Tuesday, December 8, 2009

अनुहारहरू (कवितासङ्ग्रह)



अनुहारहरू

(कवितासङ्ग्रह)



मातृका पोखरेल



धवलागिरी साहित्य प्रतिष्ठान,बाग्लुङ्ग बाट २०६४ सालको पाण्डुलिपि पुरस्कार प्राप्त कविता संग्रह



प्रकाशक
धवलागिरी साहित्य प्रतिष्ठान, बाग्लुङ्ग
२०६४

कृति : अनुहारहरू(कविता सङ्ग्रह)
संस्करण : पहिलो
प्रकाशक : धवलागिरी साहित्य प्रतिष्ठान, बाग्लुङ्ग
प्रकाशन :२०६४
आबरण : प्रोल्लास सिल्धुलीय
मूल्य: ५०/-
मुद्रण :जनसेवा अफसेट प्रेस, बाग्लुङ्ग
फोन नं. ०६८–५२०२०१



काजी रोशन साहित्य पुरस्कार (२०६४) समर्पण समारोहमा पुरस्कृत कवि मातृका पोखरेलबाट व्यक्त मन्तव्य

समारोहका सभापतिज्यू,
प्रमुख अतिथिज्यू
अतिथिज्यू
साहित्यकारज्यूहरु
तथा सम्पूर्ण अन्य उपस्थित महानुभावहरु,

प्राकृतिक सौन्दर्यले परिपूर्ण पश्चिम नेपालको यस सुन्दर नगरीमा आएर पुरस्कृत हुने अवशर पाउँदा आज मलाई निश्चितै रुपमा वेग्लै र नौलो अनुभूति भइरहको छ । तपाईंहरुले प्रदान गर्नु भएको यस पुरष्कारले मेरो साहित्य प्रतिको लगनशिलता र प्रतिबद्धतामा अझ बृद्धि गर्नुपर्ने जिम्मेवारी पनि सँगसँगै थपिएको बोध गरेको छु ।
यहाँबाट पुरष्कृत भएको कविता सङ्ग्रह मेरो चौथो पुस्तकाकार कृति र तेश्रो कविता सङ्ग्रह हो यो भन्दा अघिल्ला कृतिहरुका कारण मैले पाठकहरुबाट प्रशस्तै हौसला पाएको छु । यो सङ्ग्रह भित्रका अधिकांश कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छापिइसकेकै छन् र रेडियो, टेलिभिजनहरुबाट प्रशारित भएका छन् । त्यसैले पनि पाठकहरुले यो कविता संग्रहबाट नयाँ कविताहरु पाउनुहुने छैन । यी संकलन गरिएका सामाग्रीहरु मात्र हुन् ।
सिकारु अवस्थामैं साहित्यको परिभाषा खोज्दै गर्दा ‘साहित्य समाजको ऐना हो’ भन्ने सरल उत्तरले मलाई कताकता प्रभावित पारेको थियो । पछि अध्ययनबाट थप बुझ्दै गएपछि साहित्यको काम समाजका गतिविधि र अवस्थालाई ऐनाझैं यथार्थबोध गराउने मात्र हुनुहँदैन भन्ने चिन्तनले अर्को नयाँ दृष्टि प्रदान ग¥यो । समाजको अवस्थालाई उजागर गर्दै त्यसलाई अझ सुसभ्य र उन्नत बनाउने काम पनि साहित्यले गर्नु पर्दो रहेछ भन्ने लाग्न थाल्यो । सुरुका कविताहरुको दाँजोमा पछिल्लो चरणका कविताहरुमा मैले यो दायित्वबोधलाई आफ्नो सिर्जनामा एकाकार गर्ने प्रयत्न गरेको छु ।
साहित्यमा “सबै एकापट्टि” भन्ने चिन्तनले मलाई सत्यको नजिक पुर्‍याउछ भन्ने लाग्दैन । राजनीतिमाझैं साहित्यमा पनि “को कतापट्टि” भन्ने सत्यलाई नकारेउ भने त्यो भन्दा उट्पट्याङ कुरा केही पनि हुन सक्दैन भन्ने मेरो दृढ ठम्याई हो । निश्चयनै चन्द्रमयूष लेख्ने बैजनाथ सेढाई र मकैको खेती लेखेर मृत्यु वरण गर्न तयार हुने कृष्णलाल अधिकारीलाई मेरो विवेकले समान श्रद्धा गर्न सक्दैन ।
कवितालाई सामाजिक र ऐतिहासिक सन्दर्भबाट अलग्याएर आकष्मिक संयोगको रुपमा हेर्न मिल्दैन भन्ने क्रिष्टोफर कडवेलको भनाई प्रति म पूर्णत सहमत छु । मलाई लाग्छ—हामी यो युगको जटिल अवस्थाका मानिसहरु हौं । हाम्रै समयमा राजनैतिक, सामाजिक र सांस्कृतिक लगायतका सवै क्षेत्रमा पुरानो र नयाँ शक्तिहरुको बीच निर्णायक संघर्ष चलिरहेको छ । पुरानो सोच र चिन्तन क्रमशः पराजित हुने क्रममा छ । यो बेलामा हामीले सन्ध्या भाषामा आफूलाई नयाँतिर उभ्याउछु भनेर मात्र पुग्दैन । कर्मले पनि उभ्याउन सक्नुपर्छ । मेरो पुस्ताका साहित्यकार साथीहरुसँग यो मेरो विशेष आग्रह समेत हो ।
आफूभित्रको कविलाई टाढा राखेर पाठकका रुपमा मात्रै भन्नुपर्दा पनि मलाई जीवन र समयको अभिव्यक्ति नआएका कविताहरुमा कुनै रुची छैन । देशले भोगेको संवेदनाबाट मलाई शब्दहरु सापटी लिएर कविता लेख्न मन लाग्छ । मलाई मेरा पृयजनहरुले भोगेका शोषणका पीडाहरु उनेर उनीहरुलाई भविष्यको बाटो देखाउने कविता लेख्दा म त्यस्मा आफ्नो कर्तव्यबोध भेट्टाउछु ।
मेरो विचारमा संवेदनशीलता र विद्रोही चेत नभएको मान्छे नयाँ युगको कवि बन्न सक्दैन । समाजका शोषण र होची अर्घेली देख्दा पनि उसलाई कतैतिर पोल्दैन भने ऊ कसरी अग्रगामी कवि हुन सक्छ ? म बारम्बार आफैंसँग यो प्रश्न गरिरहन्छु । त्यस्ता मानिसहरुले लेखेका कविताहरु पढ्नु पनि पाठकहरु शोषणमा पर्नु हो भन्ने मेरो ठहर हो । समय—चेतनाबाट टाढा रहने कविताहरुसँग मेरो सम्बन्ध कहिल्यै सुमधुर रहन सकेन । त्यस्ता कविताहरुलाई मैले पनि सुम्सुम्याउन जानिन ।
देश बधस्थलमा परिणत भइरहेको बेलामा मैले कविताका शब्दहरुसँग खेलेको छु । इतिहासलाई उथलपुथल पार्न सक्ने सम्भावना बोकेको जनआन्दोलनलाई मैले आपैंmले देख्ने र नजिकैबाट छाम्ने अवशर पाएँ । मैले मेरा कवितामा सडकका आग्रहहरुलाई पनि राख्ने प्रयत्न गरेको छु । यसमध्येका केही कविताहरु इतिहासका तिनै महान घटनाहरुको साक्षी बनून भन्ने पनि मेरो चाहना हो ।
आधुनिक युगमा जन्मिएका सवै कविहरुमा आधुनिक चेतना छ भनेर ठोकुवा गर्ने आधार हामीसँग छैन । यही युगमा वि.सं. १९९५ सालतिरको चेतना बोकेर कविता लेख्नेहरु पनि छन् । म त्यस्ता कविताहरुको सान्दर्भिकतालाई यतिबेला पूर्णत अस्वीकार गर्छु । साहित्यकारहरुले आउँदो पुस्ताका लागि अग्रगामी दृष्टि निर्माण गरिदिन प्रयत्न गर्नुपर्छ । मेरो साहित्यलेखनको मान्यता यही हो र अहिले पनि यसैबाट निर्देशित छु ।
नेपाली साहित्य मार्पmत नेपाली जनतामा नवचेतना प्रदान गर्ने लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, गोकुल जोशी, पारिजात, केवलपुरे ‘किसान’ हुँदै म भन्दा अघिल्लो पुस्ताका विमल निभा, विक्रम सुब्बा,पूर्ण बिराम, कृष्णसेन ‘इच्छुक’ देखि मेरो पुस्तासम्म आइपुग्दा थुप्रै कविहरुले दरबार र महलहरुमा मात्र विचरण गरिरहेको नेपाली काव्यलाई झोपडीसम्म ल्याउने एउटा मजबुत र सबल राजमार्गको निर्माण गरे । अब नेपाली कविताको मूलधार सत्ताद्वारा पालित र जनताको अग्रगामी चेतनाका विरोधीहरुको हातमा कैदी बनेर रहेन, यो निश्चयनै खुसीको कुरा हो । म आफू त्यही गौरवमय काव्यिक राजमार्गको एउटा पछिल्लो पुस्ताको यात्री हुँ भन्दा भित्रैदेखि गौरवान्वित महशूस गर्छु ।
अहिले नेपाली साहित्यमा पुरस्कारको बाढीने चलेको छ । नेपाली साहित्यमा विभिन्न थरीका पुरस्कारहरु राखिएका छन् । यसै बीचमा केही पुरस्कारहरु नेपाली साहित्यको विकासका निम्ति चोखो नियत राखेर स्थापना गरिएका छन् भने केही पुरस्कारहरु तस्करी र भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्तिलाई पर्दा हाल्नका लागि पासो थापिएका छन् । तिनै पुरस्कारको नाममा, सम्मानको नाममा घाँस र कुँडे दिएभैंm गरेर स्रष्टाहरुको योगदान र मूल्यलाई भत्काउन र धमिल्याउन प्रयत्न गर्नेहरु पनि यतिबेला योजनाबद्ध रुपमा लागिरेहका छन् । साहित्यकारहरुले पनि यस तर्फ सचेत हुन जरुरी भएको छ । नेपाली साहित्यिक जगतमा छलफलको एउटा विषय यसलाई पनि बनाउन जरुरी छ र निक्र्यौल समेत गर्न जरुरी छ । भ्रष्टाचार गरेर, तश्करी गरेर वा अन्य कुनै गलत तरिकाले कमाएको धनलाई पुरस्कारको नाममा साहित्यिक जगतलाई नै भ्रष्ट बनाउने कार्यका विरुद्धमा हामी सवैले सामुहिक ढङ्गले सोचौं । त्यस्तो पुरस्कार लिएका छौं भने पनि गलत कार्य गरेका रहेछौं भनेर आत्मालोचना गरौं । हामी साहित्यकारहरु यसतर्फ सचेत बन्न सक्दैनौं भने पछिल्लो पुस्तालाई सुसंस्कृत र सभ्य बनाउन कुनै योगदान गर्न सक्दैनौं । धवलागिरी साहित्य प्रतिष्ठानद्वारा स्थापित काजी रोशन साहित्य पुरस्कारले पुरस्कारहरुको भीडमा देखिएको यो मूल्य विरोधी कृयाकलापका विरुद्धमा आफूलाई कृयाशील बनाउन सकोस भन्ने पनि कामना गर्न चाहन्छु ।
अन्तमा, मेरो कविता सङ्ग्रह ‘अनुहारहरु’ लाई पाण्डुलिपि पुरस्कार प्रदान गर्ने धवलागिरी साहित्य प्रतिष्ठान र पुरस्कारको स्थापना गर्नुहुने साहित्यकार काजी रोशन लगायत प्रत्यक्ष रुपमा संलग्न रहनुहुने सम्पूर्ण महानुभावहरुप्रति म हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद ।



कवितामा हेरिएको समयको अनुहार
डा. ताराकान्त पाण्डेय


म तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूस“ग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार खुट्टाहरू हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिंड्ने मानिसहरूका
भर्भराउदा आँखाहरू
र सबल खुट्टाहरू ।
(सर्त)
आँखाको खोजी, उज्यालोको खोजी, शिखर चढ्न तयार यात्रीहरू र यात्रानायकको खोजी – समकालीन परिदृश्यमा एकजना अग्रगामी चेतनाको जनपक्षीय कविले कवितामा खोजी गर्ने विषय हुन् यी । दूरगामी दृष्टिसम्पत्र भर्भराउ“दा आ“खा र दरा खुट्टाविना कसैले परिवर्तन र समुन्नत मानवभविष्य–निर्माणको शिखर–यात्राको आरोहण गर्नु सम्भव छैन । हामी वर्षौंदेखि यो यात्रामा छौं र कवि मातृका पनि यो यात्रामा छन् । भँगालैभँगालामा चिरिएको हाम्रो यात्रा अनि यस यात्रामा कतिपय अन्धाहरूले नायकत्वको दावी गरिरहेको विडम्बना देख्दा कवि मातृकालाई अलिकता उदेकले छोएको छ र त्यो भन्दा बढी उद्वेग र आवेगले उद्वेलित बनाएको छ । मातृका सुन्दर मानवभविष्य–निर्माणको शिखर चढ्ने यात्री हुन् र यस यात्रामा उनी दूरदृष्टिसम्पत्र सबल नायकको खोजी गरिरहेका छन् ।
म मातृकाका कविता पढ्दै आएको छु । त्यसो त उनी कथा पनि लेख्छन् तर उनले आफ्नो साहित्यिक यात्रा सम्भवतः कविताबाटै थालेका हुन् र ‘सेतो दरबारका छेउबाट’ र ‘यात्राको एउटा दृश्य’ गरी उनका दुईवटा कविता–सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् अनि यो अर्थात् ‘अनुहारहरू’ उनको तेस्रो कविता सङ्ग्रहका रूपमा प्रकाशित हु“दै छ । यसैले पनि उनी कवितालेखनमा सक्रिय छन् भन्ने बुझ्न सकिन्छ ।
मातृकाका कवितामा प्रायः आफ्नो समय र समाजका व्रिदूपताको अनावरण हुन्छ र अनावरणमात्र हुँदैन त्यसप्रति व्यङ्ग्य, विद्रोह र विरोधको प्रखर स्वर पनि हुन्छ । यसो गरेर उनी समकालीन र अग्रगामी चेतनाका समकालीन कविको धर्म निर्वाह गर्छन् अथवा यसो भनौं समयसत्यको उद्घाटन गर्छन् । समयसत्यको एउटा यो रूप हेरौं ः
मेरो अघिल्तिर÷एउटा अनुहार छ–
त्यो अनुहार÷निधारभरि चन्दन लेपेर
मानववधशालातिर हतियार बोकेर कुदिरहन्छ
त्यो अनुहार
संविधानमा सजिलै पोत्न सक्छ÷कालो रंग
र आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरूको पर्वत
(अनुहारहरू)
गतवर्षको शान्तिसम्झौता हुनुअघि देशलाई शासकहरूले मानववधशाला बनाएका थिए र संविधान तिनको क्यानभास भएको थियो जहा“ जस्तो मन लाग्यो त्यस्तो रंग पोतेर उनीहरू लासको पर्वत बनाइरहेका थिए । एक बथान नागरिकहरू, बाबुआमा, दिदीबहिनीहरू अझै पनि भद्रकालीका पटाङ्गिनीमा, सिंहदरबारका पेटी र प्रवेशद्वारहरूमा राज्यद्वारा बेपत्ता बनाइएका आफन्तको सास कि लास खोज्दै त्यसकै निम्ति पनि लाठी खाइरहेको विडम्बना हाम्रा अगाडि विद्यमान छ“दैछ । विडम्बनाको यस व्याप्तिले सिद्ध गर्छ– राज्य अझै पनि नागरिकको जीवनप्रति उत्तरदायी बनेको छैन, बरु नागरिकप्रतिको अनुत्तरदायी तथा दमनकारी मानसिकता र स्वभावको विरासत अझै बा“की छ । यस्तोमा मातृकाका कविताले आफ्नो समयको विद्रूपतालाई अनावरण गरेर सचेत कविनागरिकको भूमिका राम्रोस“ग निर्वाह गरेका छन् भन्नै पर्छ ।
राज्यको उत्पीडन र शासकहरूमा व्याप्त भ्रष्ट आचरणप्रति मातृकाका कवितामा प्रहार छ जो एक अग्रगामी चेतनाका कविको मूलभूत पहिचान पनि हो । राज्यको केन्द्र सिंहदरबार आफ्नो इतिहासका आरम्भदेखि नै नागरिकका सुखद सपना पूरा गर्ने थलो बन्नुका सट्टा तिनका सपना कुल्चिने र शासकका सपना पूरा गर्ने थलो बन्दै आयो, आएको छ । नेपालका आम नागरिक र तिनकै प्रतिनिधि नागरिककविले समेत यही अनुभूति गर्दै आएका छन् । मातृकाका कवितामा सिंहदरबारको यो चित्र यसरी कोरिएको छ ः
मलाई सिंहदरबार र जादूघर
उस्तै–उस्तै लाग्छ ।
... ... ...
शहीदको केसबाट बनेको
एउटा बक्खु ओढेर
उनीहरू सिहंदरबार पसे
यतिबेला म त्रस्त आँखाले
सिंहदरबारको गेटमा हेरिरहेको छु
हिजोझैं उनीहरू फर्कंदा
ब्वाँसोको छाला ओढ्छन् कि ओढ्दैनन् ?
... ... ...
सिंहदरबार सहरमा छ
उसको शक्तिसँग आजित छ मेरो गाउँ
ऊ नून बोक्ने ढाकर दिएर
एउटा नाइके सिंहदरबार पठाउ“छ
नाइके ढाकरमा सुन बोकेर
सिंहदरबारको छेउमै बास बस्छ
सहिदका रगतको टीका लगाएर सिंहदरबार पस्नेहरू थप सहिद जन्माउने दुष्कार्यमा संलग्न भइरहेको तथ्यको साक्षी हो सिंहदरबार । नागरिकका सपना र शरीरको हत्या गर्ने षडयंत्रको तानाबाना बुन्ने थलो हो सिंहदरबार । सिंहदरबारको यो परिचय अझै बदलिएको छैन । मातृकाले आम नेपाली जनताको यही अनुभूतिलाई कविताका शब्दमा अभिव्यक्ति दिएका छन् र यसो गरेर उनले आफ्ना कवितालाई जनताका पक्षमा उभ्याएका छन् भन्ने कुरा निःसङ्कोच भन्न सकिन्छ ।
मातृका समाज रूपान्तरणको आन्दोलनस“ग आस्था र कर्मका स्तरमा गा“सिएका कवि हुन् । त्यसैले उनका कवितामा सुन्दर भविष्यनिर्माणका खातिर उत्पीडितजनले गरिरहेका र गर्दैआएका संघर्ष र त्यस क्रममा तिनले भोग्नुपरेका उत्पीडनको चित्रण छ भने कतै संघर्ष गर्दागर्दै सहादत प्राप्त गरेका प्रिय मान्छेको आवेगपूर्ण सम्झना पनि छ, जस्तैः
सहयात्रीहरूको एक हुलझैं÷शिखर चढेको बेला तिर्खाएर
टुकुचामा फाल नहालेको
चेतनाको माछापुच्छ्रे अस्तिमात्र ढल्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्‍यो ।
(उसको मृत्युमा)

मुक्ति र स्वतन्त्रताको खोजी असल मान्छेहरू, उत्पीडन भोगिरहेका मान्छेहरूको कामना हो तर यसको प्राप्ति सहजप्रक्रियाबाट सम्भव छैन । ‘भोलि’ कवितामा उनी भन्छन् –“हामी त्यो दिन पक्कै त्यसै पाउने छैनौं÷ती दिन ल्याउने ताराहरूको÷बलिदानको गाथा गाउने स्कूलका साना नानीहरूलाई नयाँ गीत सिकाउने”। यस प्रक्रियामा कैयौं–कैयौंले आजादको नियति, कैयौं–कैयौंले इच्छुकको नियति अथवा चुनुको नियति भोग्नु पर्ने रहेछ, रहन्छ । यसै कटुसत्यको रागात्मक अभिव्यक्ति मातृकाले आफ्ना कवितामा गरेका छन् । मातृका सुन्दर भोलिको निर्माणका लागि कविता लेख्छन् । इच्छुक–नियति भोगेर पनि बाटामा रहेका चुनौती र बाधाहरू पन्छाउँदै उनी भोलिको निर्माणको गीत सतत गाइरहन चाहन्छन्–गाइरहन चाहन्छन् । सुन्दर भोलि, सुन्दर समय र सुन्दर भविष्यको निर्माण र त्यसको स्वागतको आतुरता अनि त्यसप्रतिको आसक्तिले निकै रागात्मक अभिव्यक्ति पाएको छ उनका कवितामा ।
अमलेख अर्थात् मुक्ति केवल उत्पीडित मान्छेका लागि मात्र आवश्यक छ भन्ने ठनाइ छैन मातृकाको । उनी शासकहरूको दासत्व स्वीकार गर्ने बानी परेका एकथरी कृतदासहरूका टाउकाहरूलाई पनि दासमनोवृत्तिबाट मुक्त बनाउनुपर्ने कुरा उठाउ“छन्, जस्तै ः
हिजो खोजिएको अमलेखगञ्ज
स्वतन्त्रताका लागि÷आसक्त मनहरूको थियो
अहिले मैले खोज्दै गरेको अमलेखगञ्ज
दास बन्न आसक्त मनहरूका लागि हो
(म खोज्दै छु अर्को अमलेखगञ्ज)
केही टाउकाहरू जो नया“ युगको नया“ जून स्वीकार गर्न तयार छैनन्, सुन्दर भविष्यनिर्माणको यात्रामा जो सदा का“डेतार लगाउन कोसिस गरिरहन्छन्, काला, राता, पहेंला पर्दामा देखापर्ने त्यस्ता टाउकाहरू परिवर्तनका बाधक हुन् । त्यसैले तिनको यथावत् उपस्थिति क्रान्ति र परिर्वतनका लागि हितकर छैन । यस निष्कर्षमा पुगेर मातृका त्यस्ता शक्तिहरूकै पहिला अमलेख गर्नुपर्ने र तिनलाई नया“ अमलेखगञ्जमा पुर्‍याइसकेपछि मुलुकको अमलेख हुने विश्वास व्यक्त गर्छन् । यसरी वर्गसंघर्षका क्रममा कुरूपताका पोषक शक्तिविरुद्ध गर्नुपर्ने व्यवहारलाई निकै रागात्मक अभिव्यक्ति दिएका छन् मातृकाले यस कवितामा ।
तेइसवटा कविता सङ्कलित रहेको यस सङ्ग्रहमा समकालीनताका अनेक सन्दर्भहरू समेटिएका छन् । कवि आफूलाई परिवर्तनकामी चेतनाका धरातलमा दरोस“ग उभ्याउ“छन् र आफू उभिइरहेको परिवेशमा व्याप्त कुरूपताका पत्र पल्टाएर त्यसको भेदन गर्छन् तर कविता त्यतिमै सीमित रहंदैन, कविताले आफ्नो समयमा विकसित हुंदै गएको अग्रगामी उदात्त चेतना र सुन्दर भविष्यनिर्माणमा त्यसले आर्जन गर्दै गएका प्राप्तिको रागात्मक अभिव्यक्ति पनि गर्छ । यसरी मातृकाका कविताले एउटा उदात्त महाख्यानको सृष्टि गर्छन् । त्यस्तो महाख्यान जसमा जीवनप्रति संवेदना र आसक्ति छ, जसमा कुरूपताको भेदन र सुन्दरताको पोषण छ, जसले समाजरूपान्तरणको अग्रगामी यात्रामा अघि बढ्न आवेग र उत्प्रेरणा प्रदान गर्छ । यसो गर्दा कवि रोमान्टिकता होइन, आफ्नो समयको यथार्थताका फलकमा टेक्छन् र त्यसबाट सम्बल लिएर कविताको रचना गर्छन् । त्यसैले यस सङ्ग्रहका कविता आफ्नो समयचेतनाका उपज भएका छन् र तिनमा समयको यथार्थले संवेदनाको साहचर्य र सुन्दर विचारको आलोक प्राप्त गरेका छन् – सङ्ग्रहका कविता पढ्दा मैले अनुभूत गरेको सत्य यही हो ।
जहाँसम्म कविताको रचनाविधानको कुरा छ, मैले के पाएको छु भने मातृकाको कवितालेखन सतत् परिष्कारशील रहेको छ । अघिल्ला दुवै सङ्ग्रहका तुलनामा यहा“ आइपुग्दा कविताभित्र भनाइको भङ्गिमादेखि, शब्द, लय, बिम्ब, प्रतीक आदिको प्रयोगमा मातृकाले आफ्नो साधना र सामथ्र्यको पहिचान राम्रैसँग दिन सकेको अनुभव मैले गरेको छु । यसअघि मातृकाकै कविताका बारेमा प्रतिक्रिया व्यक्त गर्दै आहुतिले “शब्दमा अलिकता पागलपन”को आवश्यकता औंल्याएका थिए । पागलपना कवितामा पनि काम्य होइन, तर आहुतिको तात्पर्य शब्दप्रयोगमा विशेष साधना, सुन्दर, सघन र उपयुक्त शब्दको छनोटको थियो । मलाई लाग्छ, यस सङ्ग्रहका कवितामा मातृकाले शब्दचयनमा पर्याप्त दृष्टि दिएका छन् ः
म वर्षौंदेखि खोजिरहेछु÷अघि हिंड्ने मानिसहरूका
भर्भराउ“दा आ“खाहरू÷र सबल खुट्टाहरू
... ... ...
त्यो अनुहार
संविधानमा सजिलै पोत्न सक्छ÷कालो रंग
र आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरूको पर्वत

‘संविधानमा कालो रंग पोत्न सक्ने’ र ‘लासहरूको पर्वत चढ्ने योजना बनाउने’ अभिव्यक्तिहरू निरङ्कुश शासकका चरित्रलाई कलात्मक शब्द र कलात्मक बिम्बका माध्यमबाट व्यक्त गर्न सक्षम छन् । यस्तै यसै सङ्ग्रहका कवितामा प्रयुक्त यी पङ्क्तिहरू हेरौं ः
“एकपछि अर्को प्वा“ख खसाउ“दै ÷सहरबाट उडेको छ समय÷गाउ“ पुग्छ कि पुग्दैन”

“सबै कुरा सा“चो हुनेछ त्यसबेला
बगरमा पल्टिएका काला ढुंगाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन आकाशबाट चराहरू लड्नेछन्
र भ्यागुताहरू चराको प्वा“ख टाँसेर सिंहरदबारभित्र पस्नेछन्”।
आफ्नो समयको कटु यथार्थलाई व्यक्त गर्ने यी पङ्क्तिहरूमा सा“च्चिकै सुन्दर, उपयुक्त र सार्थक शब्द छन् र तिनबाट प्रभावकारी बिम्बको निर्माण पनि भएको छ । परिणामतः कविताले सादा यथार्थ माात्र व्यक्त गर्दैनन्, यथार्थलाई सुन्दर शब्दभङ्गिमा र प्रभावकारी बिम्बका माध्यमबाट व्यक्त गर्ने प्रयास गर्छन् । यसबाहेक जब तिनमा संवेदना र आवेगको साहचर्य थपिन्छ, तब एउटा सुन्दर कविताको जन्म हुन्छ जसले पाठकलाई आफ्नो समयको संवेदना र चेतनासँग गहिरो गरी जोड्दछ ।
यसरी मातृका यस सङ्ग्रहमा आइपुग्दा समकालीन प्रगतिवादी कविताका एक महत्वपूर्ण हस्ताक्षरका रूपमा स्थापित भइसकेका छन् र धवलागिरि साहित्य प्रतिष्ठान(बाग्लुङ)ले प्रकाशनका निम्ति यस सङ्ग्रहको छनोट गरेर निश्चय पनि महत्वपूर्ण काम गरेको छ । धवलागिरि साहित्य प्रतिष्ठान पश्चिमाञ्चलमा साहित्यउत्थानका निम्ति क्रियाशील निकै पुरानो संस्था हो । आफ्नो जीवनका २४ वसन्त पार गरिसकेको यस प्रतिष्ठानले २०५३ सम्म आञ्चलिक स्तरमा र २०५६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा विभिन्न विधाका पाण्डुलिपिबाट स्तरीय पाण्डुलिपिको चयन गरी ‘काजी रोसन साहित्य पुरस्कार’ प्रदान गर्नुका साथै त्यसको प्रकाशन गर्दै आएको छ र त्यस क्रममा यसअघि ४ वटा कृतिको प्रकाशन भइसकेको छ । मातृकाको प्रस्तुत सङ्ग्रह पा“चौं कृतिका रूपमा प्रकाशित हुँदै छ । यस निम्ति मातृका पनि बधाइका पात्र छन् र प्रतिष्ठान पनि साधुवादको हकदार छ । म प्रतिष्ठानलाई हार्दिक साधुवाद र कवि मातृकालाई बधाइ दिंदै दुवैको उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछु ।


कविता क्रम


 सर्त
 नयाँ वर्ष – २०६१
 राजमार्ग र चिन्तित मनहरु
 नयाँ शताब्दीको थोत्रो मान्छे
 अनुहारहरु
 उसको मृत्युमा
 कविताको विषय
 फरक फरक मुर्दाघाटहरु
 कसको जमिन ?
 सबै कुरा साँचो हुने छ
 ऊ बगर खडेरी पर्खन्छ
 टुकुचा
 टोप आतङ्क
 बाँझो जमिन र हलीहरु
 अचेल मान्छेहरु
 उनीहरुले सोचेका भए
 भोलिको तस्बिर
 भोलि
 म खोज्दैछु अर्को अमलेखगन्ज
 सिंहदरबार
 समय
 वनफूल र सपना
 उदयपुर



सर्त

म तयार छु—
उनीहरुको पछि लाग्न
तर उनीहरुसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरुको पछि लाग्न
तर उनीहरुसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरुका
झर्झराउँदा आँखाहरु
र, सबल खुट्टाहरु ।

हो मैले नमानेकै हो–
अन्धाहरुको पछि लाग्न
र, मैले नमानेकै हो
लङ्गडाहरुलाई दौडमा छनोट गर्न
धेरै पटक जनाएको छु असहमति
र, फेरि लेखेको छु यो कविता ।

म तयार छु–
उनीहरुको पछि लाग्न
तर मैले खोजेकै हो
उनीहरुसँग
सुदूर यात्राको सङ्कल्प ।

अक्षलोक, पूर्णाङ्क २५, २०६१ वैशाख



नयाँ वर्ष—२०६१

पोहोर
हिल्याउँदै गरेको खेतमा
भगुवा थारूले सुन्यो गणतन्त्र
र, अचम्म मानेर
गम्छाले पुछ्यो पसिना
पोहोर
जङ्गलमै घाँस दाउरा जाँदा
चिम्से खत्रीले सुन्यो लोकतन्त्र
र, मनमनै पाल्यो
नयाँ चाहना
पोहोर
धेरै कुरा भएन
तर केही भयो
देश !
नयाँ चेतना जन्माउने
प्रसव पीडाले
छट्पटाइरह्यो निरन्तर
हामीले गाइरह्यौँ सडकमा
ताज आतङ्कका गीतहरु ।

पोहोर
एक मरुभूमि सिउँदोहरु उजाडिए
र, एक पहाड
पोतेहरुको दाहसंस्कार गरिए
पोहोर
हामी मरेका संवेदनाहरुको
मलामी बन्यौँ
टेलिभिजनको पर्दामा
ज्यूँदा मान्छेहरुको पिरामिडमाथि चढेर
हाँकिरह्यो अमेरिकाले
मानवअधिकारको रथ
पोहोर
बस्तीबाट बगिरहे
चेतनाहरु सडकमा
स्वजनसँगका वियोगले
वर्षैभरि
चिसा भए मनहरु
सडकबाटै नियाल्यौँ हामीले
सपनाका झुल्काहरु
पोहोर
पुर्खाले झैँ
हामीले पनि उठाइरह्यौँ मुठ्ठीहरु
नयाँ जङ्गबहादुरको विरुद्धमा ।


धेरैधेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामीले धेरै उठाइसक्यौँ
आस्थाका सगरमाथाहरु
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो ।

रातो थुँगा — १४, २०६१ वैशाख



राजमार्ग र चिन्तित मनहरु

एउटा बुढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिदै गएको सडक ।

निरन्तर थोत्रिदै छ सडक
किनारहरु भत्केका छन्
ढल बगीरहेछ पेटी छोएर
दुर्गन्धित पानी,
सडकका खाल्डाहरुमा जमिरहेछ
किनारबाटै यात्रीहरु
नाक थुनेर
आफ्नो गन्तव्य नापिरहेका छन् ।

इन्जिनियरहरु,
सडक मर्मतको योजना कोरिरहेका छैनन्
आजमात्रै,
राष्ट्रिय अखबारमा एउटा समाचार छ —
उनीहरुले भरखरैमात्र
मर्सिडिज कार चढ्ने
बिन्तीपत्र दर्ता गरे
बिन्तीपत्रसँगै
विभाजित भए यात्रीहरु
उनीहरु उचालिरहेछन् मुठीहरु
पक्ष÷विपक्षमा
केही बेर अघि मात्र
विपक्षमा सुनियो तालीको ठूलो स्वर ।

आधा शताब्दीदेखि
थोत्रिदै गएको छ सडक
भत्किएका सिटहरुसँगै
यात्रुहरु झट्कार्दै
कुदिरहेछन् साझा बसहरु
बर्षौंदेखि ती बसभित्र
धेरै चोखा मनहरु
निरन्तर कुदिरहेछन् ।
आँधी—हुरीले ढाल्न नसकेका
दशकौँ पुराना रुखहरु
आफैँ लडिरहेछन् सडकमा
मानिसहरु अचम्मित हुँदै
जिब्रो काढिरहेछन्
आँखा छोपिरहेछन्
ढलेका रूखका हाँगाहरुमा
झुन्डिरहेछन् चमेराहरु
शताब्दीयौँपछिको सहर—बस्तीलाई सुहाउने
सुन्दर सडकको पूर्वाधार कायमै छ
तर मर्मतको अभावमा
निरन्तर थोत्रिरहेछ सडक
सडकको बुढ्यौलीसँगै
थोत्रिरहेछन् बैँसहरु
थात्रिरहेछन् मनहरु
क्रमशः थोत्रिरहेछन् जीवनहरु ।

चिन्तामग्न भएर
एउटा बुढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थात्रिदै गएको सडक ।



अक्षलोक, पूर्णाङ्क २६, २०६१ वैशाख ।


नयाँ शताब्दीको थोत्रो मान्छे


कर्फ्यु नलागेको दिनसँग पनि
डर छ उसलाई
त्यत्तिकै डर छ
जून लागेको रातसँग
असाध्य डराउँछ
स्वतन्त्रताका आँखाहरुसँग
ऊ अर्थात्
नयाँ शताब्दीको थोत्रो मान्छे
गरिब देशको धनी मान्छे ।

उसले बारम्बार देखिरहेको छ
एउटा कुकुर
आधा चपाइसकेको संविधान
मुखमा झुन्ड्याएर
ऊ सधैँ हिँड्ने बाटोमा डुलिरहेको छ
उसको कुनै अङ्गमा छुँदैन
यो घटना
मरिसकेको छन्
उसको शरीरका सबै मांसपेशीहरु
धमाधम कुहेर झरिरहेछन् अङ्गहरु
भोकको कारण
काखकी छोरीसँगै आत्महत्या गर्ने
शिवो महतोको* घटना
उसको शरीरमा बिझ्दैन
बलात्कृत भएर जङ्गलमा गाडिएका
उसकै शासनका लासहरुको
पिरामिडमा चढेर
शासनका घिनलाग्दा भोकहरु
प्रस्ताव गरिएका ब्यानर
ऊ हल्लाइरहन्छ
निर्लज्जतापूर्वक हाम्रा अघिल्तिर
हाम्रो नयाँ सहरको
थोत्रो मान्छे ।

एक्काइसौँ शताब्दीको
हाम्रो सहरमा
एउटा द्वापर युगको मान्छे बस्छ
हामी फट्फटाउँछौँ
स्वतन्त्रताका पँखेटाहरु
ऊ हरदम उज्याइरहन्छ छुरी
हामी कोर्छौं आँखामा
सुन्दर सपनाको नेपाल
ऊ क्रूर बुटले कुल्चन्छ
हाम्रो सपना ।

हामी यतिबेला कोरिरहेछौँ सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी बेगवान् आँधीझैँ खोजिरहेछौँ
उसको शवयात्राका मलामीहरु ।


* (महोत्तरीको श्रीपुर गा.वि.स. ६ की एक गर्भवती महिला, जसले २०६१ वैशाख ३१ गते भोकको पीडा खप्न नसकेर तीन वर्षकी छोरीसहित आत्महत्या गरिन् ।)
शब्द संयोजन, पूर्णाङ्क—४, साउन-२०६१



अनुहारहरू

मेरो अघिल्तिर
एउटा अनुहार छ—
त्यो अनुहार
निधारभरि चन्दन लेपेर
मानव वधशालातिर
हतियार बोकेर कुदिरहन्छ,
त्यो अनुहार—
संविधानमा सजिलै पोत्न सक्छ
कालो रङ्ग,
र, आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरुको पर्वत,
आफ्ना कुकुरहरुलाई लगाइदिन सक्छ
विदेशबाट आयातित
महँगा रेसमी कपडाहरु,
वेश्याहरुलाई उपहार बाँड्न सक्छ
सुनका हीराजडित घडीहरु,
उसको घरमा
कहिल्यै लगाउँदैन माकुरोले जाल,
जुत्तामा टाँसिएर पुग्दैन कहिल्यै पनि
हिलो, माटो र गोबर
सयन कक्षको सँघारमा,
थरीथरीका अत्तरहरु छरेर
सुगन्धित छ वातावरण
तर म,
संसारका अनुहारहरुमध्ये
सबैभन्दा बढी उसैलाई घृणा गर्छु ।

म नजिकै छ,
अर्को अनुहार
यतिबेला
रिठ्ठे घर्तीले बोकेको देखेको छु
त्यो अनुहार–
भारी बोकेर
साहूकी छोरी पु¥याउन गएको मधेस
अलकत्रे सडकमा हिँडेको दिन
कति खुसी थियो मन,
अघाएर सुस्ताएको साँझ
कति रमाइलो हुन्छ वातावरण,
ऊ भाग्यमानी सम्झन्छ आफूलाई
थकान मार्न सकेको एक क्षण,
दलानको छेवैमा
दुर्गन्धित छ जुठेल्नो,
भरखर कामबाट फर्केको
गनाइरहेको छ शरीर,
तर म,
संसारका अनुहारहरुमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु ।

अचेलभरि,
फुट्नै लागेका चेतनाका बाँधहरु बोकेर
दौडिरहेका छन्
बग्रेल्ती अनुहारहरु सडकमा,
यतिबेला
केही अनुहारहरुका विरुद्ध
थुप्रै अनुहारहरु कसिरहेछन् मोर्चा,
नयाँ भोलिको खोजीमा,
यिनीहरुले नियालिरहेको पूर्व
मेरो पनि भविष्य हो,
यतिवेला रिठ्ठे घर्तीले बोकेको यो अनुहार
र, यस्तैयस्तै थुप्रैथुप्रै अनुहारहरुलाई
हो, म भित्रैदेखि माया गर्छु ।

नेपाल साप्ताहिक, वर्ष ५, अङ्क १०, २०६१ असोज



उसको मृत्युमा
देशको मानचित्र बोकेर
गाउँगाउँ घुमी हिँड्ने
हामीले सधैँ देखिरहेको
हाम्रै चेतनाको बारीमा
घाम रोपेर हिँड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे म‌‍र्‍‌यो।

उसको मृत्युमा
शोकले निन्याउरा भए
झुप्राहरु
नियास्रोले सुस्ताए
दलानहरु
अनुहारहरु फुङ्ग उडाएर
बेहोसझैं भए
गाउँका गोरेटाहरु
सहयात्रीहरुको एक हुलझैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचाको नालीमा फालनहालेको
चेतनाको माछापुछ्रे
अस्तिमात्र ढल्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्‍यो

सुनेको थिएँ—
माटोको मायामा जून फल्छ
विवेकको छातीमा घाम उदाउँछ
इतिहास लेख्न सकुन्जेल
जून मर्दैन
घाम मर्दैन
मैले सुनकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्युपछि पनि वास आउँछ
घाम र जूनमा रूपान्तर भएर
सृजनाको एउटा बत्ती
अस्तिमात्र निभ्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्‍यो ।


हाम्रो एकता, वर्ष १, अङ्क २, ०६१ असोज



कविताको विषय

लेख्न मन थियो
उज्यालोको कविता,
सङ्कटकाल छ,
खतरनाक हुन्छ रे, उज्यालो,
अँध्यारोको महान्वाणी लेख्न
कलमलाई आदेश भएको बेला
अँध्यारोको विरुद्धमा लेख्ने कुरै भएन,
लेख्न मन थियो—
मूर्तिको कविता
नयाँ विषय
हाम्रो सम्पत्ति,
त्यो पनि आँट आएन
बेलुका सँगै सुतेको मान्छे
बिहानै कुकुर भएर उठ्यो
राम्रो विषय हुन्थ्यो
लेख्न बसेँ, हात काँप्यो
लेख्नै सकिएन
नजिकै थिए—
लोप हुँदै गएका गिद्ध र ब्वाँसाहरु
संविधानलाई चपाउन सक्ने दाँत बोकेर
घुरिरहेका थिए मेरो कलमसँग
आतङ्कित भयो मेरो कलम ।
कमै खतरा छ—
छेपारोको कविता लेख्न,
भयो अब धेरै भयो
कति लेख्ने ?
शक्तिहीन र निर्लज्ज छेपारोलाई
महाभारतभन्दा बढी लेखिए
उसका कविताहरु,
सडक भरिछन् लम्पसार कविताहरु
र, भनिरहेछन्,
मलाई उठाऊ—मलाई न्याय गर
कुर समयको खुट्किलोमा उभिएर
म उद्वेलित छु, र आक्रोशित छु
कस्तो मौसम हो यो ?
कसरी लेख्ने कविता ?


अक्षलोक, पूर्णाङ्क २७, २०६२ बैशाख



फरकफरक मुर्दाघाटहरू
(२०६१ भदौ १५ गते इराकमा हत्या गरिएका बाह्रजना नेपालीको सम्झनामा)


आज एउटा कु-समाचार बोकेर
मरुभूमिबाट
सगरमाथाको टुप्पामा
झुल्कियो उही परिचित कालो सूर्य
कविताहरुको मृत्युमा
आज म सँगसँगै
शोक मनाएर सुतेको छ रात
किन उठाउनु उसलाई
विश्वासको सम्झौतापत्रमा
हस्ताक्षर गर्ने,
मसँग कुनै कलम छैन,
आर्यघाटको छेउमा उभिएर
लासहरुको आगो ताप्दै
जाडो मारिरहेछन् शाषकहरु ।

भोको पेट बोकेर
समुद्र तरेकाहरु
भयो अब खुसी हुँदै जन्मस्थल नआउनू,
अङ्गुर फलाउने विकासे नारा बाँडेर
अझै पनि शाषकहरु
विषालु गोली फल्ने
रूखहरु रोपिरहेछन्
हिजो जङ्गलबाट आएको थियो मीठो बतास
आज जङ्गलमै बन्दैछ सिंहासन
नयाँ बाली फलाउने खेतहरु
हिल्याउनै बाँकी छ
रोपाइँ गर्ने सर्जाम बटुल्नै बाँकी छ,
पहिलेपहिले पनि
पूmल सुकेपछि आउँथ्यो तिहार
केही वर्ष भयो त्यो पनि आएन
यसपटक मार्नका लागि हामीले रोपेनौँ फूलहरु
अब फूल लाउने छाती बोकेर नफर्कनू
आजमात्रै टेलिभिजनको पर्दामा
श्रममन्त्रीको अनुहार
हाँसिरहेको थियो ।
हामीले यसपटक
इराकको एक हल मरुभूमि
नेपाली रगतले भिजायौँ,
तर कालो कोट भिरेर
सगरमाथालाई लक्ष्य गर्दै
इराकमा बास बसेर आउँदैछ
मृत्युको अर्को जुलुस
हामी यहीँपनि खनिरहेछौँ रगतका कुवाहरु
मुर्दाघाट पनि आफ्नो र बिरानो हुन्छ
प्रिय र अप्रिय हुन्छ
मात्र यत्ति फरक हो
तिमी मरेको मुर्दाघाटभन्दा
हामी मर्ने मुर्दाघाट महान् छ
यहीँ छन् हाम्रा पुर्खाका चिहानहरु
मुर्दाघाट पनि आफ्नो र बिरानो हुन्छ ।

निर्झर १, २०६२ वैशाख




कसको जमिन ?

माटोमा नङ्ग्राहरु गाडेको पनि धेरै भयो
कान्लामाथि कहिल्यै उठेन स्वाभिमान्
हाम्रै पसिनाले आवाद बस्तीमा
एउटा भिजिलान्ते आदेश
चोर आवाज बोकेर
बस्तीहरुमा छिर्छ र भन्छ
मेरो बाजेले आर्जेको जमिन ।
लाग्छ कहिलेकाहीँ
हाम्रै पाइताला तिम्रो होइन भन्देला कि ?
हाम्रै हात तिम्रो होइन भन्देला कि ?
हाम्रै टाउको तिम्रै होइन भन्देला कि ?
कहिलेसम्म टेकिरहन्छौँ हामी ?
उसले मेरो भन्दै दागाधरेको जमिन,
बरु भन ! मङ्गलमान !
म सँगसँगै भन !
हाम्रो बाजेको कमाइ भन !
सप्रमाण भन !
अब हाम्रो धर्ती भन !

शताब्दीयौँ देखि बोकिरहेको छु
सार्वभौमसत्ता गुमेको टाउको
मेरो चेतनाको बारीमा
ऊ वनमारा रोप्छ
म युगौँदेखि चुप छु
अचेलभरि छाम्न थालेको छु पाइताला
हो, म आफैं हुँ
तिमी पनि आफ्नो हात हेर मङ्गलमान्
तिमी आफैं हौ
धोका होइन
सुँघ जमिनको माटो
सजिलै चिन्छौ पुर्खाको पसिना
त्यहाँ बलभद्रहरु छन्
कालु पाँडेहरु छन्
हाम्रा जिजुहरु छन्
खै त १ उसको पसिना ?
तर उही भनिरहेछ मेरो जमिन,
खै त ! उसको पसिना !
बरु सोध, मङ्गलमान !
खै त ! उसको पसिना !
तिमी देखाऊ आफ्ना पुर्खाको आलो पसिना
र भन! मङ्गलमान
सप्रमाण भन !
अब यो धर्तीमा
हामीले आर्जेको हाम्रो जमिन भन!

अन्तर्बोध पूर्णाङ्क ३, ०६२ जेठ



सबै कुरा साँचो हुनेछ





सबै कुरा साँचो हुनेछ त्यसबेला,
बगरमा पल्टिएका
काला ढुङ्गाहरु बोकेर
घोडाहरु शिखर चढ्न खोज्नेछन्,
आकाशबाट चराहरु लड्नेछन्,
र, भ्यागुताहरु चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्,
आजका मितिको
टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरु,
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको,
सुदूर यात्रा तय गर्नेछ,
लाटोकोसेराहरु,
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्,
र, इतिहासको क्रुर नियति बोकेर
वर्तमान बगिरहनेछ
अनाथ रगतको बागमती ।
० ० ०


हो, सबैकुरा साँचो हुनेछ त्यसबेला,
अस्पतालभित्र डाक्टरहरु
जीवित र मृत मान्छेहरु
छुट्याउन असमर्थ हुनेछन्,
वर्षाको भेलले,
देवीथान भत्किएको बेला
सिद्धान्त रक्षाका लागि
अदालतमा मुद्दा लड्नेछन्
निरीह राजनीतिज्ञहरु,
मेरो गाउँको निश्चल कुवामाथि
फेरि घोलिने छन्
एसिडका रङ्गीबिरङ्गी पोकाहरु,
हो, त्यस बेलासम्म
यो सब भइरहने छ,
जबसम्म बग्ने छ–
हाम्रो रगतमा पहेँलो रङ्ग,
सबै कुरा सामान्य हुनेछ त्यसबेला
जबसम्म देखिने छ
हाम्रो आँखाको पर्दामा
कात्रोको जस्तो पहेँलो रङ्ग,
हो, त्यतीबेलासम्म
सबैकुरा साँचो हुनेछ ।

कलम, पूर्णाङ्क— ४१÷४२, २०६२ असार




ऊ बगर; खडेरी पर्खन्छ


ऊ बगर,
इतिहासको आदिम कथादेखि
खडेरीको यात्रा
सबैभन्दा पहिले
उसैको छातीबाट बस्तीतिर बुर्कुसी मार्छ
उसको यात्रामा बादल टेकिएकै छैन
उसको विश्वासमा शिखर कुल्चिएकै छैन
ऊ बगर,
बादलिएको आकाश फटाउन
सबै हुटिट्याउँहरुसँग
एक पर्म सहयोग माग्छ ।

० ० ०

ढुङ्गाको साँघुरो कापबाट
उसको सुख्खा छातीमा
भतभती पोलिँदै निस्किएको छ भ्यागुतो
ऊ बगर,
आकाशतिर हेरेर खडेरीको कामना गर्छ
ढुङ्गाको प्वालबाट
सिबीचरो कराइरहेको छ
उसको छातीमाथिबाट यात्रा गर्नेहरु भन्छन्
फेरि खडेरी पर्नुपर्छ
ऊ बगर,
उसकै टाउकोमाथि बास बसेर
गाउँतिर हुटिट्याउँ पस्छ
र, मृत्युको सूचना दिन्छ ।

० ० ०

बाढीले गैरीखेतहरु नकाटेको साल
उसको पात्रोमा ऊ
अशुभ घोषणा गर्छ,
ऊ बगर,
नयाँ जीवनको सहनाई
उसलाई अप्रिय लाग्छ
जब कतैबाट आउँछ चिसो बतास,
ऊ चिन्तामग्न हुन्छ,
ऊ बगर
निस्फिक्री घुम्न र किराहरुको सिकार गर्न
बकुल्लाहरुलाई मन पर्छ,
ऊ बगर,
छेपाराहरुलाई मन पर्छ
उसको छातीका ढुङ्गाहरुमा घाम ताप्न ।

० ० ०


परारै,
एक नदी रगत पोखिएपछि
छेउकुना आबाद हुँदै गएको बगर
पोहोरको हिउँदे बाढीले
फेरि काट्यो गैरीखेत,
ऊ बगर,
ऊसँग सम्भ्रान्त जीवनको सपना छैन
ऊसँग हरियो जीवनको विश्वास छैन ।

अक्षर, पूर्णाङ्क—५, २०६२—मङ्सिर




टुकुचा


मलाई गनाएझैँ
धेरैलाई गनाएको हुँदो हो
टुकुचाको पानी ।

टुकुचामा हिजो आज
जस्तोसुकै खुट्टा लगेर चोप
झनै फोहोर हुन्छ,
जस्तोसुकै प्राविधिक टाउको पखाल
झनै दुर्गन्धित हुन्छ,
कपडाहरु लगेर धोऊ
झनै मैलो हुन्छ,
अचेल टुकुचा
उहिले उहिलेको जस्तो छैन ।

इतिहासको कथाजस्तो
भएन अब टुकुचा,
धेरै भइसक्यो
कुमारी रगतका भ्रूणहरु
बगाउन थालेको छ ऊ,
बोरामा लासहरु कुहाउनु
मान्छेका टाउकाहरु दूषित बनाउनु
उसका योजनाका खाकाहरु हुन् ।

उहिले उहिले ऊ
आफ्ना किनारहरुमा
किसानहरुसँगै खेल्थ्यो
हिलो माटो बोकेर
साँझ फर्कन्थ्यो घरमा,
सिंहदरबारबाट शाषित ऊ
प्रत्येक रात
किसानहरुका डबलीमा
आफ्नो पीडा गाउन मन पराउँथ्यो
जब ऊ समयसँगसँगै शाषक बन्यो
समयसँगसँगै गनाउँदै गयो ।

अचेल टुकुचा,
किसानहरुको सिनाज्याम्मे (रोपाइँ गर्दा गाउने गीत) सुन्दै
बागमतीतिर बग्दैन,
मान्छेहरुलाई नाक छोप्न लगाउँदै
सैनिक ब्यारेकतिर लुक्छ,
अचेल टुकुचा,
एक हल रोपाइँ गर्न
आफ्नोछेउमा बेखामानलाई बोलाउँदैन
एक हुल तस्करहरुलाई
आलिसान महलहरु बनाउन
आफ्नो किनारतिर निम्त्याउँछ ।

अचेल टुकुचा,
उहिलेउहिलेको इतिहासजस्तो छैन
अचेल टुकुचा,
उहिलेउहिलेको जस्तो प्रिय छैन ।



मिर्मिरे, मासिक पूर्णाङ्क—२४४, २०६२ पुस



टोप आतङ्क

हावाहुन्डरी चलेको यो बेला
इतिहासमा जस्तै
फेरि एउटा पागल
पागलखानाको चोर ढोकाबाट
खिया लागेको पुरानो टोप भिरेर
हाम्रो बस्तीतिर छिर्‍यो
हामी वर्तमानका पृष्ठहरुमा
यतिबेला लेखिरहेछौँ
टोप आतङ्कको इतिहास ।

सुविधासम्पन्न छ पागलखाना
सवै चीजहरु छन् त्यहाँभित्र
पागलखानाको चारदिबार
युरोपभन्दा सम्पन्न छ
अमेरिकाभन्दा सम्पन्न छ
धेरै वर्षपछि
पागलहरुको एउटा नायक
खिया लागेको प्रिय आदिम टोप बोकेर
चोर ढोकाबाट लुसुक्क निस्कियो
चारदिबारबाट ऊ बाहिर आएपछि
यतिबेला गाउँ आतङ्कित छ
सहर आतङ्कित छ ।

उसको टोप आतङ्क !
यतिबेला सहर हुँदै गाउँ पसेको छ
सहर निरास छ टोप आतङ्कले
संसाँझै बन्द छन् क्लबहरु
पाँचतारे होटलहरु
सपिङ कम्प्लेक्सहरु
अचेल गाउँ
टोप आतङ्कले त्रस्त छ
र, सहर मध्याह्न नहुँदै
टोप आतङ्कको विरोधमा जुट्छ
हावाहुन्डरी चलेको यो बेला
पागलखानाबाट निस्केर
फेरि एउटा पागल
हावाका झोक्काहरुले
भुईँमा झार्न खोजिरहेको
र, रगत लत्पतिएको
एउटा आदिम टोप भिरेर
हाम्रो बस्तीमा निस्केको छ ।

खिया परेको आदिम टोपबाट
चुहिरहेछन् रगतका थोपाहरु
विरूप छ बौलाहाको अनुहार
उसका शासनहरु
लासको सङ्ख्याले
सफलता नापिरहेछन्
तर विनासर्म टोप लगाइरहेछ ऊ
इतिहासमा धेरै पटक
हावाका झोक्काहरुले
भुइँमा खसाएर
कुच्चिइसकेको एउटा आदिम टोप भिरेर
हाम्रो बस्तीतिर छिरेको छ
फेरि अर्को एउटा पागल ।

हामी वर्तमानका पृष्ठहरुमा
यतिबेला लेखिरहेछौँ
टोप आतङ्कको इतिहास ।



नागार्जुन, पूर्णाङ्क–१३, २०६२ पुस ।



बाँझो जमिन र हलीहरु


हाम्रो बाँझो बारीमा
लोकतन्त्रको खेत जोत्ने
एक हुल हलीहरु
हाम्रो बस्तीबाट
आज राति सुटुक्क भागे
उनीहरुको पलायनपछि
खेत जोत्ने हामीहरु
एकछिन सुस्ताएर बसेका छौँ
बाँझो जमिनको छेउमा,
भोकाएका छन्
लोकतन्त्रको खेत जोत्ने गोरुहरु,
उनीहरु घाँस काट्ने कुरा गर्थे
बेँसीबाट पराल खेप्ने कुरा गर्थे
तर आज राति,
उनीहरु सुटुक्क भागे
हामी फेरि सोचिरहेका छौँ,
किन भागे उनीहरु ?
० ० ०

बीच बस्तीको यो बाँझो जमिन
हामीले नजोत्ने हो भने
यहीँ फलिरहनेछन्
प्रवीणहरुलाई मार्ने
बिषका काला फलहरु
एकातिर हरदम बस्तीमा
सल्किरहने छ भोकको डढेलो
अर्कातिर,
यहीँ जमिनमा लडिरहनेछन्
अघाएर अजिङ्गरजस्ता मान्छेहरु
बाँझो जमिन आबाद हुने बेलामा
यता हराइरहेछन् हलीहरु
उज्यालो हुने बेलामा
बस्तीबाट जसरी भाग्छन् हुचिलहरु
किन हराए हलीहरु ?
० ० ०

भोलि बिहानको मिर्मिरे उज्यालोमा
हामी देख्न चाहन्छौँ
हाम्रो यो जीर्ण गोठघरको
घमाइलो आँगनमा
फेरि आउनेछन् नयाँनयाँ हलीहरु
हामी स्वागत गर्छौं
र, फेरि सँगै जोत्नेछौँ
विषमात्र फल्ने,
युगौँदेखिको उही चर्चित बाँझो जमिन ।


साथी मासिक, पूर्णाङ्क—४३, २०६२ चैत



अचेल मान्छेहरु
(सहिद विजय ढकाल ‘विश्वास’ को स्मृतिमा)


अचेल मान्छेहरु
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन्
टाढाटाढा गाउँका मान्छेहरु
गुराँसको बास त्यहीँसम्म पुगेको कुरा गर्छन्
मान्छेहरु अचेल
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन् ।

मैले दरबारको गमलामा फुलेको
धतुरोजस्तो फूल देखेको छु
तर ऊ धर्तीमा फुलेको फूल
कसैले गोडमेल नगरेको
कसैले पानी नहालेको
कुनै मालीले हेरचाह नगरेको
ऊ गुराँस फूल
हावाहुण्डरीको बीच फक्रेको
खडेरी सँगसँगै जुधेको
अचेल
टाढाटाढाका मान्छेहरु भन्छन्
साम्मीको जङ्गलमा हराएको एउटा गुराँस
परपरसम्म बास्ना छर्छ
अचेल मान्छेहरु
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन् ।

गुराँस फूल !
जब तिम्रो सपनालाई
सन्तानहरुले बिपनामा छाम्छन्
तिमी त्यसबेला खुबै खुसी हुनू
हामीले नदेखे पनि
विजयोत्सव मनाउनू
तिमी त्यतिबेला
रातो माछापुछ्रे भएर हाँस्नू
गुराँस फूल
तिम्रो बेगवान यात्रालाई
मेरो सलाम

मिथक कथाजस्तै
बच्चाहरुले सुनाउँदै जानेछन्
यो कथा पछिसम्म
पुस्तापुस्ताको अन्तरालपछिसम्म
त्यसबेला पनि मान्छेहरु
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन् ।


विजय शब्द बिम्ब (कविता सङ्कलन, २०६३)



उनीहरुले सोचेका भए .....

रोक्नेहरु
रोक्न खोजिरहुन् गतिलाई,
एउटा दुष्ट डप्फालाई
एकराते मेलामा मताएर
धिक्कार्न लगाइरहुन् आगतलाई,
नयाँ शताब्दीसँगै
कलिलो घाम
रातो चेतना बोकेर छिप्पिँदै छ,
उसको गलामा
हरदिन माला झुन्ड्याएर
अब हामी
आदिम युग बाँच्न सक्दैनौँ,
इतिहासले बोकेको एउटा गलगाँड
यो कुइनेटोबाट
अब हामी अगाडि बोक्न सक्दैनौँ
खुनी पन्जा उठाएर
उसले जति नै विद्रोह गरोस्
अब हामी
वर्षैभरि कुकुरतिहार मनाउन सक्दैनौँ ।

पुरोहितहरु,
तिमीलाई तुलसीको मोठमा आस्था छ भने
यसले तिम्रो आँखैअगाडि
हाक्काहाक्की पिसाब गर्छ
यसले तिम्रो आस्थाको रखबारी गर्दैन,
आपूmले मनाएको कुकुरतिहार
सन्तानहरुका निम्ति
अथाह अपराध हुनेछ,
बोझले किच्चिनेछन्, बस्तीहरु
अब जिजुहरु
यसैगरी पछुताउनेछन्,
बरु प्रत्येक वर्ष
दुई वर्ष
वा पाँच वर्षमा
कुदाइरहेको भए हुन्थ्यो
लिगलिगकोटमा नयाँनयाँ दौडबाजहरु
हामी नौला चन्द्रमाहरु छोइरहन्थ्यौँ
सुत्केरी आमाले,
काखबाटै छोरो गुमाउनु पर्दैनथ्यो
निरीह बाबुले,
मध्य दिउँसै सेतीमा
जिउँदै छोरी बगाउनु पर्दैनथ्यो
आप्mनै पसिनाले आवाद बस्तीमा
शरणार्थीझैँ
रहर मरेका जिन्दगीहरु बाँच्नु पर्दैनथ्यो,
एकआपसमा
समानताको कुरा गर्दा
अपराधीको नाममा
सत्ताको फायलमा प्रतिवादी बन्नु पर्दैनथ्यो
खुनी पन्जा उठाएर
उसले जति नै विद्रोह गरोस्
अब हामी
वर्षैभरि कुकुरतिहार मनाउन सक्दैनौँ ।


भानु द्वैमासिक पूर्णाङ्क ९४, साउन २०६३



भोलिको तस्बिर


भित्तामा सबै तस्वीरहरु छन्
मार्क्स छन्
बुद्ध छन्
गान्धी छन्
र, छन् तस्वीरहरु
गाउँमा एक्लो जीवन बाँचिरहेका
बाबुआमाहरुका
तस्वीरमुनिको सोकेसमा
ड्युटीफ्रीका ब्ल्याकलेबलहरु छन्
चाँदीका रिकापीहरु
र लन्डनबाट आयातित
ग्लासका सिम्बोलहरु
सहरको घरमा ।


प्रत्येक साँझ केही मान्छेहरु
धमिलो विवेक बोकेर
रक्सी र चिकेनरोस्टसँगै
एकपटक सबै तस्वीरहरु हेर्छन्
फेरि हेर्छन् बाबुआमाको तस्वीर
र, टोलाउँछन् एकछिन,
तस्वीरमा कुनै बास्ना छैन
पढ्न पठाउन गुन्द्रुक हालेको हातको,
मकै सामलको रङ्ग हुँदैन त्यहाँ
बर्षौं भइसक्यो
झुन्डिरहेको छ तस्वीर
रङ्गहीन तस्वीर
सहरको भित्तामा ।


बाबुको पालामा
नजिकै खटियामा खोकिरहेका हुन्थे हजुरबा
तर भित्तामा हुँदैनथ्यो उनको तस्वीर,
यतिबेला बाबु
आधारातको निरवतालाई चिर्दै
सुकेनास खोकिरहेका छन् गाउँमा
र प्रत्येक कुकुरको भुकाइसँगै
आमा त्रासलाई पोल्टामा हालेर
अँध्यारोलाई अँगालो मारिरहेकी छन्,
तर दशकौँअघिको
उनीहरुको तस्वीर
सहरको एउटा भित्तामा
सहरसँगै सुरक्षित छ
उता गाउँसँगै असुरक्षित छन्
बाबु आमाहरु,
म यतिबेला सोचिरहेछु नयाँ भोलि
हाम्रा सन्तानको पालामा
हामी त पक्कै हुँदैनौँ खटियामा
तर टाँगिन्छौँ कि टाँगिदैनौँ
तस्वीर बनेर भित्तामा
भोलि के होला ?
हिजो मान्छेलाई प्रेम गर्थे मान्छेहरु
अहिले सहरमा
तस्वीरलाई प्रेम गर्छन् मान्छेहरु
हाम्रा सन्तानको पालामा
भोलि के होला ?


दोभान त्रैमासिक, २०६३ साउन


भोलि


भाइहरु लडेको चिनो
रगतले कटकटिएको थोत्रो कमेज सिएर
एउटा नयाँ झन्डा बनाउने,
त्यही झन्डा बोकेर
विजयको जुलुस निकाल्ने,
सन्तान गुमाएका आमाहरुको
च्यातिएको मन
विजयको धागोले सिउने,
गैरीखेत लडेर
मर्न लागेका बिरुवाहरुमा
विश्वासको एक कुलो पानी हाल्ने,
आज मक्किएका बाटाहरु बाल्ने,
नयाँ भोलिका लागि
आज मर्नेहरु भोलिका लागि बाँच्ने,
आज हामी भोलिका लागि बाँच्ने ।
  

आज योजना कोर्ने
भोलिका लागि,
हामी त्यो दिन पक्कै त्यसै पाउने छैनौँ
ती दिन ल्याउने ताराहरुको
बलिदानको गाथा गाउने,
स्कुलका साना नानीहरुलाई
नयाँ गीत सिकाउने,
बाटामा थुप्रै ढुङ्गाहरु छन्
हामी ठाउँकुठाउँ लडेका छौँ,
तिनीहरुलाई फुटाएर सम्याउने,
आज भोलिका लागि
कष्टको ज्यानमारा उकालो हिँड्ने,
दशकौँदेखि हामीलाई पछ्याइरहेका
नयाँ आवाजहरु लिएर
आज नयाँ योजना बनाउने
हामी भोलि नयाँ दिन बनाउने ।
  

हामी भोलि,
घरको बेथिति सबै मिलाउने,
वरिपरिका फोहोरहरु जलाउने,
शताब्दीयौँदेखि
हामी सबैको घाँटीमा झुन्डिएको छ
काउछोको माला
बस्तीको चौतारो खोजेर
त्यसको थुप्रोमा डढेलो सल्काउने,
र, हामी नयाँनयाँ चन्द्रमा छुने
हामी भोलि नयाँ नेपाल जन्माउने ।


नौलो बिहानी मासिक वर्ष ९ अङ्क ४, २०६३ असोज


म खोज्दैछु अर्को अमलेखगन्ज

फेरि गर्नु छ अमलेख
केही टाउकाहरुलाई
एउटा नयाँ ठाउँ खोज्दैछु,
यो शताब्दीको
अर्को अमलेखगन्ज ।

मेरो बाटोमा काँडेतार तानिरहन्छन् उनीहरु
फगत उनीहरुको काम त्यत्ति हो,
मेरो बाटोमा खाडल खनिरहन्छन् उनीहरु
फगत उनीहरुको इच्छा त्यही हो,
ती टाउकाहरुलाई
नयाँ युगको जुन स्वीकार्य छैन
ती मनहरुलाई
समानताको आकाशमा विश्वास छैन,
मलाई फोहोर आहालतिर दिशानिर्देश गर्नु
उनीहरुको कर्तव्य हो,
मेरा अघिल्तिर उनीहरु
कहिले कालो पर्दामा देखापर्छन्,
कहिले रातो पर्दामा,
कहिले पहेँलो पर्दामा,
कहिले आफ्नो अनुहार लुकाएर देखापर्छन्,
मसँग अब एउटा विकल्प छ
म एउटा नयाँ ठाउँ खोज्दैछु
यो शताब्दीको अर्को अमलेखगन्ज ।

हिजो खोजिएको अमलेखगन्ज
स्वतन्त्रताका लागि
आशक्त मनहरुको थियो,
अहिले मैले खोज्दै गरेको अमलेखगन्ज
दास बन्न आशक्त मनहरुका लागि हो
हामीले नजिकैबाट हेर्न नसकेको
क्रमशः भत्किरहेको
सहरको माझमा
उहिल्यैदेखि उभिएको
पुरानो एउटा भूतघरलाई
आफ्नो आस्था ठानेर
केही टाउकाहरु
प्रदूषण बाँडिरहेका छन्
र, अघि बढिरहेको घडीको सुईलाई
सिक्रीले बाँधेर
पछिल्तिर तानिरहेका छन्
म यतिबेला खोज्दैछु
तिनै टाउकाहरुका लागि
एउटा नयाँ अमलेखगन्ज ।


जनादेश साप्ताहिक वर्ष –१६, अङ्क–४, २०६३ मङ्सीर


सिंहदरबार


मलाई,
सिंहदरवार र जादुघर
उस्तैउस्तै लाग्छ ।

  
सहिदको केसबाट बनेको
एउटा बख्खु ओढेर
उनीहरु सिंहदरबार पसे
यतिबेला म,
त्रस्त आँखाले
सिंहदरबारको गेटमा हेरिरहेको छु
हिजोझैँ,
अब उनीहरु फर्कंदा
ब्वाँसोको छाला ओढ्छन कि ओढ्दैनन् ?
अचेल कति फेरियो सिंहदरबार
हाम्रो गाउँ र बस्तीहरु सँगसँगै
म उसको चलनसँग त्रस्त छु ।

  
सिंहदरबार सहरमा छ
उसको शक्तिसँग
आजित छ मेरो गाउँ,
उ नुन बोक्ने ढाकर दिएर
एउटा नाइके सिंहदरबार पठाउँछ
नाइके ढाकरमा सुन बोकेर
सिंहदरबारको छेउमै बास बस्छ
मेरो गाउँ,
अनिकालको रासन खेप्न
एउटा बोरा दिएर
अर्को नाइके सिंहदरबार पठाउँछ
सिंहदरबार, उसको टाउकोको मोल गर्छ
नाइके सिंहदरबारको छेउतिरै थात जोड्छ
मैले सुन्दै आएको र
इतिहासमा पढ्दै आएको सिंहदरबार
एउटा कुशल जादुघर हो
त्यहाँभित्र पुगेपछि
मान्छेको रङ्ग फेरिन्छ
स्वभाव फेरिन्छ
अर्थात् ऊ सिङ्गै फेरिन्छ ।

  
मलाई,
सिंहदरवार र जादुघर
उस्तैउस्तै लाग्छ ।



मधुपर्क मासिक, २०६३ पुस



समय

एकपछि अर्को
प्वाँख खसाउँदै
एउटा निरीह परेवा
घुर्मैलो आकाशतिर
अपत्यारिलो बेग हानिरहेको छ,
ऊ जतिजति टाढा जान्छ
म रङ्गहीन देख्छु उसलाई
मेरै अघिल्तिर
ऊ सँगसँगै
समय पनि उडिरहेको छ ।

उसले गन्तव्यमा पुग्न
मरुभूमिभन्दा लामो यात्रा पार गर्नुपर्ने छ,
सगरमाथाभन्दा अग्लो विश्वास
नाघेर जानुपर्ने छ
चिलले झैँ आँट गरयो
एउटा परेवाले
र, अपत्यारिलो बेग हान्यो
ऊ सँगसँगै
सहरको गजुरबाट उडेको छ समय
तर ऊ गाउँ पुग्छ कि पुग्दैन
ससङ्कित आँखाहरु
थैलीमा सिउरेर
निरीह परेवाका लागि
एकमानो चारो साँचेर पर्खिरहेका छन्
उदास दलानमा टुक्रुक्क बसेर
मेरा गाउँलेहरु ।

एकपछि अर्को प्वाँख खसाउँदै
सहरबाट उडेको समय
गाउँ पुग्छ कि पुग्दैन
म पनि,
उही पुरानो सातु बोकेको झोलामा
केही मुठी चारो सँगालेर
भोलि बिहानको फजेरीमा
गाऊँतिर जाँदैछु
भाले बास्नुभन्दा अगाडि
म भोलि बिहानै
नयाँ समयको स्वागतमा
गाऊँ जाँदैछु ।


अग्रगति साप्ताहिक, वर्ष–१, अंक–१७, २०६३ पुस


वनफूल र सपना
(सहिद सेतू सुनारको *स्मृतिमा)

म बनफूल,
युगौँदेखि,
गरिबी र अपमानको हिउँले
धेरै ठाउँमा डामिएका छन्
मेरा फूलका पत्रहरु
सभ्यताको जँघारमा
घाइते भएर म
धेरैपटक लडेकी छु,
अपमानित भएरै
मैले पनि युगलाई नबोकेको भए
हामी सबै मिलेर चन्द्रमा कसरी छुन्थ्यौँ ?
ठिहि¥याउने वर्तमानमा बाँचेर
मैले सबैलाई
एक पाखो घाम ताप्न बोलाएकी हुँ,
म सेतू सुनार !
हामी सबैभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।

मेरा पिता पुर्खाले
खाडलमाथिको जमिन देखेनन्
मैले खाडल माथिको जमीन टेकिन
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भ¥याङ लाएँ
हामी धेरैले उचालेको
नयाँ यात्राको एउटा साइतमा
मैले पनि अघिल्तिर पाइला राखेँ,
मलाई थोपाको शक्तिसँग विश्वास छ
मलाई घामको बास्नासँग विश्वास छ
मलाई हावाको गतिसँग विश्वास छ
म सेतू सुनार !
मलाई समानताको भोलिसँग विश्वास छ
म तपाइहरुजस्तै हो,
मलाई बगैँचाका फूलहरुसँग
अलिकति गुनासो छ ।

प्रिय आफन्तहरु !
भोलिको समयलाई
बेलाबेलामा सम्झाइरहनु
मैले रोपेको बिरुवामा
फेरि झुन्डिनुहुँदैन कालीपोकेहरु,
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरुलाई
बुझ्ने भएपछि सुनाइदिनू
तिम्रा निला आँखाहरुको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिँडेकी छ,
मसँग लोभको कुनै दरबार छैन
म वनफूल !
मलाई बगैँचाका फूलहरुसँग
अलिकति गुनासो छ ।

मेरा पुर्खाले,
गोडमेल गर्दा नदेखेको एउटा झार
झ्याँगिएर विषबृक्ष भएछ,
त्यो हल्किएको देखेर
म क्रोधले आहत भएँ
म अतितसँग क्रुद्ध भएँ
म सेतू सुनार !
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भर्‍याङ् लाएँ
प्रिय आफन्तहरु !
म जङ्गली फूल !
म सेतू सुनार !
तपाईहरुभन्दा टाढा
मेरो अर्को कुनै सपना छैन ।


हाम्रो जलजला मासिक, पूर्णाङ्क, ११, २०६३ पुस

*(जनआन्दोलनका क्रममा २०६३ वैशाख ४ गते नेपालगन्जको तत्कालीन ज्ञानेन्द्र चोकमा गोली लागी मृत्यु भएकी सहिद । पछि आन्दोलनकारीले ज्ञानेन्द्र चोकलाई सहीद सेतू वि.क. चोकको रूपमा नामाकरण गरेका थिए ।)


उदयपुर

बूढो लौरो टेकेर
भौँतारिने एउटा पुरानो जमिनदारजस्तो
शान छ, मान छैन
इतिहास छ, भरोसा छैन
जब बिहानैको मिर्मिरेमा
हलगोरुसँगै गुन्टा कसेर
चुरे कट्छन् मान्छेहरु
ऊ बाँझो महाभारतको
बनमारा घारीतिर लुक्छ
बूढो ! उदयपुर ।

कुहिरोको सिरक ओढेर
स्वर्ग पुग्ने सपना देखेका
केही बुढा पहाडहरु छन्
सम्पत्तिको गफ लडाएर
गरिबी बाँचिरहेका
निन्याउरा नदीहरु छन्
ब्रिटिस लाहुरेलाई
बैँशको सम्झना दिलाउने
पुराना कोट र टोपहरुझैँ
उदयपुरगढी र चौदण्डीहरु छन्
छन् केही छन्
राजनीतिको नाममा
शक्तिको नयाँ हुन्डरीसँगै
पातझैँ उड्न सक्ने नेताहरु छन्
छन् अझै छन्
पञ्चायतलाई जिताएर वाँकी रहेका
अलिकति छत्तीससाले रूखहरु छन्
भोट दिँदादिँदा छिया परिसकेका
असँख्य हातहरु छन्
छन् अलिअलि बाँकी नै छन्
द्वापरयुग पर्खिएका
केही मान्छेहरु छन्
देखिएका केही छन्
नदेखिएका धेरै छन्
उसको नागरिकतामा
काठमाडौँ बाँचिरहेछन् मान्छेहरु
तर ऊ नागरिकतामा
काठमाडौँ भएर कहिल्यै बाँचेन
भन्छ ! म स्वाभिमानको शिर हुँ
र, ङिच्च हाँस्छ
पायरियाले थोत्रिएका पुराना दाँतहरु ।

युगौँदेखि पर्खिरहेको छ ऊ
एउटा न्यानो सूर्य
थकित आँखाहरु बोकेर
अझै पर्खिन छाडेको छैन
कुहिरो बोक्ने डाँडाबाट
आस्थाको एउटा नयाँ सूर्योदय
ऊ पर्खिरहेको छ
अहिलेसम्म नउदाएको सूर्योदय ।


गरिमा वर्ष –२५, पूर्णाङ्क –२९०, २०६३ माघ

No comments: