Monday, October 26, 2020

साहित्य समाज रूपान्तरणको एउटा हतियार नै हो- मातृका पोखरेल [ वार्ताकार- विवस वस्ती]

 तपाईको कथा लेखनको प्रारम्भ कहिलेदेखि भयो ?

– मेरो साहित्यतिरको पहिलो यात्रा कविता विधाबाट भएको हो । कविता लेख्न थालेको धेरैपछि मात्र मैले कथा लेख्न थालेँ । २०५१ सालमा साथी पत्रिकामा मेरो पहिलो कथा हरियो बत्ती छापिएको हो । त्यसपछि कथा साहित्यमा म निरन्तर लागिरहेको छु ।

० कुन त्यस्तो तत्त्व वा प्रेरणाले तपाईंलाई कथा लेखनतर्फ उन्मुख हुन प्रेरित तुल्यायो ?
– सुरुमा एउटा विषय मेरो मानसपटलमा आयो । त्यो विषयलाई मैले कवितामार्फत अभिव्यक्त गर्न खोजें । त्यसपछि एउटा निबन्ध लेखें र तत्कालीन पृष्ठभूमि साप्ताहिकमा छपाएँ । त्यो पनि प्रभावकारी बन्न सकेन । त्यसपछि त्यहीँ विषयवस्तु राखेर कथा लेखें । आफैलाई सन्तुष्टि मिल्यो र त्यसपछि कथा लेख्न थालें । पछिपछि मलाई के लाग्न थाल्यो भने अभिव्यक्तिका लागि कथा धेरै प्रभावकारी विधा हो ।

 तपाईंको कथा लेखनको मूल स्रोत के हो ?
– कथा लेखनको मेरो मूल स्रोत म बाँचिरहेको मेरो समाज र परिवेश हो । म त्यहीँबाट विषयहरू लिन्छु । मेरा कथाहरू समाजभन्दा बाहिर छैनन् । मेरा कथा पढ्ने पाठकले थाहा पाइहाल्छन् कि मेरा कथाहरू अनावश्यक कल्पनाबाट मुक्त छन् । म त्यस्तै दृष्टिकोण राख्दछु पनि ।

० तपार्इंको कथाका पात्रहरू प्राय: समाजका निम्न वर्ग र राजनीतिक कार्यकर्ताहरू हुन्छन् । पात्र चयनका सन्दर्भमा कस्तो दृष्टिकोण अपनाउनुहुन्छ ?
– ठिकै भन्नुभयो । मैले सहकार्य गरिरहेका वर्गहरू तिनै हुन् । मैले जोसँग बढी घुलमिल गरिरहेको छु, मेरा कथामा स्वत: तिनै मानिसहरू आउनु स्वाभाविकै हो । अर्को कारण पनि छ, मेरा कथामा ती पात्रहरू आउनुमा । समाज रूपान्तरणका लागि सबैभन्दा बढी भूमिका खेल्ने मानिस पनि तिनै हुन् । त्यसैले गर्दा पनि मेरा कथाहरूमा तिनै पात्रहरू आउँछन् । म साहित्यलाई पनि समाज रूपान्तरणको एउटा हतियार हो भन्ने दृष्टिकोणलाई स्वीकार गर्छु । त्यही कारणले गर्दा मेरा कथाहरूमा तिनै पात्रहरूलाई प्राथमिकताका साथ
प्रस्तुत गर्दछु ।

० आफ्नो कथा लेखनमा पूर्ववर्ती प्रगतिशील कथा सर्जकहरूको प्रभाव कत्तिको महसुस गर्नुभएको छ ? प्रभाव छ भने कसको बढी रहेको ठान्नुहुन्छ ?
– मेरा पूर्ववर्ती कथाकारहरूको कथा लेखनबाट मैले प्रभाव ग्रहण गर्नु स्वाभाविकै हो । सबै नयाँ लेखकहरूले पुराना लेखकहरूबाट प्रभाव ग्रहण गर्दछन् । मेरा अग्रज कथाकारहरूबाट मैले प्रशस्तै प्रभाव ग्रहण गरेको छु । प्रगतिशील कथाकारहरूबाट त प्रभाव र दृष्टिकोण ग्रहण गरें नै, गैरप्रगतिशील प्रशस्तै कथा स्रष्टाहरूबाट पनि मैले प्रभाव ग्रहण गरेको छु । अग्रज कथा स्रष्टाहरूको नाम लिनुपर्दा लामो सूची बन्न सक्छ ।

० केही दशकयता प्रगतिशील कथा लेखन साँघुरिँदै गएको देखिन्छ । पुराना पुस्ताले उत्साहजनक रूपमा लेखिरहेका छैनन् भने नयाँ पुस्ता पनि सम्भावनाशील देखिएका छैनन् । यसले प्रगतिशील कथा लेखन अझ खुम्चिँदै जाने स्थिति उत्पन्न नहोला र ?
– यो समस्या प्रगतिशील कथा लेखनमा मात्र होइन । समग्र कथा लेखनमा यो प्रश्न अहिले उठाउन सकिन्छ । पुराना पुस्ताका स्रष्टाहरू पनि अहिले लेखिरहेका छन् । नयाँ पुस्ताका स्रष्टाहरू पनि अहिले नआएका होइनन् । पुराना पुस्ताका माया ठकुरी, मोहनराज शर्मा, भागीरथी श्रेष्ठ, राजेन्द्र विमल, ऋषिराज बराल, दिल साहनी, हरिहर खनालहरू अहिले पनि निरन्तर रूपमा लेखिरहनुभएकै छ । नयाँ पुस्तामा पनि स्रष्टाहरू नआएका होइनन् । तर, सोचेजस्तो हुन सकेको छैन । यो भयो समग्र कथा लेखनको कुरा । प्रगतिशील कथा लेखनको कुरा गर्नुपर्दा पनि यस्तैयस्तै स्थिति हो । पुराना पुस्ताका केही राम्रा कथाकारले लेख्नै छाड्नुभयो । खगेन्द्र संग्रौलाका कथाहरू पढेर मैले धेरै प्रभाव ग्रहण गरेको छु । उहाँले लेख्नै छाड्नुभयो भने पनि हुन्छ । रामहरि पौडेल, हरिगोविन्द लुइँटेल, देविका तिमिल्सिना पनि राम्रो कथा लेख्ने स्रष्टा हुनुहुन्थ्यो । उहाँहरू पनि कथा लेखनमा थाक्नुभएको हो कि जस्तो लाग्छ । तर, पनि हरिहर खनाल, ऋषिराज बराल, इस्माली, दिल साहनी, पुण्यप्रसाद खरेलहरूले नयाँ पुस्तालाई झक्झकाउने गरी कथा लेखिरहनुभएको छ । नयाँ पुस्तामा पनि केही कथाकार प्रगतिशील फाँटमा आएका छन् । उनीहरू यस क्षेत्रमा कति तपस्या गर्न सक्छन्, त्यो भोलिको कुरा हो । तर मलाई के लाग्छ भने अहिले प्रगतिशील साहित्यमा आएका नयाँ पुस्ताका कथा स्रष्टाहरू पुण्य कार्की, सीमा आभास, रोहित दाहाल, हीरामणि दु:खी, विवश वस्ती, हरिमाया भेटवाल, नवीन विभास, क्षितिज मगर, पुष्करराज भट्ट, नवराज रिजाल आदिले यो क्षेत्रमा निरन्तरता दिने हो भने प्रगतिशील कथा साहित्य खुम्चिँदै जान्छ भन्ने मलाई लाग्दैन ।

० पछिल्लो पटक कुन कथा लेख्नुभयो र के थियो त्यसको विषय ?
– मैले पछिल्लो पटक लेखेको कथा म निदाएको छैन शीर्षकको कथा हो । यो गरिमालगायत विभिन्न पत्रिकामा छापियो । यो कथा मैले बुझेको र भएको अवस्थाका बीचको एउटा खाडललाई विषयवस्तु बनाएको थिएँ । कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व लिँदा सुकुम्बासीहरूलाई झनै बिचल्ली बनाउने जुन क्रियाकलाप गरियो, त्यो विषयलाई मैले पचाउनै सकिनँ र कथा लेखें ।

० पछिल्लो समय ककसका कथा पढिरहनुभएको छ ?
– म कथा साहित्यको लेखक मात्र होइन, एउटा राम्रो पाठक पनि हुँ । पुरानो र नयाँ पुस्ताका कथाकारहरूको कथाको अलावा हिन्दी साहित्यमा भर्खरै प्रकाशित कथाकृतिहरू पनि पढिरहेको छु । भर्खरकै कुरा गर्दा, रोहित दाहालको कथाकृतिको भूमिका लेख्नुपरेको हुँदा उहाँका कथाहरू पढिरहेको छु ।

० नेपाल प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा रहनुभएको डेढ वर्ष भयो । त्यहाँ गद्य र आख्यान विभाग हेर्दै आउनुभएको छ । यसबीचमा विभागबाट के–कस्ता कामहरू भए ?
– नेपाल प्रज्ञा प्रतिष्ठानको गद्य, आख्यान विभाग मैले सम्हालेको पनि डेढ वर्ष पूरा हुन लाग्यो । यो बीचमा गएको वैशाख १२ गते भूकम्पका असरका कारण पछिल्ला योजनाहरू धेरै ओझेलमा परे । त्यसबेला सम्पन्न गर्ने भनेर तय गरिएका कार्यक्रमहरू बल्ल सुरु गरिँदै छ । यो जिम्मेवारी सम्हालेपछि २०७१ मंसिरमा हेटौंडामा साठीको दशकको नेपाली उपन्यास र साठीको दशकको नेपाली कथाका विषयमा गोष्ठी सम्पन्न गरियो । २०७१ माघमा काठमाडौंमा समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती विषयक गोष्ठी भयो । २०६१ चैतमा इलाममा समकालीन नेपाली नारी कथाकार र कथा लेखन प्रवृत्ति विषयक बृहत् गोष्ठी आयोजना गरियो । २०७२ वैशाखमा महेन्द्रनगरमा समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू विषयक कार्यपत्रात्मक गोष्ठी सम्पन्न भयो भने सोही साल जेठमा आख्यान स्रष्टाहरूलाई भूकम्पबाट प्रभावित भक्तपुरको स्थलगत अवलोकन गराइयो । त्यस्तै, २०७२ साल असोजमा उपन्यासकार डायमनशमशेर राणाको उपन्यासकारिताका बारेमा छलफल कार्यक्रम आयोजना गरियो र यही फागुनमा सिन्धुपाल्चोकको बाँडेगाउँमा गणतन्त्रपछिको नेपाली कथाका प्रवृत्ति विषयक कार्यक्रम सम्पन्न भयो ।

प्रकाशनको क्षेत्रमा प्रज्ञा आधुनिक नेपाली कथा भाग–३ मा प्रकाशित भएको छ । यसबीचमा अनुसन्धानका लागि केही विज्ञले यस विभागमार्फत केही कार्य गरिरहनुभएको छ । सामान्य रूपमा यस विभागबाट भएका मोटामोटी कामहरू यिनै हुन् ।

प्रस्तुति :  विवस वस्ती 

http://www.ebudhabar.com बाट साभार

बुधबार साप्ताहिक 
25th February 2016, Thursday

No comments:

Post a Comment