Tuesday, October 26, 2021

पहिलो बैठक नुवाकोट दरबारपरिसरमा - रामप्रसाद पन्त



गल्छीकै बाटो त्रिशूली जाने भन्ने थाहा पाएको भए म एक दिनअघि काठमाडौँ आउने नै थिइनँ । 

मैले कल्पना पनि गर्न सकिनँ, काठमाडौँबाट त्रिशूली जाँदा गल्छीको बाटो पनि प्रयोग गरिन्छ भन्ने ।त्यसैले त मैले कसैसँग पनि सोधिनँ र बुटवलबाट सिधै पुगेँ काठमाडौँ ।

बुटवलबाट सिधै काठमाडौँ नगएर गल्छी हुँदै त्रिशूलीजान पाएको भए मलाई तीनवटा फाइदा हुने थिए । पहिलो, मेरो लागि एक दिन बचत हुन्थ्यो र त्यस दिन मैले बुटवल–भैरहवाको फेरोमा रहेका आफन्तजनहरुलाई भेट्न पाउँथेँ । दोस्रो, बुटवलबाट काठमाडौँ नगएर गल्छीमै ओर्लंदा यातायात खर्च बचत हुन्थ्यो र काठमाडौँबाट आएको गाडीमा म निःशुल्क त्रिशूली पुग्न सक्थेँ । तेस्रो, काठमाडौँको गोँगोबु बसपार्कमा रातको दश बजे ओर्लेपछि सार्वजनिक सवारी साधन नपाएको कारण चाबहिलसम्म पुग्न रु ५ सय ट्याक्सी भाडा तिर्नुपर्ने थिएन । 

सन्दर्भ थियो, महामण्डल साहित्यिक पत्रिकाका सम्पादक तथा नेपाल साहित्यिक पत्रकार संघका नवनिर्वाचित सदस्य श्रीराम श्रेष्ठको अनुरोधमा नेपाल साहित्यिक पत्रकार संघको तृतीय अधिवेशनपछिको प्रथम बैठक नुवाकोटमा सम्पन्न गर्ने र ‘नुवाकोटेली साहित्यिक पत्रकारिताः विगत र वर्तमान’ कार्यपत्र प्रस्तुत गर्ने ।

दिन थियो २०७३ सालको कार्तिक ५ गते र यात्रामा सहभागी थियौँ — नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोहन दुवाल, मातृका पोखरेल, वियोगी बुढाथोकी, सूर्यप्रसाद लाकोजु, नवराज रिजाल, रामेश्वर राउत मातृदास, गायत्रीरमण चापागाईं, बैरागी जेठा, गणेश राई, सरोज घिमिरे, लक्ष्मी भट्टराई, ठाकुर शर्मा र म । त्रिशूलीमै मिसिन पुग्नेहरु थिए— आरएम डङ्गोल, चेतनाथ धमला, होमशङ्कर बास्तोला र अर्जुन तामाङ ।

हाम्रो सामूहिक यात्रा माछापोखरी बालाजुबाट सुरु भएको थियो र यात्राको साधन थियो माइक्रो बस ।प्रस्थान समय तोकिएको थियो दिनको १ बजे । 
तर यात्रा गर्दा समयसँग सचेत नहुने लहडीहरुदेखि वाक्कदिक्क भएका नगेन्द्र दाइले भने घरबाट हिँड्दा नै ठोकुवा गर्नुभएको थियो, हामी दुई बजेयता हिँड्न सक्नेछैनौँ । तर उहाँको अनुमानलाई गलत सावित गर्दै माइक्रो चलेको थियो साढे १ बजे । 

हामी कलङ्की पुगेर अडिएका थियौँ केहीबेर । अडिनुमा कारण थियो, बसको अगाडि टाँगिने ब्यानर प्रोल्लासजीसँग थियो र त्यो लिएर आउँदै हुनुहुन्थ्यो उहाँ । ज्ञानुवाकरको पछिपछि त्रिपुरा पौडेललागेजस्तै  लक्ष्मीको पछि लाग्न पाउदैनथिए प्रोल्लास । उनको प्रकाशनगृह छ, साना–साना नानीहरु छन् र उनको सम्पर्क सूत्र बाक्लो छ । 

कलङ्कीको मानव र सवारीसाधनको घनत्व कुनचाहिँ काठमाडौँबासीलाई थाहा नहोला ! तर वर्तमान सञ्चार माध्यम प्रचार गर्दै छ—‘बाटो फराकिलो हुँदै छ, भूमिगत बाटो निर्माण हुँदै छ । तीन वर्षपछि कलङ्कीको रुप नाटकीय रुपमा फेरिने छ, जनताले राहत महसुस गर्न पाउने छन् ।’
म कल्पना गर्दै छु, चिनियाँ सरकारले नै बनाइदिने हो भने त योजना मुताविक नै होला ! नेपालीको हातमा प¥यो भने त मेलम्चीको पानीमा काकाकुल दृष्टि लगाएजस्तै लगाइरहनुपर्ला राजधानीवासीले ।

हामी उवडखावड बाटोमा गन्ड्याङगुन्डुङ गर्दै र जामसँग जुध्दै तीन बजे नागढुङ्गा नाघ्छौँ । एउटा खोल्सोबाट काठमाडौँलाई बिदाइ गर्छाैँ र जीवनपुर, केवलपुरका डाँडाहरु अवलोकन गर्दै अगाडि बढ्छौँ । अग्लै डाँडो काटेर जानुपर्ने भएर पो ! नत्र त केवलपुरपरिनै त हो कोल्पुखोला ! कोल्पुखोला तरेपछि त त्रिशूली निकट भइहालियो नि ! तर उल्टो दिशातिर लागेर हामी गल्छी पुग्छौँ र डाँडोको पल्लोपट्टिबाट यतैतिर मोडिन्छौँत्रिशूली किनारै किनार उत्तर ।

तलपट्टि धुनिबेसीको धान फल्ने खेतमा फलेको युनाइटेड सिमेन्ट कारखानामाथि नजर पर्छ हाम्रो । केही पाउनका लागि केही गुमाउनुपर्दाे रहेछ भन्ने महसुस गर्दै गल्छीमा बल्छी हान्ने (चिया खाजा खाने) सोच बनाएर सरासर पुग्छौँ गल्छी ।

गल्छी देखेपछि कर्णेल फौदसिंहको प्रशंसा नगर्ने को होला ? हो, वास्तवमा ठूलै आँट गरेर पहाडै काटेर दोभान अगाडिबाटै महेश खोलालाई त्रिशूलीमा मिसाएका थिए र आवाद गरेका थिए खोलो बग्ने करिब दुई किलोमिटर बगरमा । 

गल्छी बजार पहिलेको जस्तो छैन । बिस्तार हुँदै छ सर्लक्कै वरदेखि परसम्म । मध्यपहाडी लोकमार्गका दश ठूला बजारहरुमध्ये एउटा गल्छीबजार । त्यसैले प्रतिस्पर्धा गर्दै छ गल्छी— फिदिम, वसन्तपुर, खुर्काेट, डुम्रे, बुर्तिवाङ, चौरजहारी, राकम, साँफेबगर र पाटनसँग । 

गल्छीमा हामीले स्वेच्छानुसार खाजा खाएका थियौँ । खाजापश्चात् महिला शौचालयबाट निस्कँदै गरेको देखेर मैले बैरागीजीलाई भनेको थिएँ—‘तपाईं कहाँबाट निस्कँदै हुनुहुन्छ ?’ उनीले शौचालयको भित्तोतर्फ फर्केर झस्केका थिए र हाँस्दै भनेका थिए— ‘पन्तसरको नियात्रा दह्रो जानेभयो ।’ सोच्दै थिएँ, नागढुङ्गाको पाखोमा पिसाबपुरुष लेखिएको छाप्रोमा पस्दै गरेका मोहन दुवाललाई पिसाबपुरुषको सङ्ज्ञा दिएजस्तै महिला शौचालयबाट निस्केका वैरागीलाई के सङ्ज्ञा दिने ?

हामी सँगसँगै बग्दै गएको महेश खोलालाई त्रिशूलीमा विलय गराएर हामी त्रिशूलीको किनारैकिनार उत्तर हानिएका थियौँ । हाम्रा अगाडि कोल्पुखोला भेटिएको थियो । त्यसलाई नाघेपछि आएको थियो कोल्पुटार । त्यस टारले सम्झना गराएको थियो झिल्टुङलाई रझिल्टुङले सम्झाएको थियो महाकवि देवकोटालाई । जुन गाउँ महाकविको मावलीससुराली थियो र जहाँ बसेर देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेका थिए । त्यसै टारबाट दुई घण्टा उक्लेपछि पुगिन्थ्यो झिल्टुङ । 

मसँगै बसेका वैरागी जेठाले एकहप्तापछि गरिने झिल्टुङयात्राको निमन्त्रणा दिँदै थिए— ‘दुई दिने त्यस यात्रामा तपाईंजस्तो नियात्राकार आउनै पर्छ ।’ सम्झेको थिएँ, देवकोटाले रचना गरेको कुन्जिनीको त्यो गाउँ देख्न पाउने भएँ, गोरेका प्रेमिल सपनाहरु आप्लावित भएका ठाउँहरुसँग साक्षात्कार गर्न पाउने भएँ । 

आफ्नोे जिल्लाको माटोको सुगन्धले लठ्ठिन थालेका छन् वैरागी । उत्साहित भएको छ मन, चनाखा भएका छन् आँखा, चमक देखिएको छ अनुहारमा । वर्णन गर्दै छन्, आफ्नो जिल्लाको । परिचय दिँदै छन् ठाउँ ठाउँको । 
आएको छ महादेव फाँट । गल्छी–देवीघाट मार्गको सबैभन्दा ठूलो फाँटभन्दा अन्यथा हुँदैन यस फाँटलाई । म यसबाटोसँग दश वर्षअघि नै परिचित भएको छु । त्यसबेला ग्राबेलिङसम्म पनि भएको थिएन । दुईवटा मोटरसाइकिलका हामी चार (राम, केशव, कुमार बालकृष्ण) यात्री खाल्डाखुल्डीमा उचालिँदै पछारिँदै यात्रा सम्पन्न गरेका थियौँ । अब भने पिच भइसकेको छ । उत्तरी सिमाबाट दक्षिणी सिमा जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित हुँदै छ । 

म सोध्छु— यहाँको भाउ कति होला ! 
उत्तर पाउँछु— चार÷पाँच लाख आना । 

महादेव फाँटमा झुलेका पहेँलपुर धानका बाला काट्दै र छाँट्दै गरेका किसानहरु देखेर भावविभोर हुन्छु म । तर सँगसँगै चिन्ता लाग्छ, पैसाको लोभमा यो भूमि प्लटमा परिणत हुँदै जाने हो र कालान्तरमा घरैघरले भरिने हो भने यस फाँटको अवस्था कस्तो होला !

म बोडी र सिमीका झालहरु पनि देख्दै छु र प्रायः खेतीमा दुर्लभ भइसकेको कोदोका डिहीहरु पनि देख्दै छु । मेवा फलेका छन्, कटहरहरु फलेका छन्, आँप र लिचीका बगैँचा पनि देखिँदै छन् । 

अहा ! त्रिशूली पारिपट्टिको तारुका फाँट र तारुका घाट ! फाँटमा बस्ती पनि छ र वारिपट्टि आउनका लािग लामै झोलुङ्गे पुल पनि छ । तारुका भनेपछि गोरु जुधाउने नामले प्रसिद्धि पाएको ठाउँ । त्यसो त थान्सिङ पनि कम छैन गोरु जुधाउनका लागि ।यसै भन्दै छन् वैरागी । आफ्नो जन्मठाउँको प्रशंसा को गर्दैन र ! मौका पाएको भए म पनि गर्थेँ । तर उनले नभने पनि थाहा छ मलाई थान्सिङमा पनि गोरु जुधाइन्छ । गोरु त म पनि जुधाउन रहर गर्थेँ सानो छँदा । खासगरी धान काटेपछि अर्काे बाली नलगाउन्जेल गोरु जुधाउने ठाउँ हुन्थ्यो खेत । तर आलीबाट उछिट्टिने छन् कि ! सिङ फुकाल्ने हुन् कि भन्ने डरले डेरा जमाउँथ्यो सँगसँगै । म त्यो बालवय पनि सम्झिँदै छु यस बखत । 

गाडी अगाडि बढेर रातमाटे पुगेको छ, जहाँ रातो माटो पाइन्छ । त्यस ठाउँको नाम रातमाटे वा रातामाटा । रातो माटोको नामबाट राखिएका गाउँका नामहरु कति होलान् नेपालमा ! के गनिसाध्य होला र ! दसैँ तिहारको बेलामा त व्यापारै हुँदो रहेछ ठाउँठाउँमा । आजै बिहान अखबार पढ्दै थिएँ, प्रतिकेजी २० रुपैयाँ रातोमाटो । खुब बिक्यो रे रातोमाटो । तर यस्तो व्यापार सधैँ चल्दैन । 

आइपुग्यो अर्काे जिलिङ फाँट । त्यसको ठीक पारिपट्टि देखिँदै छ बुधसिं फाँट । वास्तवमा यिनै फाँटहरुले पालिएका छन् डाँडापाखामा बस्ने नुवाकोटे भूमिपुत्रहरु । कति गाउँमा त नदीनाला छैनन् । धान फल्ने खेत छैनन् । बारीको अन्नबालीले पेट पाल्नुपर्छ । भात खानका लागि पर्व पर्खनुपर्ने अवस्था छ । सडक यातायात पुगिनसकेको पहिलेको अवस्थाको कुरा गर्दै छु म । 
त्रिशूली किनारमा सिसौघारी प्रशस्त देखिँदै छ । कतै उत्तीसका रूखहरुको झुन्ड पनि भेटिँदै छ ।त्रिशूली ठाउँठाउँमा फाटेर दुई धार भएर बगेको छ । बीचमा ठूलै बगरमात्र होइन घाँसेभूमि पनि बनेको छ र त्यहाँ पुगेर गाइवस्तुहरु चरेका छन् । तिनीहरुलाई देखेर प्राणीविज्ञान पढ्न मनलाग्छ मलाई । मानिसलाई पौडी सिक्न कति समय लाग्छ । पञ्जा हुँदाहुँदै पनि मानिसलाई पानीमा उत्रन कति धौ धौ पर्छ । तर पशु ठूटा खुट्टाले पौडेर कति सजिलोगरी नदी पार गर्छ ! 
बाटो उकालो ओरालो र अप्ठ्यारो छैन । गाडीचालक होम थापा सचेत छन् । गफिनेका लागि गफिने माहौल छ, दृश्य हेरेर आनन्द लिनेका लागि वाह्य वातावरण खुल्ला छ । 
अब भने हामी शिवजीको त्रिशूल प्रहारबाट निस्केको गोसाइकुण्डको पानी बग्दै आएर त्रिशूली नामकरण भएजस्तै सूर्यकुण्डबाट खसेर लामो चक्कर मार्दै ओर्लेको सूर्यमती (तादी) तर्छाैँ र ती दुवैको सङ्गमस्थल देवीघाट पुग्छौँ । 
बाटो मुनिपट्टि पृथ्वीनारायण शाह उभिएका देखिन्छन् । आधुनिक नेपालको जग बसाल्ने पृथ्वीनारायण एक पटक माओवादी क्रुर आक्रमणमा परे । आवेशमा अन्धा भएकाहरुको पछि बुद्धि फि¥योक्यारे ! अहिले पुनः मूर्तिमान् भएर उभिएका छन् । 

हामी पिपलटारमा पुगेर ककनीतिरबाट जाने बाटो भेट्छौँ र तेर्सै बट्टारतिर लाग्छौँ । 

बट्टार । अहो ! दशवर्ष अगाडिको बट्टार कहाँ रहेछ र ! चिन्नै नसकिनेगरी फेरिएछ । काठमाडौँले समेत धान खाने खेतहरु अहिले चोइटिँदै गएछन् । पिँडालु र आलसले प्रसिद्धि कमाएको बट्टारमा त अहिले घरैघर उम्रिएछन् । बाटो छेउछाउमा मात्र हो र, फाँटको बीचबीचमा पनि घर । अनि पो नगरपालिका भएको रहेछ त ! बट्टारमा भेटिएका नुवाकोटे साहित्यकार श्रीराम श्रेष्ठले भनेको सम्झन्छु— अब त काठमाडौँ बराबर भइगो नि ! आनाको ६०–७० लाख । 

उनले अरु एक÷दुई वटा टारका नाम लिएपछि मैले प्रश्न गरेको थिएँ— ‘कति छन् यहाँ टारहरु ?’ नौकोट (भैरमकोट, सीमलकोट, बेलकोट, धुवाँकोट, मालाकोट, सल्यानकोट, व्यासकोट, मालिकाकोट र कालिकाकोट) बाट नुवाकोट भएजस्तै टार पनि थुप्रै छन् कि क्या हो ?

मेरो जिज्ञासा समाधान गर्दै उनले बाह्रवटा टारका नाम लिएका थिए— गेर्खुटार, सिमुटार, आगापुटार, बट्टार, माझिटार, पीपलटार, खरानीटार, समुद्रटार, बेसीटार, लखनटार, जुगेटार र दर्शनटार । त्यसपछि उनले भनेका थिए नुवाकोट, कोट र टारहरुको जिल्ला हो । 

हामी संसाँझमा बट्टार पुगेका थियौँ । नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठ लगायतका साहित्यकारहरुले हाम्रो स्वागत गरेका थिए र रेशोम होटलमा बस्ने खाने व्यवस्था मिलाएका थिए । बेलुका कुनै कार्यक्रमहरु नराखिएकोले हतारिनुपर्ने अवस्था थिएन । हामी आ–आफ्नो कक्षमा झोला थन्क्याएर फ्रन्ट डेस्क अगाडिको प्रतीक्षालयमा भेला भएका थियौँ । मोटरसाइकिलबाट पुगेका आरएम डङ्गोल र चेतनाथ धमलाको आगमन पनि त्यहीँ भएको थियो र नुवाकोटमा जागिर खाँदै गरेका होमशङ्कर बास्तोला र अर्जनुबहादुर तामाङसँग पनि त्यहीँ भेट भएको थियो ।

जब साँझ छिप्पिँदै जान्छ, मदिरासेवीहरुको रसना पनि सर्सराउँदै जान्छ । संसारका जस्तासुकै परिकारहरुले पनि आकर्षण दिन्नन् तिनीहरुलाई । नशाप्रेमीलाई तान्ने अनौठो जादु छ मदिरामा । कोल्डड्रिङ्क लिइरहेकै बेला हामीहरुकै बीचबाट केही मदिराप्रेमीका आँखा सन्किन थाले । एक–दुई–तीन–चार पाइलाहरु भ¥याङबाट उकालो लागे । 

हामी रात्रीभोजनको प्रतीक्षामा थियौँ । साढे सातमै भोजन तयार भयो । आठ बजेसम्म खाइसकेर आ–आफ्नो सयनकक्षतिर लाग्यौँ । जाँदै गर्दा रोचक दाइ र म त्यस कक्षमा प्रवेश ग¥यौँ, जहाँ मदिरासेवीको समूह अपार आनन्दमा अलमस्त थियो । एक जनाको अनुहार देखेर रोचक दाइभित्र अनौठो उत्कण्ठा जागेछ । भन्नुभयो— तपाईंलाई यस्तो अवस्थामा यसअघि कहिल्यै देखेको थिइनँ । क भयो तपाईंलाई ?

साँच्चै नै उनी बोल्न पनि सकिरहेका थिएनन्, सिधा टाउको पार्न पनि सकिरहेका थिएनन् । खिसिक्क हाँस्थे र मुन्टो निहु¥याउँथे । उनको इशारा बुझेर अर्का साथीले उठ्न सघाएर वाथरुम पु¥याए । चर्चा भयो— ग्राण्ड डिजाइनको । एक जना साथीलाई कक्टेल पारेर अन्तर्घात गरेको आरोप लाग्यो । ती साथीले हो वा होइन केही भनेनन्, हाँसेर टारिदिए । जे होस् ठूलो दुर्घटना भएन । हुन पाएन ।

त्यसै बेला मैले थाहा पाएँ— बियरपुरुषको नाम परिवर्तन भएर बियरबहादुर बुढाथोकी भएको रहेछ र ह्विस्कीपुरुषको नाम ह्विस्कीबहादुर सिंह भएको रहेछ । तर संयोग यस्तै परेको थियो— ह्विस्कीपुरुषसँग त्यहाँ संयोग हुन सकेको थिएन । संयोग भएको भए अझ रोमाञ्चक हुन्थ्यो त्यहाँको वातावरण । 

कात्तिक महिना भए पनि बट्टारको टारमा गर्मी नै थियो । कोठामा पङ्खा त चलेको  थियो तर झुल थिएन । राती बत्ती गयो भने के हुन्छ ?प्रतीक्षा कक्षमा बसेको बेला टोकेको लामखुट्टेले सुतेको बेलामा टोक्यो भने कत्रो फोक्को उठाउला ? सानो हो र लामखुट्टे पनि, ज्यानै लेला जस्तो ।

समाचार सुन्दै छु,देशभर डेङ्गुका बिरामी तीनसय नाघे रे ! चितवनमा मात्र दुई सय बिरामी । 

होटलवालालाई सोध्छु—‘बत्ती जान्छ कि जाँदैन ?’
‘जाँदैन’— उत्तर पाउँछु । 
‘बत्ती गयो भने धुप वा झुलको व्यवस्था छ कि छैन ?’
‘छैन ।’ तर उनी विश्वास दिलाउँछन्, बत्ती जाँदैन ।

म शङ्कै शङ्कमा सुत्छु । तर साथीहरुलाई त्यति चिन्ता छैन । चिन्ता किन छैन भने उनीहरुलाई थाहा छ, लामखुट्टेलाई रामप्रसादको रगत औधी मनपर्छ । रामप्रसादको शिकार गर्न पाएसम्म हामीलाई छुँदैन लामखुट्टले । 

म आँखा चिम्लन्छु । तर झलझली देख्छु— प्रतीक्षाकक्षमा भुनुभुनु उडिरहेका तिनै लामखुट्टेलाई । तिनले मजस्तो कमजोर मान्छेलाई टोके र डेङ्गु रोग सा¥यो भने मेरो के हविगत हुन्छ ? तर सौभाग्य ! मेरो ज्यान जोगियो । बत्तीले आँखा झिम्काएन, पङ्खा घुम्न रोकिएन र लामखुट्टे मेरो÷हाम्रो नजिक आउन सकेन । 

बिहान तीनैबजेदेखि खलबली भयो कोठामा । ठाकुर सर उठ्नुभएछ । वाथरुमको ढोका बजाउने, पानीको झर्ना खोल्ने, कपालभाँती गर्नेजस्ता क्रियाले निद्रा भङ्ग भयो मेरो। तर वल्लोपल्लो बेडमा सुतेका सुधिर घिमिरे र वैरागी जेठा घुर्न छाडेनन् । 

चार बजेपछि मलाई उठ्न लागेको देखेर ठाकुरजीले भन्नुभयो— अरुलाई डिस्टर्व नगर्न म चाँडै उठेको । मैले भनेँ—‘रातविरात उठेर डिस्टर्व गर्ने, अनि डिस्टर्व नगर्न यसो गरेको भन्ने ?’

यसो भन्दै गर्दा अरु साथीहरुका पनि आँखा खुलेछन् । वैरागीजीले भने— ‘सुधिरजी घुर्नुहुँदो रहेछ, तपाईंहरुले थाहा पाउनुभयो कि भएन ?’
वाह वैरागीजी ! आफ्नो घुराइ आफैलाई कहाँ थाहा हुन्छ ?
तपाईं घुर्नुहुन्छ भनेर यसअघि कसैले भनेको थिएन ?
आफ्नो अनभिज्ञता थाहा पाएर वैरागी चौकिए ।

बिहान सातै बजे नुवाकोट दरबार जाने पूर्वयोजना थियो हाम्रो । अलिकति ढिलो गरेर हामी माइक्रोबाट दरबारतिर उकालो लाग्यौँ । घुम्ती घुम्ती हुँदै उकालिएको बाटोसँगै उकालियौँ हामी । मझौला खाले सालले सघन बनेको सालैसालको सालघारी रहेछ । फराकिलो बन्दै रहेछ बाटो । 
बाटोको अन्तिम गन्तव्य सोध्दै थिएँ म वैरागीसँग ।

त्रिशूलीबाट करिब २० किलोमिटर चोगतेसम्म बस सर्भिस रहेको जानकारी दिँदै थिए वैरागी । तर लच्याङसम्म माटेर चल्नसक्ने बाटो बनिसकेको छ रे !
म सालघारीमा समान कदका मझौला साल देखेर जिज्ञासु बन्दै थिएँ— यो सेकेन्ड फरेष्टी त होइन ? सम्भवतः साल वृक्षरोपण गरिँदा पनि गरिँदैन । बीजरोपण गरिन्छ र त्यस्तो बीजरोपण मानिसद्वारा गरिँदैन, स्वतः हुन जान्छ । टाढाटाढा पु¥याएर बीजरोपण गर्ने काम वायु वा पक्षीद्वारा हुन्छ । वायुले बीज उडाएर लैजान्छ र पक्षीले बीज खाएर बिष्टा त्याग गर्छ ।

मैले अखबार पढेर थाहा पाउँछु, अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल भित्रियो रे माइकेनिया झार र उत्तर अमेरिकाबाट आइपुग्यो रे पार्थेनियम झार । यी वनमारा झारहरुले पूर्वको कोशीटप्पुदेखि पश्चिमको वर्दिया राष्ट्रिय निकुञ्जसम्म असर पा¥यो रे ! यी झारहरुले चरन घाँस मास्नेमात्र होइन,रूखहरुलाई समेत बेरेर सुकाउने गर्दैछन् रे ! यी कुराहरु सुन्दा अनुमान गर्न गाह्रो पर्दैन, यो सबै काम उत्तर बग्ने बेगवान् वायुकै कारण भयो होला ! यस्तो चमत्कार पनि हुन्छ भने वल्लो वन र पल्लो वनको के कुरा भयो र ! 

छ किलोमिटरजति माथि पुगेर दरबार छेउको इन्द्रचोकमा ओर्लिन्छौँ हामी । इन्द्रचोकबारे प्रश्न गर्न नपाउँदै श्रीरामले अरु नामहरु पनि सुनाउँछन्, जुन काठमाडौँमा अवस्थित छन्— टुँडिखेल, असन, वसन्तपुर, शोभाभगवती आदि । 

हामी बाटैकी खाल्डेदेवी (खाल्डोमा मन्दिर भएकोले) लाई बायाँ पारेर दरबार परिसरतिर लाग्छौँ । पुरातात्विक रुपमा रहेको ऐतिहासिक नुवाकोट दरबारको दुर्दशा देखेर मर्माहत हुन्छु म । धराप बनेको छ दरबार, टेका लगाएर अड्याइएको छ दरबार । बायाँपट्टि गणेश मन्दिर र नारायण मन्दिर भग्नावशेषका रुपमा देखिन्छन् । बीचमा तुलसी मठ छ र त्यसको पछाडिपट्टि गारत घर छ । त्यो पनि भत्केको छ ।

हामी दरबार नाघेर अगाडि बढ्छौँ, म्युजियम आउँछ । त्यसपछि आउँछ रङ्गमहल अर्थात् नाचगान घर । त्यससँगै खुल्ला आकाशमुनि भैरवी मन्दिर देखिन्छ । त्यसको ठीक मुनिपट्टि देखिन्छ धामीधामिनी बस्ने घर र भजनमण्डल ।

भैरवीका बारेमा श्रीराम प्रष्ट्याउँछन्— ‘पृथ्वीनारायण शाह हरेक दिन बिहान शुभघाट जान्थे, स्नान गर्थे र यसै ठाउँमा आएर भैरवीको दर्शन गरी आगामी योजना बनाउँथे ।’

आरएम डङ्गोलको जन्मघर त्यही नुवाकोट दरबार र भैरवी मन्दिरको बीचमा पर्दाे रहेछ । तर अहिले भने बहत्तरको भूकम्पले धरासायी भएको रहेछ । सँगै एउटी बहिनीको चियाचमेना पसल रहेछ । नाम रहेछ सुस्मिता डङ्गोल । चना, रसदार तरकारी र सेल बनाएर फिँजाएकी । ठूला ठूला काँडेदार सेल देखेर जिब्रो रसायो । आठ बजिसक्यो, मुखमा चिया पनि परेको छैन, पेटले माग्ने बेला पनि त भयो । यो मेरोमात्र समस्या होइन, सबैको । त्यसैले असहमती कसैको भएन । हामीले चाहेजस्तै सुस्मिताले हाम्रो मन तृप्त पारिन् । चिया पनि मीठो खुवाइन् ।

फर्कँदै गर्दा उत्तरपूर्व तादी खोला किनारमा विस्तारित फाँटहरु देखिए । वैरागीले फाँटबारी लगाउन थाले — ‘त्यो सुदूर चौघडाको डाँडामुनि देखिने चौघडा फाँट । क्रमशः यतापट्टि देखिने फाँट— सेरा फाँट, सिँदुरे फाँट र ढोँडफेदी फाँट । तीमध्ये सेराफाँटले मेरो मनमा ताडना दिँदै थियो । जुन फाँटमा पृथ्वीनारायण शाहको शीतकालीन दरबार थियो । जुन दरबारमाओवादीले बम प्रहार गरेर ध्वस्त पारेका थिए । जुन दरबार राजा महेन्द्रले हेलेन शाहको नाममा बक्सिस दिएका थिए । त्यो दरबार अहिले भग्नावशेषको रुपमा छ र हेलेनबाट पनि अर्कैको स्वामित्वमा गइसकेको छ ।
दरबारसँगैको सेरा बगैँचा, जुन विश्वप्रसिद्ध थियो । भनिन्छ, त्यति ठूलो बगैँचा त्यसबेला विश्वमै थिएन । जुन अहिले उजाड र परित्यक्त अवस्थामा छ । 
श्रीराम नुवाकोटका रैथाने । वैरागीले भन्दा कम जानकारी राख्दैनन् उनी । माहामण्डल साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक । उनलाई महामण्डल पहाडसँग बढी मोह छ । त्यसैले दरबारको माथिपट्टि चुलिएको महामण्डलतिर आकर्षित गर्दैछन् हाम्रो ध्यान र भन्दै छन्— ‘त्यस डाँडोलाई कब्जामा लिएपछि मात्र विजय हासिल गरेका नुवाकोटमाथि । त्यस महामण्डलमा कालिकाकोट र मालिकाकोट छन् र एउटा गारत घर र भैरवको मन्दिर पनि छ ।’ 

इतिहास भन्छ— ‘पृथ्वीले नुवकोट कब्जा गर्नुअघि कान्तिपुरका राजा जयप्रकाश मल्लका क्षेत्रीय प्रशासक थिए जयन्त रानामगर । उनी बर्खामा त्रिशूली उर्लेको बेला कुनै शत्रु नदी तरेर आउन सक्तैन भनेर इन्द्रजात्राको नाच हेर्न कान्तिपुर गए । त्यो थाहा पाई पृथ्वीनारायणले करिब एक हजार सैन्यशक्तिको आडमा रातारात डुङ्गा बनाई डुँगा चढेर त्रिशूली तरे । त्यसपछि उनले कालु पाँडे र आफ्नो नेतृत्वमा दुईतर्फबाट घेरा हाली नुवाकोट कब्जा गरिछाडे । पछि प्रतिकार गर्न आएका जयन्तले गोर्खाली सेनाको शरण पर्न नमानेकोले भाग्दै बेलकोट पुगेको बेला उनलाई गोर्खाली सेनाले छाला काडेर त्यहीँ मारे ।’

अब भने हामी तलेजुको प्राङ्गणमै पुगेका छौँ । त्यहाँबाट देखिने पश्चिमी दृश्य अत्यन्त सुन्दर छ । पृथ्वीनारायण शाहले गोर्खाबाट नेटो काटेर नुवाकोट कब्जा गर्न आएको सामरी भञ्ज्याङ सामुन्ने देखिँदै छ । वेत्रावती र रसुवाका डाँडाकाँडाहरु रोमाञ्चपूर्ण लाग्दै छन् । तर सँगै उभिएको तलेजु मन्दिर संरक्षण नभएर कुरूप देखिँदै छ ।
श्रीराम श्रेष्ठ भन्दै छन्—‘नुवाकोट दरबार पुनर्निर्माण गर्ने चासो देखाएको छ चीन सरकारले । तर त्यसले कार्यरुप कहिले लिने हो वा लिने होइन थाहा छैन ।तलेजु अहिले मूर्तिविहीन छ । मूर्ति हरायो, मन्दिर धरापमा प¥यो । तलेजुको मात्र के कुरा गर्नु ? दरबारको अवस्था त्यस्तै छ । भनिन्छ, धर्मले पलाइन्छ, पापले हराइन्छ । पारसलाई एकपटक उन्माद चढ्यो, राजामात्र पस्न पाउने दरबारको कोठामा पसे । परिणाम यस्तो भयो—उनी पनि पतनको दिशातिर उन्मुख भए, त्यहाँको एउटा दुर्लभ मूर्ति पनि हरायो ।’
साथीहरु प्रतीक्षालयमा गोलबन्द भएर बसे । हामी सबैले वैठकलाई कार्यरुप दियौँ । कार्य सञ्चालन गरे महासचिव मोहन दुवालले । नेसापसका अध्यक्ष नगेन्द्रराज शर्माको सभापतित्वमा वैठक सञ्चालन भयो । 
विगत कार्यसमिति र नरेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठित माधव पोखरेल गोज्याङ्ग्रे र धीरकुमार श्रेष्ठसमेतको निर्वाचन कमिटिलाई धन्यवाद प्रस्ताव राखियो र सर्वसम्मत समर्थन गरियो । 

त्यसपछि विभिन्न निर्णयहरु गरियो—
१. रोचक घिमिरे, कमलमणि दीक्षित, चूडामणि रेग्मी, डिआर पोखरेल, वीरबहादुर चन्द, शिव रेग्मी र नरेन्द्रबहादुर श्रेष्ठलाई सल्लाहकार समितिमा मनोनयन गर्ने । 

२. ३४ सदस्यीय कार्यसमिति रहेकोमा माधव पोखरेल गोज्याङ्ग्रेलाई मनोनयन गरी ३५ सदस्यीय कार्यसमिति बनाउने ।

३. २०७३ सालको माघ महिनामा बनारसमा साहित्यिक भेटघाट तथा सम्मेलन गर्ने र सो सम्मेलनमा ‘रचना’का सम्पादक रोचक घिमिरे र ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गर्ने ।

४. संघ अन्तर्गत अभिलेख–इतिहास विभाग, सम्पादन–प्रकाशन विभाग, अन्तर्राष्ट्रिय समन्वय विभाग, राष्ट्रभाषा तथा मातृभाषा विभाग र अनलाइन समिति गठन गरी ती विभागहरू र समितिको जिम्मेवारी संघका उपाध्यक्षहरू क्रमशः मातृका पोखरेल, रामप्रसाद पन्त, वियोगी बुढाथोकी, लक्ष्मी उप्रेती र नवराज पुडासैनीलाई दिने ।

५. नेपाल साहित्यिक पत्रकार संघको टोली बनारस जाँदा र आउँदाको यातायात खर्च संघका सदस्य तथा नुवाकोट साहित्य समाजका अध्यक्ष श्रीराम श्रेष्ठको सौजन्यबाट हुने भएकोले श्री श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्ने ।
६. संघको सचिवालयमा ९ जना पदाधिकारी रहेकोमा लक्ष्मी भट्टराई र गणेश राईको नाम थप गरी ११ सदस्यीय सचिवालय बनाउने ।

७. नेपाल साहित्यिक पत्रकार संघको सिफारिसमा १ जना साहित्यिक पत्रकार प्रेस काउन्सिलको सदस्यमा नियुक्त गर्ने व्यवस्था भएकोमा अन्यथा निर्णय गरिएकोले सो बारे सूचना तथा सञ्चार प्रविधी मन्त्रीलाई विरोधपत्र दिने ।

८. हाल चलिरहेको नेपाली भाषाको विवादका सम्बन्धमा भाषाविद्हरूको समन्वयमा भाषासम्बन्धी समस्या अविलम्ब समाधान गर्न सुझाव दिने ।

करिब डेढ घण्टा चलेको बैठक साढे दशमा सम्पन्न भएपछि हामी बट्टार ओर्लेर रेशोम होटलमै खाना खान्छौँ र साढे एघारमा कार्यक्रमस्थल ‘समाजसचेतन केन्द्र’मा पुग्छौँ । 

नेपाल साहित्यिक पत्रकार संघ र नुवाकोट साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा नुवाकोटेली साहित्यिक पत्रकारिताबारे कार्यपत्र प्रस्तुति र किताब विमोचनको कार्यक्रम राखिएको थियो त्यस केन्द्रमा । विलम्ब नगर्ने भन्दाभन्दै सवाबाह्र बजेमात्र उद्घोषण गर्न पुगिन् सुमित्रा पौडेल ।

नेसापसका अध्यक्ष नगेन्द्रराज शर्मा— सभापति, निवर्तमान अध्यक्ष रोचक घिमिरे— प्रमुख अतिथि, काठमाडौँबाट गएका अन्य सबै विशेष अतिथि र उपस्थित नुवाकोटेलीहरु सबै अतिथि । तर अतिथिहरुको नाम लिँदै अन्त्यसम्म पुग्दा पनि रामप्रसाद पन्तको नाम आएन । आरएम डङ्गोललाई उठ्नै प¥यो र उद्घोषिकालाई कानेखुशी गर्नैप¥यो । यसको अर्थ थियो, कार्यक्रमव्यवस्थित थिएन । 

अन्ततः उनले मेरो नाम लिइन् र स्वागत मन्तव्यका लागि रोष्टममा पनि उभ्याइहालिन् । मैले कार्यक्रम आयोजना गर्न सघाउने श्रीराम श्रेष्ठ लगायत नुवाकोटेली साहित्यकारहरुको प्रशंसा गर्दै नुवाकोटसँग आफ्नो व्यक्तिगत मायाप्रेम रहेको र पाँचौँ पटक नुवाकोटको यात्रा गरेको सन्दर्भ पनि कोट्याएँ ।सँगसँगै मैले नेपालकै सबभन्दा ठूलो जेल नुवाकोटमा बनाउने भनी उद्घोष भएको सरकारी नीतिविरुद्ध उभिन र जेलको सट्टा नेपालकै उत्कृष्ट विश्वविद्यालय स्थापना गर्ने विषयमा आवाज उठाउन नुवाकोटेली जनता लाग्नुपर्ने कुरामा जोड दिँदै मन्तव्य अन्त्य गरेँ । 

त्यसपछि दीक्षान्त सिटौलाको सपनापाटी नामक किशोरउपन्यास विमोचत गरियो । सो किताबका बारेमा मुकुन्दराज अर्याल र शिवसुन्दर पुडासैनीले समीक्षा गरेपछि सिटौलाले लेखकीय मन्तव्य व्यक्त गरे । एउटा किताबको चर्चामा अलमलियौँ हामी सवाघण्टा । 

आरएम डङ्गोलद्वारा प्रस्तुत ‘नुवाकोटेली साहित्यिक पत्रकारिता ः विगत र वर्तमान’ नामक कार्यपत्र र त्यसमाथिको टिप्पणीले खायो पौने घण्टा । 

गणेश राईले गरेको टिप्पणीप्रति कार्यपत्र अपूर्ण रहेको र पछि पूर्ण गर्ने कुरामा सहमत भए कार्यपत्र प्रस्तोता डङ्गोल । साथै श्रीहरि फुयाँलद्वारा लेखिएको ‘नुवाकोटेली साहित्यिक इतिहास’ पनि अपूर्ण रहकोले पुनर्लेखन हुनुपर्ने कुरा उठ्यो त्यसै कार्यक्रममा । मात्रृका पोखरेल र वियोगी बुढाथोकीको सङ्क्षिप्त मन्तव्यपछि प्रमुख अतिथिको आशनबाट रोचक घिमिरेले संस्थाको पहिलो बैठक नुवाकोटमा गराउने महङ्खवपूर्ण अवसरका लागि श्रीराम श्रेष्ठलाई धन्यवाद दिनुभयो र छन्दमा लेख्न नसक्ने कविले गद्यमै लेख्न सुझाव पनि दिनुभयो । त्यसपछि धन्यवाद ज्ञापनका लागि उठेका श्रीरामले यस्तो अवसर दिएकोमा नेसापसका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए र आगामी सम्मेलन बनारसमा गर्नका लागि आफू वचनबद्ध रहेको कुरा पनि दोहो¥याए । 

अन्तमा नगेन्द्रराज शर्मा उभिनुभयो । उहाँको सुझाव थियो— ‘कार्यपत्र प्रस्तुति, किताब विमोचन र कविता वाचन तीनवटा कार्यक्रम राख्दा कार्यक्रम अस्तव्यस्त भयो र लामो पनि भयो । यसप्रति आयन्दा सचेत हुनुहोला र बोलाउनुभयो भने फेरि आउँला । अहिले भने श्रोताको चाहना सभापतिबाट कार्यक्रम विसर्जन गरिदेओस् भन्ने होला ! त्यसैले .............. ।’

कुरो सकिएको थिएन, केही पूरक कुरा भन्न खोज्दै हुनुहुन्थ्यो नगेन्द्रराज शर्मा । तर सबै भ¥याङभुरुङ उठेपछि उहाँको आवाज कोलाहलमै हरायो । सभा समापन भनेको पनि सुन्न पाइएन । 

साढे तीनघण्टा चलेको कार्यक्रम पौने चार बजे सम्पन्न भएको थियो । होटलमा आएर चिया खाँदा आधा घण्टा गइहाल्यो । सवाचार बजे स्टार्ट भएको माइक्रोले तुफान गति लियो । चेतनाथको केही खाने इच्छा र सुधिरको एकान्त बस्ने आग्रहलाई पनि नसुनेझैँ गरी चालक होम थापाले तीव्र गतिमा तर सावधानीपूर्वक माइक्रो कुदाइरहे र साढेदुई घण्टामै बालाजुको माछापोखरी ल्याइपु¥याए । 

No comments:

Post a Comment