Thursday, March 5, 2020

कथा : खालि ठाउँ

मातृका पोखरेल


बेलुका साँझमा दाजुले प्रसङ्गवस निकालेको एउटा कुराले मलाई हौसला थप्यो । दाजुबाट मैले स्थानीय विकास मन्त्रालयका सचिव रामकृष्ण दाहालले कुनै समय हाम्रो गाउँको प्राथमिक विद्यालयमा शिक्षक भएर काम गरेको कुरा सुनें । मैले त्यसपछि ठूलो राहतको महसूश गरें । उनी केही समय हाम्रै घरमा बसेका थिए भन्ने सुनेपछि त अझ म रोमाञ्चित समेत भएको थिएँ । मन्त्रालयको सचिवसँग यति नजीकको सम्पर्क बनाउन सकियो भने अरु के चाहियो र ? उनले थोरैमात्र सहयोग गरे भने मेरो लागि जागिर सामान्य कुरा थियो ।
‘के उनले हामीलाई चिन्छन् त ?’ मैले आशावादी बनेर दाजुसँग यो प्रश्न सोधेको थिएँ ।
‘मलाई त उनले पढाएकै हुन्, तैंले गएर चिनजान गरिस् भने चिन्छन् ।’ दाजुले सम्बन्ध सहज हुनसक्ने कुरा स्वीकारे ।
मैले यो नयाँ कुरा सुनेको थिएँ । मैले कल्पना नै नगरेको कुरा । मैले यस कुराबाट धेरै फाइदा लिनसक्ने अनुमान लगाएँ । काठमाण्डौंमा जागिर खोजेर हिंडेको महिनौं भइसकेको थियो । दाजुको न्यून कमाइमा भर परेर बस्नु परेकोमा म भित्रैदेखि दुःखी थिएँ । दाजु प्राइभेट कम्पनीमा सानोतिनो नोकरी गर्थे । उनको नोकरीले भाउजू र दुईजना बच्चाहरुलाई पाल्न पनि निकै धौ धौ पथ्र्यो । त्यसमाथि डेढदुई महिनादेखि म पनि थपिएको थिएँ । दाजुको कमाइमा भर पर्नुबाहेक मसँग अर्को केही पनि उपाय थिएन ।
अघि साँझको दाजुको कुराले म भित्रभित्रै खुसी भएँ । त्यही खुसीले अहिलेसम्म मलाई राम्रोसँग निद्रा पनि लागेको छैन । म चाँडै यो रात बितोस् भन्ने चाहन्छु । तर अनिन्द्राको बेलामा झन् रात लामो लाग्ने गर्छ ।
मध्य रातसम्म दाजुको सानो छोरो पनि रोइरह्यो । उसलाई ज्वरो आएको छ । मेडिकल पसलमा सल्लाह गरेर औषधि ख्वाइएको हो । तर त्यो औषधिले कत्ति पनि छोएन । सबै छिमेकीहरुले अस्पताल लान सल्लाह दिएका छन् । एउटा मजदूरको कमाइ, अस्पताल भन्न जति सजिलो छ, जान त्यति नै गाह्रो छ । मैले उनीहरुको बाध्यता राम्रोसँग बुझेको छु ।
गाउँबाट काठमाण्डौं आएको पनि डेढ महिना भइसक्यो । जागिर खोज्न आउँदा लिएको ऋणले गाउँमा मुख बाएर बसेको छ । गाउँबाट हिंड्ने बेलामा सबैले भनेका थिए– ‘आइ.ए. पास गरिसकेको मान्छे, जागिर त पाइहाल्छस् नि !’ गाउँका आफन्तहरुले भनेको यो कुरा मलाई यतिबेला व्यंग्यजस्तो लागिरहेको छ । यतिका दिन बितिसक्दा पनि जागिर पाउने कुनै संकेत देखा पर्न सकेको छैन ।
राति अबेरसम्म सोच्दा–सोच्दै मैले कल्पनाको जागिर खाएँ । कल्पनाको जागिर कति मीठो हुँदोरहेछ– मेरो सचेत मनले झल्यास्स भएर सोच्यो । कस्तो सपनाजस्तै कल्पना गरेछु– मैले फेरि आफूलाई सम्हालेर आफ्नै जमीनमा ल्याएँ । उही खडेरीले खाएको उराठलाग्दो जमीन । मैले फेरि आफूलाई सोचेर निराश भएँ ।
“पहिलेजस्तै हुने हो कि ?” मैले फेरि सम्भावित भविष्यलाई अविश्वास गरें । कतै विमलराज शर्माले जस्तै त नगर्लान् । विमलराज शर्मा पनि गाउँमा आफूले र आफ्नो परिवारले चिनेजानेकै मान्छे थिए । म पढेकै विद्यालयबाट उनले पहिलो पटक एस.एल.सी. पास गरेका थिए । उनको पालाका साथीहरु कोही शिक्षक छन्, कोही हलो–कोदालो गर्दैछन् । उनी परार एक पटक गाउँ गएका थिए । म भरखर एस.एल.सी. पास गरेर तत्कालै स्थापना भएको गाउँको कलेजमा आइ.ए. अध्ययन गर्न थालेको थिएँ । हामी विद्यार्थी र गाउँलेहरु मिलेर उनको ठूलो स्वागत–सत्कार ग¥यौं । उनी काठमाण्डौं गएर महाप्रबन्धक भइसकेका मान्छे । त्यही बेला हामीलाई उनले आइ.ए. पास भएपछि जागिर मिलाइदिने आश्वासन दिएका थिए । हामीले त्यो आश्वासनलाई जागिरको नियुक्ति पत्रझैं ठानेका थियौं । आइ.ए.को रिजल्ट आउनेबित्तिकै म उनकै आशले काठमाण्डौ आएको थिएँ । आमाले भन्नुभएको थियो– “ठूला मान्छेकहाँ जाँदा खालि हात जानुहुँदैन ।” त्यसैले मैले फेरि ऋणमाथि ऋण थप्दै एक पाथी घिउ ल्याइदिएको थिएँ ।
काठमाण्डौं आएपछि थाहा भयो, गाउँ गएका बेलामा हुने विमलराज शर्मा र काठमाण्डौंमा हुने विमलराज शर्मामा आकाश र जमीनको अन्तर रहेछ । उनलाई भेटेपछि मलाई गाउँबाट काठमाण्डौं आउने मान्छेहरु अर्कै मान्छे भएर बाँच्दारहेछन् भन्ने लाग्यो ।
काठमाण्डौंमा आएर दुःख पाएका मान्छेहरुले भने आफूलाई परिवर्तन गर्न भ्याएका रहेनछन् । मेरा दाजु काठमाण्डौंमा पनि दुःख पाएर बाँचेको मान्छे । काठमाण्डौमा पनि उनको दुःखमा परिवर्तन आएको थिएन । उही दुःख, उही हैरानी, उही श्रम । तर गाउँबाट काठमाण्डौं आएर आर्थिक हैसियतको भ¥याङ्ग चढेका मानिसहरु चाहिँ फरक र अर्कै लोकको जस्तो लाग्ने । मैले विमलराज शर्माबाहेक अरु कैयौंलाई पनि त्यसैगरी फरक हुँदै गएको देखें ।
“मैले भोलि भेट्न खोजेको मानिस पनि विमलराज शर्माजस्तै त हैनन् ?” म फेरि सोच्दा–सोच्दै चिन्तित हुन्छु । त्यसबेला म काठमाण्डौं आउनेबित्तिकै उनलाई भेट्न गएको थिएँ ।
“भेट्ने समय नलिइकन तिमी किन आयौ ?” उनको घर पुग्नेबित्तिकै मलाई उनले खरो शब्दले झम्टिए ।
“आइ.ए. पास गरेपछि आउनू, म जागिर मिलाइदिन्छु भन्नुभएको थियो, त्यही कारण आएको ।” मैले पुरानो कुरा सम्झाएको थिएँ ।
“के जागिर खल्तीमा हुन्छ र झिकेर दिने ?” उनी पुरानो कुरा पूरै बिर्सिए जसरी मसँग प्रस्तुत भए ।
यति भन्दाभन्दै मूल ढोका बन्द गरेर उनी भित्र पसे । म मेरो सपनाको अन्त्येष्टी त्यहीँ गरेर फर्किएको थिएँ ।
नचाहँदा–नचाहँदै विमलराज शर्मालाई अस्ति भरखर मैले भेट्दाको सम्वादलाई सम्झिन पुगें ।
कतै रामकृष्ण दाहाल पनि विमलराज शर्माजस्तै त छैनन् ? आधारात नाघीसक्दा पनि म कल्पनाको गहिराइमा डुबिरहेको थिएँ ।
                                       
बिहान भाउजूले बोलाउँदा म अचानक झस्कें । एउटा उत्साह बोकेर ओछ्यानबाट उठें । कल्पनामा डुब्दाडुब्दै निदाउन पुगेछु । रातिकोजस्तै बिहानको दश बजाउने प्रतिक्षा पनि मेरा लागि कष्टकर बन्यो । म कार्यालय खुल्नेबित्तिकै स्थानीय विकास मन्त्रालय पुग्ने छु । र, त्यहाँका सचिवलाई भेट्ने छु ।
“राती निद्रा परेजस्तो छैन नि बाबुलाई ।” भाउजूले मेरो अनुहार हेरेर भन्नुभयो ।
‘होइन, प¥यो !’ भाउजूलाई वास्तविकता बताउन मलाई संकोच लागिरहेको थियो ।
म यतिबेला दश बजेको प्रतिक्षामा व्यग्र भएर बसेको छु । भाउजूलाई तरकारी केलाउनदेखि लिएर भान्सामा पानी ल्याइदिन सहयोग गर्छु ।
“हाम्रो गाउँको विद्यालय छाडेर हिँडेपछि उनीसँग हाम्रो भेट भएको छैन । धेरै सहयोग गर्लान् भन्ने आश नगर !” दाजुको यस कुराले मेरो कल्पनाको संसार फेरि धमिलो भयो ।
म साढे दश बजे स्थानीय विकास मन्त्रालय पुग्दा उनी कार्यालय आइपुगेका थिएनन् । कल्पनाको स्वर्ग निर्माण गर्दै म उनको निजी सचिवालयमा पर्खिरहेको छु ।
एक जनालाई ब्रिफकेश बोकाएर उनी एकछिनपछि आएर सचिवालयमा बसेका हामी सबैतिर विस्तारित नजर दौडाउँदै आफ्नो कक्षतिर पसे ।
“अहिले सचिवज्यू जरुरी काममा हुनुहुन्छ । तपाईंहरुले तीन बजेपछि मात्र भेट्न पाउनुहुन्छ ।” हामी बाहिर बसेका सबैतिर हेरेर निजी सचिवले सुनाए ।
म समय कटाउन बाहिरतिर निस्किएँ । मसँग अरु पनि निस्किए ।
तीन नबज्दै म फेरि उनको कार्यालयमा पुगेको थिएँ ।
“खालि ठाउँ बुझेर आउनू, म भनिदिउँला ।” सामान्य परिचयपछि सचिवले खालि ठाउँ भएपछि जागिर हुने कुरा बताए ।
“नेपालभरिका कार्यालयहरुमा कतै न कतै त कसो खालि नहोला ?” म पूरै आशावादी बनेर बाहिर निस्किएँ ।
“यो खालि ठाउँ खोज्ने भन्ने कुरा वाहियात कुरा हो । उनले तँलाई अल्मल्याउन यसो भनेजस्तो लाग्छ मलाई ।” दाजु नकारात्मक देखिए ।
मलाई कताकता फेरि दाजुसँगै रिस उठ्यो ।
                                       
खालि ठाउँ खोज्दै काठमाण्डौका कुन चाहिँ कार्यालय पुगिनँ म ।
“भाइ ! खालि ठाउँ खोज्न पठाएर तपाईंलाई उल्लू बनाए । त्यो कुराको पछि नलाग्नुस् । यहाँ खालि ठाउँ छ भनेर तपाईंलाई कसैले भन्दैन ।” भोलिपल्टै एउटा कार्यालयका एकजना मानिसले सम्झाएका थिए मलाई ।
खालि ठाउँ खोज्दै हिँड्ने क्रममा दुई चार ठाउँमा मेरो सोधाइ सुनेर गलल्ल हाँसेका थिए मान्छेहरु ।
“यहाँको खालि ठाउँ लोकसेवा आयोगले पूरा गर्छ । खालि भए पनि तपाईंलाई काम लाग्दैन ।” एक दिन एउटा कार्यालयको हाकिमले मलाई च्याँट्टिएर जवाफ दियो ।
दशपन्ध्र दिनसम्म उत्साहका साथ कार्यालयहरु घुमें म, दुई चार दिनपछि विस्तारै–विस्तारै उत्साह पनि घट्दै जान थाल्यो ।
एक दिन हिँड्दा–हिँड्दै बाटोमा हाम्रो क्षेत्रका सांसदसँग भेट भयो । उनलाई पनि संवोधन गरेर परिचय गरें र आफ्नो समस्या राखें । उनले पनि खालि ठाउँ भेट्नुभयो भने म पनि भनिदिन्छु भने । उनको कुरा सुनेर मलाई एकपटक फेरि भाउन्न छुटेर आयो । उठेको रिसलाई नियन्त्रणमा लिएर म उनीसँग विदा भएँ ।
खालि ठाउँ खोज्दैजाँदा मजस्तै थुप्रै साथीहरु भेट्टाएँ मैले । मजस्तै ठगिएकाहरुको ठूलो जमात भेटियो ।
“म यी फटाहाहरुको चंगुलमा फस्दिँन ।” यसो भन्दै धेरै युवाहरु भोलिदेखि सम्पर्कविहीन भइरहेका थिए ।
मैले काठमाण्डौंमा आएर बस्ने चिनेका सबै मानिसहरुसँग ऋण सापटी गरिसकेको छु । गाउँको ऋणबाट पार पाउन सजिलो थिएन । अझ यो ऋण थपिएको सोचेपछि म नमीठो पीडामा छट्पटिन पुग्छु ।
“धेरै ठूलो महत्वाकांक्षा नपाल, केही सामान्य काम गर्दै पढ्ने योजना बनाए राम्रो हुन्छ ।” काठमाण्डौं आउनेबित्तिकै दाजुले दिएको सल्लाह यस्तो थियो । त्यसबेला यो सल्लाहलाई महत्व दिन मैले जरुरी ठानिँन ।
“केही सानोतिनो काम गर्दैै पढ् र त्यसपछि अरु सम्भावनाहरु खोज्।” दाजुले केही दिनपछि दिएको सल्लाह थियो यो ।
यी सुझावहरुले मभित्र कुनै प्रभाव पार्नसक्ने कुरै थिएन त्यसबेला । भरखर गाउँबाट आइ.ए. पास गरेर आएको मेरो महत्वाकांक्षाको पहाड निकै अग्लो थियो ।
“खालि ठाउँ भेटिस् त ?” दाजु व्यंग्यमिश्रित प्रश्न गर्दै भित्र कोठामा पसे । उनको व्यंग्यले म झन् हतप्रभ भएँ ।
ओछ्यानबाट ग¥हुङ्गो शरीर बोकेर उठेँ म । खालि ठाउँ सोधेर हिंड्ने विश्वास निकै दिन अघि टुटिसकेको थियो ।
“यो खालि ठाउँ खोज्ने कुरा उनीहरुको हामीलाई अल्मल्याउने राम्रो जुक्ति रहेछ ।” दाजुका अगाडि पराजित मानसिकता ओकल्न बाध्य भएँ म ।
“मैले तँलाई पहिले नै भनेकै हो ।” दाजु यसो भन्दै ढोकाबाट बाहिर निस्के ।



 नवयुवा, वर्ष १२, पूर्णाङ्क ११५, २०६४ वैशाख

No comments:

Post a Comment