- मातृका पोखरेल
लामो यात्राका यात्री दाजुभाइहरु
अब त हिंड्लान भनेर
उज्यालो भुइँमा नखस्दै
बाटाभरिका घुम्ती र गल्छेडाहरुमा
दिदी बहिनीहरु,
फूल माला लिएर पर्खिरहेका छन्
तर खै ! लामो यात्राका यात्रीहरु उठकै छैनन् ।
कठिन बाटोका उकाली र ओरालीहरुमा
झुल्के घाम एक हात माथि ननाघ्दै
यात्री छोराहरुको भोकलाई सम्झँदै
आमाहरु, भात कुरिरहेका छन्
तर खै ! लामो यात्राका यात्री छोराहरु ब्युँझेकै छैनन् ।
सोझा मानिसहरुलाई टोक्न पल्किएका
विषालु गोमन सर्पहरु
र हज्जारौंका रगतले मात्तिएका
बाघ र चितुवाहरुले नङ्ग्रयाएका घाउमा
चौतारी र पौवाहरुमा
बुढा बाहरु, मलम लगाइदिन पर्खिरहेका छन्
तर खै ! लामो यात्राका यात्रीहरु ब्युँझेकै छैनन् ।
यात्रा शुरु हुने क्षणमा
भोका र नाङ्गा भाइ बहिनीहरु
भविष्यको सुखद अनुभूति
सिम्सार आँखाहरुमा सँगाल्दै
हात हल्लाउँदै बिदाइ गर्न
लाम लागेर पर्खिरहेका छन्
तर खै ! लामो यात्राका यात्री दाजुहरु उठेकै छैनन् ।
No comments:
Post a Comment