Sunday, September 17, 2017

बीएचयूमा बढी नेपाली कृषि पढ्दै

नेपाली भाषा सन्दर्भ सामग्रीको अभाव
नेपाली भाषाका शोधसामग्री जुटाउन नेपालै आउनुपर्छ : शोधार्थी
गणेश राई, बनारस



फाल्गुन १३, २०७३- नेपाली राजनीतिक शिखरमा पुगेकामध्ये धेरैजना बनारसका विश्वविद्यालयबाट दीक्षित छन् । प्रमुख केन्द्र काशी हिन्दु विश्वविद्यालय (बनारस हिन्दु विश्वविद्यालय/बीएचयू) नै हो । अहिले सन् २०१७ मा पढ्ने करिब करिब ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । 

बीएचयूमा पढेका नेपालीमध्ये सबैभन्दा बढी कृषि विषयमा अध्ययनरत छन् । कृषि पढ्ने संख्या करिब १ सय १० जनाको हाराहारीमा छ । यो संख्या बीएस्सी एग्रिकल्चर र एमएस्सी एग्रिकल्चर पढ्दै गरेकाहरुको हो । दोस्रो क्रममा कमर्स पढ्नेको संख्या रहेको छ । कृषिप्रधान मुलुक नेपालका निम्ति त्यसरी कृषि विषय पढ्नुलाई सकारात्मक रहेको त्यहाँका प्राध्यापक बताउँछन् । 
‘बीएचयू केन्द्रीय विश्वविद्यालय हो,’ एक प्राध्यापकले भने, ‘यहाँ ३६ मुलुकको दसौं हजार विद्यार्थी पढ्छन् । सयौं विषय पढाइन्छ । शोध, अनुसन्धान गराइन्छ । नेपाल कृषिप्रधान देश भएकाले त्यहाँबाट आएका विद्यार्थीमध्ये कृषि विषयमा बढी हुनु स्वाभाविकै हो ।’

अध्ययनरत विद्यार्थी त्यहाँ पढ्नका निम्ति विदेशी विद्यार्थीले दुईवर्षे डिप्लोमा, अनर्स, एकबर्षे ब्रिज कोर्स गर्छन् । चारवर्षे ब्याचलर्स डिग्री र दुईवर्षे स्नातकोत्तरको व्यवस्था छ । विद्यावारिधि (पीएचडी) शोध तथा अनुसन्धान गर्दै आएका छन् । नेपाली विद्यार्थीले विज्ञान, व्यवस्थापन, कानुन, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, ललितकला, गृहविज्ञान, भाषाविज्ञान, संगीत तथा वाद्यवादन, एमबीबीएस, एमडी लगायत विषय अध्ययन गर्दै गरेकाहरू छन् ।

नेपालीमा सामग्रीकै अभाव 
बीएयूमा यतिखेर नेपाली विषयमा १५ जना एमए अध्ययरत छन् । त्यसैगरी पीएचडी शोधार्थी ८ जना छन् । भारतीय भाषा विभाग प्रमुख डा. सञ्जय राईका अनुसार बीएचयूबाट नेपाली विषयमा हालसम्म ५० जनाभन्दा बढीले पीएचडी उपाधि हासिल गरेका छन् । यो संख्या नेपाल र भारतका विद्यार्थीको हो ।

‘नेपाली विषयमा एमए र पीएचडी गर्नेका निम्ति भारतभरि प्रशस्त अवसर छ,’ विभाग प्रमुख राईले भने, ‘प्रशासनिक सेवा, विश्वविद्यालय, महाविद्यालय, गैरसरकार क्षेत्रमा नेपाली विषय पढेकाले प्राथमिकता पाउँछन् ।’ नेपाली भाषाप्रति आकर्षण कायमै रहेको उनले बताए । 

प्रमुख राईले भाषा र साहित्य अध्ययनको महत्त्व कहिल्यै नघट्ने उल्लेख गरे । विश्वविद्यालयमा पाठ्यपुस्तक पर्याप्त रहे पनि शोध सन्दर्भ सामग्री पर्याप्त नरहेको उनले जनाए । त्यहाँ नेपालबाट प्रकाशित साहित्यिक, समाचारमूलक पत्रपत्रिका तथा पुस्तकहरू पुग्दैनन् । बनारसमा १९९२ मा प्रकाशन सुरु भएको ‘उदय’ साहित्यिक पत्रिकाबाहेक कुनै नयाँ पत्रपत्रिका प्रकाशनमा आएको छैन । 

नेपालबाट प्रकाशित गरिमा, रचना, मधुपर्क, अभिव्यक्तिजस्ता केही साहित्यिक पत्रिका व्यक्तिगत सम्पर्कका आधारमा पुर्‍याउने गरिएको उनले जनाए । समाचारमूलक पत्रिका अनलाईनमार्फत हेर्ने गरेको राईले सुनाए । 

‘बनारसमा नेपाली भाषा साहित्यिक कृतिहरु, स्रोत सन्दर्भ सामग्री पर्याप्त पाइँदैन,’ बीएचयूमा विद्यावारिधि शोधार्थी सिर्जना शर्माले भनिन्, ‘त्यसैले सामग्री जुटाउन बारम्बार नेपाल आउनुपर्छ कि चाहिँ सिक्किम, दार्जिलिङ पुग्नुपर्छ ।’

भारतमा छापिएका पुस्तक, पत्रिका नेपाल भित्र्याउन भारत सरकारले कर छुट दिएको छ । तर, नेपालमा प्रकाशित पुस्तक, पत्रपत्रिका ३० प्रतिशत कर तिर्नुपर्ने प्रावधानले कुनै पनि अध्ययन सामग्री ठूलो मात्रामा र नियमित रूपमा पुग्ने गरेको छैन । साझा प्रकाशनको सिलिगुडीस्थित बिक्री केन्द्र बन्द भएपछि नेपालबाट प्रकाशित पुस्तक पाउने आधिकारिक ठाउँ नरहेको शोधार्थी शर्माले जनाइन् । ‘हामी शोधार्थीले जुनसुकै खाले किताब पढ्न पाउने हाम्रो नैसर्गिक अधिकार हो,’ उनले भनिन्, ‘हामीले पटकपटक नेपाल र भारत बीचको पुस्तक बिक्रीवितरण नीति लचिलो हुनुपर्छ भनेर विभिन्न निकाय र अधिकारीहरुलाई सुनायौं । माग राख्यौं । तर, सुनुवाइ भएको छैन ।’

नेपाल अध्ययन केन्द्र पनि छ
बनारस हिन्दु विश्वविद्यालयअन्तर्गत छुट्टै ‘नेपाल अध्ययन केन्द्र’ रहेको छ । विश्वविद्यालय हाताभित्र केन्द्रको भवन रहेको छ । उक्त भवन नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट सन् १९९३ मा शिलान्यास भएको र निर्माण सम्पन्न भएपछि सन् २००१ मा उत्तरप्रदेशका राज्यपाल प्रोफेसर विष्णुकान्त शास्त्रीबाट उद्घाटन भएको शिलालेखमा उल्लेख छ ।

उक्त अध्ययन केन्द्रले नेपालबारे अध्ययन गर्दो रहेछ । फागुन पहिलो साता विश्वविद्यालय हातामा छिरेका नेपाली साहित्यिक टोलीलाई उक्त केन्द्रमा स्वागत गरेर केही ‘बुझबुझारथ’ गराइएको थियो । केन्द्रका प्रमुख डा. एनपी सिंहले भूकम्पपछि दस दिन नेपालको स्थलगत अध्ययन टोली खटाएको प्रसंग उप्काए । ‘भारत सरकारले भूकम्प पीडितलाई त्यत्रो सहयोग गर्‍यो तर हाम्रो टोलीले स्थलगत रूपमा चीनबाट ल्याइएका पाल, लत्ताकपडा मात्रै बाँडेको पायो,’ टोलीसित औपचारिक परिचय हुनुअघि नै सिंहले भने, ‘नाकाबन्दी भारतको कारणले भएको थिएन । त्यो हाम्रो सरकारको चाहना होइन । नेपालको संविधानले मधेसलाई बेवास्ता गर्दाको परिणाम थियो । संविधान जारी भए पनि संशोधन नभएसम्म कार्यान्वयन र चुनाव हुनेमा आशंका छ ।’ संक्षिप्त भेट तर धारिलो प्रस्तुतिले नेपाली टोलीका सदस्यमाझ असनमजस्य पैदा गरेको थियो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मातृका पोखरेल र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आरएम डंगोलले छोटकरीमा प्रस्टयाएका थिए । ‘नेपाल र भारतको भौगोलिक, भाषिक, सांस्कृतिक सम्बन्ध शताब्दीऔं पुरानो हो,’ भूकम्पपछि नेपाल सरकारले भारत र चीनमात्र नभई सबै मित्र राष्ट्रहरूबाट राहत सहयोग लिएर वितरण गरेको उल्लेख गर्दै प्राज्ञ पोखरेलले भने, ‘राजनीतिक हिसाबले नेपालको संविधानबारे भारतीय शासकले चासो दिन जरुरी थिएन तर चासो दिएका कारण समस्या बढी उल्झिएको हो । संविधान कार्यान्वयनको क्रममा लोकतन्त्रको प्रमुख आधार निर्वाचन भएकोले जनअपेक्षा त्यसैमा अडिएको छ ।’ विश्वविद्यालयको नेपाली विभाग र त्यहाँ अध्ययनरत विद्यार्थीसित भलाकुसारी गर्न पुगेको टोली आकस्मिक रूपमा नेपाल अध्ययन केन्द्रका अधिकारीसित त्यसरी भेट तथा कुराकानी भएका थियो । 

प्रकाशित: फाल्गुन १३, २०७३

No comments:

Post a Comment