Friday, February 5, 2021

साहित्यिक पत्रकारहरुको सभा बनारसमा - लक्ष्मी उप्रेती



बनारस नेपाली कला भाषा साहित्य, धर्म, शिक्षा र राजनीति कर्मको आस्था गाँसिएको ठाउँ हो । बनारसलाई नेपाली सभ्यताको स्रोत नै हो भन्दा अतिसयोक्ति नहोला । अझैपनि बनारसलाई पूण्यभूमि मानेर नेपालीहरु जानेक्रम उक्तिकै छ । अर्कै देशको अस्तित्वमा फिजिएको बनारसमा नेपालीजन र नेपालीपनको राम्रै बाहूल्यता भएको अनुमान गर्न सकिन्छ ।

नेपाली सभ्यताको पदचिन्ह पछ्याउँदै वि. सं २०४३, ४४ सालमा मेरी जेठी छोरी सबिनालाई लिएर बनारस जाने अवसर जुट्यो । जीवनका अनेकौ समस्याबाट मर्मात भएकी म कहाँ जाँदा शान्त हुन सकिन्छ त्यहाँ जाने प्रयाशमा हुन्थे । बनारसको चर्चा प्रशस्त सुनेकी थिए । मेरो छोराको साथि भावेश शर्मा बनारसमा नै भएकाले हामीलाई त्यहाँ पुगेपछि कुनै चिन्ता नहुने नै भयो । मावलमा बसेर पढ्दै गरेको भावेशकी हजुरआमा कृष्णा दिदी बनारस छोरीकामा केही दिन बस्न जाने भएकाले मैले पनि मौका छोपे । बनारसमा ३,४ दिन बसेर आमा छोरी फर्कने तय गरेर हामी उहाँको पछि लागेउ । बाटाको जानकार भएका एकजाना भाइ साथमा थिए । जोगवनीबाट बस साझ चढेर  बिहान मिरमिरेमा पटना पुग्यौं  । त्यहाँबाट हाम्रो यात्रा रेलबाट थियो । ती भाइको पछि लागेर हतारिंदै रेलमा चढ्यौं । अनेक कुरा मनमा खेलेर सन्तोस भएन र यात्रा भरि बेचैनी नै भइरहे । रेल आफ्नै  गतिमा कुदिरहेछ । रेलको गतिसंगै हामी लगभग ३ बजे तिर बनारस रेल स्टेसन पुग्यौं  । त्यहाँबाट तिनै भाइको साथमा लगभग ५ बजे तिर उषा दिदीको घर पुग्यौं  । 

भावेशकी आमा उषा दिदी हामी गएकामा निकै खुसी हुनुभयो । तर म त्यसबेला जीवनका यावत सम्भावनाबाट परास्त भएकीले  मेरो मन ठिक थिएन । त्यसबेला अलिअलि घुमघाम त गरियो  तर ठिक नभएको मनले त्यहाँको केही कुरामा आकर्षित हुन सकेन । कहाँकहाँ कसरी घुमें  मेरो मानसपटलमा  केही रहेकै थिएन । उहाँहरुको आतिथ्यता, हार्दिकता र स्नेही व्यवहार हुँदाहुँदै पनि म प्रसन्न हुनै  सकिन । खालीखाली भइरहेको मेरो मन बनारस घुमेर फर्कदा पनि खालि नै थियो । 

समय वित्दै गयो । समयले जीवनका घाउहरुमा मलम लगाउँदै गयो । सम्भावनाका बाटाहरु विस्तारै खुल्दै गए । अनि पो मलाई फेरी बनारसको धङधङी सुरु भयो । नेपाली सभ्यताका पद्चापहरुमा साक्षत्कार हुने उकुण्ठा जाग्यो । नेपाल र नेपालीलाई हरेक रुपले सदासयता राख्ने बनारसको माटो स्पर्शको अनुभूत गर्न थाले । नभन्दै निकै पछि अर्थात २०७३ साल फाल्गुन १  गते  मौका जुर्‍यो । नेपाल साहित्यिक पत्रकार संघको एउटा कार्यक्रम नै बनारसमा गर्ने टुंगो लाग्यो । त्यसपछि मनकी चरि नाच्न थाली । वनिता पत्रिकाको सम्पादक प्रकाशकको भूमिकामा सुरु देखि रहेकी म नेपाल साहित्यिक पत्रकार संघकी उपाध्यक्ष भएकाले त्यो कार्यक्रममा जानु दायित्व नै भयो । समयको तालमेल मिलाउँदा मिलाउँदै स्वास्थ्य उपचारका लाग दिल्ली आउनुप¥यो । 

संजय दिल्लीमा नै कार्यरत भएकाले केहीदिन दिल्ली बस्ने भए । अनि उतैबाट सहभागी हुन बनारस जाने योजना बनाएर सम्पर्क सुत्र उहाँहरुलाई दिएर आए । मातृका पोखरेलजीसँग सम्पर्क भइरह्यो । बनारसको कार्यक्रमको मिति तय भएपछि मातृकाजीले नै जानकारी दिनुभयो । त्यसपछि मातृकाजीकै निर्देशन अनुसार दिल्लीबाट बनारसका लागि प्लेनको टिकट छोराले काटिदियो । 

दिल्लीबाट जाने ममात्र थिए । काठमाडौँबाट संघका थुप्रै साथिहरु हिँडिसक्नु भएको खबर पाएँ । म त प्लेनमा जाने एकछिनमा पुगिहालिन्थ्यो । काठमाडौं  र बिराटनगरबाट आउनु हुनेहरु २०७३ साल फाल्गुन २  गते १२ बजेपछि आइपुग्ने सूचना थियो । बनारसमा उदय पत्रिकाका सम्पादक दुर्गा श्रेष्ठजीलाई सम्पर्क गरेर म प्लेनबाट बनारस पुगे । बनारस पुगेर ट्याक्सी काउन्टरबाट फोन गरे । दुर्गाजीले ट्याक्सी वालालाई लोकेसन दिएर मलाई ल्याउन भन्नुभयो । दुर्गाजीको लोकेसन अनुसार आइ सि सातसय तिरेर ट्याक्सीमा चढे । टाढा नै रहेछ एयरपोर्टबाट त्यहाँ  पुग्न । झण्डैझण्डै डेड घण्ढा लाग्यो । जहित्यहि सडकहरु निर्माण भइरहेका छन् । धुलो उडेर वातावरण नै अस्तव्यस्त भएको बनारस त सोचेजस्तो नै लागेन । गुडिरहेको ट्याक्सीको झ्यालबाट बाहिरको दृश्य देख्दा एकमनले थकथकाए पनि । सडक विस्तारको क्रममा भएको तोडफोडले अव्यवस्थित सडकको विकल्प नहुँदा यात्रा गर्नेलाई असुविधा हुने नै भयो । यस्तै अनेक असुविधा र बेचैनि बिच दुर्गाजीले दिएको लोकेसनमा पुगेर ट्याक्सी रोक्यो । ट्याक्सीबाट ओर्लदै गर्दा दुर्गाजी देखापर्नुभयो । अनिमात्र ढुक्क भए । 

साँझ पर्न लागेको थियो । हाम्रो बस्ने खाने वन्दोवस्त नेपाल साहित्यिक पत्रकार संघ काठमाण्डौकै व्यवस्थापनमा दुर्गाजीले चलाएको जगदम्बा धर्मशालामा नै रहेछ । 

मलाई त्यहीं लिएर जानुभयो र  चिया मगाएर खु्वाउनुभयो । धर्मशालाको रेखदेख गर्ने नेपालकै एउटा भाइ परिवारका साथ त्यही बस्दा रहेछन् । खाना पनि त्यहीबाट हुने भनेपछि मेरो खाना खानु र त्यो रात बिताउनु त थियो नि । भोली बिहानको खाना खानेगरी बिरानगरबाट आइपुग्नु हुन्छ भनेर दुर्गाजी आफ्नो घरमा जानुभयो । 

राती धर्मशालामा बस्ने भाइकी श्रीमतीले पकाएको मीठो खाना खाएँ  । त्यो रात बिराने ठाउँमा एक्लै छटपट्टिदै विताएँ  । 

भोली १२ बजे भित्र आइपुग्ने भनेर अड्कलिएको समयमा आइपुग्नु भएन । समय काट्न बाहिर कहाँ जाउँ यो ठाउँमा आफूलाई केही थाहा भएन । म छटपटिएकी थिए । बिहान खाना खाएर कहिले ढल्कदै, बसिरहेँ  ।  वेहिसाव यातनाको शिविर जस्तो कोठामा चुपचाप ।  छटपटिमा दुखेका बेला धन्न २ बजेतिर  भाइ नारायण निरौला आउनुभयो । दुर्गाजीले म एक्लै छु जानु भनेर आएको भन्नु भयो । हामीले परिचय गर्‍यौँ । भाइ त चतारा सुनसरीको हुनुहुँदोरहेछ । 

   परिचयको औंपचारिकता सकिए पछि कुराकानीका क्रममा नारायण भाइले बनारसबारे केही जानकारी दिनुभयो । बनारसका प्रसिद्ध तीन ओटा नाम छन् । ती हुन काशी, वाराणसी र बनारस । ज्ञानको क्षेत्र भएको हुनाले काशी, वरुणा र असीनदी– अहिले त नालाको बीचभाग भएको हुनाले वाराणसी । अहिले त जिल्लाको नाम नै वाराणसी हो । बनारसचाहिँ कसैले मुगल शसनकालमा राखिएको नाम हो भन्छन् भने कसैले अंग्रेजकालमा । अहिले यहाको प्रचलित नाम बनारस हो । त्यसैले Banaras hindu  university लाई हिन्दी वा नेपालीमा लेख्दा काशी हिन्दू विश्वविद्यालय लेखिन्छ । यसले के जनाउँदछ भने बनारस र काशी एउटै नै हो । 

हामी अनेक सन्दर्भका कुरामा अल्मलिरहेका बेला काठमाण्डुबाट हिडेको टोली थकित भएर आइपुग्यो । त्यसपछि त यहाँको माहौलमा रनकता छायो । त्यसबेला नारायण भाइ र म उहाँहरुको स्वागत गर्नै बसेजस्तो भयो । आफ्ना अग्रज र अनुजहरु रोचक घिमिरे, नगेन्द्रराज शर्मा, लक्ष्मी भट्टराई, रामप्रसाद पन्त, निनु चापागाईं, नवराज पुडासैनी ‘ज्योत्स्ना’, भारती श्रेष्ठ, डी.आर.पोखरेल , मातृका पोखरेल , ठाकुर शर्मा भण्डारी यादव भट्टराई, वियोगी बुढाथोकी र भाउजू , होमशङ्कर बाँस्तोला, गणेश राई, बलराम पोख्रेल, माधव पोख्रेल ‘गोज्याङ्ग्रे’, नरेन्द्रबहादुर श्रेष्ठ र निरु भाउजू , रामेश्वर राउत मातृदास, सूर्य लाकोजु लगायत लाई स्वागत गर्न पाउँदा खुसि पनि लाग्यो । भोक र थकानले लखतरान हुँदै काठमाण्डुबाट आउनु भएको एकछिन पछि बिराटनगरबाट पनि गायत्रीकुमार चापागाईं, दधिराज सुबेदी, दिङ्लाली कान्छो र उहाकी श्रीमती, गंगा सुबेदी, राधिका गुरागाईहरू आइपुग्नु भयो । मान्छेको जमघट बाक्लै, अब बस्ने समस्या भयो  त्यो धर्मशालामा ।  रातको खाना त्यहीं  बनेको थियो । एउटा हलमा सबैले खायौं । अनि त्यो भिडमा विराटनगरबाट आउनु हुने जतिले वासस्थान अन्तै खोजेर बस्नु पर्ने भयो र त्यहाबाट हिंड्नु भयो ।  

दोस्रो दिन

१४ फरवरी भेलेंटाइन डेको दिन तीनबजेदेखि कार्यक्रम हुने भनिएको  थियो । कार्यक्रम सञ्चालन पूर्व गल्लीमा होहल्ला भयो । हामी पनि उठेर तीन तलामाथिबाट हेर्दा त साँढे जुध्नाले हल्लिखल्लि मचिएको रैछ । साँढे जुधेर तमासा हुने कारणले गल्लीमा मान्छे हिँड्नलाई अवरोध हुनु र गल्लीका दोकानहरूमा क्षति पुग्नु हो भनेर साँढे हटाउन हल्ला भएको रैछ । प्रमुख अतिथिको प्रतिक्षा गर्दा गर्दै कार्यक्रम सवा चार बजे प्रारम्भ भयो । कार्यक्रमको सञ्चालन यादवभट्टराई ( सचिव - नेपाल साहित्यिक पत्रकार संघ ) ले गर्नुभयो भने स्वागत भाषण मोहन दुवाल ( महासचिव नेपाल साहित्यिक पत्रकार संघ) ले गर्नुभएको थियो । त्यहाँ सम्पादकद्वय श्री दुर्गाप्रसाद  श्रेष्ठ र श्री रोचक घिमिरेलाई सम्मान प्रदान गरिएको थियो । सम्मानको कार्यक्रम पश्चात बनारसबाट प्रकाशित भएका पत्र–पत्रिकालाई लिएर “नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान” विषयक कार्यपत्र डी.आर. पोखरेलज्यूबाट प्रश्तुत भयो । निनु चापागाईंज्यूबाट त्यसको टिप्पणी भयो । 

 त्यसैगरि त्यहाँ मातृका पोखरेल, दधिराज सुवेदी, सञ्जय वान्तवाबाट मन्तव्य प्रश्तुत भएपश्चात् मुख्य अतिथिको वक्तव्य दिवाकर प्रधानजीले गर्नु भयो । उहाँसंग दार्जिलिङमा एकादुई  पल्ट मेरो भेट भइसकेको थियो । अनि परिचयात्मक कार्यक्रम भयो र धन्यवाद ज्ञापन गर्ने काम मेरो भागमा थियो । त्यसपछि अध्यक्षीय संबोधन  नगेन्द्रराज शर्माले गरेर कार्यक्रमको बिट मार्नु भयो । दुर्गा जीबाट जानकारी पाए अनुशार मुकुन्द उहाँको पहिले बोलाउने नाम रहेछ । 

अन्तिम दिन–१५ तारिख 

कोही साथिहरु काशीराजाको दरबार रामनगर किल्ला जानु भएछ । त्यहाँको एतिहासिक पिपा पुल तरेर रामनगर हुदै पुराना हातहतियार र राजामहाराजाहरूले लगाएका  केही कपडाहरू, हात्तीका दाँतबाट बनेका वस्तुहरू संग्रहालय हरेर मैकाको फाइदा उठाउनु भएछ । त्यहाँ काशीका अन्तिम राजा डा.विभूतिनारायण सिंहका समयका वस्तुहरूलाई सुरक्षित भएको उहाँहरुबाट सुनियो । उहाँहरुले त्यहाँ काशीराज विभूतिनारायण सिंहले नेपालका राजा श्री ५ महेन्द्रसँग  खिचेको ऐतिहासिक एउटा तस्बिर, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग खिचेको तस्बिर हेर्नु भएछ । संग्रहालय हेरेर गङ्गाको किनारमा स्थित मन्दिर हुँदै आउनु हुने उहाँहरुसंग बी.एच्.यू प्राङ्गणमा हाम्रो भेट भयो । 

एउटा विशाल संग्रहालयमा कलाप्रेमीहरू बी.एच्.यु. स्थित भारत कला भवन हेर्‍यौँ । हामी नेपाली विभागमा पनि गयौं र नेपाल अध्ययन केन्द्र आदि अवलोकन गर्‍यौँ । 

त्यो रात काठमाण्डु फर्कने हाम्रो टिकट थियो । अनि हामी ८ बजे हामी बनारसबाट काठमाण्डौका लागि  बाटो  लाग्यौं ।


000 


No comments:

Post a Comment