हिमालबाट मधेस ओर्लेको नुनथलो जब पहाड चढ्यो त्यसपछि नुन, लत्ताकपडा र तेलले जोडेको ‘कटारी कनेक्सन’ चुाडियो । वर्षको एकपालि लीलाबहादुरहरुको ‘अनिवार्य’ कटारी–ढाकरयात्रामा पूर्णविराम लाग्यो । अनि साइत जुराएर गाउँ नै उठेर लाग्ने कटारी क्याराभान टुंगियो ।
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कैठ्याक्कै
पसिना झार्दै तरर
चार दिनको बाटो कटारी बजार...
शरीरको दौरा फाटेर गाछ ठ्याक्कैठ्याक्कै
पसिना झार्दै तरर
चार दिनको बाटो कटारी बजार...
भोकै र नांगै बालबच्चा घरमा ठ्याक्कैठ्याक्कै
यस्तै नै रहेछ दुःखिया कर्म ठ्याक्कैठ्याक्कै
पसिना झार्दै तरर
चार दिनको बाटो कटारी बजार...
– (जेबी टुहुरे र सीताराम ताजपुरियाले गाएको लोकगीत)
ढाक्रे सुसेलीले सुसेलिएको प्रस्तुत लोकगीतलाई गला दिने जेबी टुहुरे (७८) भदौ १० गते नफर्कने गरी हिँडे– ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भएर’, ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ’, ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’ जस्ता गीत जनमनमा रेकर्ड गराएर । ताजपुरियासँग टुहुरेले गाएको प्रस्तुत लोकगीतले भनेजस्तै ढाक्रे ओखलढुंगा रुम्जाटारनेर पुग्दा भने लीलाबहादुर राउत (७५) थप दुई बास बसिसकेका थिए । सोलु सदरमुकाम सल्लेरीबाट ३० किलोमिटर दक्षिण नेचाबाट आलु, कोदोको पिठो र एक साताका लागि नुनतेल ढाकरमा बोकी पसिनासँगै झरेका सुस्केरा–तालमा राउत पनि नुन हाट कटारी (उदयपुर) हिँडेका थिए । स्मरणीय कुरो, उनी ‘पन्थे’ थिए । पश्चिम पहाडतिर पहिलोपालि नुन बोक्न जाने हटारुलाई भने ‘उछिट्टे’ भन्थे । पन्थेका लागि ओडार, रूखमुनि खाना पकाएर खानु र बास बस्नु नौला अनुभव थिए ।
उनै जुगको उनै दिनका कुरो ! जुन दिन नेचामा सनसनी फैलिएथ्यो, ‘मधेसमा नुन आयो ।’
बगाले प्रश्न झर्यो, ‘मधेस कहाँ ?’
‘गोदार चिसापानीमा ।’
हो, त्यही दिनदेखि भोटे नुन लिन उकालिने सोलुवासीका पाइला पनि मधेसतिर सोझिएथे । ‘कमलामाई तरेर गोदार गयौँ । कमलामाई तर्दाको चिसो अहिले पनि सम्झन्छु,’ आलु बेचेर कटारीबाट नुन बोकेको किशोरवयमा राउत नोस्टाल्जिक बन्दै थिए ।
नेचाली ढाक्रे हुल हिलेखोला, कात्तिके, सुनकोसी घाटमा बास बसेको थियो । ‘दिनभर टार्दाटार्दै नभ्याएकालाई त राति तारेको हो । हामी त राति खाइवरी सुनकोसी तर्र्यौं । डुंगा तरेको चार आना तिर्यौँ । त्यसबेला चारवटा डुंगा थिए,’ घाट तरी बहादुरामा बास बसेको सम्झनामा राउत फेरि अल्झिए । कुनै गाउँका ढाक्रे सिमचौरे, बेलबास, बलौटे र कुकरुखोलामा बास बसे । ‘सीता सुत्केरी भएको ठाउँ हो’ भने । थपे, ‘यहाँ त औलो पनि लाग्दैन ।’
‘पन्थे जाँदा १६ वर्षको थिएँ । पन्थे नै १०/१२ जना थियौं,’ राउत सम्झँदै थिए, ‘पन्थे पूजा पनि भयो ।’
बास बस्ने वा खाना पकाएर खाने ठाउँमध्ये एक थियो, मूलखर्क । भन्न त त्यहाँ औलो लाग्छ पनि भने ।
‘छेलो फाल्ने बाजी खेलौं भन्थे । जुवामा राखेजस्तो बाजी । सुका, चारआनाका बाजी । कोही त नुन लिन लगेको पैसा छेलो हान्ने बाजीमै हारेर रित्तै पो फर्कन्थे । व्यक्तिव्यक्तिबीच बाजी भए पनि झगडा भने समूहमा पुग्थ्यो,’ राउत सम्झना झरीमा निथ्रुक्क भिजे ।
सुत्केरीबासमा भात खाएर मधेस पसे । भोर्ले कुकरुको दोभानबाट मधेसी बस्ती सुरु हुन्थ्यो । मरुइखोला, दुधौली खोला तरेर गिद्धबार बास बसे । ‘बिहानै हिँडे औलो लाग्दैन’ भने । कोप्चेपानीमा भात खाए । बाघको डर । कमला नदी तरेपछि गोदार चिसापानी पुगे ।
पत्रकार गणेश राई आफ्नो किशोरवयमा काटेको कटारी कसला कथ्दै थिए, ‘भन्ज्याङबाट सुनकोसीतर्फ ओरालो झर्यौं । बाटाभरि ढाक्रेको ताँती थियो । सिलाबरे डेक्चीमा उसिना चामलको भात पाक्यो । भात पस्किने पन्यु र थाल भने थिएन । खोलाको किनाराउँधि एकबित्ता जति लामो चेप्टो ढुंगा खोजेर पन्यु बनायौं । थालका लागि पनि सिलौटा आकारको गोलाकार ढुंगा खोज्यौं । तिहुन नभए पनि भोकको बेला त्यो उसिना चामलको भातको स्वाद जिब्रोमा अझै छ ।’
ढाकरगाथा गाएजसरी कटारी नुन हाट जाँदा मंसिर विवाह पञ्चमी छल्थे । हाट जाँदा पनि तिथि हेरीवरी साइत जुराएरै हिँड्ने चलन । ‘विवाह पञ्चमीको मेलापछि मधेसमा त व्यथा फैलिन्छ’ भनिन्थ्यो ।
राई, मगर, तामाङ समुदायका भने महिला पनि नुन लिन कटारी पुग्थे ।
‘पन्थे जाँदा पाँच आना लिएर गएको थिएँ । एक पाथी नुनलाई तीन सुका भाउ थियो । पाँच पाथी नुन बोकेँ,’ राउत नफर्कने ती दिनतिर फर्कने कोसिस गर्दै थिए, ‘नुनसँगै मट्टीतेल, सक्खर, चिउरा, चामल, लुगा पनि थपियो ।’
लीलाबहादुर राउतहरू देसी नुन लिन मधेस झर्नुअघि भोटे नुन लिन खुम्बु उक्लन्थे । तल्लो भेगकाले खुम्बु भेगका शेर्पासँग मित लगाउँथे । उही मित साइनो डोरोमा सुरेली खेल्दै उनीहरू भोटे नुन हाट जान्थे ।
सोलु दूधकोसी साँकुका रमेश खालिङ भन्दै थिए, ‘खुम्बुमा भोटे नुन याकले बोक्थ्यो । याकले नाङपाला पास गरेर नाम्चे ल्याउँथ्यो । त्यहाँबाट उँधो जोक्पेले बोक्थ्यो । शेर्पा तल ओर्लेर भोटे नुनसित मकै, आलु र सेतो सिमी साट्थे ।’
राउतका आँखामा भोटे नुनको अनुहार ताजै थियो । भन्दै थिए, ‘ल्हासाबाट आउने रातो नुन लिन खुम्बु जाँदा कोदो बोकेर जान्थे । भरीसरी (एक पाथी कोदोको एक पाथी नुन) थियो । नुन लिएर आइपुग्न १०/१२ दिन लाग्थ्यो ।’
कटारी कथा
कछाडे दनुवार, राई दनुवार र माझी कटारी आदिवासी ! कुमारसिंह राईका अनुसार घुँगी, गंगटा, स्थानीय माछा र आयुर्वेदजन्य खानेकुरा खाई औलो र सर्पसँग संघर्ष गर्दै दनुहार र माझीले कटारी बस्ती बसाले (त्रिवेणी माविले दनुवार समुदायमा खेलेको शैक्षिक तथा सामाजिक भूमिका, कुमारसिंह राई) ।
औलो उन्मूलनअघि पहाडेका खेतबारी त थिए, तर सुत्नचाहिँ डाँडाकाँडातिर उकालिन्थे । कटारी–४ का विष्णु राई दनुवारलाई कुमारसिंह उद्धृत गर्दै थिए, ‘पहाडे मूलका जग्गा मालिकहरू दिउँसो खेती गर्न बरमझिया, बलाहा, मरुवा आई बेलुकी सिखरपुरमा सुत्न निक्लन्थे । किनभने त्यस ठाउँमा लामखुट्टेले टोक्ने र औलो लाग्ने सम्भावना कम हुन्थ्यो । औलो उन्मूलन भएपछि पो कटारी पहाडेले भरियो त ।’
बिजुले हाट बन्द भयो । अम्टाईमा खुल्यो । पछि तावाखोला किनारमा सर्यो । २०११/१२ तिर भने अहिले त्रिवेणी हाइस्कुलछेउमा हाट लाग्न थाल्यो, जहाँ आँप बगैंचा थियो । गाछी फेदमा ससाना झुप्रा बनाएर व्यापारी बस्थे । शुक्रबारे हाटमा प्रायः व्यापारी दिनभर सरसामान बेचेर बेलुका वा भोलिपल्ट घर फिर्थे ।
कटारी त्रिवेणी हाइस्कुलका हेडसर एवं लेखक विश्वराज ढुंगानाका अनुसार कटारीका पहिलो व्यापारी थिए, धुलिखेलका जितलाल स्वजुँ श्रेष्ठ र रत्नलाल श्रेष्ठ ।
२०२१ मा हाटमा आगलागी भयो । त्यसपछि टाउन प्लानिङ गरिएको ठाउँमा सर्यो ।
कात्तिक, मंसिर र पुसका हरेक शुक्रबारे हाटको दिन ढाक्रे घुइँचो लाग्थ्यो । बजार र छेउछाउ ढाक्रेले ढाकिन्थ्यो ।
कटारी त्रिवेणी माविका प्राचार्य बालकृष्ण कार्की लेख्दै थिए, ‘कात्तिकदेखि सुरू भई मंसिरभरि पहाडबाट दैनिक हजारौंको संख्यामा आलु बोकेर कटारी हाट भर्न ढाक्रेहरू आउँथे भने मधेसतिरबाट सयौंको संख्यामा घोडा, ऊँट र बयलगाडाहरू लिएर मधेसी व्यापारीहरू आउँथे । यही समयलाई दृष्टिगत गरी कात्तिक वा मंसिरमा सबभन्दा ठूलो हटिया छानेर स्कुलले चन्दा उठाउने गर्थ्यो । त्यसै रकमबाट शिक्षकलाई तलब दिइन्थ्यो (त्रिवेणी मावि कटारी : विगत, वर्तमान र भविष्यको एक झलक) ।’
उत्तम मानिने सोलु र ओखलढुंगाबाट आलु पटनासम्म पुग्थे । व्यापारी ऊँट, घोडा र बयलगाडा लिएर माल खरिद गर्न आउँथे । तिनले नुन, मट्टीतेल र घरेलु प्रयोगका सरसामान ल्याउँथे । ढुंगानाका अनुसार, २०२८ मा नापी हुनुपूर्व भुल्केमा अन्दाजी १० बिघा जमिनमा सखुवाका बाक्लै गाछी थिए । स्थानीय ‘सालघारी’ भन्थे । त्यही ढाक्रेहरू ढाकर बिसाउँथे । खाना पकाएर खान्थे (अँध्यारोविरुद्ध उज्यालो ः सुने–जानेका कुरा) ।
कथाकार मातृका पोखरेल कटारी कथा कथ्दै थिए, ‘बाटो त जुलुस हिँडेजस्तो हुन्थ्यो । ढाक्रे कटारी कान्छीबजार चौरमै सुत्थे । साँच्ची, भन्ने हो भने कटारी ढाक्रेकै बजार हो ।’
...
तिब्बती कटारी हुँदै भारत पस्थे । कटारी भएर नै हिमाल र मधेस गर्थे । पत्रकार इन्द्र राउत कटारी किस्सा सुनाउँदै थिए, ‘कटारी त ट्रान्जिटजस्तो थियो ।’
ढुंगानाका अनुसार, कटारीछेउमा लाग्ने मैनी मेलामा हिमालपारि र वारिका घोडा किनबेच चल्थ्यो । तावापारिको जितपुर बारीमा घोडा कुदाउँथे । मेलामै बेलाइते र भोटे कुकुरको पनि किनबेच हुन्थ्यो ।
चिसापानी चिसियो
कटारी नुनथलो बन्नुअघि चिसापानी नै चल्तीको नुनथलो थियो । धुलिखेलका नेवार र हुने–खाने मधेसी व्यापारीले चिसापानीलाई गुलजार बनाएका थिए । पछि चिसापानीकै नुन, लुगाफाटा, तेल कटारी लान थाले । त्यसपछि कटारीको आधार बजार नै चिसापानी भयो । यतिसम्म कि, मानिसहरू त चिसापानीमा ‘लक्ष्मीको बास बास छ’ भन्थे । ढुंगाना सुनाउँदै थिए, ‘साँझपख त्यसबेलाको पैसा अर्थात् ढ्याक गनेको आवाज आउँछ भन्थे ।’
ढुंगानाका अनुसार, २०२३/०२४ तिर काठका ठेकेदारले कटारी बजार र चिसापानी–गोदार बाटो खने । त्यो बाटो तावाखोलाको बगरै–बगर हुँदै दुधौली पुग्यो । त्यहाँबाट दक्षिण लागेर कमला तरी टाँडी गाउँछेउको ससानो खहरेहुँदै चुरे । चुरेबाट ओरालो लागेपछि बाटो निमनी खहरेसँगसँगै अगाडि लाग्यो र चिसापानी बजार पुग्यो ।
२०३६ पछि मिर्चैयाबाट सीधै कटारी जाने पुल बन्यो । कटारी–मिर्चैया बाटो बनेर कटारी चल्तीमा आयो । त्यसपछि ? चिसापानी (कटारी–चिसापानी करिब २० किलोमिटर) सदाका लागि चिसियो ।
...
आजभोलि बेल्टारीमा
बेलुका सधैं गुमानेले सनै बजाउँछ
यतिसारो उराठलाग्दो
विरहको भाकाले मनै रुवाउँछ...
खुसीराम पाख्रिनले गाएको गीतमा गुमानेले सनै बजाउने बेल्टारी पनि कटारीजस्तै भित्री मधेसको अर्को नुनथलो थियो । जहाँ भोजपुर, खोटाङको पूर्वी भाग र संखुवासभाली जान्थे । त्योभन्दा पूर्व धरानछेउ अर्को नुनथलो थियो– रामपुर, जसलाई पूर्वको बेल्टारी पनि भन्थे । कटारीको चिसापानीजस्तै बेल्टारीको आधार बजार फत्तेपुर (सप्तरी) थियो ।
...
कटारी जान धेरै खोला तर्नुपर्ने भएकाले उदयपुर माथ्लो भेगका मानिस नुन लिन मुक्सार लाग्थे । जहाँबाट जयनगर (भारत) पनि नजिक थियो । कटारी चम्केपछि भने मुक्सार (कटारी–मुक्सार करिब २० किलोमिटर) चक्रक्क सुक्यो ।
...
उक्लँदै पहाडी गाउँछेउछाउ बाटो पुगेपछि कटारी किस्सा बन्यो । जुन किस्सा पूर्वी नेपालको समाजशास्त्र, अर्थशास्त्र बुझ्न पनि सुन्न जरुरी थियो । भलै दाउरा खोज्दै ओडारमा वा रूखमुनि ढुंगाका ओदान बनाएर पकाउन र ढुंगा सिरानी लगाएर ओडार वा रूखमुनि सुत्ने कुरा, ढाकर बोकेर हप्तौँ हिँडेर कटारी पुग्ने र कटारीबाट वर्षका लागि नुन, तेल र लत्ताकपडा जोहो गर्ने चलन सम्झनामै सीमितिए । ढाकर संस्कृति सम्झनाको जगमा उभिएर आजको पुस्ताले समाज पढ्न पनि कटारी किस्सा नपढी हुँदैन । कटारी किस्सा नपढी पूर्वी नेपालको अर्थ, राजनीति र समाजशास्त्र कसरी बुझिन्छ ?
भोटे नुनले माथ्लो भेगका शेर्पासँग तल्लो भेगका समुदायलाई जोडेको थियो । इष्ट अर्थात् मित साइनो लगाएर व्यापार र समाज जोड्ने चलन थियो, कर्णालीमा पनि । कर्णालीका काइके र पोइकेभाषी मगर समुदाय माथ्लो भेगका तिब्बतीयन र तल्लो भेगका खससँग ‘नेचाङ’ साइनोले जोड्थे । भोटे नुनको बजार देसी नुनले खाएपछि शेर्पासँगको तल्लो भेगकासँगको मीत साइनो कसरी बिलायो ? जान्नलाई कटारी कथा नजोडी भयो त ?
ढाकर बोकेर नुन हाट जाने ‘नुन हाट’ राउतहरूका सुखदुःखका सुस्केरा गीत बनेर सुसेलिएका थिए, जो सुनकोसीसँग बग्दै कमलामाई पुगे र सुसेलिदै उड्दै–उड्दै सोलुको मात्र होइन, देशकै शिर सगरमाथा चढे ।
कमब्याक कटारी
वर्षको एकपालि लीलाबहादुरहरू कटारी झर्नु ‘अनिवार्य’ थियो । कारण थियो, कटारी नझरी नझरी टुकी नबल्नु । टुकी नबली कसरी घर उज्यालिनु र ? कटारी नझरी भान्सा अलिनै हुनु । कटारी नझरी आङको रङ नफेरिनु । अनि त वर्षको एकपालि कटारी नझरी सुख !
यसैले होला, कटारी कनेक्सन कट् भए पनि लीलाबहादुरहरूका सम्झनामा भने ‘कटारीविराम’ लागेन ।
जस्तो कि– सुनकोसीमा डुंगा चढेको, निधारबाट छुटेको पसिना पिठ्यूँमा नुन पनि मिसाएर झन नुनिलो बगेको खोला, सुसेली हाल्दै उकालिएको, ओडार र आँपका ठूला गाछीमुनि बास र बास बस्दा रातभर गाएका र देखेका ससाना सपनाका सम्झना । लीलाबहादुर कटारी खसखस पोख्दै थिए, ‘ढाकर बिसाएर सुस्ताएका ती आँपगाछी, ओडार, चराका चिर्बिर र खोल्सीमा दौडिरहेका अबोध केटाकेटीजस्ता पानी ! बास बसेका ओडार, खेत र रूखमुनि सपना देख्ने पनि होलान् ? ती चरा कहाँ पुगे होलान् ? सुनकोसी टार्ने डुंगा कहाँ होला ? कलकल बग्ने खोल्सीका पानी, हरियाली बाँकी नै होला ? सहीसलामत होलान् कि, ती पनि मजस्तै बूढा भए होलान् हँ ?’
कटारी ढाकरयात्राका बास, हिँड्दा र बाटोमा भेटेका मानिसका याद, रातभर गाएका गीत, पसिना चुहाउँदै ढाकरको चुइँचुइँसँग सुइँसुइँ
हिँड्दा गुञ्जने गीत लीलाबहादुरहरूका कानमा कहिले ब्याट्री सकिएको रेडियो त कहिले धमिलो सुनिन्थ्यो । तिनीहरूले बास बसेका ओडार र रूख (जसको मुनि बास बसे) मुनि ससाना सपना देखेका थिए । रातभर गाएका थिए । पाकाहरूका मुखबाट अनेकौं लोककथा सुनेथे । खासमा ढाक्रे सम्झनामा आउने ती चीज बूढो होइन, भत्किसकेका थिए । ढाकर बिसाउँदा चुमेर जाने चिसो बतास, चराका चिर्बिर र ससाना खोल्साखोल्सीका पानी र ठूलाठूला आँपगाछी गायब थिए ।
कटारी ढाकरका कथा पनि उनेका कथाकार मातृका पोखरेल भन्दै थिए, ‘ढाक्रेसँग बास बसेका कुनै पनि ओडार र रूख बाँकी छैनन् ।’
ढुंगानाका अनुसार, २०५३/२०५४ देखि कटारी–घुर्मी धूले बाटो बन्यो । कटारीबाट उत्तरी नाका सोलु जोड्ने बाटो त घुर्मीबाट ओखलढुंगा, खोटाङबाट अर्को बाटो बन्यो । घुर्मी, खुर्कोट, काठमाडौं बाटो कालोपत्रे भयो । कटारीको बजारको ठूलो हिस्सा घुर्मीमा सर्यो । उत्तरी क्षेत्रको सम्पूर्ण व्यापार त्यहीँबाट हुन थाल्यो ।
लीलाबहादुर भन्दै थिए, ‘गोदार चिसापानीपछि कटारीबाट नुन बोकेँ । कटारीबाट बसेरीबाट बोकेँ । घुर्मीबाट बोकेँ । त्यसपछि ओखलढुंगाबाट । १२ वर्षअघिसम्म ओखलढुंगाबाट बोकेको हो । ओखलढुंगापछि त नुन हाट जाने चलनै चट् भयो ।’
हिमालबाट मधेस ओर्लेको नुनथलो पहाड उक्लेपछि नुन, लत्ताकपडा र तेलले जोडेको ‘कटारी कनेक्सन’ चुँडियो । वर्षको एकपालि लीलाबहादुरहरूको ‘अनिवार्य’ कटारी–ढाकरयात्रामा पूर्णविराम लाग्यो । साइत जुराएर गाउँ नै उठेर लाग्ने कटारी क्याराभान टुंगियो ।
पत्रकार गणेश राई लेख्दै थिए, ‘अहिले कसैले ढाकर बोकेर १० दिनको बाटो पैदल नाप्नुपर्दैन । पैसा भए घरैमा आइपुग्छ सामल ।... अधिकांश घरका सदस्य साउदी, कतार, मलेसियातिर छन् ।’
...
नेपालका धेरै नुनथलामध्येको एक कटारी । यतिबेला ‘सहर’ बन्ने कटारी ‘रहर’ छ । कटारीको पनि कोइलाबास (पश्चिम नेपालको मूल नुनथलो) कै नियति होला कि कटारी ‘कमब्याक’ होला ?
000
www.ekantipur.com बाट साभार
प्रकाशित : मंसिर ४, २०७८ १०:४३
No comments:
Post a Comment