Saturday, February 29, 2020

कविता : उज्यालो हुनुअघि

- मातृका पोखरेल

राष्ट्रलाई बधस्थल बनाउने
सपथ खाएर
मान्छे जस्तै, मान्छेका सिकारीहरू
हिजैमात्र
शहरबाट गाउँतिर हिँडे
मानौं, गाऊँ उनीहरूको शत्रु हो
उज्यालो गाऊँ
उनीहरू देख्नै सक्दैनन्
आमा, हिजै मात्र
शहरबाट केही हुल मानिसहरू
गाउँ मार्न हिँडेका छन्
उज्यालो हुनुअघि
सधैं सधैं सबैतिर
ऋषिसर यस्तै हुन्छ भन्थे
आमा, कुखुराका भालेहरू पाल्नु
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

गोमन सर्पजस्तै
विषालु मान्छेहरू
उज्यालो मार्न
शहरबाटै गाऊँ पसेका छन्
यसपटक शहरले
गाऊँकै मान्छे किनेर
गाऊँ मार्न पठायो
आमा, मैले इतिहासमा पढेको छु
उज्यालो हुनुभन्दा अघि
सबैतिर सधैं यस्तै हुन्छ
हाम्रा खोलाहरूमा पानी होइन
रगतहरू बग्छन्
फँडिर र ऐंसेलुका झुप्पाहरूमा
मासुका चोक्टाहरू झुण्डन्छन्
आमा, कुखुराका भालेहरू पाल्नु
उज्यालो हुनुअघि
सबैतिर सधैं–सधैं यस्तै हुन्छ ।

उनीहरू गाऊँमा आएपछि
बालुन खेल्नु अपराध हो
सँगीनी गाउनु अपराध हो
वल्लो डाँडा र पल्लो डाँडा
मन खोलेर दोहोरी गाउनु
साँच्चै साँच्चै अपराध हो
शहरमा बस्ने मान्छेका शिकारीहरूले
सत्ताको डबकामा ह्वीस्की ख्वाएर
यो वर्ष गाऊँकै मान्छेहरूलाई
गाऊँ मार्न पठाए
अब प्रतिकारमा गाऊँहरू उठिरहेछन्
युगौंदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्वा र दिलमायाहरू उठे
उज्यालोको पक्षमा
दृढताको सगरमाथा छातीमा पालेर
गाऊँलेहरूले सर्जिमिन बकिरहेछन्
आमा, उज्यालोलाई स्वागतको तयारीमा
अँध्यारै उठून् भाइहरू
नयाँ मान्छेलार्इ दिने सौगातका लागि
बगैंचामा फूल खोज्न
चाँडै उठून् बहिनीहरू
र उज्यालोको प्रतीक्षामा
गाऊन् सुन्दर गीतहरू
आमा, कुखुराका भालेहरू पाल्नु,
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।


o
बुधवार साप्ताहिक, वर्ष ८, अंक ३३, २०५९ भदौ

No comments:

Post a Comment