Thursday, September 14, 2017

“अहिलेको साहित्य प्रचारमुखी छ, जसले साहित्यको गुणवत्तालाई किचिदिएको छ ।” - मातृका पोखरेल








======================================

“अहिलेको साहित्य प्रचारमुखी छ, जसले साहित्यको गुणवत्तालाई किचिदिएको छ ।”
-  मातृका पोखरेल
अध्यक्ष, प्रगतिशील लेखक सङ्घ, नेपाल


मातृका पोखरेल सुप्रसिद्ध कथाकार एवम् कवि हुनुहुन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ पोखरेल प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । काठमाडौँ प्रलेसका लागि पोखरेलसँग बालमुकुन्द कार्कीले गर्नुभएको संवादको महत्वपूर्ण अंश :

साहित्य–लेखनतिर कसरी लाग्नुभयो ?
साहित्यतिरको रुचिको कारणले साहित्य–लेखनतिर लागेँ । साहित्यतिर लाग्नुको मूल कारण मेरो घरको वातावरण नै हुनुपर्छ जस्तो लाग्छ । पिताजी ज्योतिष शास्त्रको विद्वान् हुनुहुन्थ्यो । त्यही कारणले पनि हामी घरमा संस्कृत साहित्यलाई कुनै न कुनै रूपमा प्रयोग गरिरहन्थ्यौँ । घरमा हामी दाजुभाइ र केही दिदीबहिनीले समेत ज्योतिष शिक्षा लिनैपर्ने अनिवार्यता जस्तै थियो । हामी कोही खुसीले ज्योतिष पढ्थ्यौँ, कोही बाध्यताले पढ्थ्यौँ । त्योतिष पढ्दा संस्कृत साहित्यले केही प्रभाव पा¥यो । त्यसपछिका वातावरण पनि मेरा लागि साहित्यमैत्री भयो । मेरो साहित्यिक यात्राका पृष्ठभूमिको पछिल्तिर सायद यिनै कारणहरू हुन सक्छन् । प्रगतिशील साहित्यसँग मेरो सम्बन्ध २०४१ सालपछि विराटनगरमा पढ्न गएपछि मात्र भयो ।

तपाईंको बाल्यकालबारे नलुकाई बताइदिनुहोस् न ?
मेरो बाल्यकाल खासै कष्टकर भएन । घरनजिक विद्यालय नभएका कारण बाल्यकालको पछिल्लो चरण घरबाहिर नै बढी बित्यो । करिब सात वर्षको उमेरपछिको समय मैले घरबाहिरै बिताएँ । स्कुले जीवन मैले उदयपुरको ठानागाउँ, रूपाटार, उदयपुरगढी, कटारी, सुनसरीको प्रकाशपुर र काठमाडौँमा बिताएँ । मेरो घर आर्थिक रूपमा सम्पन्न भएको कारण बाल्यकाल सहजै बित्यो । 

साहित्य र कविको परिभाषा कसरी गर्नुहुन्छ ?
साहित्य र कविताका बारेमा धेरैले धेरै कोणबाट परिभाषा प्रस्तुत गरेका छन् । कतिले साहित्यलाई समाजको ऐना पनि भनेका छन् । हामीले पाएका साहित्यमध्ये केही साहित्यले समाजको ऐनाको भूमिकामात्रै निर्वाह गरेका छन् भने कुनै साहित्यले त्यसभन्दा अघिल्तिर बढेर समाजलाई निर्देश पनि गरेका छन् । त्यतिमात्र नभएर यही समाजलाई पछि धकेल्न खोज्ने साहित्य पनि फाट्टफुट्ट लेखिएकै छन् । साहित्यले समाजलाई बाटो देखाउनुपर्छ भन्ने मेरो आग्रह हो । तर, एउटा कुरा के हो भने साहित्य मानिसले प्रकट गर्ने एउटा अभिव्यक्ति हो । मानिसले प्रकट गरेका अभिव्यक्तिहरूमध्ये साहित्य सबैभन्दा उन्नत अभिव्यक्ति हो ।
कविताको बारेमा बोल्नुपर्दा, साहित्यलाई परिभाषित गरेपछि कवितालाई फरक परिभाषा दिनु साह्रै जरुरी र आवश्यक छैन । कविता साहित्यको एउटा महŒवपूर्ण विधा भएकाले कविता मानव अभिव्यक्तिको अझ उच्चतम र कलात्मक अभिव्यक्ति हो । साहित्यमा अरू विधाहरू भन्दा कविताको अभिव्यक्ति–कला केही फरक र भिन्न छ । सूर्यको किरण नपुग्ने ठाउँमा पनि कवि पुग्छ भनेर कविको प्रखर कल्पनाशक्तिलाई लिएर पहिलेका मानिसहरूले भन्ने गरेका थिए । लयात्मक भाषा र बिम्बात्मक अभिव्यक्तिका कारण कविताको परिभाषामा मानिसहरूको बढी ध्यान गएको हो । तर, कविता मानिसको सुन्दर र कलात्मक अभिव्यक्ति हो । 
आजको नेपाली साहित्य कतातिर छ ? प्रगतिशील साहित्यबारे केही भन्नुहुन्छ ?
अहिलेको नेपाली साहित्य प्रचारमुखी छ । प्रचार हुनु नराम्रो कुरो हो भनेर मैले भन्न खोजेको होइन । तर, समस्याचाहिँ कहाँ हो भने साहित्यको गुणवत्तालाई प्रचारले किचिदिएको छ । गुणात्मक दृष्टिले कमजोर सिर्जनाहरू ठूला मिडिया र प्रचारको शक्तिले बजारमा बढी देखिएका छन् । यहाँ प्रचारको मात्र कुरो होइन, यो प्राथमिकतामा छ । दोस्रो कुरा पैसा हो । पैसा भएकाहरूले लेखेको कमजोर रचना पनि बजारमा प्राथमिकताका साथ अघिल्तिर आएको देखिन्छ । त्यसैले नेपाली साहित्यमा मैले यतिबेला एउटा सङ्कट आइरहेको देखिरहेको छु । कमजोर र समाजलाई अनुपयोगी रचनाहरू प्राथमिकताका साथ बाहिर ल्याउने काममा साम्राज्यवादीहरूको योजनाबद्ध प्रयत्न देखिन्छ । बेलाबेलामा सञ्चालन हुने विभिन्न साहित्यिक महोत्सवहरूले पनि हामीलाई यो निष्कर्षमा पु¥याएका छन् । गम्भीर लेखन र वर्तमान समयका बीचमा मैले एउटा ठूलो खाडल रहेको महसुस गरेको छु । साहित्यको वर्तमान बजार गम्भीर–लेखनमैत्री छैन । टापटिपे लेखन र विश्लेषणमा अहिलेको साहित्यिक बजार रमिरहेको छ । साहित्यका पाठकहरू कम हुँदै जानुको पछाडि पनि साहित्यप्रति बजारको यही हस्तक्षेपले गर्दा हो भन्ने मलाई लागिरहेको छ । 
अर्कोतिर, हामीसँग भएका र हामीले उठाउनुपर्ने विषयवस्तुहरूलाई अहिलेको साहित्यले राम्रोसँग समेट्न सकिरहेको छैन । समाजमा आएको विशृङ्खलता सँगसँगै वैचारिकतामा पनि विशृङ्खलता आइरहेको छ । यो समस्या नेपाली साहित्यमा टड्कारो रूपमा देखिएको छ । 

नेपाली प्रगतिवादी साहित्यलाई कसरी हेरिरहनुभएको छ ?
प्रगतिवादी साहित्यको क्षेत्रमा नयाँनयाँ स्रष्टाहरूको उपस्थिति बढ्दै गइरहेको छ । स्रष्टाहरूको उपस्थिति बाक्लिएपछि हाम्रा अघिल्तिर केही चुनौतीहरू पनि थपिएका छन् । कथ्यमा भन्दा रूपमा र भावमा भन्दा शैलीमा अभिव्यक्त हुने क्रम बढ्दो छ । यो प्रगतिवादी साहित्यको क्षेत्रमा बढ्दै गएको नकारात्मक समस्या हो । दृष्टिकोण र विचारधारात्मक समस्याका कारण यो अवस्था आइरहेको छ । तर पनि सबै दृष्टिले नेपाली साहित्यको मूलधार प्रगतिशील साहित्य नै हो भन्न अब धेरै बेर घोत्लिरहनुपर्ला जस्तो मलाई लाग्दैन । 
साहित्य एवम् कलाको सामाजिक दायित्वलाई अहिलेको प्रगतिशील÷प्रगतिवादी साहित्यले माग पूरा गर्न नसकेको गुनासो आइरहेको छ । यो गुनासोतर्फ भने प्रगतिवादी साहित्यले ध्यान पु¥याउन जरुरी छ । 
नेपालको प्रगतिशील आन्दोलन र साहित्यलाई नेतृत्व गरिरहनुभएको छ । यसका चुनौती र नेतृत्वलाई कसरी अगाडि बढाउँदै लानुहुन्छ ? केही योजना बताइदिनूस् न ।
तपाईंको यो प्रश्नको थोरै उत्तर माथिल्लो प्रश्नमा पनि गएजस्तो लाग्छ । प्रगतिशील साहित्य र साहित्यिक आन्दोलन चुनौती नै चुनौतीहरूको घेराबन्दीमा छ । मूल कुरो त हामी जनताको साहित्य लेख्ने भन्छौँ । तर, हाम्रै साहित्यलाई जनताले आफ्नो ठानेर कति पढिरहेका छन् भनेर सोचेका छैनौँ । यो हामीले प्रायः धेरै छलफल नगरेको र गर्नुपर्ने विषय हो । यथार्थको भित्र पसेर त्यसको प्रतिबिम्बन गर्न हामीले कति सक्यौँ ? यो पक्षलाई हामीले राम्ररी ध्यान पु¥याउन नसक्दा पनि हामी जनतासम्म पुग्न सक्दैनौँ । गतिशील यथार्थलाई पछ्याउनुपर्छ भनेर हामीले खूबै भन्यौँ तर त्यो गतिशील यथार्थको चुरो कुरोतिर हामीले ध्यान पु¥याउन सकेनौँ । 
चुनौतीहरूका बारेमा धेरै छलफल गर्न सकिन्छ । हाम्रै प्रगतिशील साहित्यिक आन्दोलनभित्र एउटा द्वन्द्व छ । कलालाई छाडेर विचारलाई मात्र महŒव दिनुपर्छ भन्ने धारणा पनि छ एकातिर भने अर्कोतिर विचारलाई ध्यान नदिई कलालाई मात्र अघिल्तिर राख्नुपर्छ भन्ने धारणा पनि छ । आखिरमा दुवै धारणा ठिक धारणा होइनन् । ठिक ढङ्गले यिनीहरूको तालमेल मिलाउन सकियो भने मात्र उत्कृष्ट साहित्यको निर्माण हुन्छ । प्रगतिशील साहित्यमा टड्कारो देखिएको एउटा चुनौती हो यो । 
प्रगतिशील साहित्यिक आन्दोलनमा प्रष्ट देखिएको अर्को चुनौती विचाराधारात्मक र दृष्टिकोणमा देखिने चुनौती हो । यो चुनौती निरन्तर बढ्दो अवस्थामा छ । जसले गर्दा लेखक प्रगतिशील आन्दोलनमा छ, तर उसको लेखन कताकता भौँतारिइरहेको छ । विचार र दृष्टिकोणलाई उपेक्षा गर्ने कारण पनि यो समस्या बढ्दै गएको छ । प्रगतिशील लेखक सङ्घले यिनै चुनौतीहरूलाई ख्याल गरेर कार्यक्रम अघि बढाएको छ । आवश्यकता अनुरूप वैचारिक कार्यक्रम अघि बढाएको छ भने गाउँगाउँमा जनताका बीचमा पुग्न पनि साथीहरूलाई उत्प्रेरित गरिएको छ । मकवानपुर र सिन्धुपाल्चोकका साथीहरूले योजनाबद्ध गाउँमा जाने र आफ्ना सिर्जना सुनाउने कार्य गरिरहनुभएको छ । क्रमशः अरू जिल्लाहरूले पनि तत्परता देखाउँदै छन् । 

नेपाली वर्तमान राजनीति र साहित्यलाई कसरी हेर्नुहुन्छ ?
राजनीति ठीक ढङ्गले अघि बढिरहेको छैन । त्यसकारण पनि प्रगतिशील साहित्य र प्रगतिशीलहरूले नै नेतृत्व गरेको राजनीतिक सत्ताको बीचमा द्वन्द्व छ । राजनीति आदर्शबाट च्युत हुँदै गएको र साहित्यले त्यसको उद्घाटन गरेका कारण राजनीति र साहित्यका बीचमा सुमधुर सम्बन्ध बन्न नसकेको हो । मैले यहाँ प्रगतिशील राजनीति र साहित्यको मात्र कुरा गरेको छु । 

नेपालको सांस्कृतिक आन्दोलनबारे के भन्नुहुन्छ ?
प्रगतिशील सांस्कृतिक आन्दोलनको एउटा कार्यकर्ता भएको नाताले तपाईंले यो प्रश्न गर्नु स्वाभाविक हुन्छ । प्रगतिशील सांस्कृतिक आन्दोलन पनि उत्तिकै चुनौतीपूर्ण छ । २००६ सालमा नेपालमा कम्युनिस्ट आन्दोलनको स्थापना भयो । त्यही आन्दोलनको जगमा शोषकवर्गप्रतिको घृणा, अन्यायमा परेका मानिसहरूप्रतिको सकारात्मक दृष्टिकोण, नारीहरूमाथि भएको थिचोमिचोप्रति सङ्घर्षको आग्रहजस्ता फरक संस्कृतिको आरम्भ भयो । माओवादी जनयुद्धताका सामन्तवर्गका बीचमा ग्रामीण सङ्घर्ष र त्यो सङ्घर्षले पैदा गरेको सकारात्मक भूमिकाले नयाँ संस्कृति निर्माणको महŒवपूर्ण कार्य ग¥यो । तर, अहिले सबै कुरा मेटिँदै गएको छ । समाजमा हिजो प्रगतिशील शक्तिले निर्माण गरेका सकारात्मक नयाँ संस्कृतिहरू लोप हुँदै गएका छन् । प्रगतिशील शक्तिले हिजोदेखि आर्जन गरेका नयाँ संस्कृतिका सुन्दर पक्षहरूलाई स्थापना गर्न जरुरी छ । 

तपाईंले जानेको माक्र्सवादमा जातीय राज्य भनको के हो ?
प्रगतिशील आन्दोलनमा कसैले जातीय राज्यको कुरा उठाएको छैन । पहिचानका मुद्दाहरूलाई जातीय राज्यसँग जोडेर प्रचार गर्न थालियो भने त्यसले हामीलाई ठिक ठाउँमा पु¥याउँदैन । 

जीवन के हो ?
धेरैले जीवनका विभिन्न परिभाषा दिएका छन् । यो धेरै ठूलो दार्शनिक प्रश्न हो । यसको एउटै छोटो उत्तर जे दिए पनि हुन्छ । तर, हामी प्रगतिशीलहरूको सामाजिक दायित्व बढी हुन्छ । सामाजिक दायित्वलाई जीवन भने पनि भयो । जीवन भनौँ, कतिले भोगाइ भन्ने गरेका छन् । यसको कुनै बनिबनाउ र मूर्त उत्तर मसँग छैन । 




साभार :- प्रगतिशील लेखक सङ्घ नेपाल, काठमाण्डू जिल्ला समितिको मुखपत्र 'प्रलेस कठमाण्डौ' - २०७३ चैतबाट

No comments:

Post a Comment