Thursday, March 5, 2020

कविता : सिंहदरबार

- मातृका पोखरेल 

मलाई,
सिंहदरवार र जादुघर
उस्तैउस्तै लाग्छ ।


सहिदको केसबाट बनेको
एउटा बख्खु ओढेर
उनीहरु सिंहदरबार पसे
यतिबेला म,
त्रस्त आँखाले
सिंहदरबारको गेटमा हेरिरहेको छु
हिजोझैँ,
अब उनीहरु फर्कंदा
ब्वाँसोको छाला ओढ्छन कि ओढ्दैनन् ?
अचेल कति फेरियो सिंहदरबार
हाम्रो गाउँ र बस्तीहरु सँगसँगै
म उसको चलनसँग त्रस्त छु ।


सिंहदरबार सहरमा छ
उसको शक्तिसँग
आजित छ मेरो गाउँ,
उ नुन बोक्ने ढाकर दिएर
एउटा नाइके सिंहदरबार पठाउँछ
नाइके ढाकरमा सुन बोकेर
सिंहदरबारको छेउमै बास बस्छ
मेरो गाउँ,
अनिकालको रासन खेप्न
एउटा बोरा दिएर
अर्को नाइके सिंहदरबार पठाउँछ
सिंहदरबार, उसको टाउकोको मोल गर्छ
नाइके सिंहदरबारको छेउतिरै थात जोड्छ
मैले सुन्दै आएको र
इतिहासमा पढ्दै आएको सिंहदरबार
एउटा कुशल जादुघर हो
त्यहाँभित्र पुगेपछि
मान्छेको रङ्ग फेरिन्छ
स्वभाव फेरिन्छ
अर्थात् ऊ सिङ्गै फेरिन्छ ।


मलाई,
सिंहदरवार र जादुघर
उस्तैउस्तै लाग्छ ।


मधुपर्क मासिक, २०६३ पुस

----------------------------------------------------------------

No comments:

Post a Comment