Sunday, September 17, 2017

दुर्घटनाको त्रासदीमा रुमल्लिँदै – रामप्रसाद पन्त

नियात्रा


हामी चार बजेअघि नै उठिसक्ने र साढे चारसम्म तल ओर्लने निर्णय गरेर सुतेका थियौँ — हिजो राती । 
भनेअनुसार नै हामी साढे चार बजे एनसीडिसी भवनको भुइँतलामा ओर्लिइसकेका थियौँ । तर पुष्प राजवंशीको निद कडा परेछ, ताल्चा लागेको कँैचीगेट हामीले जति घण्टी बजाउँदा पनि र उसको नाम लिएर जति कराउँदा पनि पन्ध्र मिनेट थुनिइरह्यौँ भित्रै । अखिल नेपाल साहित्यिक पत्रकार संघ झापा शाखाका कोषाध्यक्ष देवीचन्द्र यात्री बाहिरबाट मोटरसाइकलमा आएर खोलिदिएपछि मात्र निस्कियौँ बाहिर । 
चालक अजय रन्जितले माइक्रो स्टार्ट गरिसकेका थिए । देवीचन्द्रजीको बिदाइपछि हामी माइक्रोमा बस्यौँ र हिँडिहाल्यौँ । रोचक घिमिरे, डा. तुलसी भट्टराई, मोहन दुवाल, लक्ष्मी उप्रेती, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, नरेश श्रेष्ठ, ठाकुर शर्मा, भारती श्रेष्ठ, विष्णु भण्डारी र म नेपाल साहित्यिक पत्रकार संघ र झापा शाखाको आयोजनामा भद्रपुरमा सम्पन्न सम्मान एवं कार्यपत्र प्रस्तुत समारोहमा भाग लिएर काठमाडौँ फर्कँदै थियौँ — २०६९ सालको असार १४ गते । फर्कँदा डा. भट्टराईको सट्टा शेषराज सिवाकोटी हुनुहुन्थ्यो हामीसित । 
विर्तामोड निस्केर पश्चिम मोडिएपछि माइक्रोको गतिमा तीव्रता आयो । झापातिर जाँदा सिट अघि पछि परे पनि यसबेला म मातृका पोखरेलसँग छु र मैले झ्यालतर्फको सिट कब्जा गरेको छु । यस सिटले विशेष अर्थ राख्छ मेरा लागि । पूर्वतर्फको भूगोल धेरै पढ्नुभएको रहेछ पोखरेलले । त्यसैले मलाई उहाँसँगैको सिट फाइदाजनक भएको छ । 
परिचय दिँदै हुनुहुन्छ उहाँले, ठाउँठाउँको । 
मिरिन खोला माथिको पुलमा गुड्दै गर्दा पोखरेलले उत्तरतिर सङ्केत गर्नुभयो— ‘यहीँ माथि पर्छ सुखानीको जङ्गल, जुन जङ्गलले स्वतन्त्रता सङ्ग्राममा मारिने सहिदहरुको सम्झना गराउँछ ।’ 
तर उज्यालो ओर्लिसकेको थिएन बिहानको, त्यसैले देखिएन स्पष्ट ।
त्यसपछि आयो— सुरुङ्गा बजार र अनि आयो— नेपालकै सबैभन्दा लामो ७०० मिटर कन्काइ पुल । यी सबै अँध्यारोमै पछाडि परे । 
माइखोला नजिकिँदै गर्दा पोखरेलले देखाउनुभयो— दक्षिणतिरको अस्पष्ट भूभाग र भन्नुभयो— ‘उ .... त्यहाँनिर थियो— झापाको पुरानो बजार ।’ 
बल्ल आइपुगेछ झिलमिले । जसको नाम मैले धेरैपटक लिएको थिएँ— त्यहाँ जाने सोचाइ राखेर । तर कीचकवध जान पनि धौ धौ परिरहेका बेला झिलमिलेको औचित्य विहीन देखेर मैले झिलमिलेको नामै उच्चारण गर्न छाडिदिएको थिएँ । अर्थात् त्यहाँबाट उत्तर लागेपछि छ÷सात किलोमिटरभित्र सतासीधाम पुग्न सकिन्थ्यो । 
कुरा गर्दागर्दै आइपुगेछ दमक बजार । म सोच्दै थिएँ, झापाका मुख्य बजार यिनै हुन् क्यारे — चन्द्रगढी, भद्रपुर, सुरुङ्गा र दमक । 
दमक नाघेको केही समयपछि आयो पथरी । पोखरेलले विमला तुम्खेलको नाम लिनुभयो— ‘उनको घर यहीँ हो ।’ 
उषा फक्रिँदै थियो, धरती उज्यालिँदै थियो । बाटो छेउको जङ्गलमा प्रसस्त उमे्रका देखिए सालिकहरु । नरेन्द्रबहादुर श्रेष्ठले भन्नुभयो— ‘सालिकको साम्राज्य ।’ उहाँको सङ्केत थियो— आफ्नो रचना । अर्थात् कवितासङ्ग्रह— सालिकको साम्राज्य । जुन किताब निकै चर्चामा थियो एकताका । 
चारकोसे झाडीकै छेउछाउ छौँ हामी । तर अहिले स्वरुप बदलिएको छ— जङ्गलको । पोखरेलको भनाइ छ — ‘सामुदायिकले बाँचेको छ वन, नत्र उहिल्यै सकिन्थ्यो ।’ 
बेलबारी आइपुगेको छ टुप्लुक्क । मलाई थाहा थिएन, त्यस भूमिले थुप्रै सुवेदी साहित्यकारहरु जन्माएको रहेछ — अभि सुवेदी, पुरुषोत्तम सुवेदी, पुण्य सुवेदी, गीता सुवेदी र अन्य सुवेदीहरु ।
आइपुगेछ विराट चोक । विराटनगर गइँदो रहेछ त्यहाँबाट । मेरो सोचाइ थियो — विराटनगर इटहरीबाट मात्र गइन्छ होला ! तर होइन रहेछ, विराटचोकबाट भित्रिने बाटो त अझ पुरानो रे ! 
‘दुलारी’ लेखिएका बोर्डहरु देखिन थाले पसल अगाडि । त्यस नामले स्मृति दिलायो— कृष्ण बाउसे र अनिल पौडेलको । उनीहरुको जन्मथलो हो दुलारी । 
लगत्तै आयो बूढी गङ्गा । त्यस नदीले छुट्याउँदो रहेछ मोरङ र सुनसरीलाई । इटहरी चोक आयो— उत्तर धरान र दक्षिण विराटनगरको चौबाटो । उपेन्द्र पागलको नाम लिनुभयो पोखरेलले — ‘यहीँ नजिकै पर्छ पागलको घर ।’ 
अलिकति पश्चिम लाग्नेबित्तिकै आयो — चतरानगर, अर्थात् झुम्का । त्यहाँबाट नहरैनहर उत्तर लागेपछि बराहक्षेत्र पुगिन्छ भन्ने थाहा पाएको छु मैले । तर पुग्ने सौभाग्य मिलेको छैन । 
इटहरी नाघेर ओकाहा पुग्दा मातृकाजीले एउटा बडो सान्दर्भिक कुरा सुनाउनुभयो । त्यहाँबाट करिब १५ किलोमिटर उत्तर ‘रामधुनी’ नामको पौराणिक स्थल छ रे ! जहाँ हजारौँ वर्षदेखि अटुट रुपमा धुनी बलिरहेको छ रे ! वनवासको बेला रामले बाली छाडेको धुनी रे त्यो ! 
हामी प्राचीनतामा विश्वास गर्ने मान्छे, प्रचलित मिथकहरुलाई पनि आंशिक रुपमा स्वीकार्ने संस्कारमा बाँचेका मान्छे ! यस रामधुनीको प्राचीनतालाई पनि हामीले स्वीकारेका छौँ । तर मलाई थाहा थिएन, रामधुनीको अस्तित्वका बारेमा । यदि यसै हो भने त्यस क्षेत्रको विकास हुनुप¥यो । धार्मिक एवं पर्यटकीय दृष्टिले पनि त्यो ठाउँ उपयुक्त हुन सक्छ । रामधुनीजस्तै विकासको पर्खाइमा रहेका अनेकौँ ठाउँहरुको चर्चा भयो हामीमाझ । 
धुइँपत्ताल गुडिरहेको गाडी एक्कासी घ्याच्च रोकिँदा झस्कियौँ हामी । अगाडि हेरेको त बाटै छैन । झन्डै खसेका खोलामा । बाढीले पुल बगाएको हुँदा नयाँ पुल बन्ने क्रममा रहेछ । डाइभर्सन नदेखेर माइक्रो कुदेछ सीधै । अजय (ड्राइभर) ले ब्याक ग¥यो र डाइभर्सनतिर हाल्यो । एउटा सम्भाव्य दुर्घटनाबाट जोगियौँ हामी । 
इटहरी आइसके छ । चियाको तलतल लाग्यो हामी सबैलाई । बिहानको सात बज्यो, चिया खाने बेला पनि त भयो । बाटै मुनिको एउटा पसलमा विनादूधको चिया र निम्की विस्कुट खायौँ हामी । नरेन्द्रजीले बायाँ हातमा लिनुभएको चियाको गिलासलाई सङ्केत गर्दै मातृकाजीले व्यङ्ग्य गर्नुभयो — ‘बिहानको चिया दाहिने हातमा लिइन्छ, बेलुकाको चिया बायाँमा । तपाईंको गिलास बिहानको कि बेलुकाको ?’ 
हाँसो भयो हामीमाझ । 
चिया खाएपछि यात्राको क्रम पुनः अगाडि बढ्यो । 
कोशी नजिक हुँदै रहेछौँ क्यारे !, ०६५ सालमा कोशीको बाढी पसेर गाउँका गाउँ डुबाएको सङ्केत देखिन थाल्यो— कतै बालुवा कतै बगर । 
‘यतैबाट जान सकिन्छ कोशीटप्पु’— भन्दै हुनुहुन्थ्यो मातृकाजी । 
२०४६ सालमा सरकारी कामको सिलसिलामा सरकारी गाडी प्रयोग गरेर इनरुवा पुगेको बेला कोशीटप्पु जाने प्रयास गरेको थिएँ । अलिकति भित्र छिरेको पनि थिएँ तर बाटोको रुपरेखा पहिचान गर्न सकिनँ र फर्केँ । सोच्दैछु— कोशीटप्पु जाने र चराको राजधानी हेर्ने मौका कहिले मिल्ला ! 
भान्टाबारी आइपुगेछ अर्थात् कोशीको पूर्वी किनार । 
देखिइहाल्यो कोशी ब्यारेज । नेपालको अमूल्य सम्पत्ति । तर प्रयोगमा आएको छ हामीलाई भन्दा बढी भारतलाई । दुःखद् कथा छन् कोशीका पनि ।
हामी ब्यारेजमाथि गुड्न थाल्यौँ । ५२ ढोका भएको लामो कोशी ब्यारेजलाई नाघ्दै र पश्चिमी किनारमा कोशीको सुरक्षार्थ बसेकी कङ्काली माईलाई नमन गर्दै माइक्रो अकन्टक कुद्यो पश्चिम । 
अब हामी सप्तरीको भूमिमा प्रवेश गरेका छौँ र बरमझियाको पेडा सम्झिरहेका छौँ । पूर्व जाँदा हामीले एउटा पेँडा पसलेलाई वचनबद्ध गराएका थियौँ — ‘पर्सी हाम्रा लागि १० किलो पेडा (खुवासमेत) तयार गरी राखिदिनू ।’ 
पसल अघि माइक्रो रोकिनेबित्तिकै हँसिलो अनुहारमा देखियो पेडापसले ।
अस्ति भनेकै मूल्यमा तपाईंहरुका लागि पेडा प्रतिकिलो पाँच सय । चिनी नहालेको र डल्ला नबनाएको खुवा साढे पाँच सय । 
झनै गुलियो नहालेको खुवाको ५० रुपैयाँ बढी ? 
प्रश्न गर्नेहरुलाई पसलेको जवाफ थियो — ‘असली खुवामा सस्तो चिनी नमिसाएको कारण । तपाईं लैजानुस्, चिनी हाल्नुस् या त्यसै खानुस् तपाईंको इच्छा ।’ 
कुरा त मनासिवै हो, चित्त बुझ्यो हामीलाई । स्वेच्छाको कुरा थियो त्यहाँ । आ–आफ्नो गोजीबाट पैसा निकाल्यौँ इच्छा लागेको किन्यौँ र इच्छा लागेको खायौँ । बाँकी झोलामा । 
यात्रा बढ्यो अगाडि ।
‘बरमझिएको पेडामात्र प्रसिद्ध, जग्गा प्रसिद्ध छैन यहाँको’ — मातृकाजीले प्रश्न गर्न बाध्य पार्नुभयो मलाई । 
किन ?
‘यहाँ बस्तीको घनत्व छैन, सुरक्षाको दृष्टिले पनि कमजोर छ यहाँको जनजीवन र त्यति उर्वर पनि छैन यहाँको जमिन । त्यसैले होला, अलिकति भित्रपट्टि त पाँच÷छ हजार बीघा पनि पाइन्छ भन्छन् घुमन्तेहरु ।’ 
उहाँले उत्तरतर्फको घना जङ्गल देखाउनुभयो र भन्नुभयो — ‘यस जमिनको भन्दा त्यस जङ्गलको महत्व ठूलो छ ।’ 
कुरा हुँदै थियो, हामी कन्चनपुरलाई पछाडी पार्दै रुपनी बजार पुगिसके छौँ हामी । जहाँबाट दक्षिण लाग्ने हो भने दशै किलोमिटरमा राजविराज पुगिन्छ । कुनै बेला म राजविराज पुगेको छु र छिन्नमस्ता भगवतीको दर्शन गरेको छु । 
हामी कतै रोकिएका छैनौँ र रोकिने पक्षमा पनि छैनौँ । 
अब हाम्रा अगाडि आएको छ— मोहनी खोला र त्यो नाघ्नेबित्तिकै आएको छ— सिराहाको लाहान बजार । 
पहिलेजस्तो थिएन अहिलेको लाहान । अशोक वृक्ष र कलमी रुखहरुले सजिएको लाहान बजार राम्रो लाग्यो मलाई । तर मध्यमार्गमा ठडिएको सिद्धिचरण श्रेष्ठको सालिक ढालिएछ र तराई आन्दोलनमा मारिनेहरुको संयुक्त मूर्ति राखिएछ । सहिदहरुको मूर्ति राख्नु राम्रो कुरा हो तर भएको मूर्ति ढालेर अरुको राख्नु नराम्रो कुरा । यस्तो संस्कृतिले भोलि त्यो मूर्ति पनि ढल्न सक्छ र अर्काे मूर्ति स्थापित हुन सक्छ । यस्तो प्रवृत्ति दोहोरिनु हुन्न भन्यो मेरो अन्तरआत्माले । 
धनगढी आयो त्यसपछि र मातृकाजीले नाम लिनुभयो — प्रदीप गिरी र ईश्वर पोखरेलको । उनीहरु यसै भूमिका उत्पादन हुन् । 
गोलबजार नाघेर मिर्चैया पुगेपछि माइक्रोमा समस्या देखियो । 
के भयो ? 
बकेट फेर्नुपर्ने भयो । 
ब्रेकआयलसँग सम्बन्धित बकेट सानो तर जहाँतहाँ नपाइने चिज रहेछ । त्यसै भएर चालकले बुद्धि पु¥याएरै लिएर गएको रहेछ । 
कति समय लाग्छ ? 
आधा घण्टा लाग्ला ! 
खुल्ला आकाशबाट ओर्लेको सूर्यको तापले पृथ्वी तताउँदै थियो । फुटपाथमा रुखहरु थिएनन् । हामी सियाल खोज्दै एउटा पसलमा पुग्यौँ । चिसो किन्यौँ र खायौँ । पसलमालिक रहेछन्— नागेश्वर शाह । राजनीतिमा चासो राख्दा रहेछन् । 
सोधिहाले उनले — ‘तपाईंहरु कुन पार्टीको ?’ 
मैले भनेँ— ‘हामी त नेपाल पार्टी । अखण्ड नेपाल हाम्रो नारा हो । हिमाल पहाड तराई, एकै घरका दाजुभाइ हाम्रो पहिचान हो । कस्तो लाग्यो हाम्रो पार्टीको विचार ?’ 
उनी अकमकिए, सायद मेरो कुरा स्पष्ट बुझेनन् । 
मैले सोधेँ— ‘तपाईं त फोरम होला ?’ 
‘होइन, म त माओवादी । बाबुराम भट्टराई मलाई मन पर्छ’ — उनले भने । 
तबसम्म गाडीको समस्या सुल्झिसकेको थियो । टायर खोलेर हेर्दा बे्रकआयल बदली गरेमात्र पुग्ने देखिएछ । बकेट नबदले पनि हुने भएछ । 
माइक्रो चढेर सय मिटर अगाडि बढ्नेबित्तिकै भेटियो— ओखलढुङ्गा जाने १०४ किलोमिटर मोटरमार्गको प्रस्थान बिन्दु । 
माइक्रो बनाउँदा जति ढिलो भयो, सो भयो । अब सानोतिनो कारणले गाडी नरोक्ने मतैक्यता प्रकट गरेर बढ्यौँ अगाडि । 
‘बन्दिपुरमा गुड्दैछौँ’ भन्नुभयो मातृकाजीले । रामप्रसाद दाहालको सम्झना भयो तत्काल मलाई । 
भोजपुरमा जन्मेका दाहाल सिराहा झर्नुभयो र बन्दीपुरमा बस्न थाल्नुभयो । उहाँले धेरैचोटि सुनाउनुभएको थियो मलाई बन्दीपुरको नाम । 
कमला नदी किनारको एउटा सुन्दर गेटमा नजर प¥यो मेरो । गेटमाथि लेखिएको थियो —‘फूलकुमारी महतो विद्यालय ।’ 
मैले जिज्ञासा राख्नुअघि मातृकाजीले भन्नुभयो— ‘उपेन्द्र महतोले जग्गा किनेर आफ्नी आमाको नाममा बनाइदिएको विद्यालय । ठूलो लगानी छ उनको यस विद्यालयमा । प्रशस्त सुविधासम्पन्न छ यो विद्यालय ।’ खुशी लाग्यो — एउटा नेपालीको छोराले विदेशमा समेत नाम कमाएको छ र विदेशबाट पैसा ल्याएर एनआरएनको नामबाट नेपालमा लगानी गरेको छ । 
कमला पार गर्नेबित्तिकै लाग्यो धनुषा र देखियो गोदार गाउँ । ‘गोदार’ भन्नेबित्तिकै गोदारे बन्धुको सम्झना भयो मलाई, अर्थात् नारायण गोदारे । कविता लेख्नुहुन्थ्यो र गर्जेर कविता पाठ गर्नुहुन्थ्यो तर अहिले उहाँ विभिन्न रोगको आक्रमणमा पर्नुभएको छ । र, घरबाट बाहिर निस्कन सक्नुभएको छैन । 
हामी धनुषाकै भूमिका गुड्दै थियौँ, मातृकाजीले भन्नुभयो — ‘जुन ठाउँको नामबाट जिल्लाको नाम धनुषा भयो, त्यो ठाउँ यहाँबाट दक्षिणमा पर्दछ । त्यहाँ आदिकालदेखि राखिएको विशाल शिवधनुष आद्यावधि स्थापित छ । तर त्यो पौराणिक ठाउँको परिचय दिने कुनै योजना अगाडि सारिएको छैन । रामधुनीजस्तै छ धनुषाधामको अवस्था पनि ।’ 
कुरैकुरामा हामी पुगेछौँ ढल्केबार । जहाँबाट हामी जनकपुरधाम प्रवेश गर्छाैँ । त्यही प्रवेश मार्ग बीचको गोलघुम्तीमा जब हामी घुम्दै थियौँ, एउटा मोटरसाइकललाई माइक्रोले छोइहाल्यो । तर दुर्घटना भएन । हामी सोच्दै थियौँ— अब यस मोटरसाइकलवालाले के बबाल गर्ने हो ? तर ऊ चुपचाप धनुषाधामतिर लाग्यो । 
माइक्रो चालक अजयले भन्यो— गल्ती उसैको थियो, त्यसैले रोकेन । नत्र ...... । 
हामीले भन्यौँ — ‘गल्तीको कुरा होइन, सोझो रहेछ भन न । गल्ती होस् कि नहोस् ठूलाले सानालाई छोएपछि सजाय ठूलाले नै भोग्नुपर्छ । यस्तै नियम छ सवारी साधनको । बालअधिकार मात्र बनेको छ, बालकर्तव्य छैन हाम्रो कानुनमा ।
कङ्गोको दृश्य आयो झलक्क । कङ्गोमा मोटरसाइकल चलाउने कालेहरु युएनका मोटरहरु आएको देखे भने त्यतैतिर जोत्छन् रे मोटरसाइकल । छोइहाल्यो र सानोतिनो नोक्सानी भयो भने थुप्रै पैसा असुल्छन् रे !
जे होस् एउटा अर्काे खड्कोबाट जोगियौँ हामी । 
तराईको भूमिमा गुड्दै गर्दा उत्तरबाट दक्षिणतिर बग्ने खोला त कमै देखिन्थे, बढी भेटिन्थे— सुष्क खहरेहरु । विचार गर्थेँ— कति धेरै उर्वर जमिनलाई बगरमा परिणत गरेका छन् यी खहरे खोलाहरुले ! यी स्वच्छन्द खोलाहरुलाई सीमित घेरामा राख्नसक्ने क्षमता छैन हामीमा । 
धनुषा नाघेर महोत्तरी प्रवेश गर्दैगर्दा सहिद ऋषि देवकोटाका कुरा भए, उमा देवकोटाका कुरा भए, दुर्गा सुवेदीका कुरा पनि उठे, भद्रकुमारी घले र टीकाजङ थापाबीचका कुराहरु पनि भए । अर्थात् उनीहरुले के दिए, के लिए र के गर्नु नगर्नु गरे । 
जलेश्वर प्रवेश गर्ने चौबाटोमा आएपछि रोचक दाइले भन्नुभयो — ‘हाम्रो मौजा यहाँबाट तीन÷चार किलोमिटर दक्षिणमा पर्छ ।’ 
त्यहाँबाट पश्चिम लागेपछि मातृकाजीले हाम्रो सहमति लिनुभयो र फोन गर्नुभयो एक ठाउँमा— ‘हामी बाह्र जना आउँदै छौँ, चियामात्र खान्छौँ हामीले त्यहाँ, धेरैबेर बस्ने समय छैन ।’ 
मातृकाजीकै फोनले मोड्यो माइक्रो बर्दिबासबाट सिन्धुली माडीतिर । त्यसमार्गको कथा सम्झेर पीडा हुन्छ मलाई बेलाबखत । २०१५ सालमा रेखाङ्कन भएको बर्दिबास–धुलीखेल मार्ग अहिलेसम्म खुल्न सकेको छैन । कति दूरदर्शी सोच थियो— वीपी कोइरालाको । १६० किलोमिटर मात्र दूरी भएको त्यो मार्ग त्यसैबेला बनेको भए हाम्रो राष्ट्रिय खर्च कति जोगिँदो हो ! काठमाडौँबाट पूर्व जाने यात्रुहरुको समय पनि कति बचत हुँदो हो ! 
करिब डेढ किलोमिटर कालोपत्रे बाटोमा गुडेर आधा किलोमिटर जति दाहिनेतिर छिरेपछि आउँदो रहेछ — आधारशिला ।
आधारशिलाको आइडिया नया लाग्यो मलाई । थोरै आम्दानी भएका द्वन्द्वकालका लडाकु वा द्वन्द्व पीडितहरुका लागि सामूहिक रुपमा काम गरेर सामूहिक रुपमा बस्ने खाने नयाँ तरिका थियो त्यो । 
हाल पन्ध्र परिवारको संयुक्त बसोबास रहेछ त्यहाँ । परिवर्तन प्रालिको नाममा दर्ता भएको एक विघा 
जमिन ओगटेर स्थापना भएको त्यो आधारशिला नामक संस्थाका अध्यक्ष रहेछन् गिरिराजमणि पोखरेल । हामी त्यहाँ पुग्दा पोखरेल उपस्थित थिएनन् । हाल कार्यबहाक अध्यक्षको रुपमा दिपबहादुर योन्जन रहेछन् । 
दोहोरो परिचय भयो हाम्रो । 
हामीलाई स्वागत गर्नेमा दीपबहादुर योञ्जन, ध्रुब कार्की, सुमन देवकोटा र शिव फुयाँल लगायतका सदस्यहरु थिए । आशा गिरीले चिया ल्याइन् । हामीले चिया खाँदै दीपबहादुर योञ्जनका कुरा सुन्यौँ । आधारशिलाको योजना राम्रो रहेछ । सहकारी, स्वास्थ्य, पशुपालन, पाठशाला, अध्ययन केन्द्र, पुस्तकालय र पत्रिका समेत सञ्चालन गर्ने प्रक्रियामा रहेछ — आधारशिला । 
विशेष प्रविधिबाट निर्मित रुचि मसला उद्योग पनि सञ्चालनमा रहेछ — त्यस परिसरभित्र । पुस्तकालय भवन पनि तयार हुँदै रहेछ त्यसै परिसरभित्र । तर खेतीका लागि उपयुक्त जमिन रहेनछ त्यहाँ । दुई÷तीन फिट गइराहइमा पुगेपछि ढुङ्गैढुङ्गा भेटिन्छ रे ! सयौँ फिट गहिराइमा गए पनि पानी भेटिन्न रे ! सर्पका लागि चाहिँ प्रसिद्ध ठाउँ रे त्यो ! सायद जमिनमुनि ढुङ्ग्यान भएकै कारण सर्पलाई बस्न सजिलो भएको हुन सक्छ ! 
चिया खाने र फर्किहाल्ने भनेर गएका हामी भुलेछौँ एक घण्टाभन्दा बढी । ठीक बाह्र बजे निस्कियौँ हामी त्यहाँबाट । 
हामीले बर्दिबासबाट पुनः बाटो सोझ्यायौँ । जति ढीलो भए पनि हेटौँडा पुगेरै भात खाने योजना छ हाम्रो । 
महोत्तरी नाघेर सर्लाहीको लालबन्दी पुगेपछि मातृकाजीले त्यहाँको विशेषता बताउनुभयो — ‘नेपालमा सर्वाधिक गोलभेँडा फल्ने ठाउँ हो लालबन्दी । सिजनमा यहाँ दुई रुपैयाँ किलोसम्म गोलभेँडा पाइन्छ ।’ 
अलिकति अगाडि बढेपछि बायाँपट्टि देखियो ठूलै बागवानी । सरकारी लगानीमा सञ्चालित बागबानी रहेछ त्यो । 
त्यसपछि देखियो नवलपुर बजार । त्यहीँबाट एउटा बाटो दक्षिण लाग्दो रहेछ — मलङ्गवा । मातृकाजीबाट मैले नवलपुरका दुई वटा विशेषता सुनेँ — एउटा राम्रो अर्काे नराम्रो । नेपाली काँगे्रसका इमानदार तथा तपस्वी नेता रामहरि जोशीको क्षेत्र रे नवलपुर ! अर्काे नराम्रो कुरा किन लिपिबद्ध गरिरहुँ खै ? 
हरिवन आउन लागेको सङ्केत दिनुभयो— मातृकाजीले । र, नाम लिनुभयो — ध्रुबहरि अधिकारी, दिनेशहरि अधिकारी र कार्तिकेय घिमिरेको । रोचक दाइले थप्नुभयो — ‘गुणराज काफ्लेको मौजा पनि यतै पर्छ ।’ 
मेरा आँखा उखुको जङ्गलमा पर्दै थिए । अहो ! कति धेरै उखुघारी । यतिविधि उखु मैले तराईका अन्य ठाउँमा देखेको थिइनँ । ‘इन्दुशङ्कर चिनी उद्योग छ नि त यहाँ’ — मातृकाजीको कुरा सुनेर म झल्यास्स भएँ । हो त हरिवनस्थित चिनी उद्योगको नाम मैले धेरैचोटि घोकेकै हो । 
कर्मैया बजार आयो त्यसपछि । कर्मैया सर्लाहीमा पर्छ भन्नेकुरा मलाई किन कण्ठस्थ थियो भने त्यस क्षेत्रका साहित्यकार लीलाराज दहालले ‘दायित्व’मा छपाउनका लागि रचनाहरु पठाइरहनुहुन्छ । ती रचनाहरु केही छापिएका छन्, धेरै फाइलमा नत्थी गरिएका छन् । 
बाग्मती भेटियो बाटैमा । काठमाडौँको त्यो फोहर कालोमैलो बाग्मतीको पानी यहाँ निर्मल देखिएको छ । पानीको धर्मै त्यस्तै हो क्यारे ! लामो यात्रा तय गरिसकेपछि पानी स्वच्छ र निर्मल मात्र होइन, किटाणुरहित पनि हुन्छ रे ! 
बागग्तीको नघाइसँगै हामीले सर्लाहीलाई पनि छाड्यौँ र रौतहटमा प्रवेश ग¥यौँ । फास्टट्र्याकको निशानी देखियो दायाँतर्फ । रुखहरु कटानी भइसकेको तर डोजर चलाइनसकिएको अवस्थामा थियो फास्टट्«याक । जतिसक्दो चाँडो चार लेनको बाटो तयार भयो भने हामी ८४ किलोमिटर मात्र बाटोमा गुडेर राजधानी छिर्न सक्ने छौँ र बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि धेरैभन्दा धेरै पर्यटकलाई नेपाल प्रवेश गराउन सक्नेछौँ । 
गाडी तीव्र गतिमा नै गुडिरहेको छ । चार बजेसम्म हेटौँडा पुगिन्छ कि भन्ने अनुमान छ हाम्रो । अगाडि आउँदै गरेको पुलको मुखमा लेखिएको देखियो — धन्सार पुल । 
त्यस पुलको नाम लिनेबित्तिकै मैले सम्झेँ— कवि तुलसी दिवसलाई । ०६२÷६३ को कुरा हो क्यारे ! नव विवाहित दुलाहादुलही समेत बसेको पिकअप गाडी त्यसै खोलाको भेलमा परेको थियो । र, दिवसका दुई बहिनी एक ज्वाइँ एक दिदी र एक भाइ गरी जम्मा पाँच जनालाई त्यस खोलाले निलेको थियो । 
तर अहिले नयाँ पुल बनेको छ र हामी त्यसैमाथि गुड्दै छौँ । पुलको पश्चिमी मुखमा पुग्नै लाग्दा तीव्र गतिमा पूर्वतर्फ हानिएका दुईवटा बस तँछाडमछाडको अवस्थामा बाटो ढाकेर आउँदै गरेका देखिए । पछिल्लो बसले अघिल्लो बसलाई उछिनेर धुइँपत्ताल उड्यो । तर साइड दिएर पछि परेको बसले गति कम गर्दागर्दै पनि हाम्रो माइक्रोसँग जुधुँलाजस्तो गरी आइपुग्यो नजिकै । हाम्रो चालकले पनि रोक्न सकेन । बायाँतर्फबाट छिराउने ठाउँ नभएपछि र अन्ततः जुध्ने अवस्थामा पुगिसकेपछि हाम्रो चालकले हत्त न पत्त मोडेर रङ साइडबाट दाहिनेतिर छिरायो । 
‘के गरेको यस्तो ?’ मेरो भयपूर्ण आवाज निस्क्यो अचानक । 
चालकले कुनै उत्तर नदिएर अलि परै पु¥याएर साइड लगायो । हामी सबै ओर्लियौँ । सबैका अनुहार त्रसित र भयभित देखिए । तर डरलाग्दो दुर्घटनाबाट बाँच्न सकेकोमा हामीले आफैँलाई भाग्यमानी ठान्यौँ ।
कारण सोध्यौँ— चालकसित ।
ऊ स्तब्ध र त्रसित मुद्रमा देखियो । सपनाबाट ब्युँझेजस्तो, छाँगाबाट खसेजस्तो, अन्यमनस्क, चेतनाशून्य । झट्ट बोल्न पनि सकेन ऊ । सुस्त बोली निस्क्यो उसको — ‘ब्रेक फेल भयो ।’ 
अब पो हाम्रो सातोपुत्लो उड्यो । आपसमा कुराकानी ग¥यौँ — ठूलो भाग्यले बाच्यौँ हामी । भगवान्ले हात थापिदिए हामीलाई । 
त्यसपछि त मैले÷हामीले चालकलाई शतशत धन्यवाद दियौँ ।
पथलैया पुग्न अझ ३१ किलोमिटर देखाउँदै छ— बाटो छेउको कंक्रिट स्तम्भले ।
यस निर्जन वनमा अब के गर्ने ? 
सल्लाह भयो — ‘गाडी बिस्तारै छेउ लगाएर लैजाने र निजगढमा बनाउने ।’
भयो त्यसै ।
तर्कना गरेँ मनमनै मैले — ‘यो खोला त साहित्यकारलाई तर्साउनकै लागि रचना भएको रै’छ कि क्या हो ?’ 
निजगढ पुग्दा दिउँसोको दुई बज्यो । 
पौने घण्टा लाग्यो ब्रेक बनाउन । 
अब हामी अगुल्टाले हानेका कुकुर जस्ता भयौँ । चालक पनि डरायो, पहिलेजस्तो कुदाउन सकेन । 
हामी बिस्तारै बकाहा नदी पार गर्दै थियौँ, मातृकाजीले तीन÷चार किलोमिटर उत्तरको जङ्गल देखाउनुभयो र भन्नुभयो— रामबहादुर बंजनको तपस्थल त्यही हो ।
पथलैया नाघेर चुरे चढ्दै थियौँ, ट्रक पल्टेका देखिए दुई÷तीन ठाउँ । चुरिया माइको दायाँ पनि बायाँ पनि । 
मैले मनमनै सोचेँ— दिन आएपछि भगवान्ले पनि बचाउन सक्दा रहेनछन् । नत्र माताको दायाँबायाँ यो हविगत किन हुन्थ्यो ट्रकको ? 
पाँच बग्नै लाग्दा पुगियो हेटौँडा । 
माइक्रोमा अर्काे समस्या आएको कुरा सुनायो चालकले । व्रेक आयलको तारले काम गरेन, राम्रोसँग तेल सप्लाइ भएन । 
खाना खाउन्जेल बनाइसक्ने परिकल्पना गरेर अरु सबैलाई होटल अन्नापूर्णामा छाडी दुवालजी र चालक माइक्रो लिएर गए वर्कसपमा । 
तर समान छैन वर्कसपमा । बजारमा पाउन सक्ने÷नसक्ने दुवै सम्भावना छ । 
ड्राइभर सामान खोज्न गयो बजारतिर । हामी खाना खाएर पुग्यौँ बसपार्कमा । तर घण्टा बित्यो, डेढघण्टा बित्यो, ड्राइभर फर्केन । हामीले शङ्का उपशङ्का गर्न थाल्यौँ— ‘ड्राइभरले कतै भट्टीमा पसेर पिउन थाल्यो कि क्या हो ? एक जनाले छोड्न नहुने थियो । नत्र हेटौँडाजस्तो ठाउँमा मोटरका सामान किन पाइँदैनथ्यो !’ 
साढे छ मा ड्राइभर आयो— सामान लिएर सकुशल । बिचरोमाथि अनावश्यक शङ्का गरेछौँ हामीले । तर दुर्भाग्य ! उसले ल्याएको सामान माइक्रोमा फिट भएन । सामान अब काठमाडौँबाटै ल्याउनुपर्ने भयो । 
अँध्यारो भइसक्यो । हामी प¥यौँ जिल्लाराम ।
त्यो रात हेटौँडामै बस्ने निधो ग¥यौँ हामीले ? तर त्यसबेला कहाँ बस्ने ? वा कसको साथ लाग्ने ? एक जना हो र, दर्जन मानिस ! होटल पाइन्छ कि पाइँदैन ! पाइयो भने पनि बजेटले धान्छ कि धान्दैन ? बीचमा बस्ने योजना भए पो बोकिन्थ्यो पैसा बढी !
रोचक दाइले फोन गर्नुभयो, दुवालजीले फोन गर्नुभयो, मातृकाजीले फोन गर्नुभयो— हेटौँडाका साहित्यकारहरुलाई । 
आइपुगे साहित्यकारहरु— केशव तौजले, निमेष निखिल, गणेश पौडेल र श्याम बानियाँहरु । काठमाडौँमा रहेका आरसी रिजालले समेत सहयोग गर्न अपिल गरे— हेटौँडाका साहित्यकारलाई ।
एबोकाडो र सीमा होटल प्याक भइसकेछन् । लिडो होटलमा बस्ने व्यवस्था भयो हाम्रो । 
बस्ने व्यवस्थाले मात्र पुगेन, भोलि बिहानै काठमाडौँ जाने सुमो माइक्रो सेवा पनि रिजर्भ हुनुप¥यो हामीलाई । 
बनेपाबाट हेटौँडा झरे पनि साहित्य सेवा र विशेष गरी व्यापारिक क्षेत्रमा राम्रै नाम र विश्वास कमाएका रहेछन्— केशव तौजलेले । उनको स्वभाव हक्की तर सहयोगी भावनाको रहेछ । उनले हाम्रै अगाडि कुनै सुमो व्यवसायीलाई फोन गरे— अरुलाई भन्दा पाँच सय सस्तो सुमो गाडी मिल्यो साढे चार हजारमा । 
हामी होटलको शुल्कका बारेमा पनि स्पष्ट हुन चाह्यौँ किनकि हामी भोलि बिहानै हिँड्नु थियो । 
हेटौँडावासी साहित्यकारहरुले हामीप्रति हृदयतः सद्भाव राखे— ‘तपाईंहरु बिहानै उठेर प्रस्थान गर्नुहोला, होटलको बिलको जिम्मा हामी लिन्छौँ ।’
उनीहरु नेसापस हेटौँडा शाखाका सदस्य भएर पनि होला— यति सहयोग गर्नु आफ्नो कर्तव्य सम्झे उनीहरुले ।
हामीले धन्यवाद दियौँ, गुणग्राहिताका लागि । 
अर्काे दिन बिहानै छ बजे उपस्थित हुन भनेको सुमो गाडी ठीक समयमा आइपुग्यो । गाडी फेरियो, गाडीसँगसँगै ड्राइभर फेरियो— अभय रन्जितको ठाउँमा रविन्द्र लामा । 
बिचरो अभय, साहुप्रति क्रुद्ध हुँदै थियो— ‘बेइमानले थोत्रो गाडी पठाएर दुःख दियो ।’ 
हुन पनि दुःख पाउनुसम्म पायो, हिम्मतै गरेर हामी सबैको ज्यान जोगायो । अहिले हेटौँडामा त्यही थोत्रो माइक्रो कुरेर बसेको छ । कहिले काठमाडौँबाट सामान पुग्छ र बनाएर ल्याउँछ !
आजको ‘हाम्रो सुमोसेवा’ ए वन नै रहेछ । महिना दिन अघिदेखि मात्र चल्न थालेका १३ सुमो गाडी मध्ये एक । अरु त पुराना कति हो कति सुमो गाडीहरु ! सिजनमा दैनिक पाँच सयसम्म चल्छन् रे बल्खुदेखि हेटौँडा । 
सुमो गाडीको रुप र रविन्द्रको चलाइ दुवै सुन्दर लाग्यो मलाई । 
मलाई पाइलट बाबाले नेपाली बाबासँग दीक्षा लिएको ठाउँ त्रिखण्डी हेर्ने मन थियो । त्यो त्यसै मार्गमा पर्छ भन्ने थाहा भए पनि कहाँनेर पर्छ थाहा थिएन । त्यो देखाइदिने जिम्मा पनि मातृकाजीले लिनुभयो । मैले देखेँ— हामी गुडिरहेको बाटोको पारिपट्टि कुलेखानी खोलाको पल्लो तीरमा अवस्थित त्रिखण्डेश्वर महादेव मन्दिर । 
हामी भैँसेसम्म आयौँ र त्रिभुवन राजपथ छाडेर कुलेखानी खोलैखोला लाग्यौँ— भीमफेदीतिर । 
यो बाटो मेरो लागि नौलो थियो । यसले मेरो जीवनयात्रामा अलग्गै छाप छोड्न सक्थ्यो । त्यस बाटोका घुम्तीघुम्तीमा मैले स्मृतिबीज छर्न थाले । बाटो पिच गरिएको छ तर साँघुरो छ । ठाउँठाउँमा पिच उप्केर खाल्डा परेको छ, बाटो संरक्षण विहीन छ । 
निबुवाटार पुगेका छँौँ हामी । 
मातृकाजीको बेग्लै अनुभव रहेछ यस ठाउँका बारेमा — ‘कुलेखानी जलविद्युत उत्पादन गर्ने क्रममा कामदारका रुपमा लामो समय बस्नेहरु धेरैले यस ठाउँलाई ससुराली गाउँको रुपमा परिणत गरे ।’ 
कुरो हास्यमिश्रित भए पनि यथार्थताको नजिक भएको बुझेँ मैले । 
खोला किनारमा बसेका छिटफुुट बस्तीहरुलाई पछाडि पार्दै हामी पुग्यौँ भीमफेदी । भीमफेदी हेर्ने मेरो इच्छा पूरा भयो । इतिहास पढ्यो, भीमफेदी । बूढापाकाको कुरा सुन्यो, भीमफेदी । राजनीति गर्नेको बकवास सुन्यो, भीमफेदी । साँच्चै नै एउटा इतिहास बोकेको थियो भीमफेदीले । भीमफेदीका ऐतिहासिक घरहरु त गाडीबाट ओर्लेरै हेर्ने विचार थियो मलाई । तर मेरा कारणले अरुलाई बाधा पार्न त भएन नि !
हामी भीमफेदीबाट उकालो उक्लिन थाल्यौँ ठाडै न ठाडो । अहा ! क्या राम्रो दृश्य भीमफेदीको ! 
जसले जेसुकै भने पनि मैले एकपटक गाडी रोक्न लगाएँ र भीमफेदीको सुन्दर तस्विर क्यामेराभित्र हालेँ । फोटोपत्रकार नरेश श्रेष्ठले मलाई सुटुक्क भन्नुभयो— ‘वास्तवमा नियात्राकार र फोटोग्राफर अलग्गै हिँड्नुपर्दाे रहेछ गाडीमा ।’ 
कुरा मनासिव थियो नरेशजीको ।
उकालो चढ्दाचढ्दै बाटैमा भेटियो चिसापानी गढी । 
‘पहिले पैदलमार्ग छँदाको चेकपोष्ट । पासपोर्ट पनि जाँच हुन्थ्यो यहाँ’— एकपटक त्यही बाटो पैदल भीमफेदी ओर्लेका रोचक घिमिरेले आफ्नो अनुभव सुनाउँदै हुनुहुन्थ्यो । उहाँलाई सम्झना रहेछ— केटी मान्छेले हेर्न नहुने वटुक भैरव छन् यहाँ, बडा हाकिम बस्ने घर पनि छ अहिलेसम्म यहाँ । 
म प्रत्यक्ष देख्दै थिएँ— अवशेषको रुपमा त्यहाँ दुई÷चारवटा घरहरु ठडिएकै देखिन्थे । 
त्यहाँबाट पनि हामी उकालो लाग्यौँ । 
चालक रविन्द्र लामा भन्दै थियो— ‘अब चिया खाने ठाउँमा पुग्नै लाग्यौँ ।’ भन्दा नभन्दै एकैछिनमा उसले देउराली पु¥याएर गाडी अड्यायो । 
अहा कति चिसो ! यस मार्गको यो सबैभन्दा अग्लो ठाउँ रे ! मैले झोलाबाट ज्याकेट निकालेर लगाएँ । हिलटप होटल एण्ड लजमा चिया चमेना खायौँ हामीले । 
सोधेँ, होटलनी बहिनीलाई । नाम रहेछ— लक्ष्मी श्रेष्ठ । र, पुस्तौँ भएछ काठमाडौँबाट आएर बसेको । चिया खाएपछि हामी ओर्लन थाल्यौँ सिमखोलातिर । 
सिमखोलामा पानी धेरै थिएन । त्यो पानी बग्दै गएर अलिकति अगाडि बाग्मतीमा मिसिन्छ भन्दै हुनुहुनथ्यो— रोचक दाइ । 
हामी दुई डाँडाबीचबाट खोच परेर बग्दै गरेको त्यस खोलाको पश्चिमी पाखो हुँदै पुग्यौँ खानीखेत । त्यसपछि देखियो कुलेखानीको ड्याम । 
हामी हेटौँडाबाट आउँदै गर्दा निर्माण हुँदै गरेको तेस्रो कुलेखानी जलविद्युतको स्रोत पनि भट्यौँ र क्रमशः दोस्रो र पहिलो जलविद्युतको उत्पादन केन्द्र पनि । अहिले विद्युत उत्पादनका लागि जम्मा गरेको जलकुण्डको बाह्य रुप हेर्दैछौँ । 
कुलेखानी जलविद्युतको स्रोत भनेकै डाँडाखोल्साबाट बग्दै गरेका पानीका स्रोतहरुलाई थुनेर जम्मा गरिएको पानी त रहेछ । यदि यसरी नथुनिएको भए यता बग्ने पानी बाग्मतीमा मिसिन्थ्यो, उता बग्ने पानी राप्तीमा । 
हाम्रा अगाडि देखियो ससानो टेकर बजार । र, त्यसपछि आयो— सिस्नेरी । मैले सिस्नेरीका बारेमा यसअघि धेरै सुनेको थिएँ । निर्माेही व्यासको पुर्खाैली थलो सिस्नेरी । उहाँले सिस्नेरीको बारेमा लेख्नुभएको लामो संस्मरण पनि पढेको छु मैले । त्यसै लेखले मेरो मन तानेको थियो र जाउँजाउँ लागेको थियो सिस्नेरी । तर सिस्नेरी पुग्ने मौका मिलेको थिएन । आज देख्न पाएँ, सिस्नेरी । 
तर मैले पढेको र कल्पना गरेको भन्दा फरक पाएँ सिस्नेरी । मैले पढेका अक्षरहरु भूगोलमा भन्दा भोगाइ र भावनामा केन्द्रित थिए । सिस्नेरी बजार खोलाको किनारमा बसेको छ र सिस्नेरी गाउँले पहाडको पाखो ढाकेको छ भन्ने मैले भेउ पाएको थिइनँ । 
अहिले म त्यही बजारलाई छाडेर सिस्नेरी गाउँको डाँडोतिर उक्लँदै छु । घुम्तीघुम्ती हुँदै उक्लँदै गर्दा देखिएका चौतर्फी पहाडी दृश्यले मोहित हुन्छु म । तर हेटौँडादेखि सिस्नेरीसम्मको बाटोको अवस्था देखेर म के निर्णयमा पुग्दैछु भने हालकै बाटोलाई चौडा गरेरमात्र राजमार्गको रुपमा परिणत गर्न सकिँदो रहेनछ । 
त्यसैबेला देखिन्छ — ‘रामचन्द्र भञ्ज्याङ’ लेखिएको बोर्ड । त्यस भञ्ज्याङले भूगोलको एउटा महत्वपूर्ण भागलाई छुट्याउँदो रहेछ । त्यस भञ्ज्याङबाट हामीले देउरालीसम्म देखिने कुलेखानीको पूरै पाखोलाई किताबको पानाजस्तै गरी पल्टाएर दक्षिणकालीसम्मको भूगोल पढ्न थाल्दा रहेछौँ । 
अब हामी तल धेरै तल बग्दै गरेको बाग्मतीमाथिको पखेरोबाट अगाडि बढ्दै छौँ । फास्टट्र्याक देखिँदै छ कतै । 
दक्षिणकालीभन्दा आठ किलोमिटर परबाट प्रवेश गर्दा रहेछौँ हामी काठमाडौँ । नास्पातीका बोट देखिन थाले बाटाघाटा । छैमलेको सङ्केत हो भन्ने बुझेँ मैले । 
हुन पनि छैमले नास्पातीका लागि नेपाल प्रसिद्ध नै हो क्यारे ! भनिन्छ — कम्तीमा २० वटा बोट नभएको किसान छैमलेमा छैन रे ! 
अब भने हामी छैमले नाघेर दक्षिणकाली र दक्षिणकाली नाघेर चोभार सिमेन्ट कम्पनीको दुर्दशा हेर्दै कीर्तिपुरको डाँडोमा कुद्दै थियौँ । क्यासेट घन्किरहेको थियो— 
झापा झ¥यौ कि मेची त¥यौ कि ! 
मेरो माया सहरतिर बसाइ स¥यौ कि ! 
तर मेरो मन भन्दै थियो— होइन, म त मृत्युलाई जित्दै झापाबाट माया लगाउन काठमाडौँ आइपुगेको छु । 
यस्तै तरङ्गमा तरङ्गीत हुँदै थिएँ, सुमो गाडीले ७८ किलोमिटर बाटो गुडेर बल्खु पुगेछ— साढे नौ बजे । जम्माजम्मी साढे तीन घण्टा लागेछ हामीलाई कान्तीपथको यात्रा गर्न । साथीहरु आ–आफ्नो बाटो लागे । तर ठाकुर शर्मा, रोचक दाइ र मलाई भने झापा जाँदाजस्तै घर घरमा पु¥याउन पनि शर्मापुत्र भाष्कर र दीपकले सहयोग गरे । 


000


यो संस्मरण लेख्दैगर्दा अहिले म सम्झन्छु घटना–दैनिकीहरु — 


झापा जाँदाको दिन बिहानै सुनेको सीता एयरको विमान दुर्घटना र १९ जनाको मृत्यु भएको समाचार । दोस्रो दिन नेपाली काँग्रेसका सभापति निरपराध रोगी बूढा सुशिल कोइरालामाथि सार्वजनिक समारोहमा भएको हमला । तेस्रो दिन इलामको हर्कटेमा पहिरोले पुरिएका पाँचवटा सवारी साधन र तिनमा सवार चौध जना (बेपत्ता सहित)को मृत्युको खबर । चौथो दिन पोखरा विमानस्थलबाट उडेका बुद्ध एयर र यति एयरका विमानमा चरा ठोक्किदा पनि दुर्घटना हुनबाट बचेका घटनाहरु । 
र, घोरिन्छु एक छिन — धन्सार खोला पुलको पश्चिमी मुखमा हुन हुनबाट जोगिएको माइक्रो बस दुर्घटना र पोखरा विमानस्थलबाट उड्दै गरेका बुद्ध एयर र यति एयरका विमानहरुमा चरा ठोक्किएर पनि जोगिएका कथाहरु उस्तै उस्तै थिए । अर्थात् चालकको सावधानी र साहसका कारण दुर्घटना हुनबाट जोगिएका थिए ती बस र विमानहरु । नत्र मनहरा खोला किनारको विभत्स दृश्य देखेजस्तै धन्सार खोला किनारको दृश्य पनि देख्थे— हामीले होइन अरु कसैले । 
यी घटना र सम्भाव्य दुर्घटनाहरुले मलाई के सोच्न बाध्य बनाएको छ भने — सवारी नियम विपरीत हुने एकाध दुर्घटना बाहेक बाँकी दुर्घटना रोक्नै नसकिने दुर्घटना हुँदा रहेछन् । कतै कतै भने अपवादको रुपमा सचेत र साहसी चालकले दुर्घटनालाई पनि जित्दो रहेछ । 

No comments:

Post a Comment