Saturday, February 29, 2020

कविता : सेतो दरबार

- मातृका पोखरेल 
सेतो दरबार
प्रत्येक रात
हेलम्बूको बैंसलाई बलात्कार गर्छ
काले कामी र गोरे घर्तीको
पसिनाले नुहाउँछ
यो बस्तीमा घाम लाग्ने कुरा
ऊ सुन्ने चाहँदैन
आठ वर्ष अघि एक दिन
रातकै समयमा भए पनि
बादलले अलिकति मुख खोल्यो
जूनले आफ्नो अकिति रुप देखायो
हो त्यदिन,
सेतो दरबारले कर्फ्युको घोषणा गर्‍यो ।

त्यो दरबारमा
मान्छेका करङ्गका सारङ्गिहरु
कुनै चाडपर्वमा, कुनै उत्सवमा
बेसुरसँग बजाइन्छन्
खै ! कतिलाई थाहा छ ?
त्यहाँ मान्छेको रगतको पूजा चल्छ
बालकका ओठहरु
स्वादिष्ट भोजनमा गनिन्छ
अनि त्यो दरबार
आलो रगतको स्वीमिङ्गपुल
सजाएर राखिएका पूर्वजका खप्परहरु
अज्ञात धुम्रकेतु र उलकापिण्डका चित्रहरु
यही हो त्यहाँभित्रको सुन्दरता ।

अदालतका प्रत्येक मिसिलहरुमा
हामीहरु सबैले हेरे हुन्छ
ऊ चेतनासँग मुद्दा लड्छ
जेलघरहरु सर्जिमिनमा साथ दिन्छन्
भुइँचालोको सूचना पाएको म्याद बोकेर
अचेल ऊ वरिपरि निहाल्छ
हाम्रो बस्तीको बीचमा
उसको चलन बेग्लै छ ।
उसको व्यवहार बेग्लै छ ।



योजना साप्ताहिक, वर्ष १६, अंक ७, २०५५ जेठ १४ गते

=====================================




No comments:

Post a Comment