आमुख
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको विशेष पहल एवम् सक्रियतामा २०७५ असार २९–३१ मा काठमाडौंमा सम्पन्न हिमवत् खण्ड कला, साहित्य, संस्कृति सम्मिलन मानव सभ्यताको पुनर्जागरणको महत्वपूर्ण आयाम हो । यस सम्मिलनले साँस्कृतिक साम्राज्यवादको अतिक्रमणको चपेटामा परेको पूर्वीय दर्शन–चिन्तन कला, साहित्य, संस्कृति, राजनीतिको उत्खनन, उन्नयन, सम्वद्र्धन, प्रवद्र्धन एवम् विस्तारमा ठूलो टेवा पु¥याउनेछ । ओझेलमा परेका हाम्रा इतिहास, दर्शन, कला, साहित्य संस्कृति, विचारहरुलाई पुनर्जागरणको आयाममार्फत् जनजनको जीवन बनाउनुपर्छ भन्ने सन्देश दिएको छ । आदि–अनादि मानवसभ्यताको उत्पत्ति, ज्ञान–विज्ञान, कला–संस्कृतिको आविष्कारको केन्द्र हिमवत् खण्ड जीवन र जगतको वास्तविकताको प्रतिविम्बन हो । यस्तो ऐतिहासिक भू–खण्डको मानवसभ्यताको पुनर्जागरणमा प्रधानमन्त्री ओलीज्यूको विशेष ध्यान केन्द्रित हुनु हाम्रो अहोभाग्य हो । ऋषिमुनिहरुको तपोभूमि, ज्ञानभूमि, वीरता, सौर्य र धीरताको भूमि नेपालमा आदिकवि भानुभक्त आचार्यको २०५ आंैँ जन्मजयन्तीको सन्दर्भ पारेर ‘हिमवत्खण्ड कला–साहित्य सम्मेलन, २०७५’ प्रधानमन्त्रीकै नेतृत्वमा सुसम्पन्न हुनु नेपालसहित यस भू–खण्डमै ऐतिहासिक तथा युगान्तकारी सफलता होे । यस कार्यले आमजनतामा आशा र विश्वासको दियो जलाएको छ । समृद्ध नेपाल र सुखी नेपालीको स्वप्न पूरा गर्ने हुटहुटी एवम् दृढता प्रस्फुटित गराएको छ । उक्त कार्यक्रममा ‘हिमवत् खण्डमा भाषाको उद्भव र त्यसको विकासको आयाम’, ‘नेपालका भाषाहरुको साहित्यिक अवस्था र समृद्धिको यात्रा’, ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त र नेपाली कला–संस्कृतिको फैलिँदो आकाश’ विषयक कार्यपत्रहरु प्रस्तुत हुनुका साथै उक्त कार्यपत्रउपर विशेष परिपूरण, समीक्षा सम्पन्न भए । यसले हिमवत् खण्डको रणनीतिक महत्वलाई विश्वसामु थप उजागर गरेको छ । यस सम्मेलनले साँस्कृतिक साम्राज्यवादको प्रभुत्व एवम् हस्तक्षेपका विरूद्ध वैचारिकरुपमा अभियान छेडी पूर्वीय कला, साहित्य, संस्कृति, इतिहास र राजनीतिको संरक्षण एवम् प्रवद्र्धनमा कुनै कसर बाँकी राखेको छैन । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको ब्यानरमा आयोजित हिमवत्खण्ड कला–साहित्य सम्मिलनले हिमवत्खण्डको भूगोलभित्रका नेपाल, भुटान, भारत, चीन, म्यानमार, माल्दिभ्स, पाकिस्तान, अफगानिस्तान, मङ्गोलिया, ताजकिस्तानलगायतका क्षेत्रको पूर्वीय दर्शन, चिन्तन, कला–साहित्य एवम् संस्कृतिको उत्खनन्, उन्नयन, सम्वद्र्धन, प्रवद्र्धन एवम् विकासमा असाधारण युगान्तकारी भूमिका निभाई उचित दिशानिर्देश गरेको छ । यस ऐतिहासिक सम्मिलनमा प्रधानमन्त्री के.पी. ओलीज्यूले आफूलाई अग्रमोर्चामा उभ्याई नेतृत्व लिनु कला, साहित्य र संस्कृतिप्रति उहाँको प्रगाढता प्रष्टै देखिन्छ । यस ऐतिहासिक कार्यक्रममा मोदनाथ प्रश्रित, सत्यमोहन जोशी, जगमान गुरूङ, शान्ता मानवी, प्रा.डा. राजेन्द्र सुवेदी, डा. देवी नेपाल, प्राज्ञ मातृका पोखरेल, विजय सुब्बा, खगेन्द्र राई, निर्देशक दिनेश डिसी, पङ्क्तिकार स्वयम्लगायत लेखक, कलाकार संस्कृतिकर्मीहरुको भूमिका अविष्मरण्ीय छ, जसबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा कला, साहित्य र संस्कृतिको अहम भूमिका छ भन्ने स्पष्ट हुन्छ ।
- आरसी न्यौपाने
हिमवत् खण्ड विषय विस्तार
हिमको आलय, हिमवर्षा हुने शिखरणीय हिमाली क्षेत्र नै हिमवत्खण्ड हो । गङ्गाको उत्तर नेपाल पुनः एकीकरणले स्थापित गरेको आदर्श क्षेत्र, काश्मिर पश्चिम, तिब्बतका केही भाग मानसरोवर, गुंगे, पुराङ, ल्हासाको केही भाग मूलतः दक्षिण–पूर्वी हिमवत् क्षेत्र मानिन्छन् । यसको ताज सगरमाथाको आसपास भारोपेली र तिब्बत, बर्मेली सभ्यता हिमवत् खण्डको मर्म हो । यो क्षेत्र पूर्वीय दर्शन, चिन्तन, तप र पवित्रताको मौलिक थलो पनि हो । शिखरणीय यात्रा यसको मूल ध्येय हो । शास्त्रीय दृष्टिकोणअनुसार, शिव नै हिमवत् खण्डका अधिष्ठाता हुन् । यिनैबाट भाषा, सङ्गीत, नृत्य, व्याकरण, योग आदिको उत्पत्ति भएको मानिन्छ । हाम्रा कला–साहित्य, रीतिथिति, संस्कृति, नाच, बानीव्यवहारबाट जीवनलाई डो¥याउने पद्धतिको समग्र केन्द्र हिमवत्खण्ड हो ।
समन्वयात्मकताको सन्देश दिने हिमवत् खण्ड नेपालको पौराणिक भूगोल हो । नुनकुन, किन्नर, कैलाश, कामेत, नन्दादेवी, आपी, धवलागिरी, अन्नपूर्ण, गोसाईस्थान, गौरीशंकर, सगरमाथा, मकालु, कञ्चनजङ्गा, चोमोल्हारी इत्यादिले चर्चेको क्षेत्र हाम्रो हिमवत् खण्ड हो । यसले सात राष्ट्रको बाहिरी सीमा पााकिस्तान, अफगानिस्तान, रूस, चीन, भारत, नेपाल, बर्माको उत्तरी पर्वतीय पर्खाललाई छुन्छन् । हिमवत्खण्डको बीचमा नेपाल पर्छ ।
हिमवत् खण्डको केन्द्र धवलागिरी, अन्नपूर्ण र सर्वोच्च शिखर सगरमाथालाई ओगटेको छ । यो भूमि आधुनिक नेपाली भाषाका श्रीवृद्धिकार आदिकवि भानुभक्तको जन्म–कर्मभूमिको रुपमा परिचित छ । मानवसभ्यताको केन्द्रकै रुपमा यसले प्राचीनकालदेखि जोडिन पुगेका महात्म्य, वेद, पुराण, उपनिषद्, ब्राह्मणग्रन्थ, ऋगको ऐतेरय, यर्जुको शतपथ, सामको साम अथर्व, गोपथ ब्राह्मण ग्रन्थ, ब्रह्म विधान, मिमांश, रामायण, महाभारत, गीताहरु, स्मृतिग्रन्थजस्ता वेदाङ्गहरु, शिक्षा, कल्प, निरूक्त, छन्द, ज्योतिष र व्याकरण, कला–साहित्यबाटै प्रष्ट हुन्छ । यस नाभिकीय रुप हिमवत्छादित तेस्रो धु्रवको दक्षिण–पश्चिमी र दक्षिण–पूर्वी खण्डको विशिष्टताले मानवसभ्यताको मूलधारको मौलिक पहिचानलाई स्थापित गरेको छ । यी दुवै पूर्वीय र उत्तर–पश्चिम खण्डले आफ्नो मौलिकतालाई उत्तिकै प्रखर रुपमा अघि बढाएका छन् ।
कला–साहित्य
कला यथार्थको सिर्जनात्मक र रचनात्मक पुनरोत्थान हो । यसको स्रोत श्रम हो । वस्तु र चेतनासँगै कलाको पनि विकास हुँदै आएको छ । कला उपयोगी र ललितकला गरी दुई प्रकार रहेका छन् । उपयोगी कलाअन्तर्गत शिल्प, कौशल, शारीरिक बनावट, केशसज्जा, भवन निर्माण, डिजाइन, फेसन, दैनिक प्रयोगमा आउने वस्तुहरु पर्दछन् भने ललितकलाअन्तर्गत वास्तु, मूर्ति, सङ्गीत, साहित्य आदि पर्दछन् । कलाको सार संज्ञानात्मक, विचारधारात्मक तथा सौन्दर्यात्मक गरी तीन किसिमले अभिव्यक्ति हुन्छ । जीवन र जगत््को यथार्थबोध गर्न कलाले मानवज्ञानका सम्पूर्ण क्षेत्रलाई आफूभित्र समेटेको पाइन्छ । भाषा–साहित्य कलाको विशिष्ट रुप हो । शब्दको माध्यमद्वारा यथार्थको कलात्मक प्रतिविम्बन गर्नु नै साहित्य हो । साहित्यमा भाषा, भाव, विचार र रुप विधाजस्ता तत्वको आवश्यकता पर्छ । साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले समाजको विकास एवम् गतिमा महत्वपूर्ण योगदान पु¥याउँछ । त्यस्तै, साहित्य संस्कृतिको एउटा महत्वपूर्ण पक्ष हो । संस्कृति भनेको भाषा, साहित्य, कला, इतिहास, राजनीति, आचार–विचार, प्रथा–परम्परा, चालचलन, रीतिथिति, वेशभूषा, सिर्जना, निर्माण तथा मनोविज्ञान आदिको समग्रताको समुच्चय हो ।
हिमवत् खण्डको कला–साहित्य र संस्कृतिको इतिहास युगीन छ । समाजवादी यथार्थवाद परिस्थितिलाई मानवीय चेतनाबाट फेर्न सकिने चिन्तधारामा आधारित छ । देशकाल र जीवनको गहिरो सम्बन्धमा रहिरहने यसको विशेषता हो । मानवजातिको उत्पत्ति विकासको केन्द्रभूमि हिमवत् खण्डको कला–साहित्य हार्दिकता र संवेदनायुक्त छ । यस क्षेत्रका सम्पूर्ण कला–साहित्य र संस्कृति सिङ्गो मानवजगत्लाई उचित दिशानिर्देश गर्न सफल हुँदै आएको कुरामा कुनै दुविधा छैन । समस्त मानवसभ्यताको विकासकेन्द्र हिमवत् खण्ड ‘वादवादे जायते तत्वबोध’ ज्ञानात्मक द्वन्द्वको परिवेश हो, जुन वर्गसङ्घर्षकै इतिहास पनि हो । यस क्षेत्रको कला–साहित्य संस्कृति उत्पादन र विनिमयको आर्थिक सम्बन्धसँग पनि जोडिन पुगेको छ । कौटिल्यको अर्थशास्त्र त्यसको ज्वलन्त उदाहरण हो । यस क्षेत्रका कला–साहित्यले समाजमा विभेद हुन नदिन ‘वसुधैव कुटुम्बकम’ को मूलमन्त्र सम्प्रेषण गरी सबै प्राणीजगत्को भलोमा अनुपम सम्बोधन गर्न सफल छ । धर्म कलाको क्षेत्र हो । यस भू–खण्डका विचारधारा कला र साहित्यमा पनि प्रतिविम्बित भइरहेका छन् । हिमवत्खण्डको दर्शन, कला–साहित्य संस्कृतिले यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । समाजमा न्याय, समानता, स्वतन्त्रता समतामूलक समाज निर्माणमा हिमवत् खण्डको कला–साहित्यले वैचारिक अभियान नै छेड्न सक्षम भएकोे छ । हिमवत् खण्डमा आवृत्त देशहरु आ–आफ्ना ऐतिहासिक गौरवपूर्ण महात्म्यबाट च्यूत हुन सक्तैन । यतिखेर पूर्वीय दर्शन–चिन्तन सभ्यताको मुहान हिमवत् खण्डको आदर्श च्यूत गराउन साँस्कृतिक–साम्राज्यवाद जोडतोडले लागिरहेको छ । साम्राज्यवादले हिमवत्खण्डको मौलिक आदर्शलाई नवऔपनिवेश बनाउने जति धृष्टता गरे पनि ऊ यो क्षेत्रमा कुनै पनि हालतमा सफल हुने छैन, हुन पनि दिइने छैन । अनेकन् प्रतिकूलतासँग जुद्धै हिमवत् खण्डको आदर्श राजनीति, कला–साहित्य र संस्कृतिले ज्ञान–विज्ञान, आचार–विचार, कला–साहित्य, संस्कृति, राजनीति, इतिहास, अर्थशास्त्र, पुरातात्विक महत्वलगायत समग्र दृष्टिबाट विश्वलाई दिशानिर्देश गरिरहेकै छ । वास्तवमा सबै आस्थाप्रति मैतृभाव र करूणाभाव नै हिमखण्डको आदर्श कला हो ।
ऐतिहासिक गौरवको जगमा उभिएको हिमवत् खण्ड समग्र विश्वजगत्का लागि प्रेरणा र आदर्शको स्रोत त हुँदै हो; साथै, शिव, वेदव्यास, वाल्मीकि, कालिदास, तुल्सीदास, कपिल, महर्षि शुकदेव, अष्टावक्र, जनक, सीता, राम, कृष्ण, राजा हरिश्चन्द्रका, गुरू वशिष्ठ, पाण्डव र कौरवका गुरू द्रोणाचार्य, हस्तिनापुरका राजगुरू कृपाचार्य, देवताका गुरू बृहस्पति, लव र कुशका गुरू वाल्मीकि वा बलरामका मार्गनिर्देशक गुरू परशुराम, बलराम र कृष्णका कूल पुरोहित महर्षि गर्ग, परीक्षित राजाको अश्वमेघ यज्ञ गराउने गुरू कृपाचार्य, दैत्यगुरू शुक्राचार्य, मौर्यवंशका गुरू चाणक्य, संस्कृत व्याकरणका प्रणेता पाणिनी, ऋङ्गी ऋषि, गणितका प्रणेता यक्यवल्क्य, आयुर्वेदका जननी धन्वन्तरी यस खण्डका कला–साहित्य र संस्कृतिका जननी हुन् । यही मान्यतालाई नेपाललगायत अन्य क्षेत्रले पनि आ–आफ्नो सापेक्षतामा थप विकसित गर्दै लगेका हुन् । यसको प्राचिनी आयामसँगै यसको निरन्तर उन्नयनमा ऋषि, ऋषिका, महर्षिका साथै पाणिनी, कपिल, गोरखनाथ, पृथ्वीनारायण, भानुभक्त आचार्य, मोतिराम भट्ट, झागल गुरूङ, बिसे नगर्ची, योगी नहरिनाथ, कवि शिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पुष्पलाल आदिको योगदान रहेको छ ।
हिमवत् खण्डको मूल्य, मान्यता र आदर्शलाई पछ्याउँदै त्रिभुवन विश्वविद्यालय र प्रज्ञा–प्रतिष्ठानको स्थापनाले भाषा, कला–साहित्य र संस्कृतिको उन्नयन र सभ्यताको विकासमा महत्वपूर्ण योगदान पु¥याएको कुरामा कुनै दुविधा छैन । सिजर्नाभिलाषी राजा महेन्द्रले यस हिमवत् खण्डको कला–साहित्य र संस्कृतिको उन्नयनमा पु¥याएको योगदानबाट यस खण्डको कला–साहित्य र संस्कृतिले समृद्धिको यात्रा तय गरेकै हो । अन्य मातृभाषी स्रष्टाले पनि राष्ट्रभाषा नेपालीको माध्यमबाट आ–आफ्ना कला–सिर्जना पस्किएर यहाँको कला–साहित्य र संस्कृतिले समकालीन प्रतिष्ठा हासिल गरेको तथ्य बिर्सन मिल्दैन । भानुभक्त, जसले नेपाली भाषाको श्रीवृद्धि मात्र गरेनन्; उनले जातीय विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकताको अमर सन्देश दिए । यिनै भानुको जन्मजयन्तीको अवसरमा हिमवत् खण्ड साहित्य सम्मिलन हुनु उनको मात्र सम्मान नभएर समग्र पूर्वीय दर्शन, चिन्तन, सभ्यता, कला–साहित्यको सम्मान पनि हो । यसबाट स्पष्ट हुन्छ कि मानवसभ्यता तथा कला–साहित्य, संस्कृतिको मानक यसै हिमवत् खण्ड हो ।
कला–साहित्यलाई समाजको आधारभूत परिवर्तन एवम् समग्र विकासको स्रोतको रुपमा पनि बुझिन्छ । हिमवत् खण्ड कला–काव्यमय छ । मानवीय जीवनमा कला–साहित्यले महत्वपूर्ण भूमिका खेल्दछ । जीवन र जगत्लाई सौन्दर्यपरक ढङ्गले आत्मबोध गर्न प्रेरित गर्न कला–साहित्यले जीवनदायी भूमिका खेलेको हुन्छ । कला–साहित्य र संस्कृति मूलतः आत्मिक रुपान्तरणको साधन हो । सामाजिक रुपान्तरणमा ज्ञान–चेतनाको निर्माण गर्नु तथा जीवनजगत् र चिन्तनको समग्रताको समुच्चय यसको यथार्थ हो । नेकपाको स्थापना (२००६) पछि नेपालमा समाजवादी यथार्थवादी कला–साहित्यले सामन्तवाद, साम्राज्यवादविरोधी कला–साहित्य, संस्कृति एवम् माक्र्सवादी सौन्दर्य–चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मानवीय सभ्यताको अजम्बरिता मूर्तिकृत हुँदा त्याग, बलिदान, वीरता, सौर्य र धीरताको कला–साहित्य संस्कृति प्रस्फुटित हुनु हिमवत् खण्डको गौरव हो । त्यसैले सामाजिक जीवन र परिवेशलाई जीवन्त ढङ्गले प्रतिनिधित्व गर्न कला–साहित्यको अहम् भूमिका छ । गतिशील यथार्थजस्तै मानव सौन्दर्यबोधको गति पनि सशक्त र प्रभावकारी हुन्छ । कला–साहित्यको मूल्याङ्कनको मुख्य आधार ‘सत्यम् शिवम्, सुन्दरम्’ (ज्ञानात्मक विचारधारात्मक) मूल्यहरु हुन् । जीवन कलामय हुन्छ, समाज तथा मानवजीवनको वास्तविक ढाँचा जिन्दगीका आधारभूत जीवनप्रणाली तथा लय, भोगाइहरु कला–साहित्यमा रुपान्तरण हुन्छन् । यही नै कला–साहित्य र संस्कृतिको प्रतिविम्बित संश्लेषण हो ।
शैवकोण
पृथ्वीमा मूलतः तीन हिमवत्छादित क्षेत्र छन् । त्यसमध्ये उत्तरी ध्रुव, दक्षिणी धु्रवको हिमछादित एवम् प्रभावित दक्षिणी धु्रवको क्षेत्र, तेस्रो धु्रवको रुपमा हिमालय पर्वत शृङ्खलाको हिमवत्छादित क्षेत्र यस वसुन्धरामा अवस्थित छ । उत्तर–पश्चिममा भू–मध्यसागर र दक्षिण–पूर्वमा बङ्गालको खाडी यसका विस्तारक चौघेरा हुन् । हिमवत् खण्डको मूलकेन्द्र कैलाश पर्वत शृङ्खला, मानसरोवर हुन् र यसको निरन्तरता सगरमाथासहित उच्च हिमशृङ्खलाहरुसँग जोडिन पुगेका छन् । नुनकुन, किन्नर, कैलाश, कामेत, नन्दादेवी, आपी, धवलागिरी, अन्नपूर्ण, गोसाईंस्थान, गौरीशङ्कर, सगरमाथा, मकालु, कञ्चनजङ्गा, चोमोल्हारीजस्ता हिमालले चर्चेको क्षेत्र हिमवत् खण्ड हो । यसले सात राष्ट्रको बाहिरी सीमा पााकिस्तान, अफगानिस्तान, रूस, चीन, भारत, नेपाल, बर्माको उत्तरी पर्वतीय पर्खाललाई छुन्छ । हिमवत् खण्डको बीचमा नेपाल पर्छ । हिमवत् खण्ड ज्ञान–विज्ञान, आविष्कार र अनुसन्धानको मूलथलो हो । यसको मुख्य केन्द्र नेपाल हो । हामीले यसको सन्देशलाई विश्वभर छर्न सक्नुपर्दछ । सत्यम्, शिवम्, सुन्दरम् यस क्षेत्रको सौन्दर्यात्मक आयाम हो । ‘गल्ती गर्दा चित्त नदुखाऊ है’ भन्ने अभिव्यक्ति सत्, चित्, आनन्दकै एउटा पक्षको रुपमा चित्त नेपाली समाजमा प्रचलनमा छ । यो शिव संस्कृति शास्त्रीय तथा लौकिक मान्यतामा आधारित छ । पाशुपत क्षेत्र गोकर्णमा आएर त्रिलोकपति रावण र कुवेरले तपस्या गर्नु, जनकको दरबारमा शिवधनुष पाइनु, रामले लङ्का जित्नका लागि रामेश्वरमा शिवलिङ्ग स्थापना गरी लङ्काको विजयको स्तुति गर्नु, अर्जुनले यस क्षेत्रमा पाशुपतशास्त्रको शिक्षा लिनु, श्रीकृष्णले शिव र देवीको स्तुति गर्नु आदि हिमवत्खण्डकै कला–साहित्य, संस्कृतिकै प्रभाव र विस्तारलाई बुझाउँछ । ऋषि, महर्षि वेदव्यास, पाणिनी, कपिल, वाल्मीकि, यक्यवल्क्य, परासर, अष्टावक्र, बुद्ध, गोरखनाथ, गार्गी, ऋङ्गी आदिले यस क्षेत्रमा तपस्या गरी आध्यात्मिक–भौतिकवादी ज्ञान फैलाउनु हिमवत् खण्डको गरिमा हो । यो क्षेत्रलाई परापूर्वकालदेखि शक्तिको मूलथलोका रुपमा पनि मानिँदै आएको छ । नारी शक्तिको अधिकार र महिमाको वर्णन देवी भागवत महापुराणजस्तो साहित्यबाट हुनु हिमवत् खण्डको विशिष्टता हो ।
मानवसृष्टि तथा ज्ञान–विज्ञानको मौलिकताको विस्तार यहीँबाटै भएको हो भन्ने मान्यता विभिन्न अनुसन्धान र अन्वेषणबाट प्रमाणित हुन्छ । रुपन्देही–बुटवलमा प्राचीन मानव रामापिथेकसको अवशेष पाइनुले पनि यस कुरालाई पुष्टि गर्दछ । अमेरिकी वैज्ञानिक संस्था नासाले हिमवत् खण्डको मूल भाषा संस्कृतलाई अन्तरिक्षको अन्वेषणको आधिकारिक भाषा बनाउन पुगेबाट यो क्षेत्रलाई थप गौरवान्वित तुल्याएको छ । यसले हिमवत् खण्डकै कला–साहित्यको विराट स्वरुपलाई नै प्रतिविम्बित गर्दछ । साथै, ‘सूर्यको आसपासमा ॐको ध्वनि छ’ भन्ने वैज्ञानिकको पछिल्लो भनाइबाट शिव नै सृष्टिको आधार हो शास्त्रीय मान्यतालाई थप बल पु¥याएको छ । पूर्वीय मान्यतामा चेतना (बीज) बाटै प्रकृति अर्थात् सृष्टिको अभ्युदय भएको हो । कैलाश शिखर पनि शिवलिङ्गकै आकृतिमा रहनु अनुसन्धानको विषय हो । हिमवत् खण्ड मानवजातिको उत्पत्ति, विकास र सिङ्गो सभ्यताको उद्भवभूमि भएकोले यस क्षेत्रमा विश्वको ध्यानाकर्षित हुनु स्वभाविकै हो । हिमवत् खण्डको मूल केन्द्रभूमि नेपाल हो, जसले चीन र भारतलाई जोड्ने अध्यात्मको सेतुको भूमिका निर्वाह गरिरहेको छ । यस क्षेत्रका मानिस शान्त, सहिष्णु, सद्भाव र हार्दिकताले भरिपूर्ण, स्निग्ध, प्रशन्न मुहार भएका, निष्ठामा बस्ने, खास गरेर शिवलाई मान्नेहरु हुन् भन्ने मान्यता रहिआएको छ । मानसरोवर र कैलाश हिमाल हिमवत्खण्डको केन्द्र हुन््, जहाँ शिव र पार्वतीको वास रहेको छ भन्ने मान्यता रहिआएको छ । यस्तै तक्षशीला र नालन्दा पनि हिमवत् खण्डको ज्ञान केन्द्र हो, जहाँबाट संस्कृत, भाषा, साहित्य, संस्कृतिको अध्ययन, अनुसन्धान र दिग्दर्शनका महान् ग्रन्थहरु जन्मिए । विष्णुगुप्त कौटिल्यले अर्थशास्त्रको सिर्जना यसै क्षेत्रमा गरे ।
हिमवत् खण्ड मूलतः ज्ञानभूमि, तपोभूमि, ऋषिभूमि हो । यहाँबाट पवित्र नदीहरु कोशी, गण्डकी, कर्णाली, सिन्धु, गङ्गा, ब्रह्मपुत्र, ह्वाङ्हो, याङ्से उत्पत्ति भएका छन् । चिन्तन, अनुसन्धान, अन्वेषणको तपोभूमि हिमवत् खण्ड बहुजाति भाषा–संस्कृतिको अनुपम सङ्गम पनि हो; जहाँ बाहुन, क्षेत्री, मगर, गुरूङ, राई, लिम्बू, नेवार, मैथिली, भोजपुरी, अवधि, थारू, तामाङ, भोटे, खस, दलित समुदाय विविध जातजातिको अन्तर्घुलित बसोबास रहेको छ । यो सद्भाव र सहिष्णु संस्कृतिको द्योतक हो । यसको शास्त्रीय इतिहास अर्थात् शैव र शाक्त मतको प्राचीनता अन्वेषण गर्दा सिन्धुघाटीको उत्खननमा प्राप्त माटाका शिवलिङ्ग र योनीका चिह्नहरुमा पुगिन्छ । सिन्धुघाटीको सभ्यता केवल अहिले पुरातत्वको अन्वेषण बनेको छ तर नेपालमा भने अहिले पनि शिवलिङ्ग एवम् योनीको प्रतीकात्मक पूजा विद्यमान छ । पशुपतिनाथ र गुह्येश्वरीको पूजा यसको ज्वलन्त उदाहरण हुन् । यसरी यस शैवभूमिलाई कला–साहित्य, संस्कृतिको उद्भवभूमिका रुपमा मानिँदै आएको छ । नटराज शिवजीको नाम हो । पुराणमा शिवजीको ताण्डवनृत्य निकै रोेचक ढङ्गमा प्रस्तुत गरिएको छ । यक्ष, गान्धर्व, अप्सरा, विद्याधरहरु पनि शिवजीको नाच हेर्ने पौराणिक कथा छ । शिवजीको ताण्डवनृत्यमा अन्य देवी–देवताले अनेक प्रकारका बाजा–गाजा बजाउने गर्दछन् भन्ने बुझिन्छ । पुराण साहित्यमा शिवजीलाई नासद्य, नटराज, नृत्यनाथ, नाट्यश्वर र नाथेश्वर नाम दिइएको छ । नटराज नाच्दै गरेको स्वरुपमा निर्माण गरिन्छ । यसरी नाचका देवता शिवजी हुन् भन्ने शास्त्रीय एवम् पौराणिक मान्यता स्पष्टतः छ । यसै सन्दर्भमा कवि माधवप्रसाद घिमिरे निम्न कवितांश प्रस्तुत गर्नु उपयुक्त हुन्छ, “सभ्यता वास बसेथ्यो आएर यही साँझमा, शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान”, (…., ….) । हिमवत् खण्ड मानव–सभ्यता हत्या, हिंसा, निन्दा, स्वेच्छातारिता, तानाशाही निरङ्कुशता, उपभोक्तावादी, शून्यवादी प्रवृत्तिबाट विल्कुलै पृथक रहेर मानवजीवनलाई ज्ञानी र हार्दिकतापूर्ण बनाउने विचार प्रवाहको थलो हो, विश्वभर यसलाई शान्तिक्षेत्र यसै भनिएको हाइन । यो कुरा पनि स्मरणीय छ कि अध्यात्म भनेको ईश्वरवाद, अनीश्वरवाद, पाप धर्म, स्वर्ग, नर्क आदिको ढोङभन्दा बिल्कुलै फरक विशुद्ध मानवीय सत्चरित्रको उद्बोधक तत्व हो । दया, दान, दमन (इन्द्रीय दमन) र ‘सत्यम्, शिवम्, सुन्दरम्’ को मुहान हिमवत् खण्ड हो ।
समग्रतामा हिमवत् खण्ड समाजको उन्नति, प्रगति एवम् विकासबारे अनुसन्धान गर्दा त्यतिबेला सामूहिक उत्पादन र उपयोगको दृष्टिमा भौतिकी विकासको आदिमयुग भएको पाइन्छ । इतिहास मानव समाजसापेक्ष रहन्छ किनकि सामूहिक चेतना निरपेक्ष प्रक्रिया होइन । इतिहास गतिशील हुन्छ । व्यक्तिमात्र भौतिक रुपमा आफूभित्र दुःख र सुखमा खेल्दाखेल्दै बूढो हुँदै जान्छन् र मर्छन् । देश र व्यक्तिको वास्तविक इतिहास पनि यही हो । जीवनका भोगाइ एवम् अनुभवको खँदिलो आधारबाट सिर्जना हुने मनोभावको स्थिरता, सौम्यता र आत्मसन्तुष्टि नै मानवीय शान्ति र स्थिरताका आधार हुन् । भोगवादविपरीत भौतिकवाद यथार्थवादी जीवनदर्शन हो भने अध्यात्मवाद भनेको सकारात्मक मानवीय मूल्यको द्योतक हो । अध्यात्मवाद र भौतिकवादलाई पृथक गरेर हिमवत्–सभ्यतालाई बुझ्न सकिँदैन । यो नै शैवकोणको मूलमर्म हो ।
भौतिकवादी कोण
हिमवत् खण्डको मूल्याङ्कन ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा पनि गर्न सकिन्छ । प्राकृतिक उथुलपुथल तथा भूइँचाला, ज्वालामुखी, विस्फोट आदि प्रकरणबाट हिमवत् खण्डका हिमशृङ्खलाहरु उत्पत्ति भएका हुन् । यिनको उत्पत्तिसँगै मानवजातिको उत्पत्ति एवम् विकास भएको तथ्य ऐतिहासिक अध्ययनबाट पुष्टि भएको छ । यसर्थ, क्रमिक रुपमा समाज तथा राज्यको उत्पत्ति तत्कालीन वस्तुगत परिस्थितिको उपज थियो । एकको दुईमा विभाजन र विपरीतको एकत्व हरेक वस्तुको द्वन्द्वात्मक अवस्था हो । हिमवत् खण्डको मानवीय आदर्श पूर्वीय दर्शन–चिन्तन, मूल्य–मान्यता तथा यहाँको ज्ञान–विज्ञानको समग्रता, उच्चतामा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण स्पष्ट छ । शास्त्रीय मान्यता यो पनि छ कि शिवलिङ्गको अन्तर्य बीज (चेतना) र प्रकृति (भौतिक) तत्वको विस्तारित रुप हो । यसमा चेतना र भौतिक तत्वको संयोजन रहेको पाइन्छ । यो माक्र्सवादीहरुका लागि थप अनुसन्धानको विषय बनेको छ । कुनै पनि चीज निरपेक्ष ठीक या बेठीक भन्ने हुँदैन । हरेक मूल्याङ्कनमा सापेक्षताको खोजी गर्नु युक्तिसङ्गत हुन्छ । स्मरणीय छ, इतिहासको अन्तिम मूल्याङ्कन वर्तमानले मात्र गर्न सक्तैन । यसर्थ, हिमवत् खण्डको समग्र इतिहास कला–साहित्य, संस्कृति, मानवसभ्यताको विकासको केन्द्रीकृत आयाम हो । समयसापेक्ष रुपान्तरण एवम् विकास प्रकृति तथा विज्ञानको नियम हो । प्रकृतिभन्दा बाहिर कोही पनि रहन सक्तैनन् । पूर्वीय दर्शन, चिन्तन, ज्ञान–विज्ञानको महासागर हो । यो हिमवत् खण्डको सामाजिक मूल्य–मान्यता, आदर्श जीवन, कला–साहित्य, संस्कृति र ज्ञान सिङ्गो मानवजगत्को विकसित जीवनपद्धति हो । यो नै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको संश्लेषण हो ।
निष्कर्ष
मानिसको उत्पत्तिपछि उसले आफ्नो अस्तित्व रक्षाका खातिर प्रकृतिसँग सहकार्य र सङ्घर्ष गर्न पुग्दछ । हिमवत् खण्ड मानवजातिको उत्पत्तिको मूलथलो भएकोले मानवीय सभ्यताको रक्षा र विकासको प्रश्न एक–अर्कासँग अन्तर्सम्बन्धित छन् । मानवको मूल परिचय चेतना हो । इतिहास मानव समाजसापेक्ष रहन्छ किनकि सामूहिक चेतना निरपेक्ष प्रक्रिया हैन । यसरी नै अस्तित्व रक्षाको प्रक्रियामा विभिन्न सभ्यताको जन्म हुन पुगेका हुन् । मान्छेको प्रकृतिसँगको सहकार्य र सङ्घर्षको आलोकमा मान्छेले नै दर्शन, विचार, चिन्तनको आविष्कार गर्न पुग्यो; जसमा तत्कालीन वस्तुगत परिस्थितिले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । हिमवत् खण्डको मानव सभ्यता, ज्ञान–विज्ञानको आविष्कार एवम् विकास ‘वादेवादे जायते तत्वबोध’ को जगमा निर्माण भएको हो; जसको आधार स्रोतमा मानव–मुक्तिको कला–साहित्य संस्कृतिको उद्बोधन भयो । कला–साहित्य संस्कृतिलाई ज्ञानको विज्ञान पनि भनिन्छ । हिमवत् खण्डको इतिहास पूर्वीय दर्शन–चिन्तनको आलोकसँग अभिन्न छ । आर्थिक विकास आधार हो भने राजनीति, कानुन दर्शन, धर्म, साहित्य, कला आदि उपरिसंरचना हुन्; यो मान्यता हिमवत्खण्डको समग्रतामा पनि लागू हुन्छ । यस भू–खण्डको कला–साहित्यको गहिराइ बुझ्न र बुझाउन ऐतिहासिक तथा शास्त्रीय दस्तावेजको अलावा ऐतिहासिक भौतिकवादी दृष्टिकोणको पनि गहिरो अध्ययन गर्न आवश्यक छ । यसरी हिमवत् खण्डको कला–साहित्यको उद्भव र विकासका नियमसम्बन्धी मार्गदर्शन पाउन सकिन्छ । मानिस इतिहासको सर्जक हो । मानिसले नै सभ्यता र संस्कृतिको निर्माण गरेका हुन् । कठीन मानवीय श्रमको परिणाम हिमवत् खण्डका ज्ञान, विज्ञान र सभ्यताको आविष्कार भएका हुन् । यो प्रकृति जगत््बाट पूर्णमानव बन्ने बाटोको विशिष्ट छलाङ हो । मानवको उत्पत्ति र सभ्यताको विकास सन्दर्भमा फ्रेडरिक एङ्गेल्सको खोजमूलक अनुसन्धानको आधारस्रोत हेगेलको दर्शन हो । उक्त चेतनाको प्रस्फुटनको जग पनि पूर्वीय दर्शन, कला–साहित्य र संस्कृति मान्न सकिन्छ ।
कार्ल माक्र्सले विचार, दर्शन निर्माणको प्रश्नमा पूर्वीय दर्शन–चिन्तनको विशद् अध्ययन गर्दै भौतिकवादी दृष्टिकोणमा व्यवस्थित गर्नुभयो । कम्युनिस्ट चेतनाले वर्गसङ्घर्षको नेतृत्व गर्दा शक्तिको स्रोत पूर्वीय दर्शन तथा चिन्तन प्रणालीलाई आजसम्म कसैले पनि पूर्णतः अस्वीकार गर्न सकेको छैन र सक्दैन पनि । कम्युनिस्ट आन्दोलनले धर्म, कला–साहित्य, संस्कृतिलाई समयसापेक्ष रुपान्तरण एवम् विकास गर्दै लैजानुपर्दछ । नेपालको पुनःएकीकरणले सिङ्गो ऐतिहासिक शृङ्खलाको नेतृत्व गरेको छ । यो विरासत हिमवत् खण्डको प्रतिनिधिमूलक नेपालकोे गौरव हो । अनेकतामा एकताको आधारशीला यसको मूल परिचय हो । भारोपेली र भोट–बर्मेली भाषा र तिनका विद्यमान संस्कृति, परम्परा, मूल्य–मान्यताबीच पारस्परिक मित्रतापूर्ण सम्बन्ध यसको विशेषता हो । यसरी गौरवपूर्ण गाथा बोकेको यसको दर्शन, राजनीति, इतिहास, कला–साहित्य, संस्कृति एवम् सभ्यता सिङ्गो मानवजगत्को वर्गसङ्घर्षको विचारधाराबाट प्रभावित छ । मानव–जीवनको जन्म (उत्थान), मृत्यु (पतन) संसारको धर्म हो । ज्ञान र ज्ञानको शक्तिलाई पदार्थसँग जोड्दै यथार्थवादी चिन्तन गर्ने पूर्वीय दार्शनिक चिन्तक विश्वामित्र, कपिल, कर्णाद, कौडिन्य, बुद्ध, वाल्मीकि, पाणिनीलगायतले ऋगवेददेखि नै पदार्थसँग जोडिएको ज्ञानलाई बढी प्राथमिकता दिए ।
भौतिकवादको विकासमा ऋषि सुश्रुतले शल्य–चिकित्साको आविष्कार गरे । ऋषि कर्णादले वैशेषिक दर्शन लेखे, यिनको विषय परमाणुवाद हो । चार्वाकको भौतिकवादी दृष्टिकोण पनि मननीय छ । माक्र्सभन्दा हजारौँ वर्ष पहिले ऋषिमुनिहरुले पदार्थबाट चेतना आउँछ भन्ने कुरा सविस्तार व्याख्या गरेकै थिए । यो कुनै पश्चिमा चिन्तन होइन । पदार्थबाट चेतना आउँछ भन्ने कुराको विश्लेषण मस्तिष्कले गर्छ । यसर्थ, दावाका साथ भन्न सकिन्छ कि पूर्वीय दर्शन, चिन्तन, कला–साहित्य, संस्कृति जीवनोपयोगी भौतिकवादभन्दा अलग छैन । यो हिमवत्खण्डको गौरवशाली संस्कृति हो । त्यसैले हिमवत्खण्डकोे गौरवपूर्ण महिमालाई थप अन्वेषणका साथ, यसको संवद्र्धन, प्रवद्र्धन एवम् विस्तार गर्न आवश्यक छ । यो नै हिमवत् खण्डको मानवजगत्लाई सही दिशानिर्देश हो ।
मिलाप मासिकको भाद्र अङ्कबाट
www.milapnews.com बाट साभार
No comments:
Post a Comment