Thursday, March 5, 2020

कथा : सन्त्रस्त आँखाहरु

- मातृका पोखरेल 



उनीहरू पिप्चाइ फेदीको सुनकोशी किनारनेर आइपुग्दा दिउँसोको करीब १२ बजेको थियो । पश्चिम उत्तरपट्टि रहेको भुङजु डाँडामाथिको आकाशमा बादलको सानो थेग्लो स्थिर भएर बसेको देखिन्थ्यो । यही ठाउँबाट उनीहरू सुनकोशीको गढतिर छाडेर उकालो चढ्छन् । दशैं तिहारको मुखमा यो बाटोमा ढाकर बोक्नेहरूको ताँती जुलुश हिँडेजस्तै देखिन्छ । हिँउदका अरू महिनाहरू पनि यो बाटोमा ढाक्रेहरूको बाक्लै लाम भेटिन्छ । वर्षा लागेपछि यो बाटोमा मान्छेहरूको चाप स्वाट्टै घट्छ । बाटो हिँड्ने मान्छेहरू घटेपछि कोशी किनारका गाउँहरू स्वरूङ दोभान, निवुवाटार र कुनाइका मानिसहरूको आयस्रोत पनि घट्छ । यही बाटोका कारण यी गाउँहरूमा खेतीबाट जीविकोपार्जन गर्नेहरू अत्यन्तै थोरै छन् । मूलबाटो भएको कारण व्यापार नै उनीहरूको प्रमुख आयस्रोत बन्यो ।
सर्पझैं कुङलिङ पर्दै घुमेको पिप्चाई उकालोमा मध्य दिउँसोको चर्को घामले आँखालाई नै तिरमिरतिरमिर पार्ने गर्छ । पिप्चाई फेदीमा रहेको सीमलको रूख बाहेक हरियोको कतै नामनिशाना छैन । खडेरीले सबै डाँडाकाँडाहरू यतिबेला कोशीपारी राजदहको पहिरोझैं उजाड देखिन्छन् ।
सुनकोशी नदीको कर्कश आवाज कतै नरोकिइकन एकनासले बजिरहेको छ ।
आज त भात खाने बेला टरिसक्यो है माइला ! हाम्रो टाउकै माथि पो बसेको छ घाम । भारीमा टेको लाउँदै आकाशतिर हरेर रनेम्पाले भन्यो ।
यति ढिलो त कहिल्यै पनि भएको थिएन । रनेम्पाको आवाज सुन्ने बित्तिकै मन्जितेले पनि आफ्नो भारीलाई टेको लाउँदै सहमति जनायो ।
यसैपटकदेखि आफ्नो जेठो छोरो रनशेरलाई भारी बोक्न सिकाउनका लागि उसले कटारी लिएर आएको थियो । रनशेर उमेरले यही फागुनमा मात्र एघार वर्ष पुग्यो । गाउँको स्कूलमा तीन कक्षासम्म पढेपछि ऊ घरको काममा लाग्यो ।
रनेम्पा ! सानो भए पनि तेरो छोरो निकै कडा छ जस्तो छ । आफूहरूभन्दा निकै अगाडि पुगिसकेको रनशेरपट्टि औंल्याउँदै मन्जितेले रनेम्पालाई फुक्र्यायो ।
रनेम्पाले सुनकोशी किनारको तेर्सो बाटोमा आफ्नो आँखालाई परैसम्म ओछ्यायो । छोटो कदको रनशेर कोशीको बगर छेउमा सानो ढाकर बोकेर हिँड्दा चामलको विस्कुनमा घुनकिरा दौडेजस्तै देखिन्थ्यो । रनशेर पिप्चाई फेदिमा देखिएको सिमलको रूखतिर लक्ष्य गरेर दौडिरहेको थियो ।
बिसाउने ठाउँ पनि आइपुग्यो है माइला । आफ्नो टेकोलाई ढाकर माथि सिउरिदै मन्जिते अघि बढ्यो ।
के हाम्रो डाँडामाथि पनि मोटर कुद्छ त माइला ? स्वरूङ दोभानमा भरखर कटारीबाट बनाएर ल्याएको फिलिप्स रेडियोबाट विहान सुनेको समाचारले उकुसमुकुस भएर मनभित्रको गुम्फित पीडालाई रनेम्पाले मन्जितेका सामुन्ने पोख्यो । विहानै सुनेको रेडियोको समाचारले शेरमानको हिडाइको गतिलाई नराम्ररी खुम्च्याइदियो । अलिकति त उसलाई आफ्नै रेडियोसँग रिस उठ्यो । आज यसले कस्तो अशुभ समाचार सुनायो ? हाम्रो गाउँको डाँडामा मोटर कुद्यो भने हामीले कहाँको भारी बोक्ने ?
यही बाटोमा भारी बोकेर उनीहरूले जीवनको सम्पूर्ण जस्तो कालखण्ड बिताए । शेरमान र मन्जिते समवयका, सँगसँगै हुर्केर बढेका । उनीहरू आफ्ना बाबुहरूसँग सानै उमेरदेखि सँगसँगै भारी खेप्न कटारी आउथे । अर्थात् भारी बोक्न सिक्थे । कटारीबाट सोलुखुम्बुसम्म भारी पुर्‍याउन करीब नौदश दिन लाग्थ्यो । यो लामा बाटोमा उनीहरू प्रायः सँगसँगै हुन्थे ।
सुनकोशीको किनारैकिनार हिड्दा थाकेर यस ठाउँमा आइपुगेपछि ऊ साह्रै आनन्द मान्थ्यो । कटारीबाट भारी बोकेर उसका साथीहरूसँग प्रायः ऊ तेस्रो दिनमा यहाँ बास बस्न आइपुग्ने गथ्र्यो । हिउँदका कैयौं महिनाहरूमा यही निर्जन ठाउँमा कहिलेकाहीँ ऊ एक्लै पनि बास बसेको थियो । घरबाट कटारी जाँदा यही ठाउँमा आएर एकछिन बसेर थकाइ माथ्र्यो र कोशी नदीको पानीमा कोदोको जाँड घोलेर खान्थ्यो । कोशीको पानीमा जाँड घोलेर खाँदा ऊ बेग्लै र मीठो स्वाद पाएको अनुभव गर्थ्यो।
वैशाख महिनाको मध्य घाम जताततै वातावरण तातो छ । बादलका थेग्लाले घामलाई छोपेर ल्याएको शीतलपन कुनै कुनै बेला घुम्दै आइपुग्थ्यो ।

च्यास्सीटार हाम्रो देशको औसत नेपाली गाउँमध्ये एक हो । आफ्नो खेतीले यहाँका मानिसहरू मुस्किलले तीन महिना खान्छन् । बाँकी महिनाहरू कटारीबाट सोलुखुम्बु, ए‌सेलुखर्क, ओखलढुंगा, रूम्जाटार, दिक्तेलसम्मको भारी बोक्छन् र जीविकोपार्जन गर्छन् । अन्नपात उब्जन उपयुक्त मौसम पर्खनुपर्छ । मकै र कोदो यहाँको मुख्य बाली हो । कहिलेकाहिँ त खडेरीले त्यसलाई पनि खाइदिन्छ । त्यसपछि गाउँमा अनिकाल पस्छ त्रासद रूप बोकेर । त्यसले बृद्ध, केटाकेटी कोही पनि भन्दैन । त्यसपछि सबै कटारी जान्छन् भारी खोज्न । कति घरमा त मानिस नभएर दैलो नै लाग्छ ।
उनीहरूका पूर्खा यो ठाउँमा कहिलेदेखि बसेका हुन् सबैले अनुमान मात्रै गरेका छन् । भुङजु डाँडाको वरिपरिमात्र तिलुङ्गे राईहरूको बस्ती छ । गाउँघरमा पढेका भाइभतिजाहरूले भनेको सुनेको हो उसले । तिलुङ्गे राईहरू टाढामा दुक्र्षिम गाउँसम्म फैलिएका छन् । तर उसले आफ्ना पूर्खाहरूलाई जति सुन्यो र देख्यो – उसका जिजुबाजेहरूले चिसापानीदेखि ओखलढुंगा दिक्तेलसम्म भारी खेपेको थुप्रै कथाहरू ऊ अहिले पनि सम्झिरहन्छ । उसको बाबुको पालामा कटारीमा बजार बनिसकेको थियो । कटारी बजार बनिसकेपछि मात्र ऊ भारी बोक्न सक्ने भएको थियो । त्यसपछि कटारीबजारदेखि पूर्र्वी मध्य पहाडका बजारहरू र केही गाउँहरूमा विकासे सामग्री ओसार्नु उसको मुख्य कर्म बन्यो ।
अलिअलि घुम्रिएको कपाल, पुड्को जीउडाल, अलिक बढ्ता थेप्चिएको नाक, गोरो अनुहार जुठो भाँडो माझिसकेर कोशी नदीतिर हेरिरहेको आफ्नो छोरो रनशेरलाई रनेम्पाले एकटक लाएर हेर्छ । छोरोलाई हेर्दाहेर्दै ऊ आफ्नो श्रीमती सम्झन्छ । रनशेर वर्षीको नपुग्दै उसकी श्रीमतीलाई ज्वरोको दुईदिने व्यथाले लग्यो । त्यो वर्ष कति कहालीलाग्दो थियो । अनिकालले गर्दा जिल्लामा आगै लागेको थियो । भोकको महामारीका कारणले कटारीबाट ल्याएको भारी बाटैमा लुटिन्थ्यो । उसको भारी पनि एकपटक स्वरूङ दोभानमा लुटियो । झण्डै ज्यान नगएको । सम्झँदा पनि डरलाग्छ उसलाई त्यो घटना । त्यो अनिकालको मुखमै उसले आफ्नो बाबु गुमायो । बाबुको एक्लो छोरो ऊ । भोकमरीको डरलाग्दो अवस्थामा बाबुको काजकृया गर्न पनि सकेन उसले । त्यतिबेलाको घटना सम्झँदा ऊ नराम्ररी छटपटिन्छ । त्यसको तीनै महिनापछि उसकी स्वास्नी मरी । दशाले एकैचोटि घेर्दोरहेछ । उसले यस्तै अनुभव बोकेको छ जीवनमा ।
यो बाटोमा मोटर कुद्यो भने हामी के गर्ने त माइला ? बिहानै सुनेको समाचारले पारेको पीडालाई केही खुकुलो पार्न रनेम्पाले मन्जितेसँग फेरि जिज्ञासा पोख्यो ।
के कटारीमा कुदेजस्तो मोटर हाम्रा गाउँमा पनि आउँछ त आप्पा ? मन्जितेले केही भन्न नपाउँदै रनशेरले अचम्म मान्दै आफ्नो बाउसँग सोध्यो ।
आज विहान सुनिनस् रेडियो ? रनेम्पाले छोरालाई झाँट्यो ।
हाम्रो डाँडापाखामा मोटर कुदे त यो दुःख हामीले गर्नै पर्दैनथ्यो नि । चुनावमा भोट माग्न आउने नेताले हल्ला चलाएका होलान् नि ! अब त चुनाव आउने बेला भा छ क्यार ! यस्तो हल्ला त मैले पञ्चायती राजमै कतिपल्ट सुनिसकेको थिएँ । मन्जितेले निराश भावमा यो कुरालाई उडाइदियो ।
यो डाँडामा मोटर कुद्ने हो भने यो मन्जिते के खाँदो हो ? कहाँबाट भारी खेपेर खान्छ । कटारीबाट भारी बोकेर पो छाक टार्न पाएको छ । नत्र मेरो जस्तै यसको पनि त्यही दुई, तीन हलको पाखो बारी न हो । मन्जितेको कुराले रनेम्पालाई अचम्म लाग्यो । यो कुरा उसले बाहिर भन्न नसकेर मनमनै राख्यो ।
रनेम्पाले मनमनै चिन्ताको सगरमाथा फेरि अग्ल्यायो ।
हाम्रो गाउँमा पनि मोटर कुदे त कस्तो आनन्द आउँथ्यो हगी । ढुंगामा बसेर रनशेरले उही जिज्ञासा दोहोर्‍यायो ।
रनशेरले यसपटक कटारीमा पहिलोपटक मोटर देख्यो । साँच्चै अचम्म लागेको थियो उसलाई । घरजस्तै पो हुँदोरहेछ त अप्पा भन्दै गुडिरहेको मोटरलाई ढाकर बोकेर पछ्याएको थियो उसले । ऊभित्र आफ्नो बाबुको कुराले आज नयाँ कौतुहलताको सृजना भयो ।
के त्यस्तो घरजस्तो मोटर पनि हाम्रा गाउँमा आउँछ छ ! कसरी हिँड्ला यो उकालो । अनि हामी त्यसैमा चढेर परसम्म जाने हो त ! रनशेरलाई भित्रैदेखि विश्वास लागेन ।
रनशेरलाई घर पुगेर यो सबै कुरा आफ्ना साथीहरूलाई सुनाउने ठूलो रहर छ । उसका समवयका थुप्रै साथीहरूले मोटर देखेकै छैनन् । अझ आप्पाले सुनाएको खबर सुनाउनका लागि घर पुग्न ऊ साह्रै हतारिएको छ ।
साँच्चै आउँछ त आप्पा ! हाम्रा गाउँमा कटारी जस्तो मोटर । रनशेरले आफ्नो बाबुको कुरालाई पछ्याउन छाडेन ।
यसरी धेरै सवाल जवाफ नगर्ने र धेरै नबोल्ने छोराको यो हठसँगै उसलाई भित्रभित्रै नराम्रोसँग रिस उठ्यो । आफ्नो गाउँमा मोटर कुदिदेला र यही भारी बोकेर खाने काम हरिने हो कि भन्ने डरले आज विहानदेखि उसलाई लखेटिरहेको थियो । अझ छोराको प्रश्नले र मन्जितेको भनाइले ऊ भित्रको मन नराम्ररी चिमोटियो ।
यो गाउँमा मोटर कुदेर साहुको सबै भारी बोक्यो भने के खाँदा हुन् यी मुर्दाहरू । बाहिर व्यक्त गर्ने आँट नगरेपनि रनेम्पाले मनमनै कल्पियो ।
ओहो ! दिन त ढल्किसकेछ । भित्तैभरि ठोकिएको घामले गोहोरोको छालझैं टल्किएको पिप्चाई उकालोतिर हेर्दै रनेम्पाले सम्झायो ।
रनेम्पाका लागि आजको दिन अरू दिनजस्तो छैन । घाम पनि अरू दिनको भन्दा बढ्तै चर्को छ । सिमलको छहारी पनि अरू दिनको जस्तो शीतल छैन । उसलाई कहिले पनि दिन यति नरमाइलो लागेको थिएन ।


No comments:

Post a Comment