Monday, February 24, 2020

सानिमा फेरि फर्किनु भएन– मातृका पोखरेल









-------------------------------------------------------------------------------------------------------

केही दिनदेखि सानिमाको व्यवहारमा निकै परिवर्तन देखिन थालेको थियो । बुझ्न् खोजें, तर केही पनि भेउ पाउँन सकिन । सानिमाको बारेमा म धेरै हदसम्म जानकार थिएँ । तर, केही समय अघि देखि उनको व्यवहारमा क्रमश: आइरहेको परिवर्तनले मेरो चिन्ता बढ्दै गईरहेको थियो । 
कोठामा गएर पनि सानिमा टोलाएर बसिरहन्थिन् । उनी पहिलेभन्दा धेरै भिन्न भइरहेकी थिइन् । उनीबाट सुरुका दिनमा मलाई धेरै सहयोग हुन्थ्यो । अहिले त्यस्तो छैन । कोठामा आएर एक्लै धुम्धुम्ती बसिरहन्थिन् । काममा गयो, त्यहाँ पनि त्यस्तै छ । काम त के भन्नु, हामी जस्ता गरिबको काम हो त्यो । त्यही पनि गरेन भने भोलि पल्टै देखि मुखमा माड लाग्दैन । अचेलभरि सानिमाको व्यवहारले साँच्चिकै सताउन थालेको थियो मलाई । 

०                                 ०                                ०

पोहोर सालको कुरा हो । 
माइतमा आमा सारै बिरामी छिन् भन्ने खबर आएपछि म आमा भेटन् गाँउ गएकी थिएँ । माइत पुगेपछि थाहा भयो, सारै त के आमा नबाँच्ने अवस्थामै पुगिसेकेकी रहिछन् । एकपल्ट मुख हेर्न मन थियो भन्दै म पुगेपछि खुसीका आँसु झार्दै रोइन् । सानिमा छेउमै बसिरहेकी थिइन् ।
“मलाई यसको ठुलो चिन्ता छ । मेरो त तिमीहरू छौ, म मरे पछि यसको के हाल होला ? यो पनि आफ्नै आमा हो भनेर सम्झनु है !” सानिमातिर देखाउँदै आमाले त्यस बेला भनेकी थिइन् । 
म पुगेको केही दिनपछि आमाले प्राण त्यागिन् । आमाले त्यस बेला भनेको सम्झिएर काठमाडौँ फर्किदा सानिमालाई सँगै लिएर आएँ । आमा नभएपछि सानिमाको पनि बस्ने कुनै आधार थिएन । एउटा दाजु थिए उनी पनि आफ्नै व्यवहारले उठ्नै नसक्ने गरी थिचिएका । भाउजूको पनि सानिमा यहाँ नबसिदिए हुन्थ्यो भन्ने चाहना प्रस्ट बुझिन्थ्यो । त्यो बुझेपछि सानिमालाई मैले काठमाडौँ लिएर आउने विचार गरेँ । सानिमा पनि खुसी नै भइन् । सानिमालाई काठमाडौँ लिएर आउने मेरो आर्थिक हैसियत थिएन । म एउटा सामान्य सैनिककी श्रीमती । श्रीमान् जागिरको शिलशिलामा प्राय बाहिर जिल्लातिरै बस्छन् ।  बल्खुचोकमा मकै पोलेर बेच्ने मेरो पेशा । तर हिँड्ने बेलामा आमाको कुरा सम्झेँ । त्यसपछि सानिमालाई सँगै काठमाडौँ लिएर जाने निर्णय गरेँ । 
पहिले सानिमाको आर्थिक अवस्था राम्रै थियो । निकै राम्रो । मेरा माइतीको भन्दा पनि राम्रो । सानो परिवार थियो । सानोबुवा प्राथमिक स्कुलमा शिक्षक हुनुहुन्थ्यो । जनयुद्धलाई सहयोग गरेको आरोपमा शाही सेनाले जङ्गलमा लगेर भिडन्तको नाममा सानोबुवाको हत्या ग¥यो । दस कक्षामा पढ्दै गरेको एउटा भाइ थियो । सानोबुवाको हत्या गरेको केही समयपछि सेनाले घरबाटै भाइलाई लिएर गयो र बेपत्ता बनायो । गाउँमा मान्छे, आफन्तले धेरै खोजी गरे, तर म¥यो कि बाँच्यो केही खुल्न सकेन । त्यसपछि सानिमाका दुःखका दिन सुरु भए । सुरुसुरुमा शाही सेना घरमा आउने र सानिमालाई पनि दुःख दिने गर्न थाल्यो । त्यसपछि आमाले सानिमालाई घर लिएर आउनुभयो । 
०                                 ०                                ०

श्रीमानमात्रको  एक्लो र सानो जागिर दुई वटा साना बच्चाहरू । काठमाडौँको बसाइ । सानिमालाई काठमाडौँ लिएर आएपछि मैले पहिल्यैदेखि गर्दैआएको मकै पोलेर बेच्ने कामको सहयोगी बनाएँ । हामीले नै अभावपूर्ण जीवन बाँची रहेको अवस्थामा सानिमा थपिएपछि अझ कष्टपूर्ण बन्नु स्वभाविकै थियो । सानोबुवाको सम्झनाले भन्दा पनि भाइ सम्झेर सानिमा कहिलेकाहीँ डाको छाडेर रुन्थिन् । 
“अहिले बाँचिरहेको भए मेरो छोरो यत्तिकै अग्लो हुन्थ्यो होला बिमला ।” सानिमाले विष्णुमतिको किनारमा फालिएको एउटा लौरो टिप्दै भनिन् । 
प्रतिक्रियामा मसँग बोल्ने कुनै शब्द थिएन । सानिमाको अनुहारमात्र हेरिरहेँ चुपचाप चुपचाप । भाइको मायालु अनुहार सम्झन पुगेँ । त्यसपछिका प्रत्येक दिन कोठामा फर्कँदा सानिमा हातमा एउटा न एउटा लौरो बोकेर आउँथिन् । 
एकदिनको कुरो हो । 
“हजुरआमाले यति धेरै काठ ल्याएर किन राख्नुभएको ? सानिमाले जम्मा गर्नुभएका लौराहरूतिर देखाउँदै छोरी प्रभाले जिज्ञासा राखेपछि म पनि बिलखबन्दमा परेँ । के भनेर उत्तर दिउँ उसलाई ? भरखरै सात वर्ष पुगेर आठ वर्षमा टेकेकी छ । मैले दिने जवाफले उसलाई कस्तो प्रभाव पर्ने हो, केही पनि अनुमान गर्न सकिन । उसको जिज्ञासालाई टार्ने प्रयत्न गरेँ र कुरालाई अन्यत्रै मोडेँ । 

०                                 ०                                ०

हरिया मकै पाक्ने याम आएपछि मलाई आर्थिक रूपमा अलिक सजिलो हुन्थ्यो । सानिमालाई लिएर दिउँसै बल्खु चोकमा मकै पोल्न जान्थेँ । मकै पोल्ने काममा सानिमाबाट मलाई प्रशस्तै सहयोग हुन्थ्यो । 
“ऊ हेर त, मेरो छोरो बाबुरामजस्तै रहेछ ।” बाटोमा हिँडिरहेको एउटा केटोलाई देखाउँदै सानिमाले भनिन् । 
त्यो केटो हिँडिरहेको बाटो टाढासम्म उसलाई सानिमाले एकोहोरो हेरिरहिन् । 
“हाम्रो बाबुराम यति अग्लो थिएन ।” मैले सानिमालाई त्यो केटो देखेर आउने आफ्नो छोराको सम्झना कम होओस् भनेर भनेँ ।
एक दिउँसो । डेरामा छोरो बिरामी थियो । केही दिनदेखि ऊ विद्यालय जान पनि सकेको थिएन । मैले उसलाई औषधी खुवाउन डेरा जानुपर्ने थियो । सानिमालाई काम जिम्मा लगाएर म डेरा गएँ । 
म डेराबाट फर्कंदा सानिमा थिइनन् । 
“सानिमाले ऊ पर उभिएको केटोलाई देखाउँदै त्यो मेरो छोरो जस्तै लाग्यो, हेरेर आउँछु है भनेर जानुभयो । अहिलेसम्म फर्किनु भएन ।” मेरै छेउमा मकै पोल्ने साथी चिनीमाया तामाङले सानिमा गएको ठाउँतिर देखाउँदै भनिन् । 
धेरैवटा घोगा मकै पोलेर बेचिसकेँ । तर अहँ सानिमा फर्किनु भएन । झमक्कै साँझ परिसक्यो । सानिमालाई नलिइकन घर जान मनले मान्दै मानेन । मकै पोल्ने कन्तारी चिनिमायाको जिम्मा लगाएर सानिमा गएकोतिर खोज्दै कलंकी सम्म पुगेँ । तर सानिमा कतै भेटिइनन् । रात छिप्पिँदै गयो । सडकमा मानिसहरू पनि पातलिँदै गए । 
यता सानिमा हराएको छटपटीले पिरोलिएकी छु । अर्कोतिर उता कोठामा दुइजना नावालक छोरा र छोरी मलाई पर्खिरहेका छन् । अझ छोरालाई ज्वरो आएको चार पाँच दिन भइसक्यो । एक सय दुई तीन डिग्रीबाट ज्वरो ओर्लिएको छैन । घरिघरि त खुवै अतालिन्छु र श्रीमान्लाई घर आउन अनुरोध गर्छु । उनी घर आउन बिदा नमिलेको कुरा गर्छन् । 
केही बेर यताउता खोजेँ । कलङ्की चोकबाट पश्चिमतिर जाँदै गरेका सबै गाडीमा हेरेँ । केही पत्तो लागेन अब मसँग फर्किन बाहेक अर्को कुनै उपाय पनि थिएन । 
दिनभरि परेको सिमसिमे वर्षाले कलङ्कीबाट खसीबजारतिर आउने बाटो निकै हिलो थियो । मोटरहरूले बालेको हेडलाइटको साहाराले पुलको छेउमा आइपुगेँ । 
 “एउटी महिलाले यहीँबाट फाल हानेर आत्महत्या गरिन् ।” बल्खु खोलाको पुलमाथि उभिएर एकहुल मानिसहरू खोलाको बाढीतिर हरेर आपसमा कुरा गरिरहेका थिए । 
“कहाँ नेर ?” अनायास त्यो समूहमध्येका एक जनालाई सोधँे । 
“ऊ त्यहीँ तल” औलाले बाढी आइरहेको खोलाको दहतिर देखाइदियो कसैले । 
छिप्पिँदो रातसँगै बल्खु खोलाको पुलमाथि उभिएर तल बगिरहेको बर्खे भेलमा टर्च बालेर हेर्नेको सङ्ख्या बढिरहेको थियो । बाटो हिँड्नेहरू पनि एकछिन उभिएर परिस्थितिको अध्ययन गर्थे । 
“लास पानी माथि उत्रिएको छैन ।” खोलाको दहमा टर्च देखाएर एउटा मान्छे भन्दै थियो । 
यो घटना सुन्ने बित्तिकै ठुलै शङ्काको पहाडले घर्लप्पै थिच्यो मलाई । यहाँ जम्मा भएका मानिसहरू कोही पनि चिन्दैनन् मलाई । म पनि कसैलाई चिन्दिन । पुलमास्तिर मोटरहरू गन्तव्यमा पुग्न दौडिरहेका छन् । हाम्रो हुललाई देखेर कुनैकुनै मोटरवालाहरू रोकेर जानकारी लिन्छन् र आफ्नो बाटो लाग्छन् । एक जना मानिसले ठुलो टर्चलाइट खोजेर ल्यायो र खोला मुनीको दहमा देखायो । दहमो किनारामा एउटा काठको लौरो पानीको छालले हुत्याइरहेको देखेँ मैले । 
“बाह्र घण्टा नपुगी पानीमा लास उत्रँदैन ।” समूहभित्रबाट एक जना कसैले भन्दैछ । 
“प्रहरीलाई खबर गरे हुन्थ्यो कि !” फेरि अर्कोले भन्दैछ । 
“यस्तो अनावश्यक झन्झट बोक्नुहुन्न । कसले देख्यो ? कहाँ देखिस् ? यस्तायस्ता प्रश्न सोधर पुलिसले हैरान पार्छ ।” फेरि अर्को मान्छे तर्क गर्दैछ । 
“यहाँबाट मानिसले हामफालेको कसले देखेछ ।” बाटो हिँड्ने एक जना बटुवाले भिडमा सोध्यो । 
“ऊ उहाँले देख्नुभएछ ।” त्यहीँ उभिएको एक जना मानिसलाई कसैले देखाइदियो । 
जसले देखेँ भनिरहेको थियो अघिसम्म । उस्को अनुहारमा आतङ्कका छायाँ दौडन थाले । बिस्तारै अँध्यारो हुन थाल्यो उसको अनुहार । एकछिनपछि ऊ मानिसहरूसँग संवाद गर्न छाड्यो । मानिसहरूको सोधीखोजीलाई शायद थेग्न नसकेर होला, कतिबेलाकतिबेला कसैले नदेख्ने गरी ऊ त्यहाँबाट अलप भयो । 
“अब त आत्महत्या गरेको देख्ने मान्छे पनि हरायो ।” अर्को खोजी सुरु भयो । 
“अब देख्ने मान्छेको ठेगाना कसैलाई थाहा छैन ।” भिडमा फेरि अर्को समस्याको तर्कवितर्क सुरु भयो । 
बिस्तारै सबै मानिसहरू आआफ्ना वासस्थानतिर लागे । पुलिसमा गएर खबर गर्ने निधो गरेँ । प्रहरी कार्यालयमा पुगेपछि अघि नै भीडमा कसैले भनेको कुरा राम्रैसँग अनुभूति भयो । 
“खोलामा फाल हाल्नेलाई हेर्न बसेका हवौँ र हामी ?” यसो भन्दै प्रहरी इनिस्पेक्टरले मेरो शरीरमा तलदेखि माथिसम्म आँखा दौडायो । 
रात छिप्पिँदै थियो । सडकमा मानिसहरूको चहलपहल अत्यन्तै पातलो हुँदै थियो । ड्युटीमा बसेका प्रहरीहरू पनि मलाई घुरेर हेर्थे । 
प्रहरीबाट सहयोग पाउनु त कता हो कता आफू जोगिनु ठिक हो भन्ने ठानेर ‘भोलि बिहानै आउँछु’ भन्दै हतारहतार त्यहाँबाट बाहिर फुत्किएँ । 
आकाश, मुसलधारे पानी पार्न तयार भएर बसेको थियो । सदा झैँ बाढीको त्रासले विष्णुमति नदीछेउको हाम्रो सुकुम्बासी बस्ती अशान्तअशान्त भएर जाग्राम बसिरहेको थियो । 

०                                 ०                                ०

भोलिपल्ट ।
भोलिपल्ट बिहान उज्यालो नहुँदै वस्तीका केही छिमेकीलाई लिएर म बल्खु पुलमुनि खोलाको दहमा पुगेँ । साथै गएका सहयोगीहरूलाई त्यो दह देखाएँ । मसँग गएका केही सहयोगीहरू प्रहरीलाई खबर गर्न गए । 
“यहाँ फाल हानेको कसले देख्यो ?” मसँग जाने एक जना सहयोगीले सोधे । 
हिजो बेलुकाको घटना सबै सुनाएँ तर देखाउने मानिसको ठेगाना मैले भन्न सक्ने कुरै थिएन । 
एकछिनपछि प्रहरीहरूको एक जत्था आइपुग्यो 
“यस ठाउँमा फाल हानेर आत्महत्या गरेको कसले देख्यो ?” प्रहरीहरूले पनि त्यही प्रश्न सोधे । उनीहरूलाई हिजोको सम्पूर्ण घटना सुनाएँ । 
“यस्तो कुराको पछि लाग्नुहुँदैन ।” एउटा प्रहरीले अर्कालाई भन्यो । 
“हो हो यस्तो हल्लाको पछि लाग्नुहुँदैन ।” फेरि अर्को प्रहरीले थप्यो । 
प्रहरीहरू फर्किएको केही समयपछि मसँग गएका मेरा छिमेकीहरूले खोलाको तल माथितिर गएर खोज्ने कोसिस गरे । उनीहरू पनि निराश भएर आफ्नो वासस्थान फर्किए । 
त्यसपछि पनि हामी केही समय बल्खु पुलमाथि उभिएर खोलामा हेरिरह्यौं । मसँग चिनिमाया साथै थिइन् । 
दहको किनारमा एउटा काठको लौरोलाई पानीले हुत्याइरहेको थियो । 
“सानिमा सधैँ त्यस्तै लौरो बोकेर हिँड्नु हुन्थ्यो ।” मैले चिनीमायालाई त्यो लौरो देखाउँदै भनें । 
“मलाई राम्रो थाहा छ । जहिले पनि मेरो छोरो बाँचेको भए यति अग्लो हुन्थ्यो होला भन्दै सधै त्यस्तै लोरो बोक्न रुचाउनुहुन्थ्यो ।” चिनिमायाले त्यही लौरोलाई नियाल्दै भनी । 
“त्यो लौरो पनि सानिमाकै थियो कि !” यति भन्न नपाउँदै चिनिमायाका अधिल्तिर भक्कानियर रोएँ म ।
“अब त त्यो लौरो पनि बाढीले बगाउन लाग्यो ।” चिनीमायाले पनि आहत स्वरमा भनी । 
हामीले हेर्दाहेर्दै त्यो काठको लौरोलाई खोलाले बगाएर लग्यो । 
त्यो काठको लौरो आँखाले देखियुन्जेलसम्म हामीले हेरिरह्यौँ । 
“अब त त्यो लौरो पनि देख्न छाडियो ।” चिनीमायाले अमिलो मन लगाउँदै भनी । 
त्यसपछि सानिमा फेरि कहिल्यै फर्किनुभएन । 


ताप्ली–४, थामखर्क, उदयपुर ।
matrikapokharel2023@gmail.com

No comments:

Post a Comment