Thursday, March 26, 2020

खाँदाखाँदमा छादाछाद - मोदनाथ मरहट्टा




अघिल्लो दिनको सिमसिमे पानीले कुहिरोलाई मलजल ग¥यो । बिहानको घाम छेक्न कुहिरोको संगठनले दाङ उपत्यकाभरि प्रदर्शन गरिरह्यो । हामी घोराहीको तुलसीपुर चोकबाट बसको सिटक ढुकेर गन्तव्यका लागि तम्तयार छौँ ।

२०७० साल पौषको २८ गते बिहानी चिसो चिर्दै हामी बसभित्र छिरेका छौँ । लामो दूरीको मझौला बसभरि मान्छेहरु छन् । गैँडाकोटे तितेपाती र म पछिल्लो सिटको हिस्सेदार बन्यौँ । टीँ–टीँ, घ्यार–घ्यार गर्दै घुइअँ बस गुड्यो । बसभित्रको ओसले सिसाका झ्यालहरु भिजेका छन् र बाहिरको घुरमैलो उज्यालोलाई छेकेका छन् । अघिल्लो दिनमा नै टिकटको बन्दोबस्तीमा साथीहरु मित्रलाल पंगेनी, मात्रिका पोखरेल, आर. एम. डंगोल र विष्णु भण्डारी अगाडि सिटमा ढुक्क हुँदै आपसी संवादमा तल्लीन थिए । हामी भने ङिच्च हुँदै दोब्रिएका छौँ ।

‘ए, तपाईंहरु बालकोनीमा हो ?’
कथाकार इस्मालीको प्रश्नलाई मैले यसो भनेँ–
‘अँ, यो राजधानी र मोफसलजस्तै हो ।’

एउटा मीठो हाँसो फुत्कियो । बसले दाङ उपत्यकाको दमारको जंगल छोएपछि मैले एकछिन जंगलतिर नियालेँ । प्रकृतिले दिएका अपार सम्पदाहरु हामीजस्तै मान्छेका कारण जंगल विनाश हँुदै छ र बिचरा जनावरहरु घर न घाटको भएर इतिहासमा सीमित हुन पुगेका छन् । यो पीडालाई थमौती गर्दै म एकछिन आफ्नो सिटलाई निलम्बन गरेर उठ्दै बढोत्तरी भई राजधानीमा स्वर मिलाउन पुगेँ ।

“सानुमाया म पनि लाऊँ कि
सुनखानीमा पित्तलु मिसाऊँ कि ?”

हामी गफमा डुब्यौँ । पार्टी राजनीति र बिग्रेको वाम संस्कृति । हाम्रो चिन्ताको केन्द्रमा थिए ।
प्र.ले.स. नेपाल र दाङ शाखाको आयोजनामा दुई दिने गोष्ठीमा प्रमुख रुपमा उठेका वाम राजनीति र यसले समातेको भ्रष्टीकरणका बारेमा कविहरुको आक्रोश उठेको थियो । कार्यक्रममा अध्यक्ष अमर गिरीले प्र.ले.स. नेपाल वाम पक्षधर साझा मोर्चा भएको र यसले वामपार्टीलाई एकताको सन्देश दिएको बताइरहँदा मेरो मनभरि प्रश्नैप्रश्न उठेका थिए । हो, साहित्यले राजनीतिको कार्यदिशालाई मद्दत पु¥याउँछ । प्र.ले.स. सँग आबद्ध धेरै लेखकहरु वामपन्थी सत्ताको पक्षमा छन् । मानौँ, प्र.ले.स. नेपालले एकताको पक्षमा केही विचारसहित प्रस्ताव गरे स्वीकृत होला ?

साँच्चै अमर गिरीको प्रस्तावमा झलनाथ खनाल र माधव नेपाल सहमत हुन्छन् । अनि, हीरामणि दुःखीले सोही प्रस्ताव किरणकहाँ पठाउँदा जवाफ के आउला ? साथै, मातृका पोख्रेलमार्फत प्रचण्डको धारणा के आउँछ र शशि भण्डारीले यही बात राख्दा मोहनविक्रम सिंह टाउकोमा हात राखेर सोच्न सक्छन् ? म रातभर यही तर्कनामा छट्पटिएको थिएँ ।

अमिलियाको वनभरि बस गुडिरहँदा हाम्रो बहसको केन्द्र पनि यही थियो । बस अमिलियाबाट पूर्वतिर हुइँकियो । मधेसका बस्ती, बुट्यान छलिँदै गए । हामी लमही आइपुगेछौँ ।

भोटको चाहनामा गाउँ पसेको नेताजस्तै यात्रु खोज्न कन्डक्टर हरायो । एकैछिनमा ल्याइ त हाल्यो काठमाडौँ जाने सात जना उम्मेदवार । बसको सिट भरपूर छ, तर कन्डक्टर सोझा निमुखा यात्रु निमोठ्दै छ । उसको आग्रह, धम्की र अनुरोधले पछिल्ला सिटका सोझा यात्रुहरु विस्थापित भए । सक्नेले आफ्नो औकात नदेखाएको कहाँ छ र ?

बसको सिटमात्र होइन, प्यासेज पनि भरियो । यात्रुहरुको गुनासो रह्यो– चिया पिउने र सूबाट निवृत्त हुने’, तर निष्ठुरे चालकले हाम्रा कुरा किन सुन्थे ? बसभित्र पछाडि छिरेका पाँच यात्रुहरु धार्मिक स्वतन्त्रताको उपभोग गर्दै पैसाको बिटो र बाइबल झोलामा कोचेर निर्जन बस्तीबाट काठमाडौँ फर्कंदै थिए । उनीहरुको पनि धर्मका नाममा निर्धन, निमुखामाथि राजनीति गर्ने अवसर पाएको बेला को चुकाउँथ्यो र ? हो, त्यहीँबाट सुरू भयो, समावेशिताको अभियान र अवसर ।
बस बेस्सरी गुड्यो । भालुबाङ, कालाकाटे, धानखोला हुँदै चन्द्रौटा आइपुग्यो ।

कपिलवस्तुको पश्चिमी क्षेत्रबाट कामको खोजीमा एउटा सिङ्गै गाउँ सडकमा उभिएको छ । खाना पकाउने सिल्टीका भाँडा, थोत्रा झिटीझाम्टा र कबाडीमा बेच्न मिल्ने ५–७ थान साइकलहरु बसको छतमा उकालिए । ३–४ भारी पाखुरे दाउरा, भुसले चल्ने फलामे चुल्हा, थाग्नाथरा कम्मलहरुको पोकाले बसको छत पूरै भरियो । म चुरोटको भोगी, चुरोट चुस्दै यो दृश्य नियालिरहेछु ।

दर्जन बढी भुराभुरीसमेत बसभित्र धकलिएपछि काखे नानी बोकेका आमाहरु र उनीहरुका अभिभावकजस्ता देखिने प्रौढ पुरूषहरुको जमातले बस अटेसमटेस भयो । अब सास फेर्ने ठाउँसम्म बाँकी रहेन ।

चियानास्ताले अल्नाएका यात्रुहरुले बल्ल चित् खाए ।

ढलपल–ढलपल हुँदै बस गुड्यो । खाँदिदै, अचेटिँदै बसभित्र कोचिएका महिला र भन्टाङभुन्टुङ लाज, डर र अत्यासले कालानीला देखिन्थे ।

हामी नजिकै आइपुगेकी एउटी सुत्केरी आमाको चित्र देख्दै कारूणिक थियो । झट्ट हेर्दा १४–१५ वर्षकी देखिने एउटी किशोरी काखमा नानी च्यापेर निसासिँदै थिइन् । उता, बसको ढोकानजिकै कोचिएको एक युवा भन्दै थियो–‘ओकर खडा नाहीँ हो, बैठ जा ।’ बिचरी किशोरी कहाँ बस्नु, कहा समाउनु ! आफ्नै सारीको एकछेउमा बेरिएकी उसकी काखे नानी रून्छे– च्याँहाँ–च्याँहाँ । आमा एक हातले नानी च्याप्छे, अर्को हात कहिले डन्डीमा त कहिले नानी थुमथुम्याउँछे ।

बस गुडेको गुड्यै छ । बाटो भेटिएको चारा टिप्न कन्डक्टर पछि पर्दैन र आदेश दिन्छ– पिछे हट् पिछे हट् ।

बस पूरै यातनालयमा फेरिन्छ । वेगले हुइँकिएको बसभित्र कोचिएका भुराभुरी र तिनै किशोरीको मुखबाट वमनका लत्काहरु ह्वालह्वाल्ती निस्कन्छ । सिटमा ढसमस्स बसेका यात्रुहरु घिनाउँछन् र बोल्छन्– ‘पर जा ।’ बिचरी ती किशोरी ढल्पलाउँदै नानीको छातीभरि उल्टी गर्न थाल्छिन् । नानीको छातीभरि आमाको छादले छोपिन्छ । आफूलाई थाम्न नसकेपछि उनी पनि भुराभुरीसँगै भुइँमा खाँदिन्छिन्, काखे नानी निस्सासिँदै चिच्याउँछे ।

लौ, इस्माली र मातृकाले कथाको प्लट बुने ।

मित्रलाल, आर. एम. र विष्णुलाई कविताले चिमोटे होलान्, त्योभन्दा बढी भोकले चिमोटेको हुनुपर्छ । दिनको एघार बजिसक्दा सबै यात्रुको पेटमा मुसा दौडेका छन् ।

म मनमनै सोच्छु– ‘यो बसभित्रको खाँदैखाँद र छादैछाद हाम्रो वाम पार्टीको आमप्रवृत्तिभन्दा कति फरक छ ?’

www.echitwanpost.com बाट साभार 

No comments:

Post a Comment