Tuesday, December 8, 2009

सन्त्रस्त आँखाहरु (कथासङ्ग्रह)


सन्त्रस्त आँखाहरु
(कथासङ्ग्रह)


मातृका पोखरेल


प्रकाशक

जनमत प्रकाशन
बनेपा
२०६१ , चैत


सन्त्रस्त आँखाहरु !
सन्तस्त मनहरु !!
इस्माली

हिजो अस्तिको र आजको पनि समसामयिक फलकमा कोरिएका एक दर्जन कथाहरुको बटुलो हो यो सङ्ग्रह । पूर्वमा पाथिभराको लेकदेखि पश्चिममा रोल्पासम्मको सामाजिक परिवेशमा विस्तारित यस सङ्ग्रहका कथाहरु विषयवस्तुका दृष्टिले भिन्नभिन्न विषयहरमा केन्द्रित रहेका छन् । जनताको करङ कुल्चँदै हावापानी माटो सुहाउँदो भनिने गरिएको पहेँलपुर उद्यानमा बस्न पाउँदा पनि आतप्त रामलालदेखि रामनाथहरुकै काँधमा टेकेर सत्ताको शिखरमा पुगेपछि रामनाथलाई रछ्यानमा मिल्काउने मुखुण्डोधारी कामरेडहरुको बेइमानी चरित्र, मन्त्री बन्ने लालसाले दल फोर्ने नेताहरुले भिञ्याएको विकृतिपूर्ण संसदीय प्राणली तथा त्यसलाई अनावृत्त गर्दै चुनामा हेलिने दलहरुका दलीय अभ्यास त सर्जकका आँखामा परेका छन् नै, आगत विकासले विस्तापित गर्ने आशंकाले त्रस्त श्रमिकहरु तथा श्रम बेच्न विदेशतिर हामफाल्न बाध्य पौरखी पाखुरीहरुका बगालमा विदेशबाट मोहभङ्ग हुने दुर्लभ पात्रहरु उपर पनि सर्जकको चनाखो दृष्टि परेको छ । नारी र निमुखा निर्धाहरु उपर नियाँ निसाफ दिन नरुचाउने सामन्ती रीतिथिति, श्रीमान् लाई भ्रष्टाचारी बन्न हौस्याई अनैतिक भनको आडम्बरमा रमाउने नारी र समाजका अपहेलित असहाय नारी र धाई बन्न रमाउने नारीहरुका बीचको गतिमय द्वन्द्व पनि युवा सर्जकको कलमले पहिल्याएको छ ।
आजको नेपाली समाजमा सामाजिक र मानवीय मूल्य, मान्यता र आदर्शहरु कतिपय अपेक्षक र अभियन्ताहरुमै पनि,यति छिटछिटो क्षयीकरणको दिशामा यात्रा गरिरहेकाले नेपाली जनमानस प्रायः सबैतिर अविश्वासका आँखाले हेरिरहेछ । यो अनास्था र अविश्वासका बीच तिनमा जुगुप्सा र जिगीषा रोपण गरी जीवनप्रतिको जिजीविषा जोगाउँदै स्वस्थ, सुनदर अग्रगामी सामाजिक सोचको मूल्य मान्यता र आदर्शहरुतिर पाठकलाई सम्मोहित गर्नु आजको स्रष्टाका लागि निकै ठूलो हाँक बनेको छ । यी हाँकहरुलाई आत्मसात गर्दै स्रष्टाहरु आगतको सुनौलो सपना बाँडरहका छन् । त्यही लाममा मातृका पोखरेल पनि उभिएका छन् ।
सङ्ग्रहमा विगत एक दशकभित्र लेखिएका कथाहरु सङ्ग्रहित छन् र यी कथाहरुलाई स्रष्टाले यथासम्भव अग्रदृष्टियुक्त मानवीय चेतसँग गाँस्न प्रयत्न गरेका छन् । कथाहरु प्रायशः छोटा छन्, यथार्थिक छन् । मानवीय स्वस्थ्य र शुभ्र सम्बन्धको स्थापन तिनका अभिष्ट बनेका छन् । केही कथाहरुका संगेतिक यथार्थ स्रष्टाका मनमा परिपाक अवस्थामा रहेका होलान् तर ती शब्दहरुमा राम्ररी उत्रन नपाएका जस्ता लाग्न सक्छन् । भाषा सहज र सरल छ, शैली विवरणात्मक र वर्णनात्मक छ । कुनै कुनै कथाहरु यथास्थितिको बर्णन जस्ता छन् । अर्को सङ्ग्रहमा स्रष्टा अझ उदाहरणीय, दृढ र सशक्त देखिऊन् ।
औरही – ४, महोत्तरी, जनकपुर














कृति ः सन्त्रस्त आँखाहरु (कथासङ्ग्रह)
कथाकार ः मातृका पोखरेल
प्रकाशक ः जनमत प्रकाशन बनेपा, काभ्रे, फोन ०११–६६१५७३
संस्करण ः प्रथम, वि.सं. २०६१ चैत्र
सर्वाधिकार ः लेखकमा
कम्प्युटरः श्रीकृष्णबादे÷केदारके.सी. ‘सुष्मेक’
आवरण ः सुन्दर बस्नेत
टाइम्स क्रियशन, पुतलीसडकफोन ०१–४४१००५९
मुद्रण ः नेबुला पिन्र्टस, बागबजार
मूल्य ः रु. १००÷–















सन्त्रस्त आँखाहरुभित्रका मातृका पोखरेल प्रकाशन गर्न पाउँदा

मोहन दुवाल

धेरैले कथा लेखेका छन् । तर कथामा यथार्थ खोप्न जानेका कथाकारहरु थोरै छन् । ती थोरै कथाकारहरुमा नयाँ पुस्ताका एकजना कथाकार मातृका पोखरेल देखा पर्न आएका छन् । समाजवाद यथार्थवादलाई आफ्नो विचारको आदर्श बनाएर कथाकार हुनेहरु थोरै छन् । तर यिनी यही दिशातिर उन्मुख कथाकार हुन् । कथामा युगको तस्वीर खोज्न यिनी तल्लीन छन् । पात्रहरुमा देखापर्दै गरेका कमी कमजोरीप्रति यिनी सचेत छन् । यही सचेतता नै यिनीभित्र लुकिरहेको कथाकारिता हो । कथाकार मातृका पोखरेल कथामा उत्पीडितट जनताप्रति सहानुभूति राख्छन र शोषकहरुप्रति घृणा पनि व्यक्र गर्न सिपालु छन् । सन्त्रस्त आँखाहरुका अधिकांश कथाहरुमा नेपाली समाजका द्वन्द्व र सामयिक स्पन्दनहरुको सुन्दर प्रतिबिम्ब अभिव्यक्त भएको पाइन्छ ।
कथा लेखन कार्य सजिलोजस्तो देखिएपनि ज्यादै गाह्रो कार्य हो । कथामा कथा नभएपछि कथाको केही अर्थ हुँदैन । मानिसभित्रको हृदयको आवाजलाई कथा बनाइदिँदा प्रभावशाली कथा बन्छन् । विश्वमा थोरैमात्र यस कोटीमा राख्न मिल्ने कथाकारहरु छन् । मातृका पोखरेल यस्तै कोटीमा लाग्न रुचाउने युवा पुस्ताका एकजना सचेत कथाकार हुन् । मानिसको जीवनमा जीवन्तता खोज्न सोच्नु नै जीवनमा गतिशीलता रोज्नु हो ।
उदयपुरमा जन्मेर काठमाडौँमा कर्म गर्न आइपुगेका कथाकार मातृका पोखरेलले थुप्रै ढङ्गमा समाजपरक पदचाहरु आफू सक्रिय रहेर गर्न खोजेका छन् । विद्युत् तरङ्गहरुमा आफूलाई सँभाल्दै मनभित्रका आस्थाहरुमा सबलता भर्दे समाजका हितका लागि साहित्य लेखिनुपर्छ भन्ने सोच बोकेर कर्मशील रहँदै आएका यिनी सामाजिक चेतनाले पूर्ण सचेत साहित्यकार हुन् । सन्त्रस्त आँखाहरुमा सँगालिएका धेरैजसो कथाहरु अँध्याराका विरुद्ध उज्यालो खोज्ने चाहनाका भावधारामा प्रवाहित छन् । कथापात्रहरु, कथाकथ्य, परिवेश चित्रणमा स्वाभाविकता व्यक्र भएका छन् । एउटा नयाँ यात्रामा प्रवेश गर्ने मालतीको सङ्कल्प, छोराको भाग्यमा हुने वर्ग–विभेद, निर्णयभित्रका रामलालको मन, पश्चिमतिर हुने अन्यायपूर्ण घटना प्रसङ्ग, रामनाथले देखेको हरियो बत्तीको प्रकाश, सन्त्रस्त आँखाहरुभित्र देखापरेको मन तरङ्ग, बहुदलमा हुने अविश्वास प्रस्ताव, सर्वसाधारणले भोग्न बाध्य पारिएको चुनावको मौसम, फुटपाथको कथा, विदेश जाने सोचका विरुद्ध म यसरी फर्किएँको अनुभव, हुलिया खोज्दै हिँड्ने प्रहरीको मनोभावना, परिचित अभिनयमा भएको अभियान हेरेर यिनीभित्रको कथाकारितामा देखापर्ने प्रगतिका झिल्का झिल्कीहरु स्मरण गर्न सकिन्छ । कथा यात्रा सुन्दर बन्दै जाओस् शुभकामना छ ।
जनमत प्रकाशनको यो ४८ औँ कृति हो । उदयपुरका एकजना सक्रिय युवा साहित्यकार मातृका पोखरेलद्वारालिखित सन्त्रस्त आँखाहरु कथासङ्ग्रह छाप्न पाउँदा मनमत प्रकाशन खुसी अनुभव गर्दछ ।
जनमत प्रकाशन
२०६१ चैत्र २७, बनेपा







आप्नै गोरेटोको साक्षी बस्दा
मातृका पोखरेल

समाजलाई परिवर्तन गर्न मेरो पनि केही भूमिका हुनुपर्छ भन्ने बोधसहित मैले कथा लखनमा पाइलो राखेँ । अग्रजका कथाहरु पढ्दा मलाई लाग्ने गथ्र्या कथा साहित्यको अत्यन्तै सबल र प्रभावकारी विधा हो । यसबाट व्यक्ति, समाज र वर्गको सम्बन्ध र अन्तरविरोधको तस्वीरलाई राम्ररी खिच्न सकिन्छ र पछिल्लो पुस्ताका लागि एउटा सक्षम बाटोको सहज किसिमले संकेत गर्न सकिन्छ । मेरो उद्देश्य सत्य हो र म त्यसलाई आदर गर्छु । सत्यभन्दा बाहिरका कुराहरुसँग मेरो सरोकार छैन । सत्य खोजीको त्यही सिलसिलामा मैले कथा विधालाई यात्राको एउटा गोरेटो बनाउन खोजेको हुँ ।
वर्तमान समय नयाँ चेतना र पुराना परम्पराका बीच चलिरहेको अन्तरविरोधको प्रसव पीडाको समय हो । हाम्रो देशमा फाटफुट घटनाहरु बाहेक सन्तानब्बे सालमा हाम्रा गाउँहरु उठेनन्, सात सालमा उठेनन्, छत्तीस सालमा पनि उठेनन् र छयालीस सालमा पनि उठेनन् । तर यतिबेला हाम्रा गाउँहरु प्रत्यक्ष सङ्घर्षमा होमिन बाध्य भएका छन् । गाउँ शोषण बुझ्न थालेको छ । अन्याय बुझ्न थालेको छ । मार्क्स, माओत्सेतुङ्ग पनि पढ्न थालेको छ । पुराना सामन्ती शोषणका जुइनाहरु गाउँबाट धमाधम चुँडिदैछन् । तर पनि गाउँ गरिबी, दमन र अत्याचारको केन्द्र बनेको बन्यै छ । मैले केही कथामा बदलिँदै गरेको गाउँको तस्बीर खिच्न अन्तर्मनले नै चाहेको हुँ । एकादुई केही कथाहरु बाहेक यिनीहरुको परिवेश ग्रामीण क्षेत्र नै हो । प्रायः जसो सबै कथाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।
म भविष्यप्रति पूर्णत आशावादी छु । समय र मान्छेलाई विश्वास गर्न नसक्नेले इतिहासको यो कालखण्डप्रति न्याय गर्न सक्दैनन् । कल्पनाको आधार जीवनको वास्तविकताभन्दा टाढा नहोस् भनेर मैले धेरै पटक आपूmलाई सम्हाल्ने कोशिस गरेको छु । सामाजिक समस्याहरुप्रति सचेत र सजग नभइकन असल साहित्यको सिर्जना हुन सक्दैन भन्ने कुरामा मभित्र कुनै द्विविधा छैन । म माग गर्छु – साहित्यमा हाम्रो समयको प्रामाणिक स्वर हुनुपर्छ र बदलिँदै गरेको नयाँ मूल्यको तस्बीर आउन सक्नुपर्छ । पछि आएपछि मलार्य लाग्यो, सुरुका मेरा कथाहरुभित्र प्रशस्तै कमजोरीहरु छन् । यो कमजोरीहरुलाई पछिल्लो चरणमा उच्याउने प्रयत्न गरेको छु ।
कथाहरु पढेर मन्तव्य लेखिदिने अग्रज साहित्यकार इस्माली र विजय चालिसेप्रति म कृतज्ञतापूर्वक आभार व्यक्र गर्दछु । साहितय सिर्जनाका लागि समय उपलब्ध गराएर सहयोग पु¥याउने जीवनसाथी अञ्जु र बहिनी विमलालाई पनि मैले सम्झनै पर्छ । प्रकाशनको महत्वपूर्ण जिम्मेवारी उठाइदिने जनमत प्रकाशन र अग्रज साहित्यकार मोहन दुवाल, प्रकाशनका लागि विविध सहयोग जुटाइदिने मित्रहरु कुसुम ज्ञवाली, बलभद्र भारती, पुण्य घिमिरे, भीमराज कडरिया, सी.बी. ड्तौला र कभर डिजाइन बनाई सहयोग गर्नुहुने टाइम्स क्रियशनका मित्र श्री सुन्दर बस्नेतलाई पनि मैले भुल्नु हुँदैन । अन्त्यमा, म ती पाठकहरुलाई धन्यवाद दिन्छु जसले यी कथाहरु पढेर मेरो उद्देश्यलाई सहयोग पु¥याउने छन् ।
ठानागाउँ – ४, थामखर्क, उदयपुर





एउटा नयाँ यात्रा
छोराको भाग्य
निर्णय
पश्चिमतिर
हरियो बत्ती
सन्त्रस्त आँखाहरु
अविश्वास प्रस्ताव
चुनावको मौसम
फुटपाथ
म यसरी फर्किएँ
हुलिया
परिचित अभिनय


























एउटा नयाँ यात्रा
उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा ¬टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथी¬भरा लेकको थुम्को छुन खोज्दै थियो । ऊ अघिअघि घर आएकी थिई, गाईवस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन । डिलमा गोदावरी र मखमली फूलका बोटहरूले कोपिला हालिरहेका थिए । एक मनले सोची–फूलका बोटहरू भाँचिएपनि भाँचिऊन, भारी डिलतिर बिसाउँदा सजिलो हुन्छ । फेरि अर्को मनले सोची–त्यतिका मेहनत गरेर हुर्काएका फूलहरू कसरी विगार्ने ? उसले आँगनको बीचमा राखेको मकैको थाँक्रोको आड लिएर घाँसको भारी बिसाई । नाम्लो थाप्लाबाट निकालेर पछिल्तिर फालिदिई र उठ्न खोजी । पहिलो पटक आजै उसले धेरै थाकेको र गलेको महसूस गरी । कुनै वस्तुको सहारा नलिई उठ्न सकिन र थ्याच्च भूईमा बसी । उठ्नलाई वरिपरी लठ्ठी खोजी तर केही भेटिन । र पछिल्तिर लम्केर थाक्रोको खाँबो समाउँदै उठी । उठ्न त उठी, कामहरू सबै लथालिङ्ग छन् । ऊ सोच्छे – एकछिनमा गाईवस्तु गोठमा आइपुग्छन् । गोबर, भकारो सोहर्न बाँकी नै छ । सोच्दासोच्दै उसको थाकेको शरीरसँगै मन पनि ओइलायो । माझघर साहिलीले बोलाउँदा मात्र ऊ झसङ्ग भएकी थिई ।
– गह्रौं काम नगर भनेको टेरिनस् हगी ?
– के गर्नु नगरेर कसले गरिदिन्छ ।
– भन न लोग्नेलाई ।
– गाउँ कसले डुलिदेओस् ।
– हामीले त भन्ने मात्रै हो तँलाई, यस्तो भारी जीउ लिएर जंगलको काम गर्छेस् । जंगलमै बीच पर्लिस् है ! रात पर्न लाग्यो । म त आहालको पानी लिन हिँडेको साहिँली फत्फताउँदै ओरालो झरी ।
यतिबेला साहिँलीसँग भेटेर अरू कुरा गर्न पनि मन थियो उसलाई । आफ्ना समस्याहरूका बारेमा ऊ थोरैसँग मात्र कुरा गर्थी । लोग्नेसँग भएका सहमति–असहमतिका कुराहरू पनि ऊ साहिँलीसँग भन्थी ।
उसको नाम मालती हो । झट्ट हेर्दा उसलाई कसैले पनि तीन सन्तानकी आमा भनेर लख काट्न सक्दैन । छोरो नजन्मिएको ठूलो परिवारको काहिँली छोरीको रूपमा ऊ हुर्किई । धेरै छोरीको परिवार, बाबुले नजिकैको केटो खोजेर पन्ध्रै वर्षको उमेरमा उसको विवाह गरिदिए । उसको सहमति–असहमतिको प्रश्नै थिएन । उसको माइतीको जस्तै निम्न आर्थिक अवस्थामा गुज्रिएको परिवार थियो त्यो घर पनि । निम्न वर्गको ब्राह्मण परिवारकी सदस्य भएकीले अभावको जिन्दगीका बारेमा ऊसँग थुप्रै अनुभूतिहरू थिए ।
यसरी नै दिनहरू क्रमशः वित्दै गए । दाउरा, घाँस, पानी, भान्सा ... यही प्रकारले । उसको काम घटेको छैन तर थकानको मात्रा बढ्दै गएको छ । फेरि चौंथो सन्तान पनि छोरी नै जन्मी भने के गर्ने भन्ने मानसिक द्वन्द्वले पनि उसको थकान बढ्न झनै मद्दत पुगेको छ । अस्तिको रात नै उसलाई उसको लोग्नेले भनिसकेको थियो अब छोरी नै जन्माइस भने म सहन सक्दिन, आफ्नै बाटो रोज्छु । उसको लोग्नेको भनाइमा ऊ छोरा या छोरी छुट्याएर जन्माउन सक्ने मान्छे हो । अर्थात् पहिलेका तीन छोरीहरू पनि उसकै इच्छाले जन्मिएका हुन् । जीवनका यस्तै–यस्तै अनिश्चयहरू उसका जीवनसाथीजस्ता भई घरी दायाँ घरी बाँया गरेर हिँडिरहन्छन् । यस्तै जीवनसँग ऊ धेरै वर्षसँगै हिँडी । यो यात्रा कति लामो छ ? उसले खोजेको भविष्य यही अनिश्चयको अन्त्य मात्र थियो । त्यसलाई महत्वकांक्षा अर्थात् जे भने पनि हुन्छ । अब फेरि छोरी नै जन्मी भने उसको जीवनमा आउने भूईचालोका बारेमा ऊ कल्पना गर्न पनि सक्दिन । केही वर्षदेखि यही क्रमले यस घरमा उसका दिनहरू बितिरहेका थिए । यिनै चिन्ताहरूले हुन सक्छ, केही समयदेखि उसका स्वभावमा प्रशस्त परिवर्तनहरू देखा पर्न थालेका छन् । ऊ पहिले पहिले धेरै बोल्थी, धेरै ठट्टा गरिरहन्थी । तर, उसमा यी कुनै पनि कुराहरू बाँकी छैनन् यतिबेला । सुनेको कुरो तत्काल प्रतिक्रिया फर्काइहाल्ने उसको बानी पूरै हरायो । ऊ अचेल सबै कुरा सुन्छे, मात्र सुनिरहन्छे । उसलाई नजिकैबाट चिन्नेहरू अचेलभरि यसैगरी मात्र बुझ्ने गर्छन् ।
ऊ मुर्छाबाट ब्यूँझदा छेउमा तल्ला गाउँकी घर्तिनी दिदी उभिरहेकी थिइन् । उसको लोग्ने पल्लो छेउमा हतास र आवेगको मुद्रामा टहलिरहेको थियो । त्यहाँ कुनै खुसी थिएन । घर्तिनी दिदीको अनुहारमा पनि एक प्रकारको मलिनता थियो । घर्तिनी दिदीलाई यस गाउँको प्रसुतिगृह भने पनि हुन्छ । सबैको काम पर्ने भएकोले उनलाई सबैले घर्तिनी दिदी भनेर आदर गर्छन् । त्यहाँको वातावरण बुझ्न मालतीलाई कुनै अप्ठ्यारो परेन । घर्तिनी दिदीले उनीहरूको मनोदशा बुझिसकेकी थिइन्; भनिन् – दैवले दिएको हात थाप्नुपर्छ नानी । मालतीले निधारमा हात राखेर प्रतिक्रियाहीन भएरै यी कुराहरू सुनिरही । लोग्नेको प्रतिक्रिया उसले सुन्न चाहिन र खोजिन पनि । उसको लोग्ने बाहिर भित्र गरिरहेको थियो । आज कति घिनलाग्दो देखी उसले लोग्नेको अनुहार । जो पहिले त अलिअलि मात्र देख्थी । घरीभित्र घरी बाहिर गरिरहेको उसको लोग्ने ऊसँग केही कुरा गर्न चाहे जस्तो देखिन्थ्यो । तर आज लोग्नेप्रति उसको घृणा चरम भएको मालतीले पहिलो पटक वोध गरी ।
मालतीलाई पूर्णविश्वास भइसकेको थियो, अब यो घरमा सामान्य जीवन बिताउन उसलाई सजिलो छैन । र समाजका केही मान्छेहरू र लोग्नेसँग उसलाई साँच्चै घृणा बढ्दै गयो । म यस अवस्थाबाट मुक्ति पाउन जुनसुकै कदम उठाउन पनि तयार छु । उसले यो कुरालाई धेरै पटक सोची । धेरै पटक घोरिई । यो निर्णय नै सबैभन्दा राम्रो भएको ठहर उसले गरी ।
मालतीलाई मैले सानैमा धेरै पटक देखेको र भेटेको हुँ । उसको बुबा हाम्रा परिवारका पुरेत थिए । त्यसैले पनि वर्षको दुई चार पटक मैले मालतीको घरमा पुग्नुपथ्र्यो । घरमा हुने अनियमित खालका पूजाआजामा उसलाई खबर गर्न । तिथि श्राद्धका बारेमा उनलाई हामीले खबर गरिरहनु पर्दैन । उनलाई सबैको मृत्यु तिथि कण्ठस्थ थियो । कहिलेकाँही मालतीलाई पनि लिएर आउँथे उनी हाम्रो घरमा । मैले सानैमा भेट्दा देखेका उसको उत्सुक र चञ्चल स्वभावले अहिले छोडिसकेको रहेछ । त्यसबेला ऊ उसको बाबुले पढ्ने कर्मकाण्डका किताबहरू मिठो स्वरमा लय हालेर हामीलाई सुनाउँथी । हामी छक्क पथ्र्यौ र ट्वाल्टवाल्ती उसलाई हेरिरहन्थ्यौं । उसको प्रतिभा देखेर हामी भित्रभित्रै बालसुलभ इष्र्या गथ्र्यौं । ऊ कहाँ स्कूल टेक्न नपाएकी केटी, हामी पाँच छ वर्ष स्कूल धाइसकेकाहरू । संस्कृत श्लोक मीठो भाका पारेर गाउने उसको शैलीले हामी धेरै पटक लोभिएका थियौं । घरभित्र हुने अनुष्ठानहरू चलिरहेका हुन्थे । ठूला मानिसहरू उतैतिर व्यस्त हुन्थे । हामी समवयका केटाकेटीहरू आँगन र बारीमा भेला हुन्थ्यौं । त्यसबेला मालती हाम्रो बीचमा हरेक दृष्टिले केन्द्रीय पात्र हुन्थी, उसको खुवी र प्रतिभाले ।
धेरै वर्षपछि पढाइको बीचबाट म घर पुगेको थिएँ । मालतीको बुबा हाम्रो घरमा आएका रहेछन् । मैले त्यसबेला उनीसँग मालतीको बारेमा सोधेको थिएँ । उनैबाट विवाह भइसकेको कुरा थाहा पाएँ । त्यसपछि मालतीलाई मैले धेरै वर्षसम्म भेटिंन र उसका बारेमा केही कुराहरू सुनिंन ।
आज मैले त्यही मालतीलाई भेटें, अरूणको विवाहको कार्यक्रममा । अरूण मेरो साथी थियो । ऊ राजनैतिक आन्दोलनमा लागेको मान्छे । कुनै जागिर पनि खाएन । अहिलेको सत्ता स्वार्थका लागि खेलिने खेलबाट ऊ टाढै थियो । अरूणको विवाहमा मालती कसरी आई ? विवाहको कार्यक्रममा दुई थरी महिलाहरू प्रष्टसँग चिनिन्थे । एकाथरी अरूणका नातेदार श्रृङ्गार पटार गरेर आएका थिए भने अर्कोतिर उसका साथीहरू सामान्य रूपमा कुनै तयारी विनानै आएका देखिन्थे । त्यसैगरी मालती पनि कुनै तयारी विना आएकी थिई । उसले लगाएका लुगाहरू घरै बस्दा लगाउने जस्ता थिए । कपाल उस्तै जुम्रुङ्ग परेको थियो । काँइयो नलगाए जस्तो । ऊ आफ्नै साथीहरूको समूहमा पनि फरक थिई । अरूको जस्तो कोमल स्वभावको गन्ध थिएन उसको व्यक्तित्वमा । उसको शरीरमा चुरापोते कतै थिएन । आधाजसो महिलाहरू भएको भीडमा ऊ देख्दैमा फरक थिई । बेग्लै, नितान्त बेग्लै । उसको हात समाएर उभिएकी उसकी ठूली छोरी थिई । उ पनि अरू केटाकेटीको भीडमा फरक थिई । सबै सजिएर आएको ठाउँमा उसकी छोरीको खुट्टामा धेरै पुराना र थोत्रा चप्पल थिए । मैले उसलाई पहिलोपल्ट सहजै चिन्न सकिंन । तर उसले मलाई अलिकबेर हेरी तर उसले पनि राम्ररी ठम्याउन नसकेकोजस्तो लाग्यो । उसका बारेमा त्यहाँ धेरै कुराहरू चले । त्यही चर्चाको बीचमा एकजनाबाट मैले सुन्न पाएँ – ऊ खोटाङतिरबाट आएकी हो र यहाँ कतै सानोतिनो काम गरेर छोरीहरू पालेर बसेकी छ । उसको नाम मालती हो । यति सुन्नेवित्तिकै मैले मालतीलाई सम्झें । खोटाङबाट आएकी मालती अर्थात् मैले त्यही मालतीको लख काटेँ । म कार्यक्रमको भीडतिर छिरें फेरि त्यही मालतीलाई हेर्न । ऊ त्यसैगरी त्यहीं उभिएकी थिई । त्यो त्यही मालती थिई, हामीसँग सानोछँदा सँगै खेल्ने मालती । उसले मलाई देखिरहेजस्तो लागेछ र सोधी – तपाईंलाई मैले कतै देखेको हूँ ? सहज थियो उसको प्रश्न ।
मैले आफ्नो परिचय दिएँ । उसले भेट हुन्छ भनेर सोच्दै नसोचेको कुरा भयो भनेर भनी । छक्क परेर एकछिन हेरी । मैले उसको बारेमा जानकारी लिएँ । विवाहको कार्यक्रम अन्तिमतिर पुगेको थियो । ऊ राजनैतिक आन्दोलनको सम्पर्कमा पुगिछ । उसले आफ्ना जीवनका धेरै कुराहरू बताई । हिँड्ने बेलामा उसले भनेकी थिई – म एउटा यात्रामा निस्केकी छु, विवेक विरूद्धको यात्रामा । म अहिले धेरै खुसी छु । म बाटोभरि मालतीले रोजेको यात्राको सफलताको कामना गर्दै घर फर्किएँ ।



(पूर्व क्षितिज, वर्ष–३, अङ्क–६)























छोराको भाग्य


रिठ्ठेको त अब दिन फिरेजस्तो छ नि ! सुन्तलीले पँधेरामा गाग्रो बिसाउँदै भनी ।
आ ..... काकी पनि के को दिन फिर्नु नि ! बिचरो रिठ्ठेको छोरो मर्न लागेको सासमात्रको छ । मुखियाको जन्मिने बित्तिकैको छोरो वर्षीको जत्रो छ । बराबरी भाग्य भए अहिले किन फरक भयो ? निर्मलाले ओँठ लेप्र्याउँदै जवाफ दिई ।
यी पढेका मान्छेहरू सबै यस्तै हुन्छन् । भाग्य जन्मदै लिएर आउनुपर्छ, पछिपछि हेर्दै जा न । काकीको कुरामा सही थाप्दै तल्लाघरे खत्रिनीले भनिन् ।
यो विषयमा पँधेरामा हिजा–आज निकै बेर कुरा चलेछ ।
मुखिया बा र उसको छोरो एकैदिन, उही समयमा जन्मेको कारण रिठ्ठे हिजोआज निकै खुसी देखिन्थ्यो । मुखिया वा गाउँका ठूला ज्योतिष पनि थिए । उसले मनमनै सोच्यो – छोराको भाग्य सोध्न मुखिया बाकहाँ जानुपर्ला ।
हिँड्ने बेलामा श्रीमतीले भनी – सुत्केरी भएको यतिका दिनसम्म पनि राम्रो खानेकुरा मुखमा हाल्न पाइनँ । मेरो जिउ काम नलाग्ने भो ।
उसले श्रीमतीको कुरा सुनेको नसुन्यै ग¥यो ।
ऊ एकाबिहानै मुखियाको घरमा पुग्यो । भोलि हुने न्वारनको चहलपहल त्यो घरमा देखिन थालेको थियो । कोठाहरूमा भोलिका लागि मिठाई वा अन्य परिकारहरू बनाइरहेका मान्छेहरू सलबलाइरहेका देखिन्थे । आँगनमा भोलिका लागि काट्न ल्याइएका खसीहरू बाँधिएका थिए । मुखिया बरण्डामा बसेर नयाँ पाहुनाहरूसँग भेटघाट र कुराकानीमा तल्लीन थिए । बरण्डाबाट मुखियाले उसलाई देख्नेबित्तिकै तल आँगनमा ओर्लिए र भने – तँ बेलैमा आइपुगिस, राम्रै भयो । तेरो पनि केही काम छ कि ?
छोराको भाग्य सोध्न – प्रसन्न मुद्रामा उसले कड्किएर भन्यो । सधैंभरि झुकेर मात्र कुरा गर्ने मानिसले आज कसरी ठाडठाडै कुरा ग¥यो । मुखिया अचम्ममा परे ।
हजुरको छोरो र मेरो छोरो एउटै साइतमा जन्मिए । मेरो छोराको भाग्य पनि हजुरको छोराको जस्तै हुनुपर्छ । हजुरको छोराको भाग्य कस्तो छ ? उसले एकै सासमा आफ्ना कुरा सिध्यायो ।
धत् पाजी ! कहीँ तेरो र मेरो छोरो एउटै साइतमा जन्मछन् ? रिसाहा अनुहार लगाएर मुखियाले उसलाई भने ।
हो हजुर ! गाउँका सबै देख्नेहरूलाई थाहा छ । पुरेतलाई पनि थाहा छ । पुरेतले भोलि हजुरको छोराको र मेरो छोराको एउटै नाउँ जुराउँदैछन् । उसले खितिति हाँस्दै भनेको सुन्दा मुखियालाई लाग्थ्यो – ऊ गर्वको चरम सीमामा छ ।
मुखिया बा एकछिन अलमल्ल परे ।
एउटै साइताँ जन्मने बित्तिकै भाग्य उही हुन्छ भन्ने छैन । हेर रिठ्ठे ...... पुर्खाले गरेको कर्मको फल पनि सन्तानलाई मिल्छ । मुखियाको भनाईले उसलाई कतै अन्तर्मनमा झिरले घोचिरहेझैं लाग्यो ।
एकछिन मुखिया बाले घोत्लिएर भने – भोलि छोराको न्वारान छ, दिनभरि तैले यहाँ आएर सघाइदिनु पर्छ । बरू भोलि बिहान चाहिँ चाँडै आउनू नि !
हजुरले के कुरा गर्नुभा, मेरो छोराको पनि भोलि न्वारान छ नि । अत्यासलाग्दो पाराले उसले कुरा गर्‍यो ।
मुखियाको रिस चढ्दै गयो । उनले विचार गरे – अब यस्लाई अन्तिम अस्त्र प्रहार गर्नुपर्ला ।
हेर, तेरो घरजग्गा मेरो नाममै छ । तैंले वर्षेनी व्याजमात्र बुझाइस् । अब साउँको भाका पनि नाघिसक्यो । बेलामा काम देलास् भनेर मैले तेरो मुख हेरिदिएको हुँ । जे गर्छस् ..... नत्र त्यो घरबारी भोलिदेखि नै छाडिदिनू ।
मेरो घरबारी हजुरको नाममा कसरी ? रिठ्ठेको अनुहारमा एकाएक अँध्यारोको छाया देखियो । उसले आफ्नो भविष्य ऐना फुटेझैं चकनाचुर भएर त्यही अगाडि फुटेको महसुस ग¥यो । उसले एकछिन कुनै कुरा सोच्नै सकेन ।
यहाँ कानून अनुसार काम हुन्छ । जा आफैं बुझ । मुखिया शहरबाट आएका पाहुनाहरूसित कुरा गर्न माथि चढे ।
मुखिया साहेब म कानून सानून केही जान्दिन । लर्बरिएको स्वरमा मुखियाले सुन्ने गरी उसले भन्यो ।
रिठ्ठेले अलि वर आएर पछि फर्किएर हे¥यो । मुखियाको छोराको न्वारानको चहलपहल ! आउने मान्छेहरूको ओइरो । बाटाभरि उसले सोचिरह्यो – आफ्नो र आफ्नो छोराको भाग्य ।



(नयाँ विहानी, वर्ष–१, अङ्क–१)























निर्णय

महेन्द्र राजमार्ग छाडेर उत्तरतिरको मोटरबाटो लागेपछि केही स–साना बस्तीहरू भेटिन्छन् । अब त पुराना मान्छेहरूलाई मात्र त्यस ठाउँको ऐतिहासिक महत्वका बारेमा थाहा छ । बसमा यात्रा गर्ने बुढापाका मान्छेहरू अझैपनि यस ठाउँको ऐतिहासिक योगदानका बारेमा चर्चा गर्ने गर्छन् । इतिहास खोजविन गर्नेहरूका लागि त यो कुनै नौलो ठाउँ हुँदै होइन । तर नयाँ पुस्ताका युवाहरू यो ठाउँका बारेमा त्यति जान्दैनन् । उनीहरूलाई इतिहास सुनाउनेहरू पनि अरूनै काममा लागेका छन् । यो ठाउँ नपत्याउने जस्तो देखिए पनि यसले पंचायती निरंकुश व्यवस्थाको छातिमाथि बज्रमुक्का प्रहार गरेको थियो । जनताको मुक्तिका लागि आफ्नो जीवन होम्नेहरूको कठ्याङ्ग्रिएको विश्वासमा नयाँ उत्साह थपेको थियो । हो, त्यही ठाउँ हो, जसले रामलाललाई राष्ट्रिय राजनीतिका इनेगिनेका चर्चित नेताहरूको समकक्षमा स्थापित ग¥यो । यही ठाउँको गाथा र कथा उत्पीडित युवाहरूले गौरवको रूपमा देशभरि सुनाए ।
पन्ध्र वर्षपछि रामलाल आज यो बाटो हुँदै पार्टीको काममा पूर्वतिर जान लागेको थियो ।
मध्यान्हको समय थियो । रामलालले वरिपरि हेर्‍यो । यो त्यही चिर परिचित ठाउँ, जहाँ उसले जीवनको लामो कालखण्ड सङ्घर्षको मैदानमा वितायो । र कतिलाई त्यही मैदानमा होमिन प्रेरित गरेको थियो । उसको मनमा त्यस ठाउँ नजिकैका वनपाखाहरू आउन थालेपछि बेग्लै भाव सञ्चार भएर आयो । यस ठाउँको परिचित गन्ध आइरहेको थियो उसलाई । त्यो गन्धले आनन्दिलो महसूस गरेको थियो उसले । आज किन उसलाई यो ठाउँको अत्यन्तै माया लागेर आयो । उसको घरभन्दा यो धेरै टाढाको वस्ती हो । यो ठाउँमा जीवनको लामो कालखण्ड बिताउनु पर्दा उसले आफ्नो घर कहिले सम्झेन । यो ठाउँले उसलाई दिएको मायाको कारण रामलालले आफ्नो घर विर्सिएको थियो ।
ए ! गाडी बिस्तारो चला है ! रामलालले एउटा डाँडाको झुप्रोतिर फर्किएर हेर्दै वीरनरसिंहलाई आदेश थियो । तलतिर बगेको नदी कतैदेखिँदै कतै हराउँदै थियो । केहीछिन अघिदेखि रामलालको स्वभावमा परिवर्तन आएको छनक त वीरनरसिंहले पनि पाएकै हो । तर उसलाई के थाहा, रामलाल र यस ठाउँको सम्बन्धको बारेमा । यतिबेला रामलाल मोटरभित्रबाट आँखा तेजिला पारेर वरिपरि नियाल्दै थियो । ऊ प्रत्येक रूखहरू हेर्छ, खेतबारीहरू हेर्छ र प्रत्येक घरहरूलाई अत्यन्तै गौर गरेर हेर्छ । कतै झुत्रोझाम्रो मान्छे देखियो भने पनि ऊ पछि फर्किएरसम्म हेर्छ । ड्राइभर वीरनरसिंहले मनमनै विचार गर्‍यो – नेताज्यूको नजिकैबाट परिचित ठाउँ हुनुपर्छ यो !
ठ्याक्कै पन्ध्र वर्ष भएछ यो ठाउँमा फेरि पाइला टेकेको । कति चाँडो यी पछिल्ला दिनहरू बितेछन् । सातवर्षको भूमिगत जीवन यस ठाउँमा बिताउँदा कति लामो लागेको थियो । ऊ जान अन्जान आफ्नो अतीततिर फर्किरहेको थियो ।
उसले बाटाका डिलहरूतिर चिनेका थुप्रै मान्छेहरू देख्यो । राना कान्छो, सुवेदार बूढोलाई पनि देख्यो । एकमनले उसलाई लाग्यो – मोटर रोकेर बोलाउँ । तर ऊभित्रको द्विविधाले कुनै निर्णय नलिदै जीप निकै टाढा पुगिसकेको हुन्थ्यो ।
अहो कान्लेबुढा त निकै बुढा भइसकेछन् ! ड्राइभरतिर हेरेर आश्चर्य मान्दै रामलालले भन्यो ।
साहेबले सबैलाई चिन्नु भए जस्तो छ यहाँ त ! वीरनसिंहले रामलालतिर नफर्कीकन जिज्ञासा राख्यो ।
एकमनले रामलालले सोच्यो – यो ठाउँसँग आफू जोडिएको कथा सबै वीरनरसिंहलाई सुनाइदिऊँ । तर उसले मलाई कसरी सोच्ने हो । बा ! यहाँका मान्छेहरूझैं उसले पनि मलाई घृणा पो गर्ने हो कि ?
यो ठाउँमा उसले मेहनतका साथ काम गरेको बेलामा उसको र यस ठाउँको सम्बन्धका बीचमा यस्तो फाटो आउला भन्ने शङ्का कसले गर्न सक्थे । न उसैले गरेको थियो । ऊ त्यो मूल्यबाट यो जुठेल्नामा पुग्न सक्छ भन्ने पनि त्यसबेला कसले सोच्न सक्थ्यो ! तर कसैले नसोचेको कुरा भयो । रामलाल आज कल्पनै गर्न नसकेको ठाउँमा पुग्यो । उसका विरूद्धमा थुप्रै लेखहरू लेखिए । ऊ पदको लोभमा बिक्यो .... ऊ भ्रष्ट भयो ... आदि आदि ।
वीरनरसिंह यहीँ परतिर चिया खानुपर्ला है ! रामलालको चिया खाने आग्रहको कारण वीरनरसिंहले केही बुझ्न सकेन । उसले यति मात्रै सोच्यो – अघिमात्र चिया खाएको, यति चाँडै चिया खाने बेला त भएको थिएन ।
गर्मीले गर्दा वातावरण उराठलाग्दो थियो । रूखका सियालहरूमा गाईवस्तु हेर्ने गोठाला मात्र देखिन्थें । परैबाट त्यो बस्ती देखियो । टन्टलापुर घामको तिरमिरले बस्ती नै हल्लिए जस्तो लाग्थ्यो । आफू यस ठाउँमा भूमिगत जीवन बिताउँदा यसैगरी बस्ती हल्लिएको महसूस गरेका दिनहरूको याद आयो उसलाई । त्यो बस्तीलाई नजिकैबाट हेर्ने उसको रहर बढ्दै गएको थियो ।
तर .... कसरी ! त्यही ठाउँ हो, हिजो अर्को पार्टीतिर लागेपछि त्यहाँका सबै मान्छेले मेरो पुत्ला बनाएर जलाए । मप्रति सबैले घृणा गरे । यस ठाउँका सबै मान्छेहरू यसको पछि लाग्छन् भनेर म प्रवेश गरेको पार्टीले मलाई धेरै ठूलो पद दियो । तर मसँग एकजना पनि पछि लागेनन् । म अपमानित भएँ ..... रामलाल आफ्नो अतीतसँग झस्किरहेको थियो ।
यो ठाउँमा गाडी रोक्दा कुनै घटना पो घट्छ कि ! उसले तुरून्त विचार गर्‍यो।
उसको पलायनलाई यहाँका मानिसहरूले ठूलो धोका ठानेका थिए । अब त यति लामो समय भइसकेको थियो । यहाँका मानिसहरूले विस्तारो विस्तारो बिर्सिसकेको पनि हुनुपर्छ । नयाँ पुस्ताले मेरो कथामात्र सुनेको हुनसक्छ । आखिर यति असुरक्षा सम्झेर मैले यो ठाउँमा किन रोकिने ! रामलालको अन्तरमनभित्र लामो समयदेखिको सन्त्रास बाँकी नै थियो ।
त्यहाँ एकछिन रोकिऊँ कि नरोकिऊँ ? उसको मन दोमन भयो ।
अलिक परैबाट बाटाका छेउमा लहरै पाँचसात वटा पसलहरू देखिए । रामलाल यो क्षेत्रमा बस्दा यो सडक बनेकै थिएन । त्यसैले यतातिर पसलहरू पनि थिएनन् । तर बाटो बनेपछि जीविकोपार्जनको निम्ति यतैतिरका मानिसहरूले पसलहरू खोले । आफूले चिनेका घरहरू रामलालले परैबाट देख्यो । कति घरहरू भत्किएछन्, कति घरहरू नयाँ बनिएछन् । उसले छिनभरिमै वरिपरि आँखा दौडायो ।
आखिर रामलालले एउटा पसल देखाउँदै वीरनरसिंहलाई मोटर रोक्न आदेश दियो । पसलतिर धक्का दिउँलाझै गरी वीरनरसिंहले मोटर साइड लायो । मोटर साइड लाएको देखेर वरिपरिका मानिसहरूको ध्यान त्यतै केन्द्रित भएको थियो । झनै उसले नसोचेको कुरा भयो । उसको शरीर सन्न भएर आयो । वीरनरसिंहप्रति पनि उसलाई रिस उठ्यो ।
मोटरबाट उत्रेपछि वरिपरि नहेरी रामलाल एउटा चिया पसलभित्र सुट्ट छिर्‍यो र एउटा बेञ्चमा बसेर दुईकप चियाको अर्डर ग¥यो । चिया पसल्नीलाई देखिरहेको मान्छे जस्तो लाग्यो उसलाई । त्यसैले त्यता फर्कनै सकेन र बाहिरतिर हेरेर टोल्हाउन थाल्यो । विस्तारै पकेटबाट रूमाल झिक्यो र आफ्नो मुख छोप्यो ।
साबलाई सञ्चो छैन कि के हो ? वीरनरसिंहले अघिदेखि नै फरक देखिएको उसको हाउभाउप्रति शङ्का गर्दै सोध्यो ।
होइन मलाई ठीक छ । उसको स्वर पहिले भन्दा निकै भिन्न थियो र मलिन पनि । केही भनिहाल्नु पर्दा पनि ऊ रूमाल नझिकी बोल्थ्यो ।
रामलालले तत्कालै पसलको बाहिरपट्टि मिठूलाई देख्यो । त्यो त्यही मिठु हो, जसले ऊ यस ठाउँमा भूमिगत जीवन बिताउँदा विरामी परेको बेला धेरै स्याहारसुसार गरेकी थिई । रामलालले मिठुलाई नियालेर हे¥यो । उस्तै झुत्राझाम्रा कपडामा थिई ऊ । उसले मनमनै गम्यो – व्यवस्था फेरिएर मिठुलाई केही पनि भएन छ । कति माया गर्थी ऊ त्यसबेला । पार्टीको ठूलो मान्छे हुन् भनेर आदर गर्थी । गरिव, दुःखीहरूका साथ दिने मान्छे हुन् भनेर आफ्ना साथी सङ्गीहरूसँग बहस गर्थी । त्यो, त्यही मिठु हो । जसलाई छेउमा अढेस लागेर रामलालले निकैबेर हेरिरह्यो ।
मिठु छिमेकीसँग कुरा गर्दै ऊ बसेको होटलको नजिकैतिर आउन लागी । रामलालभित्रको त्रस्तपन बढ्दै गयो । यो ठाउँमा उत्रने निर्णयमा गल्ती भएको महसूस गरिरहेको थियो ऊ । मिठु पसलमा आइ पुगेकै थिइन । पसलभन्दा केही परै ऊ डोको बोकेर अर्कै महिलासँग कुरा गर्दै थिई ।
कतै मिठुले मेरै कुरा त गरेकी छैन, त्यो मान्छेसँग । हामी सबैलाई धोका दिएर प्रतिक्रियावादीहरूसँग विकेको मान्छे हो भनिरहेकी होली उसले । हामी गरिबहरूलाई भ¥याङ्ग बनाएर आफू व्यक्तिगत स्वार्थमा विक्री हुने मान्छे भनेर सबै गाउँलेहरूले घेरे भने ! मिठुले घरिघरि आफैतिर फर्किएर हेरेझैं लाग्थ्यो उसलाई । कुनामा छेलिएर बसेर यस्तै–यस्तै शङ्का गरिरह्यो रामलालले ।
रामलाललाई डरले चिटचिट् पसिना आइरहेको थियो । गिलासमा चिया आधा जतिनै बाँकी थियो । रूमालले मुख छोप्दै रामलाल जुरूक्क उठ्यो र हतारहतार चियाको पैसा तिरेर मोटरभित्र पस्यो । उसको हाउभाउ र गतिविधि पुरै अस्वभाविक लागेपनि वीरनरसिंहले वास्तविकताको भेउ पाउनै सकेको थिएन ।
रामलालले मोटरमा चढेर बस्तीतिर हेर्‍यो । बस्ती निकै सुन्दर भइसकेको रहेछ र व्यवस्थित पनि । ऊ चढेको मोटर अगाडिपट्टि बस्तीको फोहर जाने ढललाई व्यवस्थित ढङ्गले बाहिर लगिएको थियो । त्यसलाई पनि रामलाले अत्यन्तै गौर गरेर हेर्‍यो ।
मोटर बाहिर मान्छेहरूको चहलपहल बढी भएको जस्तो लाग्यो रामलाललाई । वीरनरसिंहतिर फर्किएर हेर्‍यो र हातले चाँडै आइहाल्न इशारा गर्‍यो ।
वीरनरसिंहले मोटर नहिँडाउँञ्जेलसम्म ऊभित्र सम्भावित दुर्घटनाको हुण्डरी चलिरहेको थियो । मोटर विस्तारै चलायो वीरनरसिंहले । मोटरको सुस्त गति मन परिरहेको थिएन रामलाललाई । वीरनरसिंहसँग पनि भित्रभित्रै आक्रोशित भइरहेको थियो ऊ । केही छिनपछि मोटर बस्ती छाडेर जंगलको बाटो लाग्यो । बिस्तारै बिस्तारै रामलाल पनि शान्त हुँदै गयो ।
(जनमत, पूर्णाङ्क – ६५)









पश्चिमतिर

आकाश खुल्ला छ । बादलको एउटा टुक्रो कतै पनि देखिँदैन । जेठको खडेरी अचेल गाउँमा आतङ्कको रूपमा भित्रिएको छ । पोहोरपरार यतिबेला मकैको विरूवा घुँडाघुँडा नाघिसक्थ्यो । वल्लाघर पल्लाघरका मान्छेहरू गच्छेअनुसारको हातमुख जोडेर खडेरीले बोकेर ल्याएको दुर्दिनहरूका बारेमा सारू बुढाको आँगनमा बसेर छलफल गर्ने बेला हुन लागेको छ । सारू बुढाको आँगनमा बसेर छलफल गर्ने यहाँ एउटा चलन नै जस्तो बसिसकेकोछ । म यहाँ आउनुभन्दा पनि धेरै वर्षअगाडिदेखि नै गाउँका सबै मान्छेहरू जम्मा भएर बेलुका सुख–दुःखका कुरा गर्ने गरेका रहेछन् यो आँगनमा । अचेल टोलमा खडेरीको चर्चाले गाउँघरका अन्य समस्याहरूलाई ओझेलमा पारेको छ । सारू बुढाको घरमा अरू घरहरूमाभन्दा चाँडै खानाखाने चलन छ । जहान पनि कति पो छन् र ! सारू बुढा, बुढाकी बुहारी, नाति तिले र मेरो हिसाब गर्नुपर्दा चार जनाको परिवार ।
आज यो टोलमा अरू दिनकोभन्दा बढ्दा चहलपहल देखिन्थ्यो । नयाँ मान्छेहरू सारू बुढाको घरको बलेसी हुँदै कान्छी मगर्नीको भट्टी पसल र गुमाने सन्यासीको घरमा आउने जाने क्रम बढ्दै थियो । आज वातावरण पनि अरू दिनकोजस्तै छैन । पल्लाघरे खड्काको छोरो अमरबहादुर क्याम्पस विदामा घरमा हिजोमात्र आइपुगेका थिए । उनी आउँदा गाउँ नै रमाइलो भएको अनुभव गर्छन् यहाँका मान्छेहरू । उनले भनेको कुराले गाउँलेहरू केही पाएको महसूस गर्छन् । त्यसैले यो गाउँमा हिजोअस्तिदेखि म एक प्रकारको फरक वातावरणको अनुभव गर्छु ।
आज तिले पल्लाघर खड्का नानीको घरतिर गयो होला, होइन त मास्टर नानी ? सारू बुढा दलानको आँटबाट घस्रेर तल झर्दै भन्छन् । उनी उमेरले पनि निकै बुढा भइसके । दलानबाट तल ओर्लदा पनि घस्रनु पर्छ उनले । सारूको उमेर नब्बे जति पुगेको अनुमान गर्छन् गाउँका मान्छेहरू । आफ्नो उमेर त उनलाई पनि थाहा छैन । गाउँका कसैले उमेर सोध्यो भने उनी गुमाने जैसी जन्मिदा उसकी आमाको सुत्केरी स्याहार्न आमालाई पछ्याउँदै म जानसक्ने भइसकेको थिएँ भन्ने जवाफ दिन्छन् । गाउँ टोलमा गुमाने जैसीको उमेर पचासी वर्ष पुगेको आधारमा सारू बूढाको उमेरको लख काट्ने गरिन्छ ।
आज नौला मान्छेहरू गाउँमा थुप्रै छन् त दाहाल सर । तपाईं चिन्नु हुन्छ ? मैले आफू बसेको फलैंचाबाट पछाडि फर्किएर हेरें, तिले गाउँतिर घुमेर आइपुगेको रहेछ । तिलेको सोधाइमा केही अस्वभाविकपन झल्किन्थ्यो । अचेलभरि यस्तै कुरामा ऊ बढी ख्याल गर्न थालेको थियो ।
म त कसैलाई पनि चिन्दिन । मैले उसलाई भनें ।
तिले मेरो सानैदेखिको विद्यार्थी । म पूर्वी पहाडको मान्छे । शिक्षक जागिर खान यो गाउँमा आएदेखि तिलेलाई पनि घरमा पढाइ दिन भनेर सारू बुढाले आफ्नो घरमा बसिदिन आग्रह गरेका थिए । त्यसबेलादेखि मेरो यो मगर परिवारसँगको सम्बन्ध प्रगाढ बनेर गयो । केही समयदेखि तिलेसँग मेरो वैचारिक सामिप्यता पनि बढ्दै थियो ।
आफ्ना कक्षाका विद्यार्थीहरूमध्ये पढाईमा तिले तेज छ । यो गाउँमा उसको पढाइ पनि सिद्धिन थाल्यो । मलाई थाहा छ – पढ्न चाहेर पनि तिले यहाँभन्दा माथि पढ्न सक्दैन । गाउँभन्दा टाढा गएर उच्चशिक्षा आर्जन गर्ने उसको आर्थिक हैसियत छैन ।
तिलेको उमेर पन्ध्र–स्रोह वर्षको भए पनि व्यवहारमा ऊ पाको जस्तै लाग्छ । सारू बुढा तिलेको बारेमा भन्ने गर्छन् – तिले वर्षीको हुँदा उसको बाउ भिरबाट लडेर मर्‍यो, आमा लाटी छ । म ओरालो लागेको घाम, उसले कहिले केटाकेटी भएर पनि हुनै पाएन । हिजोआज तिले मलाई अलि फरकजस्तो महसूस हुन थालेको छ । अलि प्रष्ट कुरा गर्छ । तिलेका कुराहरूले मलै पनि बाटो देखेको वोध गर्न थालेको छु । गुमाने सन्यासीसँग गाउँका धेरै मान्छे डराउँछन् तर तिले सबैका अगाडि उसको विरोध गर्छ । शोषकहरूको विरूद्ध सबै मिलेर लाग्नुपर्छ भन्छ । यही आँगनमा धेरै मान्छेहरूको माझमा हामी मिलेर काम गर्न नसक्दा उसले हामीलाई अत्याचार गरेको हो भन्छ । तिलेको कुरा सुनेर सारू बुढा कहिलेकाहीँ खुसी हुन्थे भने कहिलेकाहीँ डराउँथे र मसँग तिलेलाई सम्झाइदिन आग्रह गर्थे । बारम्बार सारू बुढाको मुखबाट एउटा भनाइ निस्किरहन्थ्यो – मास्टर नानी ! जहिले पनि उनीहरूकै हात माथि छ ।
पूर्णिमाको जूनले पश्चिम पहाडका थुम्काहरू मान्छेका टाउकाहरूको तरेली जस्तै देखिन्थे । जूनको उज्यालो सारू बुढाको आँगनभरी पोखिएको छ । तल्ला गाउँमा कुकुर रोएको आवाजले चेप्टे खड्का हड्बढाउँदै भन्छन् – अब गाउँमा के अनर्थ हुने भयो सारू दाइ ?
अनिकालले मारिएला नि खड्का नानी ! नब्बे सालको भूईँचालोमा पनि यसरी नै कुकुर रून्थ्यो । सारू बुढाले पनि खड्काको भनाइमा स्वीकृतिमूलक टाउको हल्लाउँदै भने ।
सारू बुढाको आँगनमा मान्छेहरू जम्मा हुँदैछन् । सधैंको जस्तै कुरा शुरू भयो । आउने मान्छेहरूको सङख्या हेर्दै तिले आँगनमा गुन्द्रीहरू थप्छ । यस्तैमा एक हुल अचिनारू मान्छेहरू लर्खरिएका खुट्टाहरूले बाटो तलमाथि टेक्दै सारू बुढाको घरको आँगन हुँदै गुमाने जैसीको घर ताकेर गए । आँगनमा बस्नेहरू प्रत्येकलाई उनीहरूले एकएक गरेर हेर्दै गए । तिनीहरू बारीको कान्लो काटेर नझरूञ्जेल आँगनमा बस्नेहरू केही बोलेनन् ।
को हुन् ए ! यिनीहरू ? धने घर्तीले आँगनको मौनतलाई तोड्यो ।
मैले त बिहानैदेखि नै यिनीहरूलाई देखिराछु । पल्ला टोले घर्तीनी भाउजुका जाँड र रक्सी खाँदै थिए । लाजभाँड बोल्न केही बाँकी राख्या थिएनन् । तिलेले अम्बरबहादुरसँग केही धारणा लिने विचारले ऊतिरै हेर्दै भन्यो ।
गाउँमा यसरी नचिनेका मान्छेहरू पहिले पहिले जिल्लाका कार्यालयहरूबाट कामको लागि खटिएर आउँथे । आज पनि गाउँलेहरूले त्यही हुनसक्ने विश्वास व्यक्त गरे । चेप्टे खड्काले सानो स्वरमा गुमाने सन्यासीले अड्डाबाट कर्मचारीहरू ल्याएर के विध्वंश गर्न लाग्योसम्म भने । दशबाह्र जनाहरूको बीचमा ती नयाँ मान्छेहरूको बारेमा निकै रातिसम्म सानो स्वरमा छलफल चलिरह्यो ।
रात छिप्पिदै गएपछि सारू बुढा आफू सुत्न माथितिर चढे । आज अम्बरबहादुरको कुराले गाउँलेहरूलाई निक्कै प्रभाव पारेको देखियो । त्यसमाथि पनि तिलेले आफ्ना गाउँका समस्याहरूलाई उसका कुराहरूसँग जोडेर उदाहरण दिने काम ग¥यो । तिलेका बीचबीचका कुराहरूले गाउँलेहरूलाई बुझ्न धेरै मद्दत पुगेको देखिन्थ्यो । मैले पनि आज अम्बरबहादुरमार्फत् शहरको राजनीति बुझ्ने मौका धेरै पाएँ । केही बेरपछि सबै मानिसहरू आ–आफ्ना घरतिर लागे ।
सारू बुढाको निद्रा अचेल पातलिँदै गएको महसूस गर्छु म । मेरो सुत्ने ओछ्यान सारू बुढाको कोठासँगै जोडिएको छ । वल्लोपल्लो भए पनि एउटै कोठाजस्तो । बीचमा बाँसको भाटाले बारिएको छ । पल्लो कोठामा बुढाका सबै क्रियाकलाप म सहजै देख्न सक्छु । उमेरमा त उनी खालि भूईमा पनि तुरून्त निदाएका कथाहरू कहिलेकाहीँ मलाई सुनाउँथे । अचेल राति ओछ्यान कोठामा गएपछि हुक्का तमाखु तान्दै एकदुई घण्टा त्यसै बसिरहन्छन् उनी । कहिलेकाहीँ टुकी बत्ति नहुँदा अँध्यारोमै बसेर पनि रातको बाह्र–एक बजाउँछन् । बत्तीको प्रकाशमा आफू लाहुरबाट आउँदा ल्याएका पुराना सामानहरू प्रत्येक रात खोतल्छन् । उनी ती सामानहरू खोतल्दा आफ्नो पुरानो लाहुरे जीवनका गौरवहरूमा डुब्थे । प्रायःजसो बेलुका आफूले लाहुरबाट आउँदा ल्याएको पुरानो फिलिप्स रेडियोबाट अलइण्डिया कार्यक्रममार्फत् प्रसारण हुने – नेपाली परिवारलाई भारतीय नेपाली सेनाहरूले पठाएको सन्देश वल्लाघर–पल्लाघरका युवायुवतीहरूलाई राखेर सुनाउँथे । गाउँका मान्छेहरूले उनले सुनाएका पुराना कहानीहरू चाख मानेर सुने भने उनी साह्रै खुसी हुन्थे ।
देख्नेहरू अझै पनि भन्दैछन् – सारू बुढाले आफ्नो जीवनकालमा त्यसबेला पश्चिम नेपालतिरबाट लाहुर जानेहरूमध्ये सबैभन्दा धेरै सम्पत्ति कमाएका थिए । तर आजको पीढीले यो कुरा सुन्दा बुढाको जीवनमाथि मजाक गरेजस्तो लाग्छ । बुढापाकाहरू गुमाने सन्यासीको सबै सम्पत्ति सारू बुढाको हो भन्दछन् अझै पनि ।
बाबुबाजेले नै जोडिदिएको दुईतीन हलको पाखो बारी, काँसको केही थाल, बटुका र भाँडाहरू, लाहुरबाट आउँदा ल्याएको ऊनीका दुईचार वटा पुराना कम्बलहरू, एउटा पुरानो फिलिप्स रेडियो, एउटा पुरानो टिनको बाकस, एक हल गोरू र सुँगुरका दुईतीनवटा पाठाहरू, केही थोत्रा थाङ्ग्रा कपडाहरू, बस ! सारू बुढाको सम्पत्ति यही हो भन्दा हुन्छ ।
अस्ताउँदो जूनको प्रकाश सारू बुढाको कोठासम्मै छिरेको छ । बाँसको भाटाले बारेको भित्ताबाट म देख्दैछु – सारू बुढा चुपचाप बसेर हुक्का तान्दैछन् । रातको निस्तब्धताले त्यति टाढा घान्द्रुक खोला पारी पाखामा कराएको स्यालको आवाज टड्कारै सुनिएको छ । म विस्तारै रातको सन्नाटाभित्र भट्टी पसल र गुमाने सन्यासीको घरसम्मको बाटोहरूमा बुट जुत्ता बजेका आवाजहरु बाक्लिएको महसूस गर्छु । सारू बुढा किन त्यति सुन्दैनन् । घरको बलेसीबाट बुट जुत्ताको कडा स्वर अगाडि बढेपछि यसो मेरो कोठातिर फर्किएर हेर्छन् ! सोध्छन् – मास्टर नानी निदाउनु भयो ?
अहँ निदाएको छुइँन, मेरो शब्द उनी बुझ्छन् कि बुझ्दैनन् तर स्वर सुनेर आफ्नै एकाग्रतामा बूढो लालटिनतिर फर्किएर मौन हुन्छन् । मेरो स्वर सुनेर सारू बुढाले सादर मानेको महसूस गर्छु म । रातको छिप्पिने क्रमसँगै मानिसका क्रियाकलापहरू बढेका आवाजहरू बाक्लिन थालेका छन् । गुमाने सन्यासीका गोठालाहरूले हुनुपर्छ – तल्लो गाउँको भट्टीपसलबाट ल्याएका जर्किनहरूमा रक्सी छचल्किएको आवाज पनि प्रष्ट सुनिन्छ । रक्सीको लागि सितन हुनुपर्छ, घरघरमा कुखुराहरू खेद्दा आएको आवाजले गाउँभरिका कुकुरहरू एकै साथ भुक्छन् । फेरि म मनमनै विचार गर्छु – यी मान्छेहरू यो गाउँमा निको चालले आएका छैनन् ।
गाउँको यो हल्लासँग सारू बुढा बढि त्रस्त देखिन्छन् । यो स्थितिप्रति तिले बेलुकैदेखि भयभित देखिन्थ्यो । तसर्थ, मसँग केही सल्लाह गरेर यहाँ नसुतेर अन्तै गयो । मेरो मन, तिलेले दिन लागेका जिम्माका कष्टपूर्ण दुर्दिनहरू कल्पना गर्छ । यो गाउँमा बस्न खतरा सम्झेर भोलिपर्सिदेखि तिलेले यो गाउँ छाड्दैछ । तिले त आजैदेखि यो गाउँमा बस्नु हुँदैन भन्थ्यो अमरबहादुरसँग । अमरबहादुरले आजै खतरा छैन भनेपछि ऊ आजभोलिसम्म यो गाउँमा बस्न राजी भयो ।
मास्टर नानी ! मास्टर नानी !!
के भयो हँ ? झकाएको अवस्थामा गोली पड्किएको आवाजले म ब्यूँझिए र स्थिति बुझ्ने प्रयत्न गरें । सारू बुढा बाँसको भाटाको कापबाट मतिर हेर्दै अतालिएको स्वरमा कराउँदै रहेछन् ।
ए केटा हो वरिपरि घेर – टर्चको उज्यालो छानातिर फाल्दै एउटा मान्छे बुद्रुक्क तलबाट माथि तलामा चढ्यो । उस्लाई पछ्याउँदै आउने पछिल्तिरको मान्छेले तिले सुत्ने कोठा देखायो र भन्यो – यही हो मगर केटो सुत्ने कोठा ।
ढ्याङ्, ढ्याङ्, ढ्याङ् । बाँसको भाटामा वरिपरि भोर्लाको लहराले बाँधिएको ढोका गल्र्याम्म ढल्यो । ढोका तिलेकी आमाको शरीरमा बज्रिएको अनुमान गर्न सकिन्थ्यो त्यसबेला । उसको चिच्याहटले सारा गाउँ थर्किएको महसूस हुन्थ्यो ।
मास्टर नानी, तिले कहाँ छ ? यतिबेला बुढाको स्वर मधुरो र मलिन थियो । स्थितिलाई एक प्रकारले मैले बुझिसकेको थिएँ । केही मानिसहरू बाहेक पछिल्तिर प्रहरीहरू आफ्ना पोशाकमा थिए ।
गुमाने ! गरिबका छोराहरूले गरेको देखिसहिनस् होइन त । थर्थराएको स्वरले गुनगुनाउँदै सारू बुढा खाटबाट मचानको मूल खाँबो समाउँदै बाहिर निस्किए ।
एकै छिनमा सारू बुढाको आँगनमा सिक्री बाँधिएका चेप्टे खड्का, खड्काकी श्रीमती, खड्काका दुई छोराहरू ल्याइए ।
मेरो छोरालाई मारिहालेऊ, मलाई पनि मार न । अचेत अवस्थामा खड्का कड्किँदै थिए ।
जूनको उज्यालोले कान्लामाथि उभिएका मानिसहरू प्रष्ट चिन्न सकिन्थ्यो । गुमाने सन्यासी आफ्ना आउरे बाउरे र पुलिसहरूको कान फुक्दै गरेको देखिन्थ्यो ।
ती सबै आतङ्कवादीहरू हुन् इन्स्पेक्टर साप ! कान्लामाथिबाट ठूलो स्वरमा गुमाने चिच्यायो ।
आँगनमा उभिएको इन्स्पेक्टरले मचानमा चढ्ने पुलिसलाई आदेश दियो – माथिका सबैलाई खँदारेर तल झार ।
यतिबेला भित्ताको सहारा लिँदै सारू बुढा कोठा बाहिर आइपुगेका मात्र के थिए, पुलिसहरूले लछारपछार गरेर एकै सासमा आँगनमा पु¥याए ।
सारू दाइ ! अमरबहादुर र तिलेलाई मारिहाले । खड्काले डाँको छाड्दै सारूलाई अँगालो हाले ।
मलाई पनि अपमानित व्यवहारका साथ आँगनमा पु¥याइयो ।
गुमाने ! गरिबको छोराछोरी पढेको पनि देखिनस्, गरेर खाएको पनि देख्न सकिनस्, यो अन्यायको फल पनि तैले चाँडै भोग्नु पर्छ बुझिस्, अब तिले र अमरेको रगतले विपनामा मात्र होइन सपनामा पनि तँलाई पिर्छ । रूँदै कान्लामाथि फर्किएर सारू बुढाले गुमानेलाई धारे हात लाए ।
गुमाने यतिबेला निरूत्तर उभिएको थियो । ऊभित्र आफ्नो अपराधीपनको पश्चाताप छ कि छैन, तर अहिलेसम्म आफूले भोगेको मानसिक पीडाको उपचार भएको अनुभूति भने पक्कै थियो ।
यतिबेला पुलिसहरू निर्ममतापूर्वक लठ्ठी वर्षाइरहेका थिए । गुमाने कान्लाबाट तल आँगनमा उत्रियो र एकपटक मतिर हे¥यो । इन्सपेक्टरलाई एकान्तमा लगेर केही कुरा फुस्फुसायो ।
भोलिदेखि फेरि यिनीहरू जस्तैको पछि लागिस् भने तँलाई पनि तिले र अमरेका झैं गोलीले उडाइदिन्छु ।
म मौन हुन्छु । मेरो मौनतालाई उसले कुन अर्थमा बुझ्यो, मैले उसको अनुहारमा जाँच्ने कोशिस गरें ।
इन्स्पेक्टर साब ! यो चाहीँ स्कूलको मास्टर हो, आजलाई छाडिदिऊँ ! इन्स्पेक्टरतिर फर्किएर गुमानेले भन्यो र त्यहाँबाट तुरून्त अन्त जान उर्दी ग¥यो ।
तेरो सामानहरू कुन कुन हुन् ? प्रहरीले मलाई एउटा हातमा समाउँदै सामानहरू राखिएको थुप्रोतिर लग्यो । मैले आफ्नो झोला र केही किताबहरू टिपें । मलाई अब अन्त गइहाल भन्दै एउटा पुलिसले बारीको डिलमा पु¥याएर फक्र्यो । मभित्रको पीडाले आफूले तत्काल गर्ने काम सोच्न सकिनँ । म सरासर स्कूल नजिकको घरमा गएँ, जहाँ शिक्षक साथी रामदेव बस्थ्यो । ऊ पनि डिलमा उभिएर आवाज आएको स्थानतिर फर्किएर हेरिरहेको थियो ।
बिहान उज्यालो भूईमा नझर्दै शिक्षक साथी रामदेव यादवलाई लिएर बाहिर निस्केर हेरें, सारू बुढा र चेप्टे खड्काको घरले गाउँका अरू घरहरूलाई हिजोको घटना सुनाइरहेझैं लाग्यो । आँपगैह्रामा यतिबेलै एउटा आवाज आयो । पधेर्नीहरू बाटो छाडेर माथिल्तिर लागे । सारू बुढा, तिलेकी आमा, चेप्टे खड्का प्रहरीहरूको घेराभित्रबाट गाउँलेलाई हेर्दै हिँड्दै थिए । तिले र अमरबहादुरको लास त्यहाँ थिएन । कुप्रो शरीरमा पछिल्तिर हात राखेर सारू बुढा हिँड्दा पुलिसहरू उनलाई लठ्ठीले धकेल्थे । यो दृष्यले झन् हामीभित्रको पीडालाई नूनमाथि चुक छर्कने काम ग¥यो । हामीले धेरै बेर उभिएर हेरिरह्यौ । अर्खौले पहराको थुम्कोसम्म अलिअलि देखिँदै गरेको उनीहरूको आकृति विस्तारै लोप हुँदै गयो ।
दुई दिनपछि रेडियो नेपालले यो घटनाको खबर प्रसारित ग¥यो – रोल्पा जिल्लाको अर्खौले गाउँमा आतङ्कवादी गतिविधिमा संलग्न केही व्यक्तिहरूले गस्तीमा गएका प्रहरीहरूमाथि आक्रमण गर्दा तिलकबहादुर राना मगर र अमरबहादुर खड्का नाम गरेका दुईजना उग्रवादीहरूको प्रहरीहरूले आत्मरक्षाका लागि चलाएको बन्दूकबाट मृत्यु र अरू पाँच आतङ्कवादीहरू प्रहरीको कब्जामा ।

(साथी, वर्ष–१३, अङ्क–५)





हरियो बत्ती

आज विहानै रामनाथ आफ्नो पार्टी नेता क. अशोकको घरमा जरूरी पत्र पुर्‍याउन जाने तयारीमा छ । त्यसैले ऊ हरेक कामहरू चाँडै चाँडै सिध्याउँदै छ । आज अलि सबेरै उठ्यो । श्रीमती काममा गएकी छ, खाना आफैले बनायो । हिजो पार्टी कार्यालयमा बेलुकापख एकजना भद्र मानिसले ‘अत्यन्त जरूरी’ भन्दै क. अशोकको नामको एउटा पत्र छोडेर गयो । हुन त, क. अशोकले हिजै बेलुका पार्टी अफिसमा फोन गरेर भोलि बिहान कोही कार्यकर्ताहरूसँग पनि भेट्न नसकिने हुनाले कसैलाई पनि मेरो घरमा नपठाउनु भनेका थिए । तर रामनाथले सोच्यो – यति जरूरी पत्र लिएर त जानै प¥यो नि, नत्र फेरि पार्टीलाई ठूलै समस्या पर्नसक्छ ।
रामनाथ यो पार्टीको धेरै पुरानो मान्छे । अचेल ऊ पार्टी कार्यालयमा बस्ने गथ्र्यो । शुरूमा कम्युनिष्ट आन्दोलनमा हिँड्दा उनलाई नेपालमा अब नौलो जनवाद आइहाल्छ भन्ने विश्वास लागेको थियो । यही आन्दोलनभित्र हिडेर कपाल पकाइसक्यो । ऊ यो पार्टीको पुरानो पूर्णकालीन कार्यकर्ता । पहिले ऊ जिल्लास्तरको पार्टीको कार्यकर्ता हुँदा क. अशोकलाई साधारण सदस्यता उसैको हातबाट दिएको थियो । पार्टीभित्र क. अशोकको प्रगति देखेर उसले धेरैलाई भनेको थियो – क. अशोकलाई यो पार्टीमा ल्याउन मेरो पनि ठूलो हात छ । त्यसबेला क. अशोक विदेशबाट पढाइ सिध्याएर भरखर नेपाल आएको थियो ।
घरबाट बाहिर निस्कने बित्तिकै एकमनले रामनाथले फेरि सोच्यो – एकपटक टेलिफोन गरेर मात्र जानु राम्रो होला ।
नजिकैको पसलमा गएर उसले टेलिफोन डायल ग¥यो क. अशोकको फोन अत्यन्तै व्यस्त छ, फेरि ग¥यो उस्तै व्यस्त ।
फेरि मनमनै गुन्यो – अब चाँडै गरेर जानुपर्छ, नत्र पार्टीको ठूलै काम बिग्रेला । उसले आफ्नो हिडाइको गतिलाई अत्यन्तै तेज बनायो । अरू दिन एक घण्टा लाग्ने चक्रपथ आज ऊ आधि घण्टामै आइपुग्यो । चक्रपथ निस्केर अरू दिनजस्तो बस पर्खन उसले उपयुक्त ठानेन । उसले आज ढिलो गर्नु हुँदैन भन्ने मात्र बुझेको छ । आजसम्म कहिल्यै यसरी हतार गरेर उसले ट्याक्सी खोजेको दिन थिएन ।
त्यति व्यस्त हुने क. अशोकको घर आज सुनसान थियो । रामनाथले मूल गेटभित्र पसेर क.अशोकलाई सोध्यो । घरमा काम गर्ने मानिसले सबेरै बाहिर गएको खबर सुनायो उसलाई । के आज विहानै नभेटी नहुने ? – यसैबेला एकजना अग्लो मान्छे भित्रबाट बाहिर आएर रामनाथलाई जरुरी कामको बारेमा सोध्यो ।
म त विहानै आइपुग्नु पथ्र्यो । आउन ढिलो भयो, अहिले नै नभेटे कामै बिग्रन सक्छ । रामनाथको जवाफ पाउने वित्तिकै त्यो मानिसले अशोकले एकजना मानिस आइपुग्नु भएको छैन भन्नुहुन्थ्यो, म पर्खिएर बसेको भन्दै मोटरसाइकल स्टार्ट गर्‍यो ।
मोटरसाइकल थापाथली–त्रिपुरेश्वर–रत्नपार्क हँुदै अघि बढ्यो । रामनाथले सोझो मनले सोच्यो – यो जरूरी पत्रका बारेमा पहिले नै खबर भइसकेको रहेछ, क. अशोकले मलाई विहान पर्खिएछन् ।
वरिपरि विशाल पर्खाल, ठूलो फलामे गेट, गेटपाले सबैलाई छिचोल्दै मोटरसाइकल भव्य महलको बीचमा पुगेर रोकियो ।
क. अशोकको यत्रो महलमा ... । रामनाथले वरिपरि हे¥यो र अचम्म मान्यो । सुन्दर बगैंचा । मोटरहरूको घुइँचो । रामनाथसँगै आउनेसँग भित्र पस्यो । हरियो बत्तीको प्रकाश छरिएको बैठक हल । ठूला ठूला खाइलाग्दा मानिसहरू । भव्य सजाइएको बैठक कक्ष । वियर र रक्सीका परिकारहरू । विशेष प्रकारको सोफामाथि बसेर क. अशोक भन्दै थियो – अब पार्टीलाई हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्नेछैन । रामनाथले आफूले चिनेका अन्य एकदुईजना मानिसहरूलाई पनि त्यहाँ देख्यो ।
रामनाथ कसरी यहाँ आइपुग्यौ हँ ? – अशोक जिल्लियो ।
कसलाई सोधेर यहाँ आएको ? बेइमान ... तल्लो स्तरमा ओर्लिएर कहिल्यै पनि यसरी अशोकले गाली गरेको रामनाथलाई थाहा थिएन ।
रामनाथ चिठ्ठी हातमा फालिदिएर आफू गएको बाटोबाट छिटो छिटो फक्र्यो । रामनाथले मुलगेट नाघ्ने बित्तिकै एकदुईजना मानिसको एकछिन् पख्नुस् एकछिन पख्नुस् भनेको आवाज आउँदै थियो । तर ऊ त्यतिबेला सडकमा आइपुगिसकेको थियो ।
सडकमा निस्किएपछि डरले रामनाथको जीउ हप्प फुलेजस्तो भयो । डरले पछाडि फर्किएर हेर्नसम्म सकेन उसले । सडकमा आफ्नो वरिपरि हेर्‍यो – थुप्रै मानिसहरू छन् । कता कता डर कम भएको महसुस ग¥यो उसले । मनमनै फेरि डरको पर्वत अग्लियो – कतै ती पछाडि आउनेहरू यहाँसम्म त आइनपुग्लान् ।
बाटोभरि रामनाथले धेरै कुरा सोच्न सकेन । मुलगेटभित्र आफूलाई पच्छ्याउने मान्छेहरू सम्झिरह्यो । डरले जिउ जिङ्गरिङ्ग हुन्थ्यो । आज ऊ बस चढ्न बसपार्क पनि गएन । ठमेलको गल्ली हुँदै हिँडेर घर गयो ।
घर पुग्नेबित्तिकै रामनाथ केही नओछ्याएको बार्दलीको पलङमा डङ्गरङ्ग पल्टियो । उसको अगाडि आफू कम्युनिष्ट आन्दोलनमा हिँड्दादेखिका घटनाहरू नाच्न थाले । सोच्दै जान्छ ऊ – क्रमबद्ध नभएका घटनाका स्मरणहरू उसका अगाडि ओइरो लाग्छन् । कतै सपना त देखेको छैन उसले, फेरि ठण्डा भएर सोच्न शुरू गर्छ । हरियो बत्ती बलेको कोठामा सोफामाथि बसेर अशोकले भनेको उही शब्दहरू उसको दिमागमा ताजा बनेर ठोकिइरहन्छ – अब पार्टीलाई हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्ने छैन ।
यतिखेरै उसको मनले अर्को कटु पीडाको अनुभूति गर्‍यो । एक बखत क. विनयले पार्टीमा राजतन्त्र सामन्तवादको नाइके हो, संसदीय व्यवस्थाले जनताको हीत गर्दैन भन्ने मत राख्दा पार्टीलाई भाँड्न खोजेको आरोप लगाएर निस्कासन गरिएको थियो । रामनाथले अन्तरसम्वन्ध खोज्यो – आजको यो घटना र त्यो तथ्यको ।
काठमाडौंमा गर्मी चढिसकेको छ । ऊ खाटमा शान्तसँग सुत्न सक्दैन । घरि यता घरि उता पल्टिन्छ । ऊ आफ्ना अगाडि आस्था र विश्वास बोकेर बाँचेका थुप्र्रै मान्छेहरू सम्झन्छ । नागार्जुनको जंगलतिरबाट आएको चिसो बतास शरीरमा ठोकिएको अनुभूति हुन्छ उसलाई । उसको आँखाअगाडि फल्याकको भित्तामा झुण्डयाएको ऐनामा पर्छ । अहिलेसम्म उसले यसरी ऐना हेरेकै थिएन । गाला छाम्छ, पोहोरको भन्दा निकै बढी चाउरी परिसकेको अनुभव गर्छ ऊ । कपाल पोहोरसम्म त तिलचामले मात्र थियो, यसपटक त सेताम्ये भएको महसुस गर्छ ऊ ।
आज राति रामनाथ बुइगलमा गएर सुत्छ । सुत्न त नामै न हो । जतिबेला पनि आस्थाको नाममा ढुङ्गाको पहाड अगाडि उभिएको महसुस हुन्छ उसलाई । रामनाथ जीवनको उपलब्धी खोज्छ । आखिर मैले गरेको त राम्रै काम न हो, जीवनको यात्रासँग बेखुशी हुन सक्दैन ऊ ।
राति सपनामा हरियो बत्ती, हरियो बत्ती भनेर किन कहालिएको ? उसकी श्रीमती जानुकाको कडा बोलीले रामनाथ व्युँझन्छ । यतिबेला धरतीमा राम्रैसँग उज्यालो पोखिइसकेको थियो ।
रामनाथलाई आज शरीर भारी महसुस भएको छ । उसले त्यही बेला तल कसैले ढोका ढकढक्याएको आवाज सुन्यो । झ्यालबाट हे¥यो – पार्टीको साथी रमेश रहेछ । रमेश यो पार्टीको आस्थावान कार्यकर्ता । धेरै कष्ट खपेर पार्टीमा निस्वार्थ काम गरेको छ । रामनाथले हतारिदै झरेर ढोका खोल्यो ।
रमेश माथि आउ । ढोका खुल्नासाथ रामनाथले भन्यो ।
म तपाईंलाई क. अशोकले पठाउनुभएको पत्र दिन आएको । कुराकानी गर्न पछि आउँछु । आज पार्टीको अत्यन्त जरूरी काम छ । रमेशले हतारो भाव देखाउँदै जवाफ दियो ।
रामनाथ भित्रको कौतुहलता मनभित्र हुण्डरी बनेर नाच्यो र ठूलो स्वरमा भन्यो – ठगले के पत्र पठाएछ ?
रमेशले अचम्म मानेर उसको कुरा सुनिरह्यो । हरदम अशोकको पक्षधर रहने मानिसबाट यस्तो शब्द कसरी ... ?
रामनाथले रमेशको हातबाट चिठी थुत्यो र हतार हतार खाम च्यात्यो । पार्टीको प्याडमा लेखिएको रहेछ – हिजो बसेको पार्टीको जरूरी बैठकले पार्टी हित विरोधी गतिविधिमा तपाईंको संलग्नता देखिएको हुँदा अनिश्चित कालका लागि तपाईंलाई पार्टीका सबै तह र सदस्यताबाट निस्कासन गरिएको छ ।
पत्रबाट आँखा माथि उठाएर रामनाथले हेर्‍यो – रमेश चाँडो–चाँडो पाइला चाल्दै टाढा पुगिसकेको थियो ।

(नौलो कोशेली, पूर्णाङ्क – १७)















सन्त्रस्त आँखाहरु



उनीहरू पिप्चाइ फेदीको सुनकोशी किनारनेर आइपुग्दा दिउँसोको करीब १२ बजेको थियो । पश्चिम उत्तरपट्टि रहेको भुङजु डाँडामाथिको आकाशमा बादलको सानो थेग्लो स्थिर भएर बसेको देखिन्थ्यो । यही ठाउँबाट उनीहरू सुनकोशीको गढतिर छाडेर उकालो चढ्छन् । दशैं तिहारको मुखमा यो बाटोमा ढाकर बोक्नेहरूको ताँती जुलुश हिँडेजस्तै देखिन्छ । हिँउदका अरू महिनाहरू पनि यो बाटोमा ढाक्रेहरूको बाक्लै लाम भेटिन्छ । वर्षा लागेपछि यो बाटोमा मान्छेहरूको चाप स्वाट्टै घट्छ । बाटो हिँड्ने मान्छेहरू घटेपछि कोशी किनारका गाउँहरू स्वरूङ दोभान, निवुवाटार र कुनाइका मानिसहरूको आयस्रोत पनि घट्छ । यही बाटोका कारण यी गाउँहरूमा खेतीबाट जीविकोपार्जन गर्नेहरू अत्यन्तै थोरै छन् । मूलबाटो भएको कारण व्यापार नै उनीहरूको प्रमुख आयस्रोत बन्यो ।
सर्पझैं कुङलिङ पर्दै घुमेको पिप्चाई उकालोमा मध्य दिउँसोको चर्को घामले आँखालाई नै तिरमिरतिरमिर पार्ने गर्छ । पिप्चाई फेदीमा रहेको सीमलको रूख बाहेक हरियोको कतै नामनिशाना छैन । खडेरीले सबै डाँडाकाँडाहरू यतिबेला कोशीपारी राजदहको पहिरोझैं उजाड देखिन्छन् ।
सुनकोशी नदीको कर्कश आवाज कतै नरोकिइकन एकनासले बजिरहेको छ ।
आज त भात खाने बेला टरिसक्यो है माइला ! हाम्रो टाउकै माथि पो बसेको छ घाम । भारीमा टेको लाउँदै आकाशतिर हरेर रनेम्पाले भन्यो ।
यति ढिलो त कहिल्यै पनि भएको थिएन । रनेम्पाको आवाज सुन्ने बित्तिकै मन्जितेले पनि आफ्नो भारीलाई टेको लाउँदै सहमति जनायो ।
यसैपटकदेखि आफ्नो जेठो छोरो रनशेरलाई भारी बोक्न सिकाउनका लागि उसले कटारी लिएर आएको थियो । रनशेर उमेरले यही फागुनमा मात्र एघार वर्ष पुग्यो । गाउँको स्कूलमा तीन कक्षासम्म पढेपछि ऊ घरको काममा लाग्यो ।
रनेम्पा ! सानो भए पनि तेरो छोरो निकै कडा छ जस्तो छ । आफूहरूभन्दा निकै अगाडि पुगिसकेको रनशेरपट्टि औंल्याउँदै मन्जितेले रनेम्पालाई फुक्र्यायो ।
रनेम्पाले सुनकोशी किनारको तेर्सो बाटोमा आफ्नो आँखालाई परैसम्म ओछ्यायो । छोटो कदको रनशेर कोशीको बगर छेउमा सानो ढाकर बोकेर हिँड्दा चामलको विस्कुनमा घुनकिरा दौडेजस्तै देखिन्थ्यो । रनशेर पिप्चाई फेदिमा देखिएको सिमलको रूखतिर लक्ष्य गरेर दौडिरहेको थियो ।
बिसाउने ठाउँ पनि आइपुग्यो है माइला । आफ्नो टेकोलाई ढाकर माथि सिउरिदै मन्जिते अघि बढ्यो ।
के हाम्रो डाँडामाथि पनि मोटर कुद्छ त माइला ? स्वरूङ दोभानमा भरखर कटारीबाट बनाएर ल्याएको फिलिप्स रेडियोबाट विहान सुनेको समाचारले उकुसमुकुस भएर मनभित्रको गुम्फित पीडालाई रनेम्पाले मन्जितेका सामुन्ने पोख्यो । विहानै सुनेको रेडियोको समाचारले शेरमानको हिडाइको गतिलाई नराम्ररी खुम्च्याइदियो । अलिकति त उसलाई आफ्नै रेडियोसँग रिस उठ्यो । आज यसले कस्तो अशुभ समाचार सुनायो ? हाम्रो गाउँको डाँडामा मोटर कुद्यो भने हामीले कहाँको भारी बोक्ने ?
यही बाटोमा भारी बोकेर उनीहरूले जीवनको सम्पूर्ण जस्तो कालखण्ड बिताए । शेरमान र मन्जिते समवयका, सँगसँगै हुर्केर बढेका । उनीहरू आफ्ना बाबुहरूसँग सानै उमेरदेखि सँगसँगै भारी खेप्न कटारी आउथे । अर्थात् भारी बोक्न सिक्थे । कटारीबाट सोलुखुम्बुसम्म भारी पुर्‍याउन करीब नौदश दिन लाग्थ्यो । यो लामा बाटोमा उनीहरू प्रायः सँगसँगै हुन्थे ।
सुनकोशीको किनारैकिनार हिड्दा थाकेर यस ठाउँमा आइपुगेपछि ऊ साह्रै आनन्द मान्थ्यो । कटारीबाट भारी बोकेर उसका साथीहरूसँग प्रायः ऊ तेस्रो दिनमा यहाँ बास बस्न आइपुग्ने गथ्र्यो । हिउँदका कैयौं महिनाहरूमा यही निर्जन ठाउँमा कहिलेकाहीँ ऊ एक्लै पनि बास बसेको थियो । घरबाट कटारी जाँदा यही ठाउँमा आएर एकछिन बसेर थकाइ माथ्र्यो र कोशी नदीको पानीमा कोदोको जाँड घोलेर खान्थ्यो । कोशीको पानीमा जाँड घोलेर खाँदा ऊ बेग्लै र मीठो स्वाद पाएको अनुभव गर्थ्यो।
वैशाख महिनाको मध्य घाम जताततै वातावरण तातो छ । बादलका थेग्लाले घामलाई छोपेर ल्याएको शीतलपन कुनै कुनै बेला घुम्दै आइपुग्थ्यो ।

च्यास्सीटार हाम्रो देशको औसत नेपाली गाउँमध्ये एक हो । आफ्नो खेतीले यहाँका मानिसहरू मुस्किलले तीन महिना खान्छन् । बाँकी महिनाहरू कटारीबाट सोलुखुम्बु, ए‌सेलुखर्क, ओखलढुंगा, रूम्जाटार, दिक्तेलसम्मको भारी बोक्छन् र जीविकोपार्जन गर्छन् । अन्नपात उब्जन उपयुक्त मौसम पर्खनुपर्छ । मकै र कोदो यहाँको मुख्य बाली हो । कहिलेकाहिँ त खडेरीले त्यसलाई पनि खाइदिन्छ । त्यसपछि गाउँमा अनिकाल पस्छ त्रासद रूप बोकेर । त्यसले बृद्ध, केटाकेटी कोही पनि भन्दैन । त्यसपछि सबै कटारी जान्छन् भारी खोज्न । कति घरमा त मानिस नभएर दैलो नै लाग्छ ।
उनीहरूका पूर्खा यो ठाउँमा कहिलेदेखि बसेका हुन् सबैले अनुमान मात्रै गरेका छन् । भुङजु डाँडाको वरिपरिमात्र तिलुङ्गे राईहरूको बस्ती छ । गाउँघरमा पढेका भाइभतिजाहरूले भनेको सुनेको हो उसले । तिलुङ्गे राईहरू टाढामा दुक्र्षिम गाउँसम्म फैलिएका छन् । तर उसले आफ्ना पूर्खाहरूलाई जति सुन्यो र देख्यो – उसका जिजुबाजेहरूले चिसापानीदेखि ओखलढुंगा दिक्तेलसम्म भारी खेपेको थुप्रै कथाहरू ऊ अहिले पनि सम्झिरहन्छ । उसको बाबुको पालामा कटारीमा बजार बनिसकेको थियो । कटारी बजार बनिसकेपछि मात्र ऊ भारी बोक्न सक्ने भएको थियो । त्यसपछि कटारीबजारदेखि पूर्र्वी मध्य पहाडका बजारहरू र केही गाउँहरूमा विकासे सामग्री ओसार्नु उसको मुख्य कर्म बन्यो ।
अलिअलि घुम्रिएको कपाल, पुड्को जीउडाल, अलिक बढ्ता थेप्चिएको नाक, गोरो अनुहार जुठो भाँडो माझिसकेर कोशी नदीतिर हेरिरहेको आफ्नो छोरो रनशेरलाई रनेम्पाले एकटक लाएर हेर्छ । छोरोलाई हेर्दाहेर्दै ऊ आफ्नो श्रीमती सम्झन्छ । रनशेर वर्षीको नपुग्दै उसकी श्रीमतीलाई ज्वरोको दुईदिने व्यथाले लग्यो । त्यो वर्ष कति कहालीलाग्दो थियो । अनिकालले गर्दा जिल्लामा आगै लागेको थियो । भोकको महामारीका कारणले कटारीबाट ल्याएको भारी बाटैमा लुटिन्थ्यो । उसको भारी पनि एकपटक स्वरूङ दोभानमा लुटियो । झण्डै ज्यान नगएको । सम्झँदा पनि डरलाग्छ उसलाई त्यो घटना । त्यो अनिकालको मुखमै उसले आफ्नो बाबु गुमायो । बाबुको एक्लो छोरो ऊ । भोकमरीको डरलाग्दो अवस्थामा बाबुको काजकृया गर्न पनि सकेन उसले । त्यतिबेलाको घटना सम्झँदा ऊ नराम्ररी छटपटिन्छ । त्यसको तीनै महिनापछि उसकी स्वास्नी मरी । दशाले एकैचोटि घेर्दोरहेछ । उसले यस्तै अनुभव बोकेको छ जीवनमा ।
यो बाटोमा मोटर कुद्यो भने हामी के गर्ने त माइला ? बिहानै सुनेको समाचारले पारेको पीडालाई केही खुकुलो पार्न रनेम्पाले मन्जितेसँग फेरि जिज्ञासा पोख्यो ।
के कटारीमा कुदेजस्तो मोटर हाम्रा गाउँमा पनि आउँछ त आप्पा ? मन्जितेले केही भन्न नपाउँदै रनशेरले अचम्म मान्दै आफ्नो बाउसँग सोध्यो ।
आज विहान सुनिनस् रेडियो ? रनेम्पाले छोरालाई झाँट्यो ।
हाम्रो डाँडापाखामा मोटर कुदे त यो दुःख हामीले गर्नै पर्दैनथ्यो नि । चुनावमा भोट माग्न आउने नेताले हल्ला चलाएका होलान् नि ! अब त चुनाव आउने बेला भा छ क्यार ! यस्तो हल्ला त मैले पञ्चायती राजमै कतिपल्ट सुनिसकेको थिएँ । मन्जितेले निराश भावमा यो कुरालाई उडाइदियो ।
यो डाँडामा मोटर कुद्ने हो भने यो मन्जिते के खाँदो हो ? कहाँबाट भारी खेपेर खान्छ । कटारीबाट भारी बोकेर पो छाक टार्न पाएको छ । नत्र मेरो जस्तै यसको पनि त्यही दुई, तीन हलको पाखो बारी न हो । मन्जितेको कुराले रनेम्पालाई अचम्म लाग्यो । यो कुरा उसले बाहिर भन्न नसकेर मनमनै राख्यो ।
रनेम्पाले मनमनै चिन्ताको सगरमाथा फेरि अग्ल्यायो ।
हाम्रो गाउँमा पनि मोटर कुदे त कस्तो आनन्द आउँथ्यो हगी । ढुंगामा बसेर रनशेरले उही जिज्ञासा दोहोर्‍यायो ।
रनशेरले यसपटक कटारीमा पहिलोपटक मोटर देख्यो । साँच्चै अचम्म लागेको थियो उसलाई । घरजस्तै पो हुँदोरहेछ त अप्पा भन्दै गुडिरहेको मोटरलाई ढाकर बोकेर पछ्याएको थियो उसले । ऊभित्र आफ्नो बाबुको कुराले आज नयाँ कौतुहलताको सृजना भयो ।
के त्यस्तो घरजस्तो मोटर पनि हाम्रा गाउँमा आउँछ छ ! कसरी हिँड्ला यो उकालो । अनि हामी त्यसैमा चढेर परसम्म जाने हो त ! रनशेरलाई भित्रैदेखि विश्वास लागेन ।
रनशेरलाई घर पुगेर यो सबै कुरा आफ्ना साथीहरूलाई सुनाउने ठूलो रहर छ । उसका समवयका थुप्रै साथीहरूले मोटर देखेकै छैनन् । अझ आप्पाले सुनाएको खबर सुनाउनका लागि घर पुग्न ऊ साह्रै हतारिएको छ ।
साँच्चै आउँछ त आप्पा ! हाम्रा गाउँमा कटारी जस्तो मोटर । रनशेरले आफ्नो बाबुको कुरालाई पछ्याउन छाडेन ।
यसरी धेरै सवाल जवाफ नगर्ने र धेरै नबोल्ने छोराको यो हठसँगै उसलाई भित्रभित्रै नराम्रोसँग रिस उठ्यो । आफ्नो गाउँमा मोटर कुदिदेला र यही भारी बोकेर खाने काम हरिने हो कि भन्ने डरले आज विहानदेखि उसलाई लखेटिरहेको थियो । अझ छोराको प्रश्नले र मन्जितेको भनाइले ऊ भित्रको मन नराम्ररी चिमोटियो ।
यो गाउँमा मोटर कुदेर साहुको सबै भारी बोक्यो भने के खाँदा हुन् यी मुर्दाहरू । बाहिर व्यक्त गर्ने आँट नगरेपनि रनेम्पाले मनमनै कल्पियो ।
ओहो ! दिन त ढल्किसकेछ । भित्तैभरि ठोकिएको घामले गोहोरोको छालझैं टल्किएको पिप्चाई उकालोतिर हेर्दै रनेम्पाले सम्झायो ।
रनेम्पाका लागि आजको दिन अरू दिनजस्तो छैन । घाम पनि अरू दिनको भन्दा बढ्तै चर्को छ । सिमलको छहारी पनि अरू दिनको जस्तो शीतल छैन । उसलाई कहिले पनि दिन यति नरमाइलो लागेको थिएन ।










अविश्वास प्रस्ताव



पञ्चायत ढलेपछि एकप्रकारले हीराप्रसादको होस ठाउँमै रहेन । जिल्ला पञ्चायत सभापति भएको तीन वर्ष पनि पूरा भएको थिएन । आफूलाई सम्हाल्न निकै सङ्घर्ष गर्नु परेको उनले स्वयम् अनुभव गरे । आफ्नो वरिपरि हेरे – राजाको सक्रिय नेतृत्व पाएर मेची महाकाली फैलिएको पञ्चायतको गन्धसम्म पनि कतै छैन । एशिसाली मापदण्डमा पुर्‍याउने त्यत्रो योजना कतै बाँकी रहेन । सधैंजसो सुनिरहने शान्ति क्षेत्र प्रस्तावको चर्चा उनले त्यसपछि रेडियोमा कहिले सुनेनन् । उनी साँच्चै तीन छक्क परे ।
पञ्चे र मण्डले भन्ने बित्तिकै ज्यान जोगाउन पनि सचेत भएर हिँड्नुपर्ने भयो । गाउँटोलमा धेरै मानिसहरू भेला भएका ठाउँहरूबाट थुप्रैपटक उनी तर्किएर हिँडे । हिजोका आफ्नै सहयोगीहरू भेला भएका ठाउँहरूबाट थुप्रैपटक उनी तर्किएर हिँडे । हिजोको आफ्नै सहयोगीहरू झण्डा बोकेर गाउँगाउँमा डुलिरहेका कुराहरू उनले सुने । तल्लो गाउँमा छानैभरी राता झण्डाहरू फर्फराइरहेको उनको घरबाट प्रष्टै देखिन्थ्यो । कुनै घरमा चारतारे झण्डाहरू, कुनै घरमा हँसिया हथौडाका झण्डाहरू । उनी यसरी पनि सोच्थे – कतै यो सपना त होइन ।
एक महिना जति बितेपछि उनको दिमागमा एकरात एउटा पुरानो घटनाको सम्झना आयो । पहिले क्याम्पसमा पढ्न जाँदा आफ्नै जिल्लाको सहपाठी साथी नरेश बस्नेतबाट उनले नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । खुशीले उनी त्यो रात निदाउन पनि सकेनन् । आधा रातमै श्रीमती सरिनालाई उठाएर उनले त्यो कुरा सुनाए ।
त्यो सदस्यता भेटिन्छ कि खोजौं न ! त्यो भेटियो भने हाम्रो त भाग्य नै चम्किन्छ नि ! ठूलो कुरा पाउन लागेझैं हीराप्रसादले श्रीमतीसँग खोज्न अनुनय गरे ।
त्यस्तो नाथे चिर्कट्टोले के हुँदो हो । यो राजनीति पनि कस्तो नशा हुँदो रहेछ । यत्रो घरखेती छ, आफनो राम्ररी सम्हालेर बसे भइहाल्छ नि ! सरिनाको उदासीनतापूर्ण यो भनाइले उनलाई झनक्क रिस उठ्यो ।
हीराप्रसाद आधारातमा उठेर दराजका पुराना फायलहरू एकएक झिके र त्यो सदस्यताको अधकट्टी कतै भेटिन्छ कि भनेर खोज्न थाले ।

हजुरहरूको सल्लाहअनुसार चल्ने मान्छे त हुँ नि म । अचेल मलाई हजुरहरूको कम्युनिष्ट विचार मन पर्न थालेको छ । त्यसदिन सांसद हीराप्रसादले टाउको अलि झुकाउँदै प्रतिपक्षी दलका नेता जयकुमार भारतीको प्रस्तावलाई स्वीकार गरे ।
जयकुमार भारतीको कुरा उनलाई राम्रैसँग चित्त बुझ्यो । सांसद भएको दुई वर्ष भइसक्यो । एकपटकको चुनावमा आफ्नो भएभरको सम्पत्ति खर्च भयो । अब पनि मन्त्री हुन नपाए कसरी पैसा कमाउने ? यो चिन्ताले हीराप्रसादलाई केही दिनदेखि खानामा अरूचि बढ्न थालेको थियो । यो कारणका बारेमा उनकी श्रीमती अनभिज्ञ थिइनन् ।
एकदिन त मौका परिहाल्छ नि । चित्त नबुझे पनि उनले बेलाबेलामा लोग्नेलाई ढाडस दिँदै भन्ने गर्थिन् ।
प्रतिपक्षी नेता जयकुमार भारतीले एउटा लामो कागज झिके र एकासीयौं नम्बरमा उनको नाम लेखेर अघिल्तिर राखिदिए । सांसद हीराप्रसादलाई मनमा कता कता चिसो पसेको महसुस भयो । अस्तिमात्र सत्तापक्षका सभापतिले सहायक मन्त्रीका लागि कोशिश गरिदिने वचन नदिएका होइनन् । तर पार्टीमा अन्तर्घात गर्ने मान्छेलाई काखी च्याप्नु हुँदैन भनेर ठूलो आवाज उठ्ने गरेको छ । उनलाई दिएको वचन आज तीन दिनमात्र हुँदैछ । तर फेरि सोचे – विपक्षी दलका नेताले अविश्वास प्रस्ताव पारित भएर आफ्नो सरकार बने वन राज्यमन्त्रीको प्रस्ताव राखेका छन् । अविश्वास प्रस्ताव पक्का पास हुन्छ भनेर विश्वास पनि दिलाएका छन् ।
हीराप्रसादले अप्ठेरो मान्दै सेतो कागज ताने र कलम खोज्न श्रीमती सरिनालाई अह्राए । प्रतिपक्षी नेता जयकुमार भारतीले आफ्नो खल्तीको कलम दिदै भने – हाम्रो प्रयत्न चाँडै सफल हुँदैछ, धन्दा नमान्नुहोला ।
श्रीमतीले कलम लिएर आइपुग्दा उनले खाली कागजमा सही गरेर कागज प्रतिपक्षी नेताको हातमा दिइसकेका थिए । उनको अनुहारमा कालो बादलको छाया प्रष्ट रूपमा देखिन्थ्यो ।
प्रतिपक्षी नेताले अर्को मानिसलाई परिचय गराउँदै भने – उहाँ हाम्रो पत्रिकाको सम्पादक, यो सरकारलाई गाली गरेर तपाईंले एउटा अन्तर्वार्ता दिनुप¥यो । यो सरकार प्रजातन्त्र विरोधी सरकार हो भनेर तपाईंले प्रष्ट भनिदिनुपर्‍यो ।
यति भन्नेबित्तिकै उनी विदा भए र उनीसँग आएको एउटा पत्रकार रेकर्डर लिएर अन्तर्वार्ता लिन तयार भयो ।
प्रतिपक्षी दलका नेता बाहिर निस्केपछि हीराप्रसादले प्रतिपक्षी दलको पार्टी पत्रिकालाई एउटा अन्तर्वार्ता दिए । अन्तर्वार्तामा सरकारलाई उनले प्रशस्तै गाली गरे । धेरै र नयाँ आरोपहरू लगाए । संसारको सबैभन्दा सुन्दर व्यवस्था भनेको कम्युनिष्ट शासन प्रणाली नै हो भनेर नयाँ नयाँ तर्कहरू पेश गरे ।
पत्रकार बाटो लागिसकेपछि एउटा खाली कागजमा सरकारको विरूद्ध अविश्वास प्रस्तावमा मतदान गर्न सक्ने सांसदहरूको नाम टिपे । मन्त्री नपाएका स्वतन्त्र सांसदहरू जोडे, फेरि केरे फेरि जोडे । सानासाना केही राजनीतिक पार्टीहरू पनि जोडे जो सरकारमा आउने दिनको सपना बोकिरहेका थिए । तर कसैगरी एकसय तीन पुगेन ।

केही दिनदेखि सांसद हीराप्रसादको बेचैनीलाई बाहिरैबाट प्रष्ट देख्न सकिन्थ्यो ।
अचेल किन प्रधानमन्त्रीले फोन गर्दैनन् ? पहिले त दिनैपिच्छेजसो कुरा गर्थे । बाहिर पत्रपत्रिकामा यत्तिका समाचारहरू छापिइरहन्छन् । पहिले अविश्वास प्रस्तावको हल्ला आयो कि तपाईंलाई पनि कुनै मन्त्री बनाउने मेरो योजना छ भन्थे । अविश्वास प्रस्ताव पास हुन्छ भनेर प्रतिपक्षी दलको नेताले मलाई कतै ठूलो धोका दिएको त होइन । मनभित्रको उकुसमुकुसलाई अँध्यारो अनुहार बनाएर हीराप्रसादले श्रीमतीसमक्ष पोखे ।
जति चोट परे पनि श्रीमतीका अघिल्तिर यति कमजोर हैसियत उनी कहिल्यै प्रकट गर्दैनथे । हीराप्रसादको यो स्वभावलाई उनकी श्रीमती सरिनाले स्पष्टसँग महसुस गरेकी थिइन् । सरिनाबाट केही सान्त्वना पाउने उनको इच्छा फेरि भाँचियो, जतिबेला सरिनाले उनको कुरामाथि कुनै ध्यान दिइनन् । यस्तो संवेदनशील कुरामाथि सरिनाको कुनै गम्भीर प्रतिक्रिया नभएको कुरामा उनलाई मनमनै रिस पनि उठ्यो । तर, यो रिसलाई श्रीमतीका अघि कसरी प्रस्तुत गर्ने ? उसको लागि यो पनि सजिलो कुरा थिएन ।
अब चुनाव आउन तीन वर्षमात्र बाँकी छ । दुई वर्ष कुनै उपलब्धिविना बित्यो । सांसदको तलब र भत्ताले परिवार पाल्न र बैंकको व्याज मात्र तिर्न ठिक्क छ । आफ्नो क्षेत्रका जनताहरूले सांसदले कुनै काम गरेन भनेर आवाज उठाउने बेला भइसक्यो । यो काम गरिदिन्छु, त्यो काम गरिदिन्छु भनेर कति समय थामथुम पार्ने । गर्छु भनेका कामहरू पहाड जसरी उरूङ लागेर थुप्रिएका छन् । हिजो चुनावमा खटेर हिँडेका कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गर्न थालिसकेका छन् । उनीहरूलाई खुशी पार्न सकिएन भने अर्कोपटक जिल्ला नटेके पनि हुन्छ । नचाहँदा नचाहँदै पनि यस्तै यस्तै सोचाइहरू सिनेमाको पर्दामा झैं उनको मानसपटलमा आइरहेकोले आज हीराप्रसादलाई पटक्कै निद्रा परेन ।
अस्ति भर्खरमात्र अर्का स्वतन्त्र सांसद राघवसिंह भण्डारीले यहाँ आएर तीनघण्टा आफ्नो मनको दुखेसो पोखे । राघवसिंहले बोलिरहँदा मलाई पनि आफ्नो मनको कुरो उनको मुखले बोलेझैं लागेको थियो । राघवसिंहले भनेका थिए – पार्टीहरूले हामीलाई चुसेर फालिदिन्छन्, यदि हामीविना उनीहरूको काम चल्ने भयो भने ।
आखिर संसदमा तीनवटा पार्टीमध्ये कसैको पनि बहुमत छैन । घरि कोसँग घरि कोसँग मिलेर ठूला पार्टीहरूले सरकार चलाइरहेका छन् । हामीभन्दा अघिल्लो संसदमा स्वतन्त्र सांसदहरूले गरेको मोजमस्ती देखेर कमाएको र भएको सम्पत्ति सिध्याएर चुनाव जितियो । कस्तो भूतले खाने बेलामा परिएछ । पञ्चायत सकिएपछि कांग्रेसतिर लागियो । त्यो नेरेशे नमरूञ्जेल त्यहाँ टिकट पाइने छाँटै देखिएन । उसको माथि सबै नेतासँग बसउठ छ । पञ्चायतको विरूद्ध लागेर ठूलो दुःख पा’को, जेल परेको त्यागी मान्छे भनेर डुङ्गी पिटाको छ जिल्लैभरी । एउटा कर्मचारीलाई भन्सारमा सरूवा मिलाइदिएवापत मैले नै पचास हजार मिलाइदिएको हुँ । केको त्यागी हुन्थ्यो त्यो पाखण्डी ! परार त मैले त्यसको सबै भण्डाफोर गरिदिएँ । चुनाव जित्न पनि मैले त त्यसो गर्नैपथ्र्यो । थुप्रै कार्यकर्ताहरू कांग्रेस छाडेर मसँग लागेका छन् । उनीहरूको धेरै आशा र विश्वास छ ममाथि । म केही गर्न नसक्ने स्थितिमा छु भनेर उनीहरूलाई सुइँकोसम्म छैन । अहिलेसम्म मेरो पक्षमा बहस गरेरै बसेका छन् । तर अब कहिलेसम्म उनीहरूले मलाई साथ दिन्छन् । अब त आफ्नो चुनाव क्षेत्र जाँदा पनि होसियार हुनुपर्‍यो । भित्ताको घडीले तीन बजेको सूचना दियो । अटेसमटेस हुँदै चिन्ता र सोचाइहरूले रात्रिकालको शान्तिलाई चिरिरहेका थिए । उनको आँखामा निद्रा आउने कुनै संकेत थिएन ।
बेलुका सम्साँझै सुतेर घाम नआउञ्जेलसम्म नउठ्ने तपाईं अचेलभरि परिवर्तन हुनुभएको छ नि ! के सांसद भएपछि जनताको चिन्ता बढ्न थाल्यो कि के हो ? सरिनाको व्यङ्ग्यले निकै दुखेको अनुभूति भयो आज हीराप्रसादलाई । सरिना निद्राबाट व्युँझेकोमा खिन्न भए उनी । केही नबोली कोठाको बत्ती बालेर उनी शौचालयतिर गए ।
श्रीमतीका अगाडि हीराप्रसादलाई आफ्नो व्यथा पोख्न पटक्कै रूचि छैन । त्यतिमात्र होइन – आफूभित्रको चिन्ता श्रीमतीले कसैगरी पनि थाहा नपाओस् भन्ने उनको भित्री चाहना हो । किनकि मत किनेर चुनाव जित्ने कुराको सरिनाले पहिलेदेखि नै कडा प्रतिवाद गर्दै आएकी थिइन् । कांग्रेस पार्टी छाडेर स्वतन्त्र रूपमा चुनाव लड्ने कुरामा उनी पहिले पनि सहमत थिइनन् । त्यहीँदेखि उनको र श्रीमतीका आपसी व्यवहारमा समाजले बुझ्नेगरी चिसोपन देखा पर्दै गयो । सरिनाले बोलेको प्रत्येक शब्दहरूमा हीराप्रसादले व्यङ्ग्य खोज्न थाले ।
हीराप्रसाद शौचालयबाट फर्कदा सरिना उठेर विहानको काम शुरू गर्ने तरखर गर्न थालेकी थिइन् । हीराप्रसाद निद्रा मरिनसकेको अभिनय गर्दै भित्तातिर फर्केर सुते ।

सांसदज्यू हुनुहुन्न ?
सरिनाले झ्याल खोलेर बाहिर हेर्दा एउटा ठूलो झोला बोकेको अधवैंशेजस्तो लाग्ने कमिज सुरूवाल लगाइएको मान्छे र एउटा नवयुवक माथि फर्किएर कराइरहेका थिए । एक मन त सरिनालाई लागेको थियो – उनीहरूलाई केही पनि नबताउँ । तर त्यो पनि कसरी ? विहान राम्ररी उज्यालो भइसकेको थिएन । छिमेकीहरू सबैले थाहा पाइसकेका थिए । फेरि उनीहरू पनि ठूलो स्वरले कराइरहेका थिए । छिमेकमा मान्छेहरूले झ्याल खोलेर उनीहरूलाई हेर्न थाले । पल्लो घरबाट अनुराधाले उहाँको घर त्यही हो भनेर देखाइदिइन् ।
अब यी मानिसहरू कति समय यहाँ बस्ने हुन् ? खान दिनु, गाडी भाडा दिनु, कतैकतै घुमाइदिनु । अस्ति मात्र उहाँका चारजना कार्यकर्ताहरू विदा गरेको पाँच दिन पनि बितेको छैन । यिनीहरू पनि उहाँका कार्यकर्तै होलान् । त्यो बुढोचाहिँ लुगा हेर्दैखेरी परैदेखि गनाइहाल्लाजस्तो छ । सरिनाले मनमनै चिन्ताका सगरमाथा अग्ल्याइन् ।
हो ! सांसदको घर यही हो । भर्खरैमात्रै थाहा पाएझैं गरेर सरिनाले झ्यालबाट आगन्तुकहरूतिर फर्केर भनिन् ।
सांसदज्यू हुनुहुन्न ?
पाको मानिसले झन् ठूलो स्वरले कराएर भन्यो ।
हुनुहुन्छ । छिमेकीहरूले चियाएर हेर्लान् भन्ने डरले सरिनाले पनि ठूलै स्वरमा कराउँदै भनिन् र आगन्तुकहरूलाई माथिबाटै हातले इशारा गरिन् ।
खोज्दाखोज्दै लखतरान भएको बेला शिकारलाई बल्ल भेटेझैं गरी उनीहरू फूर्तिका साथ चप्पलैसहित भित्र कोठामा पसे । भित्र जति नै चोट परे पनि आगन्तुकहरूतिर फर्केर सरिनाले कुटिल हाँसो हाँसी र केही नबोली खबर गर्न पल्लो कोठातिर पसी । भित्र जति नै दुखे पनि राम्रो व्यवहार देखाउन हीराप्रसादले श्रीमतीलाई सांसद हुने सपना देख्नेबित्तिकै सिकाइसकेका थिए ।
फेरि तपाईंका दुईजना सन्तानको सवारी भा छ जानुस्, बैठक कोठामा । गाउँबाटै आएजस्तो छ । श्रीमतीले नाक खुम्च्याउँदै ओठे समाचार सुनाएको तरिकाबाट यी मानिसहरू आएको उसले मन पराएकी छैन भन्ने कुरा उनले बुझिसकेका थिए ।
उहाँ हाम्रो ठूलो सहयोगी मान्छे । उहाँहरूकै मद्दतले मैले चुनाव जितेको हुँ । उहाँको नाम शिवराज खत्री र ऊ भाइ उहाँको छोरो । सरिनाले चिया टेबुलमा राख्न नभ्याउँदै हीराप्रसादले आगन्तुकहरूको परिचय अघि सारे ।
होइन, माननीयज्यू, जनताहरू त रिसाउन थाले नि । चिया हातमा लिँदै चिन्तित मुद्रामा शिवराजले माननीयलाई गाउँतिरको पहिलो हालखबर सुनाएर कुरा अघि बढाउन खोजे ।
पार्टीका मान्छेले हल्ला चलाएका होइनन् । भित्रभित्रै पीडालाई लुकाएर हीराप्रसादले यो कुरालाई सामान्य बनाए ।
माननीयज्यूको त गाउँतिर मन्त्री हुने ठूलो हल्ला चलेको छ । पहिलेको खबरले माननीयलाई कुनै प्रभाव परेको नदेखेपछि शिवराजले दोस्रो तीर फाले ।
हेर्नुस् शिवराजजी ! यतिबेला भइसक्नुपर्ने हो, तर त्यसै ढिला भइरहेको छ । म आफै पनि अचम्ममा परिरहेको छु । अविश्वास प्रस्ताव पास भएपछि त मेरो मन्त्री बन्नु टुंगै छ नि । निराश बन्दै गएको मनलाई फेरि उनी आफैले ढाडस दिए ।
माननीयज्यू ! मेरो छोराले यसपटक एसएलसी पास ग¥यो । अब कलेज पढाउन घरको आर्थिक अवस्थाले धान्दैन । मैले हजुरलाई पहिले पनि बिन्ती गरेको थिएँ । चुनावको बेलामा हजुरले म चुनाव जिते पनि हारे पनि जागिर लगाइदिने वचन दिइबक्सेको थियो । म विश्वासमा परेर त्यति टाढादेखि आएको छु । शिवराजले छोरो विजयतिर हेर्र्दै आफू काठमाण्डू आउनु परेको गाँठो खोले ।
म मन्त्री भएपछि त त्यो सामान्य कुरा हो नि ! बरू तपाईंहरू अहिले घर जानुस् । संसदमा अविश्वास प्रस्ताव दर्ता हुनेबित्तिकै आउनुहोला । हीराप्रसादले अप्रत्यक्ष तवरले आफ्नो अप्ठेरो खोल्दै, आफू एउटा मिटिङमा गएर आइहाल्ने बताउँदै बाहिर निस्के ।
कोठामा बाबु र छोरामात्र थिए । सांसद पत्नी सरिना भान्साको काममा व्यस्त थिइन् ।
बुबालाई यो भ्रममा नपर्न मैले पहिलेदेखि नै भनेको हुँ नि । विजयले पहिलेदेखिको आफ्नो कुराले जितेको प्रमाण अघि सा¥यो । ठूला मान्छेलाई विश्वास गर्न सिक्नुपर्छ – शिवराजले आफ्नो पुरानो तर्क फेरि दोहो¥यायो ।
यिनीहरू त आफनो स्वार्थका लागि जे गर्न पनि तयार हुन्छन् । यिनीहरूलाई ठूला मान्छे भन्ने हामी मूर्ख हौं । यिनीहरू पद र पैसा भएपछि देश, समाज, पार्टी, सिद्धान्त केही पनि भन्दैनन् । विजयले बाबुको भनाइका विरूद्ध सदाझैं फेरि पनि कडा प्रतिवाद ग¥यो ।
त्यो सबै तपाईलाई चुनाव जित्नलाई बाँडेको भ्रम हो । मैले पहिले पनि तपाईंलाई बारम्बार भनेको थिएँ । यो मान्छेले जिल्लामा चुनाव जित्नलाई के भनेन्, के गरेन । तपाईंहरू जस्ता सोझा मान्छेहरूको सिकार गरेर आफनो स्वार्थ पूरा गर्छन् यिनीहरू । विजयका बारम्बार भनिरहने यी कुराहरू शिवराजलाई कताकता सत्य हुन् कि भन्ने लाग्न थालिरहेको थियो ।
विजयले शहरमा केही काम खोजेर पढ्छ भन्दा पनि शिवराजले मानेनन् र सँगसँगै घर लिएर फर्के । वास्तवमा यसै पटकमात्र उनलाई छोरो बुद्धिमानी रहेछ कि भन्ने महसुस भयो । उनले चुनावकै बेलामा शिवराजलाई भनेको थियो, – पद र पैसाका लागि कुनै विचार र सिद्धान्तलाई त्याग्ने मान्छेको पछि नलाग्नुस् ।
यता शिवराजको मनभित्र हीराप्रसादका भनाइहरूले चुनावको समयमा पारेका प्रभावहरू कमजोर हुँदै गएका थिए तर पनि अन्तर्मनको एउटा कुनामा अझै पनि विश्वासका सानासाना झुल्काहरू बाँकी नै थिए । चुनावदेखि नै गाउँटोलमा हीराप्रसादको विरूद्धमा युवाहरूबाट शुरू भएको असन्तुष्टि फैलिरहेको थियो ।
विजयलाई लिएर काठमाडौं जाँदा किनेर ल्याएको रेडियोबाट शिवराजले अविश्वास प्रस्तावको समाचार आउँछ भन्ने आशामा धेरै समयसम्म सुने । कहिल्यै रेडियोको समाचार सुन्न चाख नमान्ने बाबुले सदादिन समाचार सुन्नुको कारण विजयले बुझेको थियो ।
विस्तारै विस्तारै शिवराजभित्र रेडियोको समाचार सुन्ने रूचि हराउँदै थियो ।

(अक्षर, वर्ष–१, अङ्क–२)


















चुनावको मौसम



उसको बाल्यकाल यो गाउँमा बितेको कुरा मलाई धेरै पछि मात्र थाहा भयो । यो गाउँमा उसले सबैतिर घुमेर भोट माग्यो । सबैलाई नाता लगायो । गाउँलेहरूले उसको कुरालाई गम्भीरतापूर्वक सुने । यो गाउँसँग उसको सम्वन्धका बारेमा उसले मलाई कहिल्यै भनेन । प्रसंगमा उसले मलाई यतिमात्र भनेको थियो – दाइ ! म त व्यवहारबाट बुझेर यो आन्दोलनमा आइपुगेको हुँ ।
त्यो छाप्रोमा भोट माग्नु पर्दैन ?
मैले जीप कुदिरहेको बेला बाटाछेउको एउटा जीर्ण छाप्रोलाई देखाउँदै उसलाई सोधेको थिएँ । उसले मोटरलाई त्यस ठाउँमा रोक्न भनेन । मेरो प्रश्न झर्ने वित्तिकै उसको अनुहारमा मैले एक्कासी कालो छायाँ देखेँ । म अत्तालिएँ । कसरी यस्तो भयो ? उसभित्र कुनै नराम्रो दुर्भावनाको संकेत त्यसबेला मैले पाएँ । ऊ अर्कोतिर फर्किरहेको थियो । म घरि जीपको ढोकाबाट बाहिर हेर्थे घरि उतिर । ऊ त्यति लामो समयसम्म पनि मतिर फर्केर हेरेन । मभित्र धेरै धेरै प्रश्नहरू खेलिरहे ।
ड्राइभरले घ्याच्च ब्रेक लगायो । झण्डै हामी अगाडिको भागमा पुगेर नठोकिएको । अगाडि बाटोमा ठूलो खाल्डो रहेछ । ड्राइभरले कुनै ठूलो दुर्घटनाको संभावित आशंका व्यक्त ग¥यो र भन्यो – झण्डै खाल्डोमा नखसेको । उसले विस्तारै गाडीलाई ब्याक ग¥यो र खेततिरबाट घुमाउँदै बाटोमा पुर्‍यायो । त्यतिबेला मात्र उसले अत्तालिएर अगाडि हेर्‍यो । त्यसबेलामात्र उसको अनुहारमा मैले हेरेको थिएँ । उसले हातले आँसु पुछेको रहेछ । उसको आँखामा आँशु अझै डबडबाइरहेको थियो । गाडी आफ्नै सुरमा अगाडि दौड्यो ।
सन्तोष तिमीलाई के भयो ?
केही भा छैन दाइ । तर उसको स्वर लरबरिएको थियो । उसको स्वर रोइरहेको छातीबाट निस्केझैं लाग्दथ्यो । सन्तोष त त्यस्तो मान्छे थिएन । म यो चुनावमा ऊसँग हिँडेको करीब एक महिना बितिसकेको थियो । हाम्रो समूहभित्र उभित्रको जिम्मेवारीबोध अत्यन्तै माथिल्लो प्रकारको थियो । नबुझेका मान्छेहरूलाई चुनावका बारेमा राम्ररी सम्झाउने र बुझाउने क्षमता राख्थ्यो । ऊ अधिकांश मान्छेहरूको प्यारो भइसकेको थियो । ऊ यतिबेला आफ्नो पीडा लुकाउने कोशिस गरिरहेजस्तो महसुस मलाई भइरहेको थियो । तर मैले सन्तोषको अवस्था जसरी भए पनि बुझ्नै पथ्र्यो ।
तिमीलाई के भयो भन्नैपर्छ – मैले कर गर्दै उसलाई सोधेँ ।
आफूलाई केही नभएझैं गरेर उसले मतिर हे¥यो । उसको गालामा आँसु पुछेको आकृति प्रष्टै देखिन्थ्यो ।
सन्तोष दाइको घर त त्यही अघिको टोलमा पथ्र्यो नि ! आफनो घर गाउँको सम्झना आयो होला नि दाइलाई ? पछाडिबाट जमुनाले सन्तोषलाई जिस्क्याउने बहानामा भनी ।
ऊ घरपरिवार ध्वस्त भएको मानिस हो भनेर मैले केही पहिले सुनिसकेको थिएँ । ऊ कसरी यो आन्दोलनमा आइपुग्यो ? यसै क्षेत्रका साथीहरूलाई मात्र सबै कुराहरू थाहा थियो । म सन्तोषसँग कुुरा खोतल्ने आशयले सोधीखोजी गर्न थालेँ ।
दाइले जुन छाप्राको कुरा गर्नुभयो, त्यो मेरो घर हो र अहिले खाली छ । उसले लर्बरिएको आवाजमा बोल्यो । त्यसपछि मभित्रको कौतुहलता झन् बढ्यो ।
हामी यतिखेर बनिया गाउँको बीचबाट उत्तरतर्फ गइरहेका छौं । हामीलाई केही घण्टापछि चुरेछेउको एउटा गाउँमा हुने चुनावी सभामा पुग्नुछ । गाउँ यतिबेला चुनावको चहलपहलले बेहुलीझैं सिंगारिएको थियो । पोष्टरहरूले झिंगटीद्वारा बारिएका भित्ताहरू पनि भरिएका छन् । बाटोदेखि वारिपारिका घरहरूमा तुल र व्यानर टाँगिएका छन् । प्रत्येक राजनीतिक पार्टीका झण्डाहरू घरका छानाछानामा तँछाडमछाड गरेर प्रतिस्पर्धा गरेझैं देखिन्छन् । हिजोमात्रै यसै टोलमा नेपाल प्रजातन्त्र दलका कार्यकर्ताले आफूले पहिले राखेका झण्डाहरू साना भएका कारण ठूला झण्डाहरू प्रत्येक घरका छानाहरूमा गाडेर गए । अरूबेला कहिल्यै मोटरको मुख देख्न नपाइने बाटोमा दिनहुँ पचासौं गाडीहरू दौडाइन्छ । नयाँ नयाँ मान्छेहरू छिनछिनमा देखापर्छन् । चुनावमा उठेका उम्मेदवार र उसका मान्छेहरूले इनार र धारा कतिवटा र कहाँकहाँ चाहिन्छ भनेर सोध्छन् । गाउँका मान्छेहरू ग्वारग्वार्ती पछि लाग्छन् । गाउँमा एकपछि अर्को गर्दै हल्ला चल्छ – एक वर्षभित्र ठूलो स्कूल बन्ने भयो, फलानो ठाउँमा यति फिट गहिरो इनार खनिने भयो, कुलो, नहर, पैनी सबैको व्यवस्था हुने भयो ।
यो चुनावले गर्दा यो गाउँको रौनक नै फेरिएको थियो ।
गाउँको बीचमा एकछिन हामी चिया खान रोकियौं । हाम्रो जीपलाई वरिपरि केटाकेटीहरूले घेरे र पर्चा पोष्टर मागे । त्यतिबेलासम्म खुशी नदेखिएको सन्तोष पहिलेझैं फरासिलो पाराले केटाकेटीहरूसँग प्रस्तुत हुँदै भन्यो – चुनावमा तिमीहरूले पाउने ठूलो अधिकार भनेकै यही हो ।
हामी चिया पिएर फेरि अघि बढ्यौं । टन्टलापुर घामले बस्तीमा चहलपहल त्यति साह्रो थिएन । हामी चढेको जीपमा भएको माइकिङका कारण मानिसहरू सुन्नलाई अलिक नजिक नजिक आउँथे । बच्चाबच्चीहरू गाडीको पछिपछि दगुर्थे । रामु र जमुना पछिल्तिर माइकिङमा व्यस्त थिए । मैले सन्तोषसँग उसको जीवनबारे बुझ्न कुराहरू खोतल्न थालेँ । विस्तारै उसले आफ्ना कथाहरू भन्दै गयो ।

यो आजभन्दा दश वर्ष अघिको कुरा हो । संसदीय व्यवस्थाको पहिलो आम चुनावको समय थियो । अर्थात् त्यसबेला सन्तोष पाँच छ वर्षको मात्र थियो । उसकी आमा दीपिया दिनभर गाउँमा खेताला गरेर उनीहरूलाई पाल्थी । २०४६ सालको आन्दोलनको लगत्तैपछि दुई महिना थला परेर उसको बाबु म¥यो । त्यसपछि उसकी आमामाथि एक प्रकारको विपत्ति नै आइप¥यो । जमिनको नाममा दुई कठ्ठा ऐलानी जग्गा र त्यसमाथि एउटा सानो छाप्रो मात्र थियो । दैनिक मजदुरीको भरमा त्यो सानो परिवार धानिएको थियो ।
एकदिनको कुरा हो – जनआन्दोलनपछि पहिलो आमचुनावको प्रचारप्रसार तीव्र रूपमा भइरहेको थियो । दीपियाको सानो छोरो सन्तोषलाई पाँच दिनदेखि आइरहेको ज्वरो अलिकति पनि घटेको थिएन । फागुन महिनाको गर्मी चौपट्ट थियो । बनिया गाउँको छेउमा रहेको पिपल चौतारीमा सियाल ताप्ने मान्छेहरू बेला बेलामा बाक्लै देखापर्छन् । त्यही चौताराको एकाछेउमा दीपिया ज्वरोले ग्रस्त छोरो सन्तोषलाई सुम्सुम्याइरहेकी थिई । ऊ विरामी परेका यी दिनहरूमा छोरालाई छाडेर उसलाई कुनै काममा जाने जाँगर चलेको थिएन ।
दीपिया धेरै मानिसहरू बोलेको आवाज आफ्नो टोलभित्र कतैतिरबाट आइरहेको सुनी । उसलाई शंका त लाग्यो – यो हल्ला चुनावकै हुनुपर्छ । किनकि गाउँमा चुनावको ठूलो चर्चा परिचर्चा भइरहेको थियो ।
पूर्वतिरको गल्लीबाट एक हुल मानिसहरू आफू बसेकै ठाउँतिर आउँदै गरेको दीपियाले देखी । हुलमा एउटा सबैभन्दा मोटो र हृष्टपुष्ट मान्छे यताउता फर्किदै हात जोडेर हिडिरहेको थियो । धेरै मान्छेहरू उसको अघिपछि लागेका थिए । सेतो कुर्था र पाइजामा लगाएको त्यो मान्छे भीडमा अरू धेरै मान्छेहरूको बीचमा भिन्न देखिन्थ्यो । अरू अरू दिनमा पनि यसैगरी मान्छेहरू आइरहन्थे तर यो जमात अरू दिनको भन्दा ठूलो थियो । पछाडिपट्टि हाते माइकबाट गाउँकै युवक कराइरहेको थियो – हाम्रो घरदैलोमा, हाम्रै आँगनमा, हाम्रो आफनै उम्मेदवार सनकराम यादव तपाईं हाम्रो समस्या बुझ्न आउँदै हुनुहुन्छ । हामी भेटौं र आफनो समस्या सुनाऔं । उहाँको चुनाव चिन्ह हो – रूखमाथि चढेको मान्छे ।
दीपियालाई चौतारीमा बसेको देख्ने बित्तिकै अगाडि अगाडि हिडेको त्यो माटो जीउडालको मान्छे हात जोड्दै आयो । उसले हात जोडेको देखेर दीपियालाई केही अप्ठ्यारो पनि लाग्यो । भीडले एकैछिनमा सानो चौतारोलाई वरिपरिबाट घे¥यो ।
हँ कथी भेले ? कुनै चिन्तित मुद्रामा शनकरामले बच्चातर्फ आँखा घुमाउँदै दीपियालाई सोधेको थियो । त्यसबेला दीपियालाई कताकता सहारा पाएजस्तो लाग्यो । यसरी नम्र र मलिन पाराले उसको समस्या सुन्ने मानिस प्रायजसो आउँदैनथे गाउँमा । अझ यस्तो ठूलो मान्छेले यसरी भन्दा बढी नै ढाडस पाएको महसुस गरी उसले ।
बुखार आयल छै । डर मिश्रित स्वरमा उसले जवाफ दिएकी थिई ।
अहो बर्बाद भैले । दीपियाको जवाफ भुइँमा नझर्दै अत्यन्तै दुःख लागेको भाव प्रकट गर्दै शनकरामले जवाफ फर्काएको थियो ।
धेरै मान्छेहरूको जमातअगाडि बसेर दीपियाले अहिलेसम्म दोहोरो कुरा गरेकी थिइन । यत्रो भीडमा उसलाई मान्छेहरूसँग कुरा गर्न निकै नै अप्ठ्यारो लागिरह्यो । यसरी मान्छेहरूसँग कुरा गर्नुपर्दा आफ्नो जीऊ नै हप्प फुलेझैं लागेको थियो दीपियालाई । तर शनकरामको पछि हिड्ने फूलो पनि सँगसँगै देखेर दीपियालाई कताकता सजिलो भइरहेको थियो । फूलो दीपियाकी बालसखा पनि थिई ।
गरिबीले पिल्सिएको भए पनि दीपियाको शारीरिक सुन्दरता धेरै मानिसहरूलाई प्रभावित पार्ने खालको थियो । यही कारणले उसले जीवनमा धेरै हण्डर र ठक्कर खाएकी पनि थिई । शनकराम पनि उसको शरीरमा एकछिन टोलायो । फूलोले पनि यो कुरो बुझेकी थिई । त्यसैले शनकरामतिर फर्केर फूलोले एकपटक आँखा झिम्क्याई । शनकराम भित्रको पाखण्ड प्रवृत्तिसँग त्यहाँ फूलोमात्र राम्ररी परिचित थिई । उसलाई बुझेर उसका कामहरूलाई सहज बनाउँथी ऊ । शनकरामको भित्री स्वभाव बुझ्ने कुनै सम्भावना त्यहाँ वरिपरि कसैको पनि थिएन ।
फूलो यस्ता चुनावहरूमा खुबै सकृय हुन्थी । पञ्चायती चुनावमा वडाध्यक्ष पदमा जितेकी थिई उसले । दीपियाले मनमनै सोची – फूलोलाई भनेर योसँग सहयोग लिनुपर्ला । गाउँका मान्छेहरू फूलोलाई त्यति राम्ररी हेर्दैनन् । पहिले गाउँको विकासका लागि आएको पैसा उसले खाइ भन्ने चर्चा दीपियाले प्रशस्त सुनेकी थिई । अड्डा अदालतमा कुद्ने र सार्वजनिक कामहरू आदिमा ऊ जहाँ भए पनि अगाडि नै पुगेकी हुन्थी ।
यदि बकरा भोट देवी त निमन हे तो । भीडलाई उधिनेर अगाडि सर्दै फूलोले दीपियालाई भनेकी थिई त्यसबेला । दीपियाले पनि मनमनै सोचेकी थिई – मान्छे हेर्दा त असलजस्तो छ । यसले चुनाव जित्यो भने राम्रै सहयोग गर्ला ।
शनकराम यादव त्यहाँबाट हिँड्ने बेलामा हातले बिस्तारै बच्चालाई मुसा¥यो । भीड बिस्तारै अघि बढ्यो । भीडमा गाउँका अरू धेरै मान्छेहरू थपिए । फूलोले जोड जोडले चिच्याउँदै नारा लगाइरहेकी थिई । भीड विस्तारै दीपियाको आँखाबाट ओझेल प¥यो ।
चुनाव आयो । गाउँलाई कुनै चाडपर्व आएझैं महसुस भयो । चुनाव सकिएको दुई चार दिनपछि गाउँ फेरि खुशी भएर उठ्यो । गाउँका अगुवा भनाउँदाहरूले अबीर जात्रा गरे । त्यसबेला दीपियालाई पनि अबीर लगाएर नाच्न मन लागेको थियो । शनकरामले जितेको उपलक्ष्यमा फूलोले प्लास्टिकभरी अबिर बोकेर गाउँ घुमी र दीपियालाई पनि लगाइदिई । पहिले पहिलेको चुनावमा पनि दीपियाले भोट दिएका मान्छेहरूले नै जितेको कुरा सुनेकी थिई उसले । तर जितेको मानिसलाई प्रत्यक्ष रूपमा यसरी चिनेकी थिइन । शनकरामले चुनाव जितेपछि दीपियाले आफूलाई निकै शक्तिशाली महसुस गरी ।

करीब एक महिनापछि एकबिहानैको कुरा हो । फूलोले एक्कासी दीपियालाई काठमाडौं जाने प्रस्ताव राखी । दीपियाले त्यसबेला आफ्नो जीवनमा घामको झुल्को परेको महसुस गरी । खुशीले कतै उसलाई सपना पो हो कि जस्तो लाग्यो । अझ फूलोले उसलाई सुख सयलका फूलबुट्टे कथाहरू सुनाउँदा उसको अवचेतन मन स्वप्निल संसारमा रमाउन थालेको थियो । शुरूमा फूलोले सन्तोषलाई नलाँदा राम्रो हुने सल्लाह दिई । तर तत्कालै फूलोलाई उसले विस्तारै भनेकी थिई – म त उसैका लागि बाँचेकी छु, कसरी छाडेर जानसक्छु र ?
उसको भावनालाई फूलोले राम्ररी बुझी र विस्तारै सम्झाउँदै भनेकी थिई । के फरक पर्छ र केही समय गएर पैसा कमाएपछि सन्तोषलाई फेरि लान सकिहालिन्छ नि । फूलोले यसो भनिरहँदा उसको मन कटक्क काटिएको थियो ।
गरिबीले पिल्सिएको मन न हो । ज्याला मजदूरीले एक छाक खान नपुग्ने । सदा दिन अपमानको भारी बोक्नुपर्ने । ऊ यही अपमानको भारी बिसाउन र काम गरेर दुई छाक पेटभरी खान र ख्वाउन चाहन्थी । कता कता उसले छोरालाई नै सोचेर भोलिको सुखी दिनको कल्पना गर्न पुगेकी थिई । अब उसले निर्णय गरी, फूलोसँग काठमाडौं जाने, पैसा कमाउने र छोरालाई पछि साथै लाने । ऊ सन्तोषलाई छाडेर काठमाडौं जान राजी भई ।
त्यसको केही दिनपछि सन्तोषलाई गाउँका काकाको जिम्मा लगाएर दीपिया फूलोसँग काठमाडौं गएकी थिई ।
बिस्तारै सन्तोष त्यही गाउँको धुलोमा हुक्र्यो । त्यही गाउँको उब्रिएको भात खाएर बाँच्यो । फूलो फर्केर गाउँ आएपछि सबैले दीपियाका बारेमा ऊसँग सोधे । उसले दीपिया काठमाडौं पुगेर हराएको कुरा गरी । धेरै खोजेको र आफूहरूले नभेटेको कुरा गरी । पत्र पत्रिकाहरूले लेखे – मन्त्री शनकराम यादवले नेपाली महिलाहरूलाई विदेशमा लगेर बेच्छ । फूलोसँग साथ लागेर काठमाण्डू जानेहरू अरू पनि थुप्रै थुप्रै हराए । त्यसपछि ऊ पनि काठमाडौंतिरै बस्न थाली । शनकराम अरू क्षेत्रमा गएर चुनाव जित्न थाल्यो । दाइले देखाउनु भएको छाप्रो मेरो घर थियो । त्यो घर अहिले खाली छ ।

सन्तोषले आफ्नो जीवनको कथा भन्दाभन्दै हामी चुरेछेउको गाउँमा आइपुगेका थियौं । उजाड गाउँ चुनावको प्रचारले रंगिएको थियो । धुलो र माटोले धुस्रैफुस्रै देखिएका केटाकेहीहरू हामीहरूसँग पर्चा माग्न तँछाडमछाड गरिरहेका थिए । सन्तोषले जोडले माइकिङ गर्दै नारा लगायो – संसदीय चुनावको भ्रमजालमा नफसौं । हामी विस्तारै विस्तारै आफ्नो कार्यक्रम स्थलतर्फ अगाडि बढ्यौं ।

(नौलो कोशेली, पूर्णाङ्क – १८)













फुटपाथ



ग्राहकसँग मोलतोल गर्दा नगर प्रहरीको मोटर अगाडि रोकिएको सम्म देखेन नरबहादुरले । उसको अगाडि मोटरबाट प्रहरीहरू बुद्रूक्क हाम फाल्दा मात्र झल्यास्स भयो ऊ । वरिपरि तुरून्त आँखा डुलायो उसले । सबै साथीहरू भागेर परपरसम्म पुगिसकेछन् । ओखलढुङ्गे कान्छो परबाट हातका इसाराले चाँडो आइज भन्दै थियो । कस्तो बिलखबन्दमा परेको छ ऊ । भागिहाल्न ग्राहकले सामान लिइसकेको छ र पैसा भने दिन भ्याएको छैन । ग्राहकले पैसा झिक्न ढिलो गरेकोले नरबहादुरले त्यसलाई पर्खन उपयुक्त ठानेन र प्लाष्टिक गुटमुटाएर भाग्ने सुर कस्यो । प्लाष्टिकको पोकोलाई पछाडि बोकेर अगाडितिर भाग्न मात्र के लागेको थियो, पुलिसको हातले बलियोसँग चिलले परेवालाई गाँजेजस्तो प्लाष्टिकको पोकालाई गाज्यो ।
आजलाई छोडदिनुस् दाइ । नरबहादुरको यो याचना पुलिसहरूको बीचमा हाँसोमा उड्यो ।
दिनभरिमा बल्ल भेटेको शिकार पनि छोडने अरे । पुलिसहरूले खुशी हुँदै भनेको आवाज नरबहादुरले पनि सुन्यो ।
पुलिसको हात परिसकेपछि प्लाष्टिकको पोकोलाई एकपटक नरबहादुरले तानेको मात्र के थियो अर्को पुलिसको लठ्ठी नरबहादुरको ढाडमा बज्रियो । ऊ टुँडिखेलको बारमा एउटा हातले समातेर अर्को हातले चोट सुम्सुम्याउन थाल्यो । लठ्ठीको प्रहारको दुखाई सामान्य भएपछि नरबहादुरले पुलिसहरूतिर फर्किएर हे¥यो । प्लाष्टिकको पोकोलाई उनीहरूले मोटरमा चढाइसकेका थिए ।
पल्लो कोठाको टेबुल घडीले रातको बाह्र बजेको संकेत दियो । नरबहादुरको यो रात कोल्टो फर्काइसँगै बित्दैछ, निद्रा आउने कुनै संकेत छैन । काठमाडौंको माघे जाडो रात बित्नसँग छिप्पिदै पनि छ । यो लगातारको असफलताको उसले अन्य बाटो खोज्न जरूरी सम्झेको छ ।
भ्यान्टिलेशनको प्वालबाट छिरेको प्रकाशले सबै कोठालाई उज्यालो बनाइसकेको छ ।
"काठमाडौंको वरिपरि डाँडाहरूमा सबैतिर हिउँले ढोकेको छ रे ? दाजुहरू फूलचोकी हिउँ हेर्न जाने कुरा गर्दैछन् ।" पल्लोतिरको कोठामा इन्दिराले आमालाई भन्दै छ ।
नरबहादुरलाई आज उठ्ने जाँगर त थिएन तर इन्दिराको कुरा सुनेर झनै सिरक छोड्न सकेको छैन ।
"आज त चाँडै ओछ्यान छोडेर पनि के गर्नु भाका मालसमानहरू पुलिसले उठाएर लगिदिइहाल्यो । हिजो अस्ति यति बेला सामान लगेर बुहुनी समेत भइसक्थ्यो । फुटपाथ पसल न हो । पुलिससँग सामान माग्न जाउँ भने आधा पनि दिदैनन् । पुलिसकै जहान परिवार धनी भैसके । जरिवाना भनेर दुईचारसय थुतिहाल्छन्, कति रिन खानु । कोठा भाडा तिर्न नसकेको पनि दुई महिना पुगिसक्यो । बैदार बुढाले घरमा आएर दिनैपिच्छे धम्क्याउँदा हुन् । कर्जा लिएर हिँडेको पनि एक वर्ष पुग्न लागिसक्यो । बैदार बुढाले ब्याजलाई डबल पुर्‍याइसक्यो होला ।" नरबहादुरले सिनेमाको रिलजस्तै समस्या र कष्टहरूको मुठो खोल्यो । आफ्नो गाउँ सम्झन्छ । एकाएक गर्दै ऊ स्कूल जानुपर्ने भाइ र उमेर पुगेकी बहिनीलाई पनि सम्झन्छ । वरिपरि समस्या बाहेक आफ्ना अगाडि आसाको तत्काल सम्भावना देख्दैन ऊ ।
यसैबेला ढोकामा ढ्याक ..... ढ्याक ... आवाज आउँछ । यो आवाजले ऊ हतार हतार जीउमा कपडा भिर्छ र ढोका खोल्छ ।
कसलाई खोज्नु भो ?
यतातिर शाह ठेकेदार कहाँ बस्नुहुन्छ होला ?
उहाँ त पल्लो कोठामा बस्नुहुन्छ । तर दुई चारदिनदेखि देखेकै छैन – नरबहादुरले तुरून्त जवाफ दियो ।
आगन्तुकले ओठ लेप्य्राएर टाउको दुईचार पटक तलमाथि हल्लायो । नरबहादुरले मनमनै गुन्यो – त्यो ठेकेदारले काम लगाउने मानिस होला यो गाउँबाट भरखरै आएजस्तो छ चण्डालको फेला प¥यो ।
आगन्तुकलाई देख्ने बित्तिकै आफू सानो छँदाको दौतरी डिल्लीको याद आयो उसलाई । अनुहार पनि झन्डै झन्डै मिल्ने । कतै डिल्ली नै त होइन यो । कोइलाखानी जानेलाई पच्छयाउँदै गयो भन्थे । काठमाडौंमा हुन पनि के बेर ।
ठेकेदारको स्वभावसँग नरबहादुर राम्रै परिचित थियो । धेरै सोझा सिधा मानिसहरूलाई उसले ठगेको नरबहादुरलाई थाहा थियो । अरू जानकारी लिन नरबहादुरले बिस्तारै परिचय लिने विचार ग¥यो ।
तपाई कहाँबाट आउनुभएको होला ?
यही ठेकेदारलाई भेट्न आको, हामीले काम गरेको ज्याला नै दिएन घर जान खर्च छैन ।
तपाईंको घर चाहिँ ?
मेरो घर पूर्व २ नम्बर । नरबहादुरले मनमनै सोच्यो, यसरी ठेगाना बताउने यो मानिस गाउँबाट आएको धेरै भएको छैन । बुझिन्थ्यो आगन्तुकलाई यो संवादले मन तान्न सकेको थिएन । हत्तारिएका र अत्तालिएका उसका चेहराले लाग्दथ्यो कि ऊ ठूलै समस्यामा अल्झिएको छ ।
दुईचार दिनदेखि ठेकेदार कोठामा नदेखेपछि धेरै पटक मानिसहरू आइसकेका थिए । नरबहादुरले मनमनै गु¥यो – मैले त यसलाई मात्रै न सोधें अरू सबै जना यो चण्डालको महाजालमा परिसकेको हुनुपर्छ ।
त्यो ठेकेदारको घर तपाईंलाई थाहा छ ? आगन्तुकले नरबहादुरलाई सोध्यो ।
मसँग यसले मेरो घर रक्सौला हो भन्थ्यो । नरबहादुरको कुरा सकिन नपाउँदै आगन्तुकले ठूलो आवाज निकाल्दै भन्यो – हामीलाई त फेरि जनकपुर हो भन्थ्यो ।
ज्याला दे धुँकल व छे वाहे म व्यू यँ हए वी धागु, (पाँचमहिना भइसक्यो यसले त भाडा नै दिएको छैन, आज ल्याइदिन्छु भन्थ्यो) – घरवाला साहु माथिबाट ठूलो स्वरमा श्रीमतीसँग बरबराउँदै झर्‍यो ।
साहुको आवाजले नरबहादुर पनि झस्कियो । नरबहादुरले पनि दुई महिनाको तिर्नुपर्ने भाडाको म्याद तीनदिन अघि नाघिसक्यो ।
साहु आएर ठेकेदारको कोठाको ढोकामा धक्का दिन्छ । झुण्डिएको साँचोको स्पर्श पाएपछि उसको रिसको पारो अझै बढेको महसुस हुन्छ ।
यो कोठा कहिलेदेखि बन्द छ ? नरबहादुरतिर हेर्दै साहुले सोध्यो ।
चार–पाँच दिनदेखि देखेको छैन । डर मिसिएको बोली नरबहादुर विस्तारै ओकल्यो ।
साहुले रिसले राता भएका गालाहरूमा पातलो दाह्रीका ठोसाहरू झनै प्रष्ट देखिए । ढोकालाई एक धक्का दिदै साहु भन्छ – "अब यो भागेको होला, यस्तो चोर पनि ठेकेदार हुन्छ ।"
नरबहादुरले साहुको मुखतिर सिधा हेर्न सकेन । साहु एकछिन बरबराउँदै उभिँदा नरबहादुर ठेकेदारको ढोकामा एकटकले हेरिरह्यो ।
"यो को हो नि ?" आगन्तुकतिर औंला ताक्दै नरबहादुरतिर फर्केर साहुले ठूलो स्वरमा कड्किन्छ ।
तिमीले कोठामा पालेको मान्छे होला यो । नरबहादुरले उत्तर दिन नभ्याउँदै साहु उतिर थुप्रै अपमानित शब्दहरू बर्षाइसक्छ ।
होइन, उहाँ त यही ठेकेदारलाई खोज्न आउनु भाको । नरबहादुरले विस्तारै साहुलाई बयान दिन्छ । साहु पुनः कोठाको चाबीलाई यताउता हल्लाइरहन्छ ।
तिमी पनि यही ठेकेदारजस्तै भाडा नदिई भाग्ने होला अहिले नै भाडा देउ । साहुको खप्कीको प्रतीक्षा गरेजस्तो नरबहादुर ठिङ्ग ढोकामा उभिरह्यो ।
तिमी अहिले नै भाडा देऊ – नरबहादुरको नजिक गएर साहु अर्को पटक पनि भन्छ ।
म भरे बेलुका नै तपाईंलाई ल्याइदिन्छु । नरबहादुरले बिस्तारै भन्छ ।
आफ्नो अस्वभाविक जवाफतिर फर्केर नरबहादुरलाई मूल्यांकन गर्न मन लाग्छ । आफैलाई विश्वास नलागेको जवाफ । आफू उभिएको ठाउँबाट नरबहादुर मूलगेटतिर यसो आँखा सार्छ आगन्तुक फर्कर्दै हेर्दै फर्कदै परसम्म पुगिसकेको छ ।
भ¥याङ्ग चढ्दा पनि साहु भन्दै छ भरे ल्याइदिएन भने त अरू पनि केही नसुनिने कुराहरू भन्दै साहु कोठातिर पसेको भान हुन्छ ।
पल्लो कोठामा सरितालाई समय सोध्दै नरबहादुर लुगा लगाउँछ । एक मन त सोच्छ आजसम्मको नाफा जति सबै पुलिसलाई घुस ख्वाउँदै ठिक्क छ । आज पनि दुईचार सय नखुवाई सामान दिदैन बरू नजाँदै ठीक होला । फेरि मनमा अर्को कुरा आउँछ । सुब्बा अमरराजकहाँ गएर केही पैसा मागौं कि ? भएका सामानहरू मध्ये केही सस्तो मस्तोमा विक्री गरेर भाडा बुझाउनुपर्‍यो र भोलि नै टिकट लिएर घरतिर हिड्नुपर्‍यो ।
नरबहादुर फटाफट सुब्बा अमरराजको कोठामा जान्छ । अमरराज उसको गाउँको मान्छे हो । बेलामौकामा खरखाँचो प¥यो भने अमरराजले गाउँतिरका मानिसहरूलाई चर्को व्याजमै भए पनि पैसा दिन्छ । अमरराजको कोठामा पुगेर ऊ ढोकामा आवाज नदिई घकेल्छ । ढोकाको अकस्मात खुलाइले अमरराज झस्किदै सोध्छ – "किन आयौ नरबहादुर ? "
"हजुर! अत्यन्तै समस्या परेर आएको ।" नरबहादुरले तुरून्त जवाफ दिन्छ ।
के हो त भन न । जुत्तामा पालिस लाउँदै अमरराज कुरा खोतल्छ । आफूलाई पाँचसय रूपैया तुरून्त चाहिएको कुरा नरबहादुरले बताइनसक्दै उसको हातमा साठी प्रतिशत व्याज लाग्छ भन्दै अमरराजले पाँचसय रूपैया राखिदिन्छ ।
नरबहादुर अत्यन्तै चाँडो पाइला अगाडि बढाउँदै त्यहाँबाट हिँड्छ । प्रहरी क्वाटरको गेटमा पुग्ने बित्तिकै नरबहादुरले विगतमा प्रहरीबाट भएको दुव्र्यवहार सम्झ्यो । गहु्रंगा पाइलाहरू घिस्याउँदै ऊ पुलिस कार्यालयमा पुग्यो ।
सानै भए पनि माछो आइहाल्यो नि । त्यो पनि बुहुनीको समयमा कसो त हर्के ? कार्यालयको ढोका नटेक्दै नरबहादुरतिर आँखाको इशारा गर्दै हवलदारले अर्कोलाई भनेको उसले सुन्यो ।
ए ! आइज ऊ त्यहाँ बस्दै गर । हवलदार टेकनाथले नरबहादुरलाई औंलाले ठाउँ देखाइदिदै भन्यो ।
नरबहादुर नजिकैको ग्यारेजको छिँडीमा टुक्रुक्क बस्यो । एकछिनपछि हवलदार टेकनाथले हरियो प्लाष्टिकको पोको ल्याइदिँदै भन्यो – सात सय रूपैया चाहिन्छ ।
नरबहादुर हरियो पोकातिर हेर्दै मनमनले विचार ग¥यो हिजोकोभन्दा आधाजसो सामान कम छ । राम्रा राम्रा सामान छानेर लगे होलान् । नरबहादुरको उही तीतो सोचाइको निरन्तर क्रम चर्खाझैं घुमिरह्यो ।
हजुर मसँग त त्यत्रो पैसा पुग्दैन – नरबहादुरले हवलदारसँग बिन्ति बिसायो ।
हवलदार साहेब एकसय रूपैया दिन सक्छु ।
चारसय सारसय नभन पाँच सय रूपैया ले अरू छोडिदिन्छु – हवलदारले चेप्प्राई घस्दै भन्यो ।
बाहिर केको आवाज हँ । हवलदारले आँखा तेजिलो बनायो र सडकतिर फर्केर नरबहादुरलाई हेर्‍यो । पर्खालको माथिल्लो भागबाट देखिएको दृश्य नरबहादुरलाई टाउकाहरूको नदीजस्तो लाग्यो । जुलुसका नाराहरू दुवैका कानमा ठोक्किए ।
जुलुस जस्तो छ । नरबहादुरले हतार हतारमा भन्यो ।
ए चाँडो पैसा दिएर गइहाल । हवलदारले हतारो देखाउँदै भन्यो ।
नरबहादुरले आफू यहाँ बसिरहँदा हवलदारलाई अप्ठ्यारो परेको कुरा बुझ्यो । यसैबीचमा पुलिस अफिसरको नेतृत्वमा लाठीधारी प्रहरीको जत्था जुलुस नियन्त्रण गर्न गयो ।
चाँडै गइहाल । हवलदारले त्रसित भावमा भन्यो ।
नरबहादुरले मुठ्ठीमा राखेको एकसय रुपैंया विस्तारै पकेटमा घुसार्‍यो र बाहिर निस्क्यो । जुलुसका केही नाराहरू उसलाई असाध्यै मन परे ।
प्रहरी अत्याचार बन्द गर ! महाकाली सन्धी खारेज गर ! गिरफतार देशभक्तहरूलाई रिहा गर !
नाराहरू सुनेर ऊ पनि जुलुसमै सामेल भयो । उसलाई पनि एकछिन जुलुसमा हिड्ने रहर लाग्यो । जुलुसमा एउटा हल्ला फैलियो हाम्रो दवावको कारण सबै साथीहरू रिहा भए । उसले सानैमा गाउँको स्कूलमा पढाउने शिक्षकले भनेको कुरा सम्झ्यो – नलडी केही पनि पाइँदैन । यही सम्झदै जुलुसको नारामा उसले मुठ्ठी उठाएर साथ दियो । पुलिस दमन बन्द गर !
आज जुलसमा हिँड्दा उसले आफूभित्र साहस सञ्चार भएको महसूस गर्‍यो ।

(इन्द्रेणी, पूर्णाङ्क–६)






















म यसरी फर्किएँ



विदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगेँ । गाउँमा हुँदा रमेश र म अति मिल्ने साथी थियौं । यति मिल्ने साथी कि गाउँका मानिसहरूले हामी दुवैको नामलाई जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षको उमेरसम्म हामीले सँगै खेल्यौं । एकघन्टाको बाटो भएको स्कूल सँगै पाटी बोकेर कुद्यौं । बानी, स्वभाव सबै कुरामा हामी यति नजिक भयौं कि अहिले सोच्दा पनि अचम्म लाग्छ । हाम्रा घरहरू सबै बेग्लाबेग्लै थिए । तर घरी म उसको घर घरी हाम्रो घरमा हामी पालो गरेर सुत्थ्यौं । हामी चार पाँच दिन छुट्टिन्थ्यौं वर्षमा । हामी दुवैलाई यति छोटो समय छुट्टिदा पनि लामो लाग्थ्यो । घाँसदाउरादेखि लिएर गाईवस्तु चराउने काम पनि हामी आपसी सल्लाहले मात्र गर्थौं।
हामी यसरी लामा समय छुट्टिएर बस्नुपर्ला भनेर कसैले पनि सोचेका थिएनौं । रमेश बीस वर्ष पुगेपछि अर्थात् दश वर्ष अघि काठमाडौं गयो । सुरूका केही वर्ष हाम्रो बीचमा पत्रको आदानप्रदान पनि धेरै पटक भयो । पत्रमा हामी हाम्रा आफ्ना मनोभावहरू खुलेर लेख्थ्यौं । दुवैतिरका खानपान, बसउठ र अन्य व्यवहारहरूका बारेमा धक फुकाएर लेख्थ्यौं । हप्ता दिनभित्र उसको चिठी पढ्न पाइन भने मलाई नरमाइलो लाग्थ्यो । उसलाई पनि त्यस्ते लागेको कुरा ऊ मलाई चिठीमा लेख्थ्यो । बीच बीचमा ऊ घरमा आउँदा कुदेर मेरो घरमा आउँथ्यो र घन्टौं ऊ र म सँगै गफ गरेर बिताउँथ्यौं । म पनि घरका काम बिर्सन्थेँ । ऊ काठमाडौं नफर्कुन्जेलसम्म मेरो घरको काम चौपट्टै हुन्थ्यो । बाल्यकालमा घुमेका ठाउँहरू हामीसँगै फेरि घुम्थ्यौं र आफ्ना अतीतका कथाहरू दोहोर्‍याउँथ्यौं ।
धेरै वर्ष भइसकेको थियो – रमेशसँग भेट नभएको । चिठीपत्रको आदानप्रदान पनि केही वर्षदेखि बन्द जस्तै भइसकेको थियो । पहिले त ऊ कमै मात्र पत्रहरू लेख्थ्यो तर पछि त हाम्रो सम्पर्क अघि बढाउन मभन्दा ऊ सक्रिय भएको देखिन्थ्यो । पछिल्ला वर्षहरूदेखि आफ्ना व्यक्तिगत कुराहरूभन्दा देशका, राजनीतिका खबरहरू उसले पठाउन थाल्यो र मसँग पनि यहाँका चुनावका, मान्छेका सोचाइहरूका बारेमा पत्रमार्फत सोध्न थाल्यो । कता कता उसका पत्रहरू पढ्न मलाई झन्झट लाग्दै आउन थालेको थियो, तर पनि म रमेशले सोधेका कुराहरूभन्दा व्यक्तिगत हालखबरहरू लेखेर पठाउँथेँ । त्यसपछाडि हाम्रो पत्रव्यवहारमा कमी आउन थाल्यो । परारसाल रमेश दशैंमा घर आउँदा हाम्रा पुराना व्यवहारहरूमा धेरै परिवर्तन आएको प्रष्टसँग मैले देख्न पाएँ । मलाई कताकता उसको व्यवहार नौलो लाग्न थाल्यो । म गाउँमा सामान्य खेतीपातीको काम गरेर बस्थेँ । त्यसबेला एकपटक मैले उसँग पैसा कमाउन विदेश जानुपर्ला भनेर प्रस्ताव राखेको थिएँ, उसले मेरो कुरा मन पराएको थिएन र त्यसबेला भनेको थियो – अर्काको देशमा गएर पैसा कमाउनुभन्दा आफनै देशका बारेमा चिन्ता गर्न सिक्नुपर्छ । तैंले मात्र पैसा कमाएर देशको समस्या हल हुँदैन, तँजस्ता कैयौं युवाहरूका समस्याका बारेमा सोच्नुपर्छ ।
पैसा त चाहियो नि – मैले रमेशलाई सोच्न कर गर्दै भनेँ ।
पैसाको आवश्यकता कति, सम्पूर्ण जीवन यसैका लागि लगाउने । आखिर तेरो सम्पत्ति आफूले परिश्रम गरेर राम्रोसँग पुग्ने छँदैछ । उसले मसँग प्रतिवाद गर्ने शैलीमा भन्यो ।
रमेशको कुराले विदेश गएर पैसा कमाउने र यहीँ आएर सुखी जीवन बिताउने धेरै पहिलेदेखिको मीठो कल्पनामाथि पहिलोपल्ट प्रहार भएको मैले महसुस गरेको थिएँ । उसको त्यस भनाइपछि म नराम्ररी रन्थनिएँ । पैसा कमाएर ल्याउने र त्यसपछि वास्तवमै मैले मनभित्र कल्पनाको राम्रो घर बनाएको थिएँ । त्यही योजनाअनुसार मैले आफ्नो केही जग्गाजमिन बेच्ने सोचाइ बनाएको थिएँ । उसको कुराले हाम्रो निकटतालाई टाढा बनाइदिएको कुरामा मैले पहिलोपटक राम्रोसँग अनुभव गरेँ ।
आखिर ऊ पनि सुखी थिएन । शहरको बसाइ, सानोतिनो कमाइबाट जीवन गुजार्नुपर्ने । परिवार त ठीक्कैको थियो । एउटा छोरो, एउटी छोरी र श्रीमतीसहित ऊ । सम्पत्तिको नाउँमा त्यही एउटा सानो तरकारी पसल । उसले नयाँनयाँ साथीहरू थुप्रै बनाएछ । त्यही सानो एउटा सानो कोठामा पनि मानिसहरू आइरहन्छन् तर किन ऊ विदेश गएर पैसा कमाउने कुराप्रति घृणा गर्छ । म उसको सोचाइका बारेमा बुझ्नै सक्दिन । म पनि उसकै सहारामा काठमाडौं शहर आइपुगेको छु । यस शहरमा मैले चिनेका मानिसहरू त अरू पनि छन् । कति मानिसहरू सम्पन्नशाली पनि छन् । केहीको अभाव छैन । कति त मेरा मावलीतिरका नातेदारहरू पनि छन् । फुपूको छोरो पनि यतै बस्छ । जागिर राम्रो छ । भाउजू पनि जागिरे । एउटा फ्ल्याटै लिएर बसेको छ । दुई तीन ठाउँ घडेरी पनि किनेको छु भन्ने सुन्छु । कतिपटक उनीहरू कहाँ आश्रय लिन म गएको छु । तर किन किन उनीहरूसँग बस्दा आफन्त बोध हुनै सकेन मलाई । सम्पत्ति कमाएको तुजुक, घमन्ड, महत्वाकांक्षा आदिको नमिठो दुर्गन्ध कोठाभरि फैलिएको हुन्थ्यो । मलाई त्यो कुरा मनै पर्दैनथ्यो । उनीहरूको प्रगतिको कुरामा म सहमत थिएँ । तर जतिबेलै जहाँकहीँ सम्पत्तिकै चर्चा । गहनाको बखान सुन्दासुन्दा दिक्क लाग्न थाल्यो । तर रमेश त्यस्तो छैन । उसको कोठामा आडम्बरको कुनै पनि दुर्गन्ध पस्न पाउँदैन । उसको परिवारमा सम्पत्तिको तिर्खा कुनै कुरामा पनि देखिदैन । रमेशको कोठामा पराइको व्यवहार मैले कहिल्यै पनि महसुस गर्नुपरेन । तर ऊ मैले विदेश गएर पैसा कमाउने कुरामा कहिल्यै पनि सहमत भएन । त्यही कामले म गाउँबाट काठमाडौं आएको थिएँ । आधाजसो जग्गा पनि बेचेर आएको थिएँ तर अरब गएर पैसा कमाउन उसले मलाई कहिल्यै पनि सल्लाह दिएन र सहयोग पनि गरेन । धेरै पहिलेदेखिको मेरो यो योजना बदल्न पनि मलाई सम्भव थिएन । त्यसबाट मैले भविष्यको सुन्दर योजनाका नक्सा कोरेको थिएँ । रमेशले मलाई विदेश गएर दुःख पाउने मानिसहरूले भोगेको कथाव्यथाहरू लेखिएको सामग्रीहरू ल्याएर दिन्थ्यो । हाम्रै गाउँमा के गर्दा बढी उत्पादन गर्न सकिएला भनेर मसँग छलफल गर्न खोज्थ्यो तर यस्ता कुराहरूप्रति मलाई त्यति धेरै रूचि थिएन । म अर्कै सपना बोकेर शहर आएको मान्छे । त्यतिका वर्षदेखि मनभित्र बनाएको भविष्यको घर भत्काउन म पनि कसरी सक्थेँ र । ऊ जति जति मलाई सम्झाउन खोज्थ्यो, त्यति त्यति ऊबाट म टाढा हुन चाहन्थेँ । तर ऊ मलाई असाध्यै प्रेम गरिरहेको छ भन्ने कुरालाई पनि म सँगसँगै बुझिरहेको थिएँ । ऊ अध्ययनशील थियो, तार्किक थियो । ऊसँग छलफल र तर्कमा म जहिले पनि आफूलाई कमजोर महसुस गर्थें । सँगै खेलेर हुर्केको हुनाले उसको बौद्धिक क्षमतामा भएको विकास देखेर मभित्र कताकता हीनताभावको संकेत मैले पाउन थालेँ ।
जब मैले आफ्नो काम अघि बढाउन मेनपावर कम्पनीहरूको नजिक पुग्न थालें, रमेशसँगको भेटघाटलाई कम गर्ने सोचाइ पनि बनाएँ । म गाउँबाट आएर काठमाडौं बसेका अरू मानिसहरूको कोठाहरूमा बढी बस्न थालें । उसले शायद यो कुरा बुझेछ क्यारे ! तैले यहाँ बस्न अप्ठ्यारो नमान्दा राम्रो हुन्छसम्म भन्यो । म आउने जाने गरिरहन्छु भनेर प्रत्युत्तर दिएको थिएँ मैले । एकदिन उसले मलाई कोठामा बोलाएको थियो । उसले मलाई बोलाएकै समयमा त्यहाँ अरू तीनचार जना मानिसहरूलाई पनि बोलाएको रहेछ । ती सबै मानिसहरू कामका लागि विदेश गएर दुःख पाएर फर्केका थिए । आफू कसरी कसरी ठगियौं भनेर आफ्ना अनुभवहरू मलाई सुनाउन उनीहरूलाई त्यहाँ बोलाएको रहेछ उसले । उनीहरूका कुरा सुनेर म एकपटक त छाँगाबाटै पो खसें । उनीहरूको कुरा अनुसार त हामीलाई त्यहाँ मान्छेजस्तो व्यवहार नै नगरिँदो रहेछ । त्यहाँ भएकोमध्ये एकजनाले मलेशियामा भेडा चराउने काम पाएको रहेछ । अर्कोले होटेलमा तरकारी काट्ने । अर्कोले घर बनाउने ठाउँमा कुल्ली काम । त्यस्तै अर्की एकजना मायादेवी नाम गरेकी महिला पनि थिइन् । उनको कहालीलाग्दो कथा सुनेर मैले आँसु नै झारें तर त्यहाँ कसैले नदेख्ने गरी पुछें । मायादेवी काम गर्ने घरमा केटाहरूले प्रत्येक दिन उसलाई बलात्कार गर्दा रहेछन् । प्रतिकार गर्दा टाउको र शरीरमा विभिन्न भागमा पिटिँदोरहेछ । उनले टाउकामा थुप्रै खतहरू देखाइन् । कपाल खौरिएर बुर्का लगाउनुपर्ने र नगरे पाइने यातनाहरू सुन्दा मुटु नै चिसो भयो मेरो । पहाडमा भएको घरजग्गा बेचेर गएको प्रेमबहादुर पनि छ महिनामा फर्किएको रहेछ । उसको ठेकेदारले रिसको झोंकमा बनाउँदै गरेको घरको माथिल्लो तलाबाट खसालिदिएछ । विचरा दुई तीन तलमाथिबाट खसेर पनि बाँचेछ घाइते भएर । अस्पतालमा आफूले अलिअलि बचाएर राखेको पैसा खर्च गरेर सिध्याएछ । डाक्टरले छातिमा समस्या छ, केही महिना आराम गर्नु भनेपछि साथीहरूसँग चन्दा बटुलेर फर्केछ । धनकुमार भेडो चराउन जाँदा एउटा भेडा विरामी भएर मरेछ । साहुले त्यो वापत उसले जोगाएर राखेको सबै पैसा तिराएछ । विचरा त्यहाँ उपस्थित अर्को साथीको त पैसा सबै दलालले खाइदिएछ । ऊ पनि घर जान नसकेर यतैतिर मजदुरी कामहरू गरेर बसेको रहेछ । कति माया गर्दै ती सबैले तपाईं त अरब नजानुस है भनेर मलाई पटकपटक भने । मैले आफ्नो मनभित्र नजाने निर्णय लिन कुनै अबेर गर्दै गरिन । त्यतिका पैसा खर्च गरेर जानुभन्दा त्यही पैसा, त्यही परिश्रम यहाँ लगाउँदा कति राम्रो हुन्थ्यो भनेर उनीहरू आफ्नो विगतलाई धिक्कारिरहेका थिए ।
उनीहरूको अनुभव सुन्दा त हामी त्यहाँ मान्छेले जोत्ने गोरूको मूल्यमा किनिएका रहेछौ । उनीहरूको कुराले म साँच्चै पीडित भएँ । अर्थात् मैले मनभित्र कल्पिएको भविष्यको घर नराम्ररी चर्मरायो । प्रतिक्रियाहीन भएर मैले त्यहाँ उनीहरूको कुरा सुनिरहें ।
उनीहरू बाटो लागिसकेपछि म उसका अगाडि सावित भएको अपराधीको मानसिकता बोकेर बसिरहें । म उसलाई मेरो मनको कुरा राम्ररी भन्न चाहन्थें तर सकिरहेको थिइनँ । मनको कुरा भन्न केबाट शुरू गरौं आफैं पनि अस्पष्ट थिएँ । म चुपचाप उसको अघिल्तिर मुख रातो पारेर बसिरहें ।
नरेश ! अलि राम्ररी सोचेर काम गर । एकसुरमा बसिरहेको बेलामा उसले कोठाभित्र छिर्दै भनेको सुन्दा म झसङ्ग पनि भएँ । मैले उसलाई कुनै उत्तर दिइन ।
तैंले विदेशमा गएर काम गर्ने कुरालाई जति सहज देखेको छस्, त्यो पटक्कै होइन । यसै कारणले तँलाई वास्तविकता बुझाउन उनीहरूलाई बोलाएको हुँ । ऊ मतिर नफर्की एकोहोरो भन्दै गयो । यो त उसको स्वभाव पनि हो । पहिलेदेखि नै अरूसँग आँखा नजुधाई ऊ कुरा गथ्र्यो । ऊ अझै पनि त्यसैगरी कुरा गरिरहेको छ ।
मैले त्यतिबेलासम्ममा काम गर्न अरबतिर नजाने निर्णय गरिसकेको थिएँ तर यो कुरा रमेशलाई मैले कसरी सुनाऊँ मलाई थाहा थियो, मेरो निर्णय सुनेर ऊ खुशी हुनेछ । आखिर रमेश पनि त विदशेमा काम गर्न गएको थिएन । यी सब कुराहरू उसलाई कसरी थाहा भयो ? म यो प्रश्नलाई आफैंभित्र खेलाइरहेको थिएँ । रमेशलाई म नजाने निर्णय सुनाउन मलाई केही कुराले रोकेको छ । तर केले रोकेको छ, त्यो कुरो मलाई नै थाहा छैन । अत्यन्त अन्तरङ्ग साथीको रूपमा ऊ मलाई दिनहुँ सम्झाइरहेको छ । तेरो सोचाइ गलत हो भनेर आज बिहानसम्म ऊसँग मैले कडा प्रतिवाद गरेको छु । त्यति लामो समयदेखि बनाएको योजनाको घर भत्काउने निर्णयले मभित्र हुण्डरी चलिरहेको थियो ।
मैले नजाने निर्णय गरें । अत्यन्त अप्ठ्यारो मान्दै मैले यो निर्णय उसलाई सुनाएँ ।
मेरो निर्णयले रमेश खुशी भयो कि भएन, उसको अनुहार पढेर मैले केही पनि बुझ्न सकिन । उसको दृष्टिकोणको कारण म विदेश नजाने निर्णयले ऊ खुशी भएको हुनुपर्छ भन्ने मैले ठानें ।
घरमा भएको आधाआधी जग्गा बेचेर आएको हुनाले मैले जीवननिर्वाहको अन्य उपाय पनि सोच्न जरूरी थियो । मेरो यो अवस्थाका बारेमा रमेश परिचित नहुने कुरै थिएन ।
म भोलि नै घर जान्छु र विदेश नजाने निर्णय सबैलाई सुनाएर आउँछु । म उसँग यस कुराको प्रतिक्रिया लिन चाहन्थें ।
ठीकै छ तँ सुनाएर आइज, तैंले अब के काम गर्दा राम्रो हुन्छ सँगै बसेर सोचौंला । अत्यन्तै सहानुभूतिपूर्वक उसले मलाई ढाडस दिँदै भन्यो र आफ्नो काम छ भनेर बाहिर लाग्यो ।
आजको घटनाको म जसरी र जुन निर्णयमा पुग्दैछु, पहिले मैले यसको कल्पनासम्म गरेको थिइनँ । भोलि घर जाने तयारीका लागि म किनमेल गर्न बजारतिर जाने निर्णय गरेर त्यहाँबाट विदा मागेर बाहिर निस्किएँ ।

(वेदना, पूर्णाङ्क – ६५)






हुलिया



मध्यरातमा उठेर त्यो तस्वीर फेरि हेरे डि.आइ.जी. माधव सिंहले । तस्वीरमा त्यो केटो घुरेर हेरिरहेको छ उनलाई । जगबाट उठाएर पानी खाए । श्रीमती अर्कातिर फर्किएर सुतिरहेकी थिइन् । उनलाई अस्तिदेखि निद्रा परेको छैन । श्रीमती मस्तसित निदाएको देख्दा उनलाई भित्रभित्रै रिस उठ्यो । एकमनले उनलाई आज इनिस्पेक्टर दयारामसँग पनि रिस उठ्यो । दयारामले केही महिना अगाडि होटल पर्वतमा भएको सेमिनारको एउटा तस्वीरमा देखिएको एकजना अपरिचित युवकको बारेमा अस्तिमात्र सोधेको थियो ।
यो केटो को हो साब ? इनिस्पेक्टर दयारामले तस्वीरमा औंल्याउदै साधारण ढङ्गले सोधेको थियो ।
कुन केटो ? तस्वीर तान्दै डि.आइ.जी. माधव सिंहले गौर गरेर त्यो केटोलाई हेरे ।
मैलो धैलो, कालो वर्णको, होचो कदको करिव २०–२५ वर्षको एउटा युवक भित्तामा उभिएर डि.आइ.जी माधव सिंहतर्फ फर्केर हेरिरहेको थियो ।
त्यसपछि तुरून्त डि.आइ.जी. माधव सिंहको अनुहारमा त्रासको छायाँ देखा प¥यो । उनी बोल्दा पनि हड्बढाउन थाले । प्रहरी केन्द्रीय कार्यालयको वातारणमा एक प्रकारको सन्नाटा छायो । प्रहरी अधिकारीहरूका कोठाहरूमा गाईंगुँई र खासखुस चल्न थाल्यो ।
केही समयपछि उच्च अधिकृतहरूको एउटा बैठक बोलाइयो । बैठकले तस्वीरमा देखा परेको एकजना युवकको बारेमा विभिन्न कोण–प्रतिकोणबाट अध्ययन ग¥यो ।
होटल पर्वतबाट तस्वीरमा देखा परेको शङ्कास्पद युवकलाई तुरून्त गिरÇतार गरेर ल्याउने । एउटा कमाण्डो ग्रुपलाई तत्काल आदेश दिइयो ।
केही समय लगत्तै होटल पर्वतका सञ्चालकहरूसहित सम्पूर्ण कामदारहरूलाई चार–पाँचवटा भ्यानमा गिरफ्तार गरेर ल्याइयो ।
सबै प्रहरीहरूका हातमा त्यही तस्वीरका प्रतिहरू थिए । उनीहरू तस्वीर हेर्दै गिरफ्तार गरिएका मानिसहरूको अनुहार नियाल्न थाले ।
तस्वीरमा भएको युवक समूहभित्र कतै देखिएन । त्यसले गर्दा स्थिति झनै भयावह भयो ।
तस्वीरमा देखा परेको युवकतिर औंल्याउदै प्रहरी अधिकारीहरूले सञ्चालकहरूसँग सोधे – को हो यो केटो ?
सञ्चालकहरू पनि अल्मलिएँ ।
एकछिन पछि एकजना कामदारले भन्यो – "यसलाई विना पारिश्रमिक खान मात्र दिने गरेर पाँच दिन काम लगाइएको थियो । त्यसपछि उसलाई जागिरबाट निकालियो ।"
"तलब नदिइकन राखिएको मानिसलाई किन निकालियो ?" सञ्चालकतिर फर्केर प्रहरी इनिस्पेक्टरले कडापूर्वक प्रतिप्रश्न गर्‍यो ।
सञ्चालकहरू फेरि अकमकिए ।
त्यसैबेला अनुहारभरि सौन्दर्य प्रशाधनका सामग्री लगाएर भड्किलो पहिरनमा सजिएकी एउटी नवयौवनाले उत्तर दिई त्यहाँका हामी सबै कामदारहरू तलबविहिन छौं । अफिसले हामीलाई खाना मात्रमा काम लगाएको छ ।
त्यसको घर कहाँ हो ? सञ्चालकलाई एस.पी.ले फेरि सोध्यो ।
ए ! त्यसको घर कहाँ हो भन् ! एकजना कामदारतिर फर्किएर सञ्चालक घु¥यो ।
घर त पश्चिमतिर भन्थ्यो तर उसको पुरै ठेगाना चाहिँ थाहा छैन । एउटा दुब्लो दुब्लो कामदारले जवाफ फर्कायो ।
पश्चिम भनेको रोल्पा, रूकुम ! एस.पी.ले कामदारलाई खेर्‍यो ।
थाहा छैन । कामदार लच्कियो ।
यी सबै माओवादी जस्ता छन् । एस.पी.ले डि.एस.पी.तिर हेरेर फुसफुसायो ।
यस्तै हुन्छन् साब ! माओवादी ! डि.एस.पी.ले मुखमा झुण्डिरहेकै जवाफ फर्कायो ।
यिनीहरूलाई कुनै थानातिर लगेर कोच्ने कि के निर्णय लिने साब ! भावी योजनाको बारेमा डि.एस.पी.ले एस.पी.सँग आदेश माग्यो ।
यी सबैलाई प्रत्येक दिनको तारिख तोक्ने । झटपट फैसला सुनाए एस.पी.ले ।
कहिलेसम्म सर ! सञ्चालकहरूले निचोरिएको निबुवाझैं मुख लगाएर सोधे ।
तस्वीरमा देखिएको केटो नभेटिञ्युजेलसम्म । नवयौवनातिर हेर्दै डि.एस.पी.ले हतारहतारमा निर्णय सुनायो ।
दैनिक हाजिर हुने पूर्जी सहित होटेल पर्वतका सञ्चालक र कामदारहरूलाई अर्को मौखिक आदेश दिइयो ।
अबदेखि जागिर खान आउने सबैको नागरिकताको प्रमाणपत्र राख्ने ।
हुन्छ हजुर ! सञ्चालकहरूले एक स्वरले समर्थन जनाए ।
सबैको ठेगाना लिने ।
हुन्छ हजुर ।
सबैको तस्वीर राख्ने ।
हुन्छ हजुर ।
तस्वीरमा देखिएको मान्छे फेला परेमा तुरून्त यहाँ बुझाउने ।
हुन्छ हजुर ।
आदेश र समर्थनको प्रश्नोत्तर सकिएपछि अधिकारीहरूको पुनः बैठक बस्यो ।
त्यो मान्छे शङ्कास्पद छ । बैठकले ठोस र गम्भीर निष्कर्ष निकाल्यो ।
बैठकको निष्कर्षपछि डि.आइ.जी.माधव सिंहको सुरक्षामा प्रहरीबलको थप व्यवस्था भयो । देशभर रहेका मातहतका कार्यालयहरूमा तस्वीरका प्रतिहरू पठाइए । सबै सुरक्षा निकायहरूलाई कालो वर्णको युवक देखा परेमा विशेष निगरानी राख्ने आदेश दिइयो ।
काठमाडौं नाकाबाट बाहिर जाने सवारी साधनहरूलाई पनि कालो वर्णको युवा देखिएमा सुरक्षा निकायहरूलाई जानकारी गराउने आदेश दिइयो ।
देशभर रहेका प्रहरी थाना र चौकीहरूले त्यो खतरानाक युवकका बारेमा खोजी अभियान संचालन गरे ।
बसमा आउनेजाने सबै कालो वर्णका युवकहरूलाई विशेष निगरानी राख्ने । हेडक्वाटरले मातहतका चेक पोष्टहरूलाई जरूरी परिपत्र जारी ग¥यो ।
हिजैदेखि काठमाडौंबाट बाहिर जाने र आउने बसहरूमा शङ्कास्पद कालो वर्णका युवकहरूप्रति ठूलो निगरानी राखियो ।
प्रहरी खोरहरूमा हिजोदेखि कालो वर्णका मानिसहरूको सङ्ख्यामा उल्लेखनीय बृद्धि भयो । सबै मानिसहरू अचम्म मानिरहेका थिए । अन्य कारणले थुनामा रहेका मानिसहरू पनि खोरमा काला मानिसहरूको अत्याधिक उपस्थितिका कारण आश्चर्यचकित भइरहेको थिए । तर आज साँझसम्मको रेकर्डमा तस्वीरमा देखा परेको युवक कतै पनि फेला परेन ।

डि.आइ.जी. माधव सिंहलाई आज पनि निद्रा पटक्कै परेन र ओछ्यानबाट सिरक फ्याँकेर उठे । घडी हेरे, रातको दुई बजेको छ र उज्यालो हुन अझै धेरै बाँकी छ । तीन दिन देखि उनले आफूलाई कैदीजस्तो महसूस गरिरहेका छन् । बरू कैदी निर्धक्क हुन्छ, आफ्नो सुरक्षाका लागि । उनले आफूलाई त्यो भन्दा पनि कमजोर महसूस गरे । एउटा अत्यासलाग्दो भावनाले उनको मनमस्तिष्कलाई पीडित बनाइरहेको छ । उनलाई सुत्न पनि मन लागेन र उठेर कोठाको बत्ती बाल्ने आँट पनि आएन । यो अत्यासलाग्दो समय कतिसम्म लम्बिने हो ? उनले मनमनै यसबाट मुक्तिको प्रार्थना गरे । तस्वीरमा देखिएको युवकका बारेमा आजसम्म कतै पत्ता लागेन । उनले खप्टिएको पर्दाको बीचबाट झ्यालको सिसा छेडेर बाहिरको अँध्यारो संसार देख्न पुगे । मनभित्र फेरि त्रास बढ्यो । उनलाई त्यता हेर्न पनि मन लागेन । उनले फेरि हतार गर्दै टाउकै ढाक्ने गरि सिरक ओढे ।
आज पनि उनलाई पटक्कै निद्रा आएन ।

(शब्द संयोजन, पूर्णाङ्क – ११)








परिचित अभिनय



त्यतिबेला हामी सँगै पढ्थ्यौं र सँगसँगै खेल्थ्यौं । उसको घर मेरो छिमेकी गाउँमा थियो । हामी दुबैको परिवार हुनेखानेमा गनिन्थ्यो । हाम्रा माइतीहरूको मधेशमा जग्गा जमिन पनि प्रशस्तै थियो । हुने खाने परिवार भए पनि गाउँमा काम गर्नै पथ्र्यो । पढ्दापढ्दै हामीले सँगसँगै जङ्गलबाट दाउरा पनि बोकेका छौं । गाईवस्तु पनि हेरेका छौं । पहाड भएपनि नजिकै विद्यालय भएकोले हामीलाई हाइस्कूल तहसम्म पनि पढ्न कुनै समस्या परेन । एस.एल.सी. परीक्षा पनि हामी दुबैले द्वितीय श्रेणीमा पास ग¥यौं ।
हामी दुबैका दाजुहरू काठमाडौंमैं बसेर पढ्थे र जागिर पनि खान्थे एस.एल.सी. पास गरेपछि हामी आइ.ए. पढ्न काठमाडौं आयौं र दाजुहरूसँग बसेर पढ्यौं । आइ.ए.को फाइनल परीक्षा दिएपछि मेरो विवाह भयो । मेरो विवाह भएको केही महिनापछि शान्ताको पनि विवाह भयो । हाम्रो विवाह हुँदै हाम्रा श्रीमान्हरू सरकारी सेवामा अधिकृत थिए ।
गाउँ र स्कूलका साथीहरू भन्थे – म अलिक सोझी प्रकृतिकी थिएँ रे । ऊ अलिक बढि मुखाले र इष्र्यालु स्वभावकी थिई । स्कूलमा मेरा धेरै साथीहरू थिए तर उसका कमैमात्र साथीहरू हुन्थे । ऊ साथीहरूसँग सानो कुरामा पनि झगडा गरिरहन्थी । शान्ताको व्यवहारका कारणले अरू साथीहरू ऊसँग टाढै रहन चाहन्थे । मलाई त लाग्छ – म बाहेक उसका अन्तरङ्ग साथीहरू छँदै थिएनन् । ऊ सँगको मेरो घनिष्ट मित्रताका कारण कयौं साथीहरू म सँग पनि आत्मीय व्यवहार गर्नलाई हिच्किचाउँथे ।
हाम्रो विवाह भएपछि श्रीमान्हरूको सरूवा सँगसँगै हामी पनि जिल्लाजिल्ला तिर गयौं । त्यसपछि पाँच सात वर्षसम्म हाम्रो भेट भएन । त्यही पनि चिनजानका मानिसहरूबाट हामी एक आपसको हालखबर लिइरहन्थ्यौं ।
पाँचथरबाट मेरा श्रीमान्को मन्त्रालयमा सरूवा भएको केही महिनापछि शान्ताको श्रीमान् रामप्रसाद आचार्य पनि काठमाडौंमै सरूवा भएर आए । उनी सरूवा भएर आएको भोलिपलटै शान्ता मेरो कोठा खोज्दैखोज्दै आएकी थिइ । बालककाल देखिकी साथीसँग फेरि नियमित भेटघाट र मित्रता कायम हुने भयो भन्ने कुराले मलाई भित्रैदेखि निकै हर्षित बनाएको थियो । तर आफ्नो आत्मप्रशंसा गर्ने र आर्थिक आडम्बर देखाउने नयाँ विकसित भएको उसको स्वभावसँग म कताकता हच्किएकी थिएँ । त्यसपछि हाम्रो भेटघाट नियमित हुन थाल्यो ।
रमिला ! म त दुईतीन हजार कमाएर नल्याएको दिन बुढालाई साफी गाली गर्छु । एकदिन दिउँसो सबैरै आएर शान्ताले अहंकार र बहादुरीको स्वरमा मसँग भनेकी थिई । काठमाडौंमा सरूवा भएर भर्खरभर्खर आएका कारण ऊसँग मैले विवाद गरिहाल्न राम्रो ठानिन । यसका विरूद्धमा बोलुँ भने यो सँग मेरो सम्बन्ध बिग्रने डर, नबोलुँ भने गलत कुरालाई प्रश्रय दिए जस्तो हुने । शान्ता त्यति साह्रो पथभ्रष्ट भएको देख्दा म भित्रैदेखि पीडित भएकी थिएँ । यति सोचेर पनि म त्यसबेला प्रतिक्रियाहीन भएर चुपचाप बसें ।
त्यसपछि ऊसँगको नियमित भेटघाट र संवादहरू मेरा लागि प्रिय हुन सकेनन् । जागिरे जीवनपछि त झनै ऊ भित्रको मान्छे अनैतिक बन्दै गएको मैले महसूस गर्न थालेकी थिएँ ।
"रमिला ! यो संसारमा घुस नखाने मान्छे कोही नै छैनन् र इमान्दारीता भन्ने कुरा त केवल गफ गर्ने विषयमात्रै हो । वास्तविक जीवनमा घुस नखाने इमान्दार मान्छे हुन्छ भन्ने कुरामा मलाई विश्वासै छैन ।" मेरा अगाडि धेरै पटक भनिसकेको कुरा त्यसदिन शान्ताले फेरि पनि दोहोर्‍याएकी थिई ।
संसारमा राम्रा र इमान्दार मान्छेहरू पनि छन् । खराब र भ्रष्टाचारी मान्छेहरू पनि प्रशस्तै छन् । तेरो कुरा प्रति म सहमत हुन् सक्दिनँ । अति नै भएपछि पहिलो पटक मैले शान्ताका सामु आफ्नो फरक विचार राखेकी थिएँ । मेरो कुराले त्यसबेला उसको अनुहार निकै अँध्यारो भएको थियो ।
त्यही समयदेखि शान्ताको र मेरो बीचमा बहस र वादविवाद बढ्दै गएको थियो । पक्ष र विपक्षमा उभिएर विवाद लम्ब्याउन मलाई त्यसबेला पनि पटक्कै मन थिएन । शान्ताको बानी मलाई राम्रैसँग थाहा थियो । ऊ आलोचना र विरोध खप्न सक्ने मान्छेनै होइन । ऊ प्रशंसाकी धेरै भोकी मान्छे थिई । उसलाई प्रशंसामात्र गरिदियो भने ऊ नम्र र शिष्ट व्यवहार गरेको देखाउन सक्थी । त्यसदिन हाम्रो विवाद धेरै लम्बियो । धेरै वादविवाद नगरौं भन्दाभन्दै झमक्कै साँझ प¥यो । त्यसदिन म उसको घरबाट विदा भएर हिँड्दा ऊ मलाई विदा गर्न ढोकासम्म पनि आइन । पहिले पहिले घाम नअस्ताउँदै पनि बसौं भन्थी तर आज साँझ परेपछि पनि बसौं भनिन । मलाई त्यसदिन बेकारमा उसको घर आएँ भन्ने लागेको थियो । मैले राम्रैसँग बुझेकी थिएँ – शान्ता त्यसदिन म सँग साह्रै रिसाएकी थिई ।
त्यसपछिका धेरै दिनसम्म हाम्रो बीचमा भेटघाट र सम्वाद भएन । उसले पनि मलाई टेलिफोन गरिन र मैले पनि ऊ रिसाएकी छ भन्ने ठानेर केही समयसम्म बोलाइन । ऊसँगको भेटघाटमा आएको रिक्तताले मभित्र एकप्रकारको उकुशमुकुश पैदा भइरहेको थियो । मेरो सामाजिक सम्बन्ध निकै फराकिलो थियो तर उसको त्यस्तो थिएन । उसको सामाजिक जीवन निकै सङ्कीर्ण र निरस थियो । काठमाडौं आएको दुईचार महिना हुने वित्तिकै उसले छिमेकीहरूसँग इष्र्यालु व्यवहार गर्न थालीसकेकी थिई । छिमेकी महिलाहरूका घरका बारेमा कुरा गर्थी । उनीहरूका श्रीमानहरू भन्दा आफ्नो श्रीमान फरक मान्छे भनेर प्रशंसा गरिरहन्थी । उसमा त्यस्तो तल्लो र घटिया स्वभाव विकास भएको देखेर मलाई भित्रभित्रै आश्चर्य लाग्थ्यो र महिलाहरूमा अलिक बढि देखिने त्यस्तो प्रवृत्तिप्रति चिन्ता लागेर आउथ्यो ।
त्यसैताका शान्ताहरूले बत्तीसपुलतीमा एउटा सुन्दर र भव्य घर खरिद गरे । त्यसपछि अहंकार र बडप्पनले शान्ता झन् मनोरोगीजस्तै अव्यवहारिक र एकलकाटे भई ।
उनीहरूले घर खरिद गरेको खबर शान्ताले मलाई टेलिफोनमा सुनाई र घर हेर्न आउन निम्तो गरी । म पनि खुशी नै भएँ र एकदिन उसको घर हेर्न गएँ । गौशालाचोकमा ऊ मलाई लिन पर्खिरहेकी रहिछ ।
भाग्यको खेल हो बुझिस् रमिला ! मेरो बुढो र तेरो बुढो एउटै पोष्टमा भएर पनि हाम्रो आर्थिक हैसियतमा फरक परेको । घरमा पसेर सोफामा बसेर टेलिभिजनको च्यानल खोल्दै पहिलेपहिलेकै जस्तो उसले त्यसदिन फेरि त्यही कुरा दोहोर्‍याई ।
जुन कुरासँग मलाई कुनै सरोकार छैन, त्यो कुरा बारम्बार दोहोर्‍याइरहनु राम्रो होइन । खान र लाउन नपुगे त खुसीसाथ सङ्घर्ष गर्नु पर्छ । खान पुगेकै छ । मलाई अनावश्यक सम्पत्तिको मोह छैन । अति भएपछि मैले पनि त्यसदिन प्वाक्कै मुख फोरें ।
खुलेको आकाशलाई एकाएक कालो बादलले गाँजेझैं शान्ताको अनुहार पनि एक निमेषमै मैलियो । कतै मैले नचाँहिदो काम त गरिन । उसको स्वभाव मलाई थाहा छँदै थियो, मैले कुनै प्रतिक्रिया नदिएको भए पनि हुन्थ्यो । आखिर सही दिएको भएपनि हुन्थ्यो । म उसको घरबाट त्यसदिन आफ्नो प्रतिक्रियाप्रति पश्चातापको महाभारत अग्ल्याएर डेरामा फर्केकी थिएँ ।
मेरो पनि तीन ताक कुनै जागिर थिएन । हुन त, शान्ताको पनि थिएन । मेरो सम्पर्क सामाजिक संघ–संस्थाहरूसँगै प्रशस्तै हुन थालेको थियो । सानोतिनो राजनैतिक सम्र्पक पनि विकास हुन थालेको थियो । मेरा केही साथीहरूले वृद्धाश्रम खोल्ने योजना लिएर मकहाँ आए । मलाई पनि त्यो योजना राम्रो लाग्यो । छोरा छोरी सात आठ कक्षामा पढ्ने भइसकेका थिए । घरको काममा व्यस्त भइरहनुपर्ने वाध्यता मसँग त्यसबेला बाँकी थिएन ।
मैले साथीहरूसँग शान्तालाई पनि वृद्धाश्रम खोल्ने कार्यमा सहभागी गराउन पाए हुन्थ्यो भन्ने प्रस्ताव राखें । उसलाई नजिकैबाट चिन्ने केही साथीहरूले मेरो प्रस्तावलाई रूचाएका थिएनन् । तर धेरै जसो साथीहरूले मेरो प्रस्तावप्रति सहमति जनाए ।
एकदिन साँझ पर्ने बेलामा म शान्ताको घरमा पुगें । शान्ताको पति रामप्रसाद कार्यालयबाट आइसकेका रहेछन् । मलाई उसले बैठक कोठामा लिएर गई । यत्ति अबेर किन आइस तँ ! शान्ताले आश्चर्य मानेर सोधी ।
मैले भनें – म एउटा प्रस्ताव लिएर आएकी तँकहाँ ।
के प्रस्ताव ? म सोफामा बस्न नभ्याउँदै उसले मलाई सोधेकी थिई ।
हामीले एउटा वृद्धाश्रम खोल्ने निर्णय गरेका छौं । हामी यसमा तेरो पनि सहयोग चाहन्छौ । कामचाहिँ केही गाह्रो छ आखिर तँलाई पनि फुर्सदै छ । त्यसैका लागी आएकी । मैले आफ्नो योजनालाई फटाफट राखिदिएँ ।
"आ ! तँ पनि यी नचाहिँदा कामतिर लागिछस् । बसेर खान छोडेर यी चिन्नु र जान्नुका बुढाबुढीलाई स्याहारेर के काम ? म त खुट्टा पसारेर खान्छु ।" शान्ताको ठाडो जवाफसँग मलाई भित्रैदेखि रिस उठ्यो । म चाँडोचाँडो कुरा टुङ्ग्याएर ऊसँग विदा मागेर फर्कें ।
त्यसपछि शान्तासँग मेरो भेटघाट र आवतजावत पुरैजसो बन्द भयो । म पनि आफ्नो काममा व्यस्त भएँ । म हिँडेको बाटो उसका लागि अप्रिय थियो । उसको जस्तो जीवन बाँच्नु मेरा लागि झनै प्रिय थिएन ।
केही वर्षपछि एकदिन रेडियोमा राजस्व विभागका प्रमुख रामप्रसाद आचार्यलाई घुस लिँदालिँदै गिरफ्तार गरिएको समाचार सुनें । समाचार सुन्ने वित्तिकै शान्तालाई मैले टेलिफोन गरें । टेलिफोन उठे पनि मेरो आवाज सुन्ने वित्तिकै रिसिभर राखिन्थ्यो । मैले शान्ताको घरै जान उपयुक्त ठानें ।
शान्तालाई मसँग भेट हुन नपरे हुन्थ्यो भन्ने चाहना भएको कुरा मैले त्यहाँ गएपछि बुझें । उसको अनुहार पुरै निन्याउरो थियो । उसले मलाई घरभित्रै लगिन र बाहिरै ढोकाबाटै विदा गरी ।
हेर न ! उहाँजस्तो इमान्दार कर्मचारी कोही पनि थिएनन् । यो सबै उहाँलाई फसाउने षड्यन्त्र मात्र हो । मसँग मन नलागेरै पनि शान्ताले त्यत्तिबेला यस्तो प्रतिक्रिया व्यक्त गरेकी थिई ।
शान्तालाई म प्रति कुरै अरूची भएपछि उसकोमा गइरहन मलाई पनि उचित लागेन । पछि सुन्नमा आयो उसको पतिको जागिर छुटेछ र घर पनि विक्री गर्नु परेछ । त्यसपछि शान्ताको परिवार कतै डेरा स¥यो । सबै आफन्तहरूसँग ऊ टाढै रहन चाही ।
बीस वर्षपछि आज मैले त्यही शान्तालाई पशुपतिको मन्दिरमा फूल बेच्न बसिरहेकी भेटें । तर मलाई पुरै नचिनेजस्तो अभिनय गरी उसले । म विश्वस्त छु – त्यो त्यही शान्ता हो । उसले मलाई नचिनेको अभिनय गरिरहँदा त्यहाँ उभिइरहन मलाई नै अप्ठ्यारो लागिरह्यो । मैले सानामा लागेको उसको निधारको खतसम्म हेरें । त्यो उही मेरी साथी शान्तानै थिई । म उसलाई हेर्दै हिँडे । ऊ अर्कैतिर फर्केर बसी ।

साँझमा घर फर्केपछि रमिलाले आफ्ना छोरा, छोरीहरूलाई यो कथा लामो समय लगाएर सुनाई ।


No comments: