Saturday, February 29, 2020

कविता : जलजला

- मातृका पोखरेल

विश्वास पहाडमा पनि फुल्दोरहेछ
आस्था शिखरमा पनि झुल्दोरहेछ
मानिसहरू तिमीसँग हातेमालो गरेर
मृत्युसँग सुन्दर खेल खेल्दा रहेछन्
जून र घामसँग खेलेझैं
बादल र कुहिरोसँग लुकेझैं
जलजला । तिमी त पहाड हौ
मेरो देशका हजारौं पहाडहरूमध्ये
साँच्चै फरक पहाड
मैले तिम्रा गीतहरू सुनेको छु
धेरै पटक आकाश खुलेको बेला
क्षितिजमा रक्तिम आभा पोखिएको बेला
कतै जलजला यस्तै होला भनेर
पश्चिमतिर फर्केर हेरेको छु

जलजला काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अँगालो हालेर
नाच्ने दिन अझै–अझै टाढा छ

यात्रामा भेटिएका
जूनकीरीसँग रमाएर बस्नु हुन्न
विषालु हातहरू वरिपरिबाट
तिमीलाई छाम्दैछन्
तिम्रो छातीभित्र जीवनको खानी छ
तिम्रो हृदयभित्र विश्वासको सगरमाथा छ
जलजला, मलाई अचेलहुँदो
तिम्रो शिखरको उचाइमा चढेर
एकपटक पूर्वतिर हेर्न मन लागेको छ
तिम्रो सुन्दर गीत रच्न मन लागेको छ
कटक्क मन काटिने गरी
तन्नेरीहरू सात समुद्रपारीबाट
बिकलाङ्ग शरीर लिएर फर्किरहेछन्
र हेरिरहेछन् तिम्रो उँचाइलाई
उनीहरूलाई यतै बाँच्न सिकाउनुपर्छ
गल्लावालको पछि
मैनबत्ती झैं पग्लिएर
भविष्यको मृगतृष्णामा
यौवनसँगै जीवनलाई जलाउँदै
पराया देशतिर जुलुसझैं ताँती लाग्दैछन् चेलीहरू
उनीहरूलाई यहीं बाँच्न सिकाउनुपर्छ
जलजला, तिम्रो शिखरलाई चुमेर
मलाई पनि अचेलभरि
राना कान्छाको अनुहार कोर्न मन लागेको छ
बिल्टु थारूको अनुहार फेर्न मन लागेको छ ।

जलजला, तिमी इतिहासलाई बदल्न खोज्ने पहाड
वर्तमानलाई धावा बोलिरहेछौ
मैले पनि बस्तीलाई यतिबेला खण्डहर देखेको छु
तिम्रा चम्किएका आँखाझैं
मैले पनि बस्तीमा आगो सल्केको देखेको छु
तिमी महाभारत हुँदै मेरो बस्तीतिर फैलनुपर्छ
चुरे हुँदै मेरो बस्तीतिर तन्कनुपर्छ
म पनि वर्तमानका विरूद्धमा सर्जमिन बकिरहेछु
म पनि यही खण्डहर बस्तीबाट
एउटा सपना साँचिरहेछु
म पनि यही जलेको बस्तीबाट
सुन्दर भविष्य खोजिरहेछु ।


0
साहित्य सन्ध्या, वर्ष १, अंक १०, पूर्णाङ्क १०, २०५८ भाद्र

No comments:

Post a Comment