Monday, March 2, 2020

कथा : परिचित अभिनय

- मातृका पोखरेल 

त्यतिबेला हामी सँगै पढ्थ्यौं र सँगसँगै खेल्थ्यौं । उसको घर मेरो छिमेकी गाउँमा थियो । हामी दुबैको परिवार हुनेखानेमा गनिन्थ्यो । हाम्रा माइतीहरूको मधेशमा जग्गा जमिन पनि प्रशस्तै थियो । हुने खाने परिवार भए पनि गाउँमा काम गर्नै पथ्र्यो । पढ्दापढ्दै हामीले सँगसँगै जङ्गलबाट दाउरा पनि बोकेका छौं । गाईवस्तु पनि हेरेका छौं । पहाड भएपनि नजिकै विद्यालय भएकोले हामीलाई हाइस्कूल तहसम्म पनि पढ्न कुनै समस्या परेन । एस.एल.सी. परीक्षा पनि हामी दुबैले द्वितीय श्रेणीमा पास ग¥यौं ।


हामी दुबैका दाजुहरू काठमाडौंमैं बसेर पढ्थे र जागिर पनि खान्थे एस.एल.सी. पास गरेपछि हामी आइ.ए. पढ्न काठमाडौं आयौं र दाजुहरूसँग बसेर पढ्यौं । आइ.ए.को फाइनल परीक्षा दिएपछि मेरो विवाह भयो । मेरो विवाह भएको केही महिनापछि शान्ताको पनि विवाह भयो । हाम्रो विवाह हुँदै हाम्रा श्रीमान्हरू सरकारी सेवामा अधिकृत थिए ।

गाउँ र स्कूलका साथीहरू भन्थे – म अलिक सोझी प्रकृतिकी थिएँ रे । ऊ अलिक बढि मुखाले र इष्र्यालु स्वभावकी थिई । स्कूलमा मेरा धेरै साथीहरू थिए तर उसका कमैमात्र साथीहरू हुन्थे । ऊ साथीहरूसँग सानो कुरामा पनि झगडा गरिरहन्थी । शान्ताको व्यवहारका कारणले अरू साथीहरू ऊसँग टाढै रहन चाहन्थे । मलाई त लाग्छ – म बाहेक उसका अन्तरङ्ग साथीहरू छँदै थिएनन् । ऊ सँगको मेरो घनिष्ट मित्रताका कारण कयौं साथीहरू म सँग पनि आत्मीय व्यवहार गर्नलाई हिच्किचाउँथे ।

हाम्रो विवाह भएपछि श्रीमानहरूको  सरूवा सँगसँगै हामी पनि जिल्लाजिल्ला तिर गयौं । त्यसपछि पाँच सात वर्षसम्म हाम्रो भेट भएन । त्यही पनि चिनजानका मानिसहरूबाट हामी एक आपसको हालखबर लिइरहन्थ्यौं ।

पाँचथरबाट मेरा श्रीमानको  मन्त्रालयमा सरूवा भएको केही महिनापछि शान्ताको श्रीमान् रामप्रसाद आचार्य पनि काठमाडौंमै सरूवा भएर आए । उनी सरूवा भएर आएको भोलिपलटै शान्ता मेरो कोठा खोज्दैखोज्दै आएकी थिइ । बालककाल देखिकी साथीसँग फेरि नियमित भेटघाट र मित्रता कायम हुने भयो भन्ने कुराले मलाई भित्रैदेखि निकै हर्षित बनाएको थियो । तर आफ्नो आत्मप्रशंसा गर्ने र आर्थिक आडम्बर देखाउने नयाँ विकसित भएको उसको स्वभावसँग म कताकता हच्किएकी थिएँ । त्यसपछि हाम्रो भेटघाट नियमित हुन थाल्यो ।

रमिला ! म त दुईतीन हजार कमाएर नल्याएको दिन बुढालाई साफी गाली गर्छु । एकदिन दिउँसो सबैरै आएर शान्ताले अहंकार र बहादुरीको स्वरमा मसँग भनेकी थिई । काठमाडौंमा सरूवा भएर भर्खरभर्खर आएका कारण ऊसँग मैले विवाद गरिहाल्न राम्रो ठानिन । यसका विरूद्धमा बोलुँ भने यो सँग मेरो सम्बन्ध बिग्रने डर, नबोलुँ भने गलत कुरालाई प्रश्रय दिए जस्तो हुने । शान्ता त्यति साह्रो पथभ्रष्ट भएको देख्दा म भित्रैदेखि पीडित भएकी थिएँ । यति सोचेर पनि म त्यसबेला प्रतिक्रियाहीन भएर चुपचाप बसें ।

त्यसपछि ऊसँगको नियमित भेटघाट र संवादहरू मेरा लागि प्रिय हुन सकेनन् । जागिरे जीवनपछि त झनै ऊ भित्रको मान्छे अनैतिक बन्दै गएको मैले महसूस गर्न थालेकी थिएँ ।
"रमिला ! यो संसारमा घुस नखाने मान्छे कोही नै छैनन् र इमान्दारीता भन्ने कुरा त केवल गफ गर्ने विषयमात्रै हो । वास्तविक जीवनमा घुस नखाने इमान्दार मान्छे हुन्छ भन्ने कुरामा मलाई विश्वासै छैन ।" मेरा अगाडि धेरै पटक भनिसकेको कुरा त्यसदिन शान्ताले फेरि पनि दोहोर्‍याएकी थिई ।

संसारमा राम्रा र इमान्दार मान्छेहरू पनि छन् । खराब र भ्रष्टाचारी मान्छेहरू पनि प्रशस्तै छन् । तेरो कुरा प्रति म सहमत हुन् सक्दिनँ । अति नै भएपछि पहिलो पटक मैले शान्ताका सामु आफ्नो फरक विचार राखेकी थिएँ । मेरो कुराले त्यसबेला उसको अनुहार निकै अँध्यारो भएको थियो ।

त्यही समयदेखि शान्ताको र मेरो बीचमा बहस र वादविवाद बढ्दै गएको थियो । पक्ष र विपक्षमा उभिएर विवाद लम्ब्याउन मलाई त्यसबेला पनि पटक्कै मन थिएन । शान्ताको बानी मलाई राम्रैसँग थाहा थियो । ऊ आलोचना र विरोध खप्न सक्ने मान्छेनै होइन । ऊ प्रशंसाकी धेरै भोकी मान्छे थिई । उसलाई प्रशंसामात्र गरिदियो भने ऊ नम्र र शिष्ट व्यवहार गरेको देखाउन सक्थी । त्यसदिन हाम्रो विवाद धेरै लम्बियो । धेरै वादविवाद नगरौं भन्दाभन्दै झमक्कै साँझ प¥यो । त्यसदिन म उसको घरबाट विदा भएर हिँड्दा ऊ मलाई विदा गर्न ढोकासम्म पनि आइन । पहिले पहिले घाम नअस्ताउँदै पनि बसौं भन्थी तर आज साँझ परेपछि पनि बसौं भनिन । मलाई त्यसदिन बेकारमा उसको घर आएँ भन्ने लागेको थियो । मैले राम्रैसँग बुझेकी थिएँ – शान्ता त्यसदिन म सँग साह्रै रिसाएकी थिई ।

त्यसपछिका धेरै दिनसम्म हाम्रो बीचमा भेटघाट र सम्वाद भएन । उसले पनि मलाई टेलिफोन गरिन र मैले पनि ऊ रिसाएकी छ भन्ने ठानेर केही समयसम्म बोलाइन । ऊसँगको भेटघाटमा आएको रिक्तताले मभित्र एकप्रकारको उकुशमुकुश पैदा भइरहेको थियो । मेरो सामाजिक सम्बन्ध निकै फराकिलो थियो तर उसको त्यस्तो थिएन । उसको सामाजिक जीवन निकै सङ्कीर्ण र निरस थियो । काठमाडौं आएको दुईचार महिना हुने वित्तिकै उसले छिमेकीहरूसँग इष्र्यालु व्यवहार गर्न थालीसकेकी थिई । छिमेकी महिलाहरूका घरका बारेमा कुरा गर्थी । उनीहरूका श्रीमानहरू भन्दा आफ्नो श्रीमान फरक मान्छे भनेर प्रशंसा गरिरहन्थी । उसमा त्यस्तो तल्लो र घटिया स्वभाव विकास भएको देखेर मलाई भित्रभित्रै आश्चर्य लाग्थ्यो र महिलाहरूमा अलिक बढि देखिने त्यस्तो प्रवृत्तिप्रति चिन्ता लागेर आउथ्यो ।

त्यसैताका शान्ताहरूले बत्तीसपुलतीमा एउटा सुन्दर र भव्य घर खरिद गरे । त्यसपछि अहंकार र बडप्पनले शान्ता झन् मनोरोगीजस्तै अव्यवहारिक र एकलकाटे भई ।
उनीहरूले घर खरिद गरेको खबर शान्ताले मलाई टेलिफोनमा सुनाई र घर हेर्न आउन निम्तो गरी । म पनि खुशी नै भएँ र एकदिन उसको घर हेर्न गएँ । गौशालाचोकमा ऊ मलाई लिन पर्खिरहेकी रहिछ ।

भाग्यको खेल हो बुझिस् रमिला ! मेरो बुढो र तेरो बुढो एउटै पोष्टमा भएर पनि हाम्रो आर्थिक हैसियतमा फरक परेको । घरमा पसेर सोफामा बसेर टेलिभिजनको च्यानल खोल्दै पहिलेपहिलेकै जस्तो उसले त्यसदिन फेरि त्यही कुरा दोहोर्‍याई ।

जुन कुरासँग मलाई कुनै सरोकार छैन, त्यो कुरा बारम्बार दोहोर्‍याइरहनु राम्रो होइन । खान र लाउन नपुगे त खुसीसाथ सङ्घर्ष गर्नु पर्छ । खान पुगेकै छ । मलाई अनावश्यक सम्पत्तिको मोह छैन । अति भएपछि मैले पनि त्यसदिन प्वाक्कै मुख फोरें ।

खुलेको आकाशलाई एकाएक कालो बादलले गाँजेझैं शान्ताको अनुहार पनि एक निमेषमै मैलियो । कतै मैले नचाँहिदो काम त गरिन । उसको स्वभाव मलाई थाहा छँदै थियो, मैले कुनै प्रतिक्रिया नदिएको भए पनि हुन्थ्यो । आखिर सही दिएको भएपनि हुन्थ्यो । म उसको घरबाट त्यसदिन आफ्नो प्रतिक्रियाप्रति पश्चातापको महाभारत अग्ल्याएर डेरामा फर्केकी थिएँ ।

मेरो पनि तीन ताक कुनै जागिर थिएन । हुन त, शान्ताको पनि थिएन । मेरो सम्पर्क सामाजिक संघ–संस्थाहरूसँगै प्रशस्तै हुन थालेको थियो । सानोतिनो राजनैतिक सम्र्पक पनि विकास हुन थालेको थियो । मेरा केही साथीहरूले वृद्धाश्रम खोल्ने योजना लिएर मकहाँ आए । मलाई पनि त्यो योजना राम्रो लाग्यो । छोरा छोरी सात आठ कक्षामा पढ्ने भइसकेका थिए । घरको काममा व्यस्त भइरहनुपर्ने वाध्यता मसँग त्यसबेला बाँकी थिएन ।

मैले साथीहरूसँग शान्तालाई पनि वृद्धाश्रम खोल्ने कार्यमा सहभागी गराउन पाए हुन्थ्यो भन्ने प्रस्ताव राखें । उसलाई नजिकैबाट चिन्ने केही साथीहरूले मेरो प्रस्तावलाई रूचाएका थिएनन् । तर धेरै जसो साथीहरूले मेरो प्रस्तावप्रति सहमति जनाऍ  ।

एकदिन साँझ पर्ने बेलामा म शान्ताको घरमा पुगें । शान्ताको पति रामप्रसाद कार्यालयबाट आइसकेका रहेछन् । मलाई उसले बैठक कोठामा लिएर गई । यत्ति अबेर किन आइस तँ ! शान्ताले आश्चर्य मानेर सोधी ।

मैले भनें – म एउटा प्रस्ताव लिएर आएकी तँकहाँ ।

के प्रस्ताव ? म सोफामा बस्न नभ्याउँदै उसले मलाई सोधेकी थिई ।

हामीले एउटा वृद्धाश्रम खोल्ने निर्णय गरेका छौं । हामी यसमा तेरो पनि सहयोग चाहन्छौ । कामचाहिँ केही गाह्रो छ आखिर तँलाई पनि फुर्सदै छ । त्यसैका लागी आएकी । मैले आफ्नो योजनालाई फटाफट राखिदिएँ ।

"आ ! तँ पनि यी नचाहिँदा कामतिर लागिछस् । बसेर खान छोडेर यी चिन्नु र जान्नुका बुढाबुढीलाई स्याहारेर के काम ? म त खुट्टा पसारेर खान्छु ।" शान्ताको ठाडो जवाफसँग मलाई भित्रैदेखि रिस उठ्यो । म चाँडोचाँडो कुरा टुङ्ग्याएर ऊसँग विदा मागेर फर्कें ।
त्यसपछि शान्तासँग मेरो भेटघाट र आवतजावत पुरैजसो बन्द भयो । म पनि आफ्नो काममा व्यस्त भएँ । म हिँडेको बाटो उसका लागि अप्रिय थियो । उसको जस्तो जीवन बाँच्नु मेरा लागि झनै प्रिय थिएन ।

केही वर्षपछि एकदिन रेडियोमा राजस्व विभागका प्रमुख रामप्रसाद आचार्यलाई घुस लिँदालिँदै गिरफ्तार गरिएको समाचार सुनें । समाचार सुन्ने वित्तिकै शान्तालाई मैले टेलिफोन गरें । टेलिफोन उठे पनि मेरो आवाज सुन्ने वित्तिकै रिसिभर राखिन्थ्यो । मैले शान्ताको घरै जान उपयुक्त ठानें ।
शान्तालाई मसँग भेट हुन नपरे हुन्थ्यो भन्ने चाहना भएको कुरा मैले त्यहाँ गएपछि बुझें । उसको अनुहार पुरै निन्याउरो थियो । उसले मलाई घरभित्रै लगिन र बाहिरै ढोकाबाटै विदा गरी ।
हेर न ! उहाँजस्तो इमान्दार कर्मचारी कोही पनि थिएनन् । यो सबै उहाँलाई फसाउने षड्यन्त्र मात्र हो । मसँग मन नलागेरै पनि शान्ताले त्यत्तिबेला यस्तो प्रतिक्रिया व्यक्त गरेकी थिई ।

शान्तालाई म प्रति कुरै अरूची भएपछि उसकोमा गइरहन मलाई पनि उचित लागेन । पछि सुन्नमा आयो उसको पतिको जागिर छुटेछ र घर पनि विक्री गर्नु परेछ । त्यसपछि शान्ताको परिवार कतै डेरा स¥यो । सबै आफन्तहरूसँग ऊ टाढै रहन चाही ।

बीस वर्षपछि आज मैले त्यही शान्तालाई पशुपतिको मन्दिरमा फूल बेच्न बसिरहेकी भेटें । तर मलाई पुरै नचिनेजस्तो अभिनय गरी उसले । म विश्वस्त छु – त्यो त्यही शान्ता हो । उसले मलाई नचिनेको अभिनय गरिरहँदा त्यहाँ उभिइरहन मलाई नै अप्ठ्यारो लागिरह्यो । मैले सानामा लागेको उसको निधारको खतसम्म हेरें । त्यो उही मेरी साथी शान्तानै थिई । म उसलाई हेर्दै हिँडे । ऊ अर्कैतिर फर्केर बसी ।

साँझमा घर फर्केपछि रमिलाले आफ्ना छोरा, छोरीहरूलाई यो कथा लामो समय लगाएर सुनाई ।




समष्टि वर्ष-२५, अङ्क-५, २०६१÷६२ चैत्र-वैशाख

No comments:

Post a Comment