Thursday, March 5, 2020

कविता : मान्छेहरूको भर्‍याङ


- मातृका पोखरेल 


पर्यटकहरूले
सगरमाथा चढेझैँ
उनीहरूले चढिरहे
हाम्रा करङहरूको भर्‍याङ  ।

निरन्तर चढिरहे उनीहरू
हाम्रा करङहरूको भर्‍याङ 
हजारौँ वर्षदेखि
वा त्यो भन्दा पहिले
लाखौँ वर्षदेखि
हामी उनीहरूका लागि
मात्र भर्‍याङ हुन बाँचेको जस्तो
हाम्रो आफ्नो जीवन नभएजस्तो
हामी मान्छेहरू,
सधैँभरि
मतदान केन्द्रको तातो घाममा
लाइन लागिरहने
मात्र भर्‍याङजस्तो
उनीहरूको आँखामा
हामी सधैँ भर्‍याङ  जस्तो ।

पहिले पहिले
निक्खर कालो  रात थियो
हामी भर्‍याङ  भयौँ भन्न पनि नपाइने
अहिले केही हटेको छ कालो रात,
तर भन्छन् उनीहरू,
अहिले उज्यालो छ
हामी भर्‍याङ  हौँ भन्न सम्म पाइने ।
उनीहरूको उज्यालोमा,
हामी भर्‍याङ  हौँ भन्न पाइने
तर भर्‍याङबाट मुक्ति नपाइने ।

हामीलाई
भर्‍याङबाट मुक्त भएको
हेर्न चाहँदैनन् उनीहरू
बरु चाहन्छन्
डेकेन्द्र राजवंसीले  गरेझैँ
हामी सबैको आत्महत्या
उनीहरू भित्रैबाट चाहन्छन्न् अबोध बच्चाहरूसँगसँगै
भोकले छट्पट्एिर
कर्णालीका अविभावकहरूले गरेको जस्तो
हाम्रो पनि सामूहिक आत्महत्या
तर उनीहरू चाहँदैनन्
भर्‍याङबाट हाम्रो मुक्ति ।

मान्छेलाई भर्‍याङ बनाउने मान्छेहरू,
भर्‍याङ  नै भर्‍याङले उठाएको मुठ्ठी
भर्‍याङ नै भर्‍याङले लगाएको जुलुस
भर्‍याङ  नै भर्‍याङले उरालेको भाषण
भर्‍याङ  नै भर्‍याङले चलाएको क्रान्ति
कति शक्तिशाली हुन्छ
मान्छेलाई भर्‍याङ  बनाउने मान्छेहरू
अब हेर तिमीहरूले
आँखा खोलेर हेर
इतिहासका पन्नाहरूमा आँखा रगडेर हेर,
काठका भर्‍याङलाईझैँ
तिम्रा पाषाण खुट्टाहरूले
लामो समयसम्म
अब टेकिरहन सक्दैनन्
मान्छेका करङहरूको भर्‍याङ ।


(२०६७ साल वैशाख ४ गते २०२८ सालको झापा आन्दोलनका योद्धा डिकेन्द्र 
राजवंसीले ने.क.पा.(एमाले) पार्टी कार्यालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।)  

मधुपर्क मासिक, २०६८ असोज

-------------------------------------------------------

No comments:

Post a Comment