मलाई देवकोटाको अगुवाइमा २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको हो र यसले भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्बर्धन गर्छ भनेको सुन्दा विद्यार्थी कालीन अवस्थादेखि नै प्रज्ञा–प्रतिष्ठानप्रति चासो र सद्भाव चाहिँ छदै थियो । म पहिलो पटक २०२८ सालमा काठमाडौँ आउँदा प्रतिष्ठान हेर्न गएँथेँ र गर्व गर्दै फर्किएँथेँ । मैले २०६६ सालमा माघमा आएर नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा मनोनित हुने अवसर पाएँ । मनोनित भएको केही महिनापछिदेखि मात्र प्रतिष्ठानका सम्पूर्ण गतिविधि र क्षेत्रविस्तारबारे जानकारी भयो । प्रतिष्ठानले अध्ययन अनुसन्धान, गोष्ठी सेमिनार, पुस्तक प्रकाशन, विभागीय सहकार्यका साथै मित्रराष्ट्रहरुसँगको सम्बन्ध विस्तार र साहित्यिक गतिविधि सम्बन्धी क्रियाकलापहरु आदान प्रदान गर्दै आएको छ । विशेष गरेर सार्क राष्ट्रहरुसँग र सम्भव भएसम्म अन्य मुलुकहरुसँग सम्बन्ध प्रगाढ बनाउँदै जाने प्रतिष्ठानको उद्देश्य रहेको छ । यसै क्रममा एक साल उहाँहरुलाई सद्भावना भ्रमणमा बोलाउने र अर्काे साल प्रज्ञा–प्रतिष्ठान जाने क्रम कुलपति वैरागी काइँलाका पालादेखि सुरु भएको हो । मित्र राष्ट्र भारत र चीनमा सद्भावना प्रगाढ बन्दै गएको छ । मलाई यसै सन्दर्भमा चाइना राइटर एसोसिएसनको निमन्त्रणामा दोस्रो पटक चीन जाने अवसर प्राप्त भयो । हामी २०७१ भाद्रमा मनोनित प्राज्ञ परिषद्का एघार सदस्यमध्ये छ जना चीनको साहित्यिक सद्भावना भ्रमणमा जान तयार भयौँ । जसमा कुलपति गङ्गा प्रसाद उप्रेती, सदस्य सचिव प्रा.डा.जीवेन्द्रदेव गिरी, प्रा.दिनेशराज पन्त, डा.अमर गिरी, श्रवण मुकारुङ, म र कर्मचारीका तर्फबाट आर्थिक महाशाखा प्रमुख सुमन अधिकारी हुनुहुन्थ्यो ।
चाइना राइटर एसोसिएसनको निर्दिष्ट कार्य तालिका अनुसार हामी ०७२÷५÷२० गतेका दिन नेपाली समय ११ः४० बजे एयर चाइना प्लेनद्वारा छेन्दुतर्फ उड्यौँ । नेपाली समय र चाइनिज समयमा दुई घण्टा पन्द्र मिनेटको अन्तर रहेछ । जसमा नेपाली समय अघि र चाइनिज समय पछि गणना हुन्छ । हामी एक घण्टामै ल्हासा पुग्यौँ । ल्हासामा रोकिएर अध्यागमनको छाप लगाई शरीर र सामान परीक्षण गराउनु पर्ने प्रावधान रहेछ । सो काम हामीले सोधी खोजी गरी सम्पन्न ग¥यौँ । हाम्रो उडान नम्बर ऋब्द्धण्ड थियो । ल्हासाबाट छेन्दुतर्फ झन्डै दुई घण्टा उड्नु थियो । म जिज्ञासाका पत्र पल्टाउँदै थिएँ । हामी १ः४५ बजे छेन्दुतर्फ उड्यौँ । उडेको २० मिनेटपछि जेटको अगाडिपट्टि रहेको इन्जिनबाट पतत धुवाँ निस्कियो । हामी लगायत सबै यात्रु अतालिए । धुवाँ निभाउन सफल भएकाले एउटा इन्जिनको भरमा प्लेन ल्हासा फर्काइयो । हामी दुर्घटनाबाट बच्न सक्यौँ भनी एक अर्कामा अनुभव आदान प्रदान गर्दै खुसी साटासाट गर्न थाल्यौँ । एयरपोर्टमा हल्लिखल्लि मच्चियो । हामी पुनः करिब पाँच घण्टाको पर्खाइपछि सिचुवान एयर लाइनद्वारा मध्यरातमा छेन्दु पुगियो । छेन्दु विमानस्थलमा चाइना लेखक संघका पदाधिकारी द्वय चिन लिउयुए र चाङ थाओ स्वागतार्थ आउनु भएको रहेछ । उहाँहरुलाई कुलपतिले ढिला हुनाको पूर्व जानकारी ल्हासा विमानस्थलबाट दिनु नै भएको थियो । उहाँहरुले समयलाई सामान्नीकरण गरेर हामीलाई व्यवस्थित रूपमा विमानस्थल नजिकै सिचुवान होटलमा राख्नु भयो । होटल पुग्दा मध्यरात भएको थियो । तर्कना सहित केही घण्टा आराम गर्यौ । मलाई भने प्लेनको दुर्घटित अवस्था सम्झिएर निन्द्रा परेन ।
हामी २१ गते बिहानको नित्य कर्मपछि बे्रकफास्ट खाएर चिनिया आदि कवि तुफु संग्राहालय अवलोकन गर्न गयौँ । चीनले तुफुप्रति देखाएको श्रद्धाभाव देखेर मेरो मन प्रफुल्लित भयो । संग्राहलयमा तुफु र तुफुको योगदानसँगै उनीसँग सम्बन्धित सरसामानहरु सजिसजाउ गरेर प्रदर्शन गरिएको थियो । चिनिया समयअनुसार बेलुका तिन बजे सिचुवान लेखक सङ्घसँगको भेटघाट कार्यक्रम भएको हुँदा छिटो छिटो अवलोकन सकेर उत्साहका साथ जम्मा भयौँ । सिचुवान लेखक सङ्घको आफ्नै भवनमा दुई देश बिचको मैत्रीपूर्ण कार्यक्रम सम्पन्न भयो । दुबै पक्षबाट आआफ्ना साहित्यिक गतिविधिबारे चर्चा गरियो । सारमा दुवै देश बिच नेपाली र चिनिया साहित्यको अनुवादका लागि वातावरण तयार गर्दै जान दक्ष अनुवादकहरुको खोजी गरेर सूची तयार गर्ने सल्लाह भयो ।
हामी ०७२÷५÷२२ गते बिहान उहाउन गोल्डेन टेम्पल र पाचिन एकेडेमी अफ लिटरेचर सङ्ग्राहलय हेर्न गयौँ ।
पाचिन जनताका लेखक भएकाले चिनियाहरुले अति नै श्रद्धा व्यक्त गर्दा रहेछन् । हामीले पनि सर्वसाधारण जनतामा चेतना भरि दिने साहित्यिक व्यक्तित्वलाई श्रद्धाञ्जली अर्पण ग¥याँै । चीन सरकारले पाचिनको सम्मानमा ताराको नाम राखेको रहेछ । उनी एक सय तिन वर्ष बाच्न सफल उपन्यासकार रहेछन् । विशाल चीनको रूपान्तरणमा अनुकरणीय योगदान गर्ने साहित्यकार लेखकहरुको सम्मान देखेर हामी पुलकित भई फर्कियौँ । केही समय आराम गरेर खाजा पश्चात् तिन बजेतिर बेइजिङ्तर्फ उड्याँै ।
२३ गते (सेप्टेम्बर नौ) का दिन संयोगबश माओको मृत्यु भएको दिन परेछ । माओको मृत्यु सन १९७६ सेप्टेम्बर नौका दिन भएको थियो । उक्त दिन हामी थियान आन मनमा रहेको माओको डेड बडी (मृत शरीर) को दर्शनार्थ लाइनबद्ध भयौँ । झन्डै दुई घण्टाको पर्खाइपछि माओको अनुहार प्रत्यक्षीकरण भयो । उनको शरीर र योगदान सम्झिएर क्रान्तिकारी अभिवादनका लागि रगत उम्लियो र मुठ्ठी पारेर हात उचालिए । मलाई चीनको दोस्रो झल्को सार्थक रहेको अनुभूति भयो । लुसुन भेट्न र अभिवादन गर्न बाँकी नै थियो । तर समय अभावले गर्दा चाहेर पनि जान सकेनौँ ।
हाम्रो निर्धारित समय बेइजिङ राइटर एसोसिएसनसँगको भेटघाटका लागि नजिकिंदै थियो । हामी कोठामा फर्किएर नेपाली पोशाकमा सजियौँ र उपहारका लागि बुद्धको ढलोटको मूर्ति, भादगाउँले टोपी र पाल्पाली ढाकाको बर्काे उपहार लिएर गर्वसाथ निस्कियौँ । हामीले बेइजिङ राइटर एसोसिएसनको कार्यालयमा साहित्यिक भावना साटासाट ग¥यौँँ । एक आपसमा भाषिक समस्या परेका कारण पुरै हृदय भने फक्रिन पाएन । भावनात्मक कोपिलाले वसन्तको आभाष भने दिइ रहेथ्यो । भाषिक अभावको परिपूर्तिका लागि वैकल्पिक व्यवस्था भनेको अनुवाद नै भएको हुँदा अनुवाद साहित्यबारे गहन चर्चा ग¥यौँ । भविश्यमा दुबै देश बिच अनुवाद लेखनका लागि प्रकृयागत रूपमा अघि बढ्ने प्रतिबद्धताका साथ फर्कियौँ । भोलिपल्ट अर्थात् २४ गते ग्रेटवाल अवलोकनको कार्यक्रम रहेथ्यो । बेइजिङको रिमझिम र सिमसिम पानीले हामीमा झन् फुर्ति थपि दिएथ्यो । मलाई भने दु्रत गतिमा भएका विकासका तरङगहरुले कता कता जिस्क्याए झैँ पनि लाग्थ्यो । यस अर्थमा कि, “अचम्मित भएर विकासका छटा हेर्दै हिँडेको देखेर चिनिया जनताहरुले तिमी र हामी स्वतन्त्र हुनु अघिको अवस्था उस्तै उस्तै थियो । हामी तिमीहरुभन्दा चार वर्षअघि मात्र स्वतन्त्र भएका त हौँ नि । हाम्रो रूप देखि गयौ । यत्रा वर्ष तिमीहरु कसरी सिस्ने झ्यालमा अल्झियौ ?” भनी सोधेको आवाज ठोक्कियो । आफ्नो भेद आफैँ कसरी कहूँ जस्तो लाग्यो । मैले सुनेको नसुन्यै गरेँ । हुन त असल छिमेकीले बुझ्न बाँकी के नै थियो होला र ! वैशाख बाह्र गते ७.३ रिक्टरको भूकम्पले सातो उडाउँदा सहयोगका लागि चीनले नमुना देखाएकै हो । अघिपछि पनि झन्डै चालिस प्रतिशत सामान चीनबाटै पैठारी हुन्छन् । एक आपसमा सहयोग आदान प्रदान गर्नेले सबै पत्तो पाइ हाल्छन् नि । केही बुझ्न बाँकी भए पनि म चाहिँ भन्दिन भन्ने ठानेँ । नबोलेपछि, हृदय नखोलेपछि झन् जिस्क्याउनै प¥यो नि !
गुड्दागुड्दै सोच्दासोच्दै ग्रेटवाल पुगियो मैले दोस्रो पटक ग्रेटवाल हेर्ने अवसर पाएँ । साथीहरुले उत्साहित भएर केही खुट्किला बढी उक्लिनु भयो । म चाहिँ गोडा कमजोर हुँदा पहिलो बिसाउनीमै थन्किएँ । हामी त्यो दिन पनि हतारमै थियौँ । हामीले तिन बजे गन्जाउ (क्वन्चो) का लागि उड्नु थियो । हामी उत्साह बोकेर क्वन्चो विमानस्थल उत्रियौँ । हामीलाई किङकर्ट होटलमा बस्नका लागि व्यवस्था मिलाइएको रहेछ । २५ गते म गन्जाउको नयाँ सहर व्यवस्थित रूपमा विकसित हुँदै गरेको देखेर दङ्ग परेँ । गन्जाउ चाइना एसोसिएसनको २३ तले भवनको सिरान तलामा साहित्यिक सद्भाव कार्यक्रम राखिएको रहेछ । आफ्नै भवनको हलमा कार्यक्रम भएको देखेर खुसीमा खुसी थपियो । मैले साथीहरु पनि खुसी भएको देखेँ । निश्चित कार्यक्रम हुनुअघि केही समय बाँकी भएकाले ब्याग राखेर हामी पर्ल रिभर÷हेभेन रिभर आसपासको बसोबास र क्वन्चो सहरको दृश्यावलोकनमा मग्नमस्त रह्यौँ । अझ विकसित क्वन्चोसँग जोडिएको सेन्जेन सहर हेर्न नभ्याएकोमा थकथकाउँदै फर्कियौँ । गन्जाउ राइटर एसोसिएसनसँगको कार्यक्रम असाध्य प्रभावकारी रह्यो । हामीले त्यहाँ पनि साहित्यिक अनुभवहरु साटासाट ग¥याँै । मलाई त व्यवसायिक विषयमा केन्द्रित भएर कलम चलाउनु हुने चिनिया साथीहरुका जिम्मेवारी र अनुभवले नया अनुभूति दिलायो । वास्तवमा धेरैतिर छरिनुभन्दा एउटै विषय र विधामा केन्द्रित भएर कलम चलाउँदा प्रभावकारी हुन्छ भन्ने महसूस भयो । त्यहाँ पनि मूलतः अनुवाद साहित्यमै जोड दिइएको थियो ।
हामी छब्बिस गते बिहान ऐतिहासिक अवलोकनका क्रममा कल्चरल म्युजियम अवलोकनका लागि निस्कियौँ । दक्षिणी दिशातिरको घुमाइ भएकाले तातो र बरगाछीका आकारका रूखहरुले विराटनगरको सम्झना गराउँथे । नजिकै सामुद्रिक बन्दरगाह पनि भएको गन्जाउ प्रान्त व्यापारिक केन्द्रका रूपमा परिचित भएको रहेछ । हामीले अत्याधुनिक सहर निर्माणका क्रममा केही छेउछाउका बाँकी पुराना घरहरु भत्काउँदै गरेको दृश्य देख्याँैँ । मैले भने आफ्नो देशको हविगत सम्झिएँ । भत्काउँदै गरेका सात आठ तले घर हाम्रा लागि मजबुतै देखिन्थे । तर त्यहा अव्यवस्थित र कमजोर ठहरिए छन् । त्यहाँको ऐतिहासिक विकास क्रमबारे सोधिखोजी गर्दाैगर्दा दोस्रो विश्वयुद्धमा जापानले हमला गरेको तर हराउन नसकेको गन्जाउको रोचक प्रसङ्ग पनि सुन्यौँ ।
मैले सांस्कृतिक सङ्ग्राहलयको अवलोकन गर्ने क्रममा चिनिया नीतिको स्वागत गरेँ । एक राष्ट्र दुई नीति भएर पनि चीन सफल राष्ट्रका रूपमा परिचित छ । आफैँमा विशाल राष्ट्र भएर पनि मकाउ, हङ्कङ् जस्ता महŒवपूर्ण सहरहरु समेटेर चीनले नमुना मूलक ढङ्गमा मिलाएर राखेको देख्दा रमाइलो लाग्यो । सांस्कृतिक सङ्ग्रहालयमा राष्ट्र उत्थानका क्रममा योगदान पु¥याउने व्यक्तिहरु लगायत तत्कालिन प्रचलित सामग्रीहरु ससम्मान प्रर्दशनमा सजाएर राखेको देख्दा गर्वको महसूस भयो । सङ्ग्राहलय प्राचीन र आधुनिक सभ्यताको सङ्गमका रूपमा देखिन्थ्यो । हामी सांस्कृतिक सम्पदाको अवलोकन पश्चात् किनमेलका लागि निस्कियौँ । हतारोमै केही सामान किनेर बिहानको खानाका लागि पर्ल रिभर साइड रेस्टुरामा गयौँ । मैले स्वादिष्ट खानासँगै रेस्टुराको मनोरम साजसज्जा र पर्ल रिभरमा आउजाउ गर्दै गरेका डुङ्गाहरूको अवलोकन गरेँ । दिल रमि रहेको थियो, जल मार्ग गर्ने इच्छा उम्लि रहेको थियो । परिस्थिति मिलेको भए म चाहिँ जलयात्रा रोज्थेँ जस्तो लाग्यो । मैले जल यात्राको अनुभव लिने अवसर पाएकी थिइनँ । पर्ल रिभरका माध्यमद्वारा हङ्कङ र मकाउ जान सहज भएको खबर सुनियो । गन्जाउको विशेषता भनेको जान आउन जल थल र आकाश मार्ग तिन वटै मार्गको सहज प्रयोग रहेछ । घुम्ने रहर हुँदा हुँदै पनि हामी खानापछि स्वदेश फिर्तिका लागि छेन्दु विमानस्थलतिर लाग्यौँ । बाटोमा सनयातसेन मेमोरियल हस्पिटल हुँदै जाने क्रममा गाडी रोकेर उक्त हस्पिटल र म्युजियम पसी सनयातसेनको दर्शन ग¥यौँ र उनीसँग परिचित हुँदै विचारमा एक्यबद्धता जनाई संस्मरणका लागि फोटाहरू खिच्यौँ ।
मलाई त चीनको एक हप्ते छोटो मिठो भ्रमणले अविस्मरणीय प्रेरणा दिलाएको छ । राष्ट्र विकास गर्न चाहनेहरुले दीर्घकालीन योजनाहरु बनाएर काम गर्दै जानु पर्ने रहेछ । फेरि विकासका लागि दुई चार विषयप्रति ध्यान पु¥याएर मात्र पनि हुँदैन रहेछ । एउटा राष्ट्र सम्पन्न बनाउनका लागि जीवनसँग सम्बन्धित सम्पूर्ण विषयलाई समान महŒव दिएर काम थाल्दै क्रमश अघि बढ्नु पर्ने रहेछ । मैले चीनमा यिनै कुराहरु देखेँ । चीनले साहित्यिक, औधोगिक, चिकित्सा, शिक्षा, राजनीति, व्यवसाय, कृषि, व्यापार, आदि क्षेत्र लगायत साजसज्जामा समेत विशेष ध्यान पु¥याएको रहेछ । विशाल क्षेत्र र जनसंख्या भएको चीन आर्थिक हिसाबले विश्वमै अग्रपङ्त्तिमा रहनुमा सुदृढ व्यववस्थापनले महŒवपूर्ण भूमिका निर्वाह गरेको अनुभव गरेँ मैले । विशाल भूमि र विशाल जनसङ्ख्यालाई व्यवस्थापन गर्न सक्षम हुनु भनेको चानचुने कुरा होइन ।
चीनमा सहरीकरणको विस्तारसँगै बाटोघाटो, यातायात, पार्क, सङ्ग्रहालय, आवश्यकीय कार्यालय आदिको उचित व्यवस्थापनले गर्दा जुन सहरहरु पनि उत्तिकै आकर्षक बन्न पुगेका छन् । बाटाहरु फराकिला, चिल्ला हुनाका साथै दायाँ बायाँ रूखहरु रोपिएका र रङ्गी विरङ्गी फुलहरुले सजिएका कारण मन पनि प्रफुल्ल भएर सजिएको अनुभव हुन्थ्यो । “वास्तवमा मान्छे नै त हो नि सुन्दरताको पारखी पनि !”
चीनले नेपालप्रति देखाएको सद्भाव र सहयोगले स्वर्ण महोत्सव मनाइ सकेको छ । यो बहत्तर साल चीन र नेपालको मैत्री सम्बन्ध स्थापना भएको साठीऔँ वर्ष गाँठ हो । चीनले फक्रिदो दुई देश बिचको मैत्रीपूर्ण व्यवहारलाई अझ प्रगाढ बनाउन प्रयत्न गरि रहेछ ।
चीनको अवलोकन भ्रमण गरेपछि प्रशंसनीय विकासका धेरै पाटाहरुको समीक्षा गर्नु पर्ने थियो तर मैले चाहिँ साहित्यिक पाटोसँग सम्बन्धित भएकाले साहित्यले समेट्ने केही विषयलाई संस्मरणका रूपमा चर्चा गर्ने प्रयत्न गरेँ । कुनै पनि देशको विकास कुन रूपमा कसरी हुँदै छ भन्ने कुराको प्रमाण साहित्यका मापनबाट प्रष्ट्याउन सकिन्छ । साहित्यले भावात्मक परिवर्तनमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने हुँदा समय सापेक्ष रूपमा विषयहरु छनौट गरेर लेख्दा नै प्रभावकारी हुन्छ भन्ने लाग्छ । मलाई चिनिया साहित्यका विकास बारेका कुरा सुन्दा पढ्न रहर लागेर आयो तर भाषिक समस्याले गर्दा साथीहरुले दिएका चिनिया साहित्यका किताबसम्म पढ्न सकिएन । साहित्य जीवनका लागि सत्मार्ग देखाउन उद्यत् विषय हुने हुँदा असल साहित्य पढ्ने मेरो लालसा पनि स्वभाविक थियो । यसै क्रममा चिनिया साहित्यले चिनिया जनजीवनमा समय सापेक्ष रूपान्तरणका लागि महŒवपूर्ण भूमिका खेलेको कुरा जानकारी भयो । यो कुरा सुनेपछि ममा चिनिया साहित्य पढ्ने रहर झन् जागेर आयो तर भाषाका कारण सम्भव छैन । उनीहरुलाई पनि नेपाली साहित्य पढ्न रहर जाग्यो हो । हामी एक अर्कालाई हेरेर हाउभाउ विचारेर मुस्कुराउँदै भावना साटासाट गथ्र्यौं तरपनि जिज्ञासा मेटाउन सक्तैन थियौँ । हामीले अनुवाद साहित्यको थालनीका लागि संस्थागत पहल गर्ने जिम्मेवारी बोध ग¥यौँ । नेपाली र चिनिया दुबै भाषामा दक्षता प्राप्त व्यक्तिहरु सूचिकृत गर्न दुबैतर्फबाट सहमत भयौँ ।
हामी कार्यक्रम पश्चात् छेन्दु विमानस्थल जाने तयारीमा रह्यौँ । गन्जाउ राइटर एसोसिएसनले सहयोगका लागि कर्मचारी खटाइ दिएको थियो । उनले हामीलाई विमानस्थलमा डिनर गराएर सामान परीक्षण गरी बोर्डिङ पासको व्यवस्था मिलाए । उडानका लागि अझ केही समय लाग्ने हुँदा उनलाई फर्किन अनुरोध ग¥यौँ । नभन्दै उनी फर्किए ।
हामीले अब चिनिया मित्रहरुको साथ छोड्यौँ । आफ्ना सामानको जिम्मेवारी आफैँ बन्यौँ । हाम्रो उडान चाइनिज समय अनुसार बेलुकी आठ तिस बजेको थियो । झन्डै अढाइ घण्टाको उडान पश्चात् सिचुवान विमानस्थलमा त उत्रियौँ तर नसोचेको फन्दामा प¥यौँ । छेन्दुबाट उड्दा उडान समय आधा घण्टा ढिला भएको असर सिचुवान विमानस्थलमा पर्न गयो । चिनिया साथीहरुले होटल बुकिङ गरि दिनु भएको थियो । गरिएको बन्दोवस्त अनुसार हामी उपस्थित नहुँदा लिन आएको होटलको गाडी फर्कि सकेछ । हामी भाषाले गर्दा समस्यामा प¥यौँ । विमानस्थलका सम्बन्धित बाँकी कर्मचारीहरु अङ्ग्रेजी त्यति बुझ्दा रहेनछन् । ऐनकेन अंग्रेजीको सहारा लिंदै होटन पत्तो लगाई मान्छे लिन बोलाएर गइयो । हामीले बल्ल रातको एक बजेतिर होटल पुगी आराम ग¥यौँ । भोलिपल्ट बिहान आठ तिस बजे चाइना एयरद्वारा ल्हासा पुग्नु थियो । सत्ताइस गतेका दिन काठमाडौँ फर्किनु थियो । हामी यही तरखरमा एकाकार भएथ्यौँ ।
हामी बिहान छ बजे नै एयरपोर्ट पुग्नु पर्ने हुँदा पाँच तिस बजे एयरपोर्ट नजिकै रहेको होटलको काउन्टरमा भेला भइ सकेका थियाँै । म अचानक प्राज्ञ मातृका पोखरेललाई देखेर मख्ख परेँ । उहाँहरु र हामी एउटै होटलमा बसेका रहेछौँ तर एक अर्कालाई थाहा थिएन । अनयासको भेटाइले एक अर्कामा खुसी साटासाट गरायो ।
हामी निर्दिष्ट समयभन्दा केही ढिला गरी उड्याँै । ल्हासा विमानस्थलमा ईश्वर पोखरेलहरुसँग भेट भयो । सबैले खुसी व्यक्त गरागर ग¥यो र सामूहिक फोटा पनि खिच्यौँँ । हाम्रो समूह सात जनाको, मातृका सरहरुको आठ जनाको र ईश्वर पोखरेलहरुको समूह तिन जनाको थियो । मातृका पोखरेको समूहमा निनु चापागाईं, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाईं, महेश पौडेल, जीवन शर्मा र रामबाबु सुवेदी थिए भने ईश्वर पोखरेलको समूहमा विष्णु रिमाल र दीपेन्द्र श्रेष्ठ थिए । मातृका सरहरु लुसुन र देवकोटाका योगदान बारे संयुक्त चर्चा कार्यक्रममा र ईश्वर पोखरेलहरु नेपालको संविधान (२०७२) जारी गर्ने सिलसिलामा अन्तराष्ट्रिय जगतलाई सुसुचित गर्न जानु भएको रहेछ । उक्त कार्यक्रममा मैत्रीपूर्ण सहभागिता जनाएर फर्किनु भएको जानकारी भयो ।
मलाई ल्हासाबाट काठमाडौँ उड्ने क्रममा धेरै नेपालीहरुका अनुहार देखेर आफ्नै देशको विमानस्थलमा पो छु कि भन्ने लाग्यो । सोचेँ, चाइनिज र नेपाली भाषा बिच बुझाइको समस्या देखिए पनि अङ्ग्रेजी भाषाका माध्यमबाट भावना साटासाट गर्न सक्दा मित्रता गहिरिँदै गएको छ । आवश्यकता महसूस गरी नेपालमा चाइनिज भाषाका कक्षाहरु सञ्चालन भएका छन् । नेपालीहरुमा चाइनिज भाषाको आकर्षण बढ्दो छ । आवश्यकतानुसार चाइनिजहरुले पनि नेपाली भाषा सिक्दै छन् । व्यापार, पढाइ र नोकरीका क्रममा दुबै देश बिच मित्रताको दायरा फराकिलो बन्दै गएको छ । नेपालका कतिपय विद्यालयहरुमा चाइनिज भाषा पढाउन चीनले स्वयंसेवक खटाउने पनि गरेको छ । यसबाट अड्कल गर्न सकिन्छ कि भविश्यमा नेपाल र चीन बिचको सम्बन्ध नमूना लायक बन्ने छ ।
मैले थोरै समयमा चीनबारे महŒवपूर्ण कुराहरुको जानकारी लिने अवसर पाएँ । आखिर धर्ती सजाउने भगवान् हुन् भन्नेहरुका लागि मान्छेले धर्ती सजाएर देखाएकोमा गर्वको अनुभूति गरेँ । चीनको जुनसुकै प्रसिद्ध ठाउँ हेर्न गए पनि व्यवस्थित पार्क लगायत बोट विरुवा र फुलहरूले सजिसजाउ देखिन्छ भन्छन् । मलाई त फुलको साजसज्जाले लुटुपुटिदै आमाको काखमा आनन्दसँग बसेको अनुभव हुन्थ्यो । फुलहरू पनि कलात्मक रूपमा कुँदिएका चित्र र मुर्ति जस्ता लाग्थे । प्रकृतिले दिने रहेछ तर सजाएर संरक्षण गर्ने चाहिँ मान्छे नै रहेछ भन्ने ठानेँ । देशबासीमा राष्ट्रियताको मुना पलाए देशले काँचुली फेर्न बेर लाग्ने रहेनछ भन्ने उदाहरणका रूपमा चीनलाई लिन सकिन्छ । म अधिकांश चिनिया जनताको देशभक्तिपूर्ण भावना र जाँगर देखेर लालायित भएँ । आफ्नो देश मुटुमा कुँदेर वर्तमानकालीन अस्तव्यस्त व्यवस्था र वियोस्ता सम्झिएँ अनि हाम्रोमा पनि संविधान लागु भएपछि समय सापेक्ष परिवर्तन भई अनुकुलित वातावरण सिर्जन हुँदै गए पश्चात् अवश्य देशको विकास हुन्छ भन्ने विश्वासमा रम्न पुगेँ ।
ममा नेपाल र चीनको परिदृश्य तुलना गर्न खोज्दाखोज्दै भुरुरु आशाका पिपिराहरु उम्रिए । पिपिराहरु हुर्काउने जिम्मेवारी बोध गरेँ मैले । मलाई लागि रहेछ —“चिन देख्ने र बुझ्नेहरुमा पक्कै पनि राष्ट्रियता मौलाउनु पर्ने हो ।”
No comments:
Post a Comment