना बन्नसके मात्र सही संस्कृतिको निर्माणमा योगदान पुग्न सक्छ ।

सिके लाल – राजनीतिक विश्लेषक
नेपालमा सांस्कृतिक रुपान्तरणको प्रयत्न नै भएको छैन । सांस्कृतिक रुपान्तरणको आधार भनेको पहिलो उत्पादनसँग जोडिएको हुन्छ । अहिले उत्पादनमा प्रविधि जोडिएपछि यसले समेत प्रभाव पारेको छ । दोस्रो, आन्दोलनमार्फत हुने सांस्कृतिक रुपान्तरण हो । यसलाई साहित्य, कला, दर्शन आदिले सहयोग पु¥याउँछ । तेस्रो, धार्मिक प्रचार प्रसार हो । लोकतान्त्रिक मान्यतानुसार सांस्कृतिक रुपान्तरणमा कतिपय अवस्थामा धार्मिक विषय अगाडि आउँछन् । जस्तो भारतमा गान्धीले अंग्रेजविरुद्धको आन्दोलनमा रामराज्यको प्रसंग ल्याएका थिए । तर, धर्मगुरुले रुपान्तरणमा भन्दा पनि प्रतिगमनलाई साथ दिए ।

चौथौ, योजनाबद्ध रुपमा अग्रगामी शक्तिले सांस्कृतिक रुपान्तरणका पक्षमा पहल लिनुपर्दछ । अर्को भनेको सांस्कृतिक क्रान्तिमार्फत रुपान्तरण गर्नु हो । नेपालमा यीमध्ये कुनै पनि प्रक्रिया सक्रिय भएका छैनन् । सबै आन्दोलन र प्रक्रिया सम्झौतामा गएर टुंगिएका छन् । सांस्कृतिक रुपान्तरणको आन्दोलनले गति लिन सबल अर्थतन्त्र, कृषि आदिमा आत्मनिर्भर बन्नुपर्दछ । तैपनि नेपालमा विचारको शक्ति पूरै बन्द भएको छैन । यसका लागि लामो अवधि लाग्छ ।

सौर्य दैनिकबाट साभार

२०७८ पुष २४ गते  प्रकाशित


No comments:

Post a Comment