Sunday, September 17, 2017

आउँदै गर माया नमार’ - केशव सिलवाल


फागुपूणिर्माको अघिल्लो दिन ।

एकनासले पाइला चलिरहेको छ । पिठ्युँमा छ- एउटा झोला । झोलामा सामान्य बन्दोबस्तीका सामान । तर, पहाडी उकालोमा त्यही सानो झोला पनि गह्रुँगो भइदिन्छ । बाटोभरि आफूभन्दा ठूलो भारी बोकेका भरियाहरू थकाइ नमारीकनै हिँडिरहेका छन् । हामीे थकाइ मार्दै, पानी पिउँदै उकालो चढिरहेका छौँ । यो उकालोलाई जसरी पनि जित्नु छ ।

तनहुँको आँबुखैरेनीबाट हिँडेको झन्डै तीन घन्टा भइसक्यो । बीचमा भेटिन्छ एउटा चौतारो । बल्ल आधा भएको हो कि भन्ने अनुमान हुन्छ । अझै पुग्नुपर्ने टाढै छ । के यो घनघस्याको उकालो हो ? मैले सोधेँ । पहिले पनि हिँडिसकेकाहरूले भने, ‘त्यो अझैै आउन बाँकी छ ।’

***

चंकी श्रेष्ठ र सङ्गीतस्रोता पानी पिउँदै लम्किन्छन् । उकालोमा जति पसिना बग्छ, उति थोरैथोरै पानी पियो भने थकाइ लाग्दैन । यो सूत्र हो चंकीको । त्यो ठाडो उकालोमा सबैभन्दा अघि हिँडेर उनले आफ्नो सूत्रको पुष्टि गरेर देखाए । टोलीमा उनै हुन् नथाकीकन लम्किरहने । अगाडि लम्किएका चंकीलेे सायद हामीलाई व्यंग्य गर्दै भने, ‘डिँगा खेद्नु, पछाडिबाट, मान्छे खेद्नु अगाडिबाट ।’ उनीसँगै अघिअघि थिए, पर्वतका सङ्गीतस्रोता । पर्वत झन् कस्तो विकट जिल्ला होला ? ‘नाम पो पर्वत त,’ हाम्रो अनुमान सच्याइदिन्छन् उनी, ‘मान्छे सोच्छन्, त्यहाँ कहालिलाग्दो पहाड मात्रै होला । तर, त्यस्तो धेरै विकट छैन पर्वत ।’ अर्का युवा नवीन विभासको भने यात्राशैली नै फरक छ । फोटो खिच्दै स्थानीय बटुवासँग कुरा गर्छन् उनी । मातृका पोखरेल, युवराज नयाँघरेलगायतका साथीहरू अलि पछाडि छन् । उनीहरूको आफ्नै ताल छ । म छु बीचमा, न यता न उता । र, मेरो पनि आपmनै ताल ।

हिँड्नुको आनन्द कति मीठो ! पसिना आएको छ- काम गरेर होइन, रहरले हिँडेर । पसिना बगाउनु आफंैमा आनन्द लाग्छ । शरीरभित्रका सम्पूर्ण विकार बाहिर निस्किएजस्तो । पसिना नबगाउनेलाई पसिना बगाउनुको आनन्द के थाहा ? यस्तो मज्जा लागेको छ, आहा ! सधंै हिँडिरहुँजस्तो । त्यसैले त मान्छे डुल्ने कार्यक्रम मन पराउँदो रहेछ । प्राकृतिक दृश्य हेर्न पाइने, स्थानीय बासिन्दासँग चिनजान गर्न पाइने, त्यहाँको संस्कृति र दुःखसुखमा डुब्न पाइने । अग्लो पहाड चढ्दा आकाश भेट्न उक्लेजस्तो । साँच्चै, आयोजक धन्य छन् । मेरा लागि त जीवनमा यति धेरै हिँडेको सायद पहिलो नै हो ।

***

बाटैभरि महोत्सवका पाहुनका लागि स्वागत-तुल टाँगिएका छन् । बाटोको दायाँबायाँ सरसफाइ गरिएको छ । उकालोको बीचमा भेटिन्छ- एउटा काठे रोटेपिङ । एउटा केटाले खुट्टाले चलाइरहेको छ । थुप्रै बच्चाहरू त्यसमै झुम्मिएका छन् । केही बटुवाहरू चढ्छन् । ‘हामी चढिसक्यौँ है,’ गर्वसाथ र रमाइलो मान्दै चंकी र सङ्गीतले सुनाए । उनीहरूले मलाई चढाउन निकै कोसिस गरे । तर, कहिल्यै नचढेको, लडियो भने त वित्यास ! हिम्मतिला महिलाहरू फनफनी घुमिरहेका छन् पिङमा । केटो झन् मच्चीमच्ची पिङ घुमाइरहेको छ । मैले चढ्ने आँट गरिनँ । हाम्रो आज बास बस्ने गन्तव्य, लाब्धी । थाहा दिइन्छ, अझै तीन घन्टाजति लाग्ला लाब्धी पुग्न ।

***

लाब्धीको त्यो रात पिँढीमा उँघेर बित्यो । केही साथीले त त्यही उँघ्न पनि पाएनन् । खुल्ला गोठमा कोदाको पराल -नल) बिछ्याएर ढुंगामाथि टाउको अड्याएर पल्टिए । त्यो पनि एउटा नयाँ अनुभव थियो जीवनको । धेरै पाहुना र थोरै घर । उता आतिथ्य सत्कार गर्नेलाई भ्याइनभ्याई । पाहुनाभन्दा कतिपय आयोजक सुत्नलाई तँछाडमछाड गरिरहेका थिए । ओढ्ने नपुगेर तानातान । सभासद् सुरेश आले मगर पनि असुविधाको अप्ठेरो सहेर सुते । सिरक र कम्बल खोसाखोसमा उनकै श्रीमतीको कम्बल पनि खोसिएछ । भोलिपल्ट बिहानै चढियो छिम्के डाँडा, जुन हाम्रो प्रमुख गन्तव्य थियो । लाब्धीबाट मच्चेर हिँड्यो भने दुई घन्टाको बाटो । बाटोको दायाँबायाँ राताम्मै गुराँस । उकालोको बीचबीचमा सेलरोटीसहितका स-साना घुम्ती पसल । फागुपूणिर्माको दिन । डाँडामाथि मेला लागेको छ । टाढा-टाढाबाट आएका युवायुवतीको घुइँचो छ । कहाँबाट आएका यति धेरै मान्छे ? नजिकमा गाउँबस्ती पातलो छ ।

यही रहेछ छिम्के डाँडो । बाटो ठाडो, डाँडामा थलीजस्तो समतल सतह । समुद्र सतहबाट सात हजार फिट अग्लो । आउनेहरू अधिकांशको प्रयोजन धार्मिक छ । हामी पूजा गर्न गएका थिएनौँ, सामाजिक-सांस्कृतिक पर्यटन-प्रवर्धनमा सहयोग पुग्ला भन्ने चाहना मात्रै । नेपालीहरू डाँडा-थुम्का देखेपछि देउता थापिहल्छन् । किम्बदन्ती बनाइहाल्छन् । छिम्केश्वरीको पनि त्यस्तै किम्बदन्ती रहेछ । गोरखा मनकामनाकी एक बहिनी, आँटेको पुर्‍याइदिने देवी आदिआदि । महाभारतीय शृंखलाको सबैभन्दा अग्लो डाँडो हो । यहीँबाट चितवनको नारायणगढ देखिन्छ । अन्नपूर्ण हिमशृंखला हाराहारी देखिन्छ । लहरै अरू सेता हिमाल अँगालोमा नै आउँछन् ।

***

दिउँसो एक बजे ‘छिम्केश्वरी पर्यटकीय महोत्सव’ सुरु भयो छिम्केलेकको काख लाब्धीमा । हामी काठमाडौंदेखि मातृका पोखरेल, युवराज नयाँघरे, चंकी श्रेष्ठ, सङ्गीतस्रोता, नवीन विभासलगायतको टोली आयोजक सदस्य अनिल श्रेष्ठसँगै त्यहाँ पुगेका थियौँ । स्थानीय पोसाकमा सजिएका छन्, मगर र गुरुङ युवायुवतीहरू । घाटु र चुड्का नृत्य गर्नेको विशेष पहिरन छ । मुकुट, कान र घाँटीमा लगाउने विशेष गहनाहरू । सिंगारपटार विशेष प्रकारको । अनुहारमा रंगीन सितारा टाँसिएका । नौमती बाजाको मौलिक रौनक बेग्लै । मैले पहिलोपटक यसरी प्रत्यक्ष त्यस्तो मौलिक नृत्य हेर्न पाएँ । महोत्सवमा थरीथरीका पसलहरू छन् । सेलरोटी, तरकारी, कस्मेटिक र अन्य स्थानीय उत्पादन पनि । फागुपूणिर्मा र नयाँ वर्षमा यसरी नै यहाँ नियमित मेला लाग्दो रहेछ । यसपटक भने पर्यटकीय महोत्सव भनेर विषेश रूपमा मनाइएको थियो ।

कार्यक्रममा कविता, गीत र नेताका भाषण सुन्ने/सुनाउने कार्यक्रम अन्त्य हुँदा-नहुँदै हामीलाई र्फकने हतारो भयो । हामी हिलेखर्कतर्फ लाग्यौँ । हिँड्नलाई यसपटक बाटो सजिलो रहेछ । मोटरबाटो, तर मोटर चल्न नसकेको । मोटरसाइकलसम्म चल्न सक्नेखालको । मोटर चल्यो भने बन्दीपुरबाट छिम्केश्वरको डाँडा त्यति टाढा हुनेछैन ।

***

हिलेखर्कमा चन्द्रप्रकाश गुरुङले हाम्रो स्वागत गरे । डाँडाको काखमा समतल गाउँ हिलेखर्क । ५६ घर गुरुङ परिवार रहेको यो गाउँ पर्यटकीय गाउँ बन्ने सुरसारमा रहेछ । सफासुग्घर, त्यतिकै राम्रो । दिसापिसाबमुक्त क्षेत्र । पाहुनाको हार्दिक सत्कार । खानाको मेनुमा- ढिडो -फापर, कोदो, मकै), गुन्द्रुक । अनि, ब्रेकफास्ट, मकै, भटमास, अचारसहित चिया वा कफी । खाजा सेट, फापर वा कोदोको रोटी वा सेल रोटी, तरुल, फुरौला, गुन्द्रुकको अचार आदि । मोही, दूध र दहीको व्यवस्था । हाम्रा लागि खाने र सुत्ने व्यवस्था एकदम राम्रो भयो । खानामा फापरको ढिडो र कुखुराको मासु थियो । अघिल्लो रात लाब्धीमा खुल्ला छाप्रोमा ढुंगामाथि ढल्किएका चंकी, सङ्गीत र नवीनले सुताइमा जोड दिए । भोलिपल्ट फेरि हिँड्नु नै थियो ।

बिहानै चियाको व्यवस्था भयो । एकछिन् गाउँ हेरियो । गाउँको बीचमा दुईवटा घुमाउने घर थिए, मेरा लागि नौला । छुट्नुअघि आयोजना गरियो सानो कार्यक्रम, जसमा सङ्गीतले एउटा गीत गाए- ‘मन खोलेर नाँचौँ भने दौरा फाट्ने भो ।’ अरू केही साथीले पनि गजल सुनाए । अनि सुरू भयो- बिदाइ कार्यक्रम । चामलको सेतो टीका निधारमा लगाइदिइन् स्थानीय युवती मिस्पा गुरुङले । टीका थाप्ने क्रममा हाम्रो टोली भावुक बन्यो । एउटा आत्मीय सम्बन्ध गाँसिइसकेको थियो । त्यसपछि प्रदर्शन गरियो- स्थानीय सामग्रीहरू । गुरुङ संस्कृति झल्काउने थुप्रै पुराना सामग्री थिए त्यहाँ । तोरी पेल्ने पुरानो ढुंगाको कोल पनि देखियो ।
हिँड्ने वेला वृद्धा भक्तिमाया गुरुङले गीत गाइन्-
‘चिसोपानी केरीको धारा,
आउँदै गर माया त नमार ।’
हामी चाँडै नै हिँड्यौँ बन्दीपुरतर्फ । हिलेखर्कबाट केउँ, ठाँटी, भञ्ज्याङ र झारगाउँ हुँदै २२ किमि हिँडेर बन्दीपुर आइपुग्दा पाँच घन्टाजति लाग्यो ।

2009-05-31,Sunday
http://www.nayapatrika.com बाट

No comments:

Post a Comment