Saturday, February 29, 2020

कविता : सूर्य ! उदाउ अब

- मातृका पोखरेल

कैयौं वर्षदेखि
जाडाले कठ्याग्रिंएका शरीरहरु
सीतले भिजेका अनुहारहरु
तिम्रै आशामा
निर्धक्कसँग बाँचिरहेकाछन्
त्यसैले, तिनीहरुको उद्धार गर्न
सूर्य ! तिमी उदाउ अब ।

कैयौं वर्षदेखि
भोकभोकै परेका
जिउभरि पसिनाले भिजेका
हाड र छाला मात्रका मानिसहरु
तिम्रै आशामा
बिस्कुन सुकाउन प्रतिक्षा गरिरहेछन्
तिमीलाई बादल हटाउन
तिनीहरुले नै साथ दिनेछन्
त्यसैले तिनीहरुको मर्म बुझ्न
सूर्य ! तिमी उदाउ अब ।

एउटा नयाँ शिशुलाई
जन्म दिएकी आमा
सडकमा थकित भएर बसेकी
जसले माक्र्स जन्माएकी छन्
उनको शिशुलाई स्याहार गर्न
सूर्य ! तिमी उदाउ अब ।




समीक्षा साप्ताहिक, वर्ष २९, अंक ५०, २०४५

--------------------------------------------------------------------

सूर्य उदाउ अब - ( मातृका पोखरेलको प्रथम प्रकाशित कविता )




 [साप्ताहिक समीक्षा, वर्ष-२९, अङ्क-५०, २०४५ साल]


-----------------------------------------------------------------------

मेरो पहिलो प्रकाशित  कविता 'सूर्य उदाउ अब' यसरी छापियो
लेख्न थालेको झण्डै १० वर्षै हुन थालेको थियो । ०३६ सालमा भानुभक्त मा.वि. पानीपोखरीमा पढ्दा 'भानुभक्तको सम्झना' शिर्षकको छन्दोबद्ध कविता लेखेर उपत्यकाव्यापि प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेको थिएँ । बिराटनगरमा पढ्न गएपछि त निकै कविता लेखें । बिराटनगरका साहित्यिक कार्यक्रममा कविता बाचन गर्न प्राय छुट्दिनथिएँ । त्यसपछि काठ्मान्डु आएँ । त्यसबेलासम्म मेरो कविता कतै पनि प्रकाशन भएको थिएन ।२०४४ सालतिर डिल्लीबजारमा बस्दा ओल्लोपल्लो डेरामा बस्ने एकजना मोरङतिरका नेत्र प्रसाद आचार्य भन्ने साथी थिए । उनी त्यसबेलाको अत्यन्तै लोकप्रिय पत्रिका 'समीक्षा' साप्ताहिकमा काम गर्थे । एक साँझ कुरैकुराको शिलशिलामा उनले 'समीक्षा' साप्ताहिकमा कविताहरु पनि छापिने हुनाले सम्पादकलाई भेटेर कविता दिन आग्रह गरे । उनकै सल्लाहबमोजिम उनीसंगै 'समीक्षा' साप्ताहिकको कार्यालय कालिकास्थान गएँ । नेत्रजीले पत्रिकाको कार्यालयको ढोकाबाट भित्र पस्नेबित्तिकै टाढैबाट पल्लो कोठामा उभिएर केही पढ्दै गरेका सम्पादक विनोदमणि दीक्षितलाई देखाईदिए । ढोकाको छेउको एउटा कुर्सीमा एकजना पाको उमेरको मानिस थिए । म तिनै पाको उमेरको मानिसलाई छिचोलेर सम्पादक विनोदमणि दीक्षितलाई कविता दिन अघिमात्र के सरेको थिएँ , तिनै पाको मानिसले खै ! के हो भनेर मेरो हातको कागज मागे । मैले दिनेबित्तिकै उनले पढे र यो कविता यही अङ्कमा छापिन्छ, अरु पनि लेखेर ल्याउनु भने । पछि नेत्रजीबाट थाहा भयो तिनै मान्छे रहेछन - मदनमणि दीक्षित । मेरो पहिलो कविता 'सूर्य उदाउ अब' यसरी छापियो । त्यसपछि मेरा निकै कविताहरु 'समीक्षा' साप्ताहिकमा छापिए
- मातृका पोखरेल

No comments:

Post a Comment