Saturday, August 28, 2021

टुहुरेका गीत जसले धेरैलाई आन्दोलनमा लाग्न प्रेरित गर्थ्यो - राज सरगम

 

जेबी टुहुरे

आमा दिदी-बहिनी हो

कति बस्छौ दासी भई...

जुगका सधै प्यासी बनेर...

कुनै समय गाउँ-गाउँमा गुन्जिन्थ्यो यो गीत। जनजनको मुखमा झुन्डिएको थियो ‘जनताका गायक’ जेबी टुहुरे अर्थात जुठबहादुर खड्कीको यही स्वर। तीनै जनप्रिय गायक जेबी टुहुरेले बिहीबार संसार छोडेका छन्। तर, उनको योगदान भने नेपाली धर्तीमा जीवित रहनेछ।

बसाइँ हिड्ने को ताँतीले....।

यो पनि उनको जागरणयुक्त गीत हो। मौलिक भाकामा जागरण भर्न सिपालु टुहुरेले डेढ सयभन्दा बढी गीतमा स्वर भरेका छन्। उनको थप गीत रेकर्ड गर्ने तयारी थियो। तर अधुरै रह्यो टुहुरेको त्यो चाहना।

टुहुरे २००१ साल कात्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका हुन्। उनमा सानैदेखि गीत/संगीतमा रुचि थियो। गाउन थाले नेपाली जनजीवन झल्किने गीत। उनले नेपालीपन बोकेका गीतमा मात्रै स्वर भरेका छन्। त्यसैले त उनी सधैं सम्मान र चर्चाको उच्च कोटिमा  रहे।

२०१६–१७ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका टुहुरेले २०२४ सालबाट जनताका गीत गाउन थाले। उनी जनताका गीत बोकेर गाउँ-गाउँ पुग्थे। गीतकै माध्यमबाट जनजागरण ल्याउने उनको ठूलो उद्देश्य थियो।

२२ वर्षको उमेरमा जुठबहादुरले पिता गुमाए। पिताको निधनपछि उनी टुहुरो हुन पुगे। र, आफ्नो नामको पछाडि जोड्न थाले टुहुरे। सांगीतिक क्षेत्रमा जुठबहादुर ओझेल पर्‍यो। र, सबैको मुखमा झुन्डिने नाम बन्यो जेबी टुहुरे।

२०१६–१७ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका टुहुरेले २०२४ सालबाट जनताका गीत गाउन थाले। उनी जनताका गीत बोकेर गाउँ-गाउँ पुग्थे। गीतकै माध्यमबाट जनजागरण ल्याउने उनको ठूलो उद्देश्य थियो। उनीसँग ३२ वर्ष सांगीतिक यात्रामा हिँडेकी गायका मधु गुरुङ टुहुरेको निधनले नेपाली गीत/संगीतले कुशल अभिभावक गुमाएको बताउँछिन्। 

टुहुरेलाई गायिका गुरुङ काका भन्ने गर्थिन्। उनै काकासँग मेची-महाकाली सांस्कृतिक आन्दोलनमा हिँडेकी मधुका लागि अभिभावक गुमेका छन्। गाउँ-गाउँ पुगेर जनतालाई गीतका माध्यमबाट शोषक, शोषण र उत्पीडनबाट जोगिनुपर्छ भन्ने सन्देश दिने गर्थे टुहुरे। ‘जनपक्ष भएर हिँड्नुपर्छ भन्नुहुन्थ्यो काका,’ गुरुङले भनिन्। 

'देशका लागि केही गर्नुपर्छ। जनताले सुख पाउने व्यवस्थाको पक्षमा हिँड्नुपर्छ। मानवता र जनपक्षताका कुरा गर्नुपर्छ भन्ने सोचका हुनुहुन्थ्यो उहाँ', गुरुङले सुनाइन्। जस्तोसुकै आपत्तविपतमा पनि नआत्तिने बानीलाई गुरुङ टुहुरेको सफल गुणका रूपमा लिन्छिन्।

भारत प्रवासी नेपाली संघ र अखिल नेपाल–भारत स्वतन्त्र युनियनको आयोजनामा हुने सांस्कृतिक कार्यक्रममा टुहुरेको नेतृत्वमा सांस्कृतिक टोली २०४९ मा भारत प्रस्थान गरेको थियो। उनीहरूले दिल्ली, हरिद्वार, ऋषिकेश, देहरादुनलगायत सहरमा कार्यक्रम गर्नु थियो। 

टोली कानपुरमा कार्यक्रम सकेर देहरादुन जाँदै थियो। दिल्लीमा बाबरी मस्जिदमा आक्रमण भएकाले कर्फ्यू जारी थियो। त्यसको असर सिंगो भारतले खेपिरहेको थियो। जटिल अवस्थामा पनि टुहुरेले आफूसँग गएको टिमका कुनै पनि सदस्यको मनोबल खस्न दिएनन्। ‘काकाले हामीलाई अनेक आश्रम-आश्रममा बास बसाउँदै देहरादुन पुर्‍याउनुभयो', उनले भनिन्।

गाउँ-गाउँमा कार्यक्रममा हिँड्दा टुहुरे होटलमा बस्न रुचाउँथेनन्। उनी सकेसम्म जनताको घरमा बस्नुपर्छ भन्ने मान्यता राख्थे। बस्न पनि जनताको घरमै बस्थे। दुःखसुख सुनाउँथे। सुन्थे। टोलीका कुनै सदस्यलाई दुःख नहोस् भनेर चिन्ता गर्थे। सोधिरहन्थे। 

टुहुरे २०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा होमिए। भूमिगतकालदेखि माले, एमाले हुँदै माओवादीमा प्रवेश गरे। माओवादीमा प्रवेश गरेपछि उनी सांसद पनि बने। भरतमोहन अधिकारी, माधवकुमार नेपाललगायत नेताको संगत गरेका टुहुरेले दुई कार्यकाल एमाले सम्बद्ध जनसांस्कृतिक महासघंको अध्यक्ष भएर काम गरे। 
टुहुरेको एउटा आदतसँग भने गुरुङ निकै परिचित छिन्। आमा दिदी बहिनी हो' बोलको गीत कयौं पटक गाए टुहुरेले। तर, कुनै ठाउँमा यही गीत गाउन मञ्चमा उक्लिनुपर्‍यो भने पानामा लेखेर मात्रै गाउँथे। उनी त्यसरी स्टेजमा गीत नआएर उक्लिने होइनन्। गुरुङका अनुसार त्यो उनको आदत थियो। टुहुरेसँग गुरुङले सयौं गीत गाएकी छिन्।

०००

टुहुरे २०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा होमिए। भूमिगतकालदेखि माले, एमाले हुँदै माओवादीमा प्रवेश गरे। माओवादीमा प्रवेश गरेपछि उनी सांसद पनि बने। भरतमोहन अधिकारी, माधवकुमार नेपाललगायत नेताको संगत गरेका टुहुरेले दुई कार्यकाल एमाले सम्बद्ध जनसांस्कृतिक महासघंको अध्यक्ष भएर काम गरे। 

उनको जीवनको आधा शताब्दी नेकपा एमालेसँग नै जोडियो। उनले जहाँ, जस्तो अवस्था र भूमिकामा रहे पनि जनवादी गीत भने गाउन छोडेनन्। जनवादी गीत गाएरै पाँच दशक बिताइदिए। 

उनको निधनप्रति नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले दु:ख व्यक्त गरेका छन्। नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, 'जनताका गीत गाउने गायकका रूपमा नेपाली समाजमा स्थापित जेबी टुहुरेले निरुंकुशताविरुद्ध जनता जगाउन सांगीतिक एवं राजनीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएको छ।' 

कवि/लेखक मातृका पोख्रेलले टुहुरेका गीत सुनेर सांस्कृतिक आन्दोलनमा होमिएको बताएका छन्। पोख्रेलले विराटनगरमा पढ्दा टुहुरेका जागरण गीत सुन्ने गरेको बताए। 'उहाँ तत्कालीन मालेअन्तर्गतको सांस्कृतिक टिममा बसेर गीत गाउँदै आउनुभएको थियो। उहाँकै गीतले धेरैलाई आन्दोलनमा अगाडि बढ्न प्रेरित गर्थ्यो',  टुहुरेलाई सम्झिँदै उनले भने।

पञ्चायतकालमा नेपालमा चर्चित दुई सांस्कृतिक आन्दोलन थिए। एउटा ‘बेदना’ अर्को ‘संकल्प’। संकल्पको नेतृत्व रामेश मन्जुलहरूले गरेका थिए। रामेश मन्जुलहरूले जतिबेला संकल्पको नेतृत्व गरेका थिए त्यतिखेर पछिल्लो पुस्ता (उमेरले होइन, योगदानले पछिल्लो पुस्ता) का रूपमा देखा परेका थिए टुहुरे। ‘जब उहाँ (रामेश मन्जुल)हरू बिस्तारै ओझेल पर्दै जानुभयो त्यसपछि टुहुरे देखिन थाल्नुभएको थियो', पोख्रेलले भने, ‘सांस्कृतिक आन्दोलनको दुईवटा ठूल्ठूला ‘खलेगरा’ थिए। एउटा खलेगराको नेता हो उहाँ (टुहुरे) पनि। मचाहिँ अर्को खलेगराको कार्यकर्ता थिएँ।’

पोख्रेल जनसांस्कृतिक महासंघको अध्यक्ष हुँदा टुहुरे उपाध्यक्ष थिए। पोख्रेल भन्छन्, ‘उहाँ आन्दोलनप्रति सधैं निष्ठावान् र प्रतिबद्ध हुनुहुन्थ्यो।’

२०७६ सालमा स्थापति ‘जेबी टुहुरे फाउन्डेसन’ ले विभिन्न पुस्तक प्रकाशन तथा सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ।  फाउन्डेसन अहिले टुहुरेको आत्मकथा प्रकाशनको तयारीमा छ।

टुहुरे पछिल्लो समय जनसांस्कृतिक महासंघ नेपालका संरक्षक थिए। नेकपा–माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार जेबी टुहुरेको निधनले अपूरणीय क्षति पुगेको महासंघका महासचिव सरल सहयात्रीले बताए। उनी भन्छन्, ‘उत्पडीनको विरुद्धमा उहाँले ‘जनवादी सांस्कृतिक आन्दोलननै छेडे भन्दा हुन्छ।’ 

२०४८ सालदेखि सँगसँगै जस्तो हिडेँका बारा जिल्लाको जनसांस्कृतिक महासंघका इन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य गोपाल ठाकुर टुहुरेलाई कुशल स्रष्टाका रूपमा लिन्छन्। टुहुरेलाई उनी अग्रगामी सोच भएका व्यक्तिका रूपमा लिन्छन्। ठाकुर, भन्छन्, ‘त्यो बेला उहाँलाई कसैले लोकगायक भन्थे। तर, हामीले जनगायक भन्थ्यौं। पछि उहाँलाई सबैले जन गायक नै भन्न थाले', उनले भने। 

संगीतकार आभासले पनि टुहुरेसँग कुनै समय संगत गरेका थिए। आभास भन्छन्, ‘मैले धेरै समय संगत त गर्न पाइनँ। जति गरेँ खास रह्यो।’ आभासले टुहुरेसँगै मञ्चमा बाजा बजाएको किस्सा कतै सुनाएका थिए। उनी भन्छन्, ‘बनारसको मञ्चमा सँगै बाजा बजाउने अवसर जुरेको थियो। उहाँ सबै भाषाको गीत गाउन पोख्त हुनुहुन्थ्यो।’

आफ्नो सांगीतिक टिममा भएका सबै कलाकारलाई उनी निकै हेरविचार गर्थे। उनी सधैं गायक कलाकारका पक्षमा उभिन्थे। मातहतका साथीहरूलाई कसरी खुसी राख्न सकिन्छ भन्ने सोच्थे। जीवनमा लामो संगत गरेका गीतकार माधव प्रधानका लागि गायक टुहुरे लिजेन्ड गायक हुन्। आफ्नो स्वरमार्फत टुहुरेले जनस्तरमा निकै छिटो प्रभाव पारेको उनी स्मरण गर्छन्। प्रधान भन्छन्, ‘टुहुरे जहिल्यै सत्ता र शासकको विरुद्धमा उभिनुभयो। उत्पीडित वर्गमा जागरण ल्याउने काममा मात्रै दत्तचित्त भएर लाग्नुभयो।’ 

२०७६ सालमा स्थापित ‘जेबी टुहुरे फाउन्डेसन’विभिन्न पुस्तक प्रकाशन तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। अहिले फाउन्डेसन टुहुरेको आत्मकथा प्रकाशनको तयारीमा छ। र, फाउन्डेसन आफ्नै भवन निर्माणको तयारीमा छ। तर, टुहुरेले आफ्नो नाममा यी थुप्रै सफलताको मूर्ततालाई भने देख्न पाएनन्। 

फाउन्डेसन धरानमा सांगीतिक कार्यक्रमको तयारीमा जुटेको थियो। ७८ वर्षका टुहुरेले नै कार्यक्रममा जनवादी गीत गाउने कार्यक्रम थियो। तर, १ भदौमा उनी मस्तिष्कघात भएर ढले। उनलाई बयाेधा अस्पतालमा भर्ना गरियो। त्यसपछि उनी फर्किन सकेनन्। अस्पताल शय्यामै अस्ताए सदाका लागि। 

www.nepalsamaya.com बाट साभार

प्रकाशित: August 27, 2021 

शुक्रबार, भदौ ११, २०७८



No comments:

Post a Comment