Thursday, March 5, 2020

कथा : पश्चिमतिर


- मातृका पोखरेल 



आकाश खुल्ला छ । बादलको एउटा टुक्रो कतै पनि देखिँदैन । जेठको खडेरी अचेल गाउँमा आतङ्कको रूपमा भित्रिएको छ । पोहोरपरार यतिबेला मकैको विरूवा घुँडाघुँडा नाघिसक्थ्यो । वल्लाघर पल्लाघरका मान्छेहरू गच्छेअनुसारको हातमुख जोडेर खडेरीले बोकेर ल्याएको दुर्दिनहरूका बारेमा सारू बुढाको आँगनमा बसेर छलफल गर्ने बेला हुन लागेको छ । सारू बुढाको आँगनमा बसेर छलफल गर्ने यहाँ एउटा चलन नै जस्तो बसिसकेकोछ । म यहाँ आउनुभन्दा पनि धेरै वर्षअगाडिदेखि नै गाउँका सबै मान्छेहरू जम्मा भएर बेलुका सुख–दुःखका कुरा गर्ने गरेका रहेछन् यो आँगनमा । अचेल टोलमा खडेरीको चर्चाले गाउँघरका अन्य समस्याहरूलाई ओझेलमा पारेको छ । सारू बुढाको घरमा अरू घरहरूमाभन्दा चाँडै खानाखाने चलन छ । जहान पनि कति पो छन् र ! सारू बुढा, बुढाकी बुहारी, नाति तिले र मेरो हिसाब गर्नुपर्दा चार जनाको परिवार ।
आज यो टोलमा अरू दिनकोभन्दा बढ्दा चहलपहल देखिन्थ्यो । नयाँ मान्छेहरू सारू बुढाको घरको बलेसी हुँदै कान्छी मगर्नीको भट्टी पसल र गुमाने सन्यासीको घरमा आउने जाने क्रम बढ्दै थियो । आज वातावरण पनि अरू दिनकोजस्तै छैन । पल्लाघरे खड्काको छोरो अमरबहादुर क्याम्पस विदामा घरमा हिजोमात्र आइपुगेका थिए । उनी आउँदा गाउँ नै रमाइलो भएको अनुभव गर्छन् यहाँका मान्छेहरू । उनले भनेको कुराले गाउँलेहरू केही पाएको महसूस गर्छन् । त्यसैले यो गाउँमा हिजोअस्तिदेखि म एक प्रकारको फरक वातावरणको अनुभव गर्छु ।
आज तिले पल्लाघर खड्का नानीको घरतिर गयो होला, होइन त मास्टर नानी ? सारू बुढा दलानको आँटबाट घस्रेर तल झर्दै भन्छन् । उनी उमेरले पनि निकै बुढा भइसके । दलानबाट तल ओर्लदा पनि घस्रनु पर्छ उनले । सारूको उमेर नब्बे जति पुगेको अनुमान गर्छन् गाउँका मान्छेहरू । आफ्नो उमेर त उनलाई पनि थाहा छैन । गाउँका कसैले उमेर सोध्यो भने उनी गुमाने जैसी जन्मिदा उसकी आमाको सुत्केरी स्याहार्न आमालाई पछ्याउँदै म जानसक्ने भइसकेको थिएँ भन्ने जवाफ दिन्छन् । गाउँ टोलमा गुमाने जैसीको उमेर पचासी वर्ष पुगेको आधारमा सारू बूढाको उमेरको लख काट्ने गरिन्छ ।
आज नौला मान्छेहरू गाउँमा थुप्रै छन् त दाहाल सर । तपाईं चिन्नु हुन्छ ? मैले आफू बसेको फलैंचाबाट पछाडि फर्किएर हेरें, तिले गाउँतिर घुमेर आइपुगेको रहेछ । तिलेको सोधाइमा केही अस्वभाविकपन झल्किन्थ्यो । अचेलभरि यस्तै कुरामा ऊ बढी ख्याल गर्न थालेको थियो ।
म त कसैलाई पनि चिन्दिन । मैले उसलाई भनें ।
तिले मेरो सानैदेखिको विद्यार्थी । म पूर्वी पहाडको मान्छे । शिक्षक जागिर खान यो गाउँमा आएदेखि तिलेलाई पनि घरमा पढाइ दिन भनेर सारू बुढाले आफ्नो घरमा बसिदिन आग्रह गरेका थिए । त्यसबेलादेखि मेरो यो मगर परिवारसँगको सम्बन्ध प्रगाढ बनेर गयो । केही समयदेखि तिलेसँग मेरो वैचारिक सामिप्यता पनि बढ्दै थियो ।
आफ्ना कक्षाका विद्यार्थीहरूमध्ये पढाईमा तिले तेज छ । यो गाउँमा उसको पढाइ पनि सिद्धिन थाल्यो । मलाई थाहा छ – पढ्न चाहेर पनि तिले यहाँभन्दा माथि पढ्न सक्दैन । गाउँभन्दा टाढा गएर उच्चशिक्षा आर्जन गर्ने उसको आर्थिक हैसियत छैन ।
तिलेको उमेर पन्ध्र–स्रोह वर्षको भए पनि व्यवहारमा ऊ पाको जस्तै लाग्छ । सारू बुढा तिलेको बारेमा भन्ने गर्छन् – तिले वर्षीको हुँदा उसको बाउ भिरबाट लडेर मर्‍यो, आमा लाटी छ । म ओरालो लागेको घाम, उसले कहिले केटाकेटी भएर पनि हुनै पाएन । हिजोआज तिले मलाई अलि फरकजस्तो महसूस हुन थालेको छ । अलि प्रष्ट कुरा गर्छ । तिलेका कुराहरूले मलै पनि बाटो देखेको वोध गर्न थालेको छु । गुमाने सन्यासीसँग गाउँका धेरै मान्छे डराउँछन् तर तिले सबैका अगाडि उसको विरोध गर्छ । शोषकहरूको विरूद्ध सबै मिलेर लाग्नुपर्छ भन्छ । यही आँगनमा धेरै मान्छेहरूको माझमा हामी मिलेर काम गर्न नसक्दा उसले हामीलाई अत्याचार गरेको हो भन्छ । तिलेको कुरा सुनेर सारू बुढा कहिलेकाहीँ खुसी हुन्थे भने कहिलेकाहीँ डराउँथे र मसँग तिलेलाई सम्झाइदिन आग्रह गर्थे । बारम्बार सारू बुढाको मुखबाट एउटा भनाइ निस्किरहन्थ्यो – मास्टर नानी ! जहिले पनि उनीहरूकै हात माथि छ ।
पूर्णिमाको जूनले पश्चिम पहाडका थुम्काहरू मान्छेका टाउकाहरूको तरेली जस्तै देखिन्थे । जूनको उज्यालो सारू बुढाको आँगनभरी पोखिएको छ । तल्ला गाउँमा कुकुर रोएको आवाजले चेप्टे खड्का हड्बढाउँदै भन्छन् – अब गाउँमा के अनर्थ हुने भयो सारू दाइ ?
अनिकालले मारिएला नि खड्का नानी ! नब्बे सालको भूईँचालोमा पनि यसरी नै कुकुर रून्थ्यो । सारू बुढाले पनि खड्काको भनाइमा स्वीकृतिमूलक टाउको हल्लाउँदै भने ।
सारू बुढाको आँगनमा मान्छेहरू जम्मा हुँदैछन् । सधैंको जस्तै कुरा शुरू भयो । आउने मान्छेहरूको सङख्या हेर्दै तिले आँगनमा गुन्द्रीहरू थप्छ । यस्तैमा एक हुल अचिनारू मान्छेहरू लर्खरिएका खुट्टाहरूले बाटो तलमाथि टेक्दै सारू बुढाको घरको आँगन हुँदै गुमाने जैसीको घर ताकेर गए । आँगनमा बस्नेहरू प्रत्येकलाई उनीहरूले एकएक गरेर हेर्दै गए । तिनीहरू बारीको कान्लो काटेर नझरूञ्जेल आँगनमा बस्नेहरू केही बोलेनन् ।
को हुन् ए ! यिनीहरू ? धने घर्तीले आँगनको मौनतलाई तोड्यो ।
मैले त बिहानैदेखि नै यिनीहरूलाई देखिराछु । पल्ला टोले घर्तीनी भाउजुका जाँड र रक्सी खाँदै थिए । लाजभाँड बोल्न केही बाँकी राख्या थिएनन् । तिलेले अम्बरबहादुरसँग केही धारणा लिने विचारले ऊतिरै हेर्दै भन्यो ।
गाउँमा यसरी नचिनेका मान्छेहरू पहिले पहिले जिल्लाका कार्यालयहरूबाट कामको लागि खटिएर आउँथे । आज पनि गाउँलेहरूले त्यही हुनसक्ने विश्वास व्यक्त गरे । चेप्टे खड्काले सानो स्वरमा गुमाने सन्यासीले अड्डाबाट कर्मचारीहरू ल्याएर के विध्वंश गर्न लाग्योसम्म भने । दशबाह्र जनाहरूको बीचमा ती नयाँ मान्छेहरूको बारेमा निकै रातिसम्म सानो स्वरमा छलफल चलिरह्यो ।
रात छिप्पिदै गएपछि सारू बुढा आफू सुत्न माथितिर चढे । आज अम्बरबहादुरको कुराले गाउँलेहरूलाई निक्कै प्रभाव पारेको देखियो । त्यसमाथि पनि तिलेले आफ्ना गाउँका समस्याहरूलाई उसका कुराहरूसँग जोडेर उदाहरण दिने काम ग¥यो । तिलेका बीचबीचका कुराहरूले गाउँलेहरूलाई बुझ्न धेरै मद्दत पुगेको देखिन्थ्यो । मैले पनि आज अम्बरबहादुरमार्फत् शहरको राजनीति बुझ्ने मौका धेरै पाएँ । केही बेरपछि सबै मानिसहरू आ–आफ्ना घरतिर लागे ।
सारू बुढाको निद्रा अचेल पातलिँदै गएको महसूस गर्छु म । मेरो सुत्ने ओछ्यान सारू बुढाको कोठासँगै जोडिएको छ । वल्लोपल्लो भए पनि एउटै कोठाजस्तो । बीचमा बाँसको भाटाले बारिएको छ । पल्लो कोठामा बुढाका सबै क्रियाकलाप म सहजै देख्न सक्छु । उमेरमा त उनी खालि भूईमा पनि तुरून्त निदाएका कथाहरू कहिलेकाहीँ मलाई सुनाउँथे । अचेल राति ओछ्यान कोठामा गएपछि हुक्का तमाखु तान्दै एकदुई घण्टा त्यसै बसिरहन्छन् उनी । कहिलेकाहीँ टुकी बत्ति नहुँदा अँध्यारोमै बसेर पनि रातको बाह्र–एक बजाउँछन् । बत्तीको प्रकाशमा आफू लाहुरबाट आउँदा ल्याएका पुराना सामानहरू प्रत्येक रात खोतल्छन् । उनी ती सामानहरू खोतल्दा आफ्नो पुरानो लाहुरे जीवनका गौरवहरूमा डुब्थे । प्रायःजसो बेलुका आफूले लाहुरबाट आउँदा ल्याएको पुरानो फिलिप्स रेडियोबाट अलइण्डिया कार्यक्रममार्फत् प्रसारण हुने – नेपाली परिवारलाई भारतीय नेपाली सेनाहरूले पठाएको सन्देश वल्लाघर–पल्लाघरका युवायुवतीहरूलाई राखेर सुनाउँथे । गाउँका मान्छेहरूले उनले सुनाएका पुराना कहानीहरू चाख मानेर सुने भने उनी साह्रै खुसी हुन्थे ।
देख्नेहरू अझै पनि भन्दैछन् – सारू बुढाले आफ्नो जीवनकालमा त्यसबेला पश्चिम नेपालतिरबाट लाहुर जानेहरूमध्ये सबैभन्दा धेरै सम्पत्ति कमाएका थिए । तर आजको पीढीले यो कुरा सुन्दा बुढाको जीवनमाथि मजाक गरेजस्तो लाग्छ । बुढापाकाहरू गुमाने सन्यासीको सबै सम्पत्ति सारू बुढाको हो भन्दछन् अझै पनि ।
बाबुबाजेले नै जोडिदिएको दुईतीन हलको पाखो बारी, काँसको केही थाल, बटुका र भाँडाहरू, लाहुरबाट आउँदा ल्याएको ऊनीका दुईचार वटा पुराना कम्बलहरू, एउटा पुरानो फिलिप्स रेडियो, एउटा पुरानो टिनको बाकस, एक हल गोरू र सुँगुरका दुईतीनवटा पाठाहरू, केही थोत्रा थाङ्ग्रा कपडाहरू, बस ! सारू बुढाको सम्पत्ति यही हो भन्दा हुन्छ ।
अस्ताउँदो जूनको प्रकाश सारू बुढाको कोठासम्मै छिरेको छ । बाँसको भाटाले बारेको भित्ताबाट म देख्दैछु – सारू बुढा चुपचाप बसेर हुक्का तान्दैछन् । रातको निस्तब्धताले त्यति टाढा घान्द्रुक खोला पारी पाखामा कराएको स्यालको आवाज टड्कारै सुनिएको छ । म विस्तारै रातको सन्नाटाभित्र भट्टी पसल र गुमाने सन्यासीको घरसम्मको बाटोहरूमा बुट जुत्ता बजेका आवाजहरु बाक्लिएको महसूस गर्छु । सारू बुढा किन त्यति सुन्दैनन् । घरको बलेसीबाट बुट जुत्ताको कडा स्वर अगाडि बढेपछि यसो मेरो कोठातिर फर्किएर हेर्छन् ! सोध्छन् – मास्टर नानी निदाउनु भयो ?
अहँ निदाएको छुइँन, मेरो शब्द उनी बुझ्छन् कि बुझ्दैनन् तर स्वर सुनेर आफ्नै एकाग्रतामा बूढो लालटिनतिर फर्किएर मौन हुन्छन् । मेरो स्वर सुनेर सारू बुढाले सादर मानेको महसूस गर्छु म । रातको छिप्पिने क्रमसँगै मानिसका क्रियाकलापहरू बढेका आवाजहरू बाक्लिन थालेका छन् । गुमाने सन्यासीका गोठालाहरूले हुनुपर्छ – तल्लो गाउँको भट्टीपसलबाट ल्याएका जर्किनहरूमा रक्सी छचल्किएको आवाज पनि प्रष्ट सुनिन्छ । रक्सीको लागि सितन हुनुपर्छ, घरघरमा कुखुराहरू खेद्दा आएको आवाजले गाउँभरिका कुकुरहरू एकै साथ भुक्छन् । फेरि म मनमनै विचार गर्छु – यी मान्छेहरू यो गाउँमा निको चालले आएका छैनन् ।
गाउँको यो हल्लासँग सारू बुढा बढि त्रस्त देखिन्छन् । यो स्थितिप्रति तिले बेलुकैदेखि भयभित देखिन्थ्यो । तसर्थ, मसँग केही सल्लाह गरेर यहाँ नसुतेर अन्तै गयो । मेरो मन, तिलेले दिन लागेका जिम्माका कष्टपूर्ण दुर्दिनहरू कल्पना गर्छ । यो गाउँमा बस्न खतरा सम्झेर भोलिपर्सिदेखि तिलेले यो गाउँ छाड्दैछ । तिले त आजैदेखि यो गाउँमा बस्नु हुँदैन भन्थ्यो अमरबहादुरसँग । अमरबहादुरले आजै खतरा छैन भनेपछि ऊ आजभोलिसम्म यो गाउँमा बस्न राजी भयो ।
मास्टर नानी ! मास्टर नानी !!
के भयो हँ ? झकाएको अवस्थामा गोली पड्किएको आवाजले म ब्यूँझिए र स्थिति बुझ्ने प्रयत्न गरें । सारू बुढा बाँसको भाटाको कापबाट मतिर हेर्दै अतालिएको स्वरमा कराउँदै रहेछन् ।
ए केटा हो वरिपरि घेर – टर्चको उज्यालो छानातिर फाल्दै एउटा मान्छे बुद्रुक्क तलबाट माथि तलामा चढ्यो । उस्लाई पछ्याउँदै आउने पछिल्तिरको मान्छेले तिले सुत्ने कोठा देखायो र भन्यो – यही हो मगर केटो सुत्ने कोठा ।
ढ्याङ्, ढ्याङ्, ढ्याङ् । बाँसको भाटामा वरिपरि भोर्लाको लहराले बाँधिएको ढोका गल्र्याम्म ढल्यो । ढोका तिलेकी आमाको शरीरमा बज्रिएको अनुमान गर्न सकिन्थ्यो त्यसबेला । उसको चिच्याहटले सारा गाउँ थर्किएको महसूस हुन्थ्यो ।
मास्टर नानी, तिले कहाँ छ ? यतिबेला बुढाको स्वर मधुरो र मलिन थियो । स्थितिलाई एक प्रकारले मैले बुझिसकेको थिएँ । केही मानिसहरू बाहेक पछिल्तिर प्रहरीहरू आफ्ना पोशाकमा थिए ।
गुमाने ! गरिबका छोराहरूले गरेको देखिसहिनस् होइन त । थर्थराएको स्वरले गुनगुनाउँदै सारू बुढा खाटबाट मचानको मूल खाँबो समाउँदै बाहिर निस्किए ।
एकै छिनमा सारू बुढाको आँगनमा सिक्री बाँधिएका चेप्टे खड्का, खड्काकी श्रीमती, खड्काका दुई छोराहरू ल्याइए ।
मेरो छोरालाई मारिहालेऊ, मलाई पनि मार न । अचेत अवस्थामा खड्का कड्किँदै थिए ।
जूनको उज्यालोले कान्लामाथि उभिएका मानिसहरू प्रष्ट चिन्न सकिन्थ्यो । गुमाने सन्यासी आफ्ना आउरे बाउरे र पुलिसहरूको कान फुक्दै गरेको देखिन्थ्यो ।
ती सबै आतङ्कवादीहरू हुन् इन्स्पेक्टर साप ! कान्लामाथिबाट ठूलो स्वरमा गुमाने चिच्यायो ।
आँगनमा उभिएको इन्स्पेक्टरले मचानमा चढ्ने पुलिसलाई आदेश दियो – माथिका सबैलाई खँदारेर तल झार ।
यतिबेला भित्ताको सहारा लिँदै सारू बुढा कोठा बाहिर आइपुगेका मात्र के थिए, पुलिसहरूले लछारपछार गरेर एकै सासमा आँगनमा पु¥याए ।
सारू दाइ ! अमरबहादुर र तिलेलाई मारिहाले । खड्काले डाँको छाड्दै सारूलाई अँगालो हाले ।
मलाई पनि अपमानित व्यवहारका साथ आँगनमा पु¥याइयो ।
गुमाने ! गरिबको छोराछोरी पढेको पनि देखिनस्, गरेर खाएको पनि देख्न सकिनस्, यो अन्यायको फल पनि तैले चाँडै भोग्नु पर्छ बुझिस्, अब तिले र अमरेको रगतले विपनामा मात्र होइन सपनामा पनि तँलाई पिर्छ । रूँदै कान्लामाथि फर्किएर सारू बुढाले गुमानेलाई धारे हात लाए ।
गुमाने यतिबेला निरूत्तर उभिएको थियो । ऊभित्र आफ्नो अपराधीपनको पश्चाताप छ कि छैन, तर अहिलेसम्म आफूले भोगेको मानसिक पीडाको उपचार भएको अनुभूति भने पक्कै थियो ।
यतिबेला पुलिसहरू निर्ममतापूर्वक लठ्ठी वर्षाइरहेका थिए । गुमाने कान्लाबाट तल आँगनमा उत्रियो र एकपटक मतिर हे¥यो । इन्सपेक्टरलाई एकान्तमा लगेर केही कुरा फुस्फुसायो ।
भोलिदेखि फेरि यिनीहरू जस्तैको पछि लागिस् भने तँलाई पनि तिले र अमरेका झैं गोलीले उडाइदिन्छु ।
म मौन हुन्छु । मेरो मौनतालाई उसले कुन अर्थमा बुझ्यो, मैले उसको अनुहारमा जाँच्ने कोशिस गरें ।
इन्स्पेक्टर साब ! यो चाहीँ स्कूलको मास्टर हो, आजलाई छाडिदिऊँ ! इन्स्पेक्टरतिर फर्किएर गुमानेले भन्यो र त्यहाँबाट तुरून्त अन्त जान उर्दी ग¥यो ।
तेरो सामानहरू कुन कुन हुन् ? प्रहरीले मलाई एउटा हातमा समाउँदै सामानहरू राखिएको थुप्रोतिर लग्यो । मैले आफ्नो झोला र केही किताबहरू टिपें । मलाई अब अन्त गइहाल भन्दै एउटा पुलिसले बारीको डिलमा पु¥याएर फक्र्यो । मभित्रको पीडाले आफूले तत्काल गर्ने काम सोच्न सकिनँ । म सरासर स्कूल नजिकको घरमा गएँ, जहाँ शिक्षक साथी रामदेव बस्थ्यो । ऊ पनि डिलमा उभिएर आवाज आएको स्थानतिर फर्किएर हेरिरहेको थियो ।
बिहान उज्यालो भूईमा नझर्दै शिक्षक साथी रामदेव यादवलाई लिएर बाहिर निस्केर हेरें, सारू बुढा र चेप्टे खड्काको घरले गाउँका अरू घरहरूलाई हिजोको घटना सुनाइरहेझैं लाग्यो । आँपगैह्रामा यतिबेलै एउटा आवाज आयो । पधेर्नीहरू बाटो छाडेर माथिल्तिर लागे । सारू बुढा, तिलेकी आमा, चेप्टे खड्का प्रहरीहरूको घेराभित्रबाट गाउँलेलाई हेर्दै हिँड्दै थिए । तिले र अमरबहादुरको लास त्यहाँ थिएन । कुप्रो शरीरमा पछिल्तिर हात राखेर सारू बुढा हिँड्दा पुलिसहरू उनलाई लठ्ठीले धकेल्थे । यो दृष्यले झन् हामीभित्रको पीडालाई नूनमाथि चुक छर्कने काम ग¥यो । हामीले धेरै बेर उभिएर हेरिरह्यौ । अर्खौले पहराको थुम्कोसम्म अलिअलि देखिँदै गरेको उनीहरूको आकृति विस्तारै लोप हुँदै गयो ।
दुई दिनपछि रेडियो नेपालले यो घटनाको खबर प्रसारित ग¥यो – रोल्पा जिल्लाको अर्खौले गाउँमा आतङ्कवादी गतिविधिमा संलग्न केही व्यक्तिहरूले गस्तीमा गएका प्रहरीहरूमाथि आक्रमण गर्दा तिलकबहादुर राना मगर र अमरबहादुर खड्का नाम गरेका दुईजना उग्रवादीहरूको प्रहरीहरूले आत्मरक्षाका लागि चलाएको बन्दूकबाट मृत्यु र अरू पाँच आतङ्कवादीहरू प्रहरीको कब्जामा ।




(साथी, वर्ष–१३, अङ्क–५)

No comments:

Post a Comment